शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७००७ - लिखत दर्ता वदर ।

भाग: ४३ साल: २०५८ महिना: भाद्र अंक:

निर्णय नं. ७००७        ने.का.प. २०५८        अङ्क ५/६

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा

माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा

माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी

सम्वत् २०५६ सालको दे.पु.ई.नं. .....२१

फैसला मितिः २०५८।२।३१।४

 

मुद्दाः लिखत दर्ता वदर ।

 

पुनरावेदक

प्रतिवादीः झापा जिल्ला सतांसधाम गा.वि.स.वडा नं.४ बस्ने रणबहादुर खड्का

विरुद्ध

प्रत्यर्थी

वादीः झापा जिल्ला दमक न.पा.वडा नं.१० बस्ने फुलकुमारी नेपाल समेत

 

§  न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१) बमोजिम सर्वोच्च अदालतको आफ्नो फैसला वा अन्तिम आदेश उपर मात्र पुनरावलोकन हुन सक्छ । प्रस्तुत मुद्दामा पुनरावेदन अदालत विराटनगरबाट फैसला भएको छ, सर्वोच्च अदालतबाट फैसला भएको छैन । दोहोर्‍याउने निस्सा प्रदान नगर्ने निर्णय मात्र भएको छ । दोहोर्‍याउने निवेदनले मुद्दाको रुप लिएको हुँदैन । निवेदनकै तहसम्ममा रहेको हुन्छ । साथै दोहोर्याउने निस्सा प्रदान नहुने निर्णय उपर पुनरावलोकन गर्न नमिल्ने न्यायिक प्रचलन समेत कायम रहेको स्थितिमा निवेदनको वस्तुस्थितिको विवेचना गर्न मिलेन । आधार र कारणहरुको विवेचना र विश्लेषण नगरी भएको सर्वोच्च अदालतको मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान नहुने आदेशमा पुनरावलोकन हुनसक्ने नदेखिएको र न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) बमोजिम मुद्दा दोहोर्याउने निस्सा नहुने आदेश सोही उेनको दफा ११(१) को खण्ड (क) वा (ख) बमोजिम पुनरावलोकन हुने प्रकृतिको विषयवस्तु हो भन्न मिल्ने  देखिएन ।

§  तसर्थ माथी उल्लेखित आधार कारणबाट प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, विराटनगरको मिति २०४८।११।२७ को फैसला उपर मुद्दा दोहोर्याउने निस्सा नहुने गरी भएको यस अदालतको मिति २०५१।६।६ को आदेश उपर पुनरावलोकनको निस्सा प्रदान गर्ने गरेको यस अदालत संयुक्त इजलासको मिति २०५४।८।६ को आदेश मिलेको नदेखिने ।

(प्र.नं. २८ र २९)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री हरिहदर दाहाल

प्रत्यर्थी तर्फबाटः विद्वान अधिवक्ता श्री शंभु थापा

अवलम्वित निजरः

 

फैसला

      न्या.हरिप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(ख) अन्तर्गत पर्न आएका निवेदनपत्रमा पुनरावलोकनको निस्सा प्रदान भै सर्वोच्च अदालत नियमावली, २०४९ को नियम १ बमोजिम यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ।

      २.    विपक्षी तिर्थराज नेपालको म फिरादी फुल कुमारी नेपाल श्रीमती हुँ र हाम्रो छोरा टंक प्रसाद नेपाल हो । मेरो सौता पटिृका ३ भाई छोराहरु मित्रलाल, जिवलाल र पुण्य प्रसाद हुन । यसरी हामी ६ अंसियार छौं । हाम्रो पैतृक सम्पत्ति ताप्लेजुङ्गको विक्री गरी ल्याएको सम्पत्तिबाट झापा जिल्ला दमक गा.पं.वडा नं.६ को कि.नं.१५ को ज.वि.१(११(१४ को जग्गा हामी फिरादीहरुका पिता पतिको नाममा खरिद गरी सो जग्गामा दोतल्ला घर बनाई बसोवास गरी सोही जग्गाको उब्जा खाई भोगी आएका थियौं । विपक्षी हाम्रा पिता पतिले हामीहरुलाई थाहा जानकारी नै नदिई उक्त घर जगगा विपक्षी रण बहादुर खड्कालाई मिति २०४३।११।१५ मा र नं.२८९० बाट मालपोत कार्यालय, झापाबाट राजिनामा पारित गरी दिनु लिनु गरेकोले उक्त घर जग्गालाई ६ भाग लगाई फिरादीहरुको ३ भागको उक्त लिखत वदर गरी सो लिखतबाट भएको दर्ता वदर गरी हाम्रो भागको घर जग्गा हाम्रो नाममा दर्ता कायम गरी पाउँ भन्ने समेत व्यहोराको पुण्य प्रसाद नेपाल, टंक प्रसाद नेपाल समेत २ जनाको संरक्षक समेत भई फुल कुमारी नेपालले दायर गरेको मिति २०४४।१०।१९ को फिराद पत्र ।

      ३.    नावालक छोराको वादी फुलकुमारी संरक्षक नभै तिर्थ राज नेपाल नै संरक्षक हो । घर व्यवहार चलाउन आफ्नो निजी आर्जनको जग्गा लोग्नेले विक्री गरेकोमा स्वास्नीले नालिस गर्न पाउने होइन । वादीको फिराद लेनदेन व्यवहारको् १० नं.अंशवण्डाको १८ र १९ नं.समेतको प्रतिकूल भएको हुँदा फिराद दावी खारेज गरी पाउँ भन्ने समेत व्यहोराको रण बहादुर खड्काको प्रतिउत्तर पत्र ।

      ४.    पैतृक सम्पत्तिबाट र संगोलको परिवारको मेहेनतबाट फिराद दावीको घर जग्गा किने बनाएको हुँ । आफ्नो घर व्यवहारले घरजग्गा विक्री गरेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी तिर्थराज नेपालको प्रतिउत्तर पत्र ।

      ५.    वादीहरुको रेखदेख संरक्षण प्र.तिर्थ राजले नै गरी आएको र मुख्य दाम काम गर्ने व्यक्ति पनि तिर्थ राज नै हुन भन्ने समेतको वादीका साक्षी नेत्र प्रसाद न्यौपानेको वकपत्र ।

      ६.    वादीहरुको मुख्य दाम काम गर्ने व्यक्ति प्र.तिर्थ राज हुन भन्ने समेतको प्र.तिर्थराजको साक्षी निलकण्ठ दाहालको वकपत्र ।

      ७. वादी दावी बमोजिम लेखत दर्ता बदर हुनपर्ने हो वा होइन मलार्इ थाहा छैन भन्ने समेतके प्र. तिर्थराजको साक्षी पशुपति खनालके बकपत्र ।

      ८.    वादी दावीको जग्गा भन्दा अरु धेरै सम्पत्ति जग्गा जमिन घर प्र.तिर्थ राज तथा निजका पत्नीका नाउँमा छन् । वादी समेतको मन्जुरीबाट जग्गा विक्री गरेका हुन् भन्ने समेतको प्र.रण बहादुरको साक्षी प्रकाश बुढाथोकीको वकपत्र ।

      ९.    प्र.तिर्थराजको निजी आर्जनको जग्गा निजले विक्री गरेका हुन् । वादी दावी बमोजिम लिखत दर्ता वदर हुनुपर्ने होइन भन्ने समेतको प्र.रण बहादुरको साक्षी सूर्य प्रसादको वकपत्र ।

      १०.    वादी दावीको लेखत वदर हुनुपर्ने होइन भन्ने समेतको प्र.रण बहादुरका साक्षी कमल अर्यालको वकपत्र ।

      ११.    प्र.तिर्थ राजको निजी आर्जनले किनेको जगगा विक्री गरेको हुँदा वादी दावीको लिखत वदर हुनुपर्ने होइन भन्ने समेतको प्र.रण बहादुरको साक्षी कृष्णलाल न्यौपानेको वकपत्र ।

      १२.   वादी दावी बमोजिम लिखत वदर भई वादीले दावी बमोजिमको घर जगगा पाउने हो भन्ने समेत व्यहोराको दधिराम अधिकारीको वन्द सवाल ।

      १३.   पैतृक सम्पत्तिबाटै वादी दावीको जग्गा किनेको हो भन्ने समेतको परशुराम अधिकारीको वन्द सवाल ।

      १४.   वादी दावी बमोजिम विवादित लिखत वादी फूल कुमारीको हकमा ६ भागको १ भाग लिखत र प्र.रण बहादुरका नाउँको दर्ता समेत वदर भै वादीकै नाउँमा दर्ता समेत हुने ठहर्छ । वादी पुण्य प्रसाद र टंक प्रसादको हकमा वादी दावी पुग्न सक्तैन भन्ने समेत व्यहोरा व्यहोराको झापा जिल्ला अदालतको मिति २०४६।२।८ को फैसला ।

      १५.   शुरुको फैसला वदर गरी मेरो प्रतिउत्तर जिकिर बमोजिमको सम्पूर्ण रुपले न्याय पाउँ भन्ने प्र.रण बहादुर खड्काको पुनरावेदन अदालत विराटनगरमा परेको पुनरावेदन पत्र ।

      १६.    वादी पुण्य प्रसाद, टंक प्रसादको वादी दावी पुग्न नसक्ने र उमेर पुगेपछि उूर गर्न पाउने भनिउको शुरुको फैसलाको मुख्य दुईवटा बुंदालाई वदर वातिल गरी पाउँ भन्ने समेत व्यहोराको वादी टंक प्रसाद र पुण्य प्रसादको संरक्षक फुलकुमारी नेपालको पुनरावेदन पत्र ।

      १७.   विवादित जगगा तिर्थराज नेपालले २०३६ सालमा आफ्ना पालामा राजिनामा गरी लिएको जग्गा देखिँदा शुरुको निर्णय विचारणीय भएकोले प्रतिवादी पूल कुमारीलाई छलफलको लागि झिकाउनु भन्ने समेतको पुनरावेदन अदालत विराटनगरको आदेश ।

      १८.   मंजुरी लिनुपर्ने वादी फूल कुमारीको मंजुरीस् लिई विक्री गरेकोले निजको भागसम्म ६ भागको १ भाग लिखत वदर गर्ने र त्यत्तिकै वादी फूल कुमारीको नाममा दर्ता गर्ने गरेको शुरु जिल्ला अदालतको फैसला मिलेकै देखिनाले सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत विराटनगरको मिति २०४८।११।२७ को फैसला ।

      १९.    शुरु झापा जिल्ला अदालतको त्रुटिपूर्ण फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत विराटनगरको फैसलामा लेनदेन व्यवहारको १० नं., अंशवण्डाको १८ र १९ (१) नं.को व्याख्यामा त्रुटि भएको साथै विभिन्न नजिरहरुको समेत प्रतिकूल भएकोले प्रस्तुत मुद्दा दोहोर्याई हेरी पाउँ भनि प्र.रण बहादुरको यस अदालतमा पर्न आएको निवेदन पत्र ।

      २०.   पुनरावेदन अदालत विराटनगरको मिति २०४८।११।२७ को फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) को अवस्था विद्यमान नहुँदा दोहर्याउने निस्सा प्रदान गर्न मिलेन । कानून बमोजिम गर्नु भन्ने समेत व्यहोराको यस अदालत, संयुक्त इजलासको मिति २०५१।६।६ को आदेश ।

      २१.   म निवेदकको सम्मानीत अदालत समक्ष मुद्दा दोहर्‍याउने निस्सा पाउन निवेदन गरेकोमा सो मुद्दा दोहर्याउने निस्सा प्राप्त प्राप्त नभएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१) को खण्ड (ख) को आधारमा प्रस्तुत मुद्दामा भएको आदेश स्थापित विभिन्न नजिरहरुको प्रतिकूल भएकोले पुनरावलोकन गर्ने निस्सा प्रदान गरी न्याय पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी रण बहादुर खड्काको निवेदन  पत्र ।

      २२.   प्रतिवादी तिर्थ राज नेपालको नाउँको कित्ता नं.१५ को ज.वि.१(११(१४ मिति २०४३।११।१५ मा राजिनामा गरिदिए उपर प्रतिवादी तिर्थ राजको श्रीमती फूल कमारी नेपाल वादी भै उक्त लिखित वदर मुद्दा दायर गरेको र सो सम्बन्धमा प्रस्तुत निवेदन र प्रतिउत्तर पत्रबाट समेत वादीका श्रीमान श्रीमतीको नाउँमा चानचुन ६ विगाहा जग्गा देखिएको र वादीको भनाईको भरमा विवादीत जग्गा पैतृक सम्पत्ति भनी मान्न नमिल्ने भन्ने ने.का.प.२०४६ अंक १२ नि.नं.४०१४ पृष्ठ ११९६ मा प्रतिपादित सिद्धान्त र अंशवण्डाको १९ नं.को (४) बमोजिम समेत प्रतिवादीले विक्रि गरेको सदर देखिदा न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१) को खण्ड (ख) बमोजिम पुनरावेदनको निस्सा प्रदान गरिएको छ । विपक्षलाई झिकाई नियम बमोजिम पेश गर्नु भन्ने यस अदालत, संयुक्त इजलासको मिति २०५४।८।६ को आदेश ।

      २३.   सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ६ बमोजिम पुनरावलोकनको निस्सा प्रदान भैसकेको देखिंदा पूर्ण इजलास तोक्नको लागि सम्माननीय प्रधान न्यायाधीश समक्ष नियम बमोजिम पेश गर्नु भन्ने संयुक्त इजलासको २०५७।४।५ को आदेश ।

      २४.   प्रस्तुत मुद्दा पुर्ण इजलासमा पेश गर्नुपर्ने देखिंदा पूर्ण इजलासको लगतमा दर्ता गरी नियमानुसार गर्नुभन्ने समेत व्यहोराको सम्माननीय प्रधान न्यायधीश मिति २०५७।५।१४ को आदेश ।

      २५.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फबाट विद्वान अधिवक्ता हरिहर दाहालले मुद्दा दोहोर्याई हेर्ने निस्सा नभएको आदेश अन्तिम आदेश भएको र त्यस्तो सर्वोच्च अदालतको अन्तिम आदेश उपर पुनरावलोकनको निस्सा समेत प्रदान भै सकेको अवस्थामा मुद्दाको तथ्यमा प्रवेश गरी इन्साफ दिन कानून बमोजिम नै हुने हुँदा वादी र प्रतिवादी तिर्थराज नेपालको नाउँमा अन्य जगगा सम्पत्ति समेत बांकी रहेको अवस्थामा ६ भागको १ भाग लिखत वदर गर्ने गरेको पुनरावेदन अदालतको फैसला सो हदसम्म उल्टी गरी पाउँ भन्ने समेतको वहस र प्रत्यर्थीको तर्फबाट विद्वान अधिवक्ता शम्भु थापाले मुद्दा दोहर्‍याई हेर्ने निस्सा प्रदान नहुने आदेश उपर पुनरावलोकनको निस्सा प्रदान हुन सक्तैन । पुनरावलोकनको निस्सा सर्वोच्च अदालतको आफ्नो फैसला वा अन्तिम आदेशमा न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१) को (क) वा (ख) को अवस्था विद्यमान भएको अवस्थामा मात्र प्रदान हुने हो । पुनरावेदन अदालतको फैसलामा उक्त दफा ११(१) को (ख) को अवस्था विद्यमान देखिएको अवस्थामा पनि यस अदालतबाट मुद्दा दोहोर्याउने निस्सा नभएको आदेशमा पुनरावलोकनको निस्सा प्रदान हुन सक्तैन । त्यस्तो पुनरावलोकनको निस्सा प्रदान गरेको कानून विपरित हुँदा सोलाई खारेज गरी पुनरावेदन अदालतको फैसलालाई नै सदर गरी पाउँ भन्ने समेतको वहस गर्नुभयो ।

      २६.   आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा मिसिल अध्ययनको साथै उपर्युक्त बमोजिमको विद्वान कानून व्यवसायीहरुको वहस समेत सुनी इन्साफ तर्फ विचार गर्दा पुनरावेदन अदालत विराटनगरको मिति २०४८।११।२७ को फैसला उपर मुद्दा दोहोर्‍याई हेरी पाउँ भनि यस अदालतमा निवेदन परेकोमा मुद्दा दोहर्‍याउने निस्सा प्रदान नहुने भनि यस अदालतबाट मिति २०५१।६।६ मा आदेश भएको र सो आदेश उपर पुनरावलोकन गरी पाउँ भनि निवेदन परेकोमा मिति २०५४।८।६ मा पुनरावलोकनको निस्सा प्रदान गरिएको छ भनि आदेश भएको प्रस्तुत मुद्दामा पाइयो । सर्वप्रथम पुनरावेदन अदालतले गरेको फैसला उपर मुद्दा दोहर्‍याउनको लागि परेको निवेदनमा दोहोर्याउने निस्सा प्रदान नहुने गरी भएको आदेश पुनरावलोकन हुन सक्ने हो वा  होइन ? सो विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।

      २७.   यसमा पुनरावेदन सम्बन्धी न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१) ले सर्वोच्च अदालतले आफ्नो फैसला वा अन्तिम आदेश देहायको अवस्थामा पुनरावलोकन गर्न सक्नेछ भनि खण्ड (क) मा मुद्दामा भएको इन्साफमा तात्विक असर पर्ने किसिमको कुनै प्रमाण रहेको तथ्य मुद्दा किनारा भएपछि मात्र सम्बन्धित पक्षलाई थाहा भएको देखिएमा वाखण्ड (ख) मा सर्वोच्च अदालतबाट स्थापित नजिर वा कानूनी सिद्घान्तको प्रतिकुल निर्णय भएको देखिएमा भन्ने कानूनी ब्यवस्था गरेको पाईन्छ । उक्त कानूनी ब्यवस्था अनुसार मुद्दाको पुनरावलोकन भन्नाले सर्वोच्च अदालतले आफ्नो अन्तिम भैरहेको फैसला वा आदेशमा ऐ.को दफा ११(१) को खण्ड (क) वा (ख) को अवस्था विद्यमान भएकोमा पुनः हेरी मुद्दाको किनारा गर्ने कार्य हो ।

      २७.   प्रस्तुत लिखत वदर मुद्दामा पुनरावेदन अदालत, विराटनगरबाट २०४८।११।२७ को फैसला उपर प्रतिवादी रण बहादुर खड्काको मुद्दा दोहोर्‍याउने निस्सा प्राप्त गर्नको लागि यस अदालतमा परेको निवेदनमा संयुक्त इजलासबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) को अवस्था विद्यमान नदेखिएको भनि मुद्दा दोहोर्‍याउने निस्सा प्रदान हुन सकेको देखिएन । यसरी दोहोर्‍याउने निस्सा प्रदान नगर्ने आदेश उपर पुनरावलोकनको निस्सा प्रँप्त गर्न प्रतिवादीको निवेदनमा निजको दाता प्रतिवादी तिर्थराज र निजकी श्रीमती फूल कुमारीको नाममा ६ विगाहा जग्गा बांकी रहेको र हालको विक्री भएको विवादित जग्गा पैतृक सम्पत्ति मान्न नमिल्ने ने.का.प.२०४६, अंक १२, नि.नं.४०१४, पृष्ठ ११९६ को सिद्धान्तको प्रतिकूल भएको भनि यस इजलासमा पेश हुन आएको रहेछ । सो सन्दर्भमा न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१) बमोजिम सर्वोच्च अदालतको आफ्नो फैसला वा अन्तिम आदेश उपर मात्र पुनरावलोकन हुन सक्छ । प्रस्तुत मुद्दामा पुनरावेदन अदालत विराटनगरबाट फैसला भएको छ, सर्वोच्च अदालतबाट फैसला भएको छैन । दोहोर्याउने निवेदनले मुद्दाको रुप लिएको हुँदैन । निवेदनकै तहसम्ममा रहेको हुन्छ । साथै दोहोर्याउने निस्सा प्रदान नहुने निर्णय उपर पुनरावलोकन गर्न नमिल्ने न्यायिक प्रचलन समेत कायम रहेको स्थितिमा निवेदनको  वस्तुस्थितिको विवेचना गर्न मिलेन । आधार र कारणहरुको विवेचना र विश्लेषण नगरी भएको सर्वोच्च अदालतको मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान नहुने आदेशमा पुनरावलोकन हुनसक्ने नदेखिएको र न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) बमोजिम मुद्दा दोहोर्‍याउने निस्सा नहुने आदेश सोही उेनको दफा ११(१) को खण्ड (क) वा (ख) बमोजिम पुनरावलोकन हुने प्रकृतिको विषयवस्तु हो भन्न मिल्ने  देखिएन ।

      २९.   तसर्थ माथी उल्लेखित आधार कारणबाट प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, विराटनगरको मिति २०४८।११।२७ को फैसला उपर मुद्दा दोहोर्‍याउने निस्सा नहुने गरी भएको यस अदालतको मिति २०५१।६।६ को आदेश उपर पुनरावलोकनको निस्सा प्रदान गर्ने गरेको यस अदालत संयुक्त इजलासको मिति २०५४।८।६ को आदेश मिलेको देखिएन । अतः निवेदनको विषयवस्तुमा अरु केही विचार गरी रहनु परेन । मिसिल नियमानुसार गरी बुझाइदिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या. कृष्णकुमार बर्मा

न्या.केदारप्रसाद गिरी

 

 

इति सम्वत् २०५८ साल जेष्ठ ३१ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु