शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७१४४ - विष प्रयोग गरी गोरु मारेको ।

भाग: ४४ साल: २०५९ महिना: पौस अंक:

निर्णय नं.७१४४     ने.का.प.२०५९ अङ्क ९/१०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा

संवत् २०५५  सालको फौ.पु.नं. ...१९९०

फैसला मितिः २०५९।८।२७।६

 

मुद्दाः विष प्रयोग गरी गोरु मारेको ।

 

पुनरावेदक

वादीः नरवहादुरको जाहेरीले श्री ५ को सरकार                      

विरुद्ध

विपक्षी

प्रतिवादीः जि. मोरङ्ग पथरी गा.वि.स.वार्ड नं. ३ वस्ने प्रेमवहादुर कार्की 

 

§  जाहेरवाला नरवहादुरले मृतक गोरुलाई प्रतिवादीले विष खुवाएको भनि प्रष्ट किटान गरी भन्न नसकेको, प्रतिवादी प्रेमवहादुर कार्कीले आरोपित कसूरका सम्बन्धमा अधिकार प्राप्त अधिकारी र अदालतमा इन्कार रही वयान गरेको, मृतक गोरुको पोष्टमार्टम हुन नसकेको, राष्ट्रिय विधि विज्ञान प्रयोगशालावाट परीक्षण गरी विष खाएर गोरुको मृत्यु भएको भन्ने पुष्टि हुन नसकेको, प्रतिवादीले गोरुलाई विष खान दिएको देखेको भनिएकी चश्मदित लक्ष्मी मायाले प्रतिवादीले विष खुवाएको भनि किटानसाथ लेखाइ दिन नसकेको, विष खाइ गोरु मरेको भन्ने राय व्यक्त गर्ने व्यक्ति विशेषज्ञ नभै पशु सेवा केन्द्रको ना.प्रा.स. (रा.प.अनं द्वि.प्रा.) कर्मचारी सम्म भएको र वादी पक्षवाट अन्य कुनै सवुद प्रमाण गुजार्न नसकिरहेको स्थितिमा केवल ना.प्रा.स.ले विषको कारण दुवै गोरु मरेका हुन् भनि उल्लेख गरेको शव परीक्षण रिपोर्टलाई आधार मात्र लिई प्रतिवादीलाई कसूरदार ठहर गरी सजाय गर्न फौज्दारी न्यायका मान्य सिद्धान्त अनुरुप नमिल्ने भै शंकाको सुविधा अभियुक्तले  पाउने  ।

(प्र.नं. १६)

 

पुनरावेदक वादी तर्फबाटः विद्वान सह न्यायाधिवक्ता श्री टिकाबहादुर हमाल

विपक्षी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री वल्लभ वस्नेत र श्री कृष्ण थापा

अवलम्वित नजिरः

 

फैसला

            न्या.गोविन्दबहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अनुसार यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र एवं फैसला यसप्रकार छ ।

            २.    २०५३।५।१५ गते साँझ ६ वजे चिन्ता बस्न चन्द्रवहादुर मगरको घरमा गएको र श्रीमती चिन्ता हेर्न गएको छोरी लक्ष्मी घरमा बसेको, ०५३।५।१६ गते ३ वजे प्रेमवहादुर कार्की मेरो घर अगाडि आई बेसारको पात चुडी मेरो हलगोरु वाधेको थलामा गै सो पात गोरुलाई खान दिई खेतैखेत आफ्नो घर तर्फ गएको छोरी लक्ष्मी मायाले देखेकी रहिछन सो पछि गोरु कराउन र छटपटाउन थालेपछि छोरीले हो हल्ला गर्दा छिमेकी गोरुको थालमा जांदा विषालु पदार्थको गन्ध आएको, गोरुहरु र्‍याल फिज काड्दा काड्दै समाजको सामुन्नेमा लडी मरेको हुँदा उज्यालो भई हेर्दा थलामा विषालु पदार्थ पाउडर जस्तो छरिएको वेसारको पात केहि चपाएको अवस्थामा गोरुले छादेको देखिएको, प्रेमवहादुरले के कहांवाट के कुन विषालु वस्तु सेवन गराई बिगो रु.१०,०००। दशजार पर्ने गोरु २ मारी चौपायाको १ नं. प्रतिकूल कसूर गरेकोले पक्राउ गरी ऐ.को ११ नं. वमोजिम सजाय गरी पाउं भन्ने नरवहादुर विश्वकर्माको जाहेरी ।

            ३.    गोरुको नाक, मुखवाट र्‍याल, मलद्वारवाट रगत निस्केको जिव्रा काटेको, पेट फुलेको, लडिरहेको, डुडको पश्चिमतर्फ सेतो पदार्थ छिटिएको वेसारजस्तो घांसको पात दुवै गोरुले छांदेको, र्‍याल सहितको बेसारको जस्तो पात रहेको, गोठमा विषालु गन्ध चलेको भन्ने ०५३।५।१६ को घटनास्थल प्रकृति तथा मृतक गोरुको प्रकृति मुचुल्का ।

            ४.    २०५३।५।१५ गते घटना भएको रातमा मेरै घरमा छु । जाहेरवाला र मेरो ४०० फिट फरकमा छ । जाहेरवालासंग मेरो बिभिन्न रिसइवी थियो, जाहेरवालाको गोरु मरेको कुरा ०५०।५।१३ गते विहान पथरीमा थाहा पाएं, म हेर्न गईन, मैले विष खुवाई मारेको होइन, के कसरी मरे थाहा छैन । मैले वेसारको पात चुडी खुवाएको होइन र लक्ष्मीले देखेको पनि होइन फसाउन यस्तो जाहेरी दिएका हुन भन्ने व्यहोराको प्रतिवादी प्रेमवहादुर कार्कीले प्रहरीमा गरेको वयान ।

            ५.    प्रेमवहादुर कार्कीले नै विष प्रयोग गरी गोरु मारेको विश्वास लाग्छ भन्ने दफा १, विषको गन्ध ग्वालीमा आएको गोरुले र्‍याल काडी छादेको, विष प्रयोग भएकोमा विश्वास लाग्छ भन्ने र प्र.ले नै प्रयोग गरेमा आंखाले नदेखेको हुँदा किटान गर्न सकिदैन भन्ने दफा २ मा मानिस र प्रेमवहादुरले विष प्रयोग गरी कर्तव्य गरी मारेको हो भन्ने दफा ३,,७ समेतका व्यक्तिहरुले लेखाएको वस्तुस्थिति मुचुल्का ।

            ६.    विगो रु. १०,०००। पर्ने गोरु प्रतिवादी प्रेमवहादुर कार्कीले विष प्रयोग गरी मारेको देखिंदा चौपायाको १ नं.को कसूर गरेकोले ऐ.को ११ नं. वमोजिम सजाय भै ऐ.को ७ नं. वमोजिम जाहेरवालालाई बिगो दिलाई भराइ पाउं भन्ने समेत व्यहोराको अभियोग प्रतिवेदन ।

            ७.    जाहेरवालासंग जग्गाको बिषयमा मेरो झगडा परेको र निजको छोरीलाई झगडा हुँदा १ थप्पड मैले हानेकोले रिसइवि भएको हुनाले म निजको घरमा गएको र वेसारको पात खानदिई विष प्रयोग गरी गोरु मारेको होइन, भगडाको कारणले पोलेका हुन् भन्ने व्यहोराको प्र. प्रेमवहादुर कार्कीले अदालतमा गरेको वयान ।

            ८.    जाहेरवाला, प्रहरीमा कागज गर्ने व्यक्ति र प्र.का साक्षीहरुको वकपत्र भई मिसिल सामेल रहेको ।

            ९.    अभियोग माग दावी वमोजिम प्रतिवादी प्रेमवहादुर कार्कीले विष प्रयोग गरी जाहेरवालाको गोरुहरु मरेको र जाहेरवालाको गोरुको विगो रु.१०,०००। समेत प्रतिवादीवाट भराइ पाउने ठहर्छ भन्ने समेत शुरु मोरंग जिल्ला अदालतको मिति ०५३।११।१३ गतेको फैसला ।

            १०.    शुरु जिल्ला अदालतको फैसलामा चित्त वुझेन, गोरुको मृत्यु यहि कारणले भएको हो भन्न सकिने आधार नै नहुँदानहुँदै पनि जाहेरवालाले पूर्ण रिसइविवाट मलाई पोलेको हुनाले उक्त फैसला त्रुटीपूर्ण हुँदा उल्टाइ सफाइ पाउं भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन अदालत, विराटनगरमा परेको पुनरावेदन पत्र ।

            ११.    पुनरावेदकलाई भएको सजाय विचारणीय हुँदा छलफलको लागि अ.वं. २०२ नं. वमोजिम सरकारी वकिललाई झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालत, विराटनगरको आदेश ।

            १२.   पोष्टमार्टम नगरी गोरुहरुको मृत्यु कसरी कुन कारणवाट भएको हो भनि एकिन गर्न सकिने  देखिदैन । शंकाको सुविधा अभियुक्तले पाउँछ भन्ने फौज्दारी न्याय सिद्धान्त समेत प्रतिपादित भै रहेको परिप्रेक्ष्यमा प्रतिवादीले अभियोग वमोजिम जाहेरवालाको गोरुहरुलाई विष खान दिई मुलुकी ऐन चौपायाको १ नं.को कसूर गरेको भन्न मिल्दैन । शुरु मोरंग जिल्ला अदालतले प्रतिवादी प्रेमवहादुर कर्कीले विष प्रयोग गरी जाहेरवालाको गोरुहरु मरेको र जाहेरवालाको विगो समेत प्रतिवादीवाट भराइ पाउने ठहर्छ भनि गरेको फैसला पुरै उल्टी भै पुनरावेदक प्रतिवादी प्रेमवहादुर कार्कीले अभियोग दावीवाट सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको २०५४।४।१६।५ को पुनरावेदन अदालत, विराटनगरको   फैसला ।

            १३.   मोरङ्ग जिल्ला अदालतले कसूरदार ठहर्‍याई गरेको फैसला उल्टी गरी पु.वे.अ.वाट भएको फैसला त्रुटीपूर्ण हुँदा सो फैसला वदर गरी शुरु अभियोग दावी वमोजिम सजाय गरी पाउं भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फवाट यस अदालतमा परेको पुनरावेदन पत्र ।

            १४.   यस्मा विधिविज्ञान प्रयोगशालावाट जाँचिएको प्रतिवेदनमा लेखिए वमोजिम जाँचको लागि पठाइएको पदार्थमा किरामार्ने विषादी पाइएका र भेटनरीका कर्मचारीको रायवाट विषको कारणले गोरुको मृत्यु भएको भन्ने समेत देखिंदा किटनाशक विषादीको प्रयोग गोरु मर्नु कारण निर्विवाद रुपले स्थापित भएको देखिन आउंछ । यस स्थितिमा पुनरावेदन अदालत, विराटनगरले गोरुको पोष्टमार्टम नभएको कारणले प्रतिवादीलाई सफाइ दिने गरेको फैसला फरक पर्न सक्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार गरी पेश गर्नु भन्ने मिति ०५८।२।१ को यस अदालतको आदेश ।

            १५.   नियम वमोजिम दैनिक पेशि सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकको तर्फवाट बहसको लागि उपस्थित विद्वान सह न्यायाधिवक्ता श्री टिकावहादुर हमालले रोनाष्टको प्रतिवेदनवाट गोरुको मृत्यु विषको कारणवाट भएको भन्ने पुष्टि भएकोले प्रतिवादीले आरोपित कसूर गरेकोमा ठहर नगरी सफाइ पाउने ठहर गरेको पु.वे.अ.को इन्साफ वदर गरी शुरु जिल्ला अदालतले गरेको फैसला सदर हुनुपर्दछ भनि र प्रतिवादीका तर्फवाट वहसका लागि उपस्थित विद्वान अधिवक्ता श्री वल्लभ वस्नेत तथा विद्वान अधिवक्ता श्रीकृष्ण थापाले वादी पक्षका साक्षीहरुको वकपत्र एक आपसमा मिलेको छैन । गोरु विरामी भएकोमा तत्काल उपचार गरी वचाउने काम पनि भएको छैन । वारदात शंकास्पद छ । राय दिने व्यक्ति विशेषज्ञ देखिदैन र मृतक गोरुको पोष्टमार्टम समेत नगराएको स्थितिमा प्रतिवादीलाई आरोपित कसूर गरेको ठहर गरी सजाँय गर्न नमिल्ने हुँदा प्रतिवादीले सफाइ पाउने ठहर गरेको पु.वे.अ.को फैसला सदर कायम हुनुपर्दछ भनि गर्नु भएको बहस जिकिर समेत सुनी प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, विराटनगरवाट मिति २०५४।४।१६ मा भएको फैसला मिले नमिलेको के रहेछ ? सो सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।

            १६.    यसमा प्रतिवादी प्रेमवहादुर कार्की उपर मु.ऐन चौपायाको महलको १ नं.को कसूरमा ऐ.को ११ नं. अनुसारको सजाँय र ७ नं. अनुसार विगो समेत भरी पाउनका लागि अमियोग दायर भएकोमा शुरु जिल्ला अदालतले अभियोग दावी वमोजिम सजाँय र विगो समेत भराउने गरी फैसला भएकोमा सो उपर प्रतिवादीको पु.वे.अ. विराटनगरमा पुनरावेदन परी पु.वे.अ.वाट प्रतिवादीलाई अभियोग दावीवाट सफाइ पाउने ठहर गरी भएको फैसला उपर वादी श्री ५ को सरकारको तर्फवाट यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दामा निर्णयतर्फ बिचार गर्दा जाहेरवाला नरवहादुरले मृतक गोरुलाई प्रतिवादीले विष खुवाएको भनि प्रष्ट किटान गरी भन्न नसकेको, प्रतिवादी प्रेमवहादुर कार्कीले आरोपित कसूरका सम्बन्धमा अधिकार प्राप्त अधिकारी र अदालतमा इन्कार रही वयान गरेको, मृतक गोरुको पोष्टमार्टम हुन नसकेको, राष्ट्रिय विधि विज्ञान प्रयोगशालावाट परीक्षण गरी विष खाएर गोरुको मृत्यु भएको भन्ने पुष्टि हुन नसकेको, प्रतिवादीले गोरुलाई विष खान दिएको देखेको भनिएकी चश्मदित लक्ष्मी मायाले प्रतिवादीले विष खुवाएको भनि किटानसाथ लेखाइ दिन नसकेको, विष खाई गोरु मरेको भन्ने राय व्यक्त गर्ने व्यक्ति विशेषज्ञ नभै पशु सेवा केन्द्रको ना.प्रा.स.(रा.प.अनं द्वि.प्रा.) कर्मचारी सम्म भएको र वादी पक्षवाट अन्य कुनै सवुद प्रमाण गुजार्न नसकिरहेको स्थितिमा केवल ना.प्रा.स.ले विषको कारण दुवै गोरु मरेका हुन् भनि उल्लेख गरेको शव परीक्षण रिपोर्टलाई आधार मात्र लिई प्रतिवादीलाई कसूरदार ठहर गरी सजाय गर्न फौज्दारी न्यायका मान्य सिद्धान्त अनुरुप नमिल्ने भै शंकाको सुविधा अभियुक्तले पाउने हुँदा प्रस्तुत मुद्दामा आरोपित कसूरवाट प्रतिवादीले सफाइ पाउने ठहर गरिगरेको पुनरावेदन अदालत, विराटनगरको मिति २०५४।४।१६ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.कृष्णकुमार वर्मा

 

इतिसंवत् २०५९ साल मार्ग २७ गते रोज ६ शुभम .................................

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु