शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३३२५ - बन्दी–प्रत्यक्षीकरण

भाग: ३० साल: २०४५ महिना: बैशाख अंक:

निर्णय नं. ३३२५              ने.का.प. २०४५     अङ्क १

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४४ सालको रिट नम्बर १६५८

आदेश भएको मिति : २०४४।१२।७।१ मा

 

निवेदक :      भोजपुर कारागारमा थुनामा रहेको पुरुषोत्तम नेपालसमेत

विरुद्ध

विपक्षी  : भोजपुर जिल्ला अदालतसमेत

 

विषय : बन्दीप्रत्यक्षीकरण

 

(१)                अ.बं. १८६ नं. मा व्यवस्था भएबमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहराएकोमा मात्र साधक जाहेर गर्ने व्यवस्था भएको र अ.बं. २१४ मा सफाई दिने ठहराइएका व्यक्तिलाई थुनामा राख्नु पर्ने व्यवस्था भएको नपाइने ।

(प्रकरण नं. ९)

 

निवेदकतर्फबाट   : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल

विपक्षीतर्फबाट    : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णाराम श्रेष्ठ

 

आदेश

न्या. सुरेन्द्रप्रसाद सिंह : नेपालको संविधान २०१९ को धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्नानुसार छ ।

२. थिरबहादुर कार्कीको जाहेरीले वादी श्री ५ को सरकार प्र. हामी निवेदकहरू भएको निवेदक मध्ये पुरुषोतम नेपाल उपर ज्यानसम्बन्धीको १३(३) नं. र म यादव नेपाल समेत उपर ऐ.को १३(४) अन्तर्गतको सजायँ माग भई मुद्दा दायर भएकोमा हामीहरूले सफाई पाउने ठहरी भोजपुर जि.अ. बाट मिति २०४३।१२।९ मा फैसला भयो र सर्वस्वसहित जन्मकैद माग भएको मुद्दामा अ.बं. १८६ नं. को संशोधित व्यवस्था अनुसार शुरुबाट सफाई दिने गरी फैसला भएकोमा साधक जाहेर गरी रहन नपर्ने व्यवस्था भई अ.बं. १८७ नं. खारेज गरिएको अ.बं. २१४ नं. मा साधक जाहेर गर्नु पर्ने मुद्दामा अपनाइने कार्यविधिसम्म व्यवस्था भएकोमा भोजपुर जिल्ला अदालतबाट अ.बं. २१४ नं. बमोजिम साधकको अन्तिम निकाशा नभएसम्म साविक झै  थुनामा राख्ने गरेको कानून बिपरीत थुनामा राखेको छ । विपक्षीहरूका नाउँमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भन्ने समेत व्यहोराको   निवेदनपत्र ।

३. यसमा विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासबाट २०४४।९।२३ मा भएको आदेश ।

४. मिति २०४३।१२।९ मा विपक्षीहरूलाई साधकको अन्तिम निकासा नभएसम्म थुनामै राख्ने ठहरी फैसला भएको १० महीना पछि विलम्व गरिदिएको रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको भोजपुर जिल्ला अदालतको लिखितजवाफ ।

५. धिरबहादुर कार्कीको जाहेरीले वादी ५ को सरकार विपक्षी पुरुषोतम नेपाल समेत भएको कर्तव्य ज्यान मुद्दामा भोजपुर जिल्ला अदालतको २०४३।३।५ को श्रेणीको सिधा खुवाई थुनामा राख्ने पत्रानुसार विपक्षीहरूलाई यस कारागारमा थुनामा राखिएकोछ । शुरु अदालतबाट छाडि दिनु भन्ने कुनै आदेश तथा पत्रसमेत प्राप्त हुन नआएको र सोही अं.अ.बाट यसै मुद्दामा च.नं. २४५१/३२९ मिति २०४४।९।१२ को थुनामा राखी राख्ने पत्र समेत प्राप्त भएको हुनाले कैदमा राखिएको हो । रिट निवेदनमा सही गर्न दिएन भन्ने लगायत सम्पूर्ण रिट निवेदनमा उल्लिखित कुराहरू झुठ्ठा फरेबी मात्र हुँदा खारेज गरिपाउँ भन्ने समेत व्यहोराको कारागार शाखा भोजपुरको लिखितजवाफ ।

६. अ.बं. १८६ नं. मा उल्लेख भएबमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहराएकोमा मात्र साधक जाहेर गर्ने व्यवस्था भएको र अ.बं. २१४ नं. मा सफाई दिने ठहर्‍याएका व्यक्तिलाई थुनामा राख्नु पर्ने व्यवस्था नभएकोले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी थुनाबाट मुक्त गरिदिने ठहराई आज यस इजलासबाट आदेश भएकोले निवेदकहरूलाई यो मुद्दा बाहेक अरु मुद्दामा थुनामा राख्नु नपर्ने भए थुनाबाट तुरुन्त मुक्त गरी छाडी दिन थुनामा रहेको कारागारलाई छिटो साधनद्वारा लेखी पठाई दिनु भन्ने समेत व्यहोराको यस अदालत संयुक्तइजलासको मिति २०४४।१२।७ को आदेश ।

७. निवेदकतर्फबाट उपस्थित हुनु भएको विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालले र विपक्षी कार्यालयतर्फबाट उपस्थित हुनु भएको विद्वान सरकारी का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले गर्नु भएको बहस समेत सुनियो मुख्यतः निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।

८. हामी निवेदकहरू उपरको ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेको र आरोपित कसूरबाट सफाई पाउने ठहराई ०४३।१२।९ गते भोजपुर जिल्ला अदालतबाट फैसला भएकोमा आजसम्म थुनाबाट मुक्त नगरी गैरकानुनी तवरबाट थुनामा राखेकोले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी थुनाबाट मुक्त गरिपाउँ भन्ने मुख्य रिट निवेदकको निवेदन जिकिर भएको पाइन्छ । सो जिकिरतर्फ हेर्दा थिरबहादुर कार्कीको जाहेरीले श्री ५ को सरकार वादी र प्रतिवादी यी निवेदक समेत भएको टेकबहादुुर मरेको कर्तव्य ज्यान मुद्दामा निज निवेदक मध्ये पुरुषोतम नेपाल उपर ज्यानसम्बन्धीको महलको १३(३) र यादव नेपाल उपर ऐ. को १३(४) को सजायँको माग गरी प्रहरी प्रतिवेदन परी कर्तव्य ज्यान मुद्दा चलेकोमा सो मुद्दाबाट निवेदकहरूलाई सफाई दिने ठहराई भोजपुर जिल्ला अदालतबाट फैसला भएको र सो फैसलाको तपसील खण्डको दफा १ मा पुर्पक्ष निमित्त थुनामा बस्ने पुरुषोतम नेपाल १ र यादव नेपाल १ का हकमा अ.बं. २१४ नं. बमोजिम साधक जाहेरी फैसला हुँदा साधकको अन्तिम निकासा नभएसम्म साविक बमोजिम थुनामा राखी कानून बमोजिम गर्नु भनी उल्लेख भएको पाइन्छ ।

९. साधक जाहेर गर्ने विषयमा व्यवस्था भएको मुलुकी ऐन अ.बं. को १८६ नं. हेर्दा राजगद्दी उत्तराधिकारी  सम्बन्धी ऐन, २०१५ को दफा १६ बमोजिम श्री ५ महाराजाधिराजबाट तोकी बक्सेको सजायँ हुने मुद्दाका हकमा मौसुफका हजुरमा जाहेर गरी सदर गरी बक्से बमोजिम र मुत्यु दण्ड सर्वस्वसहित जन्मकैद वा जन्मकैद हुने ठहराएको वा प्रचलित कानून बमोजिम साधक जाहेर गर्नु पर्ने मुद्दामा साधक जाहेर गरी अधिकार प्राप्त अड्डाबाट साधक सदर भएबमोजिम गरी र अरु गैर मुद्दामा अड्डैबाट कानून बमोजिम जो गर्नु पर्ने गरी फैसला गर्नु पर्छ, भन्ने उल्लेख भएको देखिन्छ । अ.बं. २१४ नं. मा हेर्दा साधक जाहेर गर्नु पर्ने मुद्दामा साधक जाहेर गर्दा रिहाई पाउने ठहरिएका अभियुक्तलाई पुर्पक्षका निमित्त थुनामा राखिएको भए साधकको अन्तिम निकासा नभएसम्म सोही बमोजिम र कसूर ठहरेकालाई ऐन बमोजिम गरी राख्नु पर्छ भन्ने उल्लेख भएको र उक्त उल्लेख भएको अ.बं. १८६ नं. मा व्यवस्था भएबमोजिम सर्वस्वसहित जन्मकैद हुने जन्मकैद हुने ठहराएकोमा मात्र साधक जाहेर गर्ने व्यवस्था भएको र अ.बं. २१४ मा सफाई दिने ठहराइएका व्यक्तिलाई थुनामा राख्नु पर्ने व्यवस्था भएको पनि पाइँदैन । यस्तो स्थितिमा निवेदकहरूलाई अपराधबाट पूर्ण सफाई पाउने ठहराई शुरु भोजपुर जिल्ला अदालतबाट ०४३।१२।९ मा नै फैसला भइसकेको देखिएको र निजहरू थुनाबाट मुक्त भए गरेको नदेखिएकोले उपरोक्त उल्लेख भएबमोजिम निवेदकहरूलाई थुनामा राख्ने कानुनी व्यवस्था रहे भएको देखिन नआएकोले निज निवेदक पुरुषोत्तम नेपाल १ र यादव नेपाल १ समेतलाई बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी थुनाबाट मुक्त गरिदिने ठहर्छ । सो ठहर्नाले निज निवेदकहरू जना २ लाई प्रस्तुत टेकबहादुर मरेको कर्तव्य ज्यान मुद्दामा बाहेक अरु मुद्दामा थुनामा राख्नु नपर्ने भए थुनाबाट मुक्त गरिदिनु भनी निजहरू थुनामा रहेको कारागारमा लेखी पठाउन छुट्टै आदेश भई गएकोले फायल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायसंग म सहमत छु ।

न्या. हरिहरलाल राजभण्डारी

 

इति सम्वत् २०४४ साल चैत्र ७ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु