शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७४५० - मिलापत्र वदर गरी हक कायम गरीपाउँ ।

भाग: ४६ साल: २०६१ महिना: माघ अंक: १०

निर्णय नं.७४५०     ने.का.प.२०६१       अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल

माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ

सम्वत् २०५६ सालको दे.पु. नं. ....५७३०

फैसला मितिः २०६१।२।२१।५

 

मुद्दाः मिलापत्र वदर गरी हक कायम गरीपाउँ ।

 

पुनरावेदक

प्रतिवादीः जिल्ला वाँके वेलहरी गा.वि.स.वडा न.. ७ वस्ने धुरकन अहिर समेत

विरुद्ध

प्रत्यर्थी

वादीः जिल्ला वाँके उढरापुर गा.वि.स.वडा नं. १ वस्ने जानता भन्ने कुन्ती अहिरनी

 

§  पोइल गई भनिएकी पोतिया रहे वसेको ठाउ भन्दा अन्यत्रै स्थानमा निजको विपक्षी कुन्ती अहिरनी रहे वसेको ठाउँमा सम्वन्धित व्यक्तिलाई रोहवरमा समेत नराखी तयार भएको सर्जमीन व्यहोरालाई आधार मानेर आफ्नो स्वर्गीय पतीको सतित्वमा रहे वसेकी विधवालाई अर्कै सँग पोइल गएकी भन्ने जस्तो गंभीर आरोप लगाई अंशहक जस्तो नैसर्गिक कानूनी हकवाट वन्चित गर्ने निष्कर्षमा पुग्नु न्याय र कानून कुनै दृष्टिकोणवाट समेत न्यायोचित नदेखिने ।

§  वाँके जिल्ला अदालतमा दायर गरेको मुद्दामा कुन्तीको अस्तित्व लोप गरेको हदसम्म जालसाज ठहरी फैसला भएकोमा वादी कुन्ती अहिरनीले चित्त वुझाई वसेको देखिन्छ । त्यस्तै यिनै वादी कुन्ती अहिरनीले ससुरा स्व. छेदा अहिरको मिति २०४४।११।१६ मा मृत्यु भएपश्चात निजको ३ पुस्ता भित्रको हकवाला अरु कोही नभएको हुँदा निजको नाउँको वाँके उढरापुर गा.वि.स. १ (ख) कि.नं. ३९ को क्षे.फ. ३२ जग्गा आफ्नो नाउँमा नामसारी गरीपाउँ भनी मिति २०४५।२।११ मा मा.पो.का. वाँकेमा निवेदन दिएकोमा मालपोत कार्यालयले उक्त जग्गा निजका नाउँमा नामसारी नगरी निवेदन तामेलीमा राखि दिए उपर समेत यी कुन्ती अहिरनीले पुनरावेदन नगरी चित्त वुझाई वसेको देखिएको समेत अवस्था विद्यमान हुँदा पुनरावेदिका पोतिया अहिरनीलाई स्व छेदा को हकवाला अंशियारवाट वाहेक गरी स्व. छेदा अहिरको सम्पूर्ण सम्पत्तिमा वुहारी कुन्ती अहिरनीको एकलौटी हक कायम गर्न मिल्ने देखिन नआउने ।

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी र श्री श्यामराज ढुंगेल

प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्ता श्री यज्ञमूर्ति वन्जाडे

अवलम्वित नजिरः

 

फैसला

            न्या.दिलीपकुमार पौडेलः पुनरावेदन अदालत नेपालगन्जवाट मिति ०५३।२।६।१ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को खण्ड (क) (ख) समेतको आधारमा प्रतिवादी पक्षवाट यस अदालतमा मुद्दा दोहोर्‍याई पाउँ भन्ने निवेदन परी यस अदालतको मिति २०५६।१।२९ को आदेश बमोजिम मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भई यस अदालतको देवानी पुनरावेदन दायरीमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ :

            २.    पोतीयाले वाँकी प्रतिवादीहरु उपर यस सम्मानित अदालतमा घर जग्गा खिचोला मिटाई चलन चलाई पाउँ भन्ने मुद्दामा मलाई लोप गरी फिराद दायर गरेको र प्रतिवादीहरुले समेत प्रतिउत्तर फिराउँदा लोप गरी प्रतिउत्तर फिराएकोले पोतिया छेदाको सत्यमा वस्न नसकी पोइल गई सकेकीछिन् । प्रतिवादीहरुले मिलेमतो गरि जालसाज गरेकोले सजायँ गरीपाउँ भनी फौ.नं. २३२ को किर्ते जालसाजी मुद्दा दायर गरी कारवाही चलि रहेको छ । उक्त किर्ते जालसाजी मुद्दामा जारी भएको समाव्हान २०४५।४।१६ मा तामेल भई सकेपछि यसै मुद्दाको प्रतिवादी मध्येकी पोतीया वादी र अन्य वाँकी प्रतिवादीहरु प्रतिवादी भएको घर जग्गा खिचोला मेटाई अपुताली हक कायम गरी पाउँ भन्ने मुद्दामा मेरो मात्र हक लाग्ने स्व. छेदा अहिरका नाउँमा दर्ता रहेको उढरापुर गा.वि.स.वडा नं. १ ख कि.नं. ३९ को ज.वि. ३२ र घर समेत छोरीहरु नावालक भएकोले तिनीहरुको विवाह नहुन्जेल सम्म कसैले वेचविखन हक हस्तान्तरण गर्न नपाउने र छेदाको उक्त २ वटा नावालिक छोरीहरुलाई वादी पोतीयालेनै पालन पोषण गरी संयुक्त भई वसी घर व्यवहार चलाउने र तपाई वादीले छेदाको घर जग्गा आफ्नो नाममा दा.खा. गराई लिने भनी मिलापत्र गरी रु.२०,०००। को घर जग्गामा मेरो हक मेटाउने कार्य गरेकोले सो मिलापत्र वदर गरि सो घर जग्गा मेरो हक कायम गरी पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र ।

            ३.    वादी उढरापुर गा.वि.स.वडा नं. १ मा नवसी सोनपुर गा.वि.स.वडा नं. ४ वस्ने धनीराम अहिरको घरमा वस्दछीन् । लोग्ने नन्दरामको स्वर्गे भएपछि स्वतन्त्र भई सकेकी छन् । तरुण अवस्थाकी वर्ष २१ की मात्र भएकीले धन आफ्नो हातमा पारी विक्री गरी वेपत्ता हुन खोजेकी छन् । अंशवण्डाको १० नं. १६ नं. बमोजिम ३५ वर्ष नपुगेकीले अंशमा दावी गर्न नपाउने व्यवस्था छ । वादीको दावी पुग्न सक्ने अवस्था छैन । सासु छंदाछदै वुहारीले अपुताली पाउन सक्तैन । गंगारामकी स्वास्नी भई वसेकी भन्ने कुनै प्रमाण पेश गर्न सकेको छैन । सम्पत्ति हात पार्ने उदेश्यले झुठा दावी दिएको हुँदा खारेज गरीपाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।

            ४.    मेरो उमेर र शारीरिक अवस्था हेरेमा पनि म पोइला जाने अवस्थाकी छैन । म आफ्नो पतिको सत्यमा वसेकी छु, कहीं पोइला गएकी छैन वुहारीले घरवाट निकाला गरेकीले छोरा जगन्नाथको घरमा वसी आएकी छु । गंगारामसँग पोइला गएकी छैन भन्ने समेत व्यहोराको पोतिया अहिरले अदालतमा गरेको वयान ।

            ५.    पोतिया अहिरसँग मेरो कुनै नाता छैन । साक्षी राखेको हुँदा पोतियालाई राखेको भन्ने झुठा व्यहोरा उल्लेख गरेका हुन भन्ने समेत व्यहोराको अ.वं. १३९ नं. बमोजिम वुझिएको गंगाराम अहिरको  वयान ।

            ६.    गंगाराम अहिरसँग पोतिया २०४० साल फागुन ११ गते पोइला गएकी हुन । पोतियाले गंगाराम सँग चुरिया पहिरेकीले छेदाको सम्पत्तिमा निजको हक छैन । वादी दावी बमोजिम मिलापत्र वदर हुनुपर्ने हो भन्ने समेत व्यहोराको वादीको साक्षी मायाराम समेतको वकपत्र ।

            ७.    पोतीया छेदाकी स्वास्नी हुन, निजकै सत्यमा वसेकी छन् भन्ने प्रतिवादीका साक्षी मगरे तेली समेतले गरेको वकपत्र ।

            ८.    कुन्ती अहिरको ससुरा छेदाको मृत्यु २०३९।१०।१८ मा भएको हो । १ वर्ष पछि पोतिया गंगाराम सँग पोइला गएकी छन् । छेदाको सत्य डगाई सकेकी हुन । मालपोत कार्यालय वाँकेवाट २०४५।२।१४ मा सर्जमिन हुँदा कुन्ती वाहेक अरु कोही हकवाला छैनन भनी उल्लेख भएको हुँदा सो सर्जमीन कागज मा.पो.का. वाँकेवाट झिकाई पाउँ भन्ने समेत व्यहोराको वादी वारेस माधवप्रसाद पन्तले गरेको वयान ।

            ९.    आधा अंशमा कुन्तीको हक पुग्ने भई मिति ०४५।५।८ को मिलापत्रवाट आधा वदर भई वादी कुन्तीको हक कायम हुने ठहर्छ भन्ने समेत व्यहोराको मिति ०४७।११।७ मा वाँके जि.अ.वाट भएको फैसला ।

            १०.    वाँके जि.अ.वाट पूर्ण मिलापत्र वदर नगरी आधा मात्र वदर गरी जिताई आधामा हराई फैसला गरेकोले सो आधा हराई गरेको शुरुको फैसला मिलेको नहुँदा वदर गरी सम्पूर्ण मिलापत्र वदर गरीपाउँ भन्ने समेत व्यहोराको वादी पक्षको पुनरावेदन पत्र ।

            ११.    नाता सम्वन्धी विवाद उठेकोमा र सो समेतको निराकरण गर्नुपर्नेमा सोनै नगरी शुरु वाँके जि.अ.ले गरेको फैसला नमिलेकोले फैसला वदर गरी दिएको छ । प्र. गंगाराम अहिर समेतलाई झिकाई नाता तर्फको विवाद समेतमा जो जे वुझनु पर्ने कानून बमोजिम वुझी नाता तर्फ समेत ठहर निर्णय गर्नु भनी तारेख तोकी ३ महिना भित्र मुद्दा किनारा गर्नु भनी मिसिल वाँके जि.अ.मा पठाई दिनु भन्ने समेत व्यहोराको मिति ०४९।११।१८ को फैसला ।

            १२.   मिति २०५०।३।१२ मा भई आएको सर्जमीन मुचुल्का मिसिल सामेल रहेको ।

            १३.   प्रतिवादी पोतिया अहिरनी प्रतिवादी गंगाराम अहिरसँग लोग्ने छेदाको मृत्यु पश्चात पोइला गएपछि मुन्नादेवी समेत उपर जग्गा खिचोला अपुताली हक कायम मुद्दा दिई सो मुद्दाको वादी एवं प्रतिवादी दुवै पक्षले प्रस्तुत मुद्दाको वादीलाई नदेखाई लोप गरि हकै नलाग्ने सम्पत्ति लिई दिई वादीको हक जाने किसिमवाट मिलापत्र गरेको देखिंदा वादी दावीअनुसार मिलापत्र वदर भई घर जग्गामा वादीको हक कायम दा.खा. गराई चलन समेत चलाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु वाँके जि.अ.को मिति ०५१।३।२२ को फैसला ।

            १४.   शुरु फैसलामा उल्लेखित पुनरावेदक मध्येका म पोतिया अहिरनी प्र. मुन्नी अहिरनी समेत भएको दे.नं. १००६ को जग्गा खिचोला अपुताली मुद्दामा म पोतीयाले लोग्ने छेदाको सत्यमा वस्न नसकेको र घरमा नवस्ने गरेको भन्ने कुरा गाउँ घरमा सुनेकाछौ भन्ने समेत व्यहोराको मुन्नी अहिरनी समेतले गरेको प्रतिवादका आधारमा म पुनरावेदक पोतीया पोइला गएको भन्ने ठहर गर्न मिल्ने होइन । मा.पो.का. वाँकेवाट वुझिएको सर्जमीन केवल नामसारी प्रयोजनको लागि गरिएको र सो सर्जमीन एवं वादीले दिएको नामसारीको निवेदनलाई प्रस्तुत मुद्दाको आधार मान्ने हो भने वादीको नाममा नामसारी नगरेको मा.पो. का वाँकेको निर्णय उपर वादीले पुनरावेदन गर्नुपर्ने थियो सो गर्न नसकेकोले त्यसवाट समेत सो सर्जमीन निस्क्रिय भई सकेको प्रमाणित हुन्छ । तेश्रो व्यक्ति अकरनाथले एउटै परिवारको व्यक्ति कुन्ती माथि कुनै मुद्दा दायर गर्दै गराउदैमा अन्य हकवाला अंशियारलाई कुनै असर पर्ने होइन । सम्मानित शुरु अदालतवाट भएको सर्जमीन जालसाजपूर्ण तरिकाले भएको भनी जालसाजी मुद्दा दायर भै सकेको अवस्थामा सो सर्जमीननै विवादमा आइसकेपछि त्यस्तो सर्जमीनलाई प्रमाणको रुपमा ग्रहण गर्न मिल्ने होइन पुनरावेदन मध्येकी म पोतीयाको उमेर र अवस्थाले लोग्नेको सत्य छोडी अन्तै पोइला जाने कुरा पनि हुदैन र मेरा साक्षीले गंगाराम अहिर र म पोतियाको देवर भाउज्यु नाता पर्दछ र आवतजावत रहेको कुरा लेखे लेखाएका छन् । तर पोइला गएको भनी भनेको छैनन त्यसवाट म पोइल गएको भन्न मिल्ने अवस्था पनि छैन । अतः उपर्युक्त आधार प्रमाणहरुवाट शुरु फैसला वदर गरी प्रतिउत्तर तथा वयान बमोजिम न्याय निरोपण गरीपाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको पुनरावेदन   जिकिर ।

            १५.   प्रस्तुत मिलापत्र वदर मुद्दाको मिसिल संलग्न रहेको २०५०।३।१२ को पोतिया अहिरनीले गंगाराम सँग पोइल गएको हो, होइन भन्ने सम्वन्धमा उढरापुर गा.वि.स.वडा नं. १ जहाँ वादीको वसोवास छ मा सर्जमीन हुँदा पोतिया अहिरनीले गंगाराम सँग पोइल गएकी हुन भनी सवै व्यक्तिले पक्षहरुको रोहवरमा व्यहोरा लेखाएको पाइयो । अतः उपरोक्त सवुत प्रमाणहरु एवं जिल्ला अदालतले गरेको फैसलामा लिइएका आधार प्रमाण समेतवाट पुनरावेदक प्रतिवादी पोतिया अहिरनीले लोग्ने छेदाको मृत्यु पश्चात देवर नाताका प्र. गंगाराम अहिरसँग पोइल गई सके पछि आफनी छोरी मुन्नी अहिरनी समेत उपर जग्गा खिचोला अपुताली हक कायम मुद्दा दिई प्रत्यर्थी वादी कुन्ती अहिरनीको हक जाने गरी मिलापत्र गरेको कारण आधारवाट वादी दावी पुग्ने गरी वाँके जि.अ.वाट भएको फैसला मुनासिव देखिंदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत नेपालगंजवाट मिति २०५३।२।६ मा भएको फैसला ।

            १६.    पुनरावेदन अदालत नेपालगंजवाट भएको उक्त फैसलामा चित्त वुझेन । प्रस्तुत मुद्दामा स्व. पति छेदाको अपुताली परेकोमा सो अपुताली स्वास्नी वा वुहारी कसले पाउने सो सम्मको विवाद भएकोले अपुतालीको २ नं. बमोजिम स्व. छेदाको सवभन्दा नजीकको हकवाला म निवेदक पोतिया हुँदा हुँदै वुहारीलाई एकलौटी हक कायम गरी पुरै मिलापत्र वदर गर्ने गरेको शुरु तथा पुनरावेदन अदालतको फैसला नितान्त गलत एवं कानूनी त्रुटिपूर्ण छ । अ.वं. ८० नं. बमोजिम नाता तर्फ वयान भई सकेपछि वादीले दावी जिकिर लिएको मा पोतिया अहिरनी पोइल गएको भनिएको उढरापुर गा.वि.स.वडा नं. २मा सर्जमीन गर्नुपर्ने थियो । सो पोइल गए नगएको स्वास्नी भई वसे नवसेको कुरा पोइल गएको भनिएको गाउ ठाउँका व्यक्तिले यथार्थ थाहा पाउने हुँदा उढरापुर वा.नं. २ मा सर्जमीन नगरी वुझनु पर्ने प्रमाण नवुझिएको कारणले निर्णयमा प्रत्यक्ष असर परेको हुँदा शुरु तथा पुनरावेदन अदालतको फैसलामा कानूनको व्याख्यामा गंभीर त्रुटि भएकोले प्रस्तुत मुद्दा दोहोर्‍याई हेरी शुरु तथा पुनरावेदन दुवै तहका फैसला वदर गरी प्रतिउत्तर जिकिर बमोजिम इन्साफ गरीपाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको तर्फवाट यस अदालतमा परेको निवेदन पत्र ।

            १७.   पोतिया अहिरनी पोइल गएको वा नगएको भन्ने सम्वन्धमा गंगारामको वतन उढरापुर गा.वि.स.वडा नं. २ मा सरजमीन नगराई ऐ.ऐ. वडा नं. ७ वादीको वसोवास रहेको ठाउँमा सर्जमीन भएको भनेतापनि वादी वडा नं. १ मा वसेको देखिन्छ । अतः पोइल गएकी भन्ने पोतिया अहिरनी र पोइल लाने गंगाराम समेत दुवै पक्षलाई अदालतमा उपस्थित गराई वयान गराउँदा इन्कारी वयान गरेको र पुनरावेदन अदालतले ग्रहण गरेको प्रमाण समेत मिलापत्रको प्रमाणवाट खण्डन भएको पाइन्छ । छेदा अहिर र पोतिया अहिरनीवाट जन्मेका छोरीहरु नावालक अवस्थामा देखिंदा आमा वावुको नाउँको सम्पत्तिवाट हेर विचार पालनपोषण हुनुपर्ने देखिएकोले निज छोरीहरु सावालक नभएसम्म उक्त सम्पत्ति वेचविखन समेत गर्न नपाउने गरी मिलापत्रवाट पोतिया अहिरनीको नाउँमा कायम रहेको सम्पत्तिमा कुन्तीको मात्र हक हुने गरी मिलापत्र वदर गर्ने गरेको र सो मिलापत्रवाट खण्डन भै सकेको प्रमाणलाई ग्रहण गरिएकोले पुनरावेदन अदालत नेपालगन्जको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ को व्याख्यात्मक त्रुटी देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को खण्ड (क) (ख) बमोजिमको अवस्था विद्यमान देखिंदा दोहोर्‍याउने निस्सा प्रदान गरिएको छ विपक्षी झिकाइ आएपछि नियमानुसार गरी पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासवाट मिति २०५६।१।२९ मा भएको आदेश ।

            १८.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक पोतीया अहिरनी समेतको तर्फवाट उपस्थित हुनु भएका विद्वान अधिवक्ताद्वय श्री राधेश्याम अधिकारी र श्री श्यामराज ढुङ्गेलले स्व. छेदा अहिरको मृत्यु भई सकेपछि निजको अपुताली निजको श्रीमती पुनरावेदक यी पोतिया अहिरनीले पाउने हो या विपक्षी जानता भन्ने कुन्ती अहिरनीले पाउने हो भन्ने प्रश्न निरुपण गर्ने सन्दर्भमा पोतिया अहिरनी गंगाराम सँग पोइल गएको भन्ने प्रश्न उठेको हुँदा त्योनै हाल निरुपण गर्ने मूल प्रश्नको रुपमा खडा भएको छ । छेदाको श्रीमती पोतिया हो भन्ने कुरामा विवाद छैन । निज पोइल गएको हो भन्ने सम्वन्धमा मूलतः छेदाको छोरा नन्दराम झुण्डिएर आत्महत्या गरेको विषयमा २०४४।१२।२६ मा भएको सर्जमीनमा सुखराम यादव लगायतका व्यक्तिहरुले लेखाई दिएको व्यहोरा र यसै मुद्दामा वाँके जिल्ला अदालतको आदेश बमोजिम भएको मिति २०५०।३।१५ मा भएको सर्जमीनमा पारसनाथ गोसाई समेतका व्यक्तिहरुले पोतिया पोइल गएकी हुन भनी लेखाई दिएको व्यहोरालाई आधार मानेर शुरु तथा पुनरावेदन अदालत यी पोतिया अहिरनी पोइल गएको निष्कर्षमा पुगेको देखिन्छ । उक्त २०४४।१२।२६ मा भएको सर्जमीनमा लेखाएको व्यहोराको सम्वन्धमा सुखराम यादवले मिति २०४५।९।२९ मा भूलवाट पोतिया अर्को सँग पोइल गएकी भनि लेखेकोमा माफ पाउँ भनि पोतियासँग मिलापत्र भएको छ । यसलाई हालसम्म वदर गराइएको छैन । यो फैसला सरहको मिलापत्र अन्तिम भएर वसेको छ । त्यसै गरी २०५०।३।१५ मा भएको सर्जमिन पोतिया रहे वसेको ठाउँमा नभई अन्यत्र स्थानमा भएको छ । पोतिया उढरापुर गा.वि.स. वडा नं. ७ भवनियापुर स्थित ज्वाईको घरमा वसेकोमा सर्जमीन कुन्ती वस्ने गरेको वडा नं. १ मा गरिएको छ । त्यसमा पनि सर्जमीनमा व्यहोरा लेखाएका मध्ये पारसनाथ गोसाई र गयाप्रसाद अहिरले पोतिया पोइल गएको भन्ने कुरा नभनेको भनी लगाउको गाली वेइजती मुद्दामा पोतिया र निजहरु वीच २०५१।१।२५ मा मिलापत्र भएको हुँदा उल्लेखित दुवै सर्जमीन व्यहोरा खण्डित भई सकेको हुँदा त्यसका आधारमा पोतिया पोईला गएको ठहर गरेको पूर्ण रुपमा त्रुटीयुक्त छ । अपुताली हक कायम मुद्दावाट पोतियाले सवै सम्पत्ति लिएर कुन्तीलाई कुनै असर पर्दैन पोतियावाट अंश लिए हुन्छ, निजलाई उक्त मुद्दामा लोप ग¥यो भन्ने कुराको कुनै अर्थ छैन । हालको फैसलाले पोतियालाई निरअंशी बनाएको छ । निजका नाबालक छोरीहरुलाई हुर्काउने वढाउने, पढाउने र विहादान कसरी गर्ने तसर्थ अपुताली हक कायम मुद्दामा मिति २०४५।५।८ मा भएको पुरै मिलापत्र वदर गरेर पोतियाको सम्पूर्ण अंशहकवाट वन्चित गरेको शुरु तथा पुनरावेदन अदालत दुवै तहवाट भएको फैसला गम्भीर कानूनी त्रुटी पूर्ण हुँदा वदर हुनु पर्दछ भन्ने वहस प्रस्तुत गर्नु भयो ।

            १९.    त्यसै गरी प्रत्यर्थी वादी कुन्ती अहिरनीको तर्फवाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री यज्ञमूर्ति वन्जाडेले प्रस्तुत मुद्दामा स्व. छेदा अहिरको अंश खाने अंशियार भनेको निजको पत्नी पोतिया र स्व. नन्दरामको श्रीमती छेदाकी वुहारी कुन्ती हुन । पोतिया पोइल गएको भन्ने हुँदा निज पोइल गएकी हुन की होइनन् भन्ने प्रश्न नै मुख्य रुपमा निरुपण गर्नुपर्ने हुन आउँछ । यो मिलापत्र वदर मुद्दा पर्नु भन्दा अगावै छेदाको छोरा नन्दराम झुण्डिएर मरेको सम्वन्धमा २०४४।१२।२६ मा भएको सर्जमीनमा सर्जमीनका मानिसहरुले पोतिया अर्कै सँग पोइल गएको भनि लेखाई दिएका छन । उक्त व्यहोरा मुद्दा परी अंश खाने नियतले लेखाएको होइन । अघिल्लो अपुताली हक कायम मुद्दामा प्रतिउत्तर पत्रको प्रकरण नं. ३ मा पोतियाको छोरी ज्वाई समेतले स्पष्टरुपमा पोतिया पोइला गइसकेकी छन भनी लेखाई दिएको स्थिति छ । यही मिलापत्र वदर मुद्दामा २०५०।३।१५ मा सर्जमीन भएको छ । उक्त सर्जमीनका व्यक्तिहरुले समेत प्रष्ट सँग पोतिया गंगाराम सँग पोइल गएकी भनेका छन् । यसवाट पोतिया पोइल गएको स्पष्ट रुपमा प्रमाणित भएको हुँदा छेदाको अपुताली खाने श्रीमती लोग्नेको सत्य डगाई पोइल गएको, छोरा नन्दरामको मृत्यु भई सकेको हुँदा मर्ने छोरा नन्दरामको श्रीमती कुन्ती अहिरले अपुताली पाउनेमा विवाद छैन । तत्कालीन अपुतालीको १ नं.अनुसार वुहारी हुँदा हुदै अपुताली छोरीले नपाउने हुँदा सोही कानूनी व्यवस्था बमोजिम भएको शुरु तथा पुनरावेदन अदालत दुवै तहको फैसला न्यायोचित हुँदा सदर हुनुपर्छ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नु भयो ।

            २०.   विद्वान कानून व्यवसायीहरुले प्रस्तुत गर्नु भएको उल्लेखित वहस जिकिरलाई समेत मनन गरी प्रस्तुत मुद्दाको पुनरावेदनपत्र सहितका सम्पूर्ण मिसिल कागजात अध्ययन गरी हेर्दा यसमा मूलतः पुनरावेदन अदालत नेपालगंजवाट मिति २०५३।२।६ मा भएको फैसला मिले नमिलेको के रहेछ हेरि निर्णय दिनुपर्ने देखिन्छ ।

            २१.   निर्णयतर्फ विचार गर्दा यसमा प्रतिवादी पोतिया अहिरनी आफ्नो लोग्नेको सत्यमा नवसी गंगाराम अहिर सँग पोइल गई अर्को घर गरी वसेकी अवस्थामा निज पोतीया वादी भै अन्य प्रतिवादीहरु उपर लोग्ने छेदाको नाममा रहेको घर जग्गा खिचोला गरेकोले खिचोला मेटाई अपुताली हक कायम गरीपाउँ भन्ने मुद्दा दिई छेदाको छोरा नन्दरामको श्रीमती म वादीलाई फिराद प्रतिउत्तरमा लोप गरी नदेखाई छेदा अहिरको नाममा रहेको सम्पूर्ण घर जग्गा एकलौटी पोतियाले खाने गरी मिति २०४५।५।८ मा मिलापत्र गरी गराई मेरो हक समाप्त गरेको हुँदा उक्त मिलापत्र वदर गरीपाउँ भन्ने समेत वादीको दावी र अपुतालीको महलअनुसार वुहारीले अपुताली पाउने कानूनी प्रावधान छैन, पोतिया पोइल गएको कुरा पुर्ण रुपमा झुठा भएको हुँदा फिराद दावी खारेज भागी छ भन्ने समेत प्रतिवादीको प्रतिउत्तर जिकिर भई विवाद उत्पन्न भएको प्रस्तुत मुद्दामा वादी दावी बमोजिम २०४५।५।८ को मिलापत्र वदर भई घर जग्गामा वादीको हक कायम समेत हुने ठहर गरी शुरु वाँके जिल्ला अदालतवाट मिति २०५१।३।२२ मा फैसला भएको पाइन्छ । उक्त फैसला उपर पुनरावेदन अदालत नेपालगन्जमा पुनरावेदन परेकोमा पुनरावेदन अदालत नेपालगन्जवाट समेत शुरु इन्साफ सदर गर्ने गरी मिति २०५३।२।६ मा फैसला भए उपर प्रतिवादी पक्षको तर्फवाट यस अदालतमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को खण्ड (क) र (ख) समेतको आधारमा मुद्दा दोहोर्‍याई पाउँ भन्ने निवेदन परी यस अदालत संयुक्त इजलासको मिति २०५६।१।२९ को आदेशवाट मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भई यस अदालतको देवानी पुनरावेदन दायरीमा दर्ता भई आएको रहेछ ।

            २२.   स्व. छेदा अहिरकी श्रीमती यी पुनरावेदीका प्रतिवादी पोतिया अहिरनी गंगाराम अहिर सँग पोइल गएकी हुन की होइनन् भन्नेनै मूलरुपमा निरुपण गर्नुपर्ने प्रश्न विद्यमान रहेको प्रस्तुत मुद्दामा स्व. छेदा अहिरको छोरा नन्दराम झुण्डिएर मरेको मुद्दामा मिति २०४४।१२।२६ मा भएको सर्जमीन व्यहोरामा सुखराम यादवले नन्दरामकी आमा पोतिया अर्कैसँग पोइल गएकी भन्ने लेखाई दिएको व्यहोरा र प्रस्तुत मिलापत्र वदर मुद्दामा शुरु वाँके जिल्ला अदालतको आदेश बमोजिम भएको मिति २०५०।३।१५ को सर्जमीन मुचुल्कामा आफ्नो व्यहोरा लेखाउन अधिकांश व्यक्तिहरुले पोतिया पोइल गएकी छन भनी लेखाई दिएको व्यहोरालाई मुख्यरुपमा आधार मानेर शुरु वाँके जिल्ला अदालत तथा पुनरावेदन अदालत नेपालगन्ज समेत यी पोतिया अहिरनी गंगाराम अहिर सँग पोइल गएको निष्कर्षमा पुगेको पाइन्छ । उक्त मिति २०४४।१२।२६ को सर्जमीन मुचुल्कामा सुखराम यादवले पोतिया अर्कै सँग पोइल गएकी भन्ने व्यहोरा उल्लेख गरेपनि को कस सँग कहिले कहा पोइल गएकी भन्ने तथ्य स्पष्ट सँग लेखाउन सकेको देखिदैन । उक्त व्यहोरावाट आफ्नो गाली वेइज्जती गरेको भनी यी पोतियाले सुखराम यादव उपर दायर गरेको गाली वेइज्जती मुद्दामा मिति २०४५।९।२९ मा पोतिया र सुखराम वीच मिलापत्र हुँदा भूलवाट अर्को सँग पोइल गएको लेखिन गएकोले माफ पाउँ भनी वादी दावी र प्रतिउत्तर जिकिर छाडी मिलापत्र भएको प्रमाण मिसिलवाट देखिन आउँछ । उक्त मिलापत्र हाल सम्म वदर नभई अन्तिम भई रहे वसेको स्थिति देखिंदा सुखरामले पोतिया अर्कै सँग पोइल गएकी छन भनी मिति २०४४।१२।२६ मा लेखाएको सर्जमीन व्यहोरा खण्डित भई सकेको देखिन आयो । जहाँ सम्म मिति २०५०।३।१२ को सर्जमीन मुचुल्काका अधिकांश मानिसहरुले पोतिया गंगाराम सँग पोइल गएकी छन् भनी व्यहोरा लेखाई दिएको भन्ने शुरु तथा पुनरावेदन अदालतले लिएको अर्को आधार वुंदा छ त्यस सम्वन्धमा दृष्टिगत गर्दा शुरु वाँके जिल्ला अदालतवाट पोतिया अहिरनी गंगाराम सँग पोइला गएको हो होइन यकिन गर्न गाउँ सर्जमीन वुझी पेश गर्नु भन्ने मिति २०५०।२।२६ मा आदेश भएकोमा आदेश बमोजिम यी प्रतिवादी पोतिया अहिरनी रहे वसेको वतनमा गई सर्जमीन मुचुल्का गर्नुपर्नेमा भई आएको मिति २०५०।३।१२ को सर्जमीन मुचुल्का वादी कुन्ती अहिरनी रहे वसेको उढरापुर गा.वि.स.वडा नं. १ मा सम्पन्न भएको देखिन्छ । पुनरावेदिका प्रतिवादी पोतिया अहिरनी उढरापुर गा.वि.स. वडा नं. ७ भवानीपुर स्थित ज्वाईको घरमा वस्दै आएको स्थितिमा निज रहे वसेको ठाउँमा गई सर्जमीन नगरी वादी स्वयं रहेवसेको ठाउँ वडा नं. १ मा सर्जमीन सम्पन्न भएको र उक्त सर्जमीनमा प्रतिवादी पोतिया अहिरनीलाई रोहवरमा राखेको समेत देखिन आउदैन । उक्त सर्जमनिमा व्यहोरा लेखाई दिने सम्पूर्ण व्यक्तिहरु उपर गाली वेइज्जतीमा पोतिया अहिरनीले नालेश गरेको लगाउको गाली वेइज्जती मुद्दामा सर्जमीनमा व्यहोरा लेखाएका मध्येका पारसनाथ गोसाई र गयाप्रसाद अहिरले पोतिया गंगाराम सँगचुरिया पहिरी स्वास्नी भई वसेकी भनेकै होइन भनी सर्जमीन व्यहोरालाई इन्कार गरी पोतिया सँग मिति २०५१।१।२५मा मिलापत्र गरेको समेत देखिन आउछ । यसवाट पोइल गई भनिएकी पोतिया रहे वसेको ठाउ भन्दा अन्यत्रै स्थानमा निजको विपक्षी कुन्ती अहिरनी रहे वसेको ठाउँमा सम्वन्धित व्यक्तिलाई रोहवरमा समेत नराखी तयार भएको सर्जमीन व्यहोरालाई आधार मानेर आफ्नो स्वर्गीय पतीको सतित्वमा रहे वसेकी विधवालाई अर्कै सँग पोइल गएकी भन्ने जस्तो गंभीर आरोप लगाई अंशहक जस्तो नैसर्गिक कानूनी हकवाट वन्चित गर्ने निष्कर्षमा पुग्नु न्याय र कानून कुनै दृष्टिकोणवाट समेत न्यायोचित देखिन आउदैन ।

            २३.   स्व. छेदा अहिरको श्रीमती यी पोतिया अहिरनी भएकोमा र प्रत्यर्थी वादी कुन्ती अहिरनी स्व. छेदाकी वुहारी भई दुवै अंशियार भएकोमा विवाद देखिदैन । जानता भन्ने कुन्तीको अस्तित्व फिरादपत्र तथा प्रतिउत्तरपत्रमा लोप गरी किर्ते जालसाज गरे भनि कुन्ती अहिरनीले यिनै पुनरावेदक प्रतिवादीहरुलाई प्रतिवादी वनाई मिति २०४५।२।३२ मा वाँके जिल्ला अदालतमा दायर गरेको मुद्दामा कुन्तीको अस्तित्व लोप गरेको हद सम्म मात्र जालसाज ठहरी वाँके जिल्ला अदालतवाट मिति २०४७।३।११ मा फैसला भएकोमा वादी कुन्ती अहिरनीले चित्त वुझाई वसेको देखिन्छ । त्यस्तै यिनै वादी कुन्ती अहिरनीले ससुरा स्व. छेदा अहिरको मिति २०४४।११।१६ मा मृत्यु भएपश्चात निजको ३ पुस्ता भित्रको हकवाला अरु कोही नभएको हुँदा निजको नाउँको वाँके उढरापुर गा.वि.स. १ (ख) कि.नं. ३९ को क्षे.फ. ३२ जग्गा आफ्नो नाउँमा नामसारी गरीपाउँ भनी मिति २०४५।२।११ मा मा.पो.का. वाँकेमा निवेदन दिएकोमा मालपोत कार्यालयले उक्त जग्गा निजका नाउँमा नामसारी नगरी निवेदन तामेलीमा राखि दिए उपर समेत यी कुन्ती अहिरनीले पुनरावेदन नगरी चित्त वुझाई वसेको देखिएको समेत अवस्था विद्यमान हुँदा पुनरावेदिका पोतिया अहिरनीलाई स्व छेदा को हकवाला अंशीयारवाट वाहेक गरी स्व. छेदा अहिरको सम्पूर्ण सम्पत्तिमा वुहारी कुन्ती अहिरनीको एकलौटी हक कायम गर्न मिल्ने देखिन आउदैन ।

            २४.   तसर्थ माथि विवेचना गरिएको आधार प्रमाणवाट स्व. छेदा अहिरको श्रीमती पोतिया पोइल गएको नदेखिंदा छेदाको सम्पत्तिमा यी पोतियाको समेत हक लाग्ने हुँदा वादी जानता भन्ने कुन्तीको हक सम्मको मिति २०४५।५।८ को मिलापत्र आंशिकरुपमा वदर गर्नुपर्नेमा समुचा मिलापत्र वदर गरेको पुनरावेदन अदालत नेपालगँजको मिति २०५३।२।६ को फैसला सो हदसम्म मिलेको नदेखिंदा केही उल्टी हुने ठहर्छ । मिति २०४५।५।८ को मिलापत्र आधा वदर हुन्छ । प्रतिवादीको पुनरावेदन जिकिर बमोजिम स्व. छेदा अहिरको नाउँको सम्पूर्ण सम्पत्ति मध्ये आधा सम्पत्तिमा पुनरावेदिका पोतिया अहिरनीको हक कायम हुने समेत ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नु ।

 

तपसिल

 

माथि इन्साफ खण्डमा लेखिए बमोजिम स्व. छेदा अहिरको सम्पत्तिमा निजको श्रीमती पोतिया अहिरनी र वादी जानता भन्ने कुन्ती अहिरनी दुवैको आधा आधा हक कायम हुने ठहर भई मिति २०४५।५।८ को मिलापत्र आधा वदर भएको हुँदा सो मिलापत्र बमोजिम स्व. छेदा अहिरका नाउँवाट पोतियाका नाउँमा कायम हुन आएको जि. वाँके उढरापुर गा.वि.स. वडा नं. १ ख कि.नं. ३९ को ज.वि. ३२ समेतका घर जग्गा मध्ये आधा घर जग्गामा वादी कुन्ती अहिरले हक कायम दा.खा. गराई चलन चलाई लिन पाउने हुँदा उक्त आधा घर जग्गा दा.खा. गराईचलन चलाई पाउँ भनि द.सं. को ४३ नं. को म्याद भित्र वादीको दरखास्त पर्न आए कानून बमोजिम लाग्ने दस्तुर लिई वादीलाई प्रतिवादीवाट दा.खा. गराई चलन समेत चलाई दिनु भनी शुरु वाँके जिल्ला अदालतमा लेखि पठाई  दिनु ..........१

माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरु तथा पुनरावेदन अदालत नेपालगंजको फैसला केही उल्टी भई दावीको सम्पत्ति मध्ये आधा सम्पत्तिमा मात्र वादी कुन्ती अहिरनीको हक कायम हुने ठहरेकोले शुरु फैसलाले वादीले प्रतिवादीवाट भराई पाउने ठहरेको कोर्टफि तथा अन्य दस्तुर वापतको रकम रु.८६६। मध्ये आधा ४३३। मात्र वादीले प्रतिवादीवाट भराई लिन पाउने हुँदा प्रतिवादीले पुनरावेदन अदालत नेपालगन्ज मा पुनरावेदन गर्दा मिति २०५१।७।४ मा र.नं. ४०७ वाट वाँके जिल्ला अदालतमा रु.८६६। धरौटी राखेको हुँदा ऐनका म्याद भित्र रकम माग्न आए सो रकमवाट रु.४३३। वादीलाई भराई दिई वाँकी रकम रु.४३३। प्रतिवादीलाई फिर्ता खर्च लेखि दिनु भनी शुरु वाँके जिल्ला अदालतलाई लगत दिनु ......२

प्रस्तुत मुद्दाको दायरीको लगत    कट्टा गरी मिसिल नियमानुसार गरी वुझाई दिनु ........ ३

 

उक्त रायमा म सहमत छु ।

 

न्या.शारदा श्रेष्ठ

इजलास अधिकृत टेकप्रसाद ढुङ्गाना

 

 

इति संवत् २०६१ साल जेष्ठ २१ गते रोज ५ शुभम्......................

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु