निर्णय नं. ३३३० - कर्तव्य ज्यान
निर्णय नं. ३३३० ने.का.प. २०४५ अङ्क १
संयुक्त इजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४३ सालको फौ.पु.नं. ५३८
फैसला भएको मिति : २०४४।९।२९ मा
पुनरावेदक/वादी : फुलमाया राइको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : जि.मोरङ डागीहाट गा.पं.वा.नं. ५ बस्ने सनबहादुर भण्डारीसमेत
मुद्दा : कर्तव्य ज्यान
(१) मनसाय प्र.हरूको भएको मिसिल प्रमाणबाट देखिन आउँदैन, पक्राउ परी जान नमान्दा बल प्रयोग भई संयोगवश निजको मृत्यु भएको देखिन आयो, जाहेरवाला समेतको बकपत्रबाट प्र.बलबहादुर कार्की, सनबहादुर भण्डारी, बालकृष्ण भण्डारी र गोपालबहादुर कार्कीसम्म वारदातमा उपस्थित भइरहेको देखिँदा निजहरूले बल प्रयोग गरी मृतकलाई लग्दाको अवस्था भवितव्य परी निज पुष्पबहादुरको मृत्यु भएको देखिने ।
(प्रकरण नं. ३६)
पुनरावेदक–वादीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा
विपक्षीतर्फबाट : विद्वान व.अ.श्री कुसुम श्रेष्ठ विद्वान अधिवक्ताहरु श्री विश्वकान्त मैनाली र श्री हरिहर दाहाल
फैसला
न्या.पृथ्वीबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर श्री ५ को सरकार तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ ।
२.२०३९।४।२२ गतेको रात हामी सबै परिवार सुति निदाएको अवस्था रातको अं. १ बजे वलबहादुर कार्की समेत मेरो घरमा आई मेरो श्रीमान् पुष्पबहादुर राईलाई सुती रहेको ठाउँबाट उठाई लक्ष्मी मार्गतिर लगेका थिए निजहरूले मेरो लोग्नेलाई मारपीट गरी मारेछन् भोलिपल्ट १० बजेतिर मेरो श्रीमान् मरी रहेको थाहा पाई जाहेर गरेको छु । अपराधी पत्ता लगाई कानून बमोजिम सजायँ गरिपाउँ भन्ने फुलमाया राईको जाहेरी दर्खास्त ।
३.जाहेरीमा लेखिएको मिति समयमा हामीहरूको मिलोमतोबाट पुष्पबहादुर राईलाई पक्राउ गरी प्रहरी चौकी लाँदै गरेको अवस्थामा लक्ष्मी मार्गबाट नजिक आई पुगेपछि पहिला बाहुन कान्छा, इन्द्रबहादुर विष्ट, कृपा सिंह, गोपालबहादुर समेत ४ जनाले हिर्काएका हुन् त्यसपछि मैले हातले थप्पड हिर्काएँ त्यसपछि ११ जनाले लाठी मुक्काले हिर्काउँदै घटना स्थलमा पुगेपछि पुष्प राई लर्याक लुरुक भयो र राजमार्ग उत्तर पट्टीको डिलमा राखेका हौं राखेको अवस्था मर्ला जस्तो थिएन, निजलाई ताहीं छाडी हामी सबै आफ्नो घरतर्फ गयौं भन्ने सनबहादुरले प्रहरीमा गरेको बयान कागज ।
४.२०३९।४।१३ गते रातमा हामी १५।१६ जनाको जमात भई निज पुष्पबहादुरलाई घरमा सुती निदाएको अवस्थामा उठाई लक्ष्मी मार्गमा निकालेपछि गोपालले पहिले कुटपीट गर्न लागेपछि हामी सबैले कुटपीट गरी वेलवारी चौकी छेउ राजमार्गको उत्तरपट्टीको डिलमा जिवीतै राखी हामी सोह्रै जना घर तर्फ गयौं यो घटना हामी बीच भएको हो भन्ने बालकृष्ण भण्डारीले प्रहरीमा गरेको बयान कागज ।
५.२०३९।४।१३ गते म मामाको घरमा आएको थिएँ मर्ने पुष्प राईले सनबहादुर र मलाई पनि गोपाललाई काटे झैं काटी दिन्छु भनी हिंडेको र पहिला ४।५ महीना अघि ज्यान मार्ने उद्योग गरी गोपाललाई काटेकोमा ज्यान मार्ने उद्योग मुद्दा मो.जि.अ. मा पेश भई निज पुष्प राईका नाउँमा वारेन्ट म्यादी पुर्जी समेत आएकोमा निज आजसम्म लुकी हिंडि रहेका थिए के कताबाट घरमा आएको पत्ता पाई पक्राउ गर्नु पर्दछ भन्ने हामी सोह्र जानाको सल्लाह भई निजलाई निजकै घरमा पक्राउ गरी प्रहरी चौकी वेलवारीमा लगी रहेको अवस्थामा बीच बाटोमा निज पुष्प राईको शरीरमा चोट धेरै परेबाट निजको मृत्यु भएको हो भनी प्र.मदन विष्टले प्रहरीमा गरेको बयान ।
६.पुष्प राईलाई मार्ने नियतले हामीले कुटपीट गरेको हैनौं प्रहरी चौकीमा बुझाउन लाँदा अरु मानिसहरूले निजलाई मारपीट गरी मर्ने अवस्थामा पुर्याई महेन्द्र राजमार्गको उत्तरपट्टि जिवीतै राखी छोडी हामी सबै घर फर्की आएका हौं भनी भोलिपल्ट पुष्प राई मरी रहेको छ भन्ने खबर सुनेको हुँ । बलबहादुर समेतका मानिससंग म गएँ तर पुष्प राईलाई मैले कुटेको छैन भन्ने धनबहादुर थापाले प्रहरीमा गरेको बयान ।
७.गोपाललाई ज्यान मार्ने उद्योग गरी पुष्प राईका नाउँमा वारेण्ट समेत आएको हुँदा निज लुकी छिपी रहेकोले प्रहरी चौकीमा बुझाउने गरी निजलाई पक्राउ गरेकोले बाटोको मारपीट कुटाईको पिरबाट निज पुष्प राईको मृत्यु भएको वारदातमा म छु मैले पुष्प राईलाई कुटेको छैन भन्ने रामबहादुर तामाङको प्रहरीमा भएको बयान ।
८.जाहेरीमा लेखिएको मिति समयमा पुष्प राई पक्राउ गरी लक्ष्मीमार्ग तर्फ निकाली तेजबहादुर, गोपालबहादुर र बलबहादुरले लौरो बोक सालेलाई मर्र्णान्त अवस्थामा पुर्याई चौकीमा बुझाई दिनुपर्छ भनेबाट निजहरूको भनाइमा लागी लौरो बोकी पहिला तेजबहादुर समेतले पुष्प राईलाई हिर्काउन थाले पछि हामी सबैले कसैले लाठीले कसैले घुस्सीले कसैले लात्तीले हिर्काउँदै वेलावारी चौकी पुग्न लाग्दा कुटाइको चोटबाट पुष्प राई भुईंमा लड्यो यो सालेलाई यही छाडी राख्नु पर्छ भनी गोपाल समेतको सल्लाहबाट महेन्द्र राजमार्गको उत्तरपट्टीको डिलमा राखी हामी सबै घरतर्फ फर्केका हौं यो घटना हामीले नै गरेबाट पुष्प राईको ज्यान मर्न गएको हो भन्ने कनकबहादुरले प्रहरीमा गरेको बयान कागज ।
९.मेरो श्रीमतीसंग बलबहादुरले अनैतिक व्यवहार गर्दैछन् । आजै २।४ जनालाई नमारी छाड्दिन भनी पुष्प राई हिंडेका, प्रहरीमा खबर दिनु पर्यो भनी मनबहादुरलाई सुराक दिएको हुँ निजलाई मैले कुटपीट गरेको छैन भन्ने बलबहादुर राईले प्रहरीमा गरेको बयान ।
१०.यो घटना हामीहरू बीच भएको गरेको हो मैले भने पुष्प राईलाई छोएको समेत छैन भन्ने प्र.बलबहादुर कार्कीले प्रहरीमा गरेको बयान ।
११.२०३९।४।२२ गते रात पक्राउ परेका प्रतिवादीहरूको १५ जनाको जमात भई पुष्पबहादुरलाई पक्राउ गरी प्रहरीले गाउँपञ्चायत समेतको मद्दत लिई पक्राउ गरी लक्ष्मी मार्गतर्फ हुँदै वेलवारी चौकीतिर लगेको हाम्रो आँखाले देखेको हो मृतक पुष्पबहादुरलाई मार्ने नियतले नै मारेका हुन् भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।
१२.प्रस्तुत मुद्दामा किटानी जाहेरी दर्खास्त परी सरजमीनका १३ जना मानिसले पुष्पबहादुर राईलाई मार्ने योजना बनाएको थाहा छैन विरुद्ध खण्डमा उल्लिखित प्रतिवादीहरूले मारेको हुनु पर्दछ भनी लेखाई दिएकोले पुष्प राईलाई पोष्टमार्टम गराउँदा डाक्टरको रिपोर्टमा फियो फुटेको कारणबाट रक्त जाम भई मृत्यु भएको भन्ने देखियो, अभियोगतर्फ विचार गर्दा गोपाल कार्की, बलबहादुर कार्की समेत २ जना संगै पूर्व रिसइवी भएको देखिन्छ । यस वारदातका निजहरूले मार्ने उद्देश्यबाट पुष्पबहादुर राईको घरमा सुराक लगाई पक्राउ गरिएको देखिएकोले प्र.बलबहादुर राई बाहेक अन्य प्रतिवादीहरूले ज्यानसम्बन्धीको १ नं. बिपरीत कसूर गरेको देखिँदा निजहरूलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम कारवाही सजायँ हुन प्र.बलबहादुर राईलाई ऐ.ऐनको १७(२) बमोजिम कारवाही सजायँ गरिपाउँ भन्ने प्रहरी प्रतिवेदन ।
१३.यसमा प्र.बलबहादुर राईलाई पनि ज्यानसम्बन्धी महलको १४ नं.बमोजिम सजायँ हुन र अरुको हकमा प्रहरीप्रतिवेदन अनुसार नै हुन सादर अनुरोध छ भनी स.स.अ. तथा स.स.अ. को छुट्टै राय भएको ।
१४.म जाहेरी मितिमा ससुराल गई बसेको हुँदा को कसले भई पुष्पबहादुर राईलाई मारेको हो म भन्न सक्दिन । प्र.मध्येका बालकृष्ण, बलबहादुर कार्की, तेजबहादुर विष्ट, गोपालबहादुर र झमकबहादुर देखि बाहेक अन्य प्रतिवादीहरू मृतक पुष्प राई र जाहेरवाला समेतलाई चिनेको छैन, चिनेको प्रतिवादीहरूसंग पनि सो भेटघाट भएको छैन प्र.हरूले पोल गर्नु पर्ने कारण भन्न सक्तिन, मैले मृतकलाई कुटपीट गरी मराएको नहुँदा झुठ्ठा अभियोगबाट सफाई पाउँ भन्ने प्र.रामबहादुरले अदालतमा गरेको बयान ।
१५.२०३९।४।२२ गतेका दिन रात मेरो प्रतिवादीहरूसंग भेट नभएको र म आफैं घरमा हुँदा म समेत सहमत भई मृतकलाई मारे मराएको होइन निज प्र.हरूले मलाई किन पोल गरे थाहा छैन मृतकलाई चिन्दिन प्रहरीको बयान मेरो स्वइच्छाले भएको होइन तसर्थ कसूर नगरेको हुँदा सफाई पाउँ भन्ने कनकबहादुर भण्डारीले अदालतमा गरेको बयान ।
१६.प्र.मध्ये तेजबहादुर कोहली भनेको बाहुन कान्छीलाई चिनेको छैन, अरु सबै प्रतिवादीहरू र जाहेरवालालाई चिनेको छु । ०३९।४।२१ गते म धरान गएको र ऐ.२२ गते धरानबाट अं. ५ बजे हिंडी रातको अं. ९ बजे फर्की आफ्नो घरमा आई सुतेको हुँ मेरो साथ पक्राउ परी आएका मदनबहादुर विष्ट पनि संगै धरान गई फर्केका हौं प्रहरीमा भएको बयान मेरो स्वइच्छाले भएको होइन मृतक पुष्पबहादुर राईलाई मैले कर्तव्य गरी मारे मराएको होइन म निर्दोष छु भन्ने प्र.बालकृष्ण भण्डारीले अदालतमा गरेको बयान ।
१७.पुष्पबहादुरलाई मैले मारे मराएको छैन भन्ने समेतको सनबहादुरले गरेको बयान ।
१८.जाहेरवाली, मृतक पुष्प राई, कुनै प्रतिवादीलाई समेत चिनेको छैन । ०३९।४।२२ गतेका दिन रात म आफ्नो घरमा छु मृतकसंग मेरो रीसइवी छैन मैले अपराध नगरेको हुँदा सफाई पाउँ भन्ने प्र.धनबहादुर थापा मगरले अदालतमा गरेको बयान ।
१९.२०३९।४।२१ गते दिन रात म मेरो काका मोरङ डागीहाट गा.पं. वार्ड नं. ५ बस्ने निरबहादुर भण्डारी कहाँ गई रात त्यहीं बसी भोलिपल्ट ऐ.२२ गते बिहान ९ बजेतिर मामा घरबाट धरान फुस्रेमा प्रहरीको जागिर खुलेको थाहापाई हिंडी ११ बजे लक्ष्मी मार्गबाट बस चढी २½ बजेतिर धरान पुग्यौं र धरान घुमी ऐ. २३ गते अं. साँझ ५½ बजेतिर धरानमा गाडी चढी हामी घर फर्की ९ बजे आइपुग्यौं नाम सुनाएका प्रतिवादीहरू कसैलाई चिन्दिन, मैले मृतकलाई कुटपीट गरी मारे मराएको हैन प्रहरीमा भएको मेरो बयान स्वइच्छाले भएको होइन म निर्दोष हुँदा सफाई पाउँ भन्ने प्र.मदनबहादुर विष्टले अदालतमा गरेको बयान ।
२०.जाहेरवाली फुलमायालाई चिनेको थिइन मलाई प्रहरीले पक्राउ गरेपछि मैले जाहेरवाली भन्ने चिनेको हुँ मैले मृतकलाई कुटपीट गरी मारेको नहुँदा अभियोगबाट सफाई पाउँ भन्ने प्र.बलबहादुर कार्कीले अदालतमा गरेको बयान ।
२१.२०३९।४।२२ गतेको रात म मेरो घरमा छु । सो दिन रात मेरो अरु प्रतिवादीहरू र जाहेरवाली र मृतक पुष्पबहादुर समेत कसैसंग भेटघाट भएन । मेरो मृतकसंग रिसइवी नभएको हुँदा निजलाई कुटपीट गरी कर्तव्यबाट मारेको होइन छैन । म निर्दोष हुँदा सफाई पाउँ भन्ने प्र.बलबहादुर राईले अदालतमा गरेको बयान ।
२२.मृतक पुष्पबहादुर, जाहेरवाली र प्रतिवादी भनी नाम सुनाइएका मदन विष्ट, बलबहादुर राईलाई चिनेको छैन । अरु प्रतिवादीलाई चिनेको छु, ०३९।४।२ गतेका दिन रात मेरो पहाड घर धनकुटा जिल्ला आँखी सल्ला गा.पं. वार्ड नं. १ मा छु मैले मृतकलाई कुटपीट गरी मारेको होइन छैन सरजमीन किन शंका गरे मेरो केही कसूर नहुँदा सफाई पाउँ भन्ने प्र.तेजबहादुरको अदालतमा गरेको बयान ।
२३.जाहेरवाला प्र.भनी नाम सुनाइएका बलबहादुर राई मृतक पुष्पबहादुर राई बाहेक अरु प्र.हरूलाई चिनेको छु । २०३९।४।२२ गतेको दिन मेरो घरबाट ५५ कि.मी.टाढा झापा माहारानी गा.पं. वार्ड ५ मा मेरो दिदीको घरमा छु मेरो केही कसूर छैन लगाएको झुठ्ठा अभियोगबाट सफाई पाउँ भन्ने प्र.भिमबहादुर विष्टले अदालतमा गरेको बयान ।
२४.२०३९।४।२२ गतेको रात दिन म झापा जिल्लाको पृथ्वी नगर गा.पं. वार्ड ८ बमबहादुर कार्कीको घरमा छु । मृतकलाई कसले कर्तव्य गरी मारे मलाई थाहा छैन । सनबहादुर समेतले प्रहरीमा बयान गर्दा मलाई किन पोले म जान्दिन निजहरू संग मेरो रिसइवी छैन मैले कर्तव्य गरी मारेको होइन आरोप झुठ्ठा हो भन्ने प्र.वीरबहादुर भण्डारीले अदालतमा गरेको बयान ।
२५.प्र.बलबहादुर राई, मृतक पुष्पबहादुर जाहेरवाला बाहेक अरु प्र.हरूलाई चिनेको छु । ०३९।४।१८ गतेदेखि २०।२१ कोष फरकमा मोरङ हसन्दह गा.पं. वार्ड नं. २ मा बहिनी सीतादेवी बुढाथोकीको घरमा थिएँ । म उपर झुठ्ठा अभियोग हुँदा सफाई पाउँ भन्ने प्र.झमकबहादुर भण्डारीले अदालतमा गरेको बयान ।
२६.प्रतिवादीहरूको नाम सुने, मदन विष्ट, बलबहादुर राई बाहेक सबैलाई चिनेको छु । जाहेरवालीलाई पनि चिनेको छैन । २०३९।४।२२ गते रात दिन म वेलवारी अं. ७५ कि.मि. फरकमा स्थित झापा जिल्ला महारानी गा.पं. वार्ड नं. ५ मा दिदी तारादेवी भण्डारी विरामी भन्ने खबर सुनी गएको थिएँ । वारदातको बेला म माथी लेखिएको ठाउँमा हुँदा म समेत भई पुष्पबहादुर राईलाई कर्तव्य गरी मारेको छैन मेरा उपरको पोल झुठ्ठा हो, म निर्दोष छु सफाई पाउँ भन्ने प्र.इन्द्रबहादुर विष्टले अदालतमा गरेका बयान ।
२७.जाहेरवालीलाई चिन्दिन प्रतिवादीहरू मध्ये बलबहादुर कार्की, तेजबहादुर विष्ट, कृपासिंग गुरुङ, भिमबहादुर विष्ट, इन्द्रबहादुर विष्टलाई मात्र चिन्दछु म अरुलाई चिन्दिन । ०३९।४।१२ गतेका दिन रात म मेरो घर जि.भोजपुर दिङलामा छु । मैले पुष्पबहादुर राईलाई कसले कसरी कुटपीट गरी मारे म निर्दोष हुँदा आरोपबाट सफाई पाउँ भन्ने प्र.बाहुन कान्छो भन्ने ऋषिप्रसाद रगालले अदालतमा गरेको बयान ।
२८.प्रतिवादी भनिएका कनकबहादुर भण्डारी, बलबहादुर कार्की, तेजबहादुर विष्ट, बाहुन कान्छा, विरबहादुर भण्डारी, भिमबहादुर विष्ट, ईन्द्रबहादुर विष्टलाई चिन्दछु अन्य प्रतिवादी, जाहेरवाली र मृतक समेतलाई चिनेको छैन । ०३९।४।१० गते नै म डांगीहाटबाट पहाड घर पूर्र्व ४ नं. भोजपुर हेलौछा गा.पं. वार्ड नं. २ घर हिंडी सोही १३ गते घर पुगी २०३९ साल आश्विन २३ गते मात्र डांगीहाट आई पुगेको छु । ०३९।४।२२ गते म वारदातमा संलग्न छुइन, पहाड घरमै छु मृतकलाई कसले मारे वा आफैं मरेका हुन् भन्न सक्तिन । वारदात मिति वारदात स्थल समेतमा म नभई पहाड घरमा भएको हुँदा म निर्दोष छु । म उपर लगाएको अभियोगबाट सफाई पाउँ भन्ने प्र.कृपा सिंह गुरुङले अदालतमा गरेको बयान ।
२९.बुझिएसम्मका प्रमाणका परिबन्दबाट प्र.मध्येका सनबहादुर भण्डारी र बालकृष्ण भण्डारीलाई ज्यानसम्बन्धिको ६(२) अनुसार जनही ।६ महीना कैद र रु.२००।– जरिवाना हुने समेत र प्र.बलबहादुर कार्कीलाई रु.५००। र प्र.गोपाल कार्कीलाई रु.२००। जरिवाना हुने ठहर्छ । सो बाहेकका अन्य प्र.हरू समेत तेजबहादुर प्र.धनबहादुर प्र.कनकबहादुर प्र.मदनबहादुर प्र.रामबहादुर प्र. बलबहादुर समेतका हकमा प्रस्तुत मुद्दामा निजहरू उपरको दावी पुग्न सक्तैन । निजहरूले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको मिति ०३९।११।१८।४ को मो.जि.अ. को फैसला ।
३०.मोरङ जि.अ. को फैसलामा चित्त बुझेन प्रहरी प्रतिवेदन माग अनुसार हुन अनुरोध गरिएको छ भन्ने समेतको श्री ५ को सरकारको पु.क्षे.अ. मा परेको पुनरावेदनपत्र ।
३१.मोरङ जि.अ.को इन्साफ मनासिव ठहर्छ भन्ने समेतको पु.क्षे.अ. बाट भएको फैसला ।
३२.उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने समेतको वादी श्री ५ को सरकार तर्फबाट यस अदालतमा निवेदन पर्न आई संयुक्तइजलास समक्ष पेश हुँदा पु.क्षे.अ. को फैसला अ.बं. १८४(क) तथा प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटी हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने आदेश भई पुनरावेदनको लगतमा दर्ता हुनआएको रहेछ ।
३३.नियमबमोजिम दैनिक पेशी सूचीमा चढी आज पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकार तर्फबाट उपस्थित विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा र विपक्षी इन्द्रबहादुर विष्ट तथा कृपासिंह गुरुङ र भीमबहादुर विष्ट तेजबहादुर तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले तथा विपक्षी गोपालबहादुर कार्की तथा बलबहादुर कार्की तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली र विपक्षी तेजबहादुर विष्ट तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिहर दाहालले गर्नु भएको बहस समेत सुनियो ।
३४.अब प्रस्तुत मुद्दामा पु.क्षे.अ. बाट भएको इन्साफ मनासिव वा बेमनासिव के रहेछ भन्ने कुराको निर्णय दिनुपरेको छ ।
३५.निर्णयतर्फ विचार गर्दा यसमा पुष्पबहादुर राईको मृत्यु भएकोमा विवाद छैन । निज मृतकको मृत्यु प्रतिवादीहरूको कर्तव्यबाट भएको हो वा होइन भन्ने कुरामा नै प्रस्तुत मुद्दामा विचार गर्नु पर्ने देखिन आएको छ । मृतक पुष्पबहादुरलाई प्रतिवादीहरूले मार्नु पर्नेसम्मको रिसइवी भई मार्ने मनसाय लिई हुल हुज्जत गरी कुटपीट गरेको भन्ने मिसिलबाट देखिन आउँदैन । प्रतिवादी मध्येका गोपाल कार्कीलाई मृतक पुष्पबहादुरले खुकुरी प्रहार गरेकोमा निज उपर ज्यान मार्ने उद्योग मुद्दा लगाइएको पाइन्छ । त्यसरी ज्यान मार्ने उद्योग मुद्दा चलाइएका मृतक पुष्पबहादुर फेला नपरेकोमा पछि फेला परी प्रतिवादीहरूले पक्राउ गरी लगेको भन्ने देखिन आएको छ । प्रतिवादीहरू अदालत समक्ष बयान गर्दा आरोपित कसूरमा इन्कार रही बयान गरेका छन् । तापनि जाहेरवालाले प्रतिवादीहरूले पुष्पबहादुरलाई पक्राउ गरी कुटपीट गर्दै लगेको भनी किटानी गर्नु पर्ने कारण र अवस्था मिसिलबाट नदेखिएकोले प्रतिवादीहरूले पक्राउ गरी मृतकलाई लगेकै देखिन आयो प्रतिवादीहरूसंग पक्राउ परी जान नमान्दा बल प्रयोग समेत भएर मृतकको मृत्यु हुन गएको पाइन्छ । को कसको बल प्रयोग गरी मृतकको मृत्यु भएको हो भन्नेतर्फ हेर्दा जाहेरवालीको अदालत समक्ष भएको बकपत्रमा जाहेरी दर्खास्तमा उल्लिखित बालकृष्ण सनबहादुर, बलबहादुर र गोपाल कार्की र जाहेरीमा उल्लेख नभएको तेजबहादुरको नाम उल्लेख गरेको देखिन आएको छ । सरजमीनमा बस्ने अदालत समक्ष आई बकपत्र गर्ने विमादेवी राई समेतको बकपत्रबाट प्रतिवादीहरूलाई देखे चिनेका भन्न र निजहरूले पुष्पबहादुरलाई ज्यान मार्ने मनसायले कुटपीट गरी मारेको भन्न समेत सकेको पाइँदैन ।
३६.उपरोक्त आधार प्रमाण समेतबाट मृतक पुष्पबहादुरलाई प्रतिवादीहरूले पक्राउ गरी ल्याएको भए तापनि निजलाई मार्ने मनसाय प्र.हरूको भएको मिसिल प्रमाणबाट देखिन आउँदैन । पक्राउ परी जान नमान्दा बल प्रयोग भई संयोगवश निजको मृत्यु भएको देखिन आयो जाहेरवाला समेतको बकपत्रबाट प्र.बलबहादुर कार्की, सनबहादुर भण्डारी, बालकृष्ण भण्डारी र गोपालबहादुर कार्कीसम्म वारदातमा उपस्थित भइरहेको देखिँदा निजहरूले बल प्रयोग गरी मृतकलाई लग्दाको अवस्था भवितव्य परी निज पुष्पबहादुरको मृत्यु भएको देखिन्छ । अतः प्र.बलबहादुर भण्डारी, सनबहादुर भण्डारी, बालकृष्ण र गोपालबहादुर कार्कीलाई ज्यानसम्बन्धी महलको ६(२) नं. बमोजिम कसूरदार ठहर्याई अन्य प्रतिवादीहरूलाई सफाई दिने ठहर्याएको मोरङ जि.अ. को इन्साफ सदर गरी पु.क्षे.अ. बाट भएको इन्साफ मनासिवै देखिँदा सदर हुने ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.रुद्रप्रसाद सिंह
इति सम्वत् २०४४ साल पौष २९ गते रोज शुभम् ।