शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७३६५ - लागूऔषध (गाजा) ।

भाग: ४६ साल: २०६१ महिना: श्रावण अंक:

निर्णय नं. ७३६५    ने.का.प.२०६१               अङ्क ४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी

माननीय न्यायाधीश श्री सुशीला सिंह सिलु

सम्वत् २०५६ सालको फौ.पु.नं. २१०३

फैसला मितिः २०६१।३।३१।५

 

मुद्दाःलागूऔषध (गाजा) ।

 

पुनरावेदक

वादीः इलाका प्रहरी कार्यालय मुग्लिङको पत्रले श्री ५ को सरकार 

विरुद्ध

प्रत्यर्थी

प्रतिवादीः जिल्ला चितवन दारेचोक गा.वि.स. वडा नं. ६ वस्ने बुद्धिमान गुरुङ  समेत

 

§  प्रतिवादीहरु समेतले वोकेको झोलावाट ८५ किलो ग्राम गांजा वरामद भएको भन्ने मिति २०५३।८।१८ को वरामदी मुचुल्कावाट देखिन्छ । उक्त वरामदी मुचुल्का र वरामद भएको गांजा सहितको झोला प्रतिवादीहरुले गरेको सनाखतवाट प्रतिवादीहरुको साविती वयान पुष्टि भइरहेको देखिई यी प्रतिवादीहरु समेतले गांजा सहितको झोला लिई वसमा हिडेको भन्ने कुरामा कुनै विवाद देखिन नआउने ।

§  गांजा एक ठाउँवाट अर्को ठाउँमा लग्नको लागि बसमा लिई हिडेको अवस्थामा प्रतिवादीहरु पक्राउ परेको देखिन आएको छ । प्रतिवादीहरुले सो अपराधजन्य कार्य गर्न षडयन्त्र उद्योग तथा दुरुत्साहन गरेको र मतियार भएको भन्ने अवस्था नदेखिई निजहरुले कारणीको हैसियतमा उक्त अपराध जन्य कार्य गरेको अवस्था देखिन आएकोले निज प्रतिवादीहरुले लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(क) अन्तर्गतको गांजा ओसारपसार गर्ने कसूर अपराध गरेको देखिन आउने

§  प्रतिवादीहरुले ८५ किलो ग्राम गांजा ओसारपसार गर्ने कसूर अपराध गरेको हुँदा निजहरुलाई लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(घ)(५) वमोजिम सजाय गर्नुपर्ने देखिन आयो । यी प्रतिवादीहरुले सो ऐनको दफा   ४(क) को कसूर अपराध गरेको ठहर गरी सकेपछि सो कसूरमा उक्त ऐनको दफा १४(१) (घ)(५) वमोजिम सजाय गर्नुपर्नेमा सो वमोजिम नगरी दफा १७ वमोजिम एक बर्ष कैद र रु.७,५००।जरिवाना गरेको शुरु चितवन जिल्ला अदालतको फैसलालाई सदर गरेको पृुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको नदेखिंदा उक्त दुवै फैसला उल्टी भई प्रतिवादीहरु बुद्धिमान गुरुङ, फानवहादुर मगर र वलवहादुर रानालाई लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(क) को कसूरमा सोही ऐनको दफा १४(१)(घ)(५) वमोजिम दुई बर्ष कैद र रु. १५०००।जरिवाना हुने ।

(प्र.नं. २० र २१)

 

पुनरावेदक वादी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री दिनेशहरी अधिकारी

प्रत्यर्थी प्रतिवादी तर्फवाटः

अवलम्वित नजिरः

 

फैसला

न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत हेटौंडाको मिति २०५४।५।२६ को फैसला उपर वादी श्री ५ को सरकारको यस अदालतमा मुद्दा दोहोर्‍याई पाउँ भन्ने निवेदन परी यस अदालतवाट मुद्दा दोहर्‍याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :

२.    मिति २०५३।८।१७ गते राती काठमाडौंवाट भैरहवा जान आएको लु.अ.ख. १८८८ नं. को वसमा विभिन्न रंग भएको ९ वटा झोलामा गाजा र चितवन जिल्ला दारेचोक गा.वि.स. वडा नं. ६ वस्ने बुद्धिमान गुरुङ, चितवन जिल्ला माडी गर्दी गा.वि.स. ७ वस्ने फानवहादुर मगर र स्याङजा जिल्ला निवुवाखर्क गा.वि.स. २ वस्ने वलवहादुर रानामगर समेत पक्राउ परेको, ४ जना फरार रहेको र ८५ किलो गांजा समेत वरामद भएको हुँदा कारवाही गरी पाउँ भन्ने इलाका प्रहरी कार्यालय मुग्लिङको पत्र ।

३.    हाम्रो रोहवरमा ९ वटा झोलावाट ८५ किलो गांजा वरामद भएको हो भन्ने मिति २०५३।८।१८ को वरामदी मुचुल्का ।

४.    फानवहादुर मगर बुद्धीमान गुरुङ र म समेतले वोकी ल्याएको ८५ किलो गाजा प्रहरीले वरामद गरेको हो भनी वलवहादुर रानामगर समेतले गरी दिएको सनाखत वयान ।

५.    चितवन दारेचोक गा.वि.स. वडा नं. ६ मा पर्ने सिउरेनी भन्ने ठाउँमा मैले नचिनेका भारतीय मानिसले हामीलाई निज भारतीय मानिस ४ जनाले वोकी ल्याएको झोला हामी ३ जनालाई १ झोला वोकेको रु.५००।का दरले ९ वटा झोला वोकेको ज्याला दिन्छौ यहांवाट रोडसम्म पुर्‍याई देउ भनेको हुँदा हामीले उक्त नौ वटा झोला वोकी वसमा राखी मुग्लिङसम्म आउँदा प्रहरीले म समेतका ३ जनालाई ९ वटा झोला सहित पक्राउ गरेको हो झोला खोली हेर्दा गांजा रहेछ भन्ने समेत व्यहोराको प्रतिवादी वलवहादुर रानामगरले अनुसन्धान अधिकारी समक्ष गरेको वयान ।

६.    सोही मिलानको प्रतिवादीहरु वुद्धिमान गुरुङ र फानवहादुर मगरले अनुन्धान अधिकारी समक्ष गरेको वयान ।

७.    पक्राउमा परी आएका ३ जना प्रतिवादी गांजा ओसारपसार गर्ने खालका मानिस होइनन् रुपैया पैसाको प्रलोभनमा परी उक्त गांजा वोकेको हुन भन्ने समेतको घटनास्थल वरपरका मानिसहरुले लेखाई दिएको वस्तुस्थिति मुचुल्का ।

८.    प्रतिवादीहरुले ९ वटा झोलामा भएको ८५ के.जी. गांजा वोकेको कुरालाई स्वीकार गरी आएको हुँदा पक्राउमा परी आएका तिनै जना प्रतिवादीहरुले लागूऔषध नियन्त्रण ऐन २०३३ को दफा ४(क) अन्तर्गतको कसूर गरेकोले निजहरुलाई सोही ऐनको दफा १४(१) को देहाय (घ) ५ वमोजिम सजाय गरी पाउँ भन्ने अभियोगपत्र माग दावी ।

९.    म सहित वलवहादुर राना, फानवहादुर मगर समेत मुग्लिङ दिदीको घरमा जान भनि हिडेकोमा सुउरेनी भन्ने स्थानमा आई पुग्दा ४ जना देसीहरु भेट भए र निजहरुले एउटा झोला वोकेको रु.५००।दिन्छौ भनी भनेकाले हामीले वोकी आएका थियौ र वसमा चढी मुग्लिङ आईपुग्दा गाडी चेक हुन थालेपछि देशीहरु झरी भागेछन हामीलाई झोलासहित पक्राउ गरेको हो भन्ने समेत व्यहोराको प्रतिवादी बुद्धिमान गुरुङले सुरु अदालतमा गरेको वयान ।

१०.    सोही मिलानको प्रतिवादीहरु फानवहादुर मगर र वलवहादुर रानामगरले शुरु अदालतमा गरेको वयान ।

११.    प्रतिवादीहरुले लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(क) को कसूर गरेको ठहर्छ । उक्त ऐनको दफा १७ वमोजिम प्रतिवादीहरुलाई जनही एक बर्ष कैद र रु.७,५००।– (सात हजार पांच सय) जरिवाना हुन्छ । दफा १४(१)(घ) ५ वमोजिम सजाय गरी पाउँ भन्ने वादीदावी पुग्न सक्दैन भन्ने चितवन जिल्ला अदालतको फैसला ।

१२.   म पुनरावेदकलाई लागूऔषध गांजा ओसारपसारमा मद्दत गरेको हुँदा लागूऔषध नियन्त्रण ऐन, २०३३ को दफा १७ वमोजिम सजाय हुने ठहर भएको छ । लागूऔषध ओसारपसारमा मद्दत गर्नेलाई सजाय हुने व्यवस्था कानूनमा नहुँदा शुरु फैसला उल्टी गरी सफाइ पाउँ भन्ने प्रतिवादी बुद्धीमान गुरुङको पुनरावेदन अदालत हेटौंडामा परेको पुनरावेदन पत्र ।

१३.   गांजा ओसारपसार गर्दा प्रतिवादीहरु पक्राउ परेको र संग साथवाट गाजा वरामद भएकोमा सावित भई वयान गरेको, वरामद गाजा १० के.जी. भन्दा बढी भएको, ओसारपसार गर्ने कार्य मतियार सरह नभएको ओसारपसार गरेको कसूर कायम गरी मतियारलाई हुने सरह सजाय गरेको शुरुको फैसला त्रुटीपूर्ण हुँदा माग दावी वमोजिम सजाय गरी पाउँ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन अदालत हेटौंडामा परेको पुनरावेदन पत्र ।

१४.   लागूऔषध नियन्त्रण ऐन, २०३३ को दफा ४(क) को कसूर ठहरेपछि दफा १७ वमोजिम सजाय गर्ने गरेको शुरु इन्साफ फरक पर्ने देखिंदा प्रतिवादी मध्येका बुद्धीमानको पुनरावेदन परेको हुँदा छलफलका निमित्त अन्य प्रतिवादीहरु फानवहादुर मगर र बलवहादुर मगरलाई अ.वं. २०२ नं. वमोजिम झिकाउनु भन्ने पुनरावेदन अदालत हेटौंडाको आदेश ।

१५.   प्रतिवादीहरुलाई लागूऔषध (नियन्त्रण) ऐन २०३३ को दफा १७ वमोजिम जनही १ बर्ष कैद र रु. ७,५००।जरिवाना गरेको शुरु चितवन जिल्ला अदालतको फैसला मिलेकै देखिंदा मनासिव ठहर्छ भन्ने पुनरावेदन अदालत हेटौंडाको मिति २०५४।५।२६ को फैसला ।

१६.    प्रतिवादीहरुवाट ८५ के.जी गांजा वरामद भएको कुरा पुष्टि भई रहेको अवस्थामा लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(क) वमोजिमको कसूरमा सोही ऐनको दफा १४(१)(घ) ५ वमोजिम प्रतिवादीहरुलाई सजाय हुनुपर्नेमा गांजा वोकी हिड्ने मानिसलाई मतियार हुन भनी सो ऐनको दफा १७ वमोजिम सजाय गरेको शुरुको फैसलालाई सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसलामा प्रत्यक्ष कानूनी त्रुटि हुँदा मुद्दा दोहोर्‍याई हेरी प्रतिवादीहरुलाई अभियोग दावी वमोजिम सजाय गरी पाउँ भन्ने व्यहोराको वादी श्री ५ को सरकारको यस अदालतमा परेको निवेदन ।

१७.   एक ठाउँवाट अर्को ठाउँमा लागु पदार्थ वोकी हिड्नेलाई मतियारको हैसियत सम्म नभई कारणीकै हैसियतको मान्नु पर्ने देखिंदा लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(क) को कसूर गरेको ठहराएपछि कारणीकै हैसियतमा सजाय गर्नुपर्नेमा मतियारको रुपमा सजाय गर्ने गरेको पुनरावेदन अदालत हेटौंडाको फैसलामा लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(घ) ५ र दफा १७ को कानूनी त्रुटि विद्यमान देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) वमोजिम प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको आदेश ।

१८.   नियम वमोजिम पेश भएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरियो । पुनरावेदक तर्फवाट विद्वान सहन्यायाधिवक्ता श्री दिनेशहरि अधिकारीले प्रतिवादीहरुले गांजा वोकी वसमा हिडेको कुरामा अदालतमा समेत सावित भई वयान गरेका छन र निजहरुवाट ८५ किलो गांजा वरामद समेत भएको छ । प्रतिवादीहरुले लागूऔषध   (नियन्त्रण) ऐन, २०३३ को दफा ४(क) को कसूर गरेको ठहराएको शुरु चितवन जिल्ला अदालतको फैसलालाई पुनरावेदन अदालत हेटौंडाले सदर गरेको  छ । उक्त दफा ४(क) को कसूर गरेको ठहर गरेपछि सो कसूरमा उक्त ऐनको दफा १४(१)(घ) ५ अनुसार सजाय गर्नुपर्नेमा   सो ऐनको दफा १७ वमोजिम कसूर  अपराध गर्ने मतियारलाई गरिने सजाय गरेको   शुरु चितवन जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला नमिलेकोले सो फैसला उल्टी गरी अभियोग दावी वमोजिम सजाय हुनुपर्छ भन्ने समेत वहस प्रस्तुत गर्नु   भयो ।

१९.    उक्त बहस समेतलाई दृष्टिगत गरी प्रतिवादीहरुले लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(क) को कसूर गरेको ठहर गरी प्रतिवादीहरुलाई उक्त ऐनको दफा १७ वमोजिम जनही एक बर्ष कैद र रु. ७,५००।जरिवाना हुने ठहर गरेको शुरु चितवन जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला मिले, नमिलेको सम्वन्धमा निर्णय दिनुपर्ने हुन आयो ।

२०.   निर्णयतर्फ विचार गर्दा पक्राउमा परेका प्रतिवादीहरु वुद्धिमान गुरुङ, फानवहादुर मगर र वलवहादुर रानाले वरामद भएको ८५ के.जी. गांजा आफु समेतले वोकी हिडेको कुरालाई स्वीकार गरेकोले निजहरुले लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(क) अन्तर्गतको कसूर अपराध गरेको देखिंदा निजहरुलाई सोही ऐनको दफा १४(१)(घ) ५ अन्तर्गत सजायं गरी पाउँ भन्ने अभियोग दावी भएको पाइन्छ । निज प्रतिवादीहरुले प्रहरी र अदालतमा समेत वयान गर्दा वरामद भएको ८५ किलो ग्राम गांजा रहेको झोला आफु समेतले वोकी वसमा हिडेको अवस्थामा आफुहरु पक्राउ परको भनी कसूरमा सावित रही वयान गरेको पाइन्छ । यी प्रतिवादीहरु समेतले वोकेको झोलावाट ८५ किलो ग्राम गांजा वरामद भएको भन्ने मिति २०५३।८।१८ को वरामदी मुचुल्कावाट देखिन्छ । उक्त वरामदी मुचुल्का र वरामद भएको गांजा सहितको झोला प्रतिवादीहरुले गरेको सनाखतवाट प्रतिवादीहरुको साविती वयान पुष्टि भइरहेको देखिई यी प्रतिवादीहरु समेतले गांजा सहितको झोला लिई वसमा हिडेको भन्ने कुरामा कुनै विवाद भएको देखिन आएन ।

२१.   यी प्रतिवादीहरुले लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(क) को कसूर अपराध गरेको ठहर गरी सो कसूरमा उक्त ऐनको दफा १७ अन्तर्गत सो अपराध गर्न षडयन्त्र गर्ने, उद्योग गर्ने, दुरुत्साहन गर्ने र मतियार हुनेलाई गरिने सजाय गरी शुरु चितवन जिल्ला अदालतवाट भएको फैसलालाई पुनरावेदन अदालत हेटौंडाले सदर गरेको देखियो । गांजा एक ठाउँवाट अर्को ठाउँमा लग्नको लागि बसमा लिई हिडेको अवस्थामा प्रतिवादीहरु पक्राउ परेको देखिन आएको  छ । प्रतिवादीहरुले सो अपराधजन्य कार्य गर्न षडयन्त्र उद्योग तथा दुरुत्साहन गरेको र मतियार भएको भन्ने अवस्था नदेखिई निजहरुले कारणीको हैसियतमा उक्त अपराध जन्य कार्य गरेको अवस्था देखिन आएकोले निज प्रतिवादीहरुले लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(क) अन्तर्गतको गांजा ओसारपसार गर्ने कसूर अपराध गरेको देखिन आयो । दश किलो ग्राम देखि माथिको गांजा ओसारपसार गरेको कसूरमा दुई बर्ष देखि दश बर्ष सम्म कैद र पन्ध्र हजार रुपैया देखि एक लाख रुपैया सम्म जरिवाना हुने व्यवस्था उक्त ऐनको दफा १४(१)(घ) ५ मा भएको  पाइन्छ । प्रतिवादीहरुले ८५ किलो ग्राम गांजा ओसारपसार गर्ने कसूर अपराध गरेको हुँदा निजहरुलाई उक्त दफा १४(१)(घ) ५ वमोजिम सजाय गर्नुपर्ने देखिन आयो । यी प्रतिवादीहरुले सो ऐनको दफा ४(क) को कसूर अपराध गरेको ठहर गरी सकेपछि सो कसूरमा  उक्त ऐनको दफा १४(१) (घ) ५ वमोजिम सजाय गर्नुपर्नेमा सो वमोजिम नगरी दफा १७ वमोजिम एक बर्ष कैद र रु. ७,५००।जरिवाना गरेको शुरु चितवन जिल्ला अदालतको फैसलालाई सदर गरेको पृुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको नदेखिंदा उक्त दुवै फैसला उल्टी भई प्रतिवादीहरु बुद्धिमान गुरुङफानवहादुर मगर र वलवहादुर रानालाई लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(क) को कसूरमा सोही ऐनको दफा १४(१) (घ) ५ वमोजिम दुई बर्ष कैद र रु.१५०००।जरिवाना हुने ठहर्छ । अरु तपसिल वमोजिम गरी फैसला भएको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई मिसिल नियमानुसार वुझाई दिनु ।

 

तपसिल

 

माथि इन्साफ खण्डमा लेखिएवमोजिम प्रतिवादीहरु वुद्धिमान गुरुङ, फानवहादुर मगर र वलवहादुर रानालाई एकबर्ष कैद र रु.७,५००।जरिवाना हुने ठहर गरेको शुरु चितवन जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला उल्टी भई निज प्रतिवादीहरुलाई दुई बर्ष कैद र रु.१५,०००।जरिवाना हुने ठहरेकोले सोही वमोजिम लगत राख्नु भनी शुरु चितवन जिल्ला अदालतमा लेखि पठाउनु.... १

निज प्रतिवादीहरु मिति २०५३।८।१९ देखि प्रहरी हिरासतमा रही कारागारवाट कहिले छुटी गएको भन्ने मिसिलवाट नदेखिंदा सो मिति देखि निजहरु कारागारमा वसेको मिति सम्मको अवधि कट्टा गरी  बांकी कैद र जरिवाना असुल गर्नु भनी शुरु चितवन जिल्ला अदालतमा लेखी पठाउनु  ............. २

 

उक्त रायमा सहमत छु ।

 

न्या.सुशीला सिंह सिलु

 

इति सम्वत् २०६१ साल असार ३१ गते रोज ५ शुभम्................................

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु