निर्णय नं. ७१२० - लिखत दर्ता बदर दर्ता

निर्णय न.७१२० ने.का.प. २०५९ अङ्क ७/८
संयुक्त इजलास
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी
सम्वत् २०५४ सालको दे.पु.नं...४६८४
फैसला मितिः २०५९।१।२३।२
मुद्दाः लिखत दर्ता वदर दर्ता ।
पुनरावेदक
वादीः धनुषा जिल्ला सपही गा.वि.स. वडा नं. ६ वस्ने रामजतन शाह तेली समेत
बिरुद्ध
प्रत्यर्थी
प्रतिवादीः ऐ. ऐ. वस्ने रामचन्द्र शाह तेली समेत
§ वण्डापत्र पारीत भै सकेपछि यि पुनरावेदक वादीहरुको आफ्नो सम्पत्ति वण्डापत्रमा परेको नदेखिएपछि के कसो भएको रहेछ वुझ्ने कार्य स्वभाविक भै सोही मुताविक मिति २०५२।१२।१८ मा नक्कल सारी लिएको र सो मितिवाट ३५ दिन भित्रै अर्थात २०५२।१२।२१ मा फिराद परेको देखिन आएवाट थाहा पाएको ३५ दिन नाघि फिराद परेको भन्न नमिलि ऐनका म्याद भित्र फिराद परेका देखिने।
§ जहां कानूनद्वारा नै स्पष्ट रुपमा अनिवार्यता व्यवस्था गरेको हुछ सोको परिपालना हुनुपर्ने हुन्छ । कानूनले अनिवार्य गरेको व्यवस्था पुरा भएको अवस्थामा मात्र मन्जुरी भएको ठहरी लिखत पक्का हुने हुंदा कानून व्यवस्था गरे वाहेकका अन्य आधारमा मन्जुरी रहेको भनि भन्न नमिल्ने हुंदा कानून वमोजिमको मन्जुरीको अवस्था विद्यमान नभएको स्थितिमा वादी दावी नपुग्ने ठहर्याएको पुनरावेदन अदालत जनकपुरको मिति २०५४।८।१० को इन्साफ उल्टी हुने।
(प्र.नं. १३ र १४)
पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्त श्री महादेवप्रसाद यादव
प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री विजय कुमार सिंह
अवलम्वित नजिरः
फैसला
न्या.मीनबहादुर रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९-१) वमोजिम पुनरावेदन अदालत जनकपुरको, मिति ०५४।८।१० को फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ ।
२. मुखिया साहुको चारभाई छोरा जेठा रामचन्द्र साहु तेली, माहिलो रामपूत साहु तेली, साहिलो राम जतन साहु तेली तथा कान्छो रामनन्दन साहु तेली समेत पांच अंशियार छौं । आमा अघि नै परलोक भै सक्नु भएको छ । हामी पाचै अंशियार एका सगोलमा वसी घर खेती, लहना लगाउने, विक्री व्यापार तथा किरानाको पसल गरी आएका थियौ । दाजु रामचन्द्र साह पत्नि तथा छोरा छोरीको मोह जालमा फसी हामीले संयुक्त रुपमा आर्जन गरेको सम्पती एक्लौटी वनाउने प्रयासमा लागेको देखि हामीले अंश छुट्याई दिनु भन्दै आएका थियौ । सगोलको आर्जनवाट आर्जित रुपैया लगानी गरी लेनदेन मुद्दामा २०४४।११।६ को फैसला वमोजिम प्रतिवादीले विगो दाखिल नगरेवाट कोर्ट फि समेत गरी १-०-९ जग्गा वादी रामचन्द्रले डांक लिलाम सकार गरी प्राप्त भएको जि.ध. नक्टाझिझ गा.वि.स. वार्ड नं. ५ कि.न.२५१ को ०-७-८ जग्गा मध्ये २०४९ सालमा शुरेस साह हलुवाईलाई हामीलाई थाहै नदि ०-१-१० जग्गा विक्री गरी टायल चेक गर्दा १० धुर घटी हुन आई दाजु रामचन्द्रको नाममा परिवर्तिन कि.नं. २८३ मा ०-५-८ जग्गा दर्ता रही हामी सवै दाजु भाइले संयुक्त रुपमा भोग चलन गरी आएका थियौं । मिति २०५२।११।९ मा मा.पो.का. धनुषावाट र..नं. ७१३९ वाट अंशवण्डा रजिष्ट्रेशन हुंदा विपक्षी दाजु रामचन्द्रले वदनियती गरेको मौकैमा थाहा भएन । जि.ध. नक्टाझिझ गा.वि.स. वार्ड नं. ५ को कि.नं. २८३ को ०-५-८ जग्गा अंशमा नपरे पछि थाहा भई दाजु रामचन्द्रलाई सोधपुछ गर्दा विक्री गरे भनि भन्नु भएवाट ०५२।१२।१८ गते दाता रामचन्द्रलाई सोधपुछ गर्दा विक्री गरे भनी भन्नु भएवाट ०५२।१२।१८ गते दाता रामचन्द्र साह तेली खरीद कर्ता मुगिया देवी महतो कोइरी भएको मिति २०५२।५।८ को र.नं. १४४५ को लिखतको नककल लिंदा जानकारी भै २०४९ सालमा विक्री गरेको कुरा पनि हालै नक्कल निकाली थाहा भएका हो । उक्त जग्गाको विक्री वदरमा नालेश दिन हदम्यादले नभ्याउंदा २०५२ सालको र.नं. १४४५ को विक्री वदरमा नालेस दिएका छौं । विपक्षी रामचन्द्र साह तेली दिने मुगीया देवी महतो कोइरी लिने गरी भएको २०५२।५।८ को मा.पो.का. धनुषाको र.नं. १४४५ को पारित राजिनामा लेनदेन व्यवहारको १० नं. विपरीत भएको र हामी ३ जना उक्त हक हस्तान्तरणमा असहमत भएकाले र.नं. १४४५ को मिति ०५२।५।८ को लिखतमा उल्लेखित कि.नं. २८३ को ०-५-८ जग्गाको ५ खण्डको पूर्व तर्फवाट क्रमशः ३ खण्डको लिखत तथा विपक्षी मुगिया देवी नाउंको दर्ता वदर गरी हामी फिरादीहरुको नाउंमा एक एक खण्ड दर्ता गरी पाउं भन्ने वादीहरुको संयुक्त फिराद दावी ।
३. पिता मुखिया साहु वरावर रोगी भै विमारी रहने हुंदा उपचारका लागि र घर खर्च तथा व्यापारका लागि खर्च चाहिएकोले विपक्षीहरु, पिता मुखिया र मेरो समेत राय सल्लाहवाट विवादित कि.नं. २८३ को ०-५-८ जग्गा विक्री गरिएको हो । मिति ०५२।११।९ गते अंश वण्डा हुंदा यो जग्गावाट अंश लिन्छु, यस जग्गावाट अंश लिन्छु भनि जग्गा देखाई अंशवण्डा गरी लिएका छौं । यदि उक्त जग्गा विक्री भएको विपक्षीहरुलाई थाहा नभएको भए यो जग्गा समेत देखाई अंश माग्ने थिए । उक्त जग्गा घरको मुख्य पिता मुखियाले नै व्यवहार विक्री गरेका हुन। जग्गा मेरो नाममा दर्ता भएकाले मात्र राजिनामामा मेरो सही छाप परेको हो । विक्री भएको कुरा विपक्षीहरुलाई मिति २०५२।५।८ गते नै थाहा छ, यसमा म्याद भित्र नालेस परेको पनि छैन । वादीले अंशवण्डाको ३० नं. अन्तर्गत दावी लिएपछि जग्गा सगोलको अवण्डा मानेको स्थिति भयो। यसमा दपोटमा आउनु पर्ने थियो । पिता मुखिया साहु समेतलाई अदालतमा झिकाई वुझी झुठा दावी पक्राउवाट फुर्सद गरी विवादमा आएको लेखतलाई सदर कायम नै राखी पाउं भन्ने प्रतिवादीहरुको संयुक्त प्रतिउत्तर जिकिर ।
४. वादीको साक्षी हिरालाल यादव र तनुकलाल साह तथा प्रतिवादीका साक्षी सुवरण महतो कोइरी र दिनेशप्रसाद महतोले वकपत्र गरेको ।
५. लेनदेन व्यवहारको १० नं. को आधारमा राजिनामा लिखतको नक्कल सारी लिई थाहा पाएको मितिले म्याद भित्रै उजुर गरेको उक्त लेनदेन व्यवहारको १० नं. को कानूनी व्यवस्थाले वादी दावी समर्थन गरेको देखिंदा सोही ऐनको आधारमा वादीहरुको हक सम्मको वादी दावी वमोजिम लिखत तथा दर्ता समेत वदर भै वादीहरुको नाममा दर्ता समेत हुने ठहर्छ भन्ने धनुषा जिल्ला अदालतको मिति २०५३।७।१९ को फैसला ।
६. वास्तविक विक्री कर्ता म रामचन्द्र नभै पिता मुखिया साह हुन् । अंशवण्डाको १९ नं. अन्तर्गत पिताले आफू खुस गर्न पाउने व्यवहार भएकाले राजिनामा वदर हुनुपर्ने होइन । २०५२।११।९ गते अंशवण्डा हुंदा जग्गा विक्री भैसकेकोले वादीलाई थाहा भएको हो । सोही मितिले पनि ३५ दिन भित्रै मुद्दा गर्नु पर्नेमा पछि मन मुटाव झगडा हुंदा म्याद नघाई नालेश गरेका हुन्। वादीको साक्षीहरुले प्रतिवादीको दावीलाई पुष्टि र वादीको दावीलाई झुठा ठहराई वकपत्र गरि दिएकोलाई प्रमाणमा ग्राह्य गरिएको छैन । अतः धनुषा जिल्ला अदालतवाट वादी दावी वमोजिम लेखत दर्ता वदर भै वादीका नाममा जग्गा दर्ता हुने ठहर्याई मिति २०५३।७।१९ गते भएको फैसला त्रुटिपूर्ण र वेमुनासिव हुंदा वदर वातिल गरी प्रतिवादी दावी अनुसार गरी पाउं भन्ने प्रतिवादीहरुको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
७. यसमा प्र. रामचन्द्रले गरि दिएको लिखतमा वादी प्रतिवादीका वावु मुखियासाहुले मन्जुरी जनाई सहीछाप गरेको देखिएको र मिति २०५२।११।९ मा अंशवण्डा हुंदा समेत हामीहरुका वण्डा गर्नु पर्ने सम्पती यतिनै भएका, अरु कुनै किसिमको उजुर वाजुर गर्ने छैन भनि वण्डा पत्रमा वादीहरु समेतले सहिछाप गरेको देखिएको परिप्रेक्ष्यमा शुरुको फैसला फरक पर्न सक्ने हुंदा छलफलका लागि अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, ०४८ वमोजिम प्रत्यर्थी झिकाउनु भन्ने पुनरावेदन अदालतको मिति २०५४।५।३१ को आदेश ।
८. यसमा धनुषा जिल्ला अदालतवाट वादी दावी वमोजिम लिखत र दर्ता वदर गर्ने ठहराई भएको मिति २०५३।७।१९ को फैसला मिलेको नदेखिएकोले सो फैसला उल्टी भै वादी दावी नपुग्ने ठहर्छ भन्ने पुनरावेदन अदालतको फैसला ।
९. अंश नभएका अंशियार विपक्षी रामचन्द्रले सगोलको अचल सम्पत्ति हक छाडी दिंदा एकाघरसंग वसेका हामी अंशीयारा समेतलाई साक्षी नराखी मन्जुरीको लिखत समेत नगराई गुपचुप पारीत गरेका लिखत मध्य हाम्रो पाच खण्डको ३ खण्ड दावी अनुसारको लिखत तथा दर्ता वदर गरी लेनदेन व्यवहारको १० नं. वमोजिम हुनुपर्नेमा सो नगरी पुनरावेदन अदालत जनकपुरवाट वादी दावी नपुग्ने ठहराई भएको निर्णय त्रुटी पूर्ण हुंदा वदर गरी वादी दावी वमोजिम गरी पाउं भनि वादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
१०. यस्मा विवादित लिखतको जग्गा यि वादी प्रतिवादी सगोलमा रहेकै अवस्थामा राजिनामा दिएको देखिएको, लेनदेन व्यवहारको १० नं. वमोजिम सगोलको सम्पति विक्रीगर्दा अंशियाराको मन्जुरी लिनुपर्ने कानूनी व्यवस्था रहेको सो वमोजिम मन्जुरी लिएको र लिखतमा यि पुनरावेदक वादीहरु साक्षी वसेको समेत नदेखिंदा लिखत वदर तर्फ परेको प्रस्तुत मुद्दामा वादी दावी नपुग्ने गरेको पुनरावेदन अदालत जनकपुरको फैसला फरकपर्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम छलफलको लागि विपक्षीहरुलाई झिकाई आएपछि वा गुजारे वा थमाउने अवधि नाघेपछि नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासवाट मिति २०५७।७।२१ मा भएको आदेश ।
११. नियम वमोजिम आजको दैनिक मुद्दा पेशी सूचिमा चढि इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न सम्पूर्ण कागजातहरुको अध्ययनगरी पुनरावेदक वादीहरुको तर्फवाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादवले सगोलको विगोमा डांक लिलाम सकारगरी आएको पुनरावेदक वादीहरु समेतका अंश हक लाग्ने सगोलको सम्पत्ति, यि पुनरावेदकहरुको अंशमा प्राप्त गर्न नसक्ने कुनै आधार प्रतिवादीहरुले गुजार्न सकेको छैन र वावु साक्षी वसिे स्वीकृती दिएका छन भने त्यो कुरा निजका विरुद्धमात्र प्रयोग हुनुपर्ने हो, वण्डा हुनुपर्ने सम्पत्ति गुपचुप अंशियारको मन्जुरी वेगर अर्कोलाई हकछाडी दिएको र उक्त लिखतमा पुनरावेदक साक्षी पनि नरहेको र लिखत मन्जुरी समेत नदिएकाले लेनदेन व्यवहारको १० नं. विपरीत भएको पुनरावेदन अदालतको फैसला वदर गरी वादी दावी वमोजिम गरी पाउं भनि र विपक्षी प्रतिवादीहरुको तर्फवाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री विजय कुमार सिंहले अंशवण्डा हुंदा भए सम्मको सम्पत्ति वण्डागरी अरु वण्डा गर्न वांकी नरहेको, कुनै कसै उपर उजुर समेत गर्ने छैन भनि वण्डापत्रमा उल्लेख गरिएको, विक्री गरेको लिखतमा घरको मुख्य कर्ता वावु मुखिया शाह समेत अन्तर साक्षी वसी विक्री गरेको, लिखत भएको कुरा मौकैमा थाहा हुंदा हुदै समयमा उजुर नगरेको, अंशवण्डागर्दा सम्म मेरो पक्षको विचमा मेल मिलाप भएको कारणले उजुरी नगरेको, हाल दुवैथरी विच मनमुटाव भएको कारणवाट नालेस गरेका, वावुसंग अंश माग गर्दा जग्गा विक्री भएको मानि चुपलागी वसेका र हाल दाजुसंग विक्री भएको जग्गाको अंश मागगर्ने कार्य समेत वदनियतपूर्ण हुंदा पुनरावेदन अदालतवाट भएको फैसला सदर गरी पाउं भनि गर्नु भएको वहस समेत सुनि इन्साफ तर्फ विचार गर्दा पुनरावेदन अदालत जनकपुरवाट वादी दावी नपुग्ने ठहर्याई भएको फैसला मिलेको छ वा छैन भनि इन्साफ दिनु पर्ने देखिन आयो ।
१२. जिल्ला धनुषा नकटाझिझ गा.वि.स. वडा नं. ५ को कि.नं. २८३ को ०-५-८ जग्गा सगोलका दाज्यू रामचन्द्र शाहको नाममा रहेकोमा अंशवण्डा हुंदा उक्त जग्गा अंशवण्डामा नपरेको र दाजु रामचन्द्रले उक्त जग्गा विक्री गरेको कुरा मौकैमा थाहा जानकारी नभै अंशवण्डा भै सकेपछि मिति २०५२।१२।१८ गते नक्कलसारी थाहा हुन आएको हाम्रो समेत अंश हक लाग्ने हाम्रो मन्जुरी वेगर विक्री गरेको उक्त जग्गाको ५ खण्डको ३ खण्डको लिखत तथा दर्ता वदर गरी हामीहरुका नाममा एक, एक खण्ड दर्ता गरी पाउं भन्ने दावी रहेको प्रस्तुत मुद्दामा मिति २०५२।११।९ मा भएको वण्डापत्रमा विवादित जग्गा विक्री भै सकेको भन्ने तथ्य उल्लेख नभएको र हामीहरु वाहेक अरु अंशियारा कोही नभएको हामीहरुले दवाई छपाई राखेको जग्गा ठहरे पत्ता लगाउने अंशियाराले प्रचलित कानून वमोजिम एकलौटी पाउने हामीहरुको ऋणधन साहु असामी लिनु दिनु वांकी छैन, हामीहरुको वण्डा गर्नु पर्ने सम्पत्ती यतिनै हो भनि उल्लेख भएको व्यहोरावाट वण्डा गर्नुपर्ने सम्पत्तिको निश्चित रुपवाट एकिन भएको देखिन नआएको र विक्री भएकोमा यि पुनरावेदक वादीहरुलाई साक्षी राखेको र मन्जुरीको लिखत गराएको समेत देखिदैन ।
१३. वण्डापत्र पारीत भै सकेपछि यि पुनरावेदक वादीहरुको आफ्नो सम्पत्ति वण्डापत्रमा परेको नदेखिएपछि के कसो भएको रहेछ वुझ्ने कार्य स्वभाविक भै सोही मुताविक मिति २०५२।१२।१८ मा नक्कल सारी लिएको र सो मितिवाट ३५ दिन भित्रै अर्थात २०५२।१२।२१ मा फिराद परेको देखिन आएवाट थाहा पाएको ३५ दिन नाघि फिराद परेको भन्न नमिलि ऐनका म्याद भित्र फिराद परेका देखिन आयो ।
१४. लेनदेन व्यवहारको १० नं. को व्यवस्थालाई हेर्दा अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति वेचविखन गर्दा वा कुनै किसिमले हक छाडी दिंदा ऐनले आफु खुशी गर्न पाउने अरुको मन्जुरी लिनु नपर्नेमा वाहेक अरुमा एकाघरसंगका अंशियार सवै साक्षी वसेको वा निजहरुले मन्जुरीको लिखत गरी दिएको भए मात्र पक्का ठहर्छू भन्ने व्यवस्था भएवाट हक छाडी दिंदाका अवस्थामा अंश नभएका अंशियाराले सगोलको अचल सम्पत्ती वेच विखन गर्दा वा कुनै किसिमले हक छाडी दिंदा लिखतमा एकाघरसंगका अंशियारा सवै साक्षी वस्ने वा मन्जुरीको लिखत गरीदिने कार्यलाई प्रष्ट रुपमा औंल्याइ अनिवार्य गरेको देखिन्छ । जहां कानूनद्वारा नै स्पष्ट रुपमा अनिवार्यता व्यवस्था गरेको हुछ सोको परिपालना हुनुपर्ने हुन्छ । कानूनले अनिवार्य गरेको व्यवस्था पुरा भएको अवस्थामा मात्र मन्जुरी भएको ठहरी लिखत पक्का हुने हुंदा कानून व्यवस्था गरे वाहेकका अन्य आधारमा मन्जुरी रहेको भनि भन्न नमिल्ने हुंदा कानून वमोजिमको मन्जुरीको अवस्था विद्यमान नभएको स्थितिमा वादी दावी नपुग्ने ठहर्याएको पुनरावेदन अदालत जनकपुरको मिति २०५४।८।१० को इन्साफ उल्टी भै शुरु धनुषा जिल्ला अदालतले वादी दावी अनुसार लिखत र दर्ता वदर हुने ठहर्याएको इन्साफ मनासिव ठहर्छ । अरु तपसिल वमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा उल्लेख भए अनुसार शुरुको इन्साफ सदर भै पुनरावेदन अदालत जनकपुरको इन्साफ उल्टी भएकाले पुनरावेदन अदालतको फैसला अनुसारको लगत राख्नु पर्ने नहुंदा सो लगत कट्टा गरी वादीले शुरुमा राखेको कोर्ट फि रु.३००। र अन्य दस्तुर रु.४०। समेत जम्मा ३४०। र यस अदालतमा पुनरावेदन गर्दा राखेको रु.४५। समेत जम्मा रु.३८५। प्रतिवादीवाट भरि पाउने हुंदा प्रतिवादीले पुनरावेदन अदालत जनकपुरमा पुनरावेदन गर्दा राखेको धरौटी रु.३००। वाटा भराई वाकी रकम ऐनका म्याद भित्र भराई पाउं भनि वादीले दरखास्त दिएमा प्रतिवादीहरुवाट दामासाहीले भराई दिनु भनि शुरु जिल्ला अदालतमा लगत दिनु .... १
दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी वुझाई दिनु.... २
उक्त रायमा सहमत छु ।
न्या.अरविन्दनाथ आचार्य
ईति सम्वत् २०५९ साल वैशाख २३ गते रोज २ शुभम्................