शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३३३३ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

भाग: ३० साल: २०४५ महिना: बैशाख अंक:

निर्णय नं. ३३३३                 ने.का.प. २०४५     अङ्क १

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४३ सालको रिट नं. १५१३

आदेश भएको मिति : २०४४।११।२ मा

 

निवेदक :      नेपालगंज नगरपञ्चायत वा.नं. ७ वस्ने अमृत शम्सेर ज.ब.रा.

विरुद्ध

विपक्षी  :      भूमि सुधार कार्यालय झापासमेत

 

विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 

(१)                  कानूनले तोकेको रीतपुर्वकको कबूलियत बेगर बाली बुझेको भर्पाई मात्रको आधारमा मोही कायम हुन सक्तैन, एकाको  जग्गामा अर्को व्यक्तिले गरिदिएको कबूलियतको आधारमा मोही कायम हुनसक्ने होइन ।

(प्रकरण नं.  ९)

 

निवेदकतर्फबाट   :      विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव ढुंगाना, विद्वान अधिवक्ता श्री राधेश्याम पराजुली

विपक्षीतर्फबाट    :      विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट

 

आदेश

न्या.पृथ्वीबहादुर सिंह:नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यसप्रकार रहेछ ।

२.मालपोत कार्यालय झापामा मेरो नाममा दर्ता रहेको जि. झापा नक्लबन्दा गा.पं. वा.नं. ६ कि.नं.११९ को ज.वि. ४० जग्गाको मोही टाङटुल भएकोमा निजले छाडी गएपछि आफैंले कमाई आएको र कुनै साल कसैलाई ठेक्कामा कमाउन पनि दिने गरेको थिएँ । यस्तैमा नेत्रप्रसाद बजगाइले मेरो उक्त जग्गामा मोही कायम गरिपाउँ भनी दिएको निवेदनमा विपक्षी सुर्यबहादुर मोही थिएँ भनी लेखे पनि मैले कायम नगरेकोले वास्ता नगरी बसेकोमा पछि निर्णय हुँदा उक्त जग्गामा सूर्यबहादुरको नाम मोहीमा भएको र निजले छाडेको भनी विपक्षी भूमिसुधार अधिकारीले उक्त नेत्रप्रसाद सँगको मुद्दामा उल्लेख भएकोले कसरी विपक्षी सूर्यबहादुरलाई मोही कायम गरेका रहेछन भनी भू.सु. बाट कागज लिँदा भू.सु.का.झापाको मिति २०३६।५।१९ को फैसलाबाट मोही कायम गरेको रहेछ, सो को जानकारी २०४३।४।७।३ मा नक्कल लिएबाट थाहा भई निवेदन गर्न आएको छु । मैले मोही कायम गरी कुनै लिखत गरी नदिएको व्यक्ति विपक्षी सूर्यबहादुरलाई मोही कायम गरेको ऐनको दफा ३४ को बिपरीत भई त्रुटिपूर्ण छ । जग्गाधनी प्रमाण पूर्जा समेतबाट मेरो ठेगाना नेपालगञ्ज भएको प्रष्ट हुँदा हुँदै पनि नेपालगञ्जमा कुनै सूचना नपठाई अन्यत्रै सूचना गरेको भनी निर्णय गरेकोबाट मैले आफ्नो कुरा भन्न नपाएबाट उक्त निर्णय प्राकृतिक न्याय सिद्धान्त बिपरीत भई त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा भू.सु.का.झापाको ०३६।५।१९ को निर्णय बदर गरी हनन् भएको हकको संरक्षण गरिपाउँ ।

३.विपक्षीहरूबाट लिखितजवाफ मगाउनु भन्ने सिंगलबेञ्चको आदेशानुसार प्राप्त लिखितजवाफको व्यहोरा संक्षेपमा यसप्रकार रहेछ ।

४.साविक मोही टाङटोङले मोही छोडपत्र गरेपछि जग्गाधनीहरूले मलाई कूत कबूलियत गरी जग्गा कमाउन दिएकोले मोहिको प्रमाणपत्र पाउँ भनी सुर्यबहादुर श्रेष्ठको निवेदन परेपछि ज.ध.का नाममा म्याद पठाउँदा हाजिर नभएको साविकवाला मोही पनि हाजिर नभएकोले सुर्यबहादुर श्रेष्ठको नाममा मिति ०३६।५।१९ को फैसलाबाट मोही हक कायम भएको हो तर ०४३।१।७ को फैसलाबाट सुर्यबहादुर श्रेष्ठका नाउँको मोही लगत कट्टा भई नेत्रप्रसाद बजगाईका नाउँमा मोही हक कायम भइसकेको देखिएको र ०३६।५।१९ मा भएको फैसला उपर परेको रिट निवेदन विलम्वको सिद्धान्त समेतको आधारमा रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत भु.सु.का.चन्द्रगढी झापा ।

५.विपक्षी सूर्यबहादुर श्रेष्ठको नाममा म्याद तामेल भई लिखितजवाफ पेश नभएको ।

६.नियमबमोजिम पेश भएको प्रस्तुत रिट निवेदनको फाइल समेत अध्ययन गरी रिट निवेदकतर्फबाट रहनु भएको वरिष्ठ अधिवक्ता श्री वासुदेव ढुंगाना तथा विद्वान अधिवक्ता श्री राधेश्याम पराजुली विपक्षी कार्यालय तर्फबाट खटिई उपस्थित हुनु भएको  विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले प्रस्तुत गर्नु भएको बहस जिकिर समेत सुनियो । अब निवेदकको माग बमोजिमको आदेश जारी हुने नहुने के हो सो को निर्णय दिन परेको छ ।

७.निर्णयतर्फ विचार गर्दा यसमा जग्गाधनीले विपक्षी वादी सुर्यबहादुर श्रेष्ठलाई जग्गा कमाउन कबूलियत गरिदिएको र साल सालैको कूत बाली बुझी भर्पाई गरिदिएको समेत देखिएको भनी विपक्षी सुर्यबहादुर श्रेष्ठलाई मोही कायम गर्ने गरी मिति २०३६।५।१९ मा भू.सु.का झापाबाट निर्णय भएको देखिन्छ । सो को जानकारी २०४३।४।७।३ मा पाई उक्त २०३६।५।१९ को निर्णय बदर गरिपाउँ भनी प्रस्तुत रिट निवेदन पर्न आएको   देखिन्छ ।

८.रिट निवेदकको नाममा दर्ता रहेको जि. झापा नकलवन्दा गा.पं.वा.नं. ६ कि.नं.११९ को ज.वि. ४० जग्गामा ज.ध. रिट निवेदकले उक्त जग्गा कमाउने साविक मोही टाङटुङ धिमालले कमाउन छाडेपछि कसैलाई पनि कबूलियत गरी मोही कायम गरेको छैन भन्ने रिट निवेदन जिकिर भएकोमा साविक मोहिले जग्गा जोत्न छोडेपछि जग्गाधनीहरूले कबूलियत गरी जग्गा कमाउन दिएको र सालसालै बाली बुझी भर्पाई गरिदिएकोले मोहियानीको प्रमाणपत्र पाउँ भन्ने निवेदन परेकोले सुर्यबहादुर श्रेष्ठलाई मोही कायम हुने निर्णय भएको हो भन्ने भू.सु.का.झापाको लिखितजवाफ देखिन्छ ।

९.यसबाट उक्त जग्गामा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४(१) बमोजिम रिट निवेदक जग्गाधनी अमृत शम्सेर ज.ब.रा. र विपक्षी सुर्यबहादुर श्रेष्ठ बीच जग्गा कमाउने कबूलियत भएको हो भन्ने देखिँदैन । रिट निवेदकको नाममा दर्ता रहेको जग्गामा अर्को जग्गाधनी भनी भू.सु.का.झापामा मोही कायम गरिपाउँ भनी सुर्यबहादुर श्रेष्ठले दिएको निवेदनमा उल्लेख गरेको भक्ती शम्सेरले जग्गा कमाउन निज सुर्यबहादुरलाई कबूलियत गरिदिएको भए त्यस्तो कबूलियतले भू.सं. ऐन, २०२१ को दफा ३४(१) को मान्यता प्राप्त गर्न सक्तैन । कानूनले तोकेको रीतपूर्वकको कबूलियत बेगर बाली बुझेको भर्पाई मात्रको आधारमा मोही कायम हुन सक्तैन । एकाको जग्गामा अर्को व्यक्तिले गरिदिएको कबूलियतको आधारमा मोही कायम हुनसक्ने होइन । तसर्थ दर्तावाला रिट निवेदकको नाममा दर्ता रहेको जग्गा अर्कोले कमाउन दिएको कबूलियतले कानुनी मान्यता पाउन नसक्ने हुँदा त्यस्तो कबूलियतको आधारमा विपक्षी सुर्यबहादुरलाई मोही कायम गर्ने गरेको भू.सु.का.झापाको मिति २०३६।५।१९ को निर्णय कानून बिपरीत भई त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । जानकारीको लागि आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालय मार्फत विपक्षी कार्यालयमा पठाउनु । मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा मेरो सहमति छ ।    

न्या.महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४४ साल फाल्गुण २ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु