निर्णय नं. ७३९८ - बकसपत्र लिखत बदर दर्ता बदर दर्ता कायम

निर्णय न.. ७३९८ ने.का.प.२०६१ अङ्क ६
सँयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी
सम्वत २०५५ सालको दे.पु. नं. .....४७३०
फैसला मितिः २०६०।७।१३।५
मुद्दाः वकसपत्र लिखत वदर दर्ता बदर दर्ता कायम ।
पुनरावेदक
प्रतिवादीः जिल्ला सुनसरी हरिनगर गा.वि.स. वडा नं. १ बस्ने सुरेश मेहताका हकमा संरक्षक रघुनाथ मेहता
बिरुद्ध
प्रत्यर्थी
वादीः ऐ. किरहा गा. वि. स. वडा नं. २ बस्ने असिया सुतिहार समेत
§ राजीनामा लिखतवाट पारित गरि लिएको जग्गालाई आफुखुस गर्न पाउने आफ्ना पालामा आर्जेको सम्पत्ति मान्नुपर्ने ।
§ राजीनामावाट आफ्नो हक गरी लिएको जग्गा वकसपत्र गरी हक हस्तान्तरण गरि दिएकोलाई पनि अँशवण्डाको महलको १९ नं. को देहाय २ मा वर्णित आफ्नो पालामा आर्जेको जग्गा आफ्नो खुश गरी लिन पाउने र अरु अँशियारको मञ्जुरी लिनु नपर्ने र दानवकसको १ नं. बमोजिम अरुलाई दान वकस गर्न पाउने जग्गा भित्रैको मान्नुपर्ने ।
§ हकको श्रोत राजीनामा भई आफुले खरीद गरेको जग्गा वकस गरि दिएकोमा वादी दावी बमोजिम वकसपत्र लिखत वदर दर्ता वदर दर्ता कायम हुने गरि भएको शुरु सुनसरी जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालतको फैसला उल्टी भई वादी दावी पुग्न नसक्ने ।
(प्र.नं. १५)
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री हरिहर दाहाल
प्रत्यर्थी वादी तर्फवाटः
अवलम्वित नजिरः२०५४ सालको दे.पु.इ.नं. १२६ (पुनरावेदक प्रतिवादी मिनवहादुर वस्नेत विरुद्ध प्रत्यर्थी वादी वेदकुमारी वस्नेत)
फैसला
न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत विराटनगरको मिति २०५३।४।१७ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) (ख) बमोजिम प्रतिवादीको तर्फवाट पर्न आएको निवेदनमा मुद्दा दोहर्याई दिने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दामा सक्षिप्त तथ्य र निर्णय यसप्रकार छ :–
२. म कारी शर्माको १ पत्नीमा म फिरादी दुरवनी देवी शर्मा छोराहरुमा क्रमशः सुश्री तलाल पुहुपलाल, भुटाई, देवनारायण, शिव नारायण, तेजनारायण, हरि शर्मा, रामदेव लगायत जम्मा ८ दाजु भाइ हौं । आजसम्म हामीहरु र विपक्षी पुहुपलाल एकासँगोलमा रहि खति उपति समेत गरि आएका छौं । अँशवण्डा भएको छैन । पुहुपलालकी म एक पत्नी अँशिया हुँ । हामी वादी र प्रतिवादी एकासँगोलमा रहेको अबस्था सँगोलको आर्जनवाट खरिद गरेको पुहुपलाल नाउँ दर्ताको जिल्ला सुनसरी, हरिनगरा गा. वि. स., वार्ड नं. १ (ख) कि. नं. १४६ को ससिम ०–०–१४ जग्गा विपक्षी पहुपलाल शर्माले विपक्षी सुरेश मेहतालाई र. नं. ११०२६ मिति ०४९।२ मा वकसपत्रवाट पास गरि दिएको ०४९।३।१० मा गाउँ घरमा चर्चा भै मालपोत कार्यालय सुनसरीमा गै लिखतको नक्कल सारी लिँदा थाहा पाएकोले लेनदेन व्यवहारको १० नं. र दान वकस महलको १, ५, ८ नं. र अ. वं. ८२ नं. समेतका आधारमा फिराद गर्न आएका छौं । अतः विपक्षीहरुलाई यस अदालतवाट तलव गरि हाम्रो साक्षी प्रमाण वुझी हामी १० अँशियार हुँदा हामीहरुको अँश भागमा पर्ने जम्मा ०–०–१२–१२ वारधुर वारकन्वा जग्गाको उत्तर तर्फवाट उपरोक्त वकसपत्र लिखत वदर गरि सो को आधारमा गराएको दर्ता समेत वदर गरी हामी वादीहरुका नाउँमा दर्ता कायम गरि पाउँ भन्ने वादीहरुको दावी ।
३. वादीहरु साविक देखि नै छुट्टाछुट्टै बसी आएका हुन्, पछि आफ्नो मेहनत र प्रयासले निजी आर्जन गरी आफ्नो नाउँमा केही जग्गा खरिद गरी सोही जग्गामा घर वनाई वसी आएका छन् । कोहि वादीहरु गौतमपुरमा सडक छेउको जग्गामा कोही वादीहरु अन्य व्यक्तिको जग्गामा घर वनाई बसी आएका छन् । विवादित जग्गा पुहुलालले आफ्नो श्रम सीपवाट निजीआर्जनवाट खरिद गरेको र सोही ठाउँमा निजको बसोबास नभै अन्य कित्तामा बसोबास भएको उपरोक्त मेरो घडेरी साँधको हुँदा वकसपत्र भनी लिएको हो । तर वादी मध्येको असियाका नाउँमा छिटाई गा.वि.स. वार्ड नं. ९(क) कि. नं. १५४ मा ०–१–०, सुमित लालका नाउँमा ऐ. कि. नं. १५५ मा ०–१–०, कारी शर्माका नाउँमा ऐवा नं. (छ) कि. नं. १४५ मा ०–१–० छुट्टाछुट्टै दर्ता रहेको र छुट्टाछुट्टै घर व्यवहार भएको हुँदा सँगोलको भन्न मिलेन । विपक्षीहरुका नाउँमा ०–३–० जग्गा भएकोमा मैले खरिद गरि लिएको ०–०–१४ हुन आउँछ । दामासाहीले पनि पुहुपलालको अँश भागमा १७.१/२ धुर भएको मा ०–०–१२ धुर मलाई वकस गरि दिनु भएको कानुनको परिधि भित्र रहि वकस गरि दिनु भई आफ्नो अँश आफूखुस गर्न पाउने अरुको मन्जुरी लिनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी सुरेश महतोको प्रतिउत्तर जिकिर ।
४. प्रतिवादी पुहुपलालका नाउँमा जारी भएको इतलायनामाको म्याद ०४९।१२।१५ मा वादी आफैले म्याद वुझी प्रतिउत्तर नफिराई गुजारी बसेका रहेछन् ।
५. प्रतिवादीका दाता पुहुपलालका नाउँमा के कति जग्गा दर्ता कायम छ, हक छाडी दिएका जग्गा समेत देखिने गरी निजको नाउंको दर्ता श्रेस्तामा परेकावाट झिकाई दुवै पक्षका साक्षी वुझी पेश गर्नु भन्ने आदेश ।
६. वादीको साक्षी जवान १ र प्रतिवादीको साक्षी जवान १ को वकपत्र मिसिल सामेल रहेको ।
७. वादी दावी अनुसार ०–०–१२–१२ (वाह्र धुर, वाह्र कन्वा) को जग्गाको उत्तर तर्फवाट वकस पत्र बदर भै सो आधारमा गराएको सो हदसम्म दर्ता बदर भै ०–०–१२–१२ बाह्रधुर जग्गा वादीहरुको नाउँमा दर्ता कायम गरि दिने ठहर्छ भन्ने समेत व्यहोराको शुरु सुनसरी जिल्ला अदालतको मिति ०५२।२।९।३ को फैसला ।
८. प्रतिउत्तरको प्रकरण २(ग) मा उल्लेख भए अनुसार वादी अंसिया सुतिहारको घर कि. नं. १५४, मा सुमितलालको घर कि. नं. १५५ मा र कारीको घर कि. नं. १४५ मा छुट्टा छुट्टै छ भनि लिएको प्रतिउत्तर जिकिर अनुसार स्थलगत प्रमाण वुझ्ने कार्य नै नभै दावी अनुसार सँगोलको मान्नु पर्ने भन्ने निर्णय आधार लिई भएको फैसला न्यायिक मनको अभाववाट भएको स्पष्ट छ । अतः प्रतिउत्तर जिकिर तथा पुनरावेदन जिकिर समेतलाई मध्येनजर राखी शुरुको इन्साफ उल्टी गरी प्रतिउत्तर जिकिर अनुसार वादीका झुठ्ठा दावीवाट फुर्सद गरि पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन जिकिर ।
९. विवादित सँगोलको जग्गा प्र. पुहुपलालले प्र. सुरेश मेहतालाई वकसपत्र गरि दिन मिल्ने देखिदैन । तसर्थ वकस पत्र दर्ता समेत वदर भई वादीहरुका नाउँमा दर्ता कायम गरि दिने ठहर्छ भनि भएको शुरु जिल्ला अदालतको फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ भनि पुनरावेदन अदालत विराटनगरवाट भएको फैसला ।
१०. विवादित जग्गा मेरा दाता पुहुपलालले आफ्नो श्रम शिपवाट निजीआर्जन गरि खरीद गरेको र सोही ठाउँमा निजको बसोवास नभई अन्य कित्तामा बसोवास भएको र उक्त जग्गा मेरो घडेरी साँधको हुँदा वकसपत्र गरि लिएको हो, विपक्षीहरु र मेरा दाता छुट्टाछुट्टै भिन्न वसि आएका हुन् भन्ने कुरा विपक्षीहरु र मेरा दाताका नाउँमा छुट्टाछुट्टै जग्गा दर्ता रहे भएवाट पनि प्रष्ट हुन्छ । विवादित जग्गा मलाई वकस गरि दिदा विपक्षीहरुको मन्जुरी लिई रहनुपर्ने होइन । यस्तो अबस्थामा अँशवण्डाको १९ नं. र दान वकसको १ नं. को ब्याख्यात्मक त्रुटी गरि शुरु जिल्ला अदालतको निर्णय सदर गर्ने गरेको पुनरावेदन अदालतको इन्साफ त्रुटीपूर्ण हुँदा बदर गरि पाउँ भन्ने समेतको प्रतिवादीको तर्फवाट यस अदालतमा पर्न आएको निवेदन ।
११. यसमा पुहुपलालले विवादको लिखतको जग्गा सरिया देवी महतोबाट २०४६।१२।१५ मा पारित गरि लिएको सम्पत्ति सम्ममा विवाद देखिएन । पैतृक सम्पत्तिवाट खरीद गरेको प्रमाण नदेखिएको यस्तो सम्पत्ति अँशवण्डाको १९ नं. ले विक्री गर्न मन्जुरी लिनु नपर्नेमा लिखत वदर हुने ठहर्याएको पुनरावेदन अदालत विराटनगरको २०५३।४।१७ को फैसलामा ने. का. प. २०४६, पृ. ११९६, पूर्ण इजलास नि. नं. ४०१४ मा प्रतिपादित सिद्धान्तको प्रतिकूल देखिदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड (ख) बमोजिम दोहर्याउने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालत सँयुक्त इजलासवाट मिति २०५४।११।१५ मा भएको आदेश ।
१२. यसमा यस्तै विषयवस्तु समावेश भएको २०५४ सालको दे.पु.ई.नं. १२६ पुनरावेदक प्रतिवादी मिन वहादुर वस्नेत विरुद्ध वेद कुमारी वस्नेत समेत भएको वकसपत्र मुद्दा वृहत पूर्ण ईजलासमा विचाराधीन रहेको देखिदा उक्त मुद्दा निर्णय भएपछि नियमानुसार गरि पेश गर्नु भनि यस अदालतवाट मिति २०५८।३।२५ मा भएको आदेशानुसार कार्य सम्पन्न भई मिसिल सामेल रहेको ।
१३. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदन सहितका प्रमाण मिसिल कागजातहरु अधययन गरी पुनरावेदकको तर्फवाट रहनुभएका विद्वान अधिवक्ता श्री हरिहर दाहालले सम्मानित सर्वोच्च अदालतवाट प्रतिपादित सिद्धान्त विपरीत भएको शुरुको र सो लाई सदर गर्ने गरेको पुनरावेदन अदालतको फैला त्रुटीपूर्ण छ, बदर हुनुपर्छ भनि गर्नु भएको वहस समेत सुनि यसमा शुरु सुनसरी जिल्ला अदालतले वादी दावी बमोजिम लिखत वदर गर्ने गरि गरेको पुनरावेदन अदालतको फैसला मिलेको छ, छैन ? र पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? सोही बिषयमा नै निर्णय दिनुपर्ने देखिन आयो ।
१४. हामी फिरादीहरु र विपक्षी पुहुपलालका वीचमा अँशवण्डा भएको छैन, एकासँगोलमै छौं । यसरी सँगोल मै रहेको अबस्थामा सँगोलकै आर्जनवाट खरीद गरेको हाल विवादित कि. न. १४६ को ०–०–१४ जगा निज पुहुपलालले विपक्षी सुरेश मेहतालाई र. नं. ११०२६ मिति ०४९।१।२ मा वकसपत्र पारित गरी दिएकोले हामी १० अँशियार हुँदा हाम्रो अँश भागमा पर्ने बकसपत्र लिखत बदर गरी पाउँ भन्ने फिराद दावी र मेरा दाता र विपक्षी वादीहरु वेगल वेगल वसि आएका, एकासँगोलका होइनन् र वकसपत्र गरि दिएको जग्गा निज दाताको निजी आर्जनको भई निजैको अँश भागमा पर्ने जग्गा हो, वदर हुनुपर्ने होइन भन्ने प्रतिउत्तर जिकिर रहेको प्रस्तुत मुद्दामा वादी दावी बमोजिम वकसपत्र लिखत वदर हुने ठहर्याएको शुरुको फैसला र सो फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालतको फैसला उपर प्रतिवादीको निवेदन पर्न आई मुद्दा दोहर्याउने निस्सा प्रदान भएको देखियो । प्रतिवादीले मुख्य रुपमा विवादित कि. नं. १४६ को जग्गा दाता पुहुपलालको निजी आर्जनवाट खरीद गरेको विपक्षीहरुको मन्जुरी लिनुपर्ने जग्गा होइन भन्ने जिकिर लिएको सन्दर्भमा प्रस्तुत मुद्दामा विवादित सम्पत्तिदाता पुहुपलालको आफ्ना पालामा आर्जेको सम्पत्ति हो, होइन ? र निजले कसैको मन्जुरी विना सम्पत्ति आफुखुस गर्न पाउने हो, होइन ? भन्ने प्रश्न नै ठहरको बिषय रहेको देखिन आयो ।
१५. अव हाल विवादित कि. नं. १४६ को ०–०–१४ जग्गा पुनरावेदकको दाता पुहुपलालको निजी आर्जनको हो, होइन ? भन्ने सम्बन्धमा विचार गर्दा मिसिल सँलग्न राजीनामावाट विवादित जग्गा निजले र. नं. ६६९३ मिति २०४६।१२।१५ मा सलिया देवी महतोवाट खरीद गरि लिई सोही जग्गा यी पुनरावेदक प्रतिवादीलाई र. नं. ११०२६, मिति २०४९।१।२ मा वकस गरि दिएको देखिन आएको र सो सम्बन्धमा वादी लेख समेतवाट कुनै विवाद रहेको देखिन आउँदैन । यसरी राजीनामावाट हक छाडी आफुले लिएको हुँदा मलाई वकस दिएको विवादित जग्गा मेरा दाताले आफूखुस गर्न पाउने निजी आर्जनको जग्गा हो भन्ने पुनरावेदन जिकिर रहेको सन्दर्भमा मुलुकी ऐन, अँशवण्डाको १९ नं. को देहाय २ मा “आफ्ना पालामा आर्जेको चल अचल सबै एक स्वास्नी वा एक स्वास्नी पट्टीका छोरा मात्र भएकाले वा अरु छोरा स्वास्नी मरी त्यस्तो अबस्था हुन आएकोले पनि आफुखुस गर्न पाउँछ । एक देखि वढ्दा स्वास्नी वा एक स्वास्नी देखि वढ्ता स्वास्नी पट्टीको छोरा वा एउटा स्वास्नी र अर्को स्वास्नी पट्टीका छोरा भएकोले सो भएको अबस्थामा पनि मन परेका स्वास्नी छोरालाई दिन वाहेक आफ्नो खुस गर्न पाउँछ” भन्ने र सोही नं. को देहाय ४ मा “माथि दफा–दफा लेखिए बमोजिम आफुखुशी गर्न नपाउने अबस्थामा पनि आफ्नो हकको अँश जति आफुखुशी गर्न पाउँछ” भन्ने कानूनी व्यवस्था भइरहेको देखिन्छ । त्यसै गरि मुलुकी ऐन, अँशवण्डाको १८ नं. मा “ .... सो वाहेक कुनै अँशियारले आफ्नो ज्ञान वा शिप वा प्रयासवाट निजी आर्जन गरेको वा कसैवाट निजी तवरले दान वा वकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अँशधनको महलको ५ नं. बमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्ने वा पाउने अँशियारको निजी ठहरी आफुखुशी गर्न पाउछ । वण्डा गर्न कर लाग्दैन । अँश नभए पनि मानो छुट्टिई भिन्न बसेका वा रजिष्ट्रेशन नगरी खतीउपती आ–आफ्नो गरि आफ्नो हिस्सासँग मात्र राखि खानु पिउनु गरेकोमा एकै ठाउँमा भए पनि मानो छुट्टिई भिन्न भएको ठहर्छ । त्यस्तो लाएको ऋण आफ्नो–आफ्नो हुन्छ” भन्ने र दानवकसको १ नं. मा “आफ्नो हक पुग्ने सम्पत्ति दान वा वकस गरिदिनु हुन्छ । सो बमोजिम दान वा वकस गरि दिंदा हकवालालाई वकस भनि र अरुलाई दान वा वकस जुन व्यहोराले दिए पनि हुन्छ । आफ्नो खुश गर्न पाउने वोहक अरुमा अँशियार र हक पुग्नेहरुको मन्जुरीको लिखत नलिई वा साक्षी नराखी दान वा वकस गरि दिन हुँदैन” भन्ने समेत कानूनी व्यवस्था भइरहेको पनि पाइन्छ । उपरोक्त कानूनी प्रावधानहरुका आधारमा हाल विवादित कि. नं. १४६ को जग्गा पुनरावेदक प्रतिवादीका दाताले दाता सलियादेवी महतोवाट मिति २०४६।१२।१५ मा रु ४,०००।– थैली राखी राजीनामा पारित गराई लिएको देखिन्छ । यसरी राजीनामा लिखतवाट पारित गरि लिएको जग्गालाई प्रतिवादी मध्येका पुहुपलालले आफुखुस गर्न पाउने आफ्ना पालामा आर्जेको सम्पत्ति मान्नुपर्ने देखिन आउँछ । यस वाहेक सो जग्गा सँगोलकै आर्जनवाट खरीद गरेको हो भन्ने जिकिर लिए पनि सो सन्दर्भमा वादीहरुले कहिंकतै खुलाएको वा खुलाउन सकेको समेत देखिन नआई वादीहरुका नाउँमा फरक फरक ठाउँका जगाहरु दर्ता रही विवादित जग्गा मेरा दाताले निजी आर्जनवाट खरिद गरेको हो भन्ने निवेदन जिकिर नै पुष्टि भई राखेको मान्नु पर्ने देखिन आउँछ । यस्तो अबस्थामा हकको श्रोत राजीनामावाट विवादको सम्पत्ति अँशवण्डाको प्रयाजनको लागि वण्डा हुने प्रकृतिको पैतृकरुपमा प्राप्त सँगोलको सम्पत्ति र ज्ञान शिपवाट प्राप्त वण्डा गर्न कर नलाग्ने प्रकृतिको नभई अँशवण्डाको महलको १९ को देहाय २ ले व्यवस्था गरेको आफ्ना पालामा आर्जेको सम्पत्ति भन्ने देखिने भन्ने २०५४ साल दे.पु.इ.नं. १२६ को पुनरावेदक प्रतिवादी मिन वहादुर वस्नेत प्रत्यर्थी वादी वेदकुमारी वस्नेत समेत भएको वकस पत्र वदर मुद्दामा प्रतिपादित कानूनी सिद्धान्त समेतको आधारमा २०४६।१२।१५ को राजीनामावाट आफ्नो हक गरी लिएको जग्गा वकसपत्र गरि हक हस्तान्तरण गरि दिएकोलाई पनि अँशवण्डाको महलको १९ नं. को देहाय २ मा वर्णित आफ्नो पालामा आर्जेको जग्गा आफ्नो खुश गरी लिन पाउने र अरु अँशियारको मञ्जुरी लिनु नपर्ने र दानवकसको १ नं. बमोजिम अरुलाई दान वकस गर्न पाउने जग्गा भित्रैको मान्नु पर्ने देखिन आउँछ । अतः उपरोक्त आधार कारणहरु समेतवाट हकको श्रोत राजीनामा भई आफुले खरीद गरेको जग्गा वकस गरि दिएकोमा वादी दावी बमोजिम वकसपत्र लिखत वदर दर्ता वदर दर्ता कायम हुने गरि भएको शुरु सुनसरी जिल्ला अदालतको मिति २०५२।२।९ को फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत विराटनगरको मिति ०५३।४।१७।५ को फैसला मनासिव देखिन नआई उल्टी भई वादी दावी पुग्न नसक्ने ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादी दावी बमोजिम वकस पत्र लिखत वदर दर्ता बदर हुने ठहर्याई शुरु सुन्सरी जिल्ला अदालतवाट भएको फैसला र सो लाई सदर गर्ने गरेको पुनरावेदन अदालत विराटनगरको फैसला उल्टी भई वादी दावी पुग्न नसक्ने ठहर्याई इन्साफ भएकोले शुरु जिल्ला अदालतको फेसलाको तपसिल खण्डको देहाय १ र २ बमोजिम गरिरहनु परेन भनि शुरुमा लेखि पठाई दिनु ... १
पुनरावेदक प्रतिवादीले यस अदालतमा राखेको थप कोर्ट फी. रु ४।५० को हकमा वादीको जेथा देखाई असुल गरि पाउँ भनि ऐनका म्याद भित्र कानून बमोजिम दरखास्त दिन आए असुल उपर गराई दिनु भनि शुरुमा लेखि पठाई दिनु ........ २
सरोकारवालाले नक्कल मागे ऐनका रीत पुर्याई नक्कल दिनु ....... ३
दायरीको लगत कट्टा गरि मिसिल नियमानुसार गरि बुझाई दिनु ......४
उक्त रायमा म सहमत छु ।
न्या.मीनवहादुर रायमाझी
इति सम्वत २०६० साल कार्तिक १३ गते रोज ५ शुभम् ............................