निर्णय नं. ७१२२ - लिखत बदर, दर्ता बदर, दर्ता कायम

निर्णय न.७१२२ ने.का.प. २०५९ अङ्क ७/८
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
सम्बत २०५४ सालको दे.पु.नं. ..३५९९
फैसला मितिः २०५८।१०।२९।२
मुद्दा :– लिखत वदर, दर्ता वदर, दर्ता कायम ।
पुनरावेदक
वादीः जिल्ला मोरङ सिद्राहा गा. वि. स. वार्ड नं. १ बस्ने सुर्जी माझी थारु समेत
बिरुद्ध
विपक्षी
प्रतिवादीः ऐ. ऐ. बस्ने सकुन्तला देवी भगत समेत
§ वादीको प्रस्तुत फिराद लिखत पारित भएको ०४६।६।२९ ले एक वर्ष सम्म थाहा पाएको पैतिस दिन भित्र परेको नदेखिई ०४८।६।१९ मा उल्लेखित हदम्याद नाघी सकेपछि मात्र परेको देखिंदा प्रस्तुत फिराद दावीलाई लेनदेन ब्यबहारको १० नं. अनुरुपको हदम्याद भित्रको मान्न सकिने अबस्था नरहेन ।
§ लेनदेन ब्यवहारको ४० नं. मा यति कुरामा हदम्याद लाग्दैन भनि सो हदम्याद नलाग्ने जति कुरा प्रष्ट उल्लेख भएको र लेनदेन ब्यबहारका महलमा हदम्याद लेखिएको वा लाग्दैन भनेका कुरामा वाहेक अन्यमा भए गरेका दुई बर्ष भित्र नालेश दिनु पर्ने गरि हदम्याद सम्वन्धी कानूनी ब्यबस्था रहेको पाईन्छ । तर प्रस्तुत विवादमा लेनदेन ब्यवहारको माथि विवेचित १० नं. आकर्षित हुने भै सोही नं. मा हदम्याद समेत प्रष्ट उल्लेखन भै रहेको सन्दर्भमा लेनदेन ब्यबहारको ४० नं. को अबस्था प्रासँगिक समेत हुन नआउने ।
(प्र.नं. १२)
पुनरावेदक वादी तर्फबाटः
विपक्षी प्रतिवादी तर्फबाटः
अवलम्वित नजिरः
फैसला
न्या.हरिश्चन्द्रप्रसाद उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) वमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको सँक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ ।
२. विपक्षी पिताजी हामी अन्य फिरादीको र सुर्जिको पति चन्द्रलालसँग परिवार बढी धेरै ठूलो भएकोले अंश वण्डा गरौ भन्दा अंश वण्डा नगर्ने जो भएको सम्पत्ति घरसारमा मिलाई खाने भनि घरसारमा जग्गा जमिनहरु दिलाई दिनु भएको थियो । अंश गरौ भन्दा विपक्षी रिसाई ०४६।२।१० गते घर छोडी जानु भयो । हामी वादीको चुल्हो भान्छा अलग अलग भएको थियो । हामीहरुले मागेको सम्पत्ति र केही सम्पत्ति पनि विक्री गर्नु पर्ने अबस्था पनि थिएन । ०४८।४।३१ गते विहान ८ वजेको समयमा विपक्षी सकुन्तला, भविदास मित्रप्रसाद समेतलाई गोरु नारी कि. नं. २९८ को जग्गामा जोताई रहेको देखि हामीलाई पिताजीले भोगि खान भनि दिएको जग्गा किन जोत्नु हुन्छ भन्दा मैले भैरु चौधरीवाट किनेको जग्गा कसरी तपाईको अंश लाग्छ भन्दा जग्गा जोत्न नछाडेको र ०४८।६।६ गते मा. पो. का. मोरङ आई पिताजीको लगत दर्ता श्रेस्ता समेत हेर्दा खारेजी मोठ देखीएको र कसलाई हक छाडेछन् भनी लिखतहरु पत्ता लगाई नक्कल सारी हेर्दा दिने चन्द्रलाल लिने भैरु चौधरी भै र. न. ११७४ मिति २०४६।६।२९ गते कि. नं. २९८ को ०–१६–५ जग्गा राजीनामा लिनु दिनु भएको र सोही जग्गा भैरु चौधरी दिने सकुन्तला भगत लिने भै र. न. ९८६५ मिति ०४८।१।५ गते जालसाँजी लिखत खडा गरेको नक्कल लिँदा थाहा पाएको हो । यसरी लेनदेन ब्यवहारको १० नं. बमोजिम मञ्जुरी लिन पर्ने मञ्जुरी समेत नलिई मुलुकी ऐन, किर्ते कागजको ३ नं. को परिभाषा भित्रको अपराध गर्नु भएको कुरा ०४८।४।३१ गते प्रकाशमा आई ०४८।६।६ गते नक्कल सारी थाहा पाएकोले सर्वोच्च अदालतको ने. का. प. ०४१ अङ्क ६ नि. नं. २०३२ पेज नं. ५५६ को न्यायिक सिद्धान्त र लेनदेन ब्यहोराको १०।४० नं. अ. वं. ८२ नं. समेतको आधारमा फिराद गर्न आएको छु । अतः चन्द्रलालले भैरु चौधरीलाई गरी दिएको र. नं. ११७४ को मिति २०४९।६।२९ को कि. नं. २९८ को जग्गा ०–१६–५ लिनु दिनु गरेको राजीनामा लिखत र सोहि जग्गा फेरी भैरु चौधरी दिने लिने सकुन्तला भगत भै र. नं. ९८६५ मिति ०४८।१।५ मा थैली रु ५८,०००।– राखी लिनु दिनु गरेको राजीनामाको ०–१६–५ जग्गा मध्ये ६ अँशियार हुँदा ६ खण्ड मध्ये ५ खण्ड जति हामीहरुको अंश भएको सम्पत्ति हुँदा सो हदसम्मको लिखत र सो लिखतको नातावाट विपक्षीहरुले गराउनु भएको दर्ता मोठ लगत सम्पूर्ण वदर गरि वदर भएको जति जग्गा हामी फिरादीहरुको नाममा दर्ता कायम गरि पाउँ भन्ने समेत फिराद पत्र।
३. विपक्षीको फिराद झुठ्ठा तथा कपोलकल्पित मात्र हो दावीको कि. नं. २९८ को जग्गा ०–१६–५ वादीहरुको समेत पैतृक आर्जन सम्पत्तिबाट खरिद गरेको नभई चन्द्रलाल माझीको मोही भएकोमा निज चन्द्रलालले कि. नं. १४९ को जग्गावाट मोहीयानी हक छाडी दिने गरि दे. न. १९०३ मा २०४५।२।१३ गते मिलापत्र गरी घरसारमा राजीनामा गरी ऐ. १९ गते रजिष्ट्रेशन पारित गरि निज चन्द्रलालको नाउँमा दर्ता हुन आएको हो । चन्द्रलालले मोही हक छोडे वापत फुलसरीवाट राजीनामा गरि आफ्ना नाउँमा आएको जग्गा विक्रि गर्दा वादीको मञ्जुरी लिन पर्ने होइन । निजले विक्रि गरेको लिखत वादीले वदर गराउन पाउने होईन । लेनदेन ब्यबहारको १० नं. वमोजिम तथ्य ४० नं. को हदम्याद भित्र फिराद गरेको भनि लेख्नु भएको छ, लेनदेन ब्यवहारको १० नं. अनुसार रजिष्ट्रेशन भएका मितिले एक वर्ष सम्ममा थाहा पाएको ३५ दिन भित्र उजुर गर्यो र मञ्जुरी ठहरिएन भने निजको हक जति निजलाई फिर्ता गराई दिनु पर्दछ भन्ने कानूनी ब्यबस्था भएको पाईन्छ । तर वादीले हदम्याद २ बर्ष पुग्न ११ दिन बाँकी हुँदा मात्र फिराद दायर गरेको छ र ४० नं. को हदम्याद भित्र लागु हुने अबस्था छैन, अतः हदम्याद नाघेको फिराद हुनाले खारेज गरि पाउँ र अंश वण्डाको १९(२) नं. बमोजिम प्र. चन्द्रलालले आधा सम्म अचल सम्पत्ति आफु खुसी गर्न पाउने हुनाले कि. नं. २९८ को जग्गा प्र. चन्द्रलालले मोहि हक छाडे वापत प्राप्त गरेको हुँदा पैतृक सम्पत्ती होईन आफु खुसी गर्न पाउने हो । यी वादी र प्र. चन्द्रलालको नाउँमा यो वाहेक अन्य जग्गा समेत हुनाले र अंश वण्डा को १९(१) वमोजिम आधा भन्दा घटि नै विक्रि गरेको हुँदा लिखत वदर गराउन वादिको हक नपुग्ने प्रष्टै छ । अतः झुठ्ठा दावीवाट अलग फुर्सद गराई पाउँ भन्ने समेत प्रतिवादीहरु भैरु तथा सकुन्तलाको संयुक्त प्रतिउत्तर पत्र ।
४. मिति २०४८।७।१२ को प्र.चन्द्रलालले वुझेको म्यादमा निजले प्रतिउत्तर नफिराई गुजारी वसेको रहेछ ।
५. वादी प्रतिवादीका साक्षीहरुको वकपत्र मिसिल सामेल रहेको रहेछ ।
६. वादी दावी बमोजिम ज. वि. ०–१६–५ को ६ खण्ड को ५ खण्डको लिखत दर्ता वदर भै वादीहरुको नाउँमा दर्ता कायम हुने ठहर्छ भन्ने समेत ब्यहोराको शुरु मोरङ जिल्ला अदालतको मिति ०५१।५।६ गतेको फैसला ।
७. शुरु जिल्ला अदालतको फैसला उपर चित्त बुझेन । हामीले खरिद विक्री गरेको लिखत र हाम्रो नाउँको दर्ता समेत सदर कायम राखी न्याय इन्साफ पाउँ भन्ने समेत ब्यहोराको पुनरावेदन जिकिर ।
८. यसमा वादीको फिराद मुलुकी ऐन, लेनदेन ब्यबहारको १० नं. हदम्याद नाघि दायर भएको र अंश वण्डाको महलको १९(१) ले अचल सम्पत्तिको सम्पत्ति आधी घर ब्यबहार चलाउन प्रतिवादीले विक्री गर्न सक्ने भन्ने पुनरावेदक प्रतिवादीहरुको जिकिर देखिदा छलफलको लागी अ. वं. २०२ नं. बमोजिम झगडीया झीकाई आएपछि वा म्याद नाघेपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।
९. हदम्याद नाघी दायर भएको प्रस्तुत मुद्दाको फिराद खारेज गर्नु पर्नेमा वादी दावी बमोजिम लिखत दर्ता वदर दर्ता कायम हुने ठहर्याएको शुरु मोरङ जिल्ला अदालतको मिति २०५१।५।६ को फैसला गल्ती हुँदा उल्टी भै वादी दावी खारेज हुने ठहर्छ भन्ने पुनरावेदन अदालत विराटनगरको मिति ०५३।४।२७ को फैसला ।
१०. फिराद दावी वमोजिम लिखत वदर हुने ठहर्याएको शुरुको इन्साफ सदर कायम गर्नु पर्नेमा वादी दावी खारेज हुने ठहर्याएको पुनरावेदन अदालत विराटनगरको फैसला ने. का. प. २०४५ को नि. नं. ३३५५ पृष्ठ संख्या १०७ मा प्रतिपादीत सिद्धान्त समेत विपरीत हुँदा बदर गरी पाउँ भन्ने समेत ब्यहोराको पुनरावेदक वादीहरुको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
११. नियम बमोजिम पेशी सूचीमा चढी इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसील कागजात अध्ययन गरी हेर्दा शुरुको इन्साफ उल्टी गरेको पुनरावेदन अदालत विराटनगरको फैसला मिलेको छ, छैन र पुनरावेदक वादीहरुको पुनरावेदन जिकीर पुग्ने हो, होईन ? भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।
१२. निर्णय तर्फ विचार गर्दा यसमा दाविको कि. नं. २९८ जग्गाको प्रतिवादी मध्येका चन्द्रलाल माझी दिने र भैरु चौधरी लिने भै र. न. ११७४ मिति २०४६।६।२९ मा पारित भएको राजिनामा लिखत र सोही जग्गा पुन दिने भैरु चौधरी र लिने शकुन्तला देवी भगत भै र. नं. ९८६५ मिति ०४८।१।५ मा पारित भएको दुवै राजिनामा लिखत आफ्नो हक जति ६ खण्ड मध्ये ५ खण्ड वदर गरी पाउँ भनि मुलुकी ऐन लेनदेन ब्यबहारको १० र ४० नं. को हदम्याद उल्लेख गरी मिति ०४८।६।१९ मा पुनरावेदक वादीहरुको प्रस्तुत लिखत वदर मूद्दाको फिराद परेको देखिन्छ । पुनरावेदक वादीले शुरु फिरादमा उल्लेख गरेको लेनदेन ब्यबहारको १० नं. को हदम्याद नाघी प्रस्तुत फिराद दायर भएकोले फिराद खारेज हुनु पर्ने भन्ने समेतको प्रत्यर्थी प्रतिवादीहरुको प्रतिउत्तर जिकिर रहेको र पुनरावेदन अदालत विराटनगरवाट समेत शुरुको उल्टी गरी हदम्यादकै प्रश्नमा फिराद दावी खारेज गरेको देखिदा सर्वप्रथम सोही हदम्याद कै प्रश्नको निरोपण गर्नु पर्ने अबस्था देखियो । सो तर्फ विचार गर्दा मुलुकी ऐन लेनदेन ब्यबहारको १० नं. मा अंश नभएका अँशियारले सँगोलको अचल सम्पत्ति वेच विखन गर्दा एकाघर सँगका अँशियार साक्षी वसेको वा निजहरुको मञ्जुरीको लिखत नभएको अबस्थामा मञ्जुर नहुनुले रजिष्ट्रेशन भएका मितिले एक वर्ष सम्म थाहा पाएको पैतिस दिन भित्र उजूर गर्यो र निजको मञ्जुरी ठहरिएन भने निजको हक जति सो सम्पत्ती निजलाई फिर्ता गराई दिनु पर्छ भन्ने समेतको कानूनी ब्यबस्था रहेको पाईन्छ । भैरहेको उल्लेखित कानूनी प्रावधानवाट अंश नभएका अँशियारले सँगोलको सम्पत्ती वेच विखन हक हस्तान्तरण गरेको कुरामा चित्त नवुझाउने ब्यक्तिले त्यस्तो लिखत पारित भएको १ बर्ष सम्ममा थाहा पाएको ३५ दिन भित्र नालेश उजुर गरी सक्नु पर्ने भन्ने हदम्याद सम्वन्धी प्रष्ट कानूनी ब्यबस्था रहेकोमा कुनै द्विविधा रहेको नदेखिदा हदम्याद सम्वन्धी उल्लेखित कानूनी ब्यवस्थालाई उपेक्षा गर्न मील्ने देखिदैन । यसरी उल्लेखित कानूनी प्रावधान अनुरुप वादीको प्रस्तुत फिराद लिखत पारित भएको ०४६।६।२९ ले एक वर्ष सम्म थाहा पाएको पैतिस दिन भित्र परेको नदेखिई ०४८।६।१९ मा उल्लेखित हदम्याद नाघी सकेपछि मात्र परेको देखियो । यसवाट प्रस्तुत फिराद दावीलाई लेनदेन ब्यबहारको १० नं. अनुरुपको हदम्याद भित्रको मान्न सकिने अबस्था रहेन । अव जहाँसम्म वादीको फिरादमा लेनदेन ब्यवहारको ४० नं. को हदम्यादको समेत उल्लेखन रहेको भन्ने पुनरावेदन जिकिर छ, सो सम्वन्धमा विचार गर्दा लेनदेन ब्यबहारको ४० नं. मा यति कुरामा हदम्याद लाग्दैन भनि सो हदम्याद नलाग्ने जति कुरा प्रष्ट उल्लेख भएको र लेनदेन ब्यबहारका महलमा हदम्याद लेखिएको वा लाग्दैन भनेका कुरामा वाहेक अन्यमा भए गरेका दुई बर्ष भित्र नालेश दिनु पर्ने गरि हदम्याद सम्वन्धी कानूनी ब्यबस्था रहेको पाईन्छ । तर प्रस्तुत विवादमा लेनदेन ब्यवहारको माथि विवेचित १० नं. आकर्षित हुने भै सोही नं. मा हदम्याद समेत प्रष्ट उल्लेखन भै रहेको सन्दर्भमा लेनदेन ब्यबहारको ४० नं. को अबस्था प्रासँगिक समेत हुन आउने नदेखिदा सो तर्फ अरु विवेचना गर्नु पर्ने देखिदैन । त्यसरी नै प्रतिवादी मध्येका चन्द्र लाल माझीले प्रतिवादी मध्येका भैरु चौधरीलाई मिति ०४६।६।२९ मा गरि दिएको अघिल्लो राजीनामा लिखत बदर गरि पाउँ भन्ने वादी दावी नै लेनदेन ब्यवहारको १० नं. को हदम्याद भित्रको नदेखिई वदर हुन सक्ने अबस्थाको देखिन नआएको स्थितीमा सोही अघिल्लो लिखत पारित गराई लिने भैरु चौधरीले पछिवाट प्रतिवादी मध्येका सकुन्तला देवीलाई मिति २०४८।१।५ मा पारित गरि दिएको विवादकै जग्गाको राजिनामा लिखत समेत वदर हुन सक्ने देखिएन । तसर्थ उल्लेखित आधार कारणवाट शुरुको फैसला उल्टी गरी हदम्याद नाघि दायर भएको पुनरावेदक वादीको प्रस्तुत फिराद अ. वं. १८० नं. बमोजिम खारेज गर्ने गरेको पुनरावेदन अदालत विराटनगरको फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.केदारप्रसाद गिरी
ईति सम्बत २०५८ साल माघ २९ गते रोज २ शुभम् ...... ।