निर्णय नं. ७३९३ - उत्प्रेषणयुक्त परमादेश वा अन्य उपयु्क्त आज्ञा, आदेश वा पूर्जि जारी गरी पाउँ ।

निर्णय नं. ७३९३ ने.का.प.२०६१ अङ्क ६
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री खिलराज रेग्मी
सम्बत् २०५६ सालको रिट नं. ...३७७६
आदेश मितिः २०६१।५।२९।३
बिषय :– उत्प्रेषणयुक्त परमादेश वा अन्य उपयु्क्त आज्ञा,
आदेश वा पूर्जि जारी गरी पाउँ ।
निवेदकः.ललितपुर जिल्ला ललितपुर उपमहानगर पालिका वडा नं. १८ वस्ने वर्ष ४० को नरेशलाल ताम्राकार समेत
विरुद्ध
बिपक्षीः भूमिसुधार कार्यालय, ललितपुर समेत
§ जग्गा वाँडफाँड गर्दा वेगल कित्ताको निकास पुकाश र सन्धिसर्पन वारे विचार गर्नुपर्ने नभई वाँडफाँड गर्ने जग्गाको नै नरमकरम विचार गरिने हो । सो आफ्नो पछाडिको वेगल कित्तामा जान असुविधा भयो भन्ने मात्र कारणले छुट्टै कित्तामा भएको वांडफांडमा नरमकरम मिलेन भन्न नमिल्ने ।
§ ललितपुर जिल्ला ललितपुर उप महानगरपालिका वडा नं. १५ स्थित निवेदकको घरदैलामा म्याद टाँस गरेको भन्ने फाइलवाट देखिएको, निवेदकको भनाइ ऐ. १८ नं. वडामा आफ्नो वतन भएको भन्ने भएकोमा निवेदकको वास्तविक ठेगाना १५ नं.वा १८ नं. वडा कहाँ हो भन्ने तथ्यगत् बिषय भई त्यस्तो तथ्यगत बिषय रिट क्षेत्रवाट निरोपण नहुने ।
(प्र.नं. १३ र १४)
निवेदक तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री शम्भु थापा र श्री शिवराम सिल्वाल
विपक्षी तर्फवाटः विद्वान सह न्यायाधिवक्ता श्री सरोजप्रसाद गौतम, विद्वान अधिवक्ता श्री देवेन्द्र झा
अवलम्वित नजिरः
आदेश
न्या.खिलराज रेग्मीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) वमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ :–
२. हामी निवेदकहरुका नाउँमा मालपोत कार्यालय ललितपुरमा दर्ता प्रमाणित भएको ललितपुर जिल्ला ललितपुर उप महानगरपालिका वडा नं. ५ (न) कि.नं. ७५३ को ०–५–१–० जग्गा को मोही बिपक्षी मध्ये लालवहादुर थापा भएकोमा निज मोहीले पहिल्यै देखि हामी जग्गाधनीहरुलाई वुझाउनुपर्ने वाली समेत समयमा नबुझाउने, वाली लिन जांदा समेत गाली गर्न तथा तिमी जग्गाधनीलाई थाहा नदिई उक्त जग्गा के गर्छु भनी भन्दै आएका थिए । यसै वीच उक्त जग्गामा मोहीले के गरेको छ भनी हेर्न तथा यस वर्षको वाली माग गरी ल्याउने विचारले २०५६।१०।१८ गते जग्गामा गई हेर्दा जग्गाको दक्षिणतर्फ घर वनाउने सामान राखेको र जग्गामा समेत घरको पिलर राख्न जग समेत खनेको देखी आश्चर्यमा परी के भएको हो भनी मोहीसंग सोध्दा उक्त जग्गा मैले छुटाई लिई विक्री समेत गरी सकेको छु भन्ने मोहीवाट थाहा पाएँ । तत्पश्चात वास्तविकता के हो भनी बिपक्षी भुमिसूधार कार्यालय ललितपुरमा गई वुझ्दा बिपक्षी मध्ये मोही लालवहादुर थापाले भूमि सम्बन्धी ऐन (चौथो संशोधन २०५३ सहित), २०२१ को दफा २६(घ) वमोजिम वाडफांड माग गरी जग्गा छुट्टाई लगेको कुरा पत्ता लागि नक्कल सारी हेर्दा २०५५।१२।२ गते मोहीले जग्गा छुट्टाई पाउन निवेदन दिएको, सो निवेदनमा जग्गाधनीहरु ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं. १८ मा वस्नुहुन्छ भनी उल्लेख गरी सोही निवेदनको तपसीलमा वडा नं. १८ को हाल वडा नं. १५ भनी थप गरी थपेको ठाउँमा सहिछाप समेत नगरेको, सोही आधारमा वडानं. १५ मा म्याद टाँस गरेको भनी हामीहरुको ठीक वतन नखुलाई अन्यत्रै म्याद टाँस गरी हामीलाई थाहा नहुने गरी आफूले रोजेकोतर्फवाट आफूलाई जग्गा माग गरेको, सोही निवेदनको आधारमा भूमिसुधार कार्यालय ललितपुरले पनि नरमकरम समेत नहेरी प्राकृतिक न्यायको सिद्धान्त विपरीत हामीहरुलाई सुनुवाईको मौका समेत नदिई एकतर्फी रुपमा बिपक्षी भूमिसुधार कार्यालय ललितपुरको २०५६।२।२१ मा निर्णय गरेको र सोही गैरकानूनी निर्णयको आधारमा बिपक्षी मालपोत कार्यालय ललितपुरमा दा.खा. दर्ता गर्न पठाएको रहेछ । मालपोत कार्यालय ललितपुरले २०५६।२।२१ को भूमिसुधार कार्यालयको निर्णयको आधारमा नापी शाखामा कित्ताकाट गर्न पठाई उक्त कि.नं. ७५३ को जग्गा कित्ताकाट हुँदा कि.नं. ८२४ मा ०–२–२–२ जग्गा मोहीलाई र कि.नं. ८२५ को ०–२–२– जग्गा हामीहरुको भागमा पारी कित्ताकाट दा.खा. दर्ता गर्ने गरी २०५६।२।२५ मा निर्णय गरेको जानकारी समेत २०५६।१०।२० मा नक्कल सारी लिएपछि हुन आयो । उक्त मोहीले छुट्टाई लिएको जग्गा निजले मिति २०५६।२।२८ मा आफ्नो छोरा कमलवहादुर थापालाई र.नं. ६०५० वाट मालपोत कार्यालय ललितपुर मार्फत हक हस्तान्तरण गरेको र निज कमलवहादुर थापाले पनि नारायणी आचार्यलाई २०५६।५।२८ मा र.नं. १०१६ वाट मालपोत कार्यालय ललितपुर मार्फत हा.व. विक्री गरेको भन्ने समेत २०५६।१०।२४ मा नक्कल लिई हेर्दा थाहा भयो ।
३. हामीहरुको नाउंमा दर्ता प्रमाणित भएको जग्गा हामीहरुलाई नै जानकारी नदिई षडयन्त्र गरी बिपक्षी मोहीले हाम्रो घरवास कहाँ हो भन्ने स्पष्ट थाहा हुंदाहुंदै गलत वतन देखाई आफूले चाहेकोतर्फ पट्टिको जग्गा लिने गरी निर्णय गर्नु गराउनुवाट हामीलाई सुनुवाइको मौका दिनुपर्ने प्राकृतिक न्यायको सिद्धान्त विपरीत कार्य भएको स्पष्ट छ । जग्गा वांडफांडको निर्णय उपर पुनरावेदन लाग्ने व्यवस्था समेत नभएवाट सो सिद्धान्त अनिवार्यरुपमा पालना गर्नु पर्छ । जग्गा वांडफांड गर्दा नरमकरम समेत मिलाउनु पर्नेमा कि.नं. १४७ को पछाडिको हाम्रो जग्गामा जाने वाटो समेत नदिई पछाडिको जग्गा मोहीलाई र अगाडिको जग्गा हामीहरुलाई पारिएको समेत मिलेको छैन ।
४. बिपक्षीको उपरोक्तानुसारको निर्णय एवं काम कारबाहीवाट निवेदकलाई संविधानको धारा १७ द्वारा प्रत्याभूत सम्पत्ति सम्बन्धी हकमा आघात पुगेको र सो को लागि अन्य कानूनी उपचार समेत नहुँदा संविधानको धारा २३ र ८८(२) वमोजिम यस अदालतमा निवेदन गर्न आएका छोैं । हामीहरुको हकमा आघात पर्ने गरी भूमिसुधार कार्यालय ललितपुरवाट ०५६।२।२१ मा भएको निर्णय र सो निर्णयका आधारमा मालपोत कार्यालय ललितपुरवाट ०५६।२।२।२५ मा भएको दा.खा. दर्ता निर्णय समेत उत्प्रेषणको आदेशद्वारा वदर गरी हामीहरुको हकमा असर नपर्ने गरी कारवाही गर्नु भन्ने बिपक्षीहरुको नाउँमा परमादेश लगायत अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरी पाउँ भन्ने समेत व्यहोराको यस अदालतमा दायर भएको निवेदन ।
५. बिपक्षीहरुवाट १५ दिन भित्र लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम वमोजिम पेश गर्नु भन्ने यस अदालतवाट भएको कारण देखाउ आदेश ।
६. जग्गाधनीहरु नरेशलाल ताम्राकार र हिमाललाल ताम्राकारको नाउँमा संयुक्त दर्ता रहेको ललितपुर जिल्ला अदालत ललितपुर उप महानगरपालिका वडा नं. ५(न) कि.नं. ७५३ को ०–५–१ जग्गा संशोधित भूमि सम्बन्धी ऐन, २०५३ को दफा २६ को उपदफा (१) को खण्ड (घ) वमोजिम जग्गा वांडफाड गरी छुट्टाई मोहीको लगत कट्टा गरी पाउँ भनी मोही लालवहादुर थापा मगरको २०५५।१२।२ मा निवेदन दर्ता हुन आएको, उपरोक्त जग्गाधनीहरुको नाउमा १५ दिने म्याद पठाउंदा दुवै जग्गाधनीहरुको म्याद घरदैलामा टांस भै आएको,म्यादभित्र जग्गाधीनहरुले कुनै प्रतिवाद नगरी शुरु तामेली म्यादको म्यादै गुजारी वसेको, जग्गा वांडफांडतर्फ संशोधित भूमि सम्बन्धी ऐन नियम वमोजिम सम्बन्धित वडा समिति, नापी शाखा र कार्यालय समेतवाट फिल्ड निरीक्षण भै प्रतिवेदन समेत पेश हुन आएको, रिट निवेदन लेखाइवाट मोहीमा विवाद नभै निवेदकलाई मोही स्वीकार गरेकै देखिएको, मोहीमा विवाद नभएपछि संशोधित भूमि सम्बन्धी ऐन वमोजिम कार्यालयले एकपक्षीयरुपमा निवेदन लिन सक्ने अवस्था भएकोले जग्गा वांडफांड गरी दिनुपर्ने स्थिति भएको हुँदा जग्गाधनी उपस्थित नभएको कारणवाट नरमकरम मिलाई वांडफांड गरी दिनेतर्फ कार्यालयले प्रक्रिया पु¥याई सम्बन्धित वडाको राय, नापी शाखाको रेखाङ्कन सहितको प्रस्तावित नक्सा ट्रेश र निरीक्षण प्रतिवेदन समेतका आधारमा मोही र जग्गाधनी वीच जग्गा वांडफांड गरी दिई मोहीले पाउने जग्गा दा.खा. र जग्गाधनीका नाउमा वांकी रहेको जग्गावाट मोहीको लगत समेत कट्टा गरी दिने गरी ०५६।२।२१ मा निर्णय भै मालपोत कार्यालय ललितपुरमा समेत लेखी पठाइएको हो । रिट निवेदकले तामेली म्यादको म्यादभित्र कार्यालयमा उपस्थित भै आफ्नो भनाइ सहितको प्रतिवाद नगरेको अवस्थामा वांडफांडको कामलाई रोकिरहनु कानून विपरीत समेत हुन जाने भएकोले यस कार्यालयवाट ऐन नियमको प्रक्रिया पु¥याई जग्गा वांडफांड र जोत कट्टा समेत गरी दिने गरी भएको निर्णयवाट जग्गाधनीहरुलाई कुनै प्रकारको हक अधिकारमा आघात समेत पर्न नगएको हुँदा प्रस्तुत रिट निवेदन खारेज गरी पाउँ भन्ने व्यहोराको भूमिसुधार कार्यालय ललितपुरको लिखित जवाफ ।
७. साविक कि.नं. १४४ को ०–११–२–० जग्गाका जग्गाधनी गिरीजालाल ताम्राकार र इन्द्रलाल ताम्राकार भएकोमा उक्त जग्गा कित्ताकाट भई कि.नं. ७५३ को ०–५–१–० जग्गा नरेशलाल ताम्राकार र हिमाललाल ताम्राकारको नाउँमा र कि.न.ं. ७५४ को ०–६–१–० जग्गा रामप्यारी, कर्ण लक्ष्मी र महेन्द्रलाल ताम्राकार समेत ३ जनाको नाउमा कायम भएको, उक्त जग्गाको साविक देखिको मोही म लालवहादुर थापा मगर कायम भै भोगचलन गरी जग्गाधनीलई वुझाउनु पर्ने कुतवाली समेत समय सम्ममा वुझाउंदै आएको छु । जग्गाधनीलाई मैले कुनै प्रकारको दुःख दिने, गाली गर्ने जस्ता कार्य गरेको छैन । उक्त कि.नं. का जग्गाधनीहरु पांचै जनालाई मेरो मोहियानी हकको आधा जग्गा नै छुट्टाई मोही लगत कट्टा गरी दोहोरो स्वामित्व अन्त्य गरी आ–आफ्नो जोतपोत र एकलौटी हक कायम गरौं भनी पटक–पटक अनुरोध गर्दा पनि आलटाल गरी उल्टै गाली गर्ने र उक्त दुवै कित्ता जग्गाको अगाडि उत्तरतर्फवाट सार्वजनिक गोरेटो वाटो भएकोले दुवै कित्ता जग्गाको अगाडिको आधा जग्गा मोहीले लिन्छु र कि.नं. ७५४ को पूर्वतर्फवाट ३ फिट वाटो दिनुहोस भन्दा कि.नं. ७५४ का जग्गाधनीहरु मन्जूर भएका तर कि.नं. ७५३ को नरेशलाल ताम्राकार समेत भने कि.नं. ७५३ को जग्गाको अगाडिवाटै ६०५ जग्गा लिने र वांकी जग्गा मात्र मोहीले लिनुपर्ने जस्ता थुप्रै अव्यवहारिक तर्क राखी मोहीलाई अनेक दुःख दिई आउनु भएकोले मिति २०५५।१२।२ गते भूमि सम्बन्धी ऐन (संशोधन) सहित, २०५३, २०२१ को दफा २६(घ) वमोजिम उक्त जग्गा नरमकरम मिलाई वांडफांड गर्नका लागि निवेदन दिएको हुँ । निवेदन परेपछि जग्गाधनीहरुलाई म्याद जारी भै अरु जग्गाधनीहरुले आ– आफ्नो म्याद वुझी लिई बिपक्षी रिट निवेदकले म्याद वुझ्न इन्कार गरेकोले निजकै घरदैलामा टाँस गरी म्याद तामेल भई निजले शुरु म्यादै गुजारी अटेर गरी वसेकोले कि.नं. ७५३ वदर भई कि.नं. ८२४ को ०–२–२ जग्गा मोहीलाई र कि.नं. ७२५ को ०–२–२ जग्गा रिट निवेदकलाई तथा कि.नं. ७५४ वदर भई कि.नं. ८२१ को ०–३–०–२ जग्गा मोहीलाई र कि.नं. ८२२ को ४ फिट वाटो सहित राम प्यारी, कर्णलक्ष्मी र महेन्द्रलाल समेतको नाउँमा कायम हुने गरी २०५६।२।२१ गते भूमिसुधार कार्यालय ललितपुरवाट निर्णय भई सो वमोजिम प्राप्त हकको जग्गालाई मालपोत कार्यालय ललितपुर मार्फत दा.खा. दर्ता गराई मेरो छोरा कमलवहादुरलाई हक हस्तान्तरण गरेको छु । निज कमलवहादुरले पनि सो जग्गा प्रस्तुत मुद्दा पर्नु अघि नारायणी आचार्यलाई हक हस्तान्तरण गरी निजले घर निर्माण गरिसकेको अवस्था छ । तसर्थ कानून वमोजिमको प्रक्रिया पुरा गरी गरिएका निर्णय तथा काम कारवाहीवाट निवेदकको हकमा आघात परेको नहुंदा रिट खारेज गरी पाउँ भन्ने समेत व्यहोराको लालवहादुर थापा मगरको लिखित जवाफ ।
८. नापी शाखावाट निवेदकको हक हनन् हुने गरी कुनै कार्य भए गरेको छैन । भै आएका निर्णय वमोजिम नापी शाखावाट प्राविधिक कार्य गर्ने गरी आएको छ । निवेदकले उल्लेख गरेको कि.नं.७५३ भूमिसुधार कार्यालय ललितपुरको २०५६।२।२१ को निर्णय र मालपोत कार्यालय ललितपुरको २०५६।२।२४ को निर्णयानुसार साविक कि.नं. ७५३ वदर भई कि.नं. ८२४ को क्षेत्रफल ०–२–२–२ मोहीका नाउमा र कि.नं. ८२५ को क्षेत्रफल ०–२–२–२ जग्गाधनीका नाउंमा कित्ताकाट भएको व्यहोरा निवेदककै निवेदनवाट प्रष्ट नै छ । कित्ताकाटका लागि प्राप्त भएका आदेश वमोजिम कित्ताकाट गरी पठाउन नापी शाखा वाध्य छ । नापी शाखा स्वयं निर्णय गर्ने निकाय नभएवाट नापी शाखा उपर बिपक्षीको निवेदन लाग्न नसक्ने हुँदा उक्त निवेदन खारेज गरी पाउँ भन्ने व्यहोराको नापी शाखा ललितपुरको लिखित जवाफ ।
९. रिट निवेदक जग्गाधनी र लालवहादुर थापा मगर मोही भएकोमा भूमि सम्बन्धी ऐन, २०२१ (संशोधन सहित) को दफा २६(घ) वमोजिम मोहीको निवेदन परी भूमिसुधार कार्यालयले निर्णय गरी सो निर्णय कार्यान्वयन गराउन मालपोत कार्यालयमा लेखी आए अनुसार भूमिसुधार कार्यालय ललितपुरको निर्णय कार्यान्वयन गर्न मालपोत कार्यालयवाट दाखिल खारेज दर्ता गर्ने निर्णय भएको र सो निर्णयवाट निवेदकको कुनै पनि कानूनी तथा संवैधानिक हक हनन् नभएको हुँदा रिट खारेज गरी पाउँ भन्ने समेत व्यहोराको मालपोत कार्यालय ललितपुरको लिखित जवाफ ।
१०. नियम वमोजिम पेशी सूचीमा चढी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदकतर्फवाट विद्वान अधिवक्ताद्वय श्री शम्भु थापा र श्री शिवराम सिलवालले बिपक्षी मोहीले जग्गा वाँडफाँड गरी जोत लगत कट्टा गरी पाउँ भनी ०५६।१२।२ मा भूमिसुधार कार्यालय ललितपुरमा दर्ता गरेको निवेदनको पेटवोलीमा जग्गाधनीहरु हाल ललितपुर उप महानगरपालिका वडा नं.१८ इखालखुमा वस्नुहुन्छ भनी जग्गाधनीको वतन उल्लेख गरेको तर निजको नाउँको म्याद ललितपुर उप महानगरपालिका वडा नं. १५ मा टाँस गरिएकोवाट वास्तविक वतनमा म्याद तामेल नभई म्याद तामेली नै वेरीतपूर्वकको भई निवेदक सुनुवाईको अवसरवाट वंचित भएको अवस्था छ । अर्कोतिर जग्गा वाँडफाँड गर्दा नरमकरम समेत मिलेको छैन । निवेदकको कि.नं.१४७ को पछाडिको जग्गामा वाटो समेत नराखी अगाडि पट्टिको जग्गा भागमा पारिएकोले निवेदकलाई अन्याय समेत परेको हुँदा वास्तविक वतनमा तामेल नगरिएको म्यादको आधारमा मोहीको एकलौटी निवेदनबाट जग्गा वाँडफाँड गरी दा.खा. दर्तासमेत हुने गरिएका बिपक्षीका काम कारवाही र निर्णय कानून विपरीत र त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा वदर गरी निवेदकको हकमा आघात नपर्ने गरी कारवाही गर्नु भन्ने परमादेश समेत जारी हुनुपर्छ भनी वहस गर्नुभयो । बिपक्षी सरकारी निकायकातर्फवाट विद्वान सहन्यायाधिवक्ता श्री सरोजप्रसाद गौत्तम र बिपक्षी लालवहादुर थापा मगरकोतर्फवाट विद्वान अधिवक्ता श्री देवेन्द्र झा ले कानूनले तोकेको सम्पूर्ण कारवाही र प्रक्रिया पूरा गरी जग्गा वाँडफाँड गर्ने निर्णय भई सो निर्णयका आधारमा कित्ताकाट दाखिल खारेज दर्ता समेत भएको र वाँडफाँडको वस्तुगत स्थितिलाई विचार गर्दा नरमकरम पनि मिलेकै हुंदा रिट खारेज हुनुपर्छ भन्ने समेतको वहस प्रस्तुत गर्नुभयो ।
११. उपरोक्त वहस वुंदा समेतमा ध्यान दिंदै निवेदकको निवेदन जिकिर बिपक्षीहरुको लिखित जवाफ कथन र सम्बन्धित निर्णय सहितको सक्कल फाइल समेत अध्ययन गरी हेर्दा यसमा निवेदकको माग वमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने सम्बन्धमा नै विचार गर्नुपर्ने हुन आयो ।
१२. निर्णयतर्फ विचार गर्दा, यसमा निवेदकको नाउँमा संयुक्त दर्ता रहेको ललितपुर जिल्ला ललितपुर उप महानगरपालिका वडा नं. ५(न) कि.नं.७५३ को ०–५–२–२ जग्गाको मोही बिपक्षी लाल वहादर थापामगर भएकोमा जग्गाधनीलाई थाहा जानकारी नदिई सो जग्गा वाँडफाँड गरी पाउं भनी मोहीको निवेदन परी वास्तविक वतनमा म्याद तामेल नगरी एकलौटी रुपमा सो जग्गा वाँडफाँड गर्ने गरी भूमिसुधार कार्यालयवाट निर्णय भई सो निर्णयका आधारमा कित्ताकाट दाखिल खारेज दर्ता समेत हुने गरी भएका निर्णय र काम कारवाही प्राकृतिक न्यायको सिद्धान्त विपरीत हुंदा उक्त निर्णय र काम कारबाही उत्प्रेषणको आदेशद्वारा वदर गरी निवेदकको हकमा आघात नपर्ने गरी काम कारवाही गर्नु भन्ने परमादेश समेत जारी गरी पाउँ भन्ने निवेदन जिकिर र भूमि सम्बन्धी ऐन, २०२१ ले जग्गा वाँडफाँडको लागि मोहीले पनि निवेदन दिन सक्ने व्यवस्था गरेको, निवेदक जग्गाधनीको नाउँमा म्याद तामेल गर्न पठाएकोमा निज र निजको परिवारका सदस्य कसैले पनि वुझी लिन इन्कार गरेको हुँदा निजकै घर दैलामा कानूनको रीत पु¥याई म्याद तामेल गरिएको र जग्गा वाँडफाँड गर्दा समेत जग्गाधनीलाई अगाडि वाटो पट्टि र मोहीलाई पछाडि पट्टि पारी वरावरी हुने गरी नरमकरम मिलाई वाँडफाँड गर्ने र सो अनुसार कित्ताकाट गरी दा.खा. दर्ता भएको अवस्था भएकोले रिट खारेज गरी पाउँ भन्ने लिखित जवाफ कथन रहेको देखिन्छ ।
१३. विवादित जग्गाको वाँडफाँडसंग सम्बन्धित भूमिसुधार कार्यालय ललितपुरको फाइल अवलोकनवाट विवादको जग्गा वाँडफाँड गर्दा साविक कि.नं. ७५३ को जग्गा कित्ताकाट भई कि.नं. ८२४ र ८२५ भई कि.नं. ८२४ को ०–२–२–० जग्गा मोहीको भागमा र कि.नं. ८२५ को ०–२–२–० जग्गा निवेदक जग्गाधनीको भागमा परेको देखिन्छ । जग्गाधनी जग्गा वांडफांडको कारवाहीमा अनुपस्थित रहे पनि कि.नं. ८२५ को जग्गा सडक पट्टि मोहडा पर्ने गरी नै जग्गाधनीलाई छुट्टाई वाँडफाँड गरेको र जग्गाको क्षेत्रफल समेत वरावर हुने गरी वाँडफाँड गरेको अवस्था हुँदा वाँडफाँड न्यायोचित नै देखिन आउंछ । कि.नं. ८२४ को पछाडिपट्टि को कि.नं. १४७ को जग्गा निवेदक जग्गाधनीको वेग्लै कित्ता भएको र वाँडफाँड गर्दा वेगल कित्ताको निकास पुकाश र सन्धिसर्पन वारे विचार गर्नुपर्ने नभई वाँडफाँड गर्ने जग्गाको नै नरमकरम विचार गरिने हो । सो आफ्नो पछाडिको वेगल कित्तामा जान असुविधा भयो भन्ने मात्र कारणले छुट्टै कित्तामा भएको वांडफांडमा नरमकरम मिलेन भन्न मिलेन ।
१४. निवेदकको वास्तविक ठेगानामा म्याद तामेल भएन भन्ने जिकिरको हकमा विचार गर्दा, ललितपुर जिल्ला ललितपुर उप महानगरपालिका वडा नं. १५ स्थित निवेदकको घरदैलामा म्याद टाँस गरेको भन्ने फाइलवाट देखिएको, निवेदकको भनाइ ऐ. १८ नं. वडामा आफ्नो वतन भएको भन्ने भएकोमा निवेदकको वास्तविक ठेगाना १५ नं.वा १८ नं. वडा कहाँ हो भन्ने तथ्यगत् बिषय भई त्यस्तो तथ्यगत बिषय रिट क्षेत्रवाट निरोपण हुने हुंदैन । जग्गाधनी जग्गा वाँडफाँडको कारवाहीमा अनुपस्थित भई प्रतिवाद नगरेको अवस्था देखिए पनि सो वाँडफाँडमा अन्यथा भएको भन्ने नदेखिएवाट समेत अरु कुराहरुमा विचार गरिरहनु परेन ।
१५. अतः मोहीको निवेदनवाट जग्गा वांडफांडको काम कारवाही प्रारम्भ भई जग्गाधनीका नाउँमा म्याद तामेल हुंदा समेत प्रतिवाद नगरेको भएपनि निजको अनुपस्थितमा विवादित जग्गाको न्यायोचित वांडफांड भएको देखिएको अवस्थामा बिपक्षी भूमिसुधार कार्यालय ललितपुर समेतका काम कारवाही र निर्णयलाई कानून विपरीत र त्रुटिपूर्ण भन्न मिल्ने नहुँदा निवेदकको माग वमोजिमको आदेश जारी गर्न मिलेन ।
प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
प्र.न्या.गोविन्दवहादुर श्रेष्ठ
इजलास अधिकृत (रा.प.द्वि.) नरिश्वर भण्डारी
इति सम्बत् २०६१ साल भदौ २९ गते रोज ३ शुभम् ............... ।