निर्णय नं. ९०२३ - मोही नामसारी गरी प्रमाण पत्र

ने.का.प. २०७०, अङ्क ६
निर्णय नं. ९०२३
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुशीला कार्की
माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की
०६७-CI-०५३४
फैसला मितिः २०७०।१।२७।६
मुद्दाः–मोही नामसारी गरी प्रमाण पत्र ।
पुनरावेदक प्रतिवादीः जिल्ला मोरङ्ग, विराटनगर उपमहानगरपालिका वडा नं.१४ बस्ने बर्ष ३७ को योजितराज प्रधान नेपाली
विरुद्ध
प्रत्यर्थी वादीः जिल्ला सुनसरी, चिमडी गा.वि.स.वडा नं.३ बस्ने कात्तिकलाल चौधरी
शुरू फैसला गर्ने
भू.सु.अ.श्री नारायणप्रसाद अधिकारी
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री हरिबहादुर बस्नेत
मा.न्या.श्री प्रकाशचन्द्र गजुरेल
§ जग्गाको लगत विवरण भरी बुझाउँदा जग्गा रहेको वडाभन्दा फरक वडामा बुझाएकै मात्र कारणले वर्षौंदेखि जोती कमाई आएको जग्गाबाट मोही हक स्वतः मेटिने भन्न न्यायका दृष्टिले नमिल्ने ।
§ नेपाली समाज अझै पनि अर्धशिक्षित अवस्थामा रहेको पाइनुले आफ्नो हकप्रति सजग रहनुपर्ने सचेतनाको स्तरमा रहेको कमी कमजोरीलाई गरीब तथा निरक्षर जनताको हकमा भएको प्राविधिक त्रुटिलाई मात्र निर्णयमा निर्णयाधार बनाउन समन्यायको दृष्टिबाट समेत उचित नमानिने ।
§ १ नं. लगत भरी फरक वडामा बुझाउँदैमा र २ नं.अनुसूचीसमेत फरक वडाबाट प्रकाशित भएको भन्ने प्राविधिक त्रुटिजन्य कारणलाई मात्र आधार बनाई वादी दावीको जग्गाको मोही होइनन् भन्न न्यायको दृष्टिबाट नमिल्ने ।
(प्रकरण नं.६)
प्रत्यर्थी वादीतर्फबाटः विद्वान अधिवक्ता हरिनारायण चौधरी
प्रत्यर्थी वादीतर्फबाटः
अवलम्बित नजीर
सम्बद्ध कानूनः
आदेश
न्या.ज्ञानेन्द्रबहादुर कार्कीः पुनरावेदन अदालत, विराटनगरको मिति २०६६।११।०४।३ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर देहायबमोजिम छ ।
साविक ज.ध.योगराज ताम्राकार भई हाल विपक्षी प्रतिवादीका नाममा दर्ता कायम हुन आएको जि.सुनसरी, चिमडी गा.वि.स.वडा नं.२क. कि.नं.५९ को १–१०–२ जग्गाको मेरो बुबा चिचाई चौधरी हक प्राप्त मोही भई उहाँले जोती कमाई आउनु भएकोमा निज बुबा २०२३ सालमा, आमा जेठी कैली भन्ने आशादेवी २०२० सालमा र कान्छी आमा छर्पोदेवी थरूनी २०२७ सालमा मृत्यु भएपश्चात् निजहरूको हक खाने एक मात्र छोरा म फिरादी भई मैले जोती कमाई आएको हुँदा उक्त जग्गाको मोही हक मेरा पिता चिचाई चौधरीको नाममा कायम गरी भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) अनुसार मेरा नाममा मोही नामसारी गरी मोहियानी हकको प्रमाणपत्र पाऊँ भन्ने व्यहोराको वादीको फिराद दावी ।
वादी दावीबमोजिमको मेरा नाममा दर्ता कायम रहेको जग्गा निर्बाधरूपमा मेरो हक भोगमा रहेको जग्गा हो । विपक्षी वादीले जवर्जस्ती मोही हक स्थापित गर्ने बद्नियत लिई खिचोला गरेकाले जग्गा खिचोला चलन र सो जग्गामा भएको धानबाली समेत लुटपीट गरेकोमा सम्मानीत सुनसरी जिल्ला अदालतमा जग्गा खिचोला चलन र लुटपीट मुद्दा दायर गरी विचाराधीन अवस्थामा रहेको हुँदा उक्त जग्गाको मोही हक वादीका पिता चिचाई चौधरी कायम हुने अवस्था नभएको हुँदा वादी दावीबमोजिम नामसारी हुने अवस्था नै नरहेको हुँदा वादी दावी झूठा हुँदा खारेज गरिपाऊँ भन्नेसमेत व्यहोराको प्रतिउत्तर पत्र ।
वादीले दावी लिएको जग्गाको दावी पुग्न नसक्ने भई प्रस्तुत मुद्दा मुलुकी ऐन, अ.बं.१८० नं.बमोजिम खारेज हुने ठहर्छ भन्ने शुरू भूमि सुधार कार्यालय, सुनसरीको मिति २०६५।०३।०४ को फैसला ।
विपक्षीले जग्गा जोतको कुरामा विवाद उठाए पनि सो जग्गा हालसम्म म पुनरावेदकले जोती भोगी साल सालैको बाली बुझाउँदै आइरहेको छु । क्षेत्रफल फरक हुनु र १ नं.लगत र २ नं.अनुसूची फरकफरक वडा नं.मा रहनुले मात्रै मोही होइन भनी भन्न नमिल्ने हुँदा र यिनै एउटा वडा नं.मा १ नं.लगत र २ नं.अनुसूची रहेको र अर्को वडा नं.मा जग्गा रहेको विवादमा मिति २०६१।०२।८ मा सर्वोच्च अदालतबाट पुनरावेदक प्रतिवादी शान्तिराम गुरागाईविरुद्ध रक्सु माझी भएको मोहीको स्थायी निस्सा प्रमाणपत्र पाऊँ भन्ने मद्दामा विवादको निरूपण भै अर्कै नजीर स्थापित गरेको हुँदा सो नजीरलाई अनुशरण गरी भूमिसुधार कार्यालय, सुनसरीले गरेको फैसला उल्टी गरी मोही कायम गरी मोही नामसारी गरी प्रमाणपत्र पाऊँ भन्नेसमेत व्यहोराको वादीको पुनरावेदन अदालत, विराटनगरमा परेको पुनरावेदन पत्र ।
यसमा मोहीको १ नं.लगत, २ नं.अनुसूची र फिल्डबुकमा मोहीको नाम उल्लेख भै रहेको अवस्थामा दावी नपुग्ने गरी गरेको भूमि सुधार कार्यालय, सुनसरीको फैसला विचारणीय हुँदा अ.ब.२०२ नं.तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत, विराटनगरको आदेश ।
मिसिल संलग्न रहेको गाउँ विकास समितिको कार्यालय, चिमडी सुनसरीबाट भएको मिति २०६३।०५।२८ को सर्जमिनमा, सर्जमिनमा रहेको मानिसहरूले दावीको जग्गा अलग अलग होइन, वादी दावीकै जग्गा हो, दावी अनुसार वादीका नाममा मोही नामसारी गरी प्रमाणपत्र दिएमा पछिसम्म फरक पर्दैन भनी कागज गरी दिएको अवस्था छ । वादीबाट पेशी भएका अनुसूचीको जग्गा अर्कै जग्गा हो भनी प्रतिवादीले खण्डन गर्न सकेको पनि देखिँदैन ।
अतः मिसिल सलग्न रहेको फिल्डवुक, अनुसूची १ र २ नं. मा उल्लेख भएको जग्गा विवादको जग्गा नभई छुट्टै अलग्गै हो भन्ने नदेखिएको अवस्था वडा नं. फरक भएको आधार देखाई फिराद दावी खारेज गर्ने गरेको शुरू भूमि सुधार कार्यालय, सुनसरीबाट भएको मिति २०६५।०३।४ को खारेजी फैसला नमिली उल्टी हुने ठहर्छ र पुनरावेदक वादीको दावीअनुसार मोही हकको प्रमाणपत्र पाउने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, विराटनगरको मिति २०६६।११।०४।३ को फैसला ।
वादीका पिताका नाममा मोही दर्ता नै भएको छैन । मोहीदर्ता भई नसकेको, भूमि सुधार कार्यालयबाट विपक्षीका पिताले मोहीको प्रमाणपत्र प्राप्त नगरेको र मालपोत कार्यालयको श्रेस्तामा पनि मोही महल खाली रहेको दावीको जग्गाको मोही एकैपटक वादीका नाममा प्रमाणपत्र दिने गरी भएको पुनरावेदन अदालतको फैसला वादी दावीसमेतको प्रतिकूल छ । उक्त फैसला वादी दावीमा सीमित नरही भएको छ । वादीका पिता चिचाई चौधरीले निज बसोबास गरेको वडा नं. १ बाट मोहीको १ नं. भरेको भन्नेसमेतको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ । मोहीले भर्ने १ नं. लगतमा मोहीको नाम थर वतन उल्लेख गर्ने महल अलग्गै भएकोमा र जग्गाको वडा नं. उल्लेख गर्ने स्थान अलग्गै भएको दुवैलाई एउटा अर्थ गर्न मिल्दैन । वादीले पेश गरेको १ नं. लगत २ नं. अनुसूचीमा जग्गा रहेको स्थान चिमडी गा.वि.स. वडा न. ३ क्षेत्रफल १–०–० जग्गा धनी योगराज बाँडा उल्लेख छ भन्ने हाल वादीले दावी गरेको मेरो जग्गा रहेको स्थान चिमडी गा.वि.स.वडा नं २(क) किनं ५९ को क्षेत्रफल १–१०–२ जग्गा धनी योजितराज प्रधान नेपाली रहेको छ । जसबाट वादीले पेश गरेको तथ्य पुष्टी नभएको हुँदा पुनरावेदन अदालतको फैसला बदर गरी शुरू भूमि सुधार कार्यालयबाट भएको फैसला सदर कायम गरिपाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादीको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
यसमा दावीको जग्गाको अवस्थिति एवम् १ नं. लगत तथा २ नं. अनुसूची प्रकाशनमा जग्गा देखाइएको वडा नं. फरक फरक रहेको देखिनुको साथै दावीको जग्गाको कूत वुझाएको भर्पाइसमेत वादी पक्षबाट प्रस्तुत हुन नसकेको अवस्थामा दावीबमोजिम मोहीको प्रमाण पत्र पाउने भनी भएको पुनरावेदन अदालत, विराटनगरको मिति २०६६।११।०४ को फैसला फरक पर्न सक्ने हुँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई उपस्थित भएपछि वा अवधि व्यतीत भएपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतबाट मिति २०६८।१०।२०।६ मा भएको आदेश ।
नियमबमोजिम मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा प्रत्यर्थी वादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता हरिनारायण चौधरीले विवादित जग्गा हालसम्म पनि वादीले नै जोती कमाई आएको हुँदा विवादित जग्गाको मोही हक नामसारी वादीको नाममा हुने गरी गरेको पुनरावेदन अदालत, विराटनगरको फैसला न्यायपूर्र्ण हुँदा उक्त फैसला सदर कायम हुनुपर्छ भन्ने सन्दर्भमा गर्नु भएको बहस जिकीरसमेत सुनियो ।
उल्लिखित बहस जिकीर र मिसिल संलग्न पुनरावेदन पत्रसमेतका कागजातहरूको अध्ययन गरी पुनरावेदन अदालत, विराटनगरले गरेको फैसला मिलेको छ वा छैन र प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्छ वा सक्दैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
यसमा प्रतिवादीका नाममा दर्ता कायम हुन आएको जग्गाको मेरो बाबु हक प्राप्त मोही भई जोती कमाई आएको र बुबाको मृत्यु भएको हुँदा उहाँको एकमात्र हकदार छोरा म मात्र हुँदा बुबाको नाममा मोही हक कायम गरी मेरो नाममा मोही नामसारी गरी प्रमाणपत्र पाऊँ भन्ने वादीको फिराद जिकीर देखिन्छ । वादी मेरो जग्गाका मोही होइनन् । निजविरुद्ध जग्गा खिचोला र बाली लुटपीट मुद्दा दायर गरी विचाराधीन हुँदा वादीको नाममा मोही नामसारी हुने होइन वादी दावी खारेज गरिपाऊँ भन्ने प्रतिवादीको प्रतिउत्तर जिकीर भएकोमा शुरूले फिराददावी खारेज गर्ने गरेको फैसला उल्टी गरी पुनरावेदन अदालतबाट वादी दावीअनुसार मोही हकको प्रमाणपत्र पाउने ठहर्याई भएको फैसलाउपर प्रतिवादी पक्षको चित्त नवुझी यस अदालतमा पुनरावेदन पर्न आएको देखियो ।
२. निर्णयतर्फ विचार गर्दा साविक जग्गाधनी योगराज ताम्राकार भई हाल योजितराज प्रधान नेपालीको नाममा दर्ता कायम रहेको जिल्ला सुनसरी चिमडी गा.वि.स.वडा नं. २क. को कि.नं. ५९ को जग्गाको मोहीको हैसियतले प्रत्यर्थी वादीका बाबु चिचाई चौधरीले आफू बसोबास गरिरहेको ऐ. गा.वि.स. को वडा नं ३ बाट मोहीको १ नं. लगत भरेको देखिन्छ । उक्त १ नं. लगतमा जग्गाधनीको नाम लेख्ने महलमा योगराज बाँडा विराटनगर भन्ने उल्लेख भएको देखिनुका अतिरिक्त आफूले कमाएको जग्गाको क्षेत्रफलसमेत उल्लेख गरेको देखिन्छ । त्यसै गरी तत्कालीन जग्गाधनी योजराज बाँडाको नामबाट लगत भरी २ नं अनुसूचीसमेत ऐ. वडा नं ३ बाट प्रकाशित भएको देखिन्छ । हाल प्रत्यर्थी वादीले बाबु चिचाई चौधरी २०२३।२।५ मा र आमाहरू दुईजना भएकोमा उनीहरू समेतको २०२० र २०२७ सालमा मृत्यु भै सकेकोले साविक जग्गा धनी योगराजको नामबाट हाल जग्गा धनी योगराज प्रधान नेपालीको नाममा कायम हुन आएको उक्त जग्गाको साविक मोहीको हकवालामा आँफू एकमात्र बाँकी हुँदा र आफूले नै उक्त जग्गा जोती कमाई आएको प्रमाणसमेत हुँदा उक्त जग्गाको मोही हक बाबुको नामबाट मेरो नाममा नामसारी गरिपाऊँ भन्ने फिरादीको जिकीर रहेको देखिन्छ ।
३. सो दावी जिकीरलाई मिसिल संलग्न रहेको गाउँ विकास समितिको कार्यालय, चिमडी सुनसरीबाटभएको मिति २०६३।५।२८ को सर्जमिनले समेत समर्थन गरेको देखिन्छ । उक्त सर्जमिनमा रोहबरमा बस्ने मानिसहरूले वादीदावीको जग्गाको साविक जग्गाधनी योगराज बाँडा भई हाल योजितराज प्रधान नेपाली भएको र मोहीको १ नं. लगत फाराममा उल्लिखित मोही चिचाई चौधरी र मिति २०२४।१२।२३ गते गरिदिएको नापीअनुसारको क्षेत्रीय किताब उतारमा उल्लिखित कात्तिक लाल चौधरीबीच बाबु छोराको नाता रहेको र नापीअनुसार तयार भएको उक्त क्षेत्रीय किताब उतारको कैफियत महलमा चिमडी गा.वि.स. वडा नं. २ क कि.नं ५९ को क्षेत्रफल ०१–१०–२ जग्गा कमाउनेको नाम चिचाई चौधरी रहेको व्यहोरा ठीक साँचो हो भनी आ–आफ्नो व्यहोरा लेखाई दिएको पाइन्छ भने सोही सिफारिश व्यहोराका आधारमा चिमडी गा.वि.स. कार्यालयले मोही नामसारीको लागि सिफारिशसमेत दिएको मिसिलबाट देखिन्छ ।
४. दावीको जग्गामा वादीको जोतभोग नहुँदा निज मोही हुनै सक्दैनन् भन्ने प्रतिवादीको पुनरावेदन जिकीर भए पनि सो जिकीरलाई भरपर्दो कागज प्रमाण पेश गरी प्र्रतिवादीले प्रमाणित गराउन सकेको अवस्था देखिँदैन । वादीले पेश गरेको १ नं. लगत र २ नं. अनुसूची जग्गा रहेको २ नं. वडाबाट प्रकाशित नभई अर्कै ३ नं. वडाबाट प्रकाशित भएको हुँदा वादीले पेश गरेको जग्गाको तथ्य नै पुष्टी भएको छैन भन्ने प्रतिवादीको पुनरावेदन जिकीर रहेको भएपनि फिराद दावीको जग्गा वादीले कमाएको होइन छैन भनी प्रतिवादीले कुनै तथ्ययुक्त कागज प्रमाण पेश गरी आफ्नो प्रतिउत्तर जिकीरलाई खण्डन गराउन सकेको अवस्था मिसिलबाट देखिँदैन ।
५. जग्गा रहेको वडाभन्दा फरक वडामा १ नं. लगत भरी २ नं. अनुसूची प्रकाशित भएकोले दावी जग्गाको वादी मोही हुनै नसक्ने प्रतिवादीले पुनरावेदनमा जिकीर लिएतर्फ हेर्दा यस अदालतबाट प्रकाशित बुलेटिन वर्ष ८, अङ्क २१, २०५६, पूर्णाङ्क १८३, पृष्ठ ११ मा प्रकाशित भानुभक्त काफ्लेविरुद्ध रामकुमार शाह भएको २०५१ सालको दे.पु.नं.२२७२ को मोही दर्ता नामसारी मुद्दामा “नापी आउनुभन्दा अगाडिदेखि नै जग्गा भोग गरी आएको अवस्थामा प्रकाशित भएको २ नं. अनुसूचीमा वडा नं. फरक परेको कारणले मात्र नामसारी गर्न इन्कार गर्न नहुने” भनी सिद्धान्त प्रतिपादन भएको देखिन्छ । त्यस्तै वर्ष २०, अङ्क १८, २०६८, पूर्णाङ्क ४६८, पृष्ठ १८ मा प्रकाशित सत्यनारायण यादवविरुद्ध बिन्देश्वरी यादव भएको २०६४–CI–१०३६ को मोही नामसारी मुद्दामा “अर्कै ठाउँमा २ नं.अनुसूची प्रकाशन भएको भन्ने आधारमा मात्र मोही हक नामसारी नहुने भन्न नमिल्ने” (२०६० सालको दे.पु.नं ९२६९, अगहनियादेवी थरूनीविरुद्ध सीताराम चौधरी कलवारसमेत फैसला मिति २०६१।०१।११), “असम्बन्धित वडामा अनुसूची प्रकाशित भएको जग्गा विवादित जग्गा होइन भनी प्रतिवादीले प्रमाणित गर्न नसकेकोले दावीबमोजिम मोही नामसारी हुने”(२०५५ सालको दे.पु.नं ४३५४ मागैन यादव वि. रामबहादुर रमण फैसला मिति २०६२।०७।११) भन्ने सिद्धान्त प्रतिपादन भएको देखिएकोले जग्गाको स्वरूप, कि.नं. जग्गाधनी र मोही फरक नपरेको स्थितिमा २ नं. अनुसूची फरक वडामा प्रकाशित भएको कारणले मात्र जहरू यादव मोही होइन भन्न नमिल्ने भन्ने व्याख्या भई सिद्धान्त प्रतिपादन भएको देखिन्छ । उल्लिखित मुद्दा र प्रस्तुत मुद्दाको विवादको प्रकृति एकै किसिमको देखिएको सन्दर्भमा जग्गा रहेको वडाभन्दा फरक वडामा २ नं अनुसूची प्रकाशित भएको मात्र कारणले वादी मोही हुनै नसक्ने भनी पुनरावेदक प्रतिवादीले लिएको जिकीरलाई उल्लिखित नजीर सिद्धान्तहरूबाट खण्डन भइरहेको देखिन्छ ।
६. मिसिल संलग्न रहेको फिल्डबुक, १ नं. लगत फाराम र २ नं अनुसूची मा उल्लेख भएको साविकमा वादीका बाबुले र बाबुको मृत्युपश्चात् प्रत्यर्थी वादी आफैले जोती कमाई आएको भनेको जग्गा र हाल वादी दावीको कि.नं ५९ को जग्गा उही नभई फरक जग्गा भएको भए सोको भरपर्दो प्रमाण प्रतिवादीले पेश गरी पुष्टि गराउन सक्नुपर्नेमा सोसमेत गर्न सकेको मिसिलबाट देखिँदैन । वादी पक्षले जग्गाको लगत विवरण भरी बुझाउँदा जग्गा रहेको वडाभन्दा फरक वडामा बुझाएकै मात्र कारणले वर्षौ देखि जोती कमाई आएको जग्गाबाट मोही हक स्वतः मेटिने भन्न न्यायका दृष्टीले समेत मिल्दैन । नेपाली समाज अझै पनि अर्धशिक्षित अवस्थामा रहेको पाईनुले आफ्नो हकप्रति सजग रहनुपर्ने सचेतनाको स्तरमा रहेको कमी कमजोरीलाई गरीब तथा निरक्षर जनताको हकमा भएको प्राविधिक त्रुटिलाई मात्र निर्णयमा निर्णयाधार बनाउन समन्यायको दृष्टिबाट समेत त्यति उचित मानिदैन । १ नं. लगत भरी फरक वडामा बुझाउँदैमा र २ नं.अनुसूचीसमेत फरक वडाबाट प्रकाशित भएको भन्ने प्राविधिक त्रुटिजन्य कारणलाई मात्र आधार बनाई वादीदावीको जग्गाको मोही प्रत्यर्थी वादी होईनन् भन्न न्यायको दृष्टिबाट समेत मिल्दैन । प्रत्यर्थी वादीलाई गाउँ सर्जमिनले समेत वादी दावीको जग्गाको मोही होइनन् भन्न सकेको अवस्था देखिदैन ।
७. अतः जग्गाको लगत भर्दा वडा नं. फरक भएको भन्ने मात्र आधार देखाई फिराद दावी खारेज गर्ने गरेको शुरू भूमि सुधार कार्यालय, सुनसरीको खारेजी फैसला पुनरावेदन अदालत, विराटनगरले उल्टी गरी वादी दावीअनुसार मोही हकको प्रमाणपत्र पाउने ठहर्याई मिति २०६६।११।०४।३ मा गरेको फैसला यस अदालतबाट प्रतिपादित उल्लिखित नजीर सिद्धान्तसमेतका आधारमा मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी वुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.सुशीला कार्की
इति संवत् २०७० साल वैशाख २७ गते रोज ६ शुभम्..
इजलास अधिकृत : बाबुराम सुवेदी