शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९०२४ - मोही नामसारी

भाग: ५५ साल: २०७० महिना: असोज अंक:

ने.का.प. २०७०,           अङ्क ६

निर्णय नं. ९०२४

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुशीला कार्की

माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की

२०६७FC१३७३

आदेश मितिः २०७०।३।२८।६

 

मुद्दा :मोही नामसारी

 

पुनरावेदक वादीः जिल्ला सर्लाही, मलङ्गवा न.पा.वडा नं.३ बस्ने सोनमादेवी तेलिन

विरुद्ध

प्रत्यर्थी प्रतिवादीः ऐ.ऐ.वडा नं.७ बस्ने मकवुलरजा मंसुरी

 

शुरूमा फैसला गर्नेः

भूमिसुधार कार्यालय, सर्लाही

पुनरावेदन फैसला गर्नेः

मा.न्या.श्री लोकेन्द्र मल्लिक

मा.न्या.श्री टिकाबहादुर हमाल

 

§  एकाघरका पतिपत्नी एउटै जग्गाको जग्गाधनी र मोही हुन सक्ने नसक्ने सम्बन्धमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) मोहीभन्नाले अरू जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफनो परिवारको श्रमले खेती गर्ने किसान सम्झनु पर्छभन्ने उल्लेख भएको पाइन्छ । यहाँ प्रयुक्त अरु जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाईभन्ने शव्द प्रयोग भएबाट एकासगोलका व्यक्तिहरु एउटै जग्गाको धनी र मोही हुन नसक्ने ।

(प्रकरण नं.२)

§  एउटै कित्ता नम्बरका जग्गाको एकासगोलकि पत्नी जग्गाधनी र निजका पति मोही हुन सक्ने अवस्था नदेखिँदा एकासगोलका पतिका नामको मोही नामसारी गरिपाऊँ भन्ने जिकीर कानूनसङ्गत नदेखिने ।

(प्रकरण नं.३)

 

पुनरावेदक वादीतर्फबाटः

प्रत्यर्थी प्रतिवादी तर्फबाटः

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख)

 

फैसला

            न्या.सुशीला कार्कीः पुनरावेदन अदालत, जनकपुरको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :

विपक्षीको नाम दर्ताको जिल्ला सर्लाही मलङ्गवा न.पा.वाड नं.३ कि.नं.५९१ को ०० जग्गाको मोही मेरा सगोलको पति जयनारायण साह तेली भएकोमा निज २०५५।४।२५ मा परलोक हुनु भएको र सोपछि म एकमात्र श्रीमती हकदार भएकोले मैले जोत कोड गरी रहेको हुँदा मेरो नाममा मोही नामसारी गरिपाऊँ भनी वादीको मुख्य दावी ।

दावीको जग्गाको मोही निज वादीको साखै ससुरा रामचलीतर साह टेवुल मोही भएकोमा निजको मृत्यु भई दावीजग्गा वादीको पति जयनारायण साहले नामसारी गराएको र उक्त जग्गा मैले निज वादीबाट नै र.नं.९५६३ मिति २०४७।३।१३ मा रजिष्ट्रेशन गराएको हुँदा सगोलको मोही लगत कट्टा हुनु पर्ने हो मोही नामसारी हुनुपर्ने होइन भनी व्यहोराको प्रतिउत्तर पत्र ।

यसमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम दावी जग्गा निजको श्रीमती वादीको नाममा मोही नामसारी हुने ठहर्छ भनी मिति २०६५।७।५ मा भएको भूमिसुधार कार्यालय सर्लाहीको फैसला ।

जग्गाधनीले जग्गा पारित गरेपछि भोग र स्वामित्व सर्ने भएको र उही व्यक्ति जग्गा दाता एवं पति मोही रहन नसक्ने कानूनी व्यवस्थालाई समेत नाघेर मेरो साक्षी प्रमाणसमेत केही नबुझी सगोलको र सगोलका व्यक्तिका नाममा नामसारी हुने गरी गरेको फैसला बदर वातिल गरिपाऊँ भनी पुनरावेदक प्रतिवादीको पुनरावेदन पत्र ।

यसमा प्रत्यर्थी वादी जग्गाधनी रहेको अवस्थामा निजबाट पुनरावेदकको जग्गा खरीद गरेको देखिएको र सोही जग्गामा निजको पतिको नाउँमा मोही हक कायम भएको भनी मोही नामसारी गरेको किरिया एकासगोलमा रहेको सदस्य जग्गाधनी र मोही दुवै हुन सक्ने नसक्ने विषयमा विश्लेषण गर्नुपर्नेमा सो नगरी मोही नामसारी गर्ने गरेको श्री भूमिसुधार कार्यालय सर्लाहीको २०६५।७।५ को निर्णय सो प्रश्नमा फरक पर्ने देखिँदा प्रत्यर्थी झिकाउनु भन्ने २०६६।३।२९ को आदेश ।

यसमा वादीको दावी मोही नामसारी गरिपाऊँ भन्ने निवेदन देखियो । उल्लेख भएको जग्गाको मोही वादीका पति जय नारायण साह तेली रहेको र सोही जग्गा वादी सोनमा देवीवाट पुनरावेदक मकवुलरजा मंसुरीले राजीनामा पारित गराई लिएको तथ्यमा कुनै विवाद देखिएन । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) बमोजिम एकै सगोलका व्यक्ति जग्गाधनी र मोही हुन नसक्ने हुँदा शुरू भूमिसुधार कार्यालय सर्लाहीबाट मोही नामसारी हुने ठहर्‍याई मिति २०६५।७।५ मा भएको फैसला मिलेको नदेखिँदा उल्टी भई वादी दावीबमोजिमको जग्गाको मोही नामसारी नहुने ठहर्छ भन्ने पुनरावेदन अदालत, जनकपुरको मिति २०६७।२।५ को फैसला ।

पुनरावेदन अदालत जनकपुरको उक्त फैसलामा चित्त बुझेन भूमिसम्बन्धी ऐन, २०२१ लागू हुँदाका अवस्थामा जग्गाधनी सोनमी साह तेली र मोही रामचलितर साह सगोलमा नरहेको तथ्य प्रमाणबाट स्पष्ट रहेको छ । तत्कालीन अवस्थामा मोही कायम हुँदा जग्गाधनी र मोही सगोलका थिएनन् बेगल थिए । रामचलितर साहको २०३० सालमा मृत्यु भएपछि जयनारायण साहले विधिवत रूपमा मोहीहक प्राप्त गरेका हुन् । जयनारायण साहको २०५५ सालमा मृत्यु भएपछि निजकी पत्नी म पुनरावेदिकाले मोही हक प्राप्त गरेको हो । कानूनबमोजिम प्राप्त हक कानूनले समाप्त नगरेसम्म बीचबीचमै मेरो मोहीसम्बन्धी हक समाप्त हुन सक्दैन । पुनरावेदन अदालतको त्रुटिपूर्ण फैसला बदर गरी दावीको कि.नं.५९१ को जग्गामा मोहीहक सुरक्षित गरिपाऊँ भन्ने वादीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

नियमबमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेश भएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल कागजातहरू अध्ययन गरी हेर्दा प्रतिवादीका नाम दर्ताको जिल्ला सर्लाही मलङ्गवा न.पा. वडा नं.३ को कि.नं.५९१ को ०० जग्गाको मोही मेरा पति जयनारायण साह तेली रहेको र निजको २०५५ सालमा मृत्यु भएपछि म वादी एकमात्र हकदार भएकाले सो जग्गा मोहीको हैसियतले जोतभोग गरी आएकाले मेरा नाममा मोही नामसारी गरिपाऊँ भन्ने वादी दावी र दाविको जग्गा र.नं.९५६३ मिति २०४७।३।१३ मा वादीबाट मैले रजिष्ट्रेशन पास गरी लिएको र सोही जग्गामा निजको पति जयनारायण साहबाट मोही नामसारी हुनुपर्ने होइन् भन्ने प्रतिउत्तर जिकीर भएको प्रस्तुत मुद्दामा श्री भूमिसुधार कार्यालय सर्लाहीबाट मोही नामसारी हुने ठहर्याए उपर प्रतिवादीको पुनरावेदन परी पुनरावेदन अदालत जनकपुरबाट शुरुको फैसला उल्टी गरी मोही नामसारी नहुने ठहर्‍याएउपर वादीको प्रस्तुत पुनरावेदन पर्न आएको देखिन्छ । पुनरावेदन अदालतको फैसला मिलेको छ, छैन पुनरावेदन जिकीर पुग्न सक्ने हो होइन सो सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

२. तत्सन्दर्भमा विचार गर्दा दावीको जिल्ला सर्लाही मलङ्गवा न.पा.वडा नं. ३ को कि.नं.५९१ को ज.वि.०० जग्गा साविक जग्गाधनी सोनामी साह तेलीको नाममा दर्ता रहेकोमा उक्त जग्गा वादीको काका ससुरा गोकुल साह हुँदै यी वादी सोनमा देवीको र.नं.९५६३ को मिति २०४७।३।१३ लिखितबाट यी प्रतिवादीलाई राजीनामा पास गरी दिएको देखिन्छ । वादीले मोही नामसारी गरिपाऊँ भन्ने दावी लिएको कि.नं.५९१ को जग्गाको मोही यी वादीका पति जयनारायण साह भएको र निजको म एकमात्र हकदार भएकाले सो जग्गाको मोही नामसारी गरिपाऊँ भन्ने पुनरावेदन जिकीर रहेको पाइन्छ । जयनारायण साहकी पत्नी यी वादी सोनमादेवी भएकोमा विवाद देखिँदैन । एकाघरका पतिपत्नी एउटै कि.नं. ५९१ जग्गाको जग्गाधनी र मोही हुन सक्ने नसक्ने सम्बन्धमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) मोहीभन्नाले अरू जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफनो परिवारको श्रमले खेती गर्ने किसान सम्झनु पर्छभन्ने उल्लेख भएको पाइन्छ । यहाँ प्रयुक्त अरु जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाईभन्ने शव्द प्रयोग भएबाट एकासगोलका व्यक्तिहरु एउटै जग्गाको धनी र मोही हुन सक्ने अवस्था देखिएन ।

३. प्रस्तुत मुद्दामा कि.नं. ५९१ को जग्गाको जग्गाधनी यी वादी सोनमादेवी रहेकी र मोही जयनारायण उल्लेख भएको देखिन आयो । उल्लिखित कानूनी व्यवस्थाअनुसार एउटै कि.नं. ५९१ को जग्गाको एकासगोलका पत्नी सोनमादेवी जग्गाधनी र निजका पति जयनारायण मोही हुन सक्ने अवस्था नदेखिँदा एकासगोलका पतिका नामको मोही नामसारी गरिपाऊँ भन्ने पुनरावेदक वादीको पुनरावेदन जिकीर कानूनसङ्गत देखिएन ।

४. तसर्थ, शुरू भूमिसुधार कार्यालय, सर्लाहीले मोही नामसारी हुने ठहर्‍याएको फैसला उल्टी गरी वादी दावी नपुग्ने ठहर्‍याएको पुनरावेदन अदालत, जनकपुरको मिति २०६७।२।५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । डायरीबाट प्रस्तुत मुद्दाको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.ज्ञानेन्द्रबहादुर कार्की

 

इति संवत् २०७० असार २८ गते रोज ६ शुभम्

 

इजलास अधिकृत : प्रेमप्रसाद न्यौपाने

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु