शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९०२२ - कर्तव्य ज्यान

भाग: ५५ साल: २०७० महिना: असोज अंक:

ने.का.प. २०७०,           अङ्क ६

निर्णय नं. ९०२२

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल

माननीय न्यायाधीश श्री प्रकाश वस्ती

०६७CR०२५५, ०२५६

फैसला मितिः २०७०।२।२०।२

 

मुद्दा : कर्तव्य ज्यान ।

 

पुनरावेदक प्रतिवादीः झापा जिल्ला, धरमपुर गा.वि.स. वडा नं. ५ बस्ने बमबहादुर बस्नेतसमेत

विरूद्ध

प्रत्यर्थी वादीः गंगाबहादुर कार्कीको जाहेरील नेपाल सरकार

 

पुनरावेदक वादीः गंगाबहादुर कार्कीको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी प्रतिवादीः झापा जिल्ला, धरमपुर गा.वि.स. वडा नं. ५ बस्ने बमबहादुर बस्नेत समेत

 

शुरू फैसला :

मा.न्या.श्री अवधबिहारी प्रसाद सिन्हा

पुनरावेदन फैसला :

मा.का.मु. मु. न्या. श्री पुरूषोत्तम पराजुली

मा.न्या. श्री पुरूषोत्तम भण्डारी

 

§  अपराधका सम्बन्धमा खडा भएका मुचुल्काहरूमा प्रामाणिक शक्ति हुन्छ । तिनमा व्यक्त तथ्यले अपराधको वस्तुस्थिति बताउँछन् । व्यक्तिले झूठो बोल्न सक्दछ तर वस्तुस्थितियुक्त तथ्यले कहिल्यै झूठो बोल्दैन ।

(प्रकरण नं.)

 

§  फोटो, भिडियो, अडियो, सीडी आदि डिजिटल सामग्री लिखत हुन् । यिनको प्रामाणिक मूल्यलाई अस्वीकार गर्नु न्यायसङ्गत हुँदैन । तथ्यका प्रत्येक गवाह प्रमाण हुन् । मुद्दाका कुनै पक्षबाट फोटो, भिडियो, अडियो, सीडी आदि डिजिटल प्रति प्रमाणका रूपमा प्रस्तुत हुन्छन् र अर्को पक्षबाट तिनमा इन्कारी जनाइदैन भने लिखित प्रमाणका रूपमा यी ग्राह्य हुन्छन् । यस्ता प्रमाणका विषयमा विवाद उठेमा तिनको सत्यता परीक्षणको विषय बन्दछ । अन्यथा लिखत प्रमाणका आधुनिक स्वरूपलाई सतर्कता साथ ग्रहण गर्दै जानुपर्ने ।

(प्रकरण नं.६)

§  जीवनप्रति जिविषा राख्ने युवतीले सहजै आत्महत्या गर्ने निर्णय लिन कुनै अपरिहार्य कारण हुनै पर्छ । आत्महत्या गर्न मानिसले तत्काल पनि निर्णय लिन सक्दछ । आत्महत्या गर्न एक्कासी मन परिवर्तन भई अठोट गरिन पनि सक्दछ । तर यसका पछाडि भरपर्दो कारण भने हुनै पर्ने ।

(प्रकरण नं.७)

§  आत्महत्या गर्ने व्यक्तिले आफ्नो निर्णय बिनाव्यवधान कार्यान्वयन होस् र त्यसमा आफूलाई सफलता मिलोस् भन्ने ध्येय राखेको हुन्छ । यसकारण उसले आफ्नो निर्णय कार्यान्वयन गर्न भरपर्दो र सुरक्षित स्थानको चयन गर्ने

(प्रकरण नं.८)

§  दुई विपरीत खालका अभिव्यक्ति मिसिल सामेल रहेकोमा अदालतले स्वतन्त्र प्रमाणबाट पुष्टि हुने कथनलाई प्रमाणमा लिनुपर्ने हुन्छ । अधिकारप्राप्त अधिकारीसमक्षको साबिती र अदालत समक्षको इन्कारीमध्ये कुनलाई प्रमाणमा ग्रहण गर्ने भन्ने सन्दर्भमा कुन कथन अन्य प्रमाणबाट समर्थित हुन्छ भन्ने कुरा नै अदालतले निष्कर्ष निकाल्ने आधार हो । अधिकारप्राप्त अधिकारीसमक्ष व्यक्त गरेका कुरा प्रमाण शून्य हुने होइनन् । न त प्रतिवादीहरूको अदालतसमक्षको इन्कारी नै अकाट्य प्रमाण मानिने हो । अदालतसमक्ष इन्कारी गर्दा अधिकारप्राप्त अधिकारीसमक्ष के कुन कारण र कसरी साबित बनाइयो भन्ने कुराका हकमा व्यक्त गरेको कुरामा अदालतले ध्यान दिनुपर्ने ।

(प्रकरण नं.१५)

§  प्रमाण ऐन, २०३१ को दफा ९(२) ले व्यवस्था गरेका भय, त्रास, प्रलोभनसमेतका अबस्था देखिएमा अभियुक्तको अदालतबाहेक अन्यत्र व्यक्त गरेको कुरा प्रमाण नलाग्ने हुन्छ । अभियुक्तले अधिकार प्राप्त अधिकारीसमक्ष कुनै कुरा व्यक्त गर्दाको अवस्थाको सचेतता, यातना, धम्की र प्रलोभन दिएको थिएन भन्ने प्रत्याभूति प्रमाणित गर्नुपर्दछ । तर, यी अवस्थाको जिकीर र आधार भने मिसिलबाट देखिनुपर्ने ।

§  मुद्दाको एक पक्ष सरकारको प्रतिनिधि अनुसन्धान अधिकारीले आफ्नो विपक्षलाई कब्जामा राखी व्यक्त गराइएका अभिव्यक्तिलाई अदालतले सहजै विश्वास गरी प्रमाणको रूपमा ग्रहण गर्न नहुने भन्ने नै प्रमाण ऐन, २०३१ को दफा ९(२) को आशय भएकाले उक्त दफाको परिपालनकै सन्दर्भमा म्याद थपका लागि अदालतमा पेश गरिँदा अभियुक्तलाई सशरीर न्यायाधीशसमक्ष उपस्थित गराउनु पर्ने, त्यस बेलासम्म खडा भएका लिखतमा अदालतले छाप लगाई दिने र अभियुक्तसँग सोधपूछ गर्दा आवश्यकता महसूस गरिएमा तत्कालै घाँ जाँच वा स्वास्थ्य परीक्षण गराउन अस्पताल पठाइने कार्यविधि सुनिश्चित् छ । अदालतबाहेक अन्यत्र अभियुक्तले व्यक्त गरेका कुरा प्रमाणमा ग्रहण गर्दा सतर्कता अपनाउनु पर्ने ।

§  अन्य स्वतन्त्र प्रमाणले पुष्टि गरेको अवस्था र अधिकारप्राप्त अधिकारीसमक्षको आफ्नो कथन ईच्छाविरुद्धको हो भनी लिएको जिकीरलाई विश्वास गर्न सकिने आधार नदेखाइएको अवस्थामा सो कथन प्रमाण शून्य हुन्छ भन्न नसकिने ।

(प्रकरण नं.१६)

§  निःसन्देह फौजदारी मुद्दामा प्रमाण ऐन, २०३१ को दफा २५ ले प्रमाणको भार वादीमा रहने कुरा हो । प्रतिवादीहरूलाई आफूविरुद्धको कारवाहीमा चूपचाप बस्ने हक अवश्य छ । तर, चूप नबसी आफ्नो सफाइमा तथ्य व्यक्त गर्ने व्यक्तिका दायित्व पनि सोही प्रमाण ऐनको दफा २७(१) द्वारा अभिनिश्चित् छन् । अधिकारप्राप्त अधिकारीसमक्षको कथनलाई इन्कार गरिएको अवस्थामा त्यसका आधार र कारण पनि व्यक्त गर्नु पर्दैन भन्ने प्रमाण ऐन, २०३१ को दफा २५ को मनशाय होइन ।

(प्रकरण नं.१७)

§  साक्षीको योग्यता अदालतबाट निजलाई सोधिएको प्रश्न बुझ्न सक्ने र सोको युक्तियुक्त जवाफ दिन सक्ने हुनुपर्दछ । यस कानूनी व्यवस्थाको प्रयोजनार्थ आफूबाट के कुरा जान्न खोजिएको हो सो बुझ्न सक्ने हुनुको साथै निजले सो सोधिएको प्रश्नलाई समुचित ढङ्गले सम्बोधन गरेको छ भन्ने न्यायाधीशलाई लागेमा त्यस्तो साक्षीको बकपत्रलाई प्रमाणमा लिन हुन्छ । योग्य साक्षी हुन कुनै उमेरको छेकवार प्रमाण ऐन, २०३१ को दफा ३८ ले लगाएको छैन । कम उमेरका नाबालिगसमेत निजलाई गरिएको प्रश्नले के मागेको छ बुझ्नसक्ने हुनु र त्यस प्रश्नको जिज्ञासालाई समुचितरूपमा समाधान गर्नसक्ने क्षमता हुनु नै योग्य साक्षी हुन पर्याप्त हुने ।

§  उत्तर सकारात्मक वा नकारात्मक जे जस्तो होस् त्यसले प्रश्नका माध्यमबाट अदालतले जान्न चाहेको तथ्य नाबालिग समेतबाट सहज रूपमा प्रकट हुनु नै त्यस उत्तरको युक्तियुक्तताको परिचय हो । कुनै नावालिकाको कथन प्रमाणमा लिने वा नलिने भन्ने सन्दर्भमा यकीन गर्नु पर्दा निजलाई सोधिएका सम्पूर्ण प्रश्नहरू र तिनको उत्तरको अध्ययन गरिनु पर्ने ।

(प्रकरण नं.२०)

§  कुनै पनि प्रमाणले पुष्टि नगर्ने विशेषज्ञको राय विचारयोग्य हुँदैन । विशेषज्ञको राय अदालतको सन्तुष्टिका लागि हो । मिसिल संलग्न प्रत्यक्षदर्शीको कथन, लासका फोटोहरू, घटनास्थल मुचुल्का तथा स्वयम् प्रतिवादीहरूको कथनसमेतका प्रमाणले सिधै इन्कार गर्ने भीषेरा परीक्षण प्रतिवेदनबाट अदालत भ्रमित हुनुपर्ने अवस्था नहुँने ।

§  आत्महत्या गर्नकै लागि विषादि सेवन गर्ने व्यक्तिले झुण्डिनु पर्ने आवश्यकता नपर्ने ।

(प्रकरण नं.२३)

§  कुनै पनि कुराको परीक्षण गर्न एक ठाउँबाट अर्को ठाउँमा पठाइँदा सो परीक्षण गर्न के कसरी पठाइयो, परीक्षण विधि के कस्तो रह्यो र लासका भीषेरा नमूना समेत सुरक्षित राख्न तथा यो नमूना परिवर्तन नहुने व्यवस्था गर्न के कस्ता प्रक्रिया अपनाइयो भन्ने समेतका आधार खुलाइएको देखिनु पर्ने ।

§  कुनै पनि राय निरापद हुन सक्तैन । बिना आधारको राय अदालतको विचारवस्तु बन्दैन । प्रस्तुत विवादमा मृतकको भीषेरा परीक्षणका विषयमा यस्ता कुनै कुरा खुलाइएको नपाइदा विशेषज्ञ भनिएको व्यक्तिको फगत रायमा न्यायकर्ता रुमलिन आवश्यक नहुने ।

(प्रकरण नं.२४)

§  मृतकको शरीरमा हात हाल्ने व्यक्तिलाई ज्यानसम्बन्धीको १७ नं. आकर्षित हुन नहुने

(प्रकरण नं.२७)

§  घरपरिवारसमेतका सबैजना मिली जेठानीलाई दिएको यातना एव कुटपीट समेतको कर्तुत आफ्नै आँखाले देखे भोगेकी बुहारीले घरपरिवारको डर, सामाजिक परिवेश र पतिको आदेश समेतका कारणले कुनै प्रतिक्रिया नजनाउनुलाई मतसल्लाहमा पसेको भनी प्रतिवादीलाई दोषी ठहर गर्न नमिल्ने ।

§  हत्या गर्ने मतसल्लाहमा पस्नु र प्रतिक्रिया नजनाउनु विल्कुल अलग कार्य हुन् । मार्ने योजनामा सहमति जनाउनु वा सो योजनाको पूर्व जानकारी राख्नु मतसल्लाहमा पसेको मान्ने आधार हुन सक्दछन् । तर, आफूबाहेक अरूले गरेको मतसल्लाहअनुसारको कार्यको दर्शक हुनु नै आरोपित कसूर गरेको प्रमाण हुन नसक्ने ।

(प्रकरण नं.२८)

 

प्रतिवादीहरूका तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ताहरू डा.रजितभक्त प्रधानाङ्ग, कृष्णप्रसाद सापकोटा, लवप्रसाद मैनाली र विद्वान अधिबक्ता निर्मला शाक्य

वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता भरतलाल शर्मा र जाहेरवालाको तर्फबा६ विद्वान अधिबक्ता चन्द्रप्रसाद काफ्ले

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  ज्यानसम्बन्धी महलको १३(३), १७, १७(३) नं.

§  प्रमाण ऐन, २०३१ को दफा ९(२), २५, ३८ नं.

 

फैसला

            न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत, इलामको मिति २०६५।८।२९ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम प्रतिवादीहरू एवं वादी नेपाल सरकारको तर्फबाट मुद्दा दोहोर्‍याई पाऊँ भनी परेको निवेदनमा यस अदालतबाट निस्सा प्रदान भै पुनरावेदनको रोहमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ :

जिल्ला झापा, धरमपुर गा.वि.स.वडा नं.५ मा पर्ने बमबहादुर बस्नेतको घरको पूर्वमा निजकै जमीन, पश्चिममा ढकबहादुर बस्नेतको घर, उत्तर रत्नबहादुर बस्नेतको जमीन, दक्षिण पुण्यबहादुर बस्नेतको घर यति चारकिल्लाभित्र पर्ने टिनको छानो काठको बेरा भएको दुई तले घरको माथिको तलामा चढ्ने भर्‍याङ पूर्वबाट अंग्रेजी एल आकारको पूर्व पश्चिम दुवैतर्फ वरण्डा निकालेको माथिको तलामा सात कोठा भएको, सबैभन्दा पूर्वतर्फको कोठामा मृतक शारदा बस्नेत बस्ने सुत्ने गरेको, सो कोठामा दुईवटा खटिया र दराजसमेत रहेका, दक्षिणतर्फको झ्याल खुल्ला भई काठको डण्डी ठोकेको, एउटा डण्डीमा कपडाको सल बाँधेको, सो झ्यालको पूर्वतर्फको भागको एउटा डण्डी उप्काई भूईंमा झरेको, सो भाग १० इञ्च खाली रहेको, पश्चिम पूजाकोठामा बाहिरबाट ढोका लगाएको, खोली हेर्दा भित्र कोठाको बीचमा जमीनदेखि ६ फीट ५ इञ्चमाथि छानोको काठमा कपडाको सल बाँधी मृतक शारदा बस्नेत झुण्डिएको, मृतकको दुवै खुट्टाले जमीन टेकेको, केश खुल्ला रही पछाडि गुजुल्टी पारेको, दुवै आँखा बन्द, मुख बन्द, दुवै खुट्टाको घुडामुनि पछाडिपट्टि डोरीले वाँधेको जस्तो डाम र गालामा नीलो डाम देखिएको, योनीबाट रगत आएको, मलद्वारबाट दिसा निस्किएको, घाँटीमा डोरीको डाम वरिपरि भएको, सो डाम अढाई इञ्च जतिभित्र गाडिएको, डाम कालो देखिएको भन्ने समेत मृतक शारदा बस्नेतको लास जाँच तथा घटनास्थल मुचुल्का ।

मेरी छोरी शारदा बस्नेतलाई मिति २०५६ सालमा जातीय रीतअनुसार प्रतिवादी उदयकुमार बस्नेतसँग विवाह गरी दिई घरमै बस्दै आएकीमा माइतीबाट रङ्गीन टी.भी. र कम दाइजो दिएको भनी सासू र पति उदयकुमारले हेला होचो गरी बारम्बार कुटपीट गर्ने गरेको, मानसिक यातना दिने, दिमाग बिग्रेको भनी के कुन इन्जेक्सन लगाउने गरेको, कान्छी विवाह गर्न सहमति गर भनी कोठामा थुन्ने गरेको भनी छोरीले दुखेसो गर्दै आएकीमा मिति २०६२।११।३ गते ज्वाइँ उदयकुमार बस्नेतले गाउँकै जमुना चौहानलाई कान्छी श्रीमती विवाह गरेको भनी गाउँमा हल्ला भएपछि मसमेत माइती पक्षबाट मिति २०६२।११।७ गते निजको घरमा आई समाज बसी छलफलसमेत गर्दा त्यसरी छोरीलाई यातना दिएको कुटपीट गरेको कुरा छोरीले समाजमा बताउनुको साथै शरीर खोलेर नीलडामसमेत देखाएकोमा जे भयो अब पहिला औषधिउपचार गराउने त्यसपछि अंश लिएर बस्न चाहेमा पाउने, अंशसमेत दिलाई दिने कुरामा सहमति भई हामी माइती पक्षसमेत हिँडेका र मिति २०६२।११।८ गते बिहान छोरीको लास हेर्दा छोरीलाई कुटपीट गरी बाँधी कर्तव्य गरी मारी झुण्ड्याएको अवस्थामा लास देखेकोले मेरी छोरीलाई ससुरा बमबहादुर बस्नेत, सासू भद्रकुमारी बस्नेत, ज्वाइँ उदयकुमार बस्नेत, देवर रमेश बस्नेत, देउरानी तारा बस्नेतसमेतले निर्ममतापूर्वक कुटपीट गरी कर्तव्य गरी मारी झुण्ड्याएको कुरा स्पष्ट हुँदा अपराधीहरूलाई पक्राउ गरी अन्य अपराधीहरू भए निजैहरूबाट खुलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको कसूरअनुसार कारवाही गरी सजायसमेत गरिपाऊँ भन्नेसमेत व्यहोराको गंगाबहादुर कार्कीको जाहेरी दरखास्त ।

मृतक शारदा बस्नेतको शरीरमा चोट पटक लागेको र अत्यधिक रक्तश्राव भएर मृत्यु भएको हो भन्ने समेत लास जाँच शव परीक्षण प्रतिवेदन ।

मेरो घर जिल्ला झापा, धरमपुर५ मा पर्छ । मेरो बुबा सुपल मुर्मु प्रतिवादी बमबहादुर बस्नेतको घरमा हलीको काम गर्ने गर्नु हुन्छ । म भाँडा माझ्ने काम गरी आएकोमा मेरो बुबा जहिले पनि बेलुकी आफ्नै घरमा जाने र म त्यहीँ बस्ने गरेकोमा उक्त घरमा जेठी बुहारी मृतक शारदा बस्नेतलाई निजकी सासू र पतिले हेलाँ होचो गरी रहने, कुटपीट गर्ने, माइतीबाट टी.भी. र मोटरसाइकल ल्याइनस् भनी कान्छी विवाह गर्न सहमति गर् भनी दबाब दिइरहन्थे । उक्त घरमा मृतकका ससुरा बमबहादुर बस्नेत, सासू भद्रकुमारी बस्नेत, पति उदयकुमार बस्नेत, देवर रमेश बस्नेत, देउरानी तारा बस्नेत र मसमेत बस्ने गरेकोमा म शारदा बस्नेतसँग कोठामा सुत्ने बस्ने गरिआएकी थिएँ । मिति २०६२।११।३ गते उदयकुमार बस्नेतले कान्छी श्रीमती जमुना चौहानलाई विवाह गरी हिँडेपछि मृतक शारदा बस्नेतको माइती पक्ष र स्थानीय गाउँ समाज मिति २०६२।११।५ र ७ गते बसी छलफल गरी मृतकलाई औषधिउपचार गराउने, त्यसपछि पाउने अंशसमेत दिने कुरा भएको थियो । मिति २०६२।११।७ गते बेलुकी उक्त घरमा सबै परिवार आआफ्नो कोठामा सुतेपछि म पनि शारदासँग निजको कोठामा सुतेकीमा करीब १० बजेतिर बाहिर आँगनमा दुईवटा मोटरसाइकल आई रोकी आएका मानिसहरू सरासर माथि बरण्डामा चढी बमबहादुर र भद्रकुमारी सुतेको कोठामा गए, धेरै बेर चकमन्न भयो । केही छिनपछि उदयकुमार बस्नेत हामी सुतेको कोठामा आई शारदा ढोका खोल् भनी २/३ पटक बोलाएपछि शारदाले ढोका खोलिन । उदयभित्र पसी बत्ती बाली बाहिर आइज एकछिन काम छ भन्दा शारदा नमानेकाले तानी खटियाबाट तल झारी कुटपीट गर्न थाले । तेरो लोग्ने हैन, मेरो लोग्ने हो भन्दै निजको कान्छी श्रीमती जमुना चौहानले कपाल भुत्लाउन थालिन् । अन्य नचिनेको तीनजना केटा तथा रमेश बस्नेत समेतभित्र पसी बाँध्ने, मुख थुन्ने र लौराले हिर्काउन थाले । त्यसपछि बमबहादुर र भद्रकुमारी आई मुख थुने, बाँधी कुटपीट गर्न थाले । मलाई ताराको कोठामा जा भनी बाहिर निकाले । म ताराको कोठामा जाँदा ताराले हेरिरहेकी र सुनिरहेकी थिइन् । एकछिन पछाडि शारदालाई लल्याकलुलुक अवस्थामा बाहिर बरण्डामा निकाली तल झार्न खोजे । पुनः भित्र लगी झ्यालको सेप्टीमा कपडाले सल बाँधी घाँटीमा कसे । सेप्टी उक्काई तल झार्न खोजे नछिरेपछि सबैले बोकेर बाहिर ल्याई पूजा कोठामा लगी झुण्डाई मृतकको मुखसमेत धोई पखाली गरी सबैजना शारदालाई मारेकै कोठामा जम्मा भई मलाईसमेत बोलाई कसैलाई भनिस् भने मारी दिन्छु भने । तारालाई समेत राम्रो सम्झाउनु भनी रमेशलाई अह्राए । त्यसपछि निजहरू मोटरसाइकलमै राति नै गए । भद्रकुमारीले मृतकको बच्चा आफ्नो कोठाबाट निदाएकै अवस्थामा बोकेर ल्याई मसमेत शारदाकै कोठामा सुत्यौं । भोलिपल्ट बिहान पूजा कोठामा बुहारी झुण्डिएर मरिछन् भनी भद्रकुमारीले हल्ला गरेकी हुन् भन्नेसमेत फुच्ची भन्ने छम्मी मुर्मु सतारको कागज ।

मेरो रमेश बस्नेतसँग विवाह भएपछि घरमै रही आएकी छु । घरमा सासू भद्रकुमारी बस्नेत र जेठाजु उदयकुमार बस्नेतले जेठानी दिदीलाई हेलाहोचो गर्ने, माइतीबाट रङ्गीन टी.भी. र मोटरसाइकल नदिएको भनी कुटपीट गर्ने गरेको र कान्छी श्रीमती विवाह गर्न सहमति दे भनी दबाब दिने गरेका थिए । मिति २०६२।११।३ गते जेठाजुले कान्छी श्रीमती जमुना चौहानलाई विवाह गरी हिँडेपछि जेठानी दिदीका माइती पक्ष आई मिति २०६२।११।५ र ७ सात गते समाज बसी छलफल गरी शारदाको औषधिउपचार गराउने त्यसपछि अंश लिएर बस्न चाहेमा अंश दिनु कुरा भएको थियो । मिति २०६२।११।७ गते बेलुका मैले खाना बनाई सबैलाई खुवाई आआफ्नो कोठामा सुतेको र सदा झैं जेठानी दिदी शारदा र काम गर्ने फुच्ची छम्मी शारदाकै कोठामा सुतेकोमा राति करीब १० बजेतिर दुई वटा मोटरसाइकल आँगनमा आएकोमा एउटामा जेठाजु उदय र निजकी कान्छी श्रीमती जमुना र अर्कोमा नचिनेका तीनजना केटा मानिसहरू थिए । निजहरू माथि चढी सरासरी सासू, ससुराको कोठामा गए । मेरो श्रीमान् पनि उठेर उत्तै गए । एकछिन पछि जेठाजु, जेठानी शारदा दिदीको कोठामा गई ढोका खोल्न लगाई ढोका खोलेपछि भित्र गए । कोठामा पसी के कुरा भयो शारदालाई जेठाजुले विस्ताराबाट तल झारी कुटपीट गर्न थाले । निजकी कान्छी श्रीमती जमुना पनि गै भुत्ल्याउन थालिन् । त्यसपछि ती तीनजना नचिनेका केटाहरू तथा मेरा श्रीमान् रमेश, सासू, ससुरासमेत भित्र पसी फुच्ची छम्मीलाई मेरो कोठामा पठाई कोठाभित्र शारदालाई कुटपीट गरी बाँधी मारेपछि बहिर बरण्डामा ल्याई तल झार्न खोजे । पुनः कोठामै लगी एकछिनपछि सबैले बोकी बाहिर ल्याई पूजा कोठातर्फ लगी झुण्ड्याएका हुन् । त्यसपछि सबै जनाले छम्मीलाई समेत बोलाई शारदालाई मारेको कोठामा गई एकछिन कुराकानी गरी मोटरसाइकलमै चढी निजहरू गए । मेरो श्रीमान् रमेश बस्नेत मेरो कोठामा आई कसैलाई नभन्नु, भाउजुलाई पूजा कोठामा झुण्ड्याएको छ, भोलि बिहान आफैँ झुण्डिएर मरिछन् भनी हल्ला गर्नुपर्छ भने । जेठानी दिदीलाई औषधिउपचार गर्दा खर्च लाग्ने र अंशसमेत दिनुपर्ने, चित्त नबुझे बहुविवाहमा मुद्दासमेत गरी दुःख दिनसक्ने हुँदा त्यसरी कर्तव्य गरी अपराध लुकाउन झुण्ड्याएको हो । मार्ने कामको लागि म गइन, हेरे देखेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी तारा बस्नेतको बयान ।

बुहारी शारदा बस्नेतलाई हेलाँहोचो गर्ने, माइतबाट रङ्गीन टी.भी. र मोटरसाइकल नल्याएको भनी कुटपीट गर्ने गरेको र कान्छी श्रीमती विवाह गर्न सहमति दे भनी दबाब दिने गरेका थिए । मिति २०६२।११।३ गते छोराले कान्छी श्रीमती जमुना चौहानलाई विवाह गरी हिँडेपछि माइती पक्ष आई मिति २०६२।११।५ र ७ गते समाज बसी छलफल भएकोमा माइती पक्ष आक्रोशमा आएकोले रिस उठी रहेको थियो । चित्त नबुझी छलफलमा बसी शारदालाई औषधिउपचार गर्ने र त्यसपछि पाउने अंश दिने कुराको सहमति भएको थियो । त्यसो गर्दा सँगोलको सम्पत्ति खर्च हुने कुरामा घर परिवार चिन्तामा थियौं । सदाझैं बेलुकी राति करीब १० बजेतिर जेठो छोरो उदय र निजकी कान्छी श्रीमती जमुना एउटामा र अन्य नचिनेका तीनजना अर्को मोटरसाइकलमा आई सरासरी म, मेरो श्रीमती र दुई बच्चा सुतेको कोठामा आए । अर्को माहिलो छोरा रमेश पनि कोठाबाट उठेर त्यहीँ आयो । उदयले शारदालाई मारेर झुण्ड्याउने कुरा गरेपछि सबैको सहमति भई उदय र निजकी कान्छी श्रीमती शारदाको कोठा ढोकामा गई बोलाई शारदाले भित्रबाट ढोका खोलेपछि निजहरू भित्र पसी कुटपीट गरे । त्यसपछि निजहरूले ल्याएका नचिनेका तीनजना र छोरा रमेश बस्नेत समेत गए । अन्त्यमा, म र मेरी श्रीमती भद्रकुमारी जाँदा काम गर्ने केटी फुच्ची भन्ने छम्मीसमेत त्यहीँ कोठामा हुँदा निजलाई बाहिर निकाली ताराको कोठामा पठाई मसमेतले शारदालाई मुख थुनी कर्तव्य गरी मारेको हो । त्यसपछि सोही कोठामा झ्यालबाट तल झुण्डाई दिन झ्यालको सेप्टी उक्काई छिराउन खोज्दा नछिरेपछि सबैले बोकेर पूजा कोठामा लगी झुण्ड्याएको र सबैजना शारदाको कोठामा जम्मा भई छम्मीलाई समेत बोलाई यो कुरा कसैलाई नभन्ने, भोलि आफै झुण्डिई मरेको भनी हल्ला गर्नुपर्छ भनी सल्लाह गरी निज छोरा उदयसमेत राति नै मोटरसाइकलमा गएको हो । उक्त अपराध वारदात मसमेत मिली गरेको हो । बुहारी तारा बस्नेत शारदालाई मारेको झुण्डाएको ठाउँमा गइनन् भन्नेसमेत प्रतिवादी बमबहादुर बस्नेतले गरेको बयान ।

मृतक शारदालाई मेरो छोराले विवाह गरी ल्याएपछि छोरा बुहारीबीच वादविवाद झगडा भैरहने गरेको र मसमेतसँग कहिलेकाँही झगडा हुने गरेकोले छोरा बुहारीलाई कान्छी श्रीमती विवाह गर्न सहमति गर भनी दबाब दिने गरेको थिएँ । मिति २०६२।११।३ गते छोरा उदयले कान्छी श्रीमती जमुना चौहानलाई विवाह गरी हिँडेपछि माइती पक्ष आई मिति २०६२।११।५ र ७ गते समाज बसी छलफल भएकोमा माइती पक्ष आक्रोशमा आएकाले रिस उठिरहेको थियो । चित्त नबुझी नबुझी छलफलमा बसी शारदालाई औषधिउपचार गर्ने र त्यसपछि पाउँने अंश दिने कुराको छलफल गरी सहमति भएको थियो । त्यसो गर्दा सँगोलको सम्पत्ति खर्च हुने कुरामा घरपरिवार चिन्तामा थियौं । सदा झैं बेलुकी राति हामी पनि सुतेको र शारदा र काम गर्ने केटी पनि शारदाकै कोठामा सुतेको अवस्थामा राति करीब १० बजेतिर जेठा छोरो उदय र निजको कान्छी श्रीमतीसमेत हामी सुतेको कोठामा आए । अर्को माहिलो छोरा रमेश पनि कोठाबाट उठेर त्यहीँ आयो । उदयले शारदालाई मारेर झुण्ड्याउने कुरा गरेपछि सबैको सहमति भई उदय र निजकी कान्छी श्रीमती शारदाको कोठाको ढोकामा गई बोलाई शारदाले भित्रबाट ढोका खोलेपछि निजहरू पसी कुटपीट गरे । त्यसपछि निजहरूले ल्याएका नचिनेका तीनजना र छोरा रमेश बस्नेतसमेत गए । म र मेरो श्रीमान्समेत गई काम गर्ने केटी फुच्ची भन्ने छम्मी समेत त्यहीँ कोठामा हुँदा निजलाई बाहिर निकाली ताराको कोठामा पठाई मसमेतले शारदालाई मुख थुनी कर्तव्य गरी मारेको हो । त्यसपछि सबैले बोकेर पूजा कोठामा लगी झुण्ड्याएको र सबै जना शारदाको कोठामा जम्मा भई छम्मीलाई समेत बोलाई यो कुरा कसैलाई नभन्ने, भोलि आफै झुण्डिएर मरेको भनी हल्ला गर्नुपर्छ भनी सल्लाह गरी निज छोरा उदयसमेत राति नै मोटरसाइकलमा गएको हो । उक्त अपराध वारदात मसमेत मिली गरेको हो भन्ने समेत प्रतिवादी भद्रकुमारी बस्नेतले गरेको बयान ।

म प्रतिवादीहरूको घरमा हलो जोत्ने र छोरी छम्मी भाँडा माझ्ने काम गर्दछौं । मेरो छोरी मृतक शारदासँगै सुत्ने गरी आएकी थिइन् । शारदालाई सासू तथा निजको पतिले कुटपीट गर्ने, कान्छी श्रीमती ल्याउन सहमति गर् भनी दबाब दिने गरेकोमा मिति २०६२।११।३ गते प्रतिवादी उदय बस्नेतले कान्छी श्रीमती विवाह गरी लगेपछि २०६२।११।५ र ७ गते शारदाका माइतीपक्ष र घर समाज बसी छलफल गरी शारदालाई पहिला औषधिउपचार गर्ने र त्यसपछि अंश दिनेसमेतको सहमति भएकोमा मिति २०६२।११।७ गते राति मृतक शारदालाई निजको श्रीमान् उदयकुमार बस्नेत, कान्छी श्रीमती जमुना र अन्य नचिनेका तीनजना र घर परिवारसमेत मिली कर्तव्य गरी मारेको कुरामा मलाई पूर्ण विश्वास लाग्छ भन्ने समेत व्यहोराको सुपल मुर्मुको कागज ।

मेरी भतिजी छोरी मृतक शारदा बस्नेतलाई प्रतिवादी उदय बस्नेतसँग विवाह गरी दिई घरमै बस्दै आएकीमा माइतीबाट रङ्गीन टी.भी. र मोटरसाइकल नल्याएको भनी सासू र पति उदयकुमारले हेलाहोचो गरी बारम्बार कुटपीट गर्ने गरेको, मानसिक यातना दिने, दिमाग बिग्रेको भनी के कुन इन्जेक्सन लगाउने गरेको, कान्छी विवाह गर्न सहमति गर् भनी कोठामा थुन्ने गरेको भनी छोरीले दुखेसो गर्र्दै आएकीमा मिति २०६२।११।३ गते ज्वाइँ उदयकुमार बस्नेतले गाउँकै जमुना चौहानलाई कान्छी श्रीमती बनाई विवाह गरेको भनी गाउँमा हल्ला भएपछि मसमेत माइती पक्षबाट मिति २०६२।११।५ र ७ गते निजको घरमा गई समाज बसी छलफलसमेत गर्दा त्यसरी छोरीलाई यातना दिएको, कुटपीट गरेको कुरा छोरीले समाजमा बताउनुका साथै शरीर खोलेर नीलडामसमेत देखाएकोमा जे भयो, अव पहिला औषधिउपचार गराउने त्यसपछि अंशसमेत लिन चाहेमा पाउने अंशसमेत दिलाई दिने कुरामा सहमति भएकोमा त्यसरी औषधिउपचार गर्दा सम्पत्ति खर्च हुने र अंशसमेत दिनुपर्ने, चित्त नबुझाए बहुविवाहमा मुद्दा गरी दुःख दिन सक्ने हुनाले मारी झुण्ड्याउँदा अपराध पनि छिप्ने, अन्य केही गर्न नपर्ने कुरामा सहमति भै मिति २०६२।११।७ गते राति प्रतिवादी उदयकुमार बस्नेत निजकी कान्छी श्रीमती जमुना चौहान र अन्य नचिनेका तीनजना व्यक्तिसमेत मोटरसाइकलमा आई घर परिवारसमेतसँग सल्लाह गरी कुटपीट गरी बाँधी कर्तव्य गरी मारी झुण्ड्याएको कुरामा पूर्ण विश्वास लाग्छ भन्ने समेत व्यहोराको हरिबहादुर कार्कीको कागज ।

मेरी दिदी मृतक शारदा बस्नेतलाई प्रतिवादी उदय बस्नेतसँग विवाह गरी दिई घरमै बस्दै आएकीमा माइतीबाट रङ्गीन टी.भी. र मोटरसाइकल नल्याएको भनी सासू र पति उदय कुमारले हेलाहोचो गरी बारम्बार कुटपीट गर्ने गरेको, मानसिक यातना दिने, दिमाग बिग्रेको भनी के कुन इन्जेक्सन लगाउन गरेको, कान्छी विवाह गर्न सहमति गर भनी कोठामा थुन्ने गरेको भनी दिदीले दुःखेसो गर्ने गर्दथिन् । मिति २०६२।११।३ गते भिनाजु उदयकुमार बस्नेतले गाउँकै जमुना चौहानलाई कान्छी श्रीमती विवाह गरेको भनी गाउँमा हल्ला भएपछि मसमेत माइती पक्षबाट मिति २०६२।११।५ र ७ गते निजको घरमा गई समाज बसी छलफलसमेत गर्दा त्यसरी दिदीलाई यातना दिएको कुटपीट गरेको कुरा दिदीले समाजमा बताउनुको साथै शरीर खोलेर नीलडामसमेत देखाएकोमा जे भयो अब पहिला औषधि उपचार गराउने त्यसपछि अंश लिएर बस्न चाहेमा पाउने अंशसमेत दिलाई दिने कुरामा सहमति भएकोमा त्यसरी औषधिउपचार गर्दा सम्पत्ति खर्च हुने र अंशसमेत दिनुपर्ने, चित्त नबुझाए बहुविवाहमा मुद्दा गरी दुःख दिने, मारी झुण्ड्याउँदा अपराध पनि छिप्ने अन्य केही गर्न नपर्ने कुरामा सहमति भै मिति २०६२।११।७ गते राति प्रतिवादी उदयकुमार बस्नेत, कान्छी श्रीमती जमुना चौहान र अन्य नचिनेका तीनजना व्यक्तिसमेत मोटरसाइकलमा आई घरपरिवारसमेतसँग सल्लाह गरी कुटपीट गरी बाँधी कर्तव्य गरी मारी झुण्ड्याएको कुरामा पूर्ण विश्वास लाग्छ भन्नेसमेत वेहोराको बुझिएकी कमला थापाको कागज ।

मेरी भतिजी छोरी मृतक शारदा बस्नेतलाई माइतबाट रङ्गीन टी.भी.,मोटरसाइकल नल्याएको भनी सासू र पति उदयकुमारले हेलाहोचो गरी बारम्बार कुटपीट गर्ने गरेको मानसिक यातना दिने दिमाग बिग्रेको भनी के कुन इन्जेक्सन लगाउने गरेको, कान्छी विवाह गर्न सहमति गर् भनी कोठामा थुन्ने गरेको भनी छोरीले दुखेसो गर्दै आएकीमा मिति २०६२।११।३ गते ज्वाइँ उदयकुमार बस्नेतले गाउँकै जमुना चौहानलाई कान्छी श्रीमती विवाह गरेको भनी गाउँमा हल्ला भएपछि मसमेत माइती पक्षबाट मिति २०६२।११।५ गते निजको घरमा आई समाज बसी छलफल समेत गर्दा त्यसरी छोरीलाई यातना दिएको कुटपीट गरेको कुरा छोरीले समाजमा बताउनुको साथै शरीर खोलेर नीलडामसमेत देखाएकोमा जे भयो अब पहिला औषधिउपचार गराउने, त्यसपछि अंश लिएर बस्न चाहेमा पाउने अंशसमेत दिलाई दिने कुरामा सहमति भएकोमा त्यसरी औषधिउपचार गर्दा सम्पत्ति खर्च हुने र अंशसमेत दिनुपर्ने चित्त नवुझाए वहुविवाहमा मुद्दा गरी दुःख दिने, मारी झुण्ड्याउँदा अपराध पनि छिप्ने अन्य केही गर्न नपर्ने कुरामा सहमति भै मिति २०६२।११।७ गते राति प्रतिवादी उदयकुमार बस्नेत, निजकी कान्छी श्रीमती जमुना चौहान र अन्य नचिनेको तीनजना व्यक्तिसमेत मोटरसाइकलमा आई घर परिवारसमेतसँग सल्लाह गरी कुटपीट गरी बाँधी कर्तव्य गरी झुण्ड्याएको हुनुपर्छ भन्ने समेत व्यहोराको बुझिएका पूर्णबहादुर कार्कीको कागज ।

मृतक शारदा बस्नेतलाई प्रतिवादी उदय बस्नेतसँग विवाह गरी ल्याएको केही समयपछि माइतीबाट रङ्गीन टी.भी.र मोटरसाइकल नल्याएको भनी सासू र पति उदयकुमारले हेलाहोचो गरी बारम्बार कुटपीट गर्ने गरेको, मानसिक यातना दिने, दिमाग बिग्रेको भनी गाउँ घरमा भन्ने गरेको र उदयकुमारले कान्छी विवाह गर्न सहमति गर भनी कोठामा थुन्ने गरेकोमा मिति २०६२।११।३ गते उदयकुमार बस्नेतले गाउँकै जमुना चौहानलाई कान्छी श्रीमती विवाह गरेको भनी समाज बसी छलफलसमेत गर्दा समाजमा अब जे भयो उदयले गल्ती गर्‍यो हामी पहिला औषधिउपचार गराउने त्यसपछि अंश लिएर बस्न चाहेमा अंशसमेत दिने कुरामा सहमति भएकोमा त्यसरी औषधिउपचार गर्दा सम्पत्ति खर्च हुने र अंशसमेत दिनुपर्ने, चित्त नबुझाए वहुविवाहमा मुद्दा गरी दुःख दिने हुँदा मारी झुण्ड्याउँदा अपराध पनि छिप्ने, अन्य केही गर्न नपर्ने कुरामा सहमति भै मिति २०६२।११।७ गते राति प्रतिवादी उदयकुमार बस्नेत, कान्छी श्रीमती जमुना चौहान र अन्य नचिनेका तीनजना व्यक्तिसमेत मोटरसाइकलमा आई घरपरिवारसमेतसँग सल्लाह गरी कुटपीट गरी बाँधी कर्तव्य गरी मारी झुण्ड्याएको हो भन्ने समेत व्यहोराको बुझिएका रत्नबहादुर बस्नेतको कागज ।

मृतक शारदा बस्नेतलाई प्रतिवादी उदय बस्नेतसँग विवाह गरी ल्याएको केही समयपछि माइतीबाट रङ्गीन टी.भी.र मोटरसाइकल नल्याएको भनी सासू र पति उदयकुमारले हेलाहोचो गरी बारम्बार कुटपीट गर्ने गरेको, मानसिक यातना दिने, दिमाग बिग्रेको भनी गाउँ घरमा भन्ने गरेको र उदयकुमारले कान्छी विवाह गर्न सहमति गर भन्ने गरेको कुरा बुझेको हो । मिति २०६२।११।३ गते उदयकुमार बस्नेतले गाउँकै जमुना चौहानलाई कान्छी श्रीमती विवाह गरी लगेको थाहा भएकोले गाउँ समाज र माइती पक्षसमेत मिति २०६२।११।५ र ७ गते निजको घरमा आई समाज बसी छलफलसमेत गर्दा शारदा शिथिल जस्तो देखी समाजले के भयो भनी सोद्धा श्रीमान्‌समेतले यातना दिई कुटपीट गरिरहे भनी शरीरको नीलडामसमेत देखाएकी थिइन । उदयले गल्ती गर्‍यो, पहिला औषधिउपचार गराउने त्यसपछि अंश लिएर वस्न चाहेमा अंशसमेत दिने कुरामा सहमति भएकोमा त्यसरी औषधिउपचार गर्दा सम्पत्ति खर्च हुने र अंशसमेत दिनुपर्ने चित्त नवुझाए वहुविवाहमा मुद्दा गरी दुःख दिने भएकोले मारी झुण्ड्याउँदा अपराध पनि छिप्ने, अन्य केही गर्न नपर्ने कुरामा सहमति भै मिति २०६२।११।७ गते राति प्रतिवादी उदयकुमार बस्नेत निजकी कान्छी श्रीमती जमुना चौहान र अन्य नचिनेका तीनजना व्यक्ति समेत मोटरसाइकलमा आई घर परिवार समेतसँग सल्लाह गरी शारदा सुतेको कोठामा गई बाँधी घाँटी कसी कुटपीट गरी कर्तव्य गरी मारी झुण्ड्याएका हुन् । घरमा काम गर्न बसेकी छम्मी मुर्मुसमेतलाई कसैलाई नभन्नु भनी त्यहाँबाट राति नै गएको भन्ने कुरा हाल आएर प्रष्ट बुझिएकाले उक्त अपराध निज प्रतिवादीहरूले गरेको भन्ने कुरामा पूर्ण विश्वास लाग्छ भन्ने समेत बुझिएको वस्तुस्थिति मुचुल्काका पूर्णबहादुर बस्नेतसमेतको व्यहोरा ।

माथि उल्लिखित प्रतिवादीहरूको बयान, बुझिएका मानिसहरूको कागज र अन्य सबूद प्रमाणबाट समेत प्रतिवादीहरू मिली मृतक शारदा बस्नेतलाई मिति २०६२।११।७ गते राति डोरीले बाँधी कुटपीट गरी मारी अपराध लुकाउन झुण्ड्याएको कुरा प्रमाणित हुन आएकाले निज प्रतिवादीहरू बमबहादुर बस्नेत,  भद्रकुमारी बस्नेत, कुमार भन्ने उदयकुमार बस्नेत, रमेश बस्नेत र जमुना चौहानलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. को कसूरमा सोही ऐनको १३(३) नं बमोजिम र प्रतिवादी तारा बस्नेतलाई १७(३) नं. अनुसार सजाय गरिपाऊँ साथै फरार रहेका प्रतिवादी रमेश, जमुना र कुमार भन्ने उदयकुमार बस्नेतको हकमा अदालतबाटै वारेण्ट जारी गरिपाऊँ भन्नेसमेत व्यहोराको अभियोग पत्र ।

मिति २०६२।११।८ गते बिहान मेरी श्रीमती भद्रकुमारीले नाति नातिनीले दिसा पिसाव गरेको कोपरा लिई वरण्डाबाट फ्याँक्न जाँदा अं. बिहान ५.३० बजेको समयतिर बुहारी शारदा बरण्डाको पूजा कोठामा आफै झुण्डिएर मरेको देखी चिच्याएपछि म र माहिलो छोरा, बुहारी, नाति, नातिना सबै उठी शारदा भएको ठाउँमा गई हेर्दा मरी सकेकी रहिछन् । निजलाई मसमेत भई कुटपीट गरी मारी झुण्ड्याएको होइन । बुहारी शारदा र छोरा २०५६ सालको दशैँमा टीका लगाउन ससुराली गै टीका लगाई घर फर्कदा बाटामा बुहारीले अनौठो किसिमले गीत गाइछन् । छोराले निजको ससुरासमेतलाई लिएर बुहारीलाई उपचार गराउन सिलगुडी लगी उपचार गराई २०।२२ दिनसम्म औषधि खुवाउँदासमेत निको नभएकाले काठमाडौँमा लगी उपचार गराई औषधि खुवाई रहेको थियो । मिति २०६२।११।३ गते छोरो बोर्डिङ्गको परीक्षाको रिजल्ट ल्याउनु छ भनी घरबाट गएको त्यसपछि छोरा घरमा आएको थिएन । छोरा उदयले अर्की कान्छी श्रीमती ल्याएकोसमेत मलाई थाहा छैन । जाहेरवालाले किन म समेतले शारदालाई मारेको भनी जाहेरी दिए, निजसँग मेरो कुनै रिस इवी छैन । मसमेत भै शारदालाई मारेको होइन, निजको शरीरमा के कसरी चोटपटक लाग्यो सोसमेत मलाई थाहा भएन । प्रहरीमा भएको बयान मलाई प्रहरीले कुटपीट गरी तँ ज्यानमारा होस् भन्दै निजहरूले लेखेको कागजमा सहीछाप गराएका हुन् । मेरो स्वेच्छाले गरेको बयान होइन भन्नेसमेत व्यहोराको प्रतिवादी बमबहादुर बस्नेतले अदालतमा गरेको बयान ।

बुहारी शारदाले निजका नातिहरूलाई हेर्न नसक्ने निजलाई मानसिक रोग लागेको छ भनी डाक्टरले भनेको र औषधिउपचार गराई रहेको थियो । औषधि छोरा उदयले किनेर ल्याई दिने गरेको हो । मिति २०६२।११।७ गते साँझको खाना खाई हामी सबै आआफ्नो कोठामा सुत्न गएका हौँ । शारदा पनि आफ्नो कोठामा सुत्न गइन् । नाति नातिनीहरू छोरा हुँदा छोरासँग सुत्ने र छोरा नभएको बेला मसँग सुत्ने गरेका थिए । छोरा मिति २०६२।११।३ गते बोर्डिङ्गको कामले गएको र घरमा नभएकाले नाति नातिना मसँगै सुतेका थिए । छोराले जमुना चौहानलाई अर्को विवाह गरी ल्याएको भन्ने कुरा मलाई थाहा छैन । छम्मी मुर्मु सतारलाई मैले चिनेको छैन, निज हाम्रो घरमा काम गर्न बसेकी केटी होइन । मेरो घरमा एकजना सतार केटालाई दुई वर्ष अघिदेखि काम गर्न राखेको थियो । हामी उसलाई कान्छा भनेर बोलाउने गर्दथ्यौँ । मैले बुहारी शारदालाई कुटपीट गर्ने, हेलाहोचो गर्ने गरेको थिएन । मिति २०६२।११।८ गते बिहान बुहारी शारदा झुण्डिएको अवस्थामा मैले देखी हल्ला गरी सबैलाई खबर गरेको हो । अन्य कुरा मलाई थाहा छैन । प्रहरीमा कागज गर्ने व्यक्तिहरूले किन मसमेत भै बुहारी शारदाको कर्तव्य गरी मारी झुण्ड्याएको भनी लेखाए, मलाई थाहा भएन । निजहरूसँग मेरो केही रिसइवी छैन । मसमेत भई शारदालाई कर्तव्य गरी मारी झुण्ड्याएको होइन, अभियोग माग दावी झूठा हो । मैले कुनै अपराध कसूर गरेको छैन भन्नेसमेत व्यहोराको प्रतिवादी भद्रकुमारी बस्नेतले अदालतमा गरेको बयान ।

मिति २०६२।११।६ गते हाम्रो घरमा स्वस्थानीको पूजा भएकाले राति जाग्राम बसेको थिएँ । २०६२।११।७ गते दिउँसो जेठानी दिदीका माइती पक्ष आई जेठाजुले अर्की गाउँकै जमुना भन्ने केटीलाई विवाह गरेर लगेछन् भन्ने कुरा गरेकाले मैले थाहा पाएको हो । शारदा दिदीको औषधिउपचार गर्ने बारेमा निजका माइती र गाउँ समाजसमेत बसी छलफल गरी गएपछि हामी बेलुकाको खाना चाँडै खाई बेलैमा हामी घरपरिवार सुतेका थियौँ । जेठाजु उदयकुमार वोर्डिङ्गको कामको सिलसिलामा मिति २०६२।११।३ गते नै घरबाट जानु भएको र घरमा आउनु भएको थिएन । जेठाजु र जेठानीको बीचमा मैले देख्दा राम्रै थियो । कहिले काँही औषधि खान नमान्दा पाटपीट गर्नु हुन्थ्यो । मिति २०६२।११।८ गते बिहान आमाले चिच्याएको आवाज सुनी हेर्न जाँदा जेठानी दिदी पूजाकोठामा झुण्डिएको अवस्थामा देखेकी हुँ । मसमेत भै निज जेठानी दिदीलाई कर्तव्य गरी मारी झुण्ड्याएको होइन । प्रहरीमा सासू ससुराले के के भनी बयान लेखाए मलाई थाहा भएन । अधिकारप्राप्त अधिकारीसमक्ष भएको मेरो बयान राजिखुशीले गरेको होइन । मलाई कुटपीट गरी लेखिराखेको बयान कागजमा मलाई पढ्नसमेत नदिई सहिछाप गराएको हो, म निर्दोष छु । मेरा पति शारदा मरेको दिनदेखि कहाँ गए मलाई थाहा छैन । मृतकको शरीरमा चोटपटक कसरी लाग्यो सोसमेत मलाई थाहा भएन । मैले जेठानी दिदीलाई कुटपीट गरेको र कुटेको हेरेकोसमेत नहुँदा अभियोग दावीबाट सफाई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी तारा बस्नेतले अदालतमा गरेको बयान ।

वादी पक्षका साक्षी जाहेरवाला गंगाबहादुर बस्नेत, घटना विवरण कागज गर्ने छम्मी मुर्मु सतार, रत्नबहादुर बस्नेत, कमला थापा, पूर्णबहादुर कार्की, हरिबहादुर कार्की, लासजाँच मुचुल्काका चन्द्रबहादुर खड्का, रामचन्द्र बस्नेत, वलजीत राई, रामकृष्ण काफ्ले वस्तुस्थिति मुचुल्काका खगेन्द्र वुढाथोकी, तेजबहादुर लिम्बू, निलम कार्की, लक्ष्मीप्रसाद लामिछाने, पूर्णबहादुर बस्नेत, डा. इन्द्रनारायण मल्लिक, पिताम्बर ठाकुर तथा प्रतिवादीकाका साक्षी काजीमान राई, पूर्णबहादुर बस्नेत, भीमबहादुर वुढाथोकी, देवराज बस्नेत, दिलीपकुमार वोहोरा र गजेन्द्र वुढाथोकीसमेतले गरेको बकपत्र मिसिल सामेल रहेको छ ।

यसमा प्रतिवादीमध्येका कुमार भन्ने उदयकुमार बस्नेत, रमेश बस्नेत र जमुना चौहान फरार रहेकाले निजहरूका हकमा अ.वं.१९० नं. अनुसार मुद्दा मुलतवी रहने, प्रतिवादी बमबहादुर बस्नेत र भद्रकुमारी बस्नेतले मृतकलाई मार्ने कुराको मतसल्लाहमा पसेको र वारदातस्थल मृतकको कोठामा सम्म गएको अवस्था पुष्टि भएकोले १३(३) नं को दावी नपुगी ज्यानसम्बन्धी महलको १७(३) नं बमोजिम जनही डेढ वर्ष कैद हुने एवं अर्का प्रतिवादी तारा बस्नेत मृतकलाई मार्ने मतसल्लाहमा पसेको समेत प्रमाणबाट पुष्टि नभएकाले अभियोग दावीबाट सफाई पाउने ठहर्छ भन्ने शुरू झापा जिल्ला अदालतबाट भएको मिति २०६४।३।३१ को फैसला ।

प्रतिवादी बमबहादुर बस्नेत र भद्रकुमारी बस्नेतले मृतकलाई मार्दाका अवस्थामा मृतकको शरीरमा हात हाली पक्रेको देखिएको, निजहरू अनुसन्धानको क्रममा बयानमा साबित रहेको, घटनाका प्रत्यक्षदर्शी छम्मी मुर्मु सतारले मृतकलाई हजुरबा, हजुर आमाले कुटपीट गरी गहुँवारीमा लगे, गोवर ग्याँसमा हाल्न खोजे, पूजाकोठामा लगी झुण्ड्याए भनी स्पष्ट किटान गरी बकपत्र गरेको, तारा बस्नेतले मौकामा बयान गर्दा आफ्नो लोग्ने तथा देवरसमेतले सासू ससुरासँग जेठानी शारदालाई मार्ने सल्लाह गरी कुटपीट गरी मारी झुण्ड्याएको भनी लेखाई दिएको, पोष्टमार्टम तथा लास जाँच मुचुल्काबाट मृतकको मृत्यु कर्तव्यबाट भएको भनी स्पष्ट भएको, घटनापश्चात् प्रतिवादी उदयकुमार, जमुना र रमेश बस्नेत फरार रहेकोले घटनामा प्रतिवादीहरूको संलग्नता देखिई रहेको अवस्थामा ज्यानसम्बन्धीको १३(३) नं अनुसार सजाय गर्नुपर्नेमा १७(३) नं अनुसार गरिएको सजाय त्रुटिपूर्ण रहेको र अर्का प्रतिवादी तारा बस्नेत घरको जिम्मेवार सदस्य भएकोमा जेठानीलाई कुटपीट हुँदा गुहार नगरी घटना रोक्न प्रयास नगरी घटनाको मतसल्लाहमा रहेको देखिएकोमा निजलाई ज्यानसम्बन्धीको १७(३) नं अनुसार सजाय हुनुपर्नेमा अभियोग दावीबाट सफाई दिने गरी भएको शुरू अदालतको फैसला त्रुटिपूर्ण हुँदा सो बदर गरी प्रतिवादी बमबहादुर र भद्रकुमारीलाई ज्यानसम्बन्धी महलको १३(३) नं र अर्का प्रतिवादी तारा बस्नेतलाई १७(३) नं अनुसार सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको तर्फबाट पुनरावदेन अदालत, इलाममा दायर भएको पुनरावेदन पत्र ।

हामीले प्रहरीमा भएको कागजातमा कुटपीट, ज्यादती र स्वेच्छाविपरीत यातना दिई जवर्जस्ती कागजातमा सही गर्नु परेको, मृतकको मृत्यु आत्महत्याबाट भएको जिकीर लिएकोमा सोतर्फ ध्यान नदिइएको, वादीको साक्षीले पनि आत्महत्या भनी बकपत्र गरी दिएको, मृतकको मृत्युको कारण स्पष्ट नभएर भीषेरा परीक्षण गर्ने भनिएको, सो परीक्षणमा स्तनधारीका लागि घातक मानिएको अल्मुनियम फास्फाइट पाइएको भन्ने देखिएको र तर अभियोगमा विष खुवाइएको भन्ने नभएको, प्रत्यक्षदर्शी भनिएकी छम्मी मुर्मु सतारले बकपत्र गर्दा सोधिएका प्रश्नको जवाफ दिन नसकेको, मृतक मानसिक रोगीसमेत हुँदाहुँदै हामीलाई शुरू अदालतले ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम गरेको सजाय त्रुटिपूर्ण हुँदा सो बदर गरी अभियोग दावीबाट सफाई पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरूका तर्फबाट पुनरावेदन अदालत, इलाममा परेको पुनरावेदन पत्र ।

यसमा शुरू झापा जिल्ला अदालतबाट फैसला हुँदाको अवस्थामा मिसिल संलग्न प्रमाणहरूको समुचित मूल्याङ्कन नगरी मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(३) नं को दावी भएकोमा १७(३) नं अनुसार र १७(३) नं अनुसारको दावी भएकोलाई सफाई दिने गरी फैसला भएको र प्रतिवादीहरू भद्रकुमारी र बमबहादुरको समेत पुनरावेदन परी दोहोरो पुनरावेदन परेको सन्दर्भसमेतलाई विचार गर्दा शुरूको फैसला फरक पर्न सक्ने भै विचारणीय देखिँदा मुलुकी ऐन, अ.वं.२०२ नं तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ अनुसार छलफलमा प्रत्यर्थी झिकाई नियमबमोजिम पेश गर्नु भन्ने पुनरावेदन अदालत, इलामको मिति २०६४।९।२५ को आदेश ।

यसमा पुनरावेदकद्वय प्रतिवादीहरू बमबहादुर बस्नेत र भद्रकुमारी बस्नेतलाई ज्यान सम्बन्धीको १७(३) नं बमोजिम जनही कैद वर्ष १ (डेढ वर्ष ) हुने र प्रतिवादी तारा बस्नेतले अभियोग दावीबाट सफाई पाउने ठहराई भएको शुरू झापा जिल्ला अदालतबाट भएको मिति २०६४।३।३१ को फैसला मुनासिबै देखिँदा सदर हुने ठर्हछ । वादी नेपाल सरकार र प्रतिवादी समेत दुवै पक्षको पुनरावेदन जिकीर पुग्न सक्तैन भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, इलामको मिति २०६५।८।२९ को फैसला ।

हामीहरूले बुहारी शारदा बस्नेतलाई कर्तव्य गरी मार्नुपर्ने कारण एवं पूर्व रिसइवी समेत छैन । हाम्रो अपराध गर्ने कुनै मनसाय र आपराधिक कार्य पनि छैन । मिति २०६२।११।७ गते राति सबै सुतेको समयमा निज बुहारी आफैँ झुण्डिएर आत्महत्या गरी मरेको तथ्यलाई मूल्याङ्कन नै नगरी ज्यानमारा जस्तो जघन्य एवं गम्भीर कसूरमा मतियारको कसूरदार कायम गरी ज्यान मार्नेको १७(३) नं. बमोजिम हामीहरूलाई जनही १ (डेढ वर्ष ) कैद सजाय गर्ने गरी शुरू अदालतको फैसलालाई नै सदर कायम हुने गरी पुनरावेदन अदालत इलामबाट भएको २०६५।८।२९ को फैसला ज्यानसम्बन्धीको १७(३) र प्रमाण ऐन, २०३१ को दफा २५ र ५४ मा उल्लिखित कानूनी एवं यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतले गम्भीर त्रुटि भई बदरभागी भएकोले मुद्दा दोहोर्‍याई हेरी हामीहरूलाई निर्दोष कायम गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीहरू बमबहादुर बस्नेत र भद्रकुमारी बस्नेतले संयुक्त रूपमा यस अदालतमा दिएको निवेदन ।

प्रतिवादीहरू बमबहादुर बस्नेत र भद्रकुमारी बस्नेत अधिकारप्राप्त अधिकारीसमक्ष कसूरमा साबित रहेका छन् । घटनाको प्रत्यक्षदर्शी छम्मी मुर्मु सतारले झूठ्ठा बकपत्र गर्नुपर्ने कारणसमेत केही देखिएको छैन । मृतकको शरीरमा कुटपीटका घाचोटहरू पनि रहे भएको तथ्यमा विवाद छैन । शारदा बस्नेतलाई मार्ने कार्यमा प्रतिवादीहरू बमबहादुर बस्नेत र भद्रकुमारी बस्नेतसमेत प्रत्यक्ष संलग्न रहेको र ज्यानसम्बन्धीको १३(३) नं. को अभियोग माग दावी भएकोमा १७(३) बमोजिम मतियारमा सजाय गर्ने गरी शुरू अदालतको फैसलालाई सदर कायम गर्ने गरेको पुनरावेदन अदालत, इलामको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ एवं ज्यानसम्बन्धी महलको १३(३) नं. को गम्भीर त्रुटि विद्यमान छ । साथै घटनाको प्रत्यक्षदर्शी छम्मी मुर्मु सतारले तारा बस्नेतको कोठामा तारा बस्नेत र आफूसमेत भई घटना हेरिरहेको भनी मौकामा अधिकारप्राप्त अधिकारी एवं अदालतमा समेत बकपत्र गरेको अवस्थामा तारा बस्नेतलाई ज्यानसम्बन्धी महलको १७(३)नं.को अभियोग मागदावी लिइएकोमा निज तारा बस्नेतलाई सफाई दिने गरी शुरू अदालतबाट भएको फैसला सदर हुने ठहरी पुनरावेदन अदालत इलामबाट भएको फैसला गम्भीर कानूनी त्रुिटपूर्ण हुँदा बदर गरी प्रतिवादीहरूलाई अभियोग माग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने समेत वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा मुद्दा दोहोर्‍याई पाऊँ भनी परेको निवेदन ।

यसमा जाहेरवालाको किटानी जाहेरी, प्रतिवादी बमबहादुर बस्नेत तथा भद्रकुमारीको अधिकारप्राप्त अधिकारीसमक्ष भएको साबिती बयान, मौकामा वारदातस्थलमा उपस्थित छम्मी मुर्मु सतारले मौकामा गरेको कागज तथा अदालतमा भएको बकपत्रमा यी बम बहादुर तथा भद्रकुमारीको वारदातमा प्रत्यक्ष संलग्नता रहेको, तारा बस्नेतको कोठामा तारा बस्नेत र आफूसमेत बसी घटना हेरिरहेको भनी गरेको बकपत्र, अभियुक्त तारा बस्नेतको अदालतसमक्ष गरेको बकपत्रबाट छम्मी मुर्मु सतार वारदात हुँदाको समयमा वारदात भएको घरमा उपस्थित रहेको भन्नेमा शंका नभएको, अदालतमा उपस्थित भै बकपत्र गर्ने डाक्टर मल्लिकलगायतका विशेषज्ञले मृत्युको कारण अधिक रक्तश्रावबाट भएको भनी बकपत्र गरेकोबाट समेत प्रतिवादीहरू बमबहादुर बस्नेत र भद्रकुमारी बस्नेतउपर ज्यानसम्बन्धी महलको १३(३) नं. को सजायको अभियोग मागदावी भएकोमा ऐ १७(३) नं. को सजाय भएको र प्रतिवादी तारा बस्नेतलाई ऐ. १७(३) नं. बमोजिम सजायको मागदावी भएकोमा अभियोगबाट सफाई दिएको शुरू झापा जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, इलामको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३, ५४ मुलुकी ऐन अ.वं. १८४(क) नं. समेतका प्रमाण मूल्याङ्कनका त्रुटि भै फरक पर्नसक्ने र निवेदक प्रतिवादी बमबहादुर बस्नेत समेतले पेश गरेको निवेदनको हकमा प्रतिवादीहरू बमबहादुर बस्नेत, भद्रकुमारी बस्नेत, कुमार भन्ने उदयकुमार बस्नेत, रमेश बस्नेत, जमुना बस्नेतउपर मृतक शारदा बस्नेतलाई कर्तव्य गरी मारेको अभियोगमा ज्यानसम्बन्धी महलको १३(३) नं. को सजाय र प्रतिवादी तारा बस्नेतलाई ऐ. महलको १७(३) नं. बमोजिमको सजायको माग दावी भएकोमा उक्त १३(३) नं. बमोजिमको सजाय स्थापित नभई निवेदक प्रतिवादीहरू उपर ऐ.को १७(३) नं. बमोजिमको सजाय गरेको शुरू जिल्ला अदालत, इलामको फैसलामा उक्त १३(३) नं. र १७(३) नं. को कानूनको व्याख्यात्मक त्रुटि भै फरक पर्ने देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिदिएको छ । अन्य विपक्षीहरूलाई झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतबाट भएको मिति २०६७।६।१ गतेको आदेश ।

नियमबमोजिम पेशी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा प्रतिवादीहरू बमबहादुर बस्नेत, भद्रकुमारी बस्नेत र तारा बस्नेतसमेतको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ताहरू श्री डा. रंजितभक्त प्रधानाङ्ग, श्री कृष्णप्रसाद सापकोटा, श्री लवप्रसाद मैनाली र विद्वान अधिवक्ता श्री निर्मला शाक्यले मृतक शारदा बस्नेतको मृत्यु कर्तव्यबाट नभई आत्महत्याबाट भएको हो । शव परीक्षण प्रतिवेदनबाट मृत्युको कारण अत्यधिक रक्तश्राव भएर भएको भनिए तापनि भीषेरा जाँच गराउँदा, “Aluminium phosphicide (Poison)” भेटिएको छ । शव परीक्षण गर्ने डाक्टरले अदालतमा आई गरेको बकपत्रमा मृत्युको कारण भन्न सक्तिन भनी भनेबाट विशेषज्ञको रायलाई प्रमाणमा लिन मिल्ने देखिँदैन । यसरी मृत्युको कारण नै शंकास्पद देखिएको अवस्थामा फौजदारी न्यायको मूल सिद्धान्त शंकाको सुविधा अभियुक्तले पाउँछ भन्ने भएबाट प्रतिवादीहरूले अभियोग दावीबाट सफाई पाउनुपर्छ । मृतक शारदा बस्नेत मर्नुभन्दा अगाडि मानसिक रोगी भएकोले उपचारसमेत गरेको अवस्था हुँदा मृतक आफैँले झुण्डी आत्महत्या गरेकी हुन् । प्रस्तुत घटनामा प्रत्यक्षदर्शी भनिएकी नावालिका छम्मी मुर्मु सतारले अदालतबाट घटनाको सम्बन्धमा सोधिएका सबै प्रश्नहरूको युक्तियुक्त जवाफ दिन सकेको अवस्था छैन । त्यसैले निजको भनाईलाई प्रमाणमा लिन मिल्दैन । साथै छम्मी मुर्मु सतारले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको कागज र अदालतमा आई गरेको बकपत्र एकआपसमा बाझिएको अवस्था छ । त्यसै गरी प्रतिवादी तारा बस्नेतले मुख्य अभियुक्तसँग मिलेमतो गरी मृतकलाई कर्तव्य गरी मार्नमा सहयोग पुर्‍याएको भन्ने तथ्य वादी पक्षले स्थापित गर्न सकेको देखिँदैन । यस्तो स्थितिमा प्रतिवादीहरूले अभियोग माग दावीबाट सफाई पाउनुपर्छ भन्नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।

वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री भरतलाल शर्मा र जाहेरवालाको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री चन्द्रप्रसाद काफ्लेले घटनाको प्रत्यक्षदर्शी छम्मी मुर्मु सतारले मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको कागजमा प्रतिवादीहरू बमबहादुर बस्नेत र भद्रकुमारी बस्नेतसमेतले मृतक शारदा बस्नेतको कोठामा गई कुटपीट गरेको भनी बकपत्र गरेकी छन् । छम्मी मुर्मु सतारले अदालतले सोधेको प्रश्नको युक्तियुक्त जवाफ दिएको हुँदा निजको बयानलाई प्रमाणमा लिनु पर्दछ । प्रतिवादीहरू बमबहादुर बस्नेत र भद्रकुमारी बस्नेतले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा साबिती बयान गरेका छन् । निजहरूले अदालतमा आई बयान गर्दा इन्कारी बयान गरेतापनि मौकामा भएको बयानलाई अन्यथा भन्न सकेको अवस्था छैन । यसरी प्रतिवादीहरू बमबहादुर बस्नेत र भद्रकुमारी बस्नेतले मृतक शारदा बस्नेतलाई कर्तव्य गरी मार्नमा प्रत्यक्ष संलग्नता रहेको अवस्थामा ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम जनही डेढ वर्ष कैदको सजाय गर्ने गरी शुरू अदालतको फैसलालाई सदर गर्ने गरी पुनरावदेन अदालत, इलामबाट भएको फैसला त्रुटिपूर्ण छ । त्यसैगरी प्रतिवादी तारा बस्नेतले आफ्नी जेठानी शारदा बस्नेतलाई प्रतिवादीहरूबाट कुटपीट गरेको अवस्थामा हारगुहार गरी बचाउन प्रयास गरेको देखिँदैन भने आफ्नै घरमा भएको घटनाको सम्बन्धमा जाहेरीसमेत नदिएको अवस्थामा निज पनि परिवारका अन्य सदस्यहरूसँग मिली शारदालाई कर्तव्य गरी मार्ने कार्यमा मतसल्लाहमा पसेको देखिन्छ । अतः प्रतिवादीहरू बमबहादुर बस्नेत र भद्रकुमारी बस्नेतलाई ज्यानसम्बन्धी महलको १३(३) नं बमोजिम र प्रतिवादी तारा बस्नेतलाई ज्यान सम्बन्धी महलको १७(३) नं बमोजिम मतियारमा सजाय गरियोस् भन्नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नु भयो ।

उल्लिखित विद्वान कानून व्यवसायीहरूले गर्नु भएको बहस सुनी मिसिल संलग्न सम्पूर्ण कागजातहरूको अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, इलामको फैसला मिलेको छ छैन र वादी नेपाल सरकार एवं प्रतिवादीहरूको तर्फबाट परेको पुनरावेदन जिकीर पुग्न सक्छ सक्तैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा प्रतिवादीहरूले २०६२।११।७ गते राति शारदा बस्नेतलाई कुटपीट गरी कर्तव्य गरी मारी घरकै पूजाकोठामा लगी झुण्ड्याएकाले प्रतिवादीहरू बमबहादुर बस्नेत, भद्रकुमारी बस्नेत, कुमार भन्ने उदयकुमार बस्नेत, रमेश बस्नेत र जमुना चौहानलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं को कसूरमा सोही ऐनको १३(३) नं बमोजिम र प्रतिवादी तारा बस्नेतलाई उक्त घटना आफ्नो कोठामा बसी हेरिरहेको र हार गुहारसमेत नगरी बसेकाले निजलाई ऐ.ऐनको १७(३) नं अनुसार सजाय गरिपाऊँ भन्ने अभियोग माग दावी रहेको देखिन्छ ।

३. प्रतिवादीहरू मध्येका कुमार भन्ने उदयकुमार बस्नेत, रमेश बस्नेत र जमुना चौहान फरार रहेकोले निजहरूका हकमा अ.वं.१९० नं बमोजिम मुलतवीमा रहेको हुदा निज प्रतिवादीहरूको सम्बन्धमा प्रस्तुत मुद्दामा केही बोलिरहनु परेन । प्रतिवादीहरू बमबहादुर बस्नेत र भद्रकुमारी बस्नेतलाई ज्यानसम्बन्धी महलको १७(३) नं बमोजिम जनही १ वर्ष ६ महिना कैद र प्रतिवादी तारा बस्नेतलाई अभियोग माग दावीबाट सफाई पाउने ठहर्‍याई शुरू झापा जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहरी पुनरावेदन अदालत, इलामबाट २०६५।८।२९ मा भएको फैसलाउपर प्रतिवादीहरू बमबहादुर बस्नेत र भद्रकुमारी बस्नेत एवं वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा मुद्दा दोहोर्‍याई पाऊँ भनी परेको निवेदनमा यस अदालतबाट मिति २०६७।६।१ मा निस्सा प्रदान भै प्रस्तुत मुद्दा पुनरावेदनको रोहमा पेश हुन आएको पाइन्छ ।

४. सर्वप्रथम, मृतक शारदाको मृत्यु हत्या वा आत्महत्या के हो भन्ने निर्क्यौल हुन आवश्यक छ । हत्या वा आत्महत्या के हो भन्ने प्रयोजनका लागि सर्वप्रथम मिसिल संलग्न घटनास्थल लास जाँच मुचुल्का हेर्दा मृतक शारदा बस्नेतको दुवै खुट्टाको घुँडामुनि डोरीले बाँधे जस्तो ५ फीट लम्बाई १ इञ्च गहिरो डाँम भएको, बायाँ गालामा नीलडाम भएको, दायाँ खुट्टाको जोर्नी र नाइटोमुनि नीलडाम भएको, योनीबाट रगत निस्किएको, घाँटीमा डोरीको डाम वरिपरि भएक, सो डाम अढाई इञ्च जति भित्र गाडिएको र सो डाम कालो भन्ने उल्लेख भएको छ । शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण चोट पटकले अत्यधिक रक्तश्राव भएर Shockको कारणले मृत्यु भएको भन्ने देखिएको छ । लासको प्रकृति चित्रण गर्ने तेस्रो प्रमाणका रूपमा वादी पक्षबाट लासका फोटोहरू प्रस्तुत गरिएको छ । झुण्डिएको लासको घाँटीमा रहेको कपडाको सलको गाँठोको फुर्का माथितिर रहेको, लासले भूईं छोएको, लासको बगलमा काठको टेबुल रहेको र दुवै खुट्टाको घुँडा मुनि गोलाकार डाम देखिन्छ । यसै गरी भूर्ईंमा सुताइएको लासको दुवै पैतालाको पूरै भागमा माटो लागेको दाग पनि प्रष्टै देखिएको छ । मृतक सुत्ने कोठाको दक्षिणतर्फ डण्डीयुक्त झ्याल रही एउटा डण्डी उप्काइएको र सो भूईंमा रहेको एवम् झ्यालको एउटा सेप्टीमा सल झुण्डिएको मुचुल्काको तथ्य पनि विचारणीय छ । यी निर्विवाद वस्तुस्थितिको चित्रण र प्रत्यक्षदर्शी साक्षी एवम् प्रतिवादीहरूकै अधिकारप्राप्त अधिकारीसमक्ष व्यक्त गरेका कुटपीट गरी शारदाको हत्यापछि वरण्डामा निकालेको, गहुँबारीमा लगेको, फेरि भित्र लगी झ्यालको सेप्टीमा कपडाले सल बाँधी एउटा सेफ्टी उप्काई लास झार्न खोजेको, लास नछिरेपछि पूजा कोठामा लगी झुण्डाएको भन्ने कथनहरूले एकअर्कालाई पुष्टि गरिरहेबाट वारदातलाई आत्महत्या हो भन्ने देखाउँदैनन् ।

५. अपराधका सम्बन्धमा खडा भएका मुचुल्काहरूमा प्रामाणिक शक्ति हुन्छ । तिनमा व्यक्त तथ्यले अपराधको वस्तुस्थिति बताउँछन् । व्यक्तिले झूठो बोल्न सक्दछ तर वस्तुस्थितियुक्त तथ्यले कहिल्यै झूठो बोल्दैन । मुचुल्काले मृतक सुत्ने कोठाको झ्यालको एउटा डण्डीमा सल झुण्डिएको र अर्को डण्डी उप्किएको देखिनु र प्रत्यक्षदर्शीले मृतकलाई हत्यापछि लास सोही झ्यालबाट झार्न खोजिएको तर असफल भएको तथ्यका बीच समन्वय देखिन्छ । यसैगरी प्रत्यक्षदर्शीले पहिले नै मारी शारदाको लासलाई पहिले बारीमा लगिएको त्यसपछि पूजा कोठामा ल्याई झुण्ड्याइएको भनिनु र झुण्डिएको लाससहित खिचिएको पूजा कोठाको फोटो हेर्दा लास वरिपरिका सबै सरसामान यथास्थिति देखिनुका बीच सामाञ्जस्यता देखिन्छ । यसैगरी मृत लासको पाइतालाका पूरै भागमा हिलो माटो लागेको देखिनु र प्रत्यक्षदर्शीबाट लासलाई पहिले बारीमा लगिएको भनिनुका बीच पनि त्यत्तिकै समन्वय देखिन्छ । यसरी लासको र फोटो मुचुल्कावाट स्वयम् प्रतिवादीहरूको अधिकारप्राप्त अधिकारीसमक्षका कथन पुष्टि भइरहेको छ । यी वादी पक्षबाट प्रस्तुत मुचुल्का तथा फोटोहरू सहितका लिखत प्रमाणलाई प्रतिवादीहरूले इन्कार गर्न सकेको पाइँदैन । मुचुल्कालाई पनि असत्य मानिएको छैन ।

६. फोटो, भिडियो, अडियो, सीडी आदि डिजिटल सामग्री लिखत हुन् । यिनको प्रामाणिक मूल्यलाई अस्वीकार गर्नु न्यायसङ्गत हुँदैन । तथ्यका प्रत्येक गवाह प्रमाण हुन । मुद्दाका कुनै पक्षबाट फोटो, भिडियो, अडियो, सीडी आदि डिजिटल प्रति प्रमाणका रूपमा प्रस्तुत हुन्छन् र अर्को पक्षबाट तिनमा इन्कारी जनाइदैन भने लिखित प्रमाणका रूपमा यी ग्राह्य हुन्छन् । यस्ता प्रमाणका विषयमा विवाद उठेमा तिनको सत्यता परीक्षणको विषय बन्दछ । अन्यथा लिखत प्रमाणका आधुनिक स्वरूपलाई सतर्कता साथ ग्रहण गर्दै जानुपर्ने हुन्छ । प्रस्तुत विवादमा पेश फोटोहरू प्रमाण भएबाट यिनको समुचित मूल्याङ्कन हुनुपर्ने स्थिति छ ।

७. आत्महत्या मृतक स्वयम्‌ले गर्ने निर्णय हो, जसमा ऊ एक्लो निर्णयकर्ता र कार्यान्वयनकर्ता हुन्छ । बिना कुनै कारण कसैले आत्महत्या गर्ने निर्णय गर्दैन । मृतकले आत्महत्या गर्नुपर्ने कारण के थियो कतैबाट खुल्दैन । छोरा छोरीकी आमासमेत रहेकी यी मृतकलाई भइरहेको घरेलु हिंसाका सन्दर्भमा वारदातकै दिनसमेत माइती र घर पक्षको छलफल भएको र गाउँ समाज जुटेको विषयमा विवाद छैन । मृतक उपचाररत् मानसिक रोगी रहेको भन्ने प्रतिवादीहरूको अदालतसमक्ष प्रतिवाद कथन रहे पनि निजमा यो रोग रहेको र आत्महत्या गर्न प्रेरित गर्नेसम्मको अवस्थामा रहेको प्रमाणबाट पुष्टि हुँदैन । मिसिल संलग्न सो वारदातको दिन सँगै सुत्ने व्यक्ति समेतका कथनबाट यो सम्भावना देखिँदैन । एउटा जीवनप्रति जिजीविषा राख्ने युवतीले सहजै आत्महत्या गर्ने निर्णय लिन कुनै अपरिहार्य कारण हुनै पर्छ । आत्महत्या गर्न मानिसले तत्काल पनि निर्णय लिन सक्दछ । आत्महत्या गर्न एक्कासी मन परिवर्तन भई अठोट गरिन पनि सक्दछ । तर यसका पछाडि भरपर्दो कारण भने हुनै पर्दछ । त्यस्तो के कारण पर्‍यो वा मृतकको एक्कासी मन परिवर्तन भयो मिसिलबाट केही देखिँदैन । यस्ता कारणका बारेमा प्रतिवादीहरूले पनि केही देखाउन लेखाउन सकेको पाइँदैन ।

८. आत्महत्या गर्ने व्यक्तिले आफ्नो निर्णय बिनाव्यवधान कार्यान्वयन होस् र त्यसमा आफूलाई सफलता मिलोस् भन्ने ध्येय राखेको हुन्छ । यस कारण उसले आफ्नो निर्णय कार्यान्वयन गर्न भरपर्दो र सुरक्षित स्थानको चयन गर्दछ । सबै परिवार सदस्यहरू रहने सानो अंग्रेजी अक्षरको एल आकारको घरको पूजाकोठा त्यस्तो उपयुक्त स्थान हुन सक्दैन । वारदातको दिन मृतकसँग सोही कोठामा सुत्ने मुर्मु सतारसमेतले अदालतमा समेत व्यक्त गरेको राति प्रतिवादीहरू सो कोठामा आएका र मृतकलाई खाटबाट खसाली कुटपीट गरेका समेतका तथ्यले वारदातलाई आत्महत्या मान्न दिँदैन । उल्लिखित आधार समेतबाट शारदा बस्नेतको मृत्युको कारण आत्महत्याबाट भएको नभई कर्तव्यबाट भएको भन्ने देखिन आउँछ ।

९. अब प्रतिवादीहरू बमबहादुर बस्नेत र भद्रकुमारी बस्नेतको हकमा विचार गर्दा प्रतिवादी बमबहादुर बस्नेतले मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा २०६२।११।३ गते छोरा उदयले गाउँकै जमुना चौहानलाई कान्छी श्रीमती विवाह गरी हिडेपछि गाउँमा हल्ला भयो । बुहारीका माइती पक्षले समेत थाहा पाई २०६२।११।५ र ७ गते समाज बसी छलफल हुँदा माइती पक्षले धेरै दबाब दिई मेरो इज्जत प्रतिष्ठामा धक्का पुर्‍याएकोले र शारदाको औषधिउपचार गर्ने र अंश दिने सहमति भए पनि बुहारीले छोरालाई वहुविवाहको मुद्दाबाट कसरी छुट्कारा दिलाउने भनी सोची रहेकोमा २०६२।११।७ गते राति करीब १०.३० बजेतिर दुईवटा मोटरसाइकलमा छोरा कुमार बस्नेत, निजको कान्छी श्रीमती जमुना चौहान र अन्य नचिनेका तीनजना केटाहरू घरको वरण्डामा रहेको मेरो कोठामा आए । माहिलो छोरा रमेश पनि उठेर त्यहीँ आए । जेठो छोरा उदयले शारदालाई खतम नपारी दुःख पाइने भयो, यसलाई आज मारी दिनुपर्छ । मारेर झुण्ड्याएपछि भोलि बिहान झुण्डिएर मरिछ भनी गाउँमा भन्नुपर्छ भनी सल्लाह भयो भन्नु भएको छ ।

            १०. सोही घटनाक्रमलाई वर्णन गर्ने क्रममा उहाँले भन्नु त्यसपछि बुहारी शारदालाई मार्नको लागि छोरा उदयले निजको ढोकामा गई शारदालाई बोलायो । श्रीमान् आयो भनी निजले भित्रबाट ढोका खोलिन्, निजको कान्छी श्रीमती तथा अन्य नचिनेका केटाहरू पनि गए । माहिलो छोरा रमेशसमेत भै बुहारी शारदालाई कुटपीट गर्न थालेपछि चूपचाप गर भन्दै म र मेरो श्रीमती भद्रकुमारीसमेत भै सोही कोठामा सुतेकी काम गर्ने केटी छम्मी मुर्मु सतारलाई बुहारी ताराको कोठामा जा भनी पठाई बुहारी शारदालाई बाँधी कुटपीट गरी मारेपछि मकैबारीमा लगेर फाल्नुपर्छ भन्दै बोकेर बाहिर निकाल्दा होइन कोठामै झुण्ड्यानु पर्छ भनी फेरि भित्र लगी झ्यालको सेप्टीमा सल कपडा बाँधी घाँटीमा कसी झ्यालको सेप्टी उक्काई छिराउन खोज्दा बाहिर नछिरेकोले सबैले बोकी बाहिर निकाली पूजाकोठामा लगी झुण्ड्याएको हो भनेको पाइन्छ ।

            ११. यसै क्रममा उहाँको थप कथन छ झुण्ड्याएपछि उदयले नै मृतकको शरीरमा चोटपटक देखिन्छ भनी स्वीटर लगाई दिए मुख धोई रगत पखाली दिएपछि सबैजना मृतक मरेकै कोठामा जम्मा भई काम गर्ने केटी छम्मी मुर्मुलाई बोलाई यो कुरा कसैलाई नभन्नु, बिहान झुण्डिएर मरिछ भनी हल्ला गर्नुपर्छ भनी सल्लाह मिलाएको हो । उदयले नै रमेशलाई तेरो श्रीमती तारालाई समेत हल्ला नगर्न भन भनी निजहरू त्यहाँबाट गएका हुन् । माहिलो छोरो रमेश आफ्नै कोठामा सुत्न गए । म पनि आफ्नै कोठामा गै सुते । मेरो श्रीमतीले मृतकका दुईवटा वच्चालाई निद्रामै बोकेर ल्याई बुहारीलाई मारेको कोठामा काम गर्ने केटीसमेत त्यहीँ सुतेका हुन् । भोलिपल्ट बिहान मेरी श्रीमती भद्रकुमारी बस्नेतले बुहारी पूजाकोठामा झुण्डिएर मरिछन् भनी हल्ला गरेकी हुन् । उक्त अपराध आफूलगायत श्रीमती भद्रकुमारी बस्नेत, छोरा उदयकुमार बस्नेत, निजको कान्छी श्रीमती जमुना चौहान, माहिलो छोरा रमेश बस्नेत र उदयले लिएर आएका आफूले नचिनेका तीनजना केटाहरू समेत भै गरेको हो । माइली बुहारी तारा बस्नेतले शारदा बस्नेतलाई मारेको र झुण्ड्याएको ठाउँमा नगई वारदात भएको उनकै कोठाबाट देखेकी मात्र हुन् भन्दै प्रतिवादी बमबहादुर र वारदातको सम्बन्धमा सम्पूर्ण व्यहोरा खुलाई कसूरमा साबित रहेको देखिन्छ ।

१२. अर्का प्रतिवादी भद्रकुमारी बस्नेतले समेत मौकामा अनुसन्धान अधिकारीसमक्ष भएको बयानमा बुहारी शारदा बस्नेतलाई मार्नको लागि छोरा उदयकुमार बस्नेत मिति २०६२।११।७ गते राति निजको कान्छी श्रीमती जमुना चौहान र अन्य नचिनेको तीनजना केटाहरू समेत मोटरसाइकलमा चढी आई आफूसमेतका घर परिवारसँग सल्लाह गरी कर्तव्य गरी मारी झुण्ड्याएको हो भनी कसूरमा साबिती रहेको देखिन्छ । प्रतिवादीहरू बमबहादुर बस्नेत र भद्रकुमारी बस्नेत समेत दुवैजनाले अदालतमा आई गरेको बयानमा कसूरमा इन्कारी बयान गरेता पनि मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको साबिती बयानलाई ठोस आधारका साथ अन्यथा भन्न सकेको अवस्था देखिँदैन ।

१३. प्रतिवादी तारा बस्नेतले मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा मेरी जेठानी शारदा बस्नेतलाई निजकै श्रीमान् उदयकुमार बस्नेत, सासू भद्रकुमारी बस्नेतसमेतले हेलाहोचो गर्ने, दुःख दिने, कङ्गालकी छोरी भनी कुटपीट गरी शारीरिक यातना दिई रहने, दिमाग बिग्रेको (पागल) भनी कान्छी श्रीमती विवाह गर्न स्वीकृति दे भनी दबाब दिने, बेहोस भैरहने इन्जेक्सन दिई रहने, कोठामै राख्ने, बाहिर जान नदिनेसम्मको कठोर यातना दिई आएका थिए । मिति २०६२।११।७ गते राति मृतक शारदा बस्नेतलाई मार्नको लागि निजको श्रीमान उदयकुमार बस्नेत, निजकी कान्छी श्रीमती जमुना चौहान र नचिनेका अन्य तीनजना केटाहरू समेत मोटरसाइकलमा चढी आई ससुरा बमबहादुर बस्नेत, सासू भद्रकुमारी बस्नेत, मेरो श्रीमान रमेश बस्नेतसमेत भई शारदा बस्नेतलाई कर्तव्य गरी मारेका हुन् । जेठाजु उदयकुमार बस्नेतले दिदी शारदालाई ओछ्यानबाट तानी भूईंमा झारी कुटपीट गर्न थालेपछि निजकी कान्छी श्रीमती जमुना चौहानले कपालमा भुत्ल्याएको, मेरो श्रीमान रमेश बस्नेत र जेठाजुले ल्याएका नचिनेका तीनजना व्यक्तिले शारदालाई लात्ती मुक्कीले कुटपीट गरेको, लौराले हिर्काएको, ससुरा बमबहादुर र सासू भद्रकुमारीसमेतले मुख थुन्ने, बाध्ने काम गरी कर्तव्य गरी मरेपछि बोकी पूजाकोठामा लगी झुण्ड्याएका हुन् । उक्त वारदातमा आफू संलग्न छैन । म आफ्नै कोठामा बसी घटना घटेको देखेको भनी लेखाई दिएको पाइन्छ ।

१४. प्रस्तुत वारदातको प्रत्यक्षदर्शीको रूपमा रहेकी विगत एकवर्ष अगाडिदेखि प्रतिवादी बमबहादुर बस्नेतको घरमा भाडा माझ्नेलगायतका काम गर्दै आएकी छम्मी मुर्मु सतारले मौकामा अनुसन्धान अधिकारीसमक्ष गरेको बकपत्रमा मृतक शारदा बस्नेतको श्रीमान् उदयकुमार बस्नेत र सासू भद्रकुमारी बस्नेतले शारदा बस्नेतलाई यसभन्दा अगाडि पनि कुटपीट गर्ने, कान्छी विवाह गर्न स्वीकृति दे भनी दबाब दिई रहने गर्दथे । मिति २०६२।११।७ गते आफू र शारदा राति सँगै एउटै कोठामा सुती रहेकोमा १०/११ बजेतिर उदयकुमार बस्नेतले शारदा ढोका खोल् भनी २।३ पटक बोलाए । शारदाले ढोका खोली दिइन, उदय भित्र पसी बत्ती बाले, तँ एक छिन बाहिर हिँड् भन्दा मृतक शारदा मान्नु भएन, खाटबाट तल तान्दै झारे । मान्दिनस् आज तेरो काल हुन्छ भन्दै घिसारे । शारदाले कराउन थाल्दा बाहिरबाट नचिनेका तीनजना केटा र एक जना केटी मानिस पसी समाते । केटी मानिसले अब तेरो लोग्ने हैन मेरो लोग्ने हो भन्दै मुख थुन्दै कपाल उखाल्न थालिन । उदयले लात्ताले मुडकीले हिर्काउन थाले, नचिनेका तीनजना केटाहरूले लौराले हिर्काउँदै थिए । त्यतिखेरै बमबहादुर बस्नेत, भद्रकुमारी बस्नेत र रमेश बस्नेत आई शारदालाई समाती कपाल भुत्ल्याउन र कुटन थालेपछि मलाई उदयकुमार र भद्रकुमारीले बाहिर जा, पर ताराको कोठामा गै बस् भनी बाहिर निकाले । म ताराको कोठामा जाँदा तारा बस्नेत ढोकाबाट सुनी रहेकी थिइन् । शारदा बस्नेतलाई लल्याकलुलुक अवस्थामा बरण्डामा निकाले, फेरि भित्रै लगे । मैले र ताराले ताराकै कोठाबाट हेरी रह्यौँ । उदयले झ्यालको काठ सेप्टीमा सल बाँधी घाँटीमा कसी अर्को सेप्टी उक्काई त्यहाँबाट बाहिर खसाउन खोजे । तर, मृतकलाई त्यहाँबाट छिराउन सकेनन् । फेरि बाहिर निकाली सबैले बोकी पूजाकोठामा लगे । त्यसपछि सलको कपडाले बाँधी झुण्डाए । झुण्ड्याएपछि स्वीटर लगाई दिए, पानीले मुख धोई दिए । त्यसपछि सबैजना शारदालाई मारेको कोठामा बसे । मलाई पनि बोलाए । उदय बस्नेतले मलाई र अन्य सबैलाई यो कुरा कसैलाई नभन्नु झुण्डिएर मरिछ भनी बिहान हल्ला गर्नु भने । तैले कसैलाई भनिस् भने मारी दिन्छु भनी मलाई डर देखाए । तारालाई पनि राम्रोसँग तैले सम्झाउनु भनी रमेशलाई भने । तारा बस्नेतले शारदालार्ई कुटपीट गरेको भने आफूले नदेखेको भनी लेखाई दिएको पाइन्छ ।

१५. यी प्रतिवादीहरूले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको बयानलाई अदालतमा आई बयान गर्दा इन्कार गरेको अवस्था छ । यसरी दुई विपरीत खालका अभिव्यक्ति मिसिल सामेल रहेकोमा अदालतले स्वतन्त्र प्रमाणबाट पुष्टि हुने कथनलाई प्रमाणमा लिनुपर्ने हुन्छ । अधिकारप्राप्त अधिकारीसमक्षको साबिती र अदालत समक्षको इन्कारीमध्ये कुनलाई प्रमाणमा ग्रहण गर्ने भन्ने सन्दर्भमा कुन कथन अन्य प्रमाणबाट समर्थित हुन्छ भन्ने कुरा नै अदालतले निष्कर्ष निकाल्ने आधार हो । अधिकारप्राप्त अधिकारीसमक्ष व्यक्त गरेका कुरा प्रमाण शून्य हुने होइनन् । न त प्रतिवादीहरूको अदालतसमक्षको इन्कारी नै अकाट्य प्रमाण मानिने हो । अदालतसमक्ष इन्कारी गर्दा प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष के कुन कारण र कसरी साबित बनाइयो भन्ने कुराका हकमा व्यक्त गरेको कुरामा अदालतले ध्यान दिनुपर्ने हुन्छ । यस विवादमा प्रतिवादी भद्रकुमारी र तारा बस्नेतले अधिकारप्राप्त अधिकारीसमक्ष खुशीराजीले बयान नगरेको र प्रतिवादी बमबहादुरले भने कुटपीट गरी बयान लेखाइएको भन्नु भएको छ । प्रमाण ऐन, २०३१ को दफा ९(२) मा फौजदारी मुद्दामा कुनै अभियुक्तले निजलाई लगाइएको अभियोगको सम्बन्धमा अदालतबाहेक अन्यत्र व्यक्त गरेको कुरा अदालतले देहायबमोजिम ठहराएमा प्रमाणमा लिन हुन्छ भन्ने व्यवस्था भएको पाइन्छ :

 

(१)    सो कुरा व्यक्त गर्दा अभियुक्त सचेत अवस्थामा र आफूले भनेको र गरेको कुरा बुझ्न सक्ने अवस्थामा थियो ।

(२)   निजलाई बाध्य गरी वा निज वा अरू कसैलाई यातना दिई वा यातना दिने घम्की दिई वा निजलाई आफ्नो इच्छाविरुद्ध सो कुरा व्यक्त गर्ने स्थितिमा पारी सो कुरा व्यक्त गरेको होइन ।

(३)   सो अभियोगबारे कुनै सार्वजनिक अधिकारीले गर्ने कारवाईको सम्बन्धमा यस्तो धम्की वा विश्वास पर्ने आश्वासन दिएको थिएन जसबाट निजले सो कुरा असत्य रूपमा व्यक्त गर्ने सम्भावना थियो र जुन धम्की वा आश्वासन कार्यान्वित गर्नसक्ने अधिकार र शक्ति सो अधिकारीलाई थियो भन्ने कुरा निजले युक्तिसङ्गत रूपमा विश्वास गरेको थियो ।

 

१६. प्रमाण ऐन, २०३१ को दफा ९(२) ले व्यवस्था गरेका उपर्युक्त भय, त्रास, प्रलोभनसमेतका अबस्था देखिएमा अभियुक्तको अदालतबाहेक अन्यत्र व्यक्त गरेको कुरा प्रमाण नलाग्ने हुन्छ । अभियुक्तले अधिकार प्राप्त अधिकारीसमक्ष कुनै कुरा व्यक्त गर्दाको अवस्थाको सचेतता, यातना, धम्की र प्रलोभन दिएको थिएन भन्ने प्रत्याभूति वादीले प्रमाणित गर्नुपर्दछ । तर, यी अवस्थाको जिकीर र आधार भने प्रतिवादीले देखाएको मिसिलबाट देखिनुपर्दछ । मुद्दाको एक पक्ष सरकारको प्रतिनिधि अनुसन्धान अधिकारीले आफ्नो विपक्षलाई कब्जामा राखी व्यक्त गराइएका अभिव्यक्तिलाई अदालतले सहजै विश्वास गरी प्रमाणको रूपमा ग्रहण गर्न नहुने भन्ने नै प्रमाण ऐन, २०३१ को दफा ९(२) को आशय हो । प्रमाण ऐन, २०३१ को दफा ९(२) को परिपालनकै सन्दर्भमा म्याद थपका लागि अदालतमा पेश गरिँदा अभियुक्तलाई सशरीर न्यायाधीशसमक्ष उपस्थित गराउनु पर्ने, त्यस बेलासम्म खडा भएका लिखतमा अदालतले छाप लगाई दिने र अभियुक्तसँग सोधपूछ गर्दा आवश्यकता महसूस गरिएमा तत्कालै घाँ जाँच वा स्वास्थ्य परीक्षण गराउन अस्पताल पठाइने कार्यविधि सुनिश्चित् छ । अदालतबाहेक अन्यत्र अभियुक्तले व्यक्त गरेका कुरा प्रमाणमा ग्रहण गर्दा सतर्कता अपनाउनु अवश्य पर्दछ । तर, अन्य स्वतन्त्र प्रमाणले पुष्टि गरेको अवस्था र प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्षको आफ्नो कथन ईच्छाविरुद्धको हो भनी लिएको जिकीरलाई विश्वास गर्न सकिने आधार नदेखाइएको अवस्थामा सो कथन प्रमाण शून्य हुन्छ भन्न सकिन्न । प्रमाण ऐन, २०३१ को दफा ९(२) मा वर्णित अवस्थाको विद्यमानताको अभावमा प्रस्तुत मुद्दाका प्रतिवादीहरूको अधिकारप्राप्त अधिकारीसमक्षको कथन प्रमाणयोग्य छ । र, स्वतन्त्र प्रमाणले पनि निजहरूको यो साबितीलाई नै समर्थन गरिरहेको छ ।

१७. निःसन्देह फौजदारी मुद्दामा प्रमाण ऐन, २०३१ को दफा २५ ले प्रमाणको भार वादीमा रहने कुरा हो । प्रतिवादीहरूलाई आफूविरुद्धको कारवाहीमा चूपचाप बस्ने हक अवश्य छ । तर, चूप नबसी आफ्नो सफाइमा तथ्य व्यक्त गर्ने व्यक्तिका दायित्व पनि सोही प्रमाण ऐनको दफा २७(१)द्वारा अभिनिश्चित् छन् । अधिकारप्राप्त अधिकारीसमक्षको कथनलाई इन्कार गरिएको अवस्थामा त्यसका आधार र कारण पनि व्यक्त गर्नु पर्दैन भन्ने प्रमाण ऐन, २०३१ को दफा २५ को मनशाय होइन ।

       १८. वादीको साक्षी छम्मी मुर्मु सतारले अदालतमा आई गरेको बकपत्रमा समेत प्रतिवादी उदयकुमार बस्नेतले म एक्लै छु ढोका खोल भनी शारदालाई भने, शारदाले ढोका खोलेपछि शारदाको हातमा समाते । हजुरबुबा, हजुरआमा, उदयकुमार बस्नेत र रमेश बस्नेतले कुटन थाले । त्यसपछि शारदाको मुखमा पट्टी वाँधे । कुटी सकेपछि भुइँमा उतारे, अनि गहूँबारीमा लगे, अनि पूजाकोठामा लगी झुण्ड्याए । मैले ढोकाको चेपबाट हेरे, तारा बस्नेत चाँही कोठामा बस्नु भएको थियो भनी शारदा बस्नेतलाई कर्तव्य गरी मार्नमा प्रतिवादीहरू बमबहादुर बस्नेत र भद्रकुमारी बस्नेत समेतको संलग्नता रहेको भनी किटानी पोल गरेको अवस्था छ । घरमै काम गर्ने मृतक सँगै सुतेकी नाबालिकाले झूठो बोल्नु पर्ने कारण मिसिलबाट केही देखिँदैन । छम्मी मुर्मु सतारको कथनले प्रतिवादीहरूको अधिकारप्राप्त अधिकारीसमक्ष व्यक्त कथनलाई पुष्टि गरिरहेको छ ।

१९. प्रतिवादीका विद्वान कानून व्यवसायीहरूले इजलाससमक्ष बहसको क्रममा घटनाको प्रत्यक्षदर्शी भनिएकी छम्मी मुर्म सतार १२ बर्ष उमेरकी नाबालिका भएकोले निजले गरेको बकपत्रलाई प्रमाणमा लिन मिल्दैन भन्ने जिकीर लिनु भएको छ । प्रस्तुत मुद्दामा घटनाको प्रत्यक्षदर्शी छम्मी मुर्मु सतार १२ वर्षकी रहेकीमा विवाद छैन । निजले यी प्रतिवादी बमबहादुर बस्नेत र भद्रकुमारी बस्नेतलाई पोल गर्नुपर्ने कुनै कारण पनि छैन । यी नाबालिकाको प्रतिवादीहरूसँंग पूर्व रिसइवीसमेत रहेको केही देखिँदैन । निजका बाबुसमेत सोही घरमा हलीका रूपमा कार्यरत रहेका छन् । मृतक शारदा बस्नेतसँगैे एउटै कोठामा सुती आएकी छम्मी मुर्मु सतार घटनाको सम्बन्धमा यथार्थ जानकारी राख्न सक्ने व्यक्ति हुन् । उनले मौकामा अनुसन्धान अधिकारी एवं अदालतसमक्ष सोधिएको प्रश्नको जानी बुझी युक्तियुक्त जवाफ दिएको देखिन्छ । छम्मी मुर्मु सतारको बकपत्र गर्दा निजको वावु संरक्षकका रूपमा रोहबरमा भएको अवस्था छ । प्रमाण ऐन, २०३१ को दफा ३८ अनुसार साक्षी हुन सक्ने व्यक्तिशीर्षकमा कलिलो उमेर, अति वृद्धावस्था वा शारीरिक वा मानसिक रोग वा अरू त्यस्तै कारणले गर्दा आफूलाई सोधिएको प्रश्न बुझ्न नसक्ने वा त्यसको युक्तियुक्त जवाफ दिन नसक्ने भनी अदालतले ठहर्‍याएको व्यक्ति बाहेक मतियार लगायत जुनसुकै व्यक्ति साक्षी हुन सक्नेछभन्ने कानूनी व्यवस्था रहेको देखिन्छ ।

२०. उल्लिखित कानूनी व्यवस्थाबाट साक्षीको योग्यता निर्धारण गरिएको पाइन्छ । साक्षीको योग्यता अदालतबाट निजलाई सोधिएको प्रश्न बुझ्न सक्ने र सोको युक्तियुक्त जवाफ दिन सक्ने हुनुपर्दछ । यस कानूनी व्यवस्थाको प्रयोजनार्थ आफूबाट के कुरा जान्न खोजिएको हो सो बुझ्न सक्ने हुनुको साथै निजले सो सोधिएको प्रश्नलाई समुचित ढङ्गले सम्बोधन गरेको छ भन्ने न्यायाधीशलाई लागेमा त्यस्तो साक्षीको बकपत्रलाई प्रमाणमा लिन हुन्छ । योग्य साक्षी हुन कुनै उमेरको छेकवार प्रमाण ऐन, २०३१ को दफा ३८ ले लगाएको छैन । कम उमेरका नाबालिगसमेत निजलाई गरिएको प्रश्नले के मागेको छ बुझ्नसक्ने हुनु र त्यस प्रश्नको जिज्ञासालाई समुचितरूपमा समाधान गर्नसक्ने क्षमता हुनु नै योग्य साक्षी हुन पर्याप्त छ । उत्तर सकारात्मक वा नकारात्मक जे जस्तो होस् त्यसले प्रश्नका माध्यमबाट अदालतले जान्न चाहेको तथ्य नाबालिग समेतबाट सहज रूपमा प्रकट हुनु नै त्यस उत्तरको युक्तियुक्तताको परिचय हो । कुनै नावालिकाको कथन प्रमाणमा लिने वा नलिने भन्ने सन्दर्भमा यकीन गर्नु पर्दा निजलाई सोधिएका सम्पूर्ण प्रश्नहरू र तिनको उत्तरको अध्ययन गरिनु पर्ने हुन्छ । यस परीक्षणको कसीमा हेर्दा नावालकले आफूलाई गरिएको प्रश्न बुझेको छ प्रश्नले के मागेको हो राम्ररी ठम्याएको छ र प्रश्नको सेरफेरोमा रही स्वाभाविक तथ्य प्रकट गरेको छ भन्ने त्यो योग्य साक्षी हो । छम्मी मुर्मु सतारलाई सोधिएका सबै प्रश्न र तिनको उत्तरहरूको अध्ययन गर्दा निजले कुनै प्रश्न नबुझेको र त्यसलाई समुचित ढंगले सम्बोधन नगरेको पाइदैन । त्यसैले यी १२ वर्षीय नाबालिका योग्य साक्षी हुन् । उनले कुन प्रश्न बुझेकी छैनन् र कुन प्रश्नको असङ्गत उत्तर दिएकी छन् भन्ने कुरा प्रतिवादी पक्षबाट प्रस्तुत हुन सकेको छैन ।

२१. प्रस्तुत मुद्दामा प्रत्यक्षदर्शी छम्मी मुर्मु सतार उक्त वारदात भएको घरमा विगत एकबर्ष अगाडिदेखि मृतक शारदा बस्नेत सुत्ने कोठामा सँगै सुत्ने गरेको, मृतकका बच्चाहरू हेर्ने गरेको र यसभन्दा पहिल्यै प्रतिवादीहरूले मृतक शारदालाई होलाँहोचो गरेको सम्बन्धमा समेत जानकारी राख्न सक्ने व्यक्ति हुन् । यसरी घटनाको प्रत्यक्षीदर्शीको रूपमा रहेकी छम्मी मुर्मु सतारले मौकामा अनुसन्धान अधिकारीसमक्ष र अदालतमा आई गरेको बकपत्रमा घटनाको बारेमा आफ्नै आँखाले देखेका कुराहरू सविस्तार रूपमा व्यक्त गरेको हुँदा निजको बकपत्रलाई प्रमाणमा लिन नमिल्ने अवस्था नभएको मात्र होइन प्रमाणहरूको समूहमा यसलाई विशेषरूपमा हेरिनुपर्ने अवस्था छ । शारदा बस्नेतलाई कर्तव्य गरी मारेको घटनाका सम्बन्धमा छम्मी मुर्मु सतारले मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको कागजसंँग प्रतिवादीहरू बमबहादुर बस्नेत, भद्रकुमारी बस्नेत र तारा बस्नेतले मौकामा अनुसन्धान अधिकारीसमक्ष गरेको बयान परस्पर मेल खानुका अतिरिक्त घटनास्थल मुचुल्कासमेतबाट पुष्टि भएको छ । सम्पूर्ण प्रमाणबाट निज मुर्मु सतार आफ्नो घरको कामदार रहेको देखिँदादेखिँदै पनि प्रतिवादी भद्रकुमारीले अदालतमा बयान गर्दा निजलाई चिन्दिन भनेको र निजले आफ्नो घरमा काम गर्ने गरेको कुरा अस्वीकार गरेको पाइन्छ । तर, बमबहादुर र तारा बस्नेतले सोही कुरा स्वीकार गरेको देखिनुबाट पनि छम्मी मुर्मु सतारको बकपत्रको प्रमाणिक महत्व बढेको छ । यसरी निज नाबालिगकाको बकपत्रको प्रामाणिक महत्वलाई गौण मान्न मिल्ने नदेखिँदा निज छम्मी मुर्मु सतारको बकपत्रलाई प्रमाणमा लिनुपर्ने हुन्छ ।

२२. मृतकको शव परीक्षण प्रतिवेदनमा शारदा बस्नेतको मृत्युको कारणमा चोटपटकले अत्यधिक रक्तश्राव भएर Shockको कारणले मृत्यु भएकोभन्ने उल्लेख भएको छ । शव परीक्षण गर्ने डा.इन्द्रनारायण मल्लिकसमेतले अदालतमा आई बकपत्र गर्दा मृतकको मृत्यु कुटपीटको कारणले अत्याधिक रक्तश्राव भै भएको हो । मृतकको शरीरको विभिन्न अङ्गमा गम्भीर किसिमका चोटपटक देखिएको हुँदा सो चोटपटकको कारण मृतकको मृत्यु भएको देखिन्छ भनी आफ्नो रायसमेत व्यक्त गरेका पाइन्छ ।

२३. मृतक शारदा बस्नेतको भीषेरा परीक्षण गर्न पठाइएकोमा केन्द्रीय प्रहरी वैज्ञानिक प्रयोगशालाको परीक्षण प्रतिवेदनमा शारदा बस्नेतको भीषेरा नमूनाहरूमा आलुमिनियम फोस्फाइड विषादि पाइएको र फ्युमिगेन्ट स्तनधारीका लागि अत्यन्त विषालु हुन्छन्भनी लेखिएको मिसिल संलग्न प्रतिवेदनबाट देखिन्छ । कुनै पनि प्रमाणले पुष्टि नगर्ने विशेषज्ञको राय विचारयोग्य हुँदैन । विशेषज्ञको राय अदालतको सन्तुष्टिका लागि हो । मिसिल संलग्न प्रत्यक्षदर्शीको कथन, लासका फोटोहरू, घटनास्थल मुचुल्का तथा स्वयम् प्रतिवादीहरूको कथनसमेतका प्रमाणले सिधै इन्कार गर्ने भीषेरा परीक्षण प्रतिवेदनबाट अदालत भ्रमित हुनुपर्ने अवस्था प्रस्तुत बिवादमा छैन । आत्महत्या गर्नकै लागि विषादि सेवन गर्ने व्यक्तिले झुण्डिनु पर्ने आवश्यकता पर्दैन । मरेको लासले विष सेवन गर्दैन । विष सेवनपछि आफ्नो मृत्यु नभएकाले झुण्डिनु परेको हो भन्ने प्रतिवादी पक्षका विद्वान कानून व्यवसायीहरूको जिकीर छ । तर विष सेवन गरेको देख्ने, विषको बोतल समेत वारदातस्थलमा वरामद हुने र विषादि सेवनका लक्षणहरू लासमा देखा पर्ने समेतका कुनै पनि स्थिति मिसिलबाट देखिँदैन । तत्काल शवपरीक्षण गर्ने चिकित्सकहरूको समूहले पनि विषादि सेवनका लक्षण लासमा देखेको अवस्था छैन । मृत्युको कारण यकीन गरिसकेपछि भीषेरा परीक्षण गर्ने राय व्यक्त भएको छ ।

२४. कुनै पनि कुराको परीक्षण गर्न एक ठाउँबाट अर्को ठाउँमा पठाइँदा सो परीक्षण गर्न के कसरी पठाइयो, परीक्षण विधि के कस्तो रह्यो र लासका भीषेरा नमूना समेत सुरक्षित राख्न तथा यो नमूना परिवर्तन नहुने व्यवस्था गर्न के कस्ता प्रक्रिया अपनाइयो भन्ने समेतका आधार खुलाइएको मिसिलबाट देखिनु पर्दछ । कुनै पनि राय निरापद हुन सक्तैन । बिना आधारको राय अदालतको विचारवस्तु बन्दैन । प्रस्तुत विवादमा मृतकको भीषेरा परीक्षणका विषयमा यस्ता कुनै कुरा खुलाइएको देखिँदैन । तसर्थ विशेषज्ञ भनिएको व्यक्तिको फगत रायमा न्यायकर्ता रुमलिन आवश्यक छैन ।

२५. जाहेरवाला गंगाबहादुर कार्कीले अदालतमा आई गरेको बकपत्रमा छोरी शारदा माइत आउँदा दाइजो नल्याएको भनी श्रीमान् तथा सासू ससुराले बारम्बार गाली गलौज एवं कुटपीट गर्ने गरेका भन्ने गर्थिन् । मिति २०६२।११।७ गते दिउँसो भाइ हरिबहादुर र आफूसमेतका मानिसहरू बमबहादुर बस्नेतको घरमा गई समाज बसी छलफल गर्दा छोरीलाई कुटपीट गरेकोमा इलाज गराउने र अंश दिने विषयमा छलफल र समझदारी भई फर्केकोमा सोही दिन राति घरपरिवार सबै भएर छोरी शारदालाई कर्तव्य गरी मारी झुण्डयाएको भनी जाहेरी दरखास्तलाई थप पुष्टि हुने गरी लेखाइदिएको पाइन्छ । मौकामा बुझिएका पूर्णबहादुर कार्कीसमेतले अदालतमा आई गरेको बकपत्रमा समेत शारदाको विवाहमा माइतीले रङ्गीन टी.भी. र मोटरसाइकल नदिएको कारणले बेलाबेलामा यातना दिइरहेको, उदयले जमुना चौहानसँग विवाह गर्न सहमति दे भनी कुटपीट गर्ने गरेको र पिडौलामा नीलडामसमेत देखिएको हुँदा प्रतिवादीहरूले शारदा बस्नेतलाई कर्तव्य गरी मारी घरकै पूजाकोठामा झुण्डाएका हुन् भनी लेखाई दिएको देखिन्छ ।

२६. मृतक शारदा बस्नेतको उदयकुमार बस्नेतसँग २०५६।३।७ मा विवाह भएको र विवाहमा माइतीपक्षबाट रङ्गीन टी.भी, मोटरसाइकललगायतको सामान दाइजो नदिएको निहुँमा मृतकको श्रीमान् उदयकुमार बस्नेत र यी प्रतिवादीहरू बमबहादुर बस्नेत र भद्रकुमारी बस्नेतसमेत भई शारदा बस्नेतलाई बारम्बार कुटपीट गरी यातना दिने गरेको देखिन्छ । यसै क्रममा मिति २०६२।११।३ गते उदयकुमार बस्नेतले गाउँकै जमुना चौहानलाई विवाह गरी लगेको र माइती पक्षका व्यक्तिहरू र गाउँका भद्रभलाद्‌मी समेत भै समाज बसी शारदा बस्नेतको उपचार गर्ने र अंश दिएर राख्ने विषयमा २०६२।११।७ गते दिउँसो सहमति भएको तथ्यमा विवाद देखिँदैन । यसरी माइती पक्षका व्यक्तिहरू आई दबाब दिँदा आफ्नो इज्जत प्रतिष्ठामा धक्का पुगेको, शारदालाई अंश दिनुपर्ने, छोरालाई वहुविवाहमा मुद्दा लाग्ने सक्ने ठानी यी प्रतिवादीहरू बमबहादुर बस्नेत र भद्रकुमारी बस्नेतसमेतको आपसी छलफल र मिलेमतोका अन्य व्यक्तिहरू समेतको मद्दत लिई बुहारी शारदा बस्नेतलाई घरपरिवारका सबैजना मिली योजना बनाई कुटपीट एंव बाँधछाँद गरी कर्तव्य गरी मरी सकेपछि सो अपराधबाट बच्नको लागि आफै झुण्डी मरेकी हो भन्ने देखाउन घरकै पूजाकोठामा लगी मृतकको सलले झुण्ड्याएको तथ्य मिसिल संलग्न कागज प्रमाणहरूबाट पुष्टि हुन आएको देखिन्छ ।

२७. यस्तो स्थितिमा माथि विवेचित सबूद प्रमाणको मूल्याङ्कन गर्दा प्रतिवादीहरू बमबहादुर र भद्रकुमारीले मृतकको शरीरमा हात नै नहालेको भन्न मिल्ने स्थिति देखिएन । मृतकको शरीरमा हात हाल्ने व्यक्तिलाई ज्यानसम्बन्धीको १७ नं. आकर्षित हुन सक्दैन । अधिकार प्राप्त अधिकारीसमक्षको साबिती र प्रत्यक्षदर्शीको कथनसमेतबाट मृतकको शरीरमा हात हाल्ने प्रतिवादीहरू बमबहादुर बस्नेत र भद्रकुमारी बस्नेतलाई ज्यानसम्बन्धी महलको १७(३) नं बमोजिम जनही १ वर्ष ६ महिना कैद हुने गरी शुरू झापा जिल्ला अदालतको फैसला सदर हुने ठहरी पुनरावेदन अदालत, इलामबाट भएको फैसला त्रुटिपूर्ण देखिन आयो ।

२८. प्रतिवादी तारा बस्नेतले अभियोग दावीबाट सफाई पाउने ठहरी शुरू अदालतको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत, इलामबाट भएको फैसलाको सम्बन्धमा विचार गर्दा प्रतिवादी तारा बस्नेत दावीको कसूरमा प्रहरी र अदालतमा समेत इन्कारी बयान गरेकी छन् । प्रस्तुत मुद्दामा वारदातको प्रत्यक्षदर्शी रहेकी छम्मी मुर्मु सतारले मौकामा अनुसन्धान अधिकारी एवं अदालतमा आई गरेको बकपत्रमा समेत शारदा बस्नेतलाई कर्तव्य गरी मार्नमा प्रतिवादी तारा बस्नेतको संलग्नता देखिँदैन । प्रतिवादी भद्रकुमारी बस्नेत समेतले शारदाको कोठामा सुती रहेको अवस्थामा मृतकलाई सोही कोठामा गई कुटपीट गर्न थालेपछि आफूलाई त्यहाँबाट निकाली तारा बस्नेतको कोठामा गै बस भनी भनेकोले म र तारा बस्नेतसमेत तारा बस्नेतको कोठामा बसी घटना घटेको देखेको भनी लेखाई दिएको देखिँदा घटना घटेको समयमा तारा बस्नेत वारदातमा संलग्नता नभई अंग्रेजीको एल आकारको घरको आफ्नै कोठामा बसेको तथ्य पुष्टि हुन आउँछ । आफ्नो घरको उक्त घटना आफ्नै आँखाले देखेको अवस्थामा प्रतिवादी तारा बस्नेतले हारगुहार नगरी आफ्नी जेठानीलाई घरपरिवारका मानिसहरूले मार्नबाट बचाउने वा उक्त घटना रोक्नेसम्मको कुनै प्रयास नगरेको अवस्थामा निजसमेत मतसंल्लाहमा पसेको भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकीर रहेको छ । सो सम्बन्धमा विचार गर्दा घरपरिवारसमेतका सबैजना मिली जेठानीलाई दिएको यातना एव कुटपीट समेतको कर्तुत आफ्नै आँखाले देखे भोगेकी बुहारीले घरपरिवारको डर, सामाजिक परिवेश र पतिको आदेश समेतका कारणले कुनै प्रतिक्रिया नजनाउनुलाई मतसल्लाहमा पसेको भनी यी प्रतिवादी तारा बस्नेतलाई दोषी ठहर गर्न मिल्ने देखिन आएन । हत्या गर्ने मतसल्लाहमा पस्नु र प्रतिक्रिया नजनाउनु विल्कुल अलग कार्य हुन् । मार्ने योजनामा सहमति जनाउनु वा सो योजनाको पूर्व जानकारी राख्नु मतसल्लाहमा पसेको मान्ने आधार हुन सक्दछन् । तर, आफूबाहेक अरूले गरेको मतसल्लाहअनुसारको कार्यको दर्शक हुनु नै आरोपित कसूर गरेको प्रमाण हुन सक्दैन । यसरी प्रस्तुत घटना घटाउने कार्यमा प्रतिवादी तारा बस्नेतको कुनै भूमिका नरहेको र निज शारदा बस्नेतलाई कर्तव्य गरी मार्नमा मतसल्लाहमा पसेको भन्ने समेत नदेखिँदा प्रतिवादी तारा बस्नेतलाई अभियोग माग दावीबाट सफाइ पाउने ठहरी शुरू अदालतबाट भएको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत, इलामको फैसला सो हदसम्म मिलेकै देखियो । यसतर्फ नेपाल सरकारको जिकीर पुग्न सक्तैन ।

२९. अतः प्रतिवादी तारा बस्नेतलाई सफाई दिएको फैसला खण्ड सदर नै भएतापनि प्रतिवादी बमबहादुर बस्नेत र भद्रकुमारी बस्नेतलाई ज्यानसम्बन्धी महलको १७(३) नं बमोजिम जनही १ वर्ष ६ महिना कैद हुने गरी शुरू झापा जिल्ला अदालतबाट भएको फैसलालाई सदर गरी पुनरावेदन अदालत, इलामबाट भएको मिति २०६५।८।२९ को फैसला खण्ड उल्टी भै प्रतिवादीहरू बमबहादुर बस्नेत र भद्रकुमारी बस्नेतलाई अभियोग मागबमोजिम ज्यानसम्बन्धी महलको १३(३) नं अनुसार सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर्छ । यसतर्फ पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्तैन । तसर्थ, पुनरावेदन अदालत, इलामको फैसला केही उल्टी हुन्छ ।

३०. जहाँसम्म प्रतिवादीहरू बमबहादुर बस्नेत र भद्रकुमारी बस्नेतलाई सर्वश्वसहित जन्मकैदको सजाय गर्ने सम्बन्धमा विचार गर्दा प्रतिवादीमध्येका बमबहादुर बस्नेत हाल वर्ष ७६ र भद्रकुमारी बस्नेत हाल वर्ष ६८ का वृद्धवृद्धा देखिएको अवस्था छ । नेपालीको औसत आयुका परिप्रेक्ष्यमा जीवनको उत्तरार््धमा पुगेका यी प्रतिवादीहरूलाई सजाय केही कम गरिदिँदासमेत न्यायको प्रयोजन पूरा हुने र अपराधअनुसार सजाय पाएको नै मानिने भई २० वर्ष नै कैद गर्दा यी प्रतिवादीहरूका हकमा सजाय चर्को पर्न जाने देखिँदा निजहरूको उमेर र नेपालीको औसत आयुका कारणले अ.व. १८८ नं बमोजिम निज प्रतिवादीहरू बमबहादुर बस्नेत र भद्रकुमारी बस्नेतलाई जनही १० वर्ष कैद सजाय हुन्छ । अरू तपसील बमोजिम गर्नू ।

 

तपसील

माथि ठहर खण्डमा उल्लेख भएबमोजिम प्रतिवादीहरू बमबहादुर बस्नेत र भद्रकुमारी बस्नेतलाई ज्यानसम्बन्धी महलको १३(३) नं बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहरी अ.व. १८८ नं बमोजिम जनही १० वर्ष कैदको सजाय हुने गरी राय व्यक्त भएकोले निज प्रतिवादीहरू पुनरावेदन अदालत, इलामको फैसलाअनुसार मिति २०६२।११।१२ देखि २०६४।५।११ गतेसम्म १ वर्ष ६ महिना कैद भुक्तान भै सकेको देखिँदा यस अदालतको फैसलाले लागेको कैद वर्ष १० को लगत कसी थुनामा बसेको उल्लिखित अवधि कटाई जनही बाँकी कैद ८ वर्ष ६ महिना असूलउपर गर्नु भनी शुरू जिल्ला अदालतमा लेखी पठाई दिनू..................१

डायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गर्नू ..........१

 

उक्त रायमा सहमत छु ।

 

न्या.गिरीश चन्द्र लाल

 

इति संवत् २०७० साल जेठ २० गते रोज २ शुभम.......

 

इजलास अधिकृत : हरिप्रसाद कोइराला 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु