निर्णय नं. ३८१२ - नामसारी बदर गरी हक कायम गरिपाउँ

निर्णय नं. ३८१२ ने.का.प. २०४६ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४४ सालको दे.पु.नं. ७००
फैसला भएको मिति : २०४६।३।१।५ मा
पुनरावेदक/वादी : नेपालगञ्ज न.पं. वार्ड नं. २ बस्ने विदुर सिंह हमाल
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी : नेपालगञ्ज न.पं. वार्ड नं. २ बस्ने रामहरी उपाध्यायसमेत
मुद्दा : नामसारी बदर गरी हक कायम गरिपाउँ
(१) तत्काल प्रचलित ऐनले व्यवस्था गरे बमोजिमको म्यादमा उजूर नगरी म्याद गुजारी बसी सकेको, सो पछि लागू भएको संशोधित जग्गा पजनी र जग्गा मिच्नेमा भएको व्यवस्था बमोजिम थाहा पाएका मितिले ६ महिनाभित्र उजूर गर्न पाउँछ भन्न कानुन व्यवस्थाको सामान्य सिद्धान्तले नमिल्ने ।
(प्रकरण नं. १४)
पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल
प्रत्यर्थी/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी एवं विद्वान अधिवक्ता श्री नुतन थपलिया तथा विद्वान अधिवक्ता श्री विजयकुमार गुप्ता
फैसला
न्या.हिरयणेश्वरमान प्रधान
१. म.प.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षेप व्यहोरा यस प्रकार छ ।
२. बाबु मुक्तिनाथ उपाध्यायले गरिदिनु भएको ०२१।३।२७ मा बाँके मालपोत कार्यालयबाट पारित भएको अंशबण्डा बमोजिम जि. बर्दिया तप्पे मडेला मौजे मानपुरको मुक्तिनाथका नाउँमा दर्ता भएको जिमीदारी मध्ये सीर जमीन विगाहा १८–९–१२ र श्यामबहादुर हमालका नाउँमा दर्ता भएको ऐ.मौजाको लम्बरी जग्गा विगाहा ८१–६–१५ मध्ये ६–१०–८ समेत जम्मा जग्गा विगाहा २५ म फिरादीको अंश भागमा परी म नाबालक भएकोले मेरो अंश भागको सम्पत्ति बाबु मुक्तिनाथ जिम्मामा राखी बण्डापत्र खडा भएको र सो जग्गा आजसम्म मेरो नाममा दा.खा. नभएको २०२१ सालमा सर्भे नापी हुँदा उक्त मौजाको सम्पूर्ण जमीन बाबुकै नाउँमा जि.बर्दिया वगनाह गा.पं. वडा नं. ९ मा जग्गा दर्ता भएको । मेरो अंशमा पर्ने ऐ.वगनाह गा.पं. वडा नं.९ को कि.नं. ८५।१४३, १४४, १४५, १४६, १४८, १४९, १५०, १५१, १५२, १३८, १३९ समेतको जम्मा जग्गा विगाहा ७–१०–३ जग्गा विपक्षीले २०३२।८।१० गते आफ्नो नाउँमा दर्ता गराई लिएको कुरा २०३७।९।२८ मा विपक्षीका नाउँको जग्गाधनी दर्ता प्रमाण पुर्जाको नक्कल लिँदा थाहा पाएकोले प्रचलित मुलुकी ऐन ज.मि. को १८ नं. को म्यादभित्र उजूर गर्न आएको छु उल्लिखित जग्गामा मेरो हक कायम गरी विपक्षीका नाउँको दर्ता बदर गरी मेरो नाममा दा.खा. गरी चलन समेत गरिपाउँ भन्ने फिराद दावी भएको ।
३. दावी बमोजिम अंशबण्डा भएको ठिक हो । अंशबण्डा भएपछि बर्दिया जिल्लामा भूमिसम्बन्धी ऐन, २०२१ को परिच्छेद ३, ४, ५, ६, ९ समेत २०२१ साल मार्ग देखि लागू भएको र बण्डा पास हुँदा वादीको उमेर ८ वर्षको भएकोले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ग) को उपदफा २ अनुसार यी वादी निजको बाबु मुक्तिनाथको परिवारमा फाटो भई भएको हुँदा निज मुक्तिनाथ यी वादी र निजको भाइ समेतले ऐ. ऐनको दफा ७ बमोजिम अधिकतम हदको जग्गा राख्न पाउने जि.बाँके रामपुर भन्ने चौधरियाको ज.वि. २७–१४–० र ने.ग.न.पं. अन्तर्गतको ०–२–१९ समेत २७–१६–१९ जग्गा मुक्तिनाथले राखी अरु जग्गा अन्य अंशियारहरुमा र अंशियारमा नखपेको जग्गा विगाहा ९९–१६–१९ छाड्ने गरी ७ नं. फाँटवारी भु.प्र.का. बर्दियामा २०२१।९।१९ मा दाखिल गरेको । सो ७ नं. फाँटवारीलाई सदर गरी भू.प्र.का. बाट २०२२।८।१५ मा निर्णय भएको उक्त ७ नं. फाँटवारीमा छाड्ने भनेको जग्गा श्री ५ को सरकारले प्राप्त गरेको र ७ नं. मा जग्गा पाउने भनेको व्यक्ति सिताराम, रामहरी, रामकुमारी मेरो पति बाबुराम भन्ने बाबुलाल स्वर्गवास भएकोले म लक्ष्मीकुमारी, मुकुन्दराज हमाल समेतलाई भू. (साविक पेज नं. ४६९) प्र.का. बर्दियामा निवेदन दिएअनुसार दावीमा उल्लिखित जग्गा समेत २०३२।८। वे गतेको फैसलाले मेरा नाउँमा दर्ता हुन आएको यसरी बण्डापत्र र ७ नं. फाराम अनुसार मेरा नाउँमा दर्ता हुन आएको जग्गामा वादीको हक लाग्दैन । २०३२।८। वे गतेको फैसला बमोजिम दर्ता भएको जग्गामा साविक मुलुकी ऐन ज.मि.को १८ नं. र ज.प. को १७ नं. को हदम्यादभित्र नालेश नगरेकोले २०३२ सालमा भएको काम कुरामा २०३४ सालको सातौं संशोधन ज.मि.का. १८ नं. को हदम्याद लाग्ने होइन । हकै नलाग्ने फिराद हुँदा खारेज गरिपाउँ भन्ने प्र.लक्ष्मीकुमारीको प्रतिउत्तरपत्र ।
४. मुक्तिनाथले दिनु भएको ७ नं. फाँटवारी भू.सु.का. बर्दियाबाट २०२२।८।१५ गते सदर भए अनुसार आ–आफ्नो भागको जग्गा दर्ता गराएका छौं । लक्ष्मीकुमारीको दर्ता जग्गा निजको पति बाबुराम भन्ने बाबुलालको अंश भागमा परेको जग्गा निजको नाउँमा दर्ता भएको हो वादीको हक हिस्साको जग्गा बाँकेमा छ भन्ने समेत व्यहोराको पेटबोलीबाट बुझिएका रामहरी उपाध्याय, सीताराम उपाध्याय समेतको बयान ।
५. मैले ७ नं. फाँटवारी अनुसार जग्गा प्राप्त गरेको हुँदा वादी विदुर सिंहको जग्गा बर्दिया वगनहा गा.पं. वडा नं. ९ मा छ । वादीले भोगी आएको जग्गा लक्ष्मीकुमारीले हटक खिचोला गरेको साँचो हो भन्ने पेटबोलीबाट बुझिएको मुकुन्दराज हमाल भन्ने जोरावर सिंह हमालको बयान ।
६. प्रतिवादीका नाउँमा दा.खा. नामसारी गर्ने काम २०३२।८।१० मा भए गरेको देखिनाले सो मितिले २ वर्षभित्र वादीले नालेश गर्नु पर्नेमा करीव ५ वर्ष पछि २०३७।११।२६ मा गरेको फिराद तत्काल प्रचलित ज.मि. र ज.प. को म्यादभित्र परेको मान्न मिल्ने स्थिति देखिन आउँदैन । तसर्थ हदम्याद नघाई फिराद दायर गरेको देखिन आएकोले कानुनले निर्दिष्ट म्यादभित्र उपचार नखोज्ने पक्षलाई अदालतले मद्दत दिन नसक्ने कानुनी सिद्धान्त रहेको हुँदा फिरादीको नालेश खारेज हुने ठहर्छ भन्ने बर्दिया जिल्ला अदालतको २०४०।३।६ को फैसला ।
७. पारित बण्डापत्रबाट मेरो हक पुगेको जग्गामा जहिलेसुकै दा.खा. गराउन पाउने ज.प.को २(क) मा कानुनी व्यवस्था भएकोले हदम्याद नाघेको भनी फिराद दावी खारेज गर्ने ठहराएको शुरुको फैसला कानुनसंगत भएन शुरु बर्दिया जिल्ला अदालतको फैसला बदर गरी हक इन्साफ गरिपाउँ भन्ने वादी विदुर सिंह हमालको पुनरावेदनपत्र ।
८. २०३२।८।१० मा प्रतिवादीका नाउँमा भएको दर्तालाई हाल मात्र आएर खिचोला गरेको थाहा भएको भनी २०३७।११।२६ मा दिएको फिराद म्यादभित्र परेको भन्न नमिली वादीको फिराद खारेज गर्ने गरेको शुरु बर्दिया जिल्ला अदालतको निर्णय फैसला मनासिब ठहर्छ भन्ने भेरी अञ्चल अदालतको २०४२।१।७ को फैसला ।
९. शुरुबाट खारेज गर्ने ठहराएको फैसलालाई सदर गर्ने ठहराएको भेरी अञ्चल अदालतको फैसलामा ज.मि. को १८ नं. को हदम्याद सम्बन्धी कानुनी त्रुटि भएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने वादी विदुर सिंह हमालको म.प.क्षे.अ. मा परेको निवेदनपत्र ।
१०. यी प्रतिवादी लक्ष्मीकुमारी समेतले मुक्तिनाथको नाउँका दर्ता आफ्नो नाउँमा दा.खा. नामसारी गर्दा गराउँदा यो निवेदन विदुर सिंह हमालको कुनै उल्लेखै नगरेको अवस्था हुँदा निवेदकले मौकैमा थाहा पाउने अवस्था पनि पर्न नआएकोले २०३७।९।२८ मा नक्कल सारी लिएको मितिले ६ महीना भित्रै पर्न आएको नालेश खारेजै हुने भन्न नमिल्ने हुनाले खारेज गरेको शुरुको फैसला सदर गरेको भेरी अञ्चल अदालतको फैसलामा कानुनी त्रुटि विद्यमान हुँदा निवेदकलाई पुनरावेदन गर्न पाउने अनुमति प्रदान गरिएको भन्ने २०४२।५।१३ को म.प.क्षे.अ. को आदेश ।
११. मिति २०२१।३।२७ मा अंशबण्डा पास हुँदा पुनरावेदक वादी ८ वर्षको नावालक भएको र निजको अंश बाबु मुक्तिनाथले बुझी लिएको साथै भूमिसम्बन्धी ऐनले पनि त्यस्तो नावालक एकै परिवारको मानेको छ । मुक्तिनाथले ७ नं. फाँटवारीमा बाँकेको जग्गा मात्र आफ्नो नाउँमा राखेकोबाट पनि बर्दियाको जग्गामा वादीको हक पुग्ने स्थिति देखिन आएन । भू.प्र.का.बर्दियाको २०३२।८।१० को निर्णयले प्रतिवादीको नाउँमा नामसारी भएकोमा प्रस्तुत मुद्दा २०३७।११।२६ मा दर्ता भएको देखिँदा तत्काल प्रचलित जग्गा पजनीको १७ नं. म्याद भित्र वा वादीको उमेर १६ वर्ष पुगेको मितिले समेत म्यादभित्र नालेश परेको समेत देखिँदैन । तसर्थ वादी दावी खारेज हुने ठहर्याएको शुरु वर्दिया जि.अ.को निर्णय सदर गरेको भेरी अं.अ. को फैसला मनासिब ठहर्छ भन्ने समेत म.प.क्षे.अ. को मिति २०४३।५।१ को फैसला ।
१२. म.प.क्षे.अ.को फैसलामा चित्त नबुझी पुनरावेदनको अनुमतिका लागि वादी तर्फबाट निवेदन पर्न आएकोमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालतको मिति २०४३।७।५ को आदेश ।
१३. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल प्रमाण अध्ययन गरी पुनरावेदक वादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल तथा प्रत्यर्थी प्रतिवादी रामहरि उपाध्यायको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी एवं प्रतिवादी सीताराम समेतको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री नुतन थपलिया तथा विजयकुमार गुप्ताले प्रस्तुत गर्नुभएको बहस जिकिर समेत सुनियो ।
१४. अब यस्मा म.प.क्षे.अ. को इन्साफ मिले नमिलेको के रहेछ सो को निर्णय दिनु परेको छ । निर्णयतर्फ विचार गर्दा यस्मा वादी पुनरावेदक र अरु अंशियारहरू बीच मिति २०२१।३।२७ मा पास समेत गरी बण्डापत्र भएको र वादी नावालक रही निजको अंश भागको जग्गा बाबु मुक्तिनाथकै जिम्मा रहेकोमा विवाद देखिन आउँदैन । तर सो बण्डापत्र भइसकेपछि भूमिसम्बन्धी ऐन, २०२१ को परिच्छेद ३,४,५,६,९ मिति २०२१।८।१ गते देखि विवादको जग्गाहरू भएको बाँके तथा वर्दिया जिल्लामा लागू भएको र सो ऐनको दफा २(ग) मा भएको व्यवस्थाबाट एक व्यक्तिको परिवारमा बाबु वा आमा जीवित छउञ्जेल अंश छुट्टिएको वा नछुट्टिएको जे भए तापनि १६ वर्ष नपुगेको नावालक छोरालाई राखी ऐ.ऐनको दफा ७ मा भएको व्यवस्थाबाट एक परिवारलाई जम्मा जग्गा विगाहा २५ र घरवारीको लागि जग्गा विगाहा ३ समेत गरी जम्मा जग्गा विगाहा २८ मात्र राख्न पाउने गरी व्यवस्था गरेकोबाट घरको मुख्य जानिफकार वादीका बाबुले २०२१।३।२७ मा भएको बण्डापत्रको बाबुजूद पनि सबै अंशियारको हकमा आफूले सो ऐनको दफा १३ मा भएको व्यवस्था अनुसार आफ्ना अंशियार सबैको नाउँमा रहेको सबै जग्गाको फाँटवारी खुलाई ७ नं. फाँटवारी भरी दाखिल गरी आफूले राख्ने र छाड्ने जग्गा देखाई आफूले राख्ने भनी देखाएको जग्गा मध्ये यो यो दर्ताको यो यो यति जग्गा यसले पाउने भनी देखाई आफ्नो परिवारले पाउने मौजे रामपुरको जग्गा विगाहा २७–१४–० र ने.गं.न.पं. अन्तर्गतको ०–२–१९१४ भनी देखाई अरु बढी भएको जग्गा छोडी दिएको देखिन आएकोले भूमिसम्बन्धी ऐन, ०२१ ले व्यवस्था गरे बमोजिम वादी समेतका आफ्नो परिवारमा राख्ने भनी देखाएको मौजे रामपुरको र ने.गं.न.पं. को जग्गा बाहेक विपक्षीका नाउँमा सोही ७ नं. फारामको आधारमा दर्ता दाखिल खारेज तथा सो फारामबाट पाउने व्यक्ति मरी निजका हकदारहरूका नाउँमा नामसारी गर्ने मिति २०३२।८।१० मा निर्णय भई भएको दर्तामा वादीको प्रस्तुत फिराद दिने हक रहेको भन्न मिल्ने देखिन आएन । उसमा पनि वादीले जुन दर्ता नामसारी बदर गरी आफ्नो हक कायम गरिपाउँ भनी यो फिराद दिएको छ सो दर्ता नामसारी भु.प्र.का.बर्दियाको मिति २०३२।८।१० को निर्णयबाट दर्ता भएको देखिन आएको हुँदा सो अवस्थामा प्रचलित रहेको मुलुकी ऐन जग्गा पजनीको १७ नं. तथा जग्गा मिच्नेको १८ नं. ले भए गरेको मितिले २ वर्ष भित्र अर्थात २०३४।८।९ सम्ममा उजूर दिई बदर गराउन पर्ने वादी समेतको अंशबण्डा गर्दा वादीलाई ८ वर्षको नावालक भनी देखाएको भए पनि सो दर्ता दा.खा. हुनु अगावै वादीको उमेर पुगी सोही २०३४।८।९ सम्ममा उजूर गर्नुपर्ने देखिन आएको वादीले सो म्यादैभित्र उजूर नगरी म्याद गुजारी बसेको देखिन आउँछ । यसरी तत्काल प्रचलित ऐनले व्यवस्था गरे बमोजिमको म्यादमा उजूर नगरी म्याद गुजारी बसिसकेको सो पछि २०३४।९।२७ मा लागू भएको संशोधित जग्गा पजनी र जग्गा मिच्नेमा भएको व्यवस्था बमोजिम थाहा पाएका मितिले ६ महीना भित्र उजूर गर्न पाउँछ भन्न कानुनी व्यवस्थाको सामान्य सिद्धान्तले पनि मिल्ने देखिन नआई वादीको २०३७।११।२६ मा परेको यो फिराद म्यादभित्रको भन्न मिल्ने देखिन आएन । जहाँसम्म विपक्षीहरूको दर्ता दुषित दर्ता हुँदा हदम्यादै नलाग्ने भन्ने हकमा भु.प्र.का.को उक्त २०३२।८।१० को निर्णयबाट भएको बण्डापत्र र वादीको बाबुले पेश गरेको ७ नं. फारामकै आधारमा सम्बन्धित व्यक्तिहरूकै नाउँमा नामसारी दर्ता दाखिल खारेज गरेको देखिन आएकोले यो जिरह पनि मनासिब देखिन आएन ।
१५. अतः हकदैया नै नभएको वादीले कानुनको हदम्याद नघाई परेको यो फिराद अनुमतिको आदेशमा उल्लेख भएको आधारमा हदम्याद भित्रको भन्न नमिलेकोले वादीको फिराद खारेज गरेको म.प.क्षे.अ. को इन्साफ मनासिब ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.पृथ्वीबहादुर सिंह
इति सम्वत् २०४६ साल आषाढ १ गते रोज ५ शुभम् ।