शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७१४० - जग्गा खिचोला हक कायम ।

भाग: ४४ साल: २०५९ महिना: पौस अंक:

निर्णय नं.७१४०      ने.का.प.२०५९ अङ्क ९/१०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री रामनगिना सिंह

संवत् २०५७ सालको दे.पु.नं. ६३३२, ७०८६

फैसला मितिः २०५८।९।११।४

 

मुद्दाः जग्गा खिचोला हक कायम ।

 

पुनरावेदक

वादीः  जि.चितवन भ.न.पा. वडा नं. ११ वस्ने वुद्धिराम कुमालको मु.स. गर्ने शान्तिमाया कुमाल             समेत

विरुद्ध

विपक्षी

प्रतिवादीः ऐ.ऐ. वस्ने रमादेवी कुमाल समेत

 

पुनरावेदक

प्रतिवादीः जि.चितवत भ.न.पा. वडा नं. ११ वस्ने रमादेवी कुमाल समेत

विरुद्ध

विपक्षी

वादीः ऐ. ऐ. वस्ने शान्तिमाया कुमाल समेत

 

§  मिति २०४३।११।२७ मा अंश छुट्याई लिन पाउने फैसला भै अन्तिम रुपमा रहेकोमा सो फैसला वमोजिम आआफ्नो भाग मुलुकी ऐन दण्ड सजायको महलको ४६ नं. को म्याद २ वर्ष भित्र छुट्याई लिनेतर्फ कार्यवाही नचलाएकोमा वादीहरु स्वयं सावित रहेकाले फैसला वमोजिम छुट्याई लिने कार्यवाही नचलाएपछि विवादको जग्गामा प्रतिवादीहरुको हक कायम भैरहेको मान्नुपर्ने ।

§  कानूनको म्याद भित्र फैसला वमोजिम भाग छुट्याई नलिई चुप लागी वस्ने वादीहरुले अन्तिम फैसला भएको मितिले करिव ७ वर्ष पछि आएर २०५०।१२।९ मा खिचोलामा नालिस दिएको प्रस्तुत मुद्दाको फिराद मुलुकी ऐन जग्गा पजनीको १७ नं. र जग्गा मिच्नेको १८ नं. को हदम्याद नाघी दायर भएको प्रष्ट देखिने ।

(प्र.नं. १४)

 

पुनरावेदक वादी तर्फबाटः विव्दान अधिवक्ता श्री शालिकराम पाण्डे

पुनरावेदक प्रतिवादी तर्फबाटः विव्दान अधिवक्ता श्री श्यामजी प्रधान

अवलम्वित नजिरः ने.का.प.२०४६, अंक १, पृष्ठ ९३, ने.का.प.२०४८, अंक १०, पृष्ठ ६००

 

फैसला

            न्या.रामनगिना सिंहः पुनरावेदन अदालत हेटौंडाको मित २०५३।६।८।३ को फैसला उपर दोहोराई हेर्ने निस्सा प्राप्त भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ :

            २.    विपक्षीहरुको वावु तथा लोग्ने गंगाराम कुमाल हाम्रो परिवारमा जन्मेका जेठा छोरा हुन र निजले नै घरको मुख्य भै कारोवार गर्ने छोरा हुन । सो गर्दा अरु अंशियार समेतको हकहितको विपरीत जग्गा जमिन वेचविखन गर्न थालेकाले अंश मुद्दा गर्न वाधय भयौं र अंश मुद्दा चल्दा चल्दैका अवस्थामा निज गंगारामले आफ्नो श्रीमती विपक्षी मध्ये रमादेवी कुमाल र विष्णुदेवी कुमाललाई गंगारामका नाउंको चि.भ.गा.पं. वडा नं. ४ को कि.न.६४६ को ज.वि. ०-३-१७ जग्गा वकस गरी हक हस्तान्तरण गरेकाले सो वदर गरी पाउन निजहरुका विरुद्ध लिखित दर्ता मुद्दा दायर भै उक्त वसकपत्र लिखत वदर हुने ठहरी अन्तिम फैसला भयो । सो कि.नं. ६४६ को ज.वि. ०-३-१७ मध्ये ०-१-० नानीमाया के.सी.लाई हक हस्तान्तरण गरेछन सो वमोजिम कि.का. भै कि.न. ६९५ नानीमैया के.सी.को र ६९६ विपक्षी रमादेवी र विष्णुदेवी कुमालका नाउंमा रहेको थाहा हुन आयो । नानीमायालाई दिएको लिखत वदर गरी पाउं भन्ने मुद्दा र भाग छट्याई पाउं भन्ने मुद्दा दायर भएपछि नानीमायाको लिखत वदर हुने ठहरी र भाग छुट्याई पाउने ठहरी फैसला भएको छ । गंगारामको कालगतिले मृत्यु भएको हुनाले साविक कि.नं. ६४६ को ज.वि. ०-३-१७ को ११ भाग मधये एकभाग गंगारामको स्वास्नी छोराको वाहेक गरी वांकी १० भाग मध्ये १ भागमा हक पुग्ने दुर्गाबहादुरको हकमा वांकी राख्दा ९ भाग मध्ये लक्ष्मी देवीको एक भाग र वुद्धिराम कुमालको एकभाग समेत २ भाग वुद्धिराम कुमालको हकमा वांकी ७ भाग हामी फिरादी मध्ये वुद्धिराम वाहेक ७ अंशियारको हकमा कायम गरी दर्ता नामसारी गरी पाउन र अदालतबाटै चलन चलाई पाउन यो फिराद गरेका छौं । भाग छुट्याई लिन पाउने फैसला वमोजिम अदालतबाट छुट्याई लिनपर्नेमा आपसी समझदारी अनुसार वण्डा लगाई भोग गरी आएका थियौं। अदालतबाट छुट्याई लिन पर्नेमा नगरेकाले यो जग्गामा तिमीहरुको हक छैन भनी २०५०।१२।९ गते विपक्षीहरुले हक खिचोला गरेको हुंदा उक्त सुाविक कि.न.०-३-१७ को जग्गा मध्ये हामी फिरादीहरुको हक कायम गरी हक कायम गरी हक अनुसार दर्ता नामसारी गर्न सम्वन्धित मा.पो.का.मा जनाउ पठाई जनही जगा समेत अदालतबाटै चलन चलाई पाउं भन्ने समेत व्यहोराको संयुक्त फिराद दावी ।

            ३.    विपक्षी वादीहरुको फिराद दावी झुठ्ठा एवं गैरकानूनी छ । विपक्षीहरुले फिरादमा दावी लिए अनुसारको जग्गामा निज विपक्षीहरुले आफ्नो समेत हक दावी पुग्छ भनी दावी गर्न पाउने कानूनी छुट र सुविधा विपक्षीलाई छैन । हाम्रो सम्पत्ति हत्याउन सक्छौं कि भन्ने विपक्षीको असफल प्रयास मात्र हो । विपक्षीहरुले अंश मुद्दा गरी अव आफ्नो अंश लिई पाइसकेको तथ्यलाई फिरादमा नखुलाई सो तथ्यको ढाकछोप गरी भाग छुट्याई पाउं भन्ने अंश मुद्दा वकसपत्र वदर मुद्दा र भाग छुट्याई पाउं भन्ने समेतका मुद्दाहरुको अदालतबाट कारवाही किनारा भै सकेपछि विपक्षीहरुले अंश भाग वुझी लिई सकेपछि दिएको विपक्षीहरुहरुको फिराद निर्विवाद रुपमा खारेजयोग्य छ । सवै अंशियारले आ आफ्नो अंशब भाग वुझी लिई सकेपछि हाल आएर अंशवण्डाको ३५ नं. को हदम्यादलाई आधार लिई विपक्षी वादीहरुको फिराद दायर गर्न पाउनु हुने होइन । सो जग्गा हाम्रो हक स्वामित्वमा रहेको कि.नं. ६९५ र ६९६ को जग्गामा हाम्रो हक प्राप्त भए देखि नै हामीहरुको भोगचलन गर्दै आइरहेका छौ भने २०५०।१२।९ मा हटक खिचोला गर्न आयौं भन्ने विपक्षीहरुको फिराद कथन निराधार वनावटी एवं काल्पनिक छ । अतः विपक्षीहरुको वादी दावी पुग्न नसक्ने ठहर्याई झुठ्ठा एवं गैरकानूनी अदालतबाट अलग फुर्सद दिलाई पाउं भन्ने समेत व्यहोराको संयुक्त प्रतिउत्तर जिकिर ।

            ४.    वादीका साक्षी खड्ग बहादुर के.सी. प्रतिवादीका साक्षी वलराम परियार अम्वर बहादुर श्रेष्ठको वकपत्र भएको मिसिलबाट देखिएको ।

            ५.    कि.न.६४६ को जग्गा अ.वण्डा भन्ने व्यहोरा नलेखेको र समयमा नै उक्त वण्डालाई विवाद देखाई उजुर गर्न  नसकेको र अहिले आएर पहिलाका मुद्दाको फैसला र सर्वोच्च अदालतको नजिरको आधारमा मुद्दा दिन आएका यि वादीहरुलाई उक्त नजिरबाट प्रतिपादित सिद्धान्तले मद्दत गर्न नसक्ने भएकोले यि वादीहरु मध्येकै वुद्धिराम, तुल्सी, राजु र कालिदासको हकमा वादी दावी वमोजिम निजहरुको भागमा हक कायम गराउन मिलेन । यिनिहरुको दावी पुग्न सक्दैन । वादीहरु शान्ति माया र राजेन्द्रले दावी गरी भोगेको जग्गा निजहरुको हकभै निजहरुका नाउंमा दर्ता हुने ठहर्छ सो जग्गा आफ्नो भाग जति यी वादीहरु दुईजनाले चलन समेत चलाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु चितवन जिल्ला अदालतबाट भएको  फैसला ।

            ६.    शुरु चितवन जिल्ला अदालतबाट रामबहादुर कुमाल र लिलाबहादुर कुमालको हकमा खारेज गरेको, वुद्धिराम, तुल्सीमाया राजु र कालिदास कुमालको हकमा दावी नपुग्ने भनी भएको फैसला कानूनी सिद्धान्त र नजिर समेतको विपरीत भै त्रुटिपूर्ण रहेकोले उक्त फैसलाको ठहर वदर गरी हाम्रो फिराद माग दावी वमोजिम हुने गरी न्याय इन्साफ पाउं भन्ने समेत व्यहोराको कालिदास कुमाल समेतको पुनरावेदन जिकिर ।

            ७.    शुरु चितवन जिल्ला अदालतले शान्तिमाया र राजेन्द्र कुमालले वादी दावी वमोजिमको जग्गामा ११ भागको एक एक भाग जग्गा निजहरुको नाउंमा दर्ता हुने र कि.नं.६४६ को जग्गाबाट चलन समेत चलाई पाउने ठहर भएको फैसला न्यायसम्मत नभएकोले उक्त फैसला उल्टाई न्याय इन्साफ गरी पाउं भन्ने समेत व्यहोराको प्रदिपकुमार समेतको पुनरावेदन जिकिर ।

            ८.    वादी मध्येका शान्ति माया र राजेन्द्रले अदालतबाट भएको अंश भएको फैसला वमोजिम अदालतबाटै डोर खटी अंश छुटृयाई लिइसकेको अवस्थामा निजहरुले अंश पाई नसकेको भन्ने आधारमा निजहरुको हक कायम गरी निजहरुको भाग समेत निजहरुकै नाममा दर्ता हुने र चलन पाउने समेत ठहर गरेको शुरु जि.अ. को इन्साफ फरक पर्ने भएकोले अ.व. २०२ नं. वमोजिम प्रत्यर्थी निज २ लाई छलफलमा झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने मिति २०५३ साल जेष्ठ ११ गतेको पुनरावेदन अदालतको आदेश ।

            ९.    प्र वादी रामबहादुर लिलाबहादुरले २०४६।१०,२७ मा वुद्धिराम गंगारामसंग अंश वुझी सकेकोले निजहरुको हकमा खारेज गर्ने गरी र पुनरावेदक वुद्धिराम तुल्सीमाया कुमाल कालिदासले वण्डा पत्र पास गरी लि सकेको अवस्था हुंदा सो वण्डापत्र अन्यथा भएको अवस्था समेत नहुंदा निजहरुको हकमा दावी पुग्न सक्ने अवस्था भएन । अव पुनरावेदक वादी शान्तिमाया र राजेन्द कुमालको हकमा प्रंमाणमा आएको अंश मुद्दा र वण्डा छुट्याई पाउं भन्ने  मुद्दाको फैसलाबाट वण्डा छुट्याएको चलन पुर्जि समेत अययन गरी निर्णयतर्फ विचार गर्दा पुनरावेदक वादीहरु ११ भागको १ भाग अंश पाउने अंशियार भई निजहरुले अदालतबाटै डोर खटि अंश छुट्याई लिइ सकेको अवस्थामा फैसलाको तपसिल खण्डमा उल्लेखित कि.न. ६४६ को जग्गाबाट आ­आफ्नो भाग अंश वुझी सकेको चलन पुर्जिबाट प्रमाणित हुन आएको अवस्था विद्यमान नहुंदा वादीहरुको भाग जतिमा हक कायम गर्ने गरी भएको शुरु चितवन जिल्ला अदालतको मिति २०५२।९।८।५ को निर्णय मुनासिव हुंदा सदर हुन्छ भन्ने समेतको पुनरावेदन अदालत हेटौंडाको २०५३।६।८ को   फैसला ।

            १०.    उक्त फैसलामा कानून  तथा नजिरको गम्भीर त्रुटि विद्यमान हुंदा न्याय प्रशासुन ऐन, २०४८ को दफा १२(१) (क)(ख) वमोजिम दोहोराई पाउं भन्ने समेत व्यहोराको कालिदास कुमाल समेत वादी ६ जनाको संयुक्त निवेदन पत्र ।

            ११.    कानून तथा नजिर समेत पालना नगरी भएको पुनरावेदन अदालत हेटौंडाको फैसला उल्टी गरी विपक्षी शान्तिमाया तथा रोजेन्द्र कुमाल समेतले ११ भागमा १, १ भाग सम्म दावी पुग्ने गरी भएको जि.अ. को फैसलालाई सदर हुने ठहर्याई भएको फैसला समेत वदर गरी पाउं भन्ने समेत विष्णु माया कुमाल समेतको निवेदन पत्र ।

            १२.   यस्मा पुनरावेदन अदालत हेटौंडाको मिति २०५३।६।८ को फैसला उपर मुद्दा दोहोर्याई पाउं भनी वादी तर्फबाट ४४५० को र प्रतिवादी तर्फबाट ५१४९ को निवेदन परेको देखिन्छ । यसै मुद्दासंग सम्वन्धित यिनै वादी प्रतिवादी वीच चलेको लिखत दर्ता वरद मुद्दामा प्रतिवादी तर्फको निवेदनबाट २०५४।९।४ मा यस अदालतबाट मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भएको देखिन आएको र सो मुद्दाको यस मुद्दासंग अन्तर सम्वन्ध देखिई एकैसाथ निर्णय गर्नुपर्ने अवस्थाको देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को आधारमा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ । सो लिखत वदर मुद्दा साथै पेश गर्नु भन्ने यस अदालतबाट मिति २०५७।३।९ मा भएको आदेश ।

            १३.   आज पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तुल्सीमाया कुमाल समेत तर्फबाट उपस्थित विव्दान अधिवक्ता श्री शालिकराम पाण्डे र पुनरावेदक प्रतिवादी प्रदिपकुमाल समेतको तर्फबाट उपस्थित विव्दान अधिवक्ता श्री श्यामजी प्रधानले इजालस समक्ष गर्नु भएको वहस समेत सुनियो ।

            १४.   यसमा शुरु चितवन जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत हेटौंडाको इन्साफ मिले नमिलेको सम्वन्धमा निर्णय दिनुपर्ने  देखियो । निर्णयतर्फ विचार गर्दा साविक कि.न. ६४६ को ज.वि. ०-३-१७ हाल कयम भएको कि.नं. ६९५ नानीमाया के.सी.को नाममा रहेको र कि.न.६९६ विपक्षी रमादेवी र विष्णु देवीको नाउंमा कायम रहेको थाहा हुन आयो। साविक कि.नं. बाट कित्ताकाट गरी वकसपत्र गरी दिएको लिखत वदर मुद्दामा दावी वमोजिम लिखत वदर भएको र भाग छुट्याई पाउं भन्ने मुद्दामा मिति २०४३।११।२७ मा अंश भाग छुट्याई लिन पाउने फैसला भएकोमा अंशभाग अदालतबाट छुट्याई लिनु पर्नेमा आपसी समझदारी अनुसार वण्डा लगाई भोग गरी आएको उक्त साविक कि.न. ६४६ को ०-७-१७ जग्गामा मिति २०५०।१२।९ मा हटक खिचोला गरेको हुंदा खिचोला मेटाई चलन चलाई पाउं भन्ने समेत फिराद दावी रहेको देखिन आउंछ । हाम्रो हक स्वामित्वमा रहेको कि.नं. ६९५ र ६९६ को जग्गामा हाम्रो हक प्राप्त भए देखि नै हामीहरुले नै भोगचलन गर्दै आइरहेका छौ । मिति २०५०।१२।९ मा हटक खिचोला गरेको भन्ने विपक्षी वादीको कथन वनावटी एवं काल्पनिक हो भन्ने प्रतिउत्तर जिकिर रहेको देखिन्छ । पुनरावेदक वादी प्रतिवादीहरु एउटै परिवारका अंशियारहरु रहेको कुरामा विवाद छैन । यी वादी प्रतिवादी वीच अंश लिखत वदर मुद्दा चली मिति २०४१।८।७ मा अंश पाउने र लिखत वदर हुने ठहरी फैसला भएको मिसिलबाट देखिन्छ । अंश भाग छुट्याई पाउं भन्ने पुनः मुद्दा दिई मिति २०४३।११।२७ मा अंश छुट्याई लिन पाउने फैसला भै अन्तिम रुपमा रहेको देखिन्छ । सो फैसला वमोजिम आ­आफ्नो भाग मुलुकी ऐन दण्ड सजायको महलको ४६ नं. को म्याद २ वर्ष भित्र छुट्याई लिनेतर्फ कार्यवाही नचलाएको वादीहरु स्वयं सावित रहेका छन् । फैसला वमोजिम छुट्याई लिने कार्यवाही नचलाएपछि विवादको जग्गामा प्रतिवादीहरुको हक कायम भैरहेको मान्नुपर्ने हुन्छ । ने.का.प. २०४६, अंक १, पृष्ठ ९३ मा कुनै पनि फैसला कार्यान्वयन नगराइदा सो फैसलाको औचित्य निश्चित समय भित्र समाप्त हुने देखिन्छ भन्ने त्यस्तो फैसला कार्यान्वयन गराई माग्नु पर्ने पक्षले आफ्नो दायित्व पूरा नगरे उक्त फैसला वमोजिम निजको हक रहिरहने भन्न सकिने अवस्था नरहने भन्ने ने.का.प. २०४८, अंक १०, पृष्ठ ६०० मा एक पटक आफैले अंश मुद्दा दिई अंश पाउने ठहर भैसकेपछि दण्ड सजायको ४६ नं. वमोजिम अंश छुट्याउने कार्यवाही टुंग्याउनु पर्ने कर्तव्य भएको वादीले अर्को मुद्दा दिई सोही उद्देश्य हासिल गर्न खोजेको देखिन आएको छ । जुन कुरा प्रत्यक्ष गर्नु हुदैन सो कुरा परोक्ष रुपले पनि गर्न नहुने कानूनी सिद्वान्त अनुसार पनि वादी दावी पुग्न सक्ने अवस्था नदेखिने भन्ने सिद्वान्त प्रतिपादन भैरहेको देखिन्छ । कानूनको म्याद भित्र फैसला वमोजिम भाग छुट्याई नलिई चुप लागी वस्ने वादीहरुले अन्तिम फैसला भएको मितिले करिव ७ वर्ष पछि आएर २०५०।१२।९ मा खिचोलामा नालिस दिएको देखिन्छ । प्रस्तुत मुद्दाको फिराद मुलुकी ऐन जग्गा पजनीको १७ नं. र जग्गा मिच्नेको १८ नं. को हदम्याद नाघी दायर भएको प्रष्ट देखिन आयो । कानूनले तोकिएको हदम्याद नाघी दायर भएको फिरादपत्र खारेज गर्नुपर्नेमा खारेज नगरी इन्साफ गरेको चितवन जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत हेटौंडाको  मिति  २०५३।६।८ को  फैसला नमिली उल्टी हुन्छ । प्रस्तुत फिराद दावी नै खारेज हुने ठहर्छ । पुनरावेदक वादीहरुको पुनरावेदन जिकिर पुग्न   सक्दैन । अरुमा तपसिल वमोजिम गर्नु ।

 

तपसिल

                       

            माथि इन्साफ खण्डमा लेखिए वमोजिम शुरु र पुनरावेदन अदालत हेटौंडाको फैसला उल्टी भै फिराद खारेज हुने ठहर भएकोले प्रतिवादीहरुले पुनरावेदन अदालत हेटौंडामा राखेको कोर्ट फि रु.१३९।९९ र यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फि रु.५९८।५० र चितवन जिल्ला अदालतमा मिति २०५२।६।३ मा राखेको धरौटी रु.८८६।६६ समेत जम्मा रु.१६१८।१५ फिर्ता पाउं भनी कानून वमोजिम दरखास्त दिए केही दस्तुर नलिई फिर्ता दिनु भनी शुरु चितवन जिल्ला अदालतमा लेखी पठाउनु ...... १

मिसिल नियम वमोजिम वुझाई दिनु .....१

 

उक्त रायमा सहमत छु ।

 

न्या.केदारनाथ उपाध्याय

 

इति सम्वत २०५८ पुष ११ गते रोज ४ शुभम .....

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु