निर्णय नं. ७३५६ - जालसाजी ।

निर्णय नं.७३५६ ने.का.प.२०६१ अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ
संवत २०५७ सालको फौ.पु.नं...२४८१
फैसला मितिः २०६१।३।२५।२
मुद्दाः जालसाजी ।
पुनरावेदक
वादीः कन्हैया दासको मु.स.गरी आफ्नो हकमा समेत धनुषा जिल्ला, जनकपुर नगरपालिका वडा नं. ९ वस्ने सुजित कुमार भन्ने सुदर्शनदास वैष्णव
विरुद्ध
प्रत्यर्थी
प्रतिवादीः जिल्ला महोत्तरी हरिनमरी गा.वि.स. वडा नं. ५ वस्ने रामेश्वर दास वैष्णव समेत
§ मुचुल्कावाट वादीको हक अधिकारमा आघात र आर्थिक क्षति पुग्ने रहेछ कि भन्नलाई उक्त मुचुल्कामा स्व. किशोरी शरणको सदगत काजकृया प्रतिवादी महाविर शरणले गरेको र निज किशारी शरणको चेला भएको हुँदा चाँदर ओढाएको व्यहोरा उल्लेख भएको एउटा घरसारको मुचुल्कावाट कुनै हकको स्थापना र समाप्ति नहुने देखिंदा वादीको हक अधिकारमा आघात पुग्न गयो भन्ने कुरा कानूनसँगत देखिन नआउने ।
(प्र.नं. २१)
§ वादी सुजित कुमार झा भन्ने सुदर्सन दास वैष्णव र प्रतिवादी महानन्द झा भन्ने महाविर शरण वैष्णवले जिल्ला प्रशासन कार्यालय, धनुषावाट क्रमशः मिति २०४८।५।१० मा र २०४८।७।२७ मा प्राप्त गरेको गुरु चेला नाता सम्वन्धी प्रमाण पत्र वादी प्रतिवादीले साधिकार निकायवाट वदर गराउन सकेको नदेखिँदा स्वतः वदरभागी छ भन्ने वादीको भनाइ कानूनसँगत देखिन आएन । उक्त नाता सम्वन्धी प्रमाणपत्र कायम रहेसम्म दावीको मुचुल्का जालसाजी ठहर्याउन मिल्ने नदेखिने ।
§ पुनरावेदक वादीहरुका वीच चलेको अपुताली हक कायम मुद्दामा पहिले स्व. किशोरी शरणको छोरा चेला भन्ने पछिगएर कन्हैया दासको चेला भनी पटक पटक आफ्नो कुरा फेर्दै जाने वादी सुदर्शन दासले स्व. किशोरी शरणको दागवत्ति काजकृया गर्यो होला भन्ने कुरा पत्यारलायक नदेखिँदा पुनरावेदक वादी पक्षका विद्वान अधिवक्ताको उक्त वहस जिकिरसंग सहमत हुन नसकिने ।
(प्र.नं. २१, २५ र २६)
पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री कमलनारायण दास
प्रत्यर्थी प्रतिवादी तर्फवाटःविद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी र विद्वान अधिवक्ताद्वय श्री मिथिलेश कुमार सिंह र श्री वीरेन्द्रकुमार ठाकुर
अवलम्वित नजिरः
फैसला
न्या.रामप्रसाद श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) खण्ड (ख) अनुसार मुद्दा दोहर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
२. म कन्हैया दासको एक चेला किशोरी शरण २०४७।२।१५ गते स्वर्गीय हुँदा त्यस अवस्थामा चेला जस्तै सुदर्सन दासलाई राखेको थिएँ । तसर्थ किशोरी शरण स्वर्गीय भएपछि रितिथिति वमोजिम निजको श्राद्ध कृया आदि म कन्हैया दास र सुदर्सन दासले सम्पन्न गरेका थियौं । किशोरी शरणको देहावसान पछि सुदर्सन दासलाई मैले विधिवत चेला कायम गरेको छु । सोही प्रसङ्गमा स्वर्गीय चेला छोरा किशोरी शरण दासको मृत्यु दर्ताको प्रमाणपत्र लिई नाता गराई पाउँ भनी जनकपुर नगरपालिकामा निवेदन दिई विपक्षीहरुले गर्नु भएको मुचुल्का समेत पेश गर्नु भएको रहेछ । जनकपुर नगरपालिकाले नाता कायम गराई लिने तर्फ सम्वन्धित निकायमा उजुर गर्न जानु भनी पक्ष विपक्षीलाई सुनाई दिनु र नाता कायम गराएको अदालतवाट भएको फैसलाको नक्कल पेश भएपछि कारवाही हुने गरी २०४७।९।१५ गते मुलतवी राखेकोमा विपक्षी मध्येका महाविर शरण सम्वन्धित अदालतमा नगई जनकपुर नगरपालिकामा दिएको निवेदन कै व्यहोरा उल्लेख गरी जिल्ला प्रशासन कार्यालय धनुषा जनकपुरमा नाता प्रमाणित गरी पाउँ भनी एउटा मुचुल्काको कागज थपी निवेदन दिनु भएकोमा जिल्ला प्रशासन कार्यालयले कुनै सवूद प्रमाण नवुझी स्व.किशोरी शरण वैष्णवको र महानन्द झा भन्ने महाविर शरण वैष्णवको वीच मिति २०४८।७।२७ मा गुरु चेला वीचको नाता प्रमाणित गरी दिएको कुरा २०४८।११।५ मा नक्कल लिई थाहा भयो । महाविर शरणले पूनः २०४७।८।१९ गते नाता प्रमाणित गराई पाउनको लागि जिल्ला प्रशासन कार्यालयका नाउँमा सिफारिश गरी पाउँ भनी दिएको निवेदनमा उल्लेख गरेको प्रमाण अन्य विपक्षीहरुलाई आफू तिर मिलाई पगडी वाँधेको झुठ्ठा प्रमाण एवँ मुचुल्का वनाउन लगाई जालसाजीले पनि चेला नभएका र महन्थ रहँदा रहँदै अर्को व्यक्तिले पगडी वाध्ने प्रश्न नआउँदा तथा जालसाजी कृया स्वतः वदर हुने हुँदा सवूद प्रमाण वुझी विपक्षीहरुलाई किर्ते कागजको १० नं. वमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको कन्हैयादास वैष्णव र सुदर्सन दास वैष्णवको सँयुक्त फिराद दावी ।
३. हामीले कुनै पनि जालसाजी कृया गरेको छैनौ । किर्ते कागजको ३ नं. को कुन चाँही हाम्रो क्रियावाट विपक्षीलाई अन्याय परेको हो सो प्रष्ट छैन । किशोरी शरणको मृत्यु पश्चात निजको दागवत्ति काज कृया समेत प्रतिवादी महाविर शरणले नै गरेको र निज नै वास्तवमा किशोरी शरणको अपुताली खाने एक मात्र चेला भएकोले वास्तविक कुराको मुचुल्का गरेको हुँदा उक्त क्रिया किर्ते कागजको ३ नं. को परिभाषित कसूर अन्तर्गत नपर्ने हुँदा वादी दावीवाट फुर्सद गरी पाउँ भन्ने व्यहोराको प्रतिवादी रामेश्वर दास वैष्णव र रामलाल मिश्र वाहुनको सँयुक्त प्रतिउत्तर पत्र ।
४. हामीले कुनै पनि जालसाजी कृया गरेको छैनौँ । किर्ते कागजको ३ नं. को कुन चाँही हाम्रो क्रियावाट विपक्षीलाई अन्याय पर्यो । सो समेत प्रष्ट छैन । गुरु किशोरी शरणको मृत्यु पश्चात निजको दागवत्ति काजकृया समेत महान्नद भन्ने महाविर शरणले नै गरेको र किशोरी शरणको अपुताली खाने एकमात्र चेला निज प्रतिवादी नै हुन । हाम्रो रामानन्द सम्प्रदायको मत वमोजिम गुरुको मृत्यु भएपछि चेलालाई १३ दिने कृयाको अन्तिम दिन पगडी वाध्ने परम्परा छ । नेपाल अधिराज्यमा पगडी वाध्ने अधिकार मटिहानी गुठीको मान महन्थलाई मात्र हुँदा प्रतिवादी मध्येको म जगन्नाथ दास मटिहानी मान महन्थको चेला भै मान महन्थको प्रतिनिधिको हैसियतले महाविर शरणको पगडी मैले नै वाँधेको हुँ । प्रतिवादी मध्येको म राम भजन दास रामानन्दीय वैष्णव सँग धुनषाको सचिव, जानकी मन्दिरको प्रतिनिधि म प्रतिवादी रामतपेश्वर दास पनि सो पगडी समारोहमा उपस्थित थियौ । वास्तविकता जे थियो सोही वमोजिम हामीले मुचुल्का गरी दिएका हौँ । प्रतिवादी मध्येको म कृष्णकान्त झाले महापात्रको हैसियतले सम्पूर्ण पुजा श्राद्ध कर्म गराएको हो । झुठ्ठा दावीवाट उन्मुक्ति प्रदान गरी पाउँ भन्ने समेत व्यहोराको रामतपेश्वर दास समेत १९ जनाको सँयुक्त प्रतिउत्तर जिकिर ।
५. हामी प्रतिवादी होइनौं । किनभने स्वर्गीय किशोरी शरण दासको चेला छोरा कोही पनि थिएनन । प्रतिवादी मध्येका जगन्नाथ दास, रामतपेश्वर दास, राम भजन दासले तुली स्मार्कमा साधु सम्प्रदायको वैठक वसेको छ, सो छलफलमा उपस्थित हुनको लागि यो कागजमा सहिछाप गरी दिनोस भन्दा सो कागजमा सहिछाप गरी दिएका हाँै । हाम्रो नाउँमा फिराद प्रतिलिपि सहितको म्याद जारी हुँदा यथार्थ कुरा अवगत हुन आयो । सत्य कुरा के भने महानन्द झा भन्ने महाविर शरणलाई हामी चिन्दैनौ र निज स्वर्गीय किशोरी शरणको कुनै चेला थिएनन । किशोरी शरणलाई कन्हैयादासले मात्र चेलाको रुपमा राखेका थिए । किशारी शरणको मृत्यु पश्चात मुल गुरु कन्दैया दासले सुजित कुमार झा भन्ने सुदर्सन दासलाई चेला वनाएका छन् । जाल प्रवन्च रची जालसाजपूर्ण तरिकाले जालसाजी मुचुल्कामा जगन्नाथ दास समेतका प्रतिवादीहरुले जानी जानी झुक्याई हाम्रो सहिछाप गराएकोले साक्षी सवूद प्रमाण वुझी विपक्षीको दावीवाट उन्मुक्ति दिलाइ पाउँ भन्ने व्यहोराको प्रतिवादी गँगादास वैष्णव र सिया रघुविर शरण वैष्णवको सँयुक्त प्रतिउत्तर जिकिर ।
६. दावी वमोजिम म समेतले कसूर गरेको छैन । विपक्षीहरुले दायर गर्नु भएको फिरादपत्र किर्ते कागजको ३ नं. तथा अ.वं. ८२ नं. को प्रयोजनको लागि ग्राहय छैन । मेरो कुन चाही कृयाले वादीलाई कसरी आघात भयो भन्ने कुरा फिरादपत्रमा किटानी रुपले उल्लेख गर्न सक्नु भएको छैन । मलाई साधु समाजको रोहवरमा प्रतिवादी मध्येको जगन्नाथ दासले पगडी वाँधेको वारे भएको मुचुल्का असत्य हो भनी भन्न सकेको देखिँदैन र किशोरी शरणको चेला म होइन भन्ने दावी किशोरी शरणको चेला वाहेक अन्यले लिन नसक्ने निर्विवाद छ । स्वर्गीय गुरु किशोरी शरणको म चेला हुँ भन्ने कुरा सत्य हो र सोही सत्यलाई समर्थन गरेको मुचुल्का जालसाजी हुन सक्ने परिकल्पना गर्न सकिदैन । विपक्षीहरुले स्वर्गीय गुरुको सम्पूर्ण सम्पत्ति हडप्ने दुराशययुक्त भावनावाट अनेक जाल फरेव रच्दै मुद्दा दिनु भएको हुँदा साक्षी प्रमाण वुझी हकदैयाविहीन नालेस खारेज गरी पाउँ भन्ने प्रतिवादी महानन्द झा भन्ने महाविर शरण वैष्णवको प्रतिउत्तर जिकिर ।
७. प्रतिवादी मध्येका गरिव दास वैष्णवका नाउँमा म्याद जारी भै मिति २०४९।८।११ मा तामेल भएको शुरु म्यादमा प्रतिउत्तर नफिराई गुजारी वसेको ।
८. वादीका साक्षी चन्द्र किशोर लाभ, जिवछ मण्डल तथा प्रतिवादीका साक्षी सुकचन्द्र मिश्र, श्यामलाल पाठक, कामेश्वर यादव, राम पुकार शरण समेतले वकपत्र गरेको ।
९. वादीले प्र्रतिवादीहरुको अभियोग प्रमाणित गर्न नसेकेको हुँदा प्रस्तुत मुद्दामा प्रतिवादीहरुले जालसाजी गरेको ठहर्दैन । प्रतिवादीहरुले निजहरु उपरको अभियोगवाट सफाइ पाउने ठहर्छ भन्ने धनुषा जिल्ला अदालतको मिति २०५१।३।५ को फैसला ।
१०. धनुषा जिल्ला अदालतले लिएको पहिलो र दोश्रो आधार नै उल्टो तथा त्रुटिपूर्ण छ । किनकी दे.नं. १६२४ को मिलापत्र वदर मुद्दामा Locus Standi र द.नं. १७८२ को अँश हक कायम निर्णय दर्ता मुद्दामा पनि Locus Standi को विवाद छ । ठहर गर्नुपर्ने कुरा २०४७ साल भाद्रको मुचुल्का जालसाजी हो वा सद्दे हो भन्ने रहेकोमा उक्त मुद्दाहरु यस मुद्दाको लागि निर्णयाधार नभै यस मुद्दाको ठहर दुवै मुद्दाको निर्णयधार हुन आउँछ । चेलाको कागज रजिष्ट्रेशन हुनु पर्दछ, जो कागज प्रतिवादीहरुले पेश गर्न नसकी मुखकै भरमा चेला हो भन्न प्रमाणित गर्न २०४७।२।१५ मा किशोरी शरणको मृत्यु भै सो को १३ औं दिनमा मुचुल्का भएको भनी २०४७ भाद्रमा जालसाजी मुचुल्का खडा गरेको प्रष्ट छ । प्रतिवादी मध्येका शिया र रघुविर शरण तथा गँगादास वैष्णवले अर्कौ विषयको मुचुल्कामा सहि गरेवाट उक्त मुचुल्का जालसाजी रहेको प्रष्ट छ । प्रतिवादी महाविर शरणलाई किशोरी शरणले चेला नियुक्त गरेको कुनै प्रमाण नरहेको प्रष्ट छ । यसरी महाविर दास वैष्णव किशोरी शरणको चेला नियुक्त गरेको कुनै प्रमाण मिसिलमा नरहेको र पगडी समारोह नभएको प्रष्ट देखिएको अवस्थामा जालसाजी कृयावाट वनेको मुचुल्कालाई सदर गरेको भनी धनुषा जिल्ला अदालतवाट भएको फैसला वदर गरी फिराद दावी वमोजिम जालसाजी ठहर गरी प्रतिवादीहरुलाई दण्ड सजाय समेत गरी पाउँ भन्ने वादीहरुको पुनरावेदन अदालतमा परेको पुनरावेदन ।
११. यसमा अनधिकृत व्यक्ति समेत भई २०४७।५ सम्म लेखिएको तर गते नलेखिएको मुचुल्का लाई आधार प्रमाण लगाई पगडी लगाई दिने भनिएका मान महन्थ समेतलाई नवुझी गरेको शुरु धनुषा जिल्ला अदालतको फैसलामा फरक पर्न सक्ने देखिँदा छलफलको लागि अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली २०४८ को नियम ४७ अनुरुप प्रत्यर्थी झिकाउने भन्ने पुनरावेदन अदालतको मिति २०५३।१२।१९ को आदेश ।
१२. यसमा केहीले आफूले सहीछाप गरेको मुचुल्कालाई जालसाजी भन्दैमा विना ठोस प्रमाण रीतपूर्वक भएको मुचुल्कालाई जालसाज ठहराउनु न्यायको दृष्टिले उचित देखिँदैन । यस स्थितिमा प्रस्तुत मुद्दामा दावी वमोजिम विपक्षी प्रतिवादीहरु उपरको जालसाजी नठहराएको शुरु धनुषा जिल्ला अदालतका मिति २०५१।३।५ कोे इन्साफ मिलेकै देखिँदा उक्त इन्साफ सदर हुने ठहर्छ ,पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेतको पुनरावेदन अदालत जनकपुरको मिति २०५४।५।१ को फैसला ।
१३. पगडी प्रदान गरेको मुचुल्का आफैमा झुठ्ठा देखिइरहेको र त्यसमा पनि पगडी प्रदान गर्दा मुचुल्का वनाउने कुनै प्रचलन वा कानूनी व्यवस्था समेत नरहेको पृष्ठभूमिमा झुठ्ठा लिखत खडा गरेको स्पष्टतः देखा पर्दापर्दै पनि लाभवस खडा गरिएको लिखतलाई मानी गरेको फैसला स्पष्टतः त्रुटियुक्त छ । उल्लेखित आधारमा किर्ते कागजको ३ नं. को लिखत प्रमाण हुँदा हुँदै पनि सद्दे ठहर्याई गरिएको फैसला स्पष्टतः किर्ते कागजको ३, १० र प्रतिपादित नजिर सिद्धान्त समेतको आधारमा त्रुटिपूर्ण भएकोले पुनरावेदन अदालत समेतको इन्साफ वदर गरी न्याय पाउँ भन्ने समेतको पुनरावेदक वादी सुजित कुमार समेतको मुद्दा दोहर्याई पाउँ भन्ने निवेदन ।
१४. यसमा यसै लगाउको नि.नं. ५८०८ को मिलापत्र वदर मुद्दामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (ख) को आधारमा मुद्दा दोहर्याई हेर्ने निस्सा प्रदान भएकोले प्रस्तुत मुद्दामा पनि सोही आधारमा मुद्दा दोहर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको मिति २०५६।१२।१६ को आदेश ।
१५. नियम वमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दा मा पुनरावेदक वादी तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री कमलनारायण दासले मेरो पक्षलाई शुरु जिल्ला अदालत र पुनरावेदन अदालतवाट हराउँदा विपक्षी प्रतिवादी महाविर शरण वैष्णवले जिल्ला प्रशासन कार्यालय, धनुषावाट मिति २०४८।७।२७ मा लिएको गुरु चेलाको नाता प्रमाणपत्रलाई मुल आधार वनाई फैसला भएको छ । जिल्ला प्रशासन कार्यालयले नाता सम्वन्धमा स्थानीय निकाय जनकपुर नगरपालिकालाई वुझेको छैन साथै स्थानीय मानिसहरु राखी सर्जमिन गरेको छैन । कुटीको महन्थ कन्हैया दास जीवित छँदाछँदै निजलाई समेत नवुझी जालसाजी तवरको आधारमा नाता प्रमाणपत्र दिएकोले सो नाता प्रमाणपत्र स्वतः वदरभागी रहेको छ । साधु सन्त समाजवाट यस्तो चेलाको पगडी प्रदान गर्दा मुचुल्का खडा गर्ने प्रचलन नै रहेको छैन । स्व.किशोरी शरणले विपक्षी महानन्द झालाई शिष्य वनाई राखेको भए कुटीसंग असम्वन्धित व्यक्तिहरुवाट मुचुल्का खडा गर्नुपर्ने कुनै प्रयोजन नै थिएन । यो कुटी गुठी सँस्थान वा मटीहानी गुठी तालुक भित्रको नभै शन्तराम वल्लभ शरणद्वारा स्थापित गुरु, शिष्य परम्पराद्वारा स्थापित नियन्त्रित हुँदै आएको कुटी भएको हुँदा यस्तो कुटीको पगडी प्रदान गर्ने र चेला घोषित गर्ने अधिकार विपक्षीहरुलाई छैन । आफूमा नभएको अधिकारको प्रयोग गरी मेरो पक्षको सम्पत्तिमा असर पर्ने गरी खडा गरिएको मुचुल्का वद्नियतपूर्ण एवँ जालसाजी हो । विपक्षी महानन्द झाले अपुताली हक कायम मुद्दा दायर गरी सकेपछि जिल्ला प्रशासन कार्यालय धनुषावाट प्राप्त गरेको उक्त गुरु चेला नाता कायम गरेको प्रमाणलाई प्रमाणमा लिन नमिल्ने हुँदा विपक्षीहरुलाई वादी दावी अनुसार जालसाज गरेको ठहर गर्नुपर्नेमा मेरो पक्षलाई हराई गरेको दुवै तह अदालतको फैसला त्रुटिपूर्ण हुँदा वदर गरी पाउँ भन्ने र प्रत्यर्थी प्रतिवादीको तर्फवाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी र विद्वान अधिवक्ता द्वय श्री मिथिलेस कुमार सिँह र श्री विरेन्द्र कुमार ठाकुरले स्व. किशोरी शरणको २०४७।२।१५ मा मृत्यु भएपछि निजको दागवत्ति, काजकृया समेत मेरो पक्ष महाविर शरण वैष्णवले गरेको हो । वैष्णवी मतको साधु सन्त, महन्थ समेतको रोहवरमा मटिहानी मठका तत्कालीन महन्थ चेला र हालका महन्थ श्री जगन्नाथ दासले चेलाको पगडी वाँधेको मुचुल्का सत्यसाँचो हो भनी कँचनवन स्थानको महन्थ श्री रामेश्वर दास वैष्णव समेतका २२ जना प्रतिवादीहरुले प्रतिउत्तर फिराएको र स्थानीय प्रशासन ऐन, २०२८ अनुसार जिल्ला प्रशासन कार्यालयले गुरु चेलाको नाता प्रमाणित गर्न सक्ने नै देखिन्छ । मेरो पक्षले २०४८।७।२७ मा प्राप्त गरेको नाताको प्रमाणपत्रलाई वादीले साधिकार निकायवाट वदर गराउन सकेको छैन । विपक्षी वादी सुजित कुमार झाले समेत जिल्ला प्रशासन कार्यालय, धनुषावाट मिति २०४८।६।२ मा गुरु चेलाको नाता प्रमाणपत्र लिनु भएको छ । जानकी स्थान कुटीको महन्थ स्व. श्री किशोरी शरण हो, विपक्षी कन्हैयादास होइन । महाविर शरण स्व. किशोरी शरणको चेला भएको र चेला राख्ने कार्य गुठीको महल वमोजिम सम्पन्न गरिने एउटा यस्तो प्रक्रिया हो जसवाट भेषधारीहरुले गुठी नराखी आफ्नो नाउँमा दरिएको वा आफ्नो हक पुग्ने जग्गाको पोत तिरी वाँकी रहेको आयस्तावाट देव देवताको पुजाआजा धर्म सदावर्त काम चलाई आएको जग्गा ति मरी सकेपछि तिनका चेलाले साविक वमोजिम काम चलाई शेष खान पाउने व्यवस्था गुठीको ११ नं. ले गरेको छ । सम्पूर्ण वैष्णव सम्प्रदायका साधु सन्त महन्थहरुले मेरो पक्ष महाविर शरण नै स्व. किशोरी शरणको चेला हो भनी झुठ्ठा मुचुल्का खडा गर्नुपर्ने कुनै प्रयोजन छैन । मुचुल्का एउटा आधार मात्र हो । आधिकारिक लिखत होइन । जिल्ला प्रशासन कार्यालय, धनुषाले दिएको उक्त नाता कायम गरेको प्रमाणपत्र वदर नभए सम्म वादी दावीको मुचुल्का जालसाजी ठहर्ने प्रश्नै उठ्दैन । सर्बोच्च अदालतवाट मुद्दा दोहर्याउने निस्सा प्रदान गर्दा उल्लेख गरेको नजिर अँश मुद्दासँग सम्वन्धित भएको र तथ्य समेत फरक परेको हुँदा उक्त नजिर यो मुद्दामा आकर्षित हुन सक्दैन । सर्बोच्च अदालतले जुन आधारमा मुद्दा दोहर्याउने आदेश गरेको छ सोही आधारमासम्वद्ध विषयमा मात्र सिमित रही मुद्दा किनारा गर्नुपर्ने कानूनी व्यवस्था र नजिर सिद्धान्त समेत रहेको छ । अतः धनुषा जिल्ला अदालत र पुनरावेदन अदालत, जनकपुरवाट जालसाजी तर्फको वादी दावी पुग्न नसक्ने ठहर्याएको फैसला कानून संगत एवं न्यायसंगत भएको हुँदा सदर थामी पाउँ भन्ने समेतको वहस जिकिर प्रस्तुत गर्नु भयो ।
१६. आज निर्णय सुनाउन तारेख तोकिएको प्रस्तुत मुद्दामा उल्लेखित वहस जिकिर समेतलाई ध्यानमा राखी सम्वन्धित मिसिल तथा दुवै पक्षका कानून व्यवसायीहरुद्वारा प्रेषित वहसनोट समेत अध्ययन गरी पुनरावेदन अदालत जनकपुरवाट वादी दावीको मुचुल्का जालसाजीवाट खडा गरेको नठहर्ने भनी गरेको फैसला मिलेको छ , छैन ? वादीको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन ? सो कुराको निर्णय दिनु पर्ने देखिन आयो ।
१७. यसमा निर्णयतर्फ विचार गर्दा स्वर्गीय किशोरी शरणको कुनै चेला नभएकोमा विपक्षी महानन्द झा भन्ने महाविर शरण वैष्णवले अन्य विपक्षीहरुलाई आफ्नो प्रभावमा लिई आफू तिर मिलाई २०४७ साल भाद्रमा चेलाको पगडी वाँधेको झुठ्ठा मुचुल्का वनाउन लगाई मलाई आर्थिक क्षति पुर्याउने उद्देश्यवाट हुँदै नभएको व्यक्तिलाई चेला हो भनी जालसाजी कृयाकलापवाट मुचुल्का खडा गरेको हुँदा विपक्षीलाई सजाय गरी पाउँ भन्ने वादी दावी भएको, वादी दावी अनुसार हामी प्रतिवादीहरुले जालसाजी गरेको छैन । महन्थ किशोरी शरणको २०४७।२।१५ गते मृत्यु भए पछि निजको दागवत्ति दिने काजकृया समेत प्रतिवादी महाविर शरण वैष्णवले नै गरेको र निज नै वास्तवमा स्व. किशोरी शरणको एकमात्र चेला भएको र चेलाको रुपमा निज महाविर शरणले पगडी वाँधेको हुँदा वास्तविकता जे थियो सोही वमोजिम हामीहरुले मुचुल्का गरी दिएका हौ भनी मटिहानी गुठीको महन्थ चेला श्री जगन्नाथ दास वैष्णव समेतका २२ जना वैष्णवी सन्त, महन्थ समेतका प्रतिवादीहरुले प्रतिउत्तर फिराएको देखिन आयो ।
१८. प्रतिवादी मध्येका गरिव दास वैष्णवले शुरु म्यादै गुजारी वसेको र प्रतिवादीहरु गँगा दास र सिया रघुविर शरण जना २ ले वादी मिलान प्रतिउत्तर फिराएको देखिन्छ ।
१९. पुनरावेदक वादीले उक्त मुचुल्का जालसाज ठहरेमा जिल्ला प्रशासन कार्यालय, धनुषावाट प्राप्त गरेको नाताको प्रमाणपत्र स्वतः वदर हुने हुँदा त्यसलाई वदर गराई रहन परेन भनी फिरादपत्रमा उल्लेख गरेको देखियो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९(८) अनुसार प्रमुख जिल्ला अधिकारीलाई त्यसप्रकारको नाता प्रमाणित गर्ने अधिकार विधायिकाले प्रदान गरेको देखिन्छ । प्रमाण ऐन, २०३१ को दफा ६(ङ) अनुसार नेपाल कानून वमोजिम अधिकार प्राप्त अधिकारीवाट प्रदान गरिएको नाता प्रमाणपत्रको वैधतालाई अदालतले स्विकार गर्नुपर्ने कानूनी प्रावधान रहेको देखिन्छ । उक्त कानूनी प्रावधानको अधिनमा रही प्रतिवादी महाविर शरण दास वैष्णवले जिल्ला प्रशासन कार्यालय धनुषावाट २०४८।७।२७ मा स्व. किशोरी शरण वैष्णवको चेला भएको नाता प्रमाण प्राप्त गरेको देखिन्छ । पुनरावेदक वादी सुजित कुमार झा भन्ने सुदर्सन दास वैष्णव स्व. कन्हैया दास वैष्णवको चेलाको हैसियतले जिल्ला प्रशासन कार्यालय, धनुषावाट गुरु चेलाको नाता कायम गराएको जिल्ला प्रशासन कार्यालय धनुषाको प.सं. प्र.शा.।२२।२०४८।०४९ मिति २०४८।५।१० को पत्रवाट देखिन आएको छ । प्रतिवादी महानन्द झा महाविर शरण वैष्णव भै सकेको तथ्य फिरादपत्र, पुनरावेदन पत्र र मुद्दा दोहर्याउने निवेदन समेतवाट पुनरावेदक वादीले स्वीकार गरेको देखिन्छ । यदि निज प्रतिवादी स्व. किशोरी शरण वैष्णवको चेला नभए कुन वैष्ण सम्प्रदायको गुरुको चेला हो सो कुरा पुनरावेदक वादीले भन्न र लेख्न सकेको देखिँदैन ।
२०. वादी दावीको २०४७ साल भाद्र महिनाको मुचुल्का हेर्दा कुटीको महन्थ किशोरी शरण वैष्णव स्वर्गीय भएपछि साधु सम्प्रदायको रिति थिति वमोजिम निज किशोरी शरणको सदगत काजकृया महाविर शरण वैष्णवले सम्पन्न गरेको र निज किशोरी दासको एक मात्र चेला भएको हुँदा चाँदर ओढ्याएको भनी मटिहानी स्थानको महन्थ चेला श्री जगन्नाथ दास वैष्णव, कन्चन वन स्थानको महन्थ श्री रामेश्वर दास वैष्णव, भजनिया आश्रमका महन्थ सुनैना दुलारी शरण वैष्णव, रामानन्दीय वैष्णव सँघको प्रतिनिधि, जानकी मन्दिर, धनुषा कुटी, हनुमान मन्दिर, दनुवार कुटी, विरपुर कुटी, हनुमान दर्वारको वैष्णव प्रतिनिधि समेतका २५ जना सन्त, महन्थ र वैष्णवको रोहवरमा उक्त मुचुल्का खडा भएको देखिन्छ । प्रतिवादी महाविर शरणले ति २१ जना वैष्णवी सन्त महन्थहरुलाई आफ्नो प्रभावमा लिई आफूतिर मिलाई झुठ्ठा मुचुल्का खडा गरेको भन्ने कुरा वादीका साक्षीको वकपत्रवाट समेत समर्थित हुन सकेको देखिँदैन ।
२१. वादी दावीको उक्त मुचुल्कावाट वादीको हक अधिकारमा आघात र आर्थिक क्षति पुग्ने रहेछ कि भन्नलाई उक्त मुचुल्कामा स्व. किशोरी शरणको सदगत काज कृया प्रतिवादी महाविर शरणले गरेको र निज किशारी शरणको चेला भएको हुँदा चाँदर ओढाएको व्यहोरा उल्लेख भएको एउटा घरसारको मुचुल्कावाट कुनै हकको स्थापना र समाप्ती नहुने देखिंदा वादीको हक अधिकारमा आघात पुग्न गयो भन्ने कुरा कानून सँगत देखिन आएन ।
२२. यदि प्रतिवादी महाविर शरणले स्व. किशोरी शरणको दागवत्ति, काजकृया नगरेको भए र निज स्व. किशोरी शरणको चेला नभएको भए उक्त मुचुल्काका २१ जना वैष्णव भेषधारी सन्त, महन्थहरु समेतले उक्त मुचुल्कामा लेखिएको व्यहोरा साँचो हो भनी प्रतिवाद गर्नुपर्ने कारण के पर्यो ? ति प्रतिवादीहरुले जालसाजी मुचुल्का खडा गर्नुपर्ने स्वार्थ के पर्यो ? पुनरावेदक वादीले ति प्रश्नहरुको तर्क सँगत औचित्य दर्साउन सकेको देखिँदैन ।
२३. वादी सुजित कुमार झा भन्ने सुदर्सन दास वैष्णव र प्रतिवादी महानन्द झा भन्ने महाविर शरण वैष्णवले जिल्ला प्रशासन कार्यालय, धनुषावाट क्रमशः मिति २०४८।५।१० मा र २०४८।७।२७ मा प्राप्त गरेको गुरु चेला नाता सम्वन्धी प्रमाण पत्र वादी प्रतिवादीले साधिकार निकायवाट वदर गराउन सकेको नदेखिँदा स्वतः वदर भागी छ भन्ने वादीको भनाई कानून सँगत देखिन आएन । उक्त नाता सम्वन्धी प्रमाणपत्र कायम रहे सम्म दावीको मुचुल्का जालसाजी ठहर्याउन मिल्ने देखिएन ।
२४. पुनरावेदक वादीहरुका वीच चलेको अपुताली हक कायम मुद्दामा पहिले स्व. किशोरी शरणको छोरा चेला भन्ने पछि गएर कन्हैया दासको चेला भनी पटक पटक आफ्नो कुरा फेर्दै जाने वादी सुदर्शन दासले स्व. किशोरी शरणको दागवत्ति काजकृया गर्यो होला भन्ने कुरा पत्यारलायक नदेखिँदा पुनरावेदक वादी पक्षका विद्वान अधिवक्ताको उक्त वहस जिकिरसंग सहमत हुन सकिएन ।
२५. सर्बोच्च अदालतवाट प्रस्तुत मुद्दामा ने.का.प. २०४२ अँक १० नि.नं. २५२३ पृष्ठ ९४७ को अँश मुद्दामा प्रतिपादित सिद्धान्तको त्रुटि दर्साई न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड (ख) को आधारमा मुद्दा दोहर्याउने निस्सा प्रदान गरेको देखिन्छ । तर उक्त नजिर अँश मुद्दासँग सम्वन्धित भएको र मुद्दाको तथ्य समेत फरक परेको देखिँदा उक्त नजिर यो मुद्दामा आकर्षित हुने रहेछ भन्न मिलेन । तसर्थ उक्त मुद्दा दोहोर्याई पाउँ निस्सा प्रदान गरेको आदेशसँग सहमत हुन सकिएन ।
२६. अतः माथि उल्लेखित वुँदा प्रमाण समेतवाट शुरु धनुषा जिल्ला अदालतले जालसाजी नठहर्ने भनी गरेको इन्साफ सदर गरेको पुनरावेदन अदालत, जनकपुरको इन्साफ मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत काटी मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.शारदा श्रेष्ठ
इति सम्वत् २०६१ साल आषाढ २५ गते रोज २ शुभम् –––––