निर्णय नं. ७४३७ - जीउ मास्नेबेच्ने ।

निर्णय नं.७४३७ ने.का.प.२०६१ अङ्क ९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
माननीय न्यायाधीश श्री सुसिला सिंह सिलु
सम्वत् २०५९ सालको फौ.पु.नं. .२८४३, ३०५५
फैसला मितिः २०६१।६।१५।६
मुद्दाः– जीउ मास्नेबेच्ने ।
पुनरावेदक
प्रतिवादीः जिल्ला रुपन्देही मक्रहर गा.वि.स.वडा नं. ५ घर भई हाल कारागार शाखा पाल्पामा थुनामा रहेकी रेनुका पौडेल
विरुद्ध
प्रत्यर्थी
वादीः धनकुमारी कुमाल (चौधरी) समेतको जाहेरीले श्री ५ को सरकार
पुनरावेदक
प्रतिवादीः जिल्ला रुपन्देही मक्रहर गा.वि.स.वडा नं. ५ घर भई हाल कारागारशाखा रुपन्देहीमा थुनामा रहेको खिमलाल भन्ने शंकर पौडेल
विरुद्ध
प्रत्यर्थी
वादीः धनकुमारी कुमाल(चौधरी) समेतको जाहेरीले श्री ५ को सरकार
§ पीडितहरुलाई वम्वै वेश्यालयमा विक्रि गरेको र पछि विभिन्न मितिमा उम्की भागी आएको कुरामा विवाद नहुँदा पीडितहरुलाई वम्वै लगी विक्री गर्ने अपराधीहरु को हुन भन्ने कुराको बारेमा पीडितहरुकै भनाइ विश्वासनीय हुने हुनाले प्रमाणको लागि वढी ग्राह्य हुने ।
§ प्रतिवादी घरैमा थिए भन्ने सामान्य भनाइ बाहेक प्रतिवादी शंकर पौडेल वारदातमा संलग्न थिएनन् भन्ने तथ्ययुक्त प्रमाण देखाई अभियोगको खण्डन गर्न सकेको देखिन नआएवाट प्रतिवादी खिमलाल भन्ने शंकर पौडेललाई अभियोग दावीबमोजिमको कसूरबाट मुक्त गर्न सकिने अवस्था र स्थिति विद्यमान भएको नदेखिंदा सफाइ पाउनु पर्छ भन्ने पुनरावेदन जिकिरसंग सहमत हुन नसकिने ।
पुनरावेदक प्रतिवादीतर्फवाटः विद्वान अधिवक्ता श्री लिलामणी पौडेल र वैतनिक अधिवक्ता श्री मुकुन्दप्रसाद पौडेल
प्रत्यर्थी वादीतर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री महेन्द्रवहादुर कार्की
अवलम्वित नजिरः
आदेश
न्या.सुशिला सिंह सिलुः पुनरावेदन अदालत वुटवलबाट मिति २०५८।११।१२ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत प्रतिवादीहरुकोतर्फबाट अलग अलग पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः–
२. पाल्पा मदनपोखरा–६ माइतीघर भएकी मेरी श्रीमती वर्ष २२ की धन कुमारी चौधरी (कुमाल) घरबाट माइत आएकी र मिति २०५४।११।१२ गते माया नाम बताउने एउटी महिलासंग वाँसटारी देखि हिडेको थाहा लाग्न आएको र साथमा एक छोरा सहित हराई वेपत्ता भएकीले खोजतलास गरी पाउँ भन्ने समेत व्यहोराको प्रकाश चौधरीको हुलिया निवेदन ।
३. पाल्पा पोखराथोक ३ घर भै मदनपोखरा ६ मा माइत हुने टेकवहादुर कुमालको छोरा गोविन्द कुमालको श्रीमती भाउजु सम्झना कुमाल ०५४।११।१३ गते माइत घरवाट प्रवास भन्ने स्थानमा मेला हेर्न भनि हिडेको र हराई वेपत्ता भएकोले निजले साथमा लगेको गरगहना समेत रु ४४,३००। सहित हराएकीले खोजतलास गरी पाउँ भन्ने व्यहोराको पूर्णवहादुर कुमालको हुलिया निवेदन ।
४. २०५४ सालको माघे संक्रान्तीमा माइती घर मदनपोखरा घरमा आई वसेकी थिए, २०५४।११।११ गते रेनुका पौडेल मेरो माइती घर मै आई मलाई मेरो बहिनी शान्ति, हेमा, सम्झनालाई ललाई फकाई गरिन र ०५४।११।१२ गते निजसंगै बाँसटारीबाट शान्ती, हेमा, म रेनुका वुटवल भैरहवातर्फ गयौ । सम्झना तानसेनतर्फ गइन रुपन्देहीको मंगलापुरमा हेमा, शान्ति झरे म र रेनुका भैरहवामा पुगियो भैरहवामा एउटा केटा देखाई भारत जाने हो नोकरी छ भनि विश्वासमा पारी म पछि भोलिपल्ट रेनुकाले सम्झनालाई पनि लिएर आई, हामीहरुलाई केटा देखाई वम्वै पुर्याए, वम्वै पुगेपछि धर्मदिदी भन्ने मोटी महिलाहरु संग राखेका थिए निजहरुले हामीलाई विक्री गरी भागेछन पछि म भारतीय पुलिसको सहाराबाट नेपाल आउन सफल भए । सम्झना वेश्यालयमै छिन मलाई र सम्झनालाई वेश्यालयमा विक्री गर्ने रेनुका पौडेल, शंकर पौडेल रामनारायण भन्ने हुन किन्ने वम्वैको वेश्यालयका दुइवटी महिला हुन अन्य को कस्को मिलेमतो छ निजहरुलाई थाहा होला, हामीलाई बेच्ने किन्ने उल्लेखित व्यक्तिहरु उपर आवश्यक कारवाही गरी पाउँ भन्ने व्यहोराको धन कुमारी चौधरी को ०५४।१२।१६ को जाहेरी दरखास्त ।
५. मेरो घरमा केही हेलत्व र आर्थिक अवस्था कमजोर थियो नजीकैकी रेनुकाले तिमीलाई राम्रो केटा पाए लगाई दिन्छु भनेकी थिइन मिति ०५४।११।५ गते एकपटक र पुनः मिति ०५४।११।११ गते रेनुका पोडेल आई म समेतको केटीलाई फकाई विश्वासमा पारेकीले भ्रममा परी सम्झना र म बम्वै पुग्यौ हाम्रो श्री मान बन्ने केटाहरुले वेश्यालयमा वेचेको रहेछन् रेनुका पनि साथै गएकी थिइन, हामी देहव्यापार गर्न वाध्य भइयो, भारतीय प्रहरीको सहयोगले नेपाल आउन सफल भए सम्झना उही छिन मेरो श्री मान बन्ने शंकर, रेनुकाको श्रीमान रहेछ, सम्झनाको लोग्ने वन्ने रामनारायण शर्मा, रेनुका र शंकर पौडेलले वेश्यालयमा वेचेका हुन निजहरु उपर कारवाही चलाई पाउँ भन्ने समेत व्यहोराको धन कुमारी चौधरीको प्रमाणित वयान ।
६. आर्थिक कमजोरीको कारण मेरो श्रीमानले केटी खोज भनेकाले धन कुमारी र सम्झनालाई फकाई मेरो श्रीमान शंकर पौडेलसंग धन कुमारीलाई रामनारायण संग सम्झनालाई विवाह गर्न वम्वै जाने भनि म समेतले लिई गएका हौ । म गोरखपुरबाट फिर्ता आए उनीहरु बम्बै पुगी वेचिए पछि मेरो श्रीमान घर आउंदा धन कुमारीको साडी लिई आएका थिए सो साडी मैले लगाएको छु । रु २०००। भा.रु. श्रीमानले लिई आएका थिए मनोहर कसौधन संग रु १०,०००। लिई गएकार पछि आई रु १३०००। कमिशन सहित बुझाएको र रु १९०००। मा वेचेका रहेछन हाम्रो सल्लाहबाट विक्री गरेको हो भन्ने समेत व्यहोराको रेनुका पौडेलको वयान ।
७. धन कुमारीको लोग्ने म बनेको हुं, सम्झनाको लोग्ने राम नारायण वनेको हो, मेरो श्रीमतीलाई फकाई मैले र राम नारायणले बम्बै पुर्याएका हौ, मनोहर कशोधन संग मिलेमतो गरी म जान भ्याउन्न भनि निजबाट रु १०,०००।– लिई फिर्ता आएपछि बाँडफाँड गर्ने गरी सहमतीबाट लिई गएका हौ । रेनुका गोरखपुरबाट फिर्ता भईन । रामनारायण र मैले बम्बै पिल हाउस वेश्यालयमा पुर्याई रु १९,०००। मा विक्री गरी बचेको रुपैया वाँडी लिएको हो, सम्झनाले लगाएको र धन कुमारीले लगाएको गरगहना बम्बैमा विक्री गरेको हो, धन कुमारीले लगाउने साडी हाल मेरो श्रीमती रेनुकाले लगाएकी छिन आर्थिक लालचमा परी सो कार्य गरेको हो भन्ने समेत व्यहोराको शंकर पौडेलको वयान।
८. सम्झना कुमाल २०५४ सालको शिवरात्री पर्वमा माइत आएको र वाँसटारीबाट हराएकीले खोजतलासको हुलिया दिएका थियौ पछि धन कुमारी वम्बैबाट फिर्ता आएपछि सम्झना र धन कुमारीलाई रेनुका र शंकर पौडेल समेतले बम्बैमा लगी विक्रि गरेको यकिन भएकोले निजहरु उपर जीउ मास्नेबेच्ने कार्य ऐन अन्तर्गत कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको टेकवहादुर कुमाल र गोविन्द कुमालको संयुक्त जाहेरी दरखास्त ।
९. ०५४ सालको शिवरात्री पर्वमा माइत आएका थियौ, दिदीको घर नजीकैको रेनुका आई फकाएकी थिइन, हामी हेमा र म मंगलापुरमा झरियो धन कुमारी रेनुकाको साथमा गएपछि रेनुका आई सम्झनालाई लिई दुवैलाई बम्बै पुर्याई वेचेछन वाँसटारीबाट सम्झना तानसेनतर्फ गएकी हुन् । म हेमा, धन कुमारी, रेनुका मंगलापुर सम्म पुगी म र हेमा झर्यौं भोलिपल्ट सम्झना हराएकोमा रेनुकाले दुवैलाईलिई वम्बै पुर्याएको रहेछ भन्ने शान्ति कुमालको कागज ।
१०. मिति २०५४।११।१२ गते शान्ति, धन कुमारी रेनुकाको साथमा म पनि गएकी थिए शान्तिको साथमा म मंगलपुरमा झरे, रेनुकाले धन कुमारीलार्ई लिई गएकोमा वम्बै पुर्याई वेचेछन, सम्झना र धन कुमारी म लगायतलाई रेनुकाले फकाएकी थिइन भन्ने हेमा कुमालको कागज ।
११. झारफुक गर्ने वहानाबाट रेनुका पौडेल मिति ०५४।११।११ गते मेरो घरमा आएकीले झारफुक गरेको हुं । पछि धन कुमारी, सम्झना लगायतका केटीको साथमा निज रेनुका पौडेल गएकोमा धन कुमारी र सम्झनालाई वम्बै पुर्याई वेचेछन् भन्ने तिलवहादुर कुमालको कागज ।
१२. धन कुमारीले माइत वस्दा पहिल्यै एक दिन एउटै दोकानमा दुईवटा साडी किनेका थियौ। हाल धन कुमारीको उक्त साडी रेनुकाले लगाएको अवस्थामा देखे, उक्त कलरको एकै दिन किनेको साडी मैले अहिले सम्म लगाएकी छु भन्ने समेत व्यहोराको निम कुमारी कुमाल ( चौधरी) समेतको कागज ।
१३. सम्झना कुमाल मेरी वहिनी हुन् मिति ०५४।११।११ गते रेनुका पौडेल धन कुमारीको माइतमा आई फकाउने वहानाबाट बसेकी र भोलीपल्ट ०५४।११।१२ गते सम्झना लगायतका केटीको साथमा रेनुका जाँदा म पनि गएकी थिए म र सम्झना तानसेनतर्फ गयौ ०५४।११।१३ गते सम्झना प्रभास मेला हेर्न गई हराएकीमा निजलाई समेत रेनुकाले फकाई लगेकी रहिछन् । वम्वै वेश्यालयमा लगि वेचेका रहेछन भन्ने समेत भनाइ भएको हुम कुमारी कुमालको कागज ।
१४. प्र. रेनुकाले लगाएको साडी देखाउंदा चिने मेरो साडी हो निजको श्रीमान शंकरलाई पनि चिने मेरो लोग्ने अनि मलाई लाने यहि हो उक्त साडी सम्झना र मलाई गोरखपुर पुर्याएपछि कुर्थासुरुवाल लगाउन लगाई शंकर पौडेल, रामनारायण भन्नेले आफूहरुको अटैचीमा राखेका थिए रेनुकाले हाल लगाएकी छिन सम्झना र मैले लगाएका गर गहना पनि अटैचीमा राखेकी थिएं भन्ने धन कुमारी चौधरीको कागज ।
१५. धन कुमारी मेरो छोरा प्रकाशको कान्छी श्रीमती हुन् घर माइत गर्दै आएकी थिइन, माघे संक्रान्तीमा माइत आएपछि माइतबाटै हराएको थाहा पाएको थिए रेनुका र शंकर पौडेल संग धन कुमारीलाइ अन्तै लगाई दिन पर्यो भन्ने जस्ता कुरा मैले गरेको हैन सामान्य चिनजान मात्र थियो भन्ने समेत व्यहोराको पवीदे भन्ने शंकर धनीकार चौधरीको कागज ।
१६. सम्झना र धन कुमारी माइतमा वसेको स्थानमा पाल्पा मदनपोखरा–६ माझ गाउँमा पर्दछ । तिलवहादुर कुमालको छोरी धन कुमारी र टेकवहादुर कुमालको छोरी सम्झना हुन् । सर्वप्रथम उक्त माइतघरबाट हिंडि लापत्ता भएका हुन् भन्नेहराएको स्थानको मुचुल्का ।
१७. सम्झना कुमाल र धन कुमारी कुमालको माइत घर यसै स्थानमा हुंदा निजहरु माइतमा आएका थिए, आप्mन्त भएकोले हेमा, शान्ति, धनकुमारी, सम्झना साथमै हिडने खेल्ने गर्दथे । मिति ०५४।११।१२ गते धन कुमारी हराएको र ऐ. १३ गते सम्झना हराएकीमा पछि वम्वैबाट धन कुमारी फिर्ता आएको र सम्झना वम्वै मै भएकी भन्ने यकिन थाहा लाग्न आयो, रेनुका पौडेल समेतले वेश्यालयमा विक्री गरेका रहेछन् भन्ने समेत व्यहोराको वुझिएका झमान सिं कुमाल समते अधिकांश व्यक्तिहरुको एकै मिलानसारको वस्तुस्थिति मुचुल्का ।
१८. धन कुमारी चौधरी र सम्झना कुमाललाई वेश्यावृत्तिमा लगाउने उद्देश्यले आर्थिक लालचको कारण भारत वम्बैको पिल हाउस वेश्यालयमा भा.रु. १९,०००। मा वेची प्रतिवादीहरु रेनुका पौडेल खिमलाल भन्ने शंकर र राम कुमार भन्ने राम नारायण शर्माले जीउ मास्नेबेच्ने कार्य ( नियन्त्रण) ऐन, २०४३ को दफा ३ ले निषेधित जीउ मास्नेबेच्ने कार्य गरी सोही ऐनको दफा ४ (क) अन्तर्गतको कसूर अपराध गरेको देखिंदा निज रेनुका पौडेल शंकर पौडेल र राम कुमार भन्ने राम नारायण शर्मालाई उल्लेखित ऐनको दफा ८ (१) अनुसार सजाय भै दफा ८ (५) अनुसार थप सजायँ समेत हुन र अर्का प्रतिवादी मनोहर कसौधनले विक्री गर्ने कार्यमा सहयोग पुर्याई, परिपंच मिलाई दुरुत्साहन समेत गरेकोले जीउ मास्नेबेच्ने कार्य ( नियन्त्रण) ऐन, २०४३ को दफा ४ (घ) अन्तर्गतको कसूर गरेकोले निजलाई सोही ऐनको दफा ८ (४) अनुसार सजाय हुन र धन कुमारी र सम्झनालाई खरिद गर्ने भारत ग्राण्डरोड पिल हाउस मुम्वई वेश्यालयका दुई महिलाको हकमा यकिन नाम थर वतन खुली आएका वखत कानूनबमोजिम छुट्टै माग दावी लिइने र फरार प्रतिवादी राम कुमार भन्ने राम नारायण शर्मा र मनोहर कशौधन उपर अदालतबाटै वारेण्ट म्याद जारी गरी कारवाही गरी पाउन भन्ने समेत व्यहोराको मिति ०५५।११।११ गतेको अभियोग पत्र ।
१९. जाहेरवाली धन कुमारीलाई चिन्दछु, सम्झनालाई चिन्दिन, रेनुका पौडेल मेरी श्रीमती हुन् राम कुमार भन्ने राम नारायण शर्मा र मनोहर कशौधनलाई चिन्दछु । ०५४ सालको फागुन ११,१२ र १३ गते म र रेनुका पौडेल घरमै थियौ, जाहेरवाली धन कुमारी चौधरी (कुमाल) र सम्झना कुमाललाई कसले के कसरी कहिले कहाँ लगी वेचविखन गरेको हो मलाई थाहा छैन मैले धन कुमारी र सम्झनालाई वम्वैको वेश्यालयमा लगी भा.रु १९,०००। मा विक्रि गरेको होइन भन्ने समेत व्यहोराको प्र. खिमलाल भन्ने शंकर पौडेलले अदालतमा गरेको वयान ।
२०. जाहेरवाली धन कुमारी र सम्झनालाई चिन्दिन, शंकर पौडेल मेरो श्रीमान हुनुहुन्छ । राम कुमार भन्ने राम नारायण शर्मा र मनोहर कशौधनलाई पनि चिन्दिन, २०५४ फाल्गुण ११,१२ र १३ गते मेरो श्रीमान र म घरमै थियौ जाहेरवाली धन कुमारी र सम्झनालाई को कसले विक्री गरे मलाई केही थाहा छैन भन्ने समेत व्यहोराको प्र. रेनुका पौडेलले अदालतमा गरेको वयान ।
२१. रेनुका पौडेलले धन कुमारी र मलाई राम्रो केटासंग विवाह गरिदिन्छु राम्रो नोकरी लगाई दिन्छु भनि फकाई प्रलोभनमा पारी धन कुमारीको शंकर पौडेलसंग र मेरो राम कुमार भन्ने राम नारायण शर्मा संग विवाह गराई दिइन् । रामनारायणले विवाह पछि भारत वम्बै लैजाने कुरा गरे । भारत वम्वै नोकरी गर्ने गरी शंकर पौडेल, धन कुमारी कुमाल, राम नारायण शर्मा, रेनुका पौडेल र म सुनौली गोरखपुर हुदै बम्बै पुर्याए । वम्बै पुगेपछि एउटा होटलमा राखे । शंकर र रेनुका १,२ घण्टा बाहिर गई आउँदा २ वटा मोटी आइमाई लिई आए, निजहरुलाई धर्मदिदिहरु भनेका थिए । ती दुईमहिलाले ल्याएको कारमा धन कुमारी र म अगाडि, पछाडि अर्का कारमा शंकर, रेनुका र राम नारायण आएका थिए । ती महिलाहरुले हामी दुई जनालाई वेश्यालयमा लगे । शंकर, रेनुका र राम नारायण त्यहाँबाट भागेछन् । हामीलाई धाक धम्की दिई देह व्यापारमा लगाए । २०५५ को पौष मा तलाबाट हामफाली भाग्न सफल भए माइत आएपछि धन कुमारी संग भेट भयो । ०५४ चैत्रमा धन कुमारी नेपाल आई उजुर गरेपछि शंकर र रेनुका पुर्पक्षको लागि थुनामा रहेछन । संयुक्त मिलेमतो गरी वम्वैको पिलहाउसमा लगि विक्रि गर्ने शंकर पौडेल, रेनुका पौडेल, रामनारायण शर्मा र हामीलाई खरिद गर्ने काठमाडौ पूर्व घर वताउने आफूलाई तामाङ्गनी बताउने दुई महिलालाई समेत कानूनबमोजिम हदै सम्मको सजाय गरी पाउं भन्ने समेत व्यहोराको सम्झना कुमालको जाहेरी दरखास्त ।
२२. जिल्ला कारागार शाखा पाल्पाको ढोका भित्र ढोकाको आडैमा उभिएका शंकर पौडेल र रेनुका पौडेललाई देखे । धन कुमारी र मलाई भारत वम्वैको पिलहाउस वेश्यालयमा लगी विक्रि गर्न यिनै हुन भन्ने व्यहोराको सम्झना कुमालले गरेको सनाखत कागज ।
२३. रेनुकाले धन कुमारीको मेरो देवर शंकर पौडेल संग विवाह भयो, म तिमीलाई लिन आएकी हुं वम्बैमा नोकरी गर्ने राम्रो केटासंग विवाह गरि दिन्छु भनेपछि निज संग भैरहवा गए । ०५४।११।१४ गते तिमीलाई विवाह गर्ने केटासंग सुनौलीमा भेट हुन्छ भने पछि तेल लिन जाने वहाना पारी जिपद्वारा सुनौली गयौ । त्यहाँ रामनारायण शर्मा भन्ने केटालाई देखाए, विवाह पश्चात वम्वै जाने कुरा भयो र त्यहाबाट शंकर पौडेल, धन कुमारी कुमाल, म रामकुमार भन्ने राम नारायण शर्मा, रेनुका पौडेल ५ जना भई गोरखपुर हुदै रेलबाट वम्बै पुर्याए, वम्वै पुगेपछि एउटा होटलमा वस्यौ । शंकर र रेनुका वाहिर निस्के र केही छिन पछि धर्मदिदिहरु भन्ने दुई मोटी आइमाइहरुलाई लिएर आए । यहाँ होटलमा वस्दा धेरै खर्च हुन्छ धर्मदिदि कहाँ जाउँ भनेकाले धन कुमारी र म धर्मदिदिहरु भन्ने मोटी आईमाईहरु संगै वसी कारमा गयौ पछाडि अर्को कारमा रेनुका, शंकर र राम नारायण आएका थिए । रेनुका शंकर र राम नारायण त्यहाँवाट भागेछन । धन कुमारी र मलाई ती मोटी महिलाहरुले खरिद गरी वेश्यालयमा पुर्याए त्यहा देह व्यापारमा सरिक गराए, त्यहाबाट भाग्ने प्रयत्न गर्दा गर्दै ०५५ पौष महिनामा भाग्न सफल भए, वेश्यालयमा रहदा, धन कुमारीसंग मेरो भेट भएन नेपालीहरुको सहारा लिई नेपाल आए, धन कुमारी ०५४ चैत्रमा भागी आएर उजुर गरी कारवाही हुँदा शंकर र रेनुका थुनामा रहेछन विभिन्न प्रलोभनमा पारी वम्वै पिलहाउस वेश्यालयमा लगि विक्रि गर्ने शंकर पौडेल, रेनुका पौडेल र राम नारायण शर्मा हुन भन्ने समेत व्यहोराको जाहेरवाली सम्झना कुमालले गरेको प्रमाणित वयान ।
२४. आदेशानुसार प्रतिवादीहरुको साक्षीको वकपत्र जाहेरवालाहरुको वकपत्र, र अ.वं. ११५ नं.बमोजिम वुझीएका निम कुमारी कुमाल र हेमा कुमालको वकपत्र भई मिसिल संलग्न रहेको ।
२५. प्रतिवादी मध्येका राम कुमार भन्ने रामनारायण शर्मा र मनोहर कशौधन मौकै देखि फरार रहेको हुंदा निजहरुका हकमा अ.वं. १९० नं.बमोजिम मुल्तवीमा राखि दिने ठहर्छ । अधिकार प्राप्त अधिकारी समक्ष प्रतिवादीहरुको साविती वयान, पीडितहरुले मौकामा अदालतमा गरेको प्रमाणित वयान र अदालतमा साक्षीको रुपमा उपस्थित भै यी प्रतिवादीले विक्रि गरेकोकुरा खुलाई गरेको वकपत्र, पीडितहरुलाई पाल्पाबाट भैरहवातर्फ लगेको कुरा मौकामा देख्ने हेमा कुमाल्नी र निम कुमारी चौधरीको अदालतमा भएको वकपत्र, समेतबाट यी प्रतिवादीहरुले पीडितहरुलाई विक्रि गरेको पुष्टी गर्दछ । तसर्थ यी प्रतिवादीहरु शंकर पौडेल र रेनुका पौडेललाई वादी श्री ५ को सरकारको अभियोग माग दावीबमोजिम जीउ मास्नेबेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८ (१) अनुसार जनही वीस वर्ष कैद सजाय हुने ठहर्छ । प्रतिवादी मध्येका शंकर पौडेल विक्रि गर्नेमा मुख्य व्यक्ति देखिन आएकोले निजलाई ऐ. को ८ (५) अनुसार अभियोग पत्रको माग दावीमा उल्लेख भएको भा.रु. १९०००। को हुने रु ३०,४००। जरिवाना समेत हुने ठहर्छ भन्ने समेत शुरु पाल्पा जिल्ला अदालतको मिति ०५७।५।२८ को फैसला ।
२६. हाम्रो साक्षीहरुले हामीलाई सफाइ दिई वकपत्र गरेको र जाहेरवाली धन कुमारी सम्झना समेतलाई रु ३०,४००। मा विक्री गरेको भन्ने कुरा देखे जानेको भनी जाहेरवाली समेतले भन्न नसकेको, रुपैया वरामद हुन नसकेको अवस्थामा विना आधार शत्रुपक्षका मानिसहरुको लहैलहैमा लागि जाहेरवालाहरुको हामी उपर जाहेरी पर्दैमा हामीलाई कैद र जरिवाना समेत गर्ने गरी गरेको शुरु पाल्पा जिल्ला अदालतको फैसलाले हामीलाई अन्याय भएकोले सो फैसला वदर गरी उल्टाई अभियोग दावीवाट अलग फुर्सद पाउं भन्ने समेत रेनुका पौडेल र शंकर पौडेल समेतको प्रतिवादीहरुको पुनरावेदन पत्र ।
२७. यसमा पुनरावेदक प्रतिवादीहरुलाई हदै सम्म सजाय गर्ने गरेको सजाय चर्को पर्न जाने देखिएबाट शुरु पाल्पा जिल्ला अदालतको फैसला विचारणीय हुंदा अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७बमोजिम छलफलको निमित्त पुनरावेदन सरकारी वकिल कार्यालयलाई पेशीको सूचना दिई नियमानुसार गरी पेश गर्नु भन्ने समेत पुनरावेदन अदालत वुटवलबाट भएको मिति ०५८।८।१२ को आदेश ।
२८. जीउ मास्नेबेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ७ मा कुनै स्वास्नीमानिसलाई निजको अभिभावक वा नजीकको नातेदार वाहेक अन्य कसैले विदेश लैजान लागेकोमा वेचविखन गर्ने वेश्यावृत्तिमा लगाउने उद्देश्यले लगेको हो भन्ने कसैको उजुर परेमा त्यस्तो उद्देश्यले लगेको होइन भन्ने कुराको प्रमाण अभियुक्तले पुर्याउनु पर्ने छ भन्ने कानूनी व्यवस्था गरेको पाइन्छ । त्यस अनुसार प्रतिवादीहरुले पीडितहरुलाई विक्रि गर्न भारततर्फ लगी विक्री गर्ने कार्य नगरेको भए त्यसको प्रमाण प्रतिवादीहरुलेनै पुर्याउनु पर्नेमा प्रतिवादीहरुले आफ्नो भनाइलाई खम्वीर गराउन सक्ने कुनै तथ्ययुक्त आधार देखाउन सकेको समेत देखिन आउदैन । तसर्थ मिसिल सामेल रहेका संकलित सवुद प्रमाणको विवेचना र मुल्यांकन गरी निज पुनरावेदक प्रतिवादीहरु दुवैजनाले आरोपित कसूर गरेको ठहर्याई जीउ मास्नेबेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) अनुसार प्र. रेनुका पौडेल र खिमलाल भन्ने शंकर पौडेललाई जनही कैद वर्ष २० गर्ने गरेको र प्र. शंकर पौडेललाई ऐ ऐनको दफा ८ (५) अनुसार थप जरिवाना रु.३०,४००। समेत गर्ने गरेको शुरु पाल्पा जिल्ला अदालतको मिति ०५७।५।२८ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत वुटवलबाट मिति ०५८।११।१२ मा भएको फैसला ।
२९. म उपर लगाइएको आरोप वादी पक्षबाट शंकारहित तवरबाट प्रमाणित हुन सकेको छैन । मैले शुरु अदालतमा वयान गर्दा जाहेरवाली धन कुमारीलाई चिन्दछु संझनालाई चिन्दीन हामीले विक्री गरेको होइन भनी इन्कारी वयान गरेकी छु । मेरा साक्षीहरुले समेत जाहेरवालीहरुलाई विक्री गरेको कुरा थाहा भएन भनी वकपत्र गरि दिएका छन् । पीडित जाहेरवालीहरुलाई ललाई फकाई बम्बैमा लगी विक्रि गरेको भन्ने कुरा कुनैपनि ठोस प्रमाणद्वारा पुष्टिभएको छैन । यस्तो अवस्थामा मेरो इन्कारी तथा मेरो साक्षीहरुको वकपत्रलाई कुनै ध्यान नदिई सवुद प्रमाणको अभावमा जीउमास्नेबेच्ने जस्तो गंभीर फौजदारी अपराधमा अनुमानका भरमा २० वर्षको कैद सजाय तोकी शुरु पाल्पा जिल्ला अदालतवाट भएको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत वुटवलवाट भएको फैसला विलकुलै न्यायोचित नभएको र मलाई साह्रै अन्याय परेको हुंदा शुरु जिल्ला अदालत र पुनरावेदन अदालत वुटवलको फैसला समेत उल्टाई वदर गरी कसूरबाट सफाइ पाउं भन्ने समेत व्यहोराको प्रतिवादी रेनुका पौडेलले यस अदालतमा दायर गरेको पुनरावेदन पत्र ।
३०. विपक्षी वादी पक्षवाट पीडित जाहेरवालीलाई ललाई फकाई विदेश भारत वम्वैको पिलहाउस वेश्यालयमा विक्री गरेको कुरा देख्ने प्रत्यक्षदर्शी कोही नभएको, यो यति रकम लिनु दिनु गरी विक्रि गरेको हो भन्ने सवुद प्रमाण पनि वादी पक्षवाट दाखिला गर्न नसकेको तथा वेश्यालयमा विक्री गरेकोमा के कति दिन कति जनासंग यौनसम्पर्क भएको थियो भन्ने सम्वन्धमा योनी परीक्षण गरी विशेषज्ञको राय सहितको प्रमाण समेत वादी पक्षवाट गुजार्न सकेको अवस्था नहुंदा जीउ मास्नेबेच्ने जस्तो गंभीर अपराधमा अनुमानका भरमा दोषी ठहर्याई मलाई २० वर्ष कैद र रु.३०,४००। थप जरिवाना समेत हुने गरी भएको शुरु पाल्पा जिल्ला अदालतको फैसला र त्यसलाई सदरै कायम राखी भएको पुनरावेदन अदालत वुटवलको फैसला समेत न्यायोचित नभएको हुंदा वदर उल्टी गरी मलाई अभियोग दावी अनुसारको कसूर सजायँवाट अलग फुर्सद दिलाई न्याय पाउं भन्ने समेत व्यहोराको प्रतिवादी खिमलाल भन्ने शंकर पौडेलको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
३१. यसमा पुनरावेदक प्रतिवादी रेनुका पौडेलले जाहेरवालीलाई फकाई गोरखपुर सम्म गएको तथ्य मिसिलबाट देखिन आउँछ । निज अन्य प्रतिवादीहरु संग वम्वै गएको र जाहेरवालीलाई विक्रि गर्ने कार्यमा संलग्न रहेको नदेखिएको अवस्थामा निजलाई समेत मानिस विक्री गरेको ठहर्याई जीउ मास्नेबेच्ने कार्य ( नियन्त्रण) ऐन, २०४३ को दफा ८ (१)बमोजिम २० वर्ष कैद गर्ने गरेको शुरु पाल्पा जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत वुटवलको फैसला फरक पर्न सक्ने हुंदा छलफलका निमित्त अ.वं. २०२ नं.बमोजिम महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई फौ.पु.नं. ३०५५ समेत साथै नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासबाट मिति २०६०।८।२६ मा भएको आदेश ।
३२. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी खिमलाल भन्ने शंकर पौडेलकोतर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री लिलामणी पौडेलले प्रतिवादी शंकर पौडेल अदालतमा वयान गर्दा कसूरमा पूर्ण इन्कारी रहेका छन् । पीडित भनिएकी धन कुमारीले आफुलाई २०५४।११।१२ गते वेच्न लगिएकोमा सातौं दिन पछि फर्केर आएँ भनेर अधिकार प्राप्त अधिकारी समक्ष वयान गरेकी छन तर मौकैमा जाहेरी नदिई १ महिना पश्चातमात्र उनको जाहेरी परेको छ । त्यस्तै अर्का जाहेरवाली सम्झनाले आफुहरुलाई २०५४।११।१८।१९ गते तिर विक्री गर्न लागिएको र २०५५ साल पौषमा फर्केर आएको भनी वयान गरे पनि २०५५।११।९ गते लगभग २ महिना पछि मात्र निजको जाहेरी परेको अवस्था छ । निज जाहेरवालीहरुलाई वेच्न लगिएको मितिकै सम्वन्धमा २ जना पीडितहरुको भनाइ वीच एकरुपता पाइदैन । प्रतिवादीहरु शंकर पौडेल र रेनुका पौडेलले वारदात भएको भनिएको २०५४ साल फाल्गुण ११,१२, १३ र १४ गते आफुहरु आप्mनै घरमा रहेको भनेर अदालत समक्ष वयान गरेको अवस्था छ । पीडितहरुको जाहेरीमा मात्रै सिमीत भएर सजायँ गरिएको छ । जाहेरवाली धन कुमारीको जाहेरी दरखास्त र वकपत्रमा समेत कसले कति रकममा विक्री गरेको हो भन्ने कुरा खुलाउन सकेको पाइदैन । प्रहरीमा डर, धाक र धम्कीबाट गराइएको वयानमा आधारित भएर शंकाको भरमा जीउ मास्नेबेच्ने जस्तो गंभीर फौज्दारी अपराधमा सजायँ गर्न मिल्ने होइन । वादी पक्षबाट कसूरनै प्रमाणित गर्न नसकेको अवस्थामा केवल शंकाको भरमा कसूरदार ठहर्याएको शुरु पाल्पा जिल्ला अदालतको फैसला तथा त्यसलाई सदर गर्ने गरेको पुनरावेदन अदालत वुटवलको फैसला समेत उल्टी गरी प्रतिवादी शंकर पौडेललाई आरोपित कसूरबाट सफाइ होस् भन्ने बहस प्रस्तुत गर्नु भयो । अर्का पुनरावेदक प्रतिवादी रेनुका पौडेलकोतर्फवाट उपस्थित हुनु भएका विद्वान वैतनिक अधिवक्ता श्री मुकुन्दप्रसाद पौडेलले प्रतिवादी रेनुका पौडेल अदालतमा वयान गर्ने क्रममा कसूरमा पूर्णतः इन्कार रहेकी छन् । अधिकार प्राप्त अधिकारी समक्ष गरेको निजको साविति भनिएको वयानवाट समेत निज अन्य प्रतिवादीहरु संग गोरखपुरसम्म मात्र गएको त्यहाँबाट घर फर्केको भन्ने देखिन्छ । वम्वै पुगेर जाहेरवालीहरुलाई वेचविखन गर्ने कार्यमा निजको संलग्नता भएको कुरा मिसिल संलग्न कुनैपनि प्रमाण कागजबाट स्थापित भएको छैन । जाहेरवालीहरुको जाहेरी दरखास्त र वकपत्रलाईनै मान्दा पनि प्रतिवादी रेनुका पौडेलको संलग्नता प्रस्तुत वारदातमा जाहेरवालीहरुलाई वेचविखन गर्न लैजान परिपन्च मिलाउने र अन्य प्रतिवादीहरुलाई सो कार्यमा सहयोग पुर्याउने सम्म मात्र सीमित हुंदा जीउ मास्नेबेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(घ) अन्तर्गतको कसूरमा ऐ. ऐनको दफा ८(४) बमोजिम सजायँ हुनुपर्ने हो । पीडितहरुको वेचविखन गर्ने कार्यमा संलग्ननै नभएको निज प्रतिवादी रेनुका पौडेललाई अभियोगपत्र माग दावीबमोजिमको जीउ मास्नेबेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४ (क) को कसूरमा सोही ऐनको दफा ८ (१)बमोजिम २० वर्ष कैदको सजाय गर्ने गरेको पुनरावेदन अदालत वुटवलको इन्साफ नमिलेको हुंदा उल्टी हुनु पर्दछ भन्ने वहस प्रस्तुत गर्नुभयो ।
३३. त्यसै गरी झिकाइएका प्रत्यर्थी वादी श्री ५ को सरकारकोतर्फबाट उपस्थित हुनु भएका महान्यायाधिवक्ताको कार्यालयका विद्वान उप–न्यायाधिवक्ता श्री महेन्द्रवहादुर कार्कीले प्रतिवादीहरु शंकर पौडेल र रेनुका पौडेल दुबै जना अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्ने क्रममा कसूरमा पूर्णरुपमा सावित छन् । पीडित जाहेरवालीहरु धन कुमारी र संझना दुवैले जाहेरी दरखास्तमा तथा अदालतमा उपस्थित भई वकपत्र गर्दा समेत प्रतिवादीहरु रेनुका र शंकर दुवै श्रीमान श्रीमतीले हामीलाई भारत बम्बैमा लगेर बेचेका हुन भनि किटानी साथ पोल गरेको अवस्था छ । प्रतिवादीहरुले जीउ मास्नेबेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ७ बमोजिम आफुहरु निर्दोष रहेको कुरा प्रमाणित गराउन सकेका छैनन् । तसर्थ जाहेरवाली धन कुमारी र संझनालाई यि प्रतिवादीहरु समेतको सक्रीय संलग्नतामा भारतको वम्बै लगी वेश्यालयमा वेचविखन गरेको कुरा प्रमाणित गर्ने पर्याप्त सवुद प्रमाणहरुको विद्यमानता भई अभियोगपत्र दावी बमोजिम कसूरदार ठहर्याई दुवै प्रतिवादीहरुलाई सजायँ गर्ने गरेको शुरु पाल्पा जिल्ला अदालतबाट भएको फैसला तथा त्यसलाई सदर गरेको पुनरावेदन अदालत बुटवलको फैसला समेत न्यायोचित र कानूनसंगत हुंदा सदर हुनुपर्छ भनी वहस प्रस्तुत गर्नु भयो ।
३४. विद्वान कानून व्यवसायीहरुले प्रस्तुत गर्नु भएको उपर्युक्त वहस जिकिरलाई मनन गरी दुवै पुनरावेदक प्रतिवादीहरुकोतर्फबाट पर्न आएको पुनरावेदन पत्रहरु सहितका मिसिल संलग्न सम्पूर्ण कागजातको अध्ययन समेत गरी हेर्दा प्रस्तुत मुद्दामा मूलतः प्रतिवादी शंकर पौडेल र रेनुका पौडेललाई अभियोगपत्र माग दावी बमोजिम जीउ मास्नेबेच्ने कसूर अपराधमा जीउ मास्नेबेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८ (१)बमोजिम २० वर्ष कैद र प्रतिवादी शंकर पौडेललाई थप रु ३०,४००। जरिवाना समेत गर्ने गरी भएको शुरु पाल्पा जिल्ला अदालतको फैसलालाई सदर गरी पुनरावेदन अदालत वुटवलबाट मिति २०५८।११।१२ मा भएको फैसला मिले नमिलेको के रहेछ हेरी निर्णय दिनुपर्ने देखिन आयो ।
३५. निर्णयतर्फ विचार गर्दा जाहेरवाली धन कुमारी चौधरी र सम्झना कुमाललाई वेश्यावृत्तिमा लगाउने उद्देश्यले आर्थिक लालचको कारण भारतको वम्वै पिलहाउस वेश्यालयमा लगि भा.रु.१९०००। मा वेची प्रतिवादी रेणुका पौडेल खिमलाल भन्ने शंकर पौडेल समेतले जीउ मास्नेवेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ३ ले निषेधित कार्य गरी सोही ऐनको दफा ४ (क) अन्तर्गतको कसूर अपराध गरेको देखिंदा उक्त ऐनको दफा ८ (१) अनुसार सजाय गरिपाउं भन्ने मुख्य अभियोग पत्र मागदावी भएकोमा प्रतिवादीहरु शंकर पौडेल र रेनुका पौडेललाई अभियोगपत्र मागदावी बमोजिम जीउ मास्नेबेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) अनुसार जनही वीस बर्ष कैदको सजाय हुने र विक्रि गर्ने कार्यमा मुख्य व्यक्ति भएकोले प्रतिवादी शंकर पौडेललाई सोही ऐनको दफा ८(५) बमोजिम थप रु.३०,४००। जरिवाना समेत हुने ठहर गरी शुरु पाल्पा जिल्ला अदालतवाट मिति २०५७।५।२८ मा फैसला भएको पाइन्छ । उक्त फैसला उपर प्रतिवादीहरुकोतर्फवाट पुनरावेदन अदालत वुटवलमा पुनरावेदन परेकोमा शुरु इन्साफलाईनै सदर गर्ने गरी पुनरावेदन अदालत वुटवलवाट मिति २०५८।११।१२ मा फैसला भए उपर प्रतिवादी खिमलाल भन्ने शंकर पौडेल र रेनुका पौडेलको यस अदालतमा छुट्टाछुट्टै पुनरावेदन पर्न आएको देखिन्छ ।
३६. सर्वप्रथम आरोपित कसूरबाट सफाइ पाउनु पर्छ भनि प्रतिवादी रेनुका पौडेलले लिएको पुनरावेदन जिकिरको सम्वन्धमा विचार गर्दा पुनरावेदक प्रतिवादी रेणुका पौडेलले शुरु जिल्ला अदालतमा वयान गर्दा आरोपित कसूरमा इन्कार रहेको र आफू तथा आफ्ना श्रीमान प्र. खिमलाल भन्ने शंकर पौडेल दुवै जना फागुन ११, १२, १३ गते घरैमा थियौ भनेतापनि अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयानमा धन कुमारी र सम्झनालाई फकाई मेरो श्रीमान शंकर पौडेल संग धन कुमारीलाई र रामनारायण संग सम्झनालाई विवाह गर्ने, बम्बै जाने भनी म समेतले लिई गएका हौ भनी स्वीकार गरेको देखिन्छ । पीडितहरुलाई विक्रि गर्नको लागि गोरखपुर सम्म पुर्याई गोरखपुरबाट अन्य अभियुक्तहरुले पीडितहरुलाई वम्बै लगेको र आफु गोरखपुरबाटै फर्केको भनी उक्त बयानमा उल्लेख गरेको रहिछन । यसरी अधिकार प्राप्त अधिकारी समक्ष दिएको बयानमा पुनरावेदक प्रतिवादी रेणुका पौडेल गोरखपुरबाट फर्केको भनेता पनि पीडित दुवै जना धन कुमारी र सम्झनाले मौकामा जिल्ला अदालतवाट प्रमाणित भएको वयानमा र साक्षीको रुपमा अदालतले वकपत्र गराउँदा समेत आफूहरुसंग रेणुका पनि वम्वै सम्मै गएकी भनी लेखाएको देखिन्छ । पीडित दुवैले आफुहरुलाई संयुक्त मिलेमतोमा वम्वैको पीलहाउस वेश्यालयमा लगी विक्रि गर्ने अपराधीहरु शंकर पौडेल, रेणुका पौडेल र राम नारायण शर्मा भनी किटानी साथ जाहेरी दर्खास्तमा उल्लेख गरेको र जिल्ला अदालतमा गरेको वकपत्रमा पुष्टि गरेको पाइन्छ ।
३७. जीउ मास्नेबेच्ने कार्य (नियन्त्रण) ऐन, ०४३ अनुसार पीडित व्यक्तिहरुद्वारा ऐ. को दफा ६ (२)बमोजिम अदालतद्वारा प्रमाणित भएको वयानमा लेखिएको कुरा झुठो हो भन्ने अभियुक्तहरुलेनै प्रमाण पुर्याउनु पर्ने कानूनी व्यवस्था भएको र अभियुक्त रेणुका पौडेलले आफ्नो भनाइलाई प्रमाणित गर्ने कुनै तथ्ययुक्त आधार देखाउन नसकेको स्थितिमा यस अदालतको संयुक्त इजलासबाट भएको ०६०।८।२६ को झ.जि. आदेशमा उल्लेख गरिएको प्रतिवादी रेणुका पौडेलले जाहेरवालीलाई फकाई गोरखपुर सम्म मात्र लिई गएको तर अन्य प्रतिवादीहरुसंग वम्वै गएको तथा जाहेरवालीलाई विक्रि गर्ने कार्यमा संलग्न रहेको नदेखिएको भन्ने विचारसित सहमत हुन सकिएन ।
३८. पीडित दुवैले आफूहरुलाई विक्री गर्ने अभियुक्तहरुमा रेणुका पौडेलको नाम पनि जाहेरी दर्खास्तमा उल्लेख गरेको र त्यस कुरालाई जिल्ला अदालतमा गरेको वकपत्रमा पुष्टि गरेको देखिन्छ । जाहेरवाली धन कुमारी र सम्झनालाई चिन्दिन भनी प्र. रेणुकाले अदालतमा वयान गरेको देखिन्छ, तर रेणुका पौडेल समेतले पीडितहरुलाई पाल्पाबाट भैरहवातर्फ लगेको मौकैमा देखेको भनी हेमा कुमाल र नीम कुमारी चौधरीले अदालतमा गरेको वकपत्रले पीडितहरुद्वारा रेणुका पौडेल माथि लगाएको आरोपलाई समर्थित गरेको देखिन्छ । पीडितहरुलाई बम्वैमा लगी विक्रि गरेको र केही समय पछि बिभिन्न मितिमा उनीहरु भागेर आएको कुरामा विवाद छैन । पीडितहरुकै भनाइ विश्वासनीय हुने हुनाले प्रमाणका लागि वढी गाह्रो हुन्छ । जीउ मास्नेबेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ७ मा गरिएको व्यवस्था अनुसार कुनै स्वास्नीमानिसलाई कसैले विदेश लैजान लागेकोमा वेचविखन गर्ने वा वेश्यावृत्तिमा लगाउने उद्देश्यले लगेको हो भन्ने उजूर परेमा सो कुराको प्रमाण वादीले पुर्याउन नपर्ने सो उद्देश्यले लगेको होइन भनी प्रतिवादीले प्रमाणित गर्नु पर्दछ । पुनरावेदक प्रतिवादी रेणुका पौडेल घरैमा थिए भन्ने सामान्य भनाइ वाहेक वारदातमा संलग्न थिइनन् भन्ने तथ्ययुक्त प्रमाण देखाई नीजले आफू माथि लगाइएको अभियोगको खण्डन गर्न सकेको देखिदैन । यसप्रकार पुनरावेदक प्रतिवादी रेणुका पौडेललाई अभियोगबाट मुक्त गर्ने स्थिति नदेखिनाले अभियोगमा आरोपित कसूरबाट सफाइ पाउनु पर्छ भनि निजले लिएको पुनरावेदन जिकिरसंग सहमत हुन सकिएन ।
३९. अव अर्का प्रतिवादी खिमलाल भन्ने शंकर पौडेलको पुनरावेदन जिकिरको सम्वन्धमा दृष्टिगत गर्दा पुनरावेदक प्रतिवादी खिमलाल भन्ने शंखर पौडेल शुरु जिल्ला अदालतमा वयान गर्दा आरोपित कसूरमा इन्कार रहेको र आफु तथा आफ्नी श्रीमती रेणुका पौडेल दुवै जना फागुन ११, १२, १३ गते घरमा थियौ भनेतापनि अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयानमा अपराधलाई पूर्ण रुपले स्वीकार गरेको देखिन्छ । पीडितहरु धन कुमारी र सम्झना दुवै जनालाई वम्वै वेश्यालयमा विक्रि गरेको र पछि विभिन्न मितिमा उम्की भागी आएको कुरामा विवाद देखिएन । पीडितहरुलाई वम्वै लगी विक्री गर्ने अपराधीहरु को हुन भन्ने कुराको बारेमा पीडितहरुकै भनाइ विश्वासनीय हुने हुनाले प्रमाणको लागि वढी ग्राह्य हुन्छ । पीडित दुवैले आफूहरुलाई संयुक्त मिलेमतोमा वम्वैको पीलहाउसमा विक्रि गर्ने अपराधीहरु शंकर पौडेल, रेणुका पौडेल र राम नारायण शर्मा हुन भनी किटानी साथ जाहेरी दर्खास्तमा उल्लेख गरेको र जिल्ला अदालतमा गरेको वकपत्रमा पुष्टि गरेको पाइन्छ । यसको अतिरिक्त पीडितहरुलाई प्रतिवादी शंकर पौडेल समेतले पाल्पावाट भैरहवातर्फ लगेको कुरालाई मौकैमा देख्ने हेमा कुमाल र नीम कुमारी चौधरीले अदालतमा गरेको वकपत्रले पीडितहरुले प्रतिवादीहरु माथि लगाएको आरोपलाई समर्थित गरेको देखिन्छ ।
४०. जीउ मास्नेबेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ७ मा उल्लेखित कानूनी प्रावधानले अभियोग झुठा भन्ने प्रमाण पुर्याउने भार अभियुक्तमा रहने व्यवस्था गरेको छ । यसप्रकार कुनै स्वास्नीमानिसलाई कसैले विदेश लैजान लागेकोमा वेचविखन गर्ने वा वेश्यावृत्तिमा लगाउने उद्देश्यले लगेको होइन भनी प्रतिवादीले प्रमाणित गर्नुपर्ने हुन आउंछ । पीडित व्यक्तिद्वारा ऐनको दफा ६(२) बमोजिम अदालतद्वारा प्रमाणित भएको वयानमा लेखिएको कुरा झुठा हो भन्ने प्रमाण अभियुक्त आफैले पुर्याउनु पर्ने कानूनी व्यवस्था भएको स्थितिमा यस मुद्दामा अभियुक्त प्रतिवादी शंकर पौडेलले आफ्नो भनाइलाई प्रमाणित गर्न कुनै तथ्ययुक्त आधार देखाउन सकेको समेत देखिदैन । बरु उल्टो प्रतिवादी शंकर पौडेलले आफू भारत गएकै होइन, घरैमा रहेको भनी जिल्ला अदालतमा वयान दिने यस अदालतमा दिएको पुनरावेदनमा “विदेश लादैमा विक्री गर्न लगेको भन्ने कुरा हुदैन” भन्ने नजीरको सहरा लिन पुगी पीडितहरुलाई विदेश लगेको अप्रत्यक्षरुपले स्वीकार गर्ने जस्ता परस्पर विपरीत कुराहरु गरेको देखिन आउछ । प्रतिवादी घरैमा थिए भन्ने सामान्य भनाइ बाहेक प्रतिवादी शंकर पौडेल वारदातमा संलग्न थिएनन् भन्ने तथ्ययुक्त प्रमाण देखाई अभियोगको खण्डन गर्न सकेको देखिन आएन। यसबाट निज प्रतिवादी खिमलाल भन्ने शंकर पौडेललाई अभियोग दावीबमोजिमको कसूरबाट मुक्त गर्न सकिने अवस्था र स्थिति विद्यमान भएको नदेखिंदा सफाइ पाउनु पर्छ भन्ने निजको पुनरावेदन जिकिरसंग समेत सहमत हुन सकिएन ।
४१. तसर्थ माथि विवेचित आधार प्रमाणबाट प्रतिवादी रेणुका पौडेल र खिमलाल भन्ने शंकर पौडेललाई जीउ मास्नेवेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८ (१) अन्तर्गत जनही २० वर्ष कैद सजाय हुने र प्रतिवादी खिमलाल भन्ने शंकर पौडेल विक्री गर्नेमा मुख्य व्यक्ति देखिन आएकोले निजलाई जीउ मास्नेबेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(५) बमोजिम थप रु ३०,४००। जरिवाना समेत हुने ठहर्याएको शुरु पाल्पा जिल्ला अदालतको निर्णयलाई सदर गर्ने गरेको पुनरावेदन अदालत वुटवलको मिति २०५८।११।१२ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.केदारप्रसाद गिरी
इजलास अधिकृतः टेकप्रसाद ढुङ्गाना
इति संवत् २०६१ साल आश्विन १५ गते रोज ६ शुभम........................