शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७३४७ - करकाप लुटपिट ।

भाग: ४६ साल: २०६१ महिना: असार अंक:

निर्णय न.७३४७           ने.का.प.२०६१       अङ्क ३

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी

माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह

सम्वत् २०५६ सालको फौ.पु.नं. २२२१

फैसला मितिः २०६१।२।८।६

 

मुद्दाःकरकाप लुटपिट ।

 

पुनरावेदक

वादीः धनुषा जिल्ला सवैला गा.वि.स. वडा नं. ७ वस्ने वौएलाल नायक

विरुद्ध

विपक्षी

प्रतिवादीः उदयपुर जिल्ला देउरी गा.वि.स. वडा नं. २ जलजले वस्ने वहुरी चौधरी समेत

 

§  वादीले प्रत्यक्षदर्शी भनी दिएको साक्षी वेचन महतो र जिवच्छा शाहा पनि वारदात भयो भनेको ठाउँमा नभै अन्यत्र ठाउँका देखिने र निजहरु वारदातको दिन प्रतिवादी सुदामाको घरमा रातको समयमा आई वस्नुपर्ने उपयुक्त कारण समेत नदेखिंदा निजहरुको वकपत्रको प्रमाणिक मूल्य त्यति भरपर्दो र विश्वसनीय मान्न मिल्ने देखिएन । यस्तो साक्षी वकपत्रको आधारमा मात्र प्रतिवादीहरुले वादीलाई करकापसँग कागज गराएको भनि प्रतिवादीहरुलाई कसूरदार ठहर गर्न नमिल्ने ।

§  सहज र स्वभाविक तवरवाट खडा भएको कागजलाई करकापसँग गराएको भन्न नमिल्ने हुँदा करकाप ठहराएको शुरु उदयपुर जिल्ला अदालतको फैसला उल्टी गरि वादी दावी नपुग्ने ठहराएको पुनरावेदन अदालत राजविराज सप्तरीको इन्साफ मनासिव देखिंदा सदर   हुने ।

(प्र.नं. १९)

 

पुनरावेदक वादी तर्फवाटः

विपक्षी प्रतिवादी तर्फवाटः

अवलम्वित नजिरः

 

फैसला

            न्या.केदारप्रसाद गिरीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) वमोजिम पुनरावेदन अदालत राजविराजको फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार  छ :-

            २.    विपक्षी सुदामा मेरो पुरानो चिनजानको मानिस भएकोले निजकोमा आउने जाने गर्दा अरु विपक्षीहरुलाई पनि चिनेको थिए मेरो निर्माण कार्य जलजलेमा चलिरहेको र एउटा ट्याक्टरको जरुरत भएकोले सो कुरा सुदामालाई भनेपछि सुदामाले इण्डियन ट्याक्टर छ १ लाख १० हजारमा दिन्छ भनेपछि सवै विपक्षीहरुलाई भेला गरी इण्डियन प्लेट नं. ११७१ इन्जीन २, MCTO ट्याक्टर देखाएर म किन्न मंजुर भएको दिन पनि मंजुर भएकाले बैना वापत रु. ३२,५००।मिति २०४९।९।२४ मा दिएर वांकी रु. ७७,५००।मिति २०४९।१०।९ मा चुक्ता गरि पास गर्ने शर्त भएपछि म वांकी रुपैया खोज्न गई खोजी रुपैया लिई मिति ०४९।१०।२ गते विपक्षीहरु भए ठाउँमा आई विपक्षी सुदामा लाई दिएर भन्सार तिर्न भनि झापा लगे, काम नमिलेकाले म र सुदामा फर्की आर्यौ अन्य विपक्षीहरु ट्याक्टरको भन्सार मिलाउन वसे यस्तैमा मिति ०४९ साल माघ ९ गते किन ट्याक्टर आएन आज पास गर्ने दिन मेरो रुपैया पनि चुक्ता भै सक्यो भनि सुदामा सँग कुरा गरी वसेको थिए निजले पखपख भनि रोकी रहेको थिए सोही दीनको सांझ ६।३० वजेका समयमा सवै विपक्षीहरु भेला भै सुदामाको घरमा जानको लागि अं. ७ वजेका समयमा भेला भई एकान्तमा वसे त्यसपछि सवै ठिक भै हाल्छनी भनि सुदामाको घरमा गएपछि सुदामाले यसलाई कागजमा सहिगराऔ भनेपछि लेखेको कागज निकाली मलाई पढ्न पनि नदिई मेरो साथमा रहेको वैनाको कागज खोसी छातीमा वन्दुक तेर्साएर वोलिस भने तेरो ज्यान जान्छ भनि, लेखेको कागज निकाली वहुरीले कलम दिएर जवरवजस्ती साथ के कुन व्यहोरा लेखिएको कागजमा सहिछाप गराएकोले साह्रै अन्यायमा परि यो फिराद गर्न आएको छु । मेरो इच्छा विरुद्ध गराएको कागज अ.वं. २४ नं. अनुसार वदर गरी दण्ड सजायका १२ नं. वमोजिम सजाय गरी वैनाको कागज लुटपिट गरेको तर्फ सो विगो ठगि मुद्दावाट असुल उपर हुनेनै हुँदा सजाय तर्फ मात्र लुटपिटका ६ नं. वमोजिम सजाय गरि पाउँ भन्ने फिराद दावी ।

            ३.    वादीलाई म समेत भई मिति २०४८।१०।९ गते करकापसँग कागज गराई लुटपिट समेत गरेको होइन छैन वादीले प्र.महेन्द्र यादवको भारतीय ट्याक्टर प्रति महिना रु. १८,०००।दिने शर्त गरी मिति २०४९ साल भाद्र १ गते देखि पौष मसान्त सम्म चलाउने शर्त भएको र सो भाडा रकम नदिएकाले ५ महिनाको हुने रु. ९०,०००।मिति ०४९।१०।६ गते विहान ९ वजेको समयमा मागगर्दा तत्काल रुपैया छैन कागज गरि दिन्छु भनि निजको राजीखुसीले कागज लेखाई मलाई साक्षी बसी दिनुहोस भनि निजले भनेकाले सो कागजमा म साक्षी वसेको हुँदा निजलाई सो कागज करकापवाट गराएको होइन उक्त भाडा रकम तिर्न नपरोस भनि वदनियत चिताई यो झुठा फिराद दिएका हुन भन्ने समेत व्यहोराको प्रतिवादी भोला मण्डलको प्रतिउत्तर जिकिर ।

            ४.    वादीले करकाप र लुटपिटको दावी गरि एउटै फिरादमा प्रस्तुत गर्नु भएको छ । करकाप मुद्दा संक्षिप्त कार्यविधि ऐन २०२८ अन्तर्गत कार्यविधि अपनाइने र लुटपिट साधारण फौजदारी दायरी अन्तरगत कार्यविधि अपनाईने हुँदा अ.वं. १८० नं. वमोजिम प्रस्तुत फिराद खारेजभागी छ । वादीलाई १ लाख १० हजारमा ट्याक्टर वच्ने भनी रु. ३२,५००।वैना वट्टाको कागज गरि दिएको छैन र करकाप सँग कागज पनि गराएको होइन । वादीले N.C.C.N. को रोड वनाउने कामको ठेक्का लीएको हुँदा मेरो ट्याक्टर भाडामा मागी मिति ०४९।५।१ गते देखि प्रतिदिन रु. ६००।भाडा तिर्ने गरी चलाएका थिए सो भामडा रकम नदिएकाले ५ महिनाको हुने रु. ९०,०००।को कागज वादीले राजी खुशी साथ गरि दिएका हुन सो रकम तिर्न पर्छ भन्नका लागि झुठा मुद्दा सिर्जना गरि दिएका मात्र हुन भन्ने समेत व्यहोराको प्रतिवादी महेन्द्र यादवको प्रतिउत्तर जिकिर ।

            ५.    वादी दावी वमोजिम हामीले करकाप लुटपिट गरेका होइन छैन । विपक्षीले प्र. मध्येका महेन्द्र यादवको ट्याक्टर प्रति महिना रु.१८,०००।का दरले लिने दिने गरि मिति ०४९।५।१ गते देखि प्रयोग गरि २०४९ साल पौष मसान्त तर्फ ५ महिनाको हुने रु. ९०,०००।वौवेलालले प्र. महेन्द्रलाई वुझाउन वांकी रहेकोले सो रुपैयाको कागज गरि दिन्छु तपाईहरु साक्षी वसी दिनुहोस भनेकाले मिति ०४९।१०।६ गते विहान ९ वजेको समयमा प्र. मध्येको म वहुरी चौधरीले कागज लेखि म प्र. राम असिश सो कागजमा साक्षी वसेको हुँ वादीलाई हामीले निजको इच्छा विपरीत कागज गराएको होइन सो भाडा रकम प्र. महेन्द्रलाई तिर्नु वुझाउनु पर्छ भनि यो झुठा मुद्दा दिएको मात्र हो भन्ने प्रतिवादी वहुरी चौधरी, राम असिस र सुदामाप्रसादको संयुक्त प्रतिउत्तर जिकिर ।

            ६.    धनी महेन्द्र यादव ऋणी वौएलाल नायक भएको मिति ०४६।१०।६ गतेको रु. ९०,०००।को सक्कल कागज पढी वाची सुनाउँदा व्यहोरा र सहिछाप देखे सो कागज मलाई करकाप सँग गराएको कागज हो मेरो राजीखुशीवाट गरेको कागज होइन भन्ने समेत वादी वा टीकाराम गौतमले गरेको वयान ।

            ७.    ऋणी वौएलाल धनी महेन्द्र भएको रु. ९०,०००।को कागज वादी वौएलालले महेन्द्रको ट्याक्टर भाडामा चलाए वापत गरि दिएको हो । करकापसँग कागज गराएको होइन भन्ने प्रतिवादी सुदामाप्रसाद चौधरीले गरेको वयान ।

            ८.    वादी वौएलालले मेरो ट्याक्टर प्रतिमहिना रु. १८,०००।को दरले भाडामा चलाएका थिए ५, महिनाको भाडा मैले माग गर्दा नदिएको हुँदा वादीको राजीखुशीले नै भाडाको लिखत गरि दिएको हो रुपैया पचाउन झुठा वयान गरेका हुन भन्ने समेत व्यहोराको प्रतिवादी महेन्द्र यादवले गरेको वयान ।

            ९.    वौएलालले महेन्द्र यादवको ट्याक्टर भाडामा चलाएको रहेछ ५।६ महिनाको भाडा वांकी हुँदा सो भाडा दिन सक्तिन कागज गरी दिन्छु भनेकोले भाडा वापत रु. ९०,०००।को कागज गरि सो कागजमा म साक्षी वसेको छु । सो भाडाको रकम पचाउनका लागि झुठा मुद्दा दिई झुठा वयान वादीले गरेका हुन भन्ने समेत व्यहोराको प्र. राम आसिश दासले गरेको  वयान ।

            १०.    वादीले प्र. महेन्द्रको ट्याक्टर भाडामा चलाएको रहेछ ५ महिनाको भाडा दिन नसकेवाट सो वापत वादीले मंजुरीवाट खिखत लेखाई सहिछाप गरी दिएका हुन लिखत मैले लेखि दिएको हुँ करकापवाट गराएको होइन वादीको वयान झुठा हो भन्ने समेत व्यहोरा प्र. वहुरी चौधरीले गरेको वयान ।

            ११.    प्रतिवादी महेन्द्र यादवको भाडामा ट्याक्टर चलाउनका र भाडा दिन नसकेकाले वादीले खुशीराजीले रु. ९०,०००।को कागज गरि दिएका हुन म समेत साक्षीमा छु लिखत सद्दे हो करकाप होइन वादीको वयान झुठा हो भन्ने समेत व्यहोराको प्रतिवादी भोला मण्डलले गरेको वयान ।

            १२.   वादी तथा प्रतिवादीका साक्षीको वकपत्र भई मिसिल संलग्न   रहेको ।

            १३.   प्रतिवादीहरुको प्रयास र दवाववाट वादीको मन्जुर विना मिति २०४९।१०।६ को कागज भए गरेको देखिंदा सो कागज करकापसँग गराएको हुँदा वदर हुने ठहर्छ । सो ठहर्नाले प्रतिवादीहरुलाई जनही २५।जरीवाना हुने ठहर्छ । वैनाको कागज लुटपिट गरे भन्ने तर्फ वादी जाहेरवाला भई ठगी गरेको भन्ने मुद्दामा यो लुटपीट गरी लगेको वैनाको कागज समेतको विगो ठगी गरेको ठहरी फैसला भएको हुँदा सो तर्फ केही वोलिरहन पर्ने देखिंएन, भन्ने शुरु उदयपुर जिल्ला अदालतवाट भएको मिति २०५१।४।२३।१ को फैसला ।

            १४.   उदयपुर जिल्ला अदालतवाट जवर्जस्ती गरे भएको देखिने कुनै पनि पुर्वावस्था प्रमाणित गर्न नसकी प्रत्यक्ष सवुद प्रमाणको अभावमा हामीले करकाप गरेको भन्ने तथ्यगत निर्णय गर्न नसकी वादीदावी प्रमाणित गर्ने भार वादी माथि रहेकोमा निजले सवुद प्रमाणवाट खम्वीर गराउन नसकेको दावी आंशिक ठहर गरेको उदयपुर जिल्ला अदालतको फैसला वदर गरी झुठा वादी दाविवाट अलग फुर्सद गरीपाउँ भन्ने वहुरी चौधरी र राम असिश दास कथवनियाको मिति २०५१।९।१०।१ को पुनरावेदन पत्र ।

            १५.   शुरु जिल्ला अदालतको फैसला प्रत्यक्ष तथ्यगत र कानूनी त्रुटी पूर्ण भएकोले सो फैसला वदर गरी झुठा दावीवाट अलग फुर्सद गरी पाउँ भन्ने सुदामाप्रसाद चौधरीको यस अदालतमा मिति २०५१।९।१० को पुनरावेदन पत्र ।

            १६.    २०४९।९।६ मा प्रतिवादीहरु मिली छाती माथि वन्दुक तेर्साई लृुटपीट र करकाप गरेका हुन भनी फिरादपत्रमा उल्लेख गरिएको छ । सोही वारदात मितिलाई आधार वनाई यिनै वादीले यिनै प्रतिवादीहरु उपर ठगी मुद्दा दिएकोमा फौ.पु.नं. १६।३१ समेतको ठगी मुद्दामा प्रतिवादीहरुले ठगी गरेको नठहरी आज यसै इजलासवाट फैसला भइसकेको छ । त्यसको जाहेरी दरखास्तमा प्रस्तुत फिरादपत्रमा लेखिएका साक्षीहरुको नाउँ उल्लेख नभई समरवहादुर पौडेल, भिमप्रसाद गौतम र कुन्जमणी धमलाको रोहवरमा प्रतिवादीहरुले करकाप र लुटपिट समेत गरे भन्ने उल्लेख छ । जवकी वादीका साक्षी वेचन महतोको घर धनुषा जिल्लाको वेलवा भन्ने ठाउँमा भएपानि वारदातको राती प्रतिवादी सुदामाको घरमा वास वस्न गएको र प्रतिवादीहरुले करकाप लुटपीट गरेका हुन भनी वकपत्र गरेको देखिन्छ । त्यस्तै अर्को साक्षी सिरहा सारस्वर वस्ने जीवछ साइले पनि सोही कुरा भन्दै वकपत्र गरेको देखिन्छ । यसप्रकार वारदात भएको ठाउँको नभई अन्यत्रका यी साक्षीहरुले दावी अनुसार अपराध भएको हो भनी वकपत्र गरेतापनि त्यस दिनको साँझ एकाएक कहांवाट सुदामा कहांवास वस्नु पुगेको हुन सो कुरा खुल्दैन यदि तिनीहरु साक्षीको रुपमा त्यहां उपस्थित छन र वादीले ठगी मुद्दामा दिएको जाहेरीमा लेखिएका व्यक्तिहरु पनी वारदात स्थल र समयमा उपस्थित छन भने त्यत्तिका व्यक्तिहरुको सामुख प्रतिवादीहरुले यी वादीको करकाप र लुटपीट गरेको हुन भनी नितान्त अस्वभाविक र हास्यास्पद देखिन आउँछ । अर्को तर्फ २०४९।९।२४ को जुन वैनाको कागज लुटीएको भनिएको छ त्यो वास्तवमा अस्तित्वहीन रहेको छ र उक्त मितिमा त्यो लिखत लेखिएको हो भनी कुनै प्रमाणवाट प्रमाणित भइरहेको छैन । त्यस्तै जुनरुपले घटनाक्रमको वर्णन वादीले गरेका छन, त्यसप्रकारको वारदात भन्दा अगाडिको काम र क्रियाहरु पनि प्रमाणित भएका छैनन । प्रतिवादीहरुको भनाइ र प्रतिवादीहरुका सवै साछीहरुको वकपत्र समेतवाट प्रतिवादी मध्ये महेन्द्र यादवको ट्रेक्टर यी वादीले प्रतिमहिना भाडा तिर्ने गरी ल्याई काममा लगाएको र पछि भाडा नदिएकाले भाडा वापत रु.९०,०००।को कागज २०४९।१०।६ मा गरि दिएको देखिन्छ । उक्त कागजको सवै साक्षीहरु लेखक र त्यसको रकम पाउने समेतलाई प्रतिवादी वनाई प्रस्तुत नालिस गरिएतापनि सो प्रमाणित हुन सकेको छैन । यो वादी धनुषा जिल्लाको मानिस भएको र प्रतिवादीहरु विभिन्न ठाउँका भएकाले सुदामा वाहेक अन्यलाई नचिनेको भनी वादीको भनाइ मान्ने हो भने त्यस्तो व्यक्तिको ट्रेक्टर र त्यो पनि नदेखेको र पछि आफ्नो कव्जामा नलिई यी वादीले वयान वापत र पछी वांकी मूल्य पनि चुक्ता गर्ने पनि अवस्था छैन । त्यसकारण अस्तित्वहीन वैनको कागज लुट्ने स्थिति छैन । अर्कोतर्फ यो वादीले सडकमा काम गर्ने गराउने व्यक्ति भई प्रतिवादी मध्ये महेन्द्र यादवको ट्रक्टर भाडामा लिएकोमा सोको रकम नदिएर रु. ९०,०००।को कागज गरि विधिवत लेखात्मक वा रेखात्मक सहीछाप समेत गरी दिएको तथ्य स्वभाविक मात्र नदेखिई प्रमाणित रुपमा पनि देखिइएको छ । त्यसकारण त्यस्तो लिखतलाई करकापवाट गराइएको भन्दै प्रतिवादीहरुलाई जरिवाना गर्ने गरी सुरु जिल्ला अदालतले २०५१।४।२३ मा गरेको फैसला नमिलेकोले सो फैसला उल्टी भई पुनरावेदकहरु तथा पुनरावेदन नगर्ने प्रतिवादीहरु समेत अ.वं. २०५ नं. अनुसार सफाइ पाउने तथा वादीको दावी नपुग्ने ठहर्छ भन्ने समेतको मिति २०५५।२।१२ को पुनरावेदन अदालत राजविराज सप्तरीको फैसला ।

            १७.   सो फैसलामा चित्त वुझेन । ठेक्कापट्टाको काममा त्यसमापनि ५ महिनाका लागि कसैले पनि विना सम्झौता गाडी भाडामा दिने अवस्था आउदैन । एकाएक ५ महिनाको ९०,०००।को कागज गराएको हो भन्ने प्रतिवादीहरुको भनाइ पत्यारलायक छैन । भारतीय नम्वर प्लेटको गाडी एकै चोटी ५ महिनाको भन्सार स्वीकृति पाउने पनि कतैवाट नदेखिएकोले यस्तो प्रतिवादीहरुको झुठा लिखतलाई स्वभाविक भनि ठहराएको पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण छ । तसर्थ सो पुनरावेदन अदालतको फैसला उल्टी गरि शुरु जिल्ला अदालतको फैसला सदर गरि पाउँ भन्ने समेतको यस अदालतमा परेको पुनरावेदन पत्र ।

            १८.   नियम वमोजिम दैनिक मुद्दा पेशी सूचमा चढी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्र सहितको सम्पूर्ण मिसिल कागजात अध्ययन गरि निर्णयतर्फ विचार गर्दा शुरु उदयपुर जिल्ला अदालतले करकापसँग कागज गराएको ठहराई लुटपिटको सम्वन्धमा ठगी ठहरेकाले केही वोलिरहनु नपर्ने भनि गरेको फैसला उल्टी गरि प्रतिवादीहरुले सफाइ पाउने वादीको दावी पुग्न नसक्ने ठहर गरेको पुनरावेदन अदालत राजविराज सप्तरीको फैसला मिलेको छ वा छैन ? सोही कुरामा निर्णय दिनु पर्ने देखियो ।

            १९.    यसमा मिति २०४९।९।६ मा प्रतिवादीहरु मिली छातीमा वन्दुक तेस्र्याई वैनाको कागज लुटपिट गरी करकापसँग व्यहोरा थाहा नभएको कागजमा सहिछाप गराएकोले सजाय गरि पाउँ भन्ने फिरादीको मूख्य फिराद दावी देखियो । यस सम्वन्धमा वादीले महेन्द्र यादवको ट्याक्टर प्रति महिना रु. १८,०००।मा भाडामा लिएकोमा भाडा नदिएकोले मिति २०४९।१०।६ गते साक्षी समेत राखी कागज गराएको हो करकाप सँग वादीले भनेको मितिमा कागज गराएको होइन भन्ने प्रतिवादीहरुको प्रतिवाद जिकिर रहेको देखिन्छ । वादीले लुटपिट गरेको भनेको वैना कागज सम्वन्धमा ठगी मुद्दा परी ठगी गरेको नठहरी भएको पुनरावेदन अदालतको फैसला उपर पुनरावेदन समेत परेको नदेखी अन्तिम रहेको देखिंदा लुटपिटको सम्वन्धमा यस मुद्दावाट केहीवोली रहनु पर्ने अवस्था देखिएन । अव करकाप सँग कागज गराएको भन्ने सम्वन्धमा विचार गर्दा वादीलाई प्रतिवादीहरुले करकाप सँग कागज  गराएको भन्ने स्वतन्त्ररुपले प्रमाणित हुने कुनै सवुद प्रमाण वादीले दिन सकेको पाइएन । वादीले प्रत्यक्षदर्शि भनि दिएका साक्षी वेचन महतो र जिवच्छा शाहा पनि वारदात भयो भनेको ठाउँमा नभै अन्यत्र ठाउँका देखिने र निजहरु वारदातको दिन प्रतिवादी सुदामाको घरमा रातको समयमा आई वस्नु पर्ने उपयुक्त कारण समेत नदेखिंदा निजहरुको वकपत्रको प्रमाणिक मूल्य त्यति भरपर्दो र विश्वसनीय मान्न मिल्ने देखिएन । यस्तो साक्षी वकपत्रको आधारमा मात्र प्रतिवादीहरुले वादीलाई करकापसँग कागज गराएको भनि प्रतिवादीहरुलाई कसूरदार ठहर गर्न मिलेन । वादीले प्रतिवादी मध्ये महेन्द्र यादवको ट्रेक्टर प्रतिमहिना रु.१८,०००।अठार हजार भाडामा लिएकोमा भाडा नतिरे वापत सो टेक्टरको भाडा ५ महिनाको रु.९०,०००।कागज गरि दिएको भन्ने प्रतिवादीहरुको प्रतिउत्तरमा उल्लेख  भएको मिति २०४९।१०।६ मा गरि दिएको कागज हेर्दा विधिपूर्वक लेखात्मक तथा रेखात्मक सहिछाप गरि अन्य प्रतिवादीहरु साक्षी समेत वसि गरेको देखिएको छ । यस्तो अवस्थामा सहज र स्वभाविक तवरवाट खडा भएको कागजलाई करकापसँग गराएको भन्न नमिल्ने हुँदा करकाप ठहराएको शुरु उदयपुर जिल्ला अदालतको फैसला उल्टी गरि वादी दावी नपुग्ने ठहराएको पुनरावेदन अदालत राजविराज सप्तरीको इन्साफ मनासिव देखिंदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्तैन । दायरी लगत कट्टा गरि मिसिल नियमानुसार वुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या. अर्जुनप्रसाद सिंह

 

इति सम्वत् २०६१ साल जेष्ठ ८ गते रोज ६ शुभम्.....................

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु