शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७११४ - लिखत बदर

भाग: ४४ साल: २०५९ महिना: कार्तिक अंक:

निर्णय न.७११४ ने.का.प.२०५९ अङ्क ७/८

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री रामनगिना सिंह

संवत् २०५६ सालको दे.पु.नं. ..५५५४

फैसला मितिः २०५९।३।३।२

 

मुद्दाः लिखत वदर ।

 

पुनरावेदक

प्रतिवादीः जि.लमजुङ सूर्यपाल गा.वि.स.वडा नं.९ वस्ने नानीमाया वसौला

                                                            विरुद्ध

विपक्षी

वादीः जि. लमजुङ सूर्यपाल गा.वि.स.वडा नं. ९ वस्ने भगवती वसौला समेत

 

§  मुलुकी ऐन अंशवण्डाको १९(१) नं. मा पिता पुर्खाका पालाको चल अचल गैह्र सम्पत्तिको हकमा चलमा सवै र अचलमा आधा सम्म व्यवहार चलाउनलाई स्वास्नी, छोरा वा विधवा वुहारीको मन्जुरी नभएपनि आफुखुस गर्न पाउंछ । अचलमा आधि भन्दा बढि भने व्यवहार चलाउनै परेपनि एक्काईस बर्ष नाघेका स्वास्नी छोरा र विधवा वुहारीहरुको मन्जुरी लिई मात्र खर्च गर्न हुन्छ । मन्जुरी नलिई गरेको सदर हुँदैनभन्ने उल्लेख भई रहेको पाईन्छ । प्रतिवादीहरुले उपरोक्त जग्गा लिनु दिनु गर्दा वादी मध्येका डायमण्ड र ज्याक्सन बसौला एक्काईस बर्ष नाघेका नदेखिंदा कानूनन् निजहरुको मन्जुरी आवश्यक नदेखिने।

§  प्रतिवादी शुभाषचन्द्र बसौलाले आधा भन्दा बढि नै जग्गा विक्री व्यवहार गरेको देखिन आउंछ। यस स्थितिमा विवादको उक्त जग्गा विक्री गर्दा उपरोक्त कानूनी व्यवस्था अनुसार वादी भगवती बसौलाको मन्जुरी लिनु पर्नेमा लिएको अवस्था नदेखिंदा निजको हक जतिको चार भागको एक भाग लिखत वदर भई हक कायम समेत हुने ठहराएको पुनरावेदन अदालत, पोखराको २०५५।१०।५ को फैसला मनासिव देखिंदा सदर हुने ।

(प्र.न.१४)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री विश्वप्रकाश भण्डारी

विपक्षी वादी तर्फबाटः

अवलम्वित नजिरः

 

फैसला

            न्या.रामनगिना सिंहः पुनरावेदन अदालत, पोखराको मिति २०५५।१०।५ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत यस अदालतमा प्रतिवादीको पुनरावेदन पत्र दायर भई पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छ ।

            २.    ससुरा वलवहादुर वसौलाका ३ श्रीमती मध्ये जेठी पुन्यमाया वसौला, माइली मैया र कान्छि महमाया वसौला हुन् । जेठी पुन्यमाया तर्फ डिलवहादुर वसौला र विपक्षी सुभाष चन्द्र वसौला, माइली मैया तर्फ ललितवहादुर, किसानवहादुर र रामचन्द्र, कान्छि महमाया तर्फ तोपवहादुर वसौलाको जन्म भै मेरो विवाह पुर्व नै तिनवटा सासुहरुले वहाँका छोराहरु समेतको अंश लिइ छुटृी भिन्न भै अलग वसी सक्नु भएको रहेछ । २०३८ सालमा विपक्षी मध्येका शुभाषचन्द्र वसौलासंग मेरो विवाह भए पश्चात हांमी दुइ दम्पतिको सहवासवाट १ छोरी शुष्मा र २ छोरा फिरादि ज्याक्सन एवं डाइमण्डको जायजन्म भएको छ । हामी फिरादिहरुलाई खाना लगाउन नदिइ कुटपिट गरी घरवाट २०४७।३।२४ गते निकाला गरेकाले हामी फिरादिहरु वुवा झलकवहादुर गौतमका घर गई वसेका छौं । पिता तथा श्रीमान शुभाष चन्द्र वसौलाले हम्रो हेर बिचार नगरी पैत्रिक सम्पत्तिवाट वंचित गराउने वदनियतले कि.नं. ७८२ को जग्गा राजीनामा गरी हरि कुमार श्रेष्ठलाई दिनु भएछ, सो कुरा थाहापाइ चुपलागी वस्यौं । शुभाष चन्द्र वसौलाका नाउंमा कि.नं. ९८७ को जग्गा रोपनी ५-११-१-० जग्गा २०५३।३।२४ गते नानीमाया वसौलाई दिनु भएछ, सो कुराको चर्चा सुनि मिति २०५३।४।२२ गते नक्कल सारी हेर्दा जानकारी हुन आएको हुंदा वहाँ संग कि.नं. ७८० को ज.रो. १.२.१.२, कि.नं. ७८४ को ज.रो. ४.३.०.० गरी जम्मा रोपनी ५.५.१.२ वांकी छ, तसर्थः हामीहरुको हक लाग्ने संगोलको कि.नं. ९८७ को रोपनी ५.११.१.० को जग्गालाइ ४ भाग लगाइ पुर्व तर्फ हांमि फिरादी भगवती, डाइमण्ड, ज्याक्सन वसौला ३ भाग अथवा रोपनी ४.४.१.३ को मुल्य रु. २४७५०। वरावरको जग्गा मु. ऐन लेनदेन व्यवहारको १० नं. अनुसार वदर गरी हामीहरुको हक कायम गराइ पाउं भन्ने समेत व्यहोराको नावालक छोरा डाइमण्ड, ज्याक्सनको हकमा संरक्षक भै आफ्नो हकमा समेत वादी भगवती वसौलाको फिराद पत्र ।

            ३.    उल्लेखित जग्गा विपक्षीहरुका पति अर्थात पिता शुभाष चन्द्र वसौला र विपक्षी भगवती समेतको सल्लाह र मिलेमतोवाट कृषि विकास वैंक भोर्लेटारमा धितो राखि केही रकम निकाली घर व्यवहार चलाउन डाइमण्ड वसौला समेतलाइ पटन पाठन गर्न खर्च गरेको थिएं । सो रकम विपक्षीहरले वुझाउन नसकि कृषि विकास वैंकले लिलाम गर्ने सूचना प्रकाशित भएपछि विपक्षी भगवती, शुभाष म भएमा आइ जग्गा लिलाम हुने भयो, ऋण तिरी दिनुहोस जग्गा तपाइनै खानुहोस भनि आग्रह गरेकाले मेरो पति डिलवहादुर वसौला उक्त कार्यालयमा गै विपक्षीहरुले लिए खाएको रकम ४१६८७।७४ बुझाइ उक्त जग्गा शुभाष चन्द्र वसौलावाट उक्त रुपैया वापत विवादीत जग्गा राजीनामा गरी लिएको हुं । एकासंगोलमा वसी लिए खाएको ऋण संयुक्त परिवारले नै तिर्नु पर्ने कुरा मु.ऐन लेनदेन व्यवहारको ८ नं. ले र सम्मानित सर्वोच्च अदालतवाट प्रतिपादित सिद्धान्तवाट समेत वादी दावी पुग्न नसक्ने कुरा स्पष्ट भएकोले लिखत वदर हुन सक्ने होईन । मिति २०४७।१२।२० गते गरेको लिखतलाई कि.नं. ७८२ को जग्गालाइ समावेश गर्न मिल्दैन । मिति २०५३।३।२४ गते विक्री भएको जग्गाको ज.रो. ५-११-१-० छ र वांकी ५-५-१-२ को जग्गा शुभाष चन्द्र वसौलाका नाउंमा वांकी छ । मु.ऐन अंशवण्डाको १९ नं.मा भएको अनुसार आधा भन्दा बढी जग्गा ०-५-३-२ मात्र शुभाष चन्द्र वसौलाले आफुखुस गर्न नमिल्ने हो । अव जहां आफूखुस गर्न पाउने ऐनले व्यवस्था गरेको छ भन्ने समेत व्यहोराको प्र.नानीमाया वसौलाको प्रतिउत्तरपत्र ।

            ४.    अदालतवाट जारी भएको ३० दिने म्याद २०५३।६।७ मा प्र.शुभाष चन्द्र वसौलाले हातैमा बुझि सो म्याद गुजारी वसेको ।

            ५.    वादी प्रतिवादीका साक्षीको वकपत्र मिसिल सामेल रहेको ।

            ६.    यिनै वादी प्रतिवादी शुभाष चन्द्र वसौला प्रतिवादी भएको अंश मुद्दाको दे.नं. १४७ को अंश मुद्दा साथै पेश भएको रहेछ ।

            ७.    वादी मध्येका डायमण्ड र ज्याक्सनको उमेर २१ वर्ष नपुगेको र अंशवण्डाको १९(१) ले पैत्रिक सम्पत्ति विक्री गर्दा निजहरुको मन्जुरी लिन आवश्यक ठानेको छैन । तसर्थः वादी मध्येका डायमण्ड र ज्याक्सको दावी सम्बन्धमा बिचार गरी रहन परेन । अंशवण्डाको १९(२) मा आफ्नो पालाको आर्जेको सम्पत्ति आफनो खुस गर्न पाउंछ भन्ने स्पष्ट व्यवस्था भएको र विवादीत सम्पत्ति प्रतिवादी शुभाषले खरिद गरेको सम्पत्ति भएको हुंदा प्रस्तुत मुद्दामा अंशवण्डाको १९(१) आकर्षित हुन सक्दैन । तसर्थः अंशवण्डाको १९(२) वमोजिम आफुखुस गर्न पाउने सम्पत्ति प्र. शुभाषचन्द्रले विक्री गरेको कानूनसंगत देखिंदा वदर गरी पाउं भन्ने दावी नपुग्ने ठहर्छ भन्ने समेत व्यहोराको शुरु लमजुङ जिल्ला अदालतको २०५४।१२।३१ को फैसला ।

            ८.    उक्त ईन्साफमा चित्त वुझेन सो फैसला वदर गरी पाउं भन्ने समेत व्यहोराको वादीको पु.वे.अ. पोखरामा परेको पुनरावेदन पत्र ।

            ९.    अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाइ पेश गर्नु भन्ने २०५५।५।३१ को पु.वे.अ. पोखराको आदेश ।

            १०.    वादी दावी पुग्न नसक्ने ठहराएको शुरु लमजुङ जिल्ला अदालतको फैसला केहि उल्टि भई विवादीत कि.नं. ९८७ को जग्गाको सम्बन्धमा २०५३।३।२४ मा पारीत राजीनामाको लिखत वादी भगवती वसौलाको हक जतिको चार भागको एक भाग लिखत वदर भई हक कायम समेत हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, पोखराको २०५५।१०।५ को फैसला ।

            ११.    सुवास वसौलालाई घरखर्च गर्न समेत कृषि विकास वैंकमा कि.नं. ९८७ को जग्गा धितो राखि लिएको ऋण मैले तिरी दिइ जग्गा राजीनामा गरि लिएकोले लेनदेन व्यवहारको ८ नं. विपरीत हुने गरि लिखत वदर हुने ठहराएको पुनरावेदन अदालत पोखराको फैसला वदर गरी शुरु जिल्ला अदालतको फैसला कायम गरी पाउँ भन्ने समेत  व्यहोराको प्रतिवादी नानीमाया बसौलाको यस अदालतमा परेको पुनरावेदन पत्र ।

            १२.   यसमा पुनरावेदन अदालत पोखराले आफ्नो फैसलामा अंशवण्डाको १९(१) अनुसार आधा सम्म व्यवहार चलाउन कसैको मन्जुरी लिन नपर्ने कुरालाई स्वीकार गरी सकेपछि विक्री गरिएको भनिएको सम्पत्तिमा आधा कटाई वाँकी आधा मध्येवाट मात्र प्रत्यर्थी वादी भगवती बसौलाको हकमा चार भागको एक भागको लिखत सम्म वदर गरि हक कायम हुने ठहर गर्नु पर्नेमा सो विपरीत २०५३।३।२४ को पारीत राजीनामाको लिखतको सम्पूर्ण जग्गावाट वादी भगवतीको चार भागको एक भाग लिखत वदर गरी हक कायम हुने ठहराएको ईन्साफ फरक पर्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम प्रत्यर्थी वादी भगवती बसौलाई झिकाई आएपछि पेश गर्नु भन्ने यस अदालतको २०५८।३।१८ को आदेश ।

            १३.   नियम वमोजिम दैनिक पेशी सूचीमा चढी पेश भएको प्रस्तुत मुद्दामा प्रत्यर्थी तर्फवाट उपस्थित विद्धान अधिवक्ता विश्वप्रकाश भण्डारीले विवादीत कि.नं. ९८७ को जग्गा प्रतिवादीहरु वीच लिनुदिनु गर्दा वादीको मन्जुरी लिएको छैन । घर व्यवहार चलाउन प्रतिवादी शुभाष बसौलाले उक्त जग्गा विक्री गरेको होईन । आधा भन्दा बढि जग्गा विक्री गरेकोछ, तसर्थः लिखत वदर हुने ठहराएको पुनरावेदन अदालतको फैसला कानूनसम्मत छ भनि वहस प्रस्तुत गर्नु भयो । पुनरावेदक वारेशले तारेख गुजारी वसेको देखिए पनि अ.वं. २०१ न.. वमोजिम ठहर फैसला गर्नु पर्ने हुँदा पुनरावेदन अदालतले गरेको फैसला मिले नमिलेको के रहेछ ? भन्ने प्रश्न नै निर्णयको बिषय देखिन्छ ।

            १४.   ईन्साफ तर्फ बिचार गर्दा, प्रतिवादी शुभाष चन्द्र बसौलाले २०५३।३।२४ मा प्रतिवादी नानीमैया बसौलालाई वादीहरुको मन्जुरी नलिई विक्री गरेको कि.नं. ९८७ को ५.११.१.० जग्गामध्ये चार भागको तीन भाग रोपनी ४.४.१.३ जग्गाको लिखत वदर गरि हक कायम गराई पाउँ भनि फिराद परेकोमा आफुखुस गर्न पाउने सम्पत्ति विक्री गरेको देखिएको भन्ने आधारमा वादी दावी नपुग्ने ठहराएको शुरु फैसला उल्टी गरी एक्काईस बर्ष ननाघेका डायमण्ड र ज्याक्सनको हकमा लिखत सदर हुने, वादी भगवती बसौलाको हक जतिको चार भागको एक भाग लिखत वदर हुने ठहर्याई पुनरावेदन अदालतवाट फैसला भएको देखिन्छ । सो फैसला उपर वादीहरुको यस अदालतमा पुनरावेदन परेको देखिंदैन । विवादको कि.नं. ९८७ को जग्गा वण्डापत्रवाट प्रतिवादी शुभाष चन्द्र बसौलाको भागमा परेको देखिंदा उक्त सम्पत्ति पैत्रिक सम्पत्ति देखिन आउंछ । त्यस्तो सम्पत्ति प्रतिवादीहरु वीच वादीको मन्जुरी नलिई लिनु दिनु गरेको देखिन आउंछ । मुलुकी ऐन अंशवण्डाको १९(१) नं. मा पिता पुर्खाका पालाको चल अचल गैह्र सम्पत्तिको हकमा चलमा सवै र अचलमा आधा सम्म व्यवहार चलाउनलाई स्वास्नी, छोरा वा विधवा वुहारीको मन्जुरी नभएपनि आफूखुस गर्न पाउंछ । अचलमा आधि भन्दा बढि भने व्यवहार चलाउनै परेपनि एक्काईस बर्ष नाघेका स्वास्नी छोरा र विधवा वुहारीहरुको मन्जुरी लिई मात्र खर्च गर्न हुन्छ । मन्जुरी नलिई गरेको सदर हुँदैनभन्ने उल्लेख भई रहेको पाईन्छ । प्रतिवादीहरुले उपरोक्त जग्गा लिनु दिनु गर्दा वादी मध्येका डायमण्ड र ज्याक्सन बसौला एक्काईस बर्ष नाघेका नदेखिंदा कानूनन् निजहरुको मन्जुरी आवश्यक देखिंदैन । मिसिल संलग्न कागजातवाट प्रतिवादी शुभाषचन्द्र बसौलाले आधा भन्दा बढि नै जग्गा विक्री व्यवहार गरेको देखिन आउंछ । यस स्थितिमा विवादको उक्त जग्गा विक्री गर्दा उपरोक्त कानूनी व्यवस्था अनुसार वादी भगवती बसौलाको मन्जुरी लिनु पर्नेमा लिएको अवस्था नदेखिंदा निजको हक जतिको चार भागको एक भाग लिखत वदर भई हक कायम समेत हुने ठहराएको पुनरावेदन अदालत, पोखराको २०५५।१०।५ को फैसला मनासिव देखिंदा सदर हुने ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.केदारनाथ उपाध्याय

 

ईति संवत् २०५९ साल आषाढ ३ गते रोज २ शुभम ....

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु