निर्णय नं. ७३४८ - डांका ।

निर्णय नं.७३४८ ने.का.प.२०६१ अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
माननीय न्यायाधीश श्री हरिजंग सिजापति
सम्वत् २०५९ सालको फौ पु.नं.. २८५१,२९४३,३०७६,३०७७
सम्वत. २०६० सालको फौ.पु.नं. ३४१७
फैसला मितिः २०६१।३।१८।६
मुद्दाः– डांका ।
पुनरावेदक
प्रतिवादीः जिल्ला झापा चारपाने गा.वि.स. वडा नं. १ घर भई हाल कारागार शाखा झापामा थुनामा रहेको समिन अन्सारी मिया समेत
बिरुद्ध
प्रत्यर्थी
वादीः प्रमोद अधिकारीको जाहेरीले श्री ५ को सरकार
पुनरावेदक
वादीः प्रमोद अधिकारीको जाहेरीले श्री ५ को सरकार
बिरुद्ध
प्रत्यर्थी
प्रतिवादीः जिल्ला झापा चारपाने गा.वि.स. वडा नं. १ वस्ने दिपक चुडाल समेत
पुनरावेदक
प्रतिवादीः जिल्ला झापा चारपाने गा.वि.स. वडा नं. १ घर भई हाल कारागार शाखा झापामा थुनामा रहेको दिपक चुडाल
बिरुद्ध
प्रत्यर्थी
वादीः प्रमोद अधिकारीको जाहेरीले श्री ५ को सरकार
पुनरावेदक
प्रतिवादीः जिल्ला झापा चारपाने गा.वि.स. वडा नं. १ घर भई हाल कारागार शाखा झापामा थुनामा रहेको राजेन्द्र चुडाल
बिरुद्ध
प्रत्यर्थी
वादीः प्रमोद अधिकारीको जाहेरीले श्री ५ को सरकार
पुनरावेदक
प्रतिवादीः जिल्ला झापा चारपाने गा.वि.स. वडा नं.९ घर भई हाल कारागार शाखा झापामा थुनामा रहेको गणेश वली
बिरुद्ध
प्रत्यर्थी
वादीः प्रमोद अधिकारीको जाहेरीले श्री ५ को सरकार
§ मुलुकी ऐन चोरीको ६ नं. मा चार जना भन्दा वढ्ताको जमात भई जवरजस्ती चोरी वा रहजनीमा लेखिएका रीतसँग वा हातहतियार लिई वा उठाई छाडी वा हुल हुज्जत गरी चोरी गरेको डांका ठहर्छ भन्ने व्यवस्था भएको पाइन्छ । प्रतिवादीहरु ६ जनाले उपरोक्त लेखिए अनुसार गरेको कार्य मुलुकी ऐन चोरीको महलको ६ नं. मा उल्लेख भए अनुसारको देखिई निज प्रतिवादीहरुले डांका गरेको अवस्था देखिन आउने ।
§ वरामद भएको वाहेक अरु रुपैया प्रतिवादीहरुले कहां कुन ठाउँमा राखेका छन भन्ने कुरा खुल्न आएको पाइदैन । अदालतमा सावित भई वयान गर्ने प्रतिवादीहरुले र मौकामा प्रहरी समक्ष गरेको साविती वयानमा पनि वरामद भएको विगो मात्र डांका गरेको भन्ने उल्लेख गरेको देखिन्छ। वरामद भएको वाहेक अरु रकम प्रतिवादीहरुले खाई मासेको वा अरु कसैलाई दिएको भन्ने कुरा पनि पुष्टि हुने कुनै आधार प्रमाण भएको देखिएन । यस स्थितिमा वरामद भए भन्दा वढि रकम प्रतिवादीहरुले डांका गरी लगेको मान्न नमिल्ने ।
§ जरिवाना गर्दा डांका गरी लगेको विगो मध्ये जसवाट जति विगो वरामद भएको छ, त्यसले त्यतिमात्र डांका गरेको मानी त्यसको आधारमा प्रत्येकलाई छुट्टाछुट्टै जरिवाना हुने नभई जम्मा जति विगो डांका गरेको ठहर्छ सो डांका गरेको ठहरिएका प्रत्येकलाई त्यहि विगोको आधारमा डेढी जरिवाना गर्नुपर्ने हुन्छ । त्यसकारण आफुवाट वरामद भएको भनिएको विगो भन्दा वढि जरिवाना गरेको नमिलेको भन्ने प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन नसकिने ।
(प्र.नं. ४१ देखि ४३)
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री शम्भु थापा र श्री कृष्ण सापकोटा
पुनरावेदक वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री सुरेन्द्रवहादुर थापा
अवलम्वित नजिरः
फैसला
न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत इलामको मिति २०५९।२।२१ को फैसला उपर वादी प्रतिवादी दुवै पक्षको यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :-
२. म जाहेरवाला चन्द्र शिव राइस एण्ड आयल मिल्स प्रा.लि.विराटनगरको मार्केटिङ सेल्समेन भएको र कृष्ण फुड प्रोडक्सनका सेल्स मेन दुर्गा पोखरेल भएको हुँदा मिति २०४८।४।९ गते विर्तामोड आई विभिन्न व्यापारीहरुसँग रहेको वांकी रकम उठाइ चारपाने १ स्थित सिताराम राकेश कुमारको किराना पसलमा गई पसल मालिक नारायण शर्मासँग गफ गरी रहेको अवस्थामा विरुद्ध खण्डमा उल्लेख गरीएका प्रतिवादीहरु मध्ये टंकलाल गिरी उक्त पसलमा आई शिखर चुरोट मागी विभिन्न अश्लील शव्दले गाली गरी निज उक्त पसलवाट हिडेको अं. ४ मिनेट पछि समिन अन्सारी आई हातमा नाङगो खुकुरी लिएका र टंकलाल गिरीले फलामे रड वोकेको अन्य दिपक, राजेन्द्र चुडाल, गणेश ओली, मुक्ती भुजेल, खाली हातमा आई हामीलाई पसलमा घेराउ गरी म जाहेरवाला तथा दुर्गा पोखरेल समेतसँग भएको जम्मा रु. ४,४१,३६२।– डांका गरी को १ च २२८७ नं. को जिप गाडीमा चढी भागेको हुँदा पक्राउ गरी रकम असुल उपर एवं कारवाही समेत गरी पाउँ भन्ने समेत व्यहोराको प्रमोद अधिकारीको जाहेरी ।
३. जिल्ला झापा चारपाने गा.वि.स. वडा नं. १ स्थित बस वुकीङ काउन्टर उत्तर नारायण शर्माको किराना पसल उक्त पसलको पूर्व दखिन कुनामा चारथोपा रगत लागेको र पूर्व पर्ति कुनामा डांकाले प्रयोग गरेको फलामको रड र विचमा दोव्राई गांठो पारेको टायरको फित्ता रहेको भन्ने समेत व्यहोराको घटनास्थल मुचुल्का ।
४. जिल्ला झापा चारपाने गा.वि.स. वडा नं. १ स्थित प्रतिवादी मुक्ति भुजेलको घरवाट जम्मा रु.७९,०००।– वरामद भएको ठीक हो भन्ने समेत वरामदी मुचुल्का ।
५. जिल्ला झापा सुरुङगा गा.वि.स. वडा नं. ४ स्थित तुलसी वारीमा डांका गरी भागेका फरार प्रतिवादी दिपक चुडालको साथवाट नगद रु. ६४,३२०।– AIR EXPRESS लेखिएको व्याग भीत्रवाट वरामद भएको, प्रतिवादी समिन अन्सारीको गोजीवाट नगद रु.४९,०००।– वरामद भएको, प्रतिवादी टंकलाल गिरीले वोकेको प्लाष्टिकको झोलावाट नगद रु.६०,०००।– वरामद भएको, प्रतिवादी राजेन्द्र चुडालले वोकेका निलो कालो वेगवाट नगद रु.३२,१००।– वरामद भएको र प्रतिवादी गणेश ओलीले वोकेको निलो अंग्रेजी अक्षर WAAN लेखेको व्यागवाट नगद रु.३२,२३९।– वरामद भएको साथै प्रतिवादी समिनको साथवाट कटुवा पेस्तोल थान १ र ऐ. को गोली टोटा थान समेत वरामद भएको भन्ने वरामदी मुचुल्का ।
६. झापा सुरुङगा गा.वि.स. वडानं. ७ स्थित तुल्सीवारीमा प्रतिवादी दिपक, राजेन्द्र, समिन, गणेश र टंकलाल समेत पक्राउ परेको एवं मुक्ति भुजेलको चारपाने १ स्थित घरमा प्रतिवादीहरु फेला परी वरामद भएको रु.७९,०००।– समेत गरी रु.३,१६,६५९।– र प्रतिवादी समिनको साथवाट अवैध कटुवा पेस्तोल थान १ समेत वरामद गरी मानिस पक्राउ गरी कारवाहीको लागि दाखिल गरेको भन्ने प्र.नि. सन्दीप भण्डारी समेतको प्रतिवेदन ।
७. मिति २०५८।४।९ गते विर्तामोडका व्यापारीसँग बांकी रकम उठाई चारपाने १ नारायण शर्माको पसलमा वसिरहेको अवस्थामा विरुद्ध खण्डमा उल्लेखित प्रतिवादीहरु आई मेरो हेण्ड व्याग हरियो कलरको लेखिएको व्यागमा रहेको नगद रु.३५,७१२।– डांका गरेका हुन वांकी रकम जाहेरवालाको साथवाट डांका गरेका हुन, डांकाहरुलाई देखाउदा देखे चिन्हे सनाखत समेत गरी दिए भन्ने समेत व्यहोराको दुर्गा पोखरेलको कागज ।
८. मेरो रुपैया डांका गरी लाने व्यक्तिहरुलाई सनाखत गर्नको लागि देखाउँदा ५ मा उभिएको दिपक चुडाल, ७ नं. मा उभिएको व्यक्ति समिन अन्सारी, ९ नं. मा उभिएको राजेन्द्र चुडाल, १३ नं. मा उभिएका समिन अन्सारीले मेरो टाउकोमा खुकुरी प्रहार गर्दा मैले हात समाती वाचेको हुँ १३ नं. मा उभिएको टंकलाल गिरीले दुर्गा पोखरेललाई टाउकोमा रडले प्रहार गरेका हुन र वरामद भई आएको नगद मध्ये ३५,७१२।– दुर्गा पोखरेलको हो र वांकी २,८०,९४७।– रुपैया मेरो हो हेरी चिनी सनाखत गरी दिएं भन्ने समेत व्यहोराको जाहेरवाला प्रमोद अधिकारीले गरी दिएको सनाखत कागज ।
९. मिति २०५८।४।९ गते सांझ अं. ६ वजेको समयमा दिपक राजेन्द्र चुडाल र नाम थाहा नभएको ३ जना समेत ५ जना मेरो दोकानमा आई जांड मासु, वाइवाई खाई रु. ८००।– तिरेपछि आ–आफु कुटाकुट गर्न थाले, पछि राजेन्द्र, दिपक, समिन, गणेश र टंकलाल पक्राउ परेपछि मात्र डांका गरेको थाहा भयो भन्ने समेत नारायण दल विम्वुको कागज ।
१०. म ट्याक्सी स्टेण्डमा वसी रहेको अवस्थामा दिपक चुडाल आई आमा विरामी भएकोले गाडी रिजर्भ गर्ने भनेपछि तुलसीवारीसम्म जाने मैले चलाउने को १ च २२८७ नं. को जिप लगी निजले आमा लिई आउछु भनि मलाई यातायात कार्यालय तर्फ जाने वाटोमा वस्दै गर भनी गए, निज गएको ३० मिनेटपछि दिपक चुडाल लगायत विरुद्ध खण्डमा उल्लेखित प्रतिवादीहरु ६ जना आई गाडी छिटो हाक भनि भनेर दिपक चुडालले मेरो गर्दनमा नांगो खुकुरी ताकी राखे । दुर्गापुर पुगेपछि मैले तेल सकियो भनेपछि भागी गए । निजहरु पक्राउ परेपछि जाहेरीमा उल्लेखित रकम डांका गरेको थियो भन्ने कुरा थाहा भयो भन्ने समेत व्यहोराको सुनिल भन्ने कमल परीयारले प्रहरीमा गरेको कागज ।
११. मिति २०५८।४।९ गते दिनको १५.३० वजेको समयमा दिपक चुडाल समेत भेट हुँदा विर्तामोडवाट आउने व्यापारीहरु सँग पैसा छ डांका गरौ हामी ५।६ जना छौ भने पश्चात जाहेरवालावाट हामी सवै प्रतिवादीहरुले जाहेरीमा उल्लेखित रकम डांका गरेका हौ भन्ने समेत व्यहोराको प्रतिवादी गणेश ओलीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान कागज ।
१२. मिति २०५८।४।९ गते विर्तामोडमा व्यापारीसँग २०।२५ लाख नगद हुन्छ भन्ने कुरा थाहा भएपछि हामी विरुद्ध खण्डमा उल्लेखित प्रतिवादीहरुको सल्लाह अनुसार कटुवा पेस्तोल, खुकुरी, फलामे रड, समेत लिई चारपाने स्थित नारायण शर्माको पसलमा रहेको जाहेरवाला तथा दुर्गा पोखरेलसँग रहेको नगद रुपैया डांका गरी दिपक चुडालले आमा विरामी लैजान भनि झुक्याई ल्याएको को १ च २२८७ नं. को जिपमा चढी भागेको हो, वरामद भएको नगद रकम हामीले डांका गरेको हो र वरामद भएको रड तथा कटृुवा पेस्तोल हामीले डांका गर्दा प्रयोग गरेको हो भन्ने समेत व्यहोराको प्रतिवादीहरु दिपक चुडाल, राजेन्द्र चुडाल, टंकलाल गिरी, समिन अन्सारी मिया, र मुक्ति भुजेल समेतले गरी दिएको पृथक पृथक वयान कागज ।
१३. मिति २०५८।४।९ गते दिनको ४ वजेको समयमा म वाटोमा उभिई रहेको अवस्थामा हरीयो रंगको जिप तिव्र गतिमा आई मिल भित्र गाडी रोकेको देखी हेर्न जांदा ५ जना केटाहरु प्रहरीको गाडी आयो भन्दै गाडीवाट ओर्ली मिल भित्र पसे, प्रहरीको गाडी पश्चीम तिर गएपछि ५ जना केटाहरु मिलको पर्खाल नाघी मेरो घर अगाडि वाटोमा निस्की चम्पापुर तिर जाने वाटो सोध्दै भागी गए केहि समय पछि विर्तामोडमा डांका भएको थाहा भयो र निज व्यक्तिहरु प्रहरीले पक्राउ गरेपछि विरुद्ध खण्डमा उल्लेखित प्रतिवादीहरु भएको थाहा भयो भन्ने समेत व्यहोराको लक्ष्मी खत्रीको कागज ।
१४. पक्राउमा परेका प्रतिवादीहरु मध्ये सुनिल भन्ने कमल परीयार तथा डांका वारदातमा प्रयोग भएको को १ च २२८७ नं. को गाडी उपर मुद्दा चलाई कारवाही गर्न सवुदवाट न्यायसँगत नभएकोले हाजिरी जमानीमा छाड्ने सहमति पाउँ भन्ने ई.प्र.का. अनारमनीको पत्र तथा सहमति दिएको जिल्ला सरकारी वकिल कार्यालय झापाको पत्र ।
१५. जिल्ला झापा सुरुङगा गा.वि.स. वडा नं. ७ स्थित छविलाल चुडालको दक्षिण पर्ने परालको थुप्रोमा प्रतिवादी दिपक चुडाल समेतले डांका गरी लगेको रकम लुकाई राखेको अवस्थामा नगद रु. ५५,०००।– वरामद गरेको वरामदी मुचुल्का ।
१६. मिति २०५८।४।९ गते १५.३० वजेको समयमा जाहेरवाला प्रमोद अधिकारी र दुर्गा पोखरेल पसलमा आई गफ गरी वसिरहेको अवस्थामा विरुद्ध खण्डमा उल्लेखित प्रतिवादीहरु पसलमा आई अवैध हातहतियार पेस्तोल फलामे रड खुकुरी समेत देखाई निजहरुले कलेक्सन गरेको नगद रकम डांका गरी भागेका हुन भन्ने समेत व्यहोराको रमेश राजवंशी र नारायण शर्माको कागज ।
१७. मिति २०५८।४।९ गते म होटलमा वसिरहेको अवस्थामा टंकलाल गिरी, गणेश ओली, समिन अन्सारी मिया समेत आई दिपक चुडाल समेतले एउटा फ्रुटी खाई नारायण शर्माको पसल तर्फ लागे म हेरी रहेको थिएँ । त्यहा पुगी निजहरुले हातहतियार देखाई धाक धम्की दिई डांका गरी जाहेरवाला समेतको रकम लगेपछि डांका भएको खवर प्रहरीलाई मैले गरेको हुँ, भन्ने समेत व्यहोराको केशरमान राइको कागज ।
१८. जाहेरीको मिति र समयमा म आफ्नो होटलमा वसिरहेको अवस्थामा दिपक र समिन मेरो पसलमा (होटलमा) आई दिपकले एउटा फ्रुटी खाई नारायण शर्माको पसल तर्फ गए मलाई शंका लागी त्यस तर्फ हेर्दा अन्य विरुद्ध खण्डमा उल्लेखित प्रतिवादीहरु ६ जना भेला भएपश्चात हातहतियार देखाई जाहेरवालावाट नगद रकम डांका गरी लगेको देखेको हुँ भन्ने समेत व्यहोराको माया राईको कागज ।
१९. काटेको घाउ छाला खुइलिएको, निलो रातो भएको भन्ने समेत व्यहोराको दुर्गा पोखरेलको घा जांच रिपोर्ट ।
२०. जाहेरवाला तथा म समेतसँग भएको जम्मा रकम ४,४१,३६२।– डांका गरी लाने हाल पक्राउ परेका दिपक चुडाल, राजेन्द्र चुडाल, टंकलाल गिरी, गणेश ओली, मुक्ती भुजेल, समिन अन्सारी हुन निजहरुलाई देखी चिन्ही सनाखत समेत गरी दिएँ भन्ने समेत व्यहोराको दुर्गा पोखरेलको सनाखत कागज ।
२१. मिति २०५८।४।९ गतेका दिन १५.३० वजेको समयमा सिताराम, राकेश कुमार किराना पसल अगाडि ट्रक गाडी रोकी वसेको, सो वखत दिपक चुडालले पेस्तोल, समिन अन्सारीले खुकुरी, टंकलाल गिरीले फलामको रड, लिई निजहरु र गणेश ओली, मुक्ति भुजेल, राजेन्द्र चुडाल आई राजेन्द्र र मुक्ति पसल अगाडि दक्षिण पश्चिममा उभिए, टंकलालले दुर्गा पोखरेललाई फलामे रड प्रहार गरी गणेश ओलीले रु.४,४१,३६२।– नगद रहेको २ वटा व्याग वोकी सवै उत्तर तर्फ भागी यातायात व्यवस्था कार्यालय नेर रहेको गाडीमा चढि भागेको हो उक्त गाडी रोकी राखेको ठाउँवाट डांका गरेका ठाउँ देखिदैन भन्ने समेत व्यहोराको चालक वालेश्वर कामत र हरि ओडारी समेतले एकै मिलानसँग गरी दिएको कागज ।
२२. प्रतिवादीहरुले जाहेरवाला प्रमोद अधिकारीको साथवाट रु.४,०५,६५०।– नगद रुपैया र दुर्गा पोखरेलको ३५,७१२।– समेत जम्मा रु.४,४१,३६२।– नगद रुपैया मुलुकी ऐन चोरीको महलको १ नं. विपरीत ऐ ऐनको ६ नं. को रीतसँग डांका गरी लगेको संकलित सवुद प्रमाणवाट सिद्ध हुन आएकोले निजहरुलाई ऐ. ऐनको १४(४) नं. वमोजिम सजाय गरी ऐ. ऐनको १०(३) एवं २१ नं. वमोजिम प्रतिवादीहरुवाट वरामद जम्मा रु. ३,७१,६५९।– मध्ये ३५,७१२।– रुपैया दुर्गा पोखरेललाई दिलाई वांकी ३,३५,९४७।– जाहेरवाला प्रमोद अधिकारीलाई दिलाई भराई पाउँ भन्ने समेत अभियोगपत्र ।
२३. वरामद भएको रुपैया म समेत भै डाका गरेको हो डांका गर्ने वारदातमा प्रतिवादी मुक्ति भुजेल र राजेन्द्र चुडाल थिएनन भन्ने समेत प्रतिवादीहरु गणेश ओली, टंकलाल गिरी, समिन अन्सारी मिया, र दिपक चुडालले एकै मिलान हुने गरी अदालत समक्ष गरेको पृथक पृथक वयान ।
२४. म समेतले जाहेरवालाहरुको रकम डांका गरेको छैन तसर्थ अभियोग दावीवाट सफाइ पाउँ भन्ने समेत प्रतिवादीहरु मुक्ति भुजेल र राजेन्द्र चुडालले अदालत समक्ष गरेको पृथक पृथक वयान ।
२५. यसमा मिति २०५८।४।९ गते प्रतिवादीहरु दिपक चुडाल, राजेन्द्र चुडाल,समिम भन्ने समिन अन्सारी मिया गणेश ओली र टंके भन्ने टंकलाल गिरी समेत ५ जनाले जाहेरवाला प्रमोद अधिकारी र दुर्गा पोखरेलको नगद रु.३,७१,६५९।– चोरीको १ र ६ नं. अनुसार प्रथम पटक डांकाको कसूर अपराध गरी डांका गरेको ठहर्छ, सो ठहरेकाले निजहरुलाई चोरीको १४ (४) नं. अनुसार जनही ६ बर्षको दरले कैद र विगोको डेढी रु. ५,५७,४८८।५० जरिवाना हुने ठहर्छ । प्रतिवादी मुक्ति भूजेलको हकमा निजको साथवाट डांका गरेको रकम वरामद हुन नसकेको र निजले अदालतमा आई पूर्णरुपमा इन्कारी वयान गरेको र मौकामा अन्य प्रतिवादीको साथमा नगएको र निजको साक्षीको वकपत्र समेतको आधारवाट निज उपरको आरोपित कसूर प्रमाणित नभएको हुदा निजले कसूर अपराधवाट सफाइ पाउने ठहर्छ भन्ने शुरु झापा जिल्ला अदालतको फैसला ।
२६. वरामदी मुचुल्का भनि पेश भएको मिति २०५८।४।१० को लिखत आफै विवाद र भ्रमपूर्ण छ सो लिखत चारपाने गा.वि.स. वडा नं. १ का मानिसहरु साक्षीको रुपमा राखिएको छ र चारपाने गा.वि.स.का अध्यक्ष रोहवरमा राखिएको छ तर वरामद गरिएको स्थान भने सुरुङगा गा.वि.स. ७ को तुलसीवारी उल्लेख छ । वादी पक्षले वरामदी मुचुल्कामा वस्ने मानिसको नामसम्म मिल्ने २ जना मानिसलाई अदालतमा उपस्थित गराई वकपत्र गराएको पाइन्छ किनकी वरामदी मुचुल्कामा वस्ने पवन कुमार अग्रवाल र राज कुमार अग्रवाल हुन भन्ने वरामदी मुचुल्कामा उल्लेख छ तर अदालतमा भने अनारमनी ३ वस्ने पवन कुमार र राज कुमार अग्रवाल उपस्थित भै वकपत्र गरेका छन यसरी सट्टामा साक्षी उपस्थित भै वकपत्र गर्न पाउने कुनै कानूनी व्यवस्था पाइदैन । यसरी वादी पक्षवाट अभियोग प्रमाणित हुन नसकेको अवस्थामा मौन वसी ध्यान नदिई पुनरावेदक समेतले डांका गरेको ठहर्ने भन्दै ६ बर्ष कैद र रु.५,५७,४८८।५० जरिवाना हुने भनि ठहर भएको फैसला कानूनी त्रुटीपूर्ण हुँदा उक्त शुरुको फैसला वदर गरी आरोपित कसूरवाट सफाइ पाउने निर्णय गरी पाउँ भन्ने प्रतिवादी दिपक चुडालको पुनरावेदन अदालत इलाममा परेको पुनरावेदन पत्र ।
२७. झापा जिल्ला अदालतले अदालतमा प्रतिवादीहरुले वयान गर्दा उल्लेख नै नभएको तथ्यलाई उल्लेख गर्दै अदालतमा पनि पोेल गरेको भनि मिसिलमा नभएको कुरा उठाई मैले डांका गरेको ठहर्ने भनि गरी दिएको फैसला त्रुटीपूर्ण हुँदा उक्त फैसला वदर गरी आरोपित कसूरवाट सफाइ पाउने निर्णय गरी पाउँ भन्ने समेत प्रतिवादी राजेन्द्र चुडालको पुनरावेदन अदालत इलाममा परेको पुनरावेदन पत्र ।
२८. प्रस्तुत मुद्दाको जाहेरी गर्दा प्रतिवादीहरुको पहिचान नगरी स्थानीय गाउले र व्यापारी हरुवाट सुनेको भरमा प्रतिवादीको नाम वतनमा शंकाको भरमा अभियोग लगाई जाहेरी दिएको कुरा जाहेरवालाले तथा दुर्गा पोख्रेल समेतले अदालतमा गरेको वकपत्रको स.ज. २१ समेतमा खुलाएकोवाट उक्त जाहेरी किटानी होइन भन्ने देखिएको छ । मेरो साथवाट वरामद भएको भनिएको पेस्तोल मेरो साथवाट वरामद भएको होइन भन्ने कुरा जाहेरवाला तथा प्रहरीमा कागज गर्ने दुर्गाप्रसाद पोख्रेलको अदालतमा भएको वकपत्रको स.ज. २५ समेतमा पेस्तोल पछि नाम खुल्न आएका गणेश चुडालले वोकेका थिए भनि जवाफ दिएवाट प्रमाणित भएको छ भने प्रतिवेदक तथा वादी पक्षका अन्य साक्षीहरुको पूर्वाग्रह पूर्ण वकपत्रलाई उक्त प्रमाणहरुले झुठ्ठा सावित गरि दिएकोमा उक्त कुराको फैसलामा विश्लेषण नगरी भएको फैसला त्रुटीपूर्ण हुँदा उक्त शुरुको फैसला वदर गरी अभियोग दावी वाट सफाइ पाउँ भन्ने प्रतिवादी समिन अन्सारी मियाको पुनरावेदन अदालत इलाममा परेको पुनरावेदन पत्र ।
२९. अभियोक्ताले ६ जना प्रतिवादी वनाई डांका मुद्दा चलाएको भए तापनि वारदातस्थलमा ६ जना प्रतिवादीहरुको उपस्थिति भएको कुरा प्रस्तुत मुद्दाको मिसिल प्रमाणवाट देखिएको छैन । प्रतिवादी मुक्ति भुजेल उक्त वारदातमा अनुपस्थित थिए भन्ने कुरा शुरु अदालतले ठहर गरेको छ । दिनको १५.३० वजे अर्थात दिनको ३.३० वजेको समयमा पसल (वजार) मा धेरै मानिस हुन सक्दछन वजारमा आए पनि सवै दोषी करार गर्नु न्यायको विपरीत हुन जान्छ प्रतिवादी राजेन्द्र चुडाल स्वयं अनुपस्थित भएको कुरा निजको पक्राउ प्रतिवेदनवाट देखिएको छ भने म पसलमा चुरोट किन्ने प्रयोजनका लागि मात्र गएको कुरा, जाहेरवाला तथा पसले नारायण शर्मा समेतले वताएका छन चोरीको ६ नं. अनुसार डाका वारदात हुन ४ जना भन्दा वढिको उपस्थिति र वल प्रयोग जस्ता कुराहरु हुन आवश्यक छ तर यस मुद्दाको वारदातमा ४ जना भन्दा वढीको उपस्थिति देखिदैन । जसवाट वारदात डांका होइन भन्ने देखिएको छ । म पुनरावेदक उक्त वारदात स्थलमा जाहेरवालाको रुपैया डांका गर्ने मनसायवाट गएको होइन शुरुको फैसला प्रमाणको विश्लेषण नगरी गरिएको फैसला त्रुटीपूर्ण हुँदा सो फैसला वदर गरी अभियोग दावीवाट सफाइ दिलाई पाउँ भन्ने प्रतिवादी टंकलाल गिरीको पुनरावेदन अदालत इलाममा परेको पुनरावेदन पत्र ।
३०. झापा जिल्ला अदालतको फैसलामा प्रतिवादी मुक्ति भूजेलको घरवाट रकम वरामद भएको कुरा समेत स्वीकार गरिएको छ । उक्त रकम डांका गरेको रकम नै हो भनि सो विगो अन्य प्रतिवादीहरुलाई ठहर पनि भएको छ । प्रतिवादी मुक्ति भूजेलले उक्त वरामद भएको रकम आफ्नो हो भनेर भन्न पनि सकेका छैनन, जाहेरवालाले उक्त रकम फिर्ता समेत लिई सकेको अवस्थामा प्रतिवादी मुक्ति भूजेललाई सफाइ दिएको फैसला आफैमा विरोधाभाषपूर्ण छ । तसर्थ वरामदी विगो मात्र डांका गरेको ठहर भएको र प्रतिवादी मुक्ति भूजेललाई सफाइ दिएको शुरुको फैसला त्रुटीपूर्ण हुँदा सो हदसम्म शुरुको फैसला वदर गरी प्रतिवादी मुक्ति भूजेललाई समेत कसूरदार ठहर गरी अभियोगमा उल्लेखित सम्पूर्ण विगो डांका गरेको ठहर गरी नपुग जाहेरवालाको विगो समेत दिलाई भराई पाउँ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन अदालत इलाममा परेको पुनरावेदन पत्र ।
३१. म केही बर्ष देखि भारत पन्जाव स्थित राजेन्द्र कलेजको स्थायी पियन कर्मचारी भएकोले आफुसंगै मोटो रकम लिई अपराध घटेको अघिल्लो दिन २०५८।४।८ गते मात्र आफ्नो घरमा आएको थिएं । मैले डांका वारदातमा संलग्न हुनुपर्ने कुनै कारण र औचित्य नै थिएन । उल्लेखित अपराधमा मेरो संलग्नता नभएको स्पष्ट हुँदा उक्त अपराधलाई डांकाको परिभाषा भित्र राखी सजाय गरेको मिलेको नहुँदा शुरुवाट भएको त्रुटीपूर्ण फैसला वदर गरी अभियोगवाट सफाइ दिलाई पाउँ भन्ने प्रतिवादी गणेश ओलीको पुनरावेदन अदालत इलाममा परेको पुनरावेदन पत्र ।
३२. मिति २०५८।४।१० को वरामदी मुचुल्काका स्वयं प्रतिवादी मुक्ति भूजेल रोहवरमा रहेको देखिन्छ । अदालतमा वयान गर्दा वरामद नगद आफ्नो हो भन्न नसकेको अवस्थामा शुरुवाट निजलाई सफाइ दिने गरी भएको निर्णय फरक पर्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम निजलाई झिकाउनु र साथै पुनरावेदन गर्ने प्रतिवादीहरुको पुनरावेदनको प्रतिलिपि राखी छलफलमा पुनरावेदन सरकारी वकिल कार्यालय इलामलाई सूचना दिनु भन्ने पुनरावेदन अदालत इलामको आदेश ।
३३. प्रतिवादी मुक्ति भुजेललाई आरोपित कसूरबाट सफाइ दिएको फैसला नमिलेको हुँदा सो हदसम्म उल्टी भै निजलाई कैद बर्ष ६ र रु.५,५७,४८८।५० जरिवाना हुने ठहर्छ । अन्य प्रतिवादीहरुको हकमा शुरु झापा जिल्ला अदालतको फैसला मिलेकै हुँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत इलामको मिति २०५९।२।२१ को फैसला ।
३४. प्रतिवादीहरु टंकलाल गिरी, समिन अन्सारी, दिपक चुडाल र गणेश ओलीले जाहेरवालाको रकम चोरी गर्ने मनसायले प्रेरित भई सो स्थानमा नगएको तर अप्रत्याशित रुपमा उक्त घटना भएको र चोरीको ६ नं. मा चारजना भन्दा वढि मिली धाकधम्की दिई गरेको अपराधलाई डांका गरेको भन्ने उल्लेख भएकोमा चारजना प्रतिवादीले मात्र अप्रत्याशित रुपमा घटना घटाएको तथा घटनामा कुनै जोरजुलुम तथा तोडफोड समेत नगरेको हुँदा चोरी गरेको सम्म हुन सक्ने अवस्था हुँदा डांका गरेको ठहर गरेको पुनरावेदन अदालत इलामको फैसला नमिलेको हुँदा इन्साफ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरु समिन अन्सारी मिया र टंकलाल गिरीको यस अदालतमा परेको संयुक्त पुनरावेदन पत्र ।
३५. बरामद भएको रकम भन्दा बढि डांका गरेको ठहराउन मिल्दैन भन्ने कुनै कानूनी व्यवस्था र सिद्धान्त नभएकोमा जाहेरवाला समेतको रु. ४,४१,३६२।– डांका गरेको स्पष्ट भएकोमा वरामद भएको रकम मात्र डांका भएको ठहराएको पुनरावेदन अदालत इलामको फैसला सो हदसम्म त्रुटिपूर्ण भएकोले सो हदसम्म वदर गरी प्रतिवादीहरुले माग दावी वमोजिमको विगो डांका गरेको ठहर गरी पाउँ भन्ने व्यहोराको वादी श्री ५ को सरकारको यस अदालतमा परेको पुनरावेदन पत्र ।
३६. जाहेरी दरखास्त पूर्ण रुपमा सत्य नभएको भन्ने कुरो निजको दावी रु. ४,४१,३६२।– भएकोमा केवल ३,७१,६५९।– विगो कायम भएकोवाट पनि प्रष्ट छ । वरामदी मुचुल्कामा स्थानीय मान्छे नराखिनु एवं वरामदी मुचुल्कामा राखिएको साक्षीको ठेगाना र अदालतमा वकपत्र गर्ने साक्षीको ठेगाना फरक परेको देखिएवाट पनि उक्त वरामदी मुचुल्कालाई डांकाको वारदात प्रमाणित गर्ने आधार स्वरुप ग्रहण गर्न मिल्दैन । मेरो साथवाट रु.६४,३२०।– वरामद भएको भनिएको छ । तर मलाई रु.५,५७,४८८।५० जरिवाना भएको छ । जोसँग जति विगो रकम लिए पाएको भनी देखाइएको छ जरिवाना पनि त्यहि विगोको अंकमा आधारित रहेर तोकिनु पर्ने अवस्था रहन्छ । मवाट रु.६४,३२०।– वरामद भएको देखाई रु.५,५७,४८८।५० जरिवाना हुने ठहर गरेको फैसलामा मुलुकी ऐन चोरीको ६, १४(४), १०(३) र २१ नं. को गलत व्याख्या हुन गई पुनरावेदन अदालत इलामको फैसला अन्यायपूर्ण हुनाले उक्त फैसला वदर गरी आरोपित कसूरवाट सफाइ पाउँ भन्ने व्यहोराको प्रतिवादी दिपक चुडालको यस अदलतमा परेको पुनरावेदन पत्र ।
३७. आरोपित वारदात मुलुकी ऐन चोरीको ६ नं. विपरीतको अपराध हो भन्ने कुराको वादी पक्षवाट शंकारहित तवरले स्थापित र प्रमाणित गर्न सकेको पाइदैन । दिपक चुडाल समेतका प्रतिवादीहरुले अदालतमा गरेको वयानमा उक्त घटनामा चार जना मात्रै सामेल रहेको भन्ने तथ्य उल्लेखित छ । जाहेरवाला र दुर्गा पोखरेलको वकपत्र समेतवाट पनि निजहरुको रुपैया खोसी लिने कार्यमा चार जना भन्दा वढि व्यक्तिहरुको संलग्नता रहेको भन्ने कुरा स्थापित हुन नसकी डांकाको वारदात प्रमाणित हुन सकेको छैन । म वारदातमा संलग्न नै नरहेको व्यक्तिलाई डांकाको अपराधमा कसूरदार ठहर गरी ६ बर्ष कैद र रु. ५,५७,४८८।५० जरिवाना गरेको झापा जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत इलामको अन्यायपूर्ण फैसला वदर गरी आरोपित कसूरवाट पूर्ण रुपमा सफाइ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी राजेन्द्र चुडालको यस अदालतमा परेको पुनरावेदन पत्र ।
३८. नियम वमोजिम पेश भएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरियो । पुनरावेदक वादी श्री ५ को सरकार तर्फवाट विद्वान उपन्यायाधिवक्ता श्री सुरेन्द्रवहादुर थापाले जाहेरवालाले चोरी भएको सम्पत्तिको विस्तृत विवरण जाहेरी दिंदा र वकपत्र गर्दा उल्लेख गरेकोले दावी वमोजिमको विगो डांका गरेको समर्थित भएको छ । जाहेरवालाले वरामद हुन नसकेको रकम उल्लेख गर्नुपर्ने कुनै कारण छैन । पीडितको वकपत्रलाई अन्यथा मान्नुपर्ने कुनै आधार नहुँदा दावी वमोजिमको विगो डांका गरेको ठहराउनु पर्नेमा वरामदी विगो मात्र डांका गरेको ठह¥याएको नमिलेकोले दावी वमोजिमको विगो कायम गरिनु पर्छ भन्ने समेत वहस प्रस्तुत गर्नु भयो ।
३९. पुनरावेदक प्रतिवादीहरु राजेन्द्र चुडाल र दिपक चुडाल तर्फवाट विद्वान अधिवक्ताद्वय श्री शम्भु थापा र श्री कृष्ण सापकोटाले अरुले भनेको आधारमा चिनेको भनी जाहेरी दिएकोले जाहेरी किटानी होइन । प्रहरीमा कुटपिट गरी वयान गराएकोले सो वयान स्वतन्त्र पूर्वकको नभएको हुँदा सो वयानको आधारमा कसूरदार ठहर गर्न मिल्ने अवस्था छैन । सावित हुने प्रतिवादीहरुले राजेन्द्र चुडाललाई पोलेको छैन । प्रत्यक्षदर्शी केशरमान राई र रमेश राजवंशीले वकपत्र गर्दा राजेन्द्र चुडालको नाम भन्न सकेको देखिदैन । जिप चालक सुनिल परियारले दिपक चुडाल वाहेक अरु प्रतिवादीहरुको नाम भन्न सकेको देखिदैन । वारदातमा चारजना भन्दा वढिको संलग्नता नदेखिएकोले डांका गरेको ठहर गर्न मिल्ने अवस्था समेत नहुँदा प्रतिवादी दिपक चुडाल र राजेन्द्र चुडाल समेतले डांका गरेको ठहराएको शुरु झापा जिल्ला अदालत र पुनरावेदन अदालत इलामको फैसला नमिलेकोले उल्टी हुनु पर्छ भन्ने समेत वहस प्रस्तुत गर्नु भयो ।
४०. उपरोक्त वहस समेतलाई दृष्टिगत गरी प्रतिवादी मध्येको मुक्ति भुजेलले आरोपित कसूरवाट सफाइ पाउने र प्रतिवादीहरु दिपक चुडाल, राजेन्द्र चुडाल, समिन मिया अन्सारी, गणेश ओली र टंकलाल गिरीले विगो रु.३७१६५९।–डांका गरेको ठहर गरी निज प्रतिवादीहरुलाई ६ बर्ष कैद र सो विगोको डेढी रु.५,५७,४८८।५० जरिवाना हुने ठहर गरी शुरु झापा जिल्ला अदालतवाट फैसला भएकोमा प्रतिवादी मुक्ति भुजेललाई सफाइ दिएको सम्म शुरु झापा जिल्ला अदालतको फैसलालाई केही उल्टी गरी निज समेतले उक्त विगो डांका गरेको ठहराई निजलाई पनि ६ बर्ष कैद र रु.५,५७,४८८।५० जरिवाना हुने ठहर गरी अरु प्रतिवादीहरुको हकमा शुरु झापा जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत इलामको फैसला मिले, नमिलेको सम्वन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
४१. निर्णयतर्फ विचार गर्दा प्रतिवादीहरु ६ जनाले जाहेरवाला प्रमोद अधिकारीको साथवाट रु.४,०५,६५०।– र दुर्गा पोखरेलको ३५७१२।– समेत जम्मा रु. ४४१३६२।– डांका गरी लगेकोले प्रतिवादीहरुलाई मुलुकी ऐन चोरीको महलको १४(४) नं. वमोजिम सजाय गरी पाउँ भन्ने अभियोग दावी भएको पाइन्छ । प्रतिवादी मध्येका मुक्ति भुजेल र राजेन्द्र चुडालले अदालतमा आरोपित कसूर गरेकोमा इन्कार रही वयान गरेको पाइन्छ भने प्रतिवादीहरु गणेश ओली, टंकलाल गिरी, समिन मियां अन्सारी र दिपक चुडालले वरामद भएको रुपैया आफुहरुले डांका गरेको भनी सावित भई वयान गरेको पाइन्छ । प्रहरी समक्ष वयान गर्दा ६ जना सवै प्रतिवादीहरुले कटुवा पेस्तोल, खुकुरी, फलामको रड समेत लिई वरामद भएको नगद डांका गरेको हो भनी सावित भएको पाइन्छ । प्रतिवादी मुक्ति भुजेल वाहेकका अन्य प्रतिवादीहरुको साथवाट नगद तथा प्रतिवादी समिन मिया अन्सारीको साथवाट पेस्तोल र पेस्तोलको गोली समेत वरामद भएको वरामदी मुचुल्कावाट देखिन आयो । जिप चालक सुनिल भन्ने कमल परियारले मौकामा कागज गर्दा र अदालतमा उपस्थित भई वकपत्र गर्दा समेत दिपक चुडालले आफ्नी आमा विरामी भएकोले गाडी रिजर्भ गर्ने भनी यातायात कार्यालयतर्फ जाने वाटोमा मलाई वस्दै गर आमालाई लिएर आउछु भनी गएपछि आमालाई नल्याई दिपक चुडाल समेतका प्रतिवादीहरु आई गाडी छिटो हाक भनी घाटीमा खुकुरी ताकेर गाडी चलाउन लगाएका हुन भन्ने व्यहोरा उल्लेख गरेको देखिन्छ । प्रतिवादीहरुको मौकाको साविती वयान कुनै पनि सवुद प्रमाणवाट खण्डित भएको देखिन नआई वरामदी मुचुल्काको साथै सुनिल परियारको वकपत्रवाट पुष्टि भइरहेको देखिन आयो । प्रतिवादी मुक्ति भुजेललाई कसूरदार ठहर गरेको पुनरावेदन अदालत इलामको फैसला उपर निजको यस अदालतमा पुनरावेदन परेको देखिएन । प्रतिवादी मुक्ति भुजेल र राजेन्द्र चुडाल वाहेकका अन्य प्रतिवादीहरु अदालतमा समेत सावित भई वयान गरेको पाइन्छ । यस स्थितिमा प्रतिवादीहरुको मौकाको साविती वयान अनुसार प्रतिवादीहरु ६ जनाले कटुवा पेस्तोल, खुकुरी जस्ता हात हतियार लिई जाहेरवाला प्रमोद अधिकारी र दुर्गा पोखरेलको साथवाट रुपैया चोरी गरी लगेको भन्ने देखिन आयो । मुलुकी ऐन चोरीको ६ नं. मा चार जना भन्दा वढ्ताको जमात भई जवरजस्ती चोरी वा रहजनीमा लेखिएका रीतसँग वा हातहतियार लिई वा उठाई छाडी वा हुल हुज्जत गरी चोरी गरेको डांका ठहर्छ भन्ने व्यवस्था भएको पाइन्छ । प्रतिवादीहरु ६ जनाले उपरोक्त लेखिए अनुसार गरेको कार्य मुलुकी ऐन चोरीको महलको ६ नं. मा उल्लेख भए अनुसारको देखिई निज प्रतिवादीहरुले डांका गरेको अवस्था देखिन आयो ।
४२. विगोको सम्वन्धमा वारदातकै दिन प्रतिवादीहरुवाट डांका गरी लगेको रुपैया वरामद भएको देखिन्छ । वरामद भएको वाहेक अरु रुपैया प्रतिवादीहरुले कहां कुन ठाउँमा राखेका छन भन्ने कुरा खुल्न आएको पाइदैन । अदालतमा सावित भई वयान गर्ने प्रतिवादीहरुले र मौकामा प्रहरी समक्ष गरेको साविती वयानमा पनि वरामद भएको विगो मात्र डांका गरेको भन्ने उल्लेख गरेको देखिन्छ । वरामद भएको वाहेक अरु रकम प्रतिवादीहरुले खाई मासेको वा अरु कसैलाई दिएको भन्ने कुरा पनि पुष्टि हुने कुनै आधार प्रमाण भएको देखिएन । यस स्थितिमा वरामद भए भन्दा वढि रकम प्रतिवादीहरुले डांका गरी लगेको मान्न मिल्ने भएन ।
४३. मुलुकी ऐन चोरीको १४(४) नं. मा डांका गर्नेलाई विगोको डेढी वढाई जरिवाना गरी पहिलो पटककोलाई ६ बर्ष कैद हुने व्यवस्था भएको पाइन्छ । सो वमोजिम जरिवाना गर्दा डांका गरी लगेको विगो मध्ये जसवाट जति विगो वरामद भएको छ, त्यसले त्यतिमात्र डांका गरेको मानी त्यसको आधारमा प्रत्येकलाई छुट्टाछुट्टै जरिवाना हुने नभई जम्मा जति विगो डांका गरेको ठहर्छ सो डांका गरेको ठहरिएका प्रत्येकलाई त्यहि विगोको आधारमा डेढी जरिवाना गर्नुपर्ने हुन्छ। त्यसकारण आफुवाट वरामद भएको भनिएको विगो भन्दा वढि जरिवाना गरेको नमिलेको भन्ने प्रतिवादीको पुनरावेदन जिकिर सँग सहमत हुन सकिएन ।
४४. अतः उपरोक्त आधार प्रमाणवाट प्रतिवादी मुक्ति भुजेलले सफाइ पाउने र प्रतिवादीहरु दिपक चुडाल, समिन मिया अन्सारी, गणेश ओली, टंकलाल गिरी र राजेन्द्र चुडालले नगद रु.३,७१,६५९।– डांका गरेको ठहर गरी निजहरुलाई मुलुकी ऐन चोरीको १४(४) वमोजिम जनही ६ बर्ष कैद र रु. ५,५७,४८८।५० जरिवाना हुने ठहर गरेको शुरु झापा जिल्ला अदालतको फैसलालाई केही उल्टी गरी प्रतिवादी मुक्ति भुजेल समेतले उक्त कसूर गरेको ठहर गरी निज समेतलाई ६ बर्ष कैद र रु.५,५७,४८८।५० जरिवाना हुने ठहर गरेको पुनरावेदन अदालत इलामको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन जिकिर पुग्न सक्दैन । फैसला भएको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई मिसिल नियमानुसार वुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.हरिजंग सिजापति
इति सम्वत् २०६१ साल असार १८ गते रोज ६ शुभम्...........