निर्णय नं. ३३३७ - उत्प्रेषण
निर्णय नं. ३३३७ ने.का.प. २०४५ अङ्क १
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४३ सालको रि.नं. १८६९
आदेश भएको मिति : २०४४।११।१९ मा
निवेदक : जिल्ला संखुवासभा गा.पं. चनपुर वार्ड नं. २ बस्ने गणेशप्रसाद श्रेष्ठ
विरुद्ध
विपक्षी : ऐ. ऐ. यावादीन गा.पं. वार्ड नं. ६ बस्ने बुद्धिबहादुर लिम्बुसमेत
विषय : उत्प्रेषण
(१) निवेदकले चलाएको जालसाजी मुद्दाबाट हकदार कायम भई अदालतको निर्णय अन्तिम भइरहेको र सो निर्णय निवेदकले बदर गराउन सकेको नभएपछि सोही अदालतको फैसला बमोजिम प्रमुख जिल्ला अधिकारीले गरेको निर्णयमा कुनै कानुनी त्रुटी नदेखिँदा रिट निवेदन खारेज हुने ।
(प्रकरण नं. ७)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु सिग्द्याल
विपक्षीतर्फबाट : विद्वान का.मु. सह–न्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ
आदेश
न्या.गजेन्द्रकेशरी बास्तोला : संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा दर्ता हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य जिकिर एवं निर्णय यसप्रकार छ :
२.यावादिन गा.पं. वार्ड नं. ६ मा पर्ने बाजे मंगल सिंहबाट १९९०।१।२२ मा भोगबन्धकी पास गरिदिएको जग्गाको ४ किल्ला भित्रको ६ कित्ता जग्गा अपुतालीबाट हक भएको हुँदा भोगबन्धकी ऋण रकम निश्चित गरिपाउँ भनी बुद्धीबहादुरले जि.का.मा निवेदन दिएको र मैले ऋण निश्चित गर्नु पर्ने होइन भनी बयान गरेकोमा विपक्षी कार्यालयले ०४३।५।३० मा ऋण निश्चित गर्ने फैसला भयो । ऋण निश्चित गर्दा निर्विवाद हक स्वामित्व हुनुपर्छ त्यस्तो हकाधिकार विपक्षी बुद्धिबहादुरको छैन तेरो मेरोको विवाद उत्पन्न भएपछि अदालतबाट ठहर भएपछि मात्र गर्न मिल्ने हुँदा उक्त फैसला अ.बं. ३५ नं. ले बदरभागी छ । उपरोक्त जग्गा पिता चन्द्रबहादुरले मंगल सिंहबाट भोगबन्धकी लिनु भएको र मंगल सिंहका छोरा विदेश गएको हुँदा विपक्षीको हक नपुग्ने जग्गामा ऋण निश्चित गर्न अ.बं. ८२ नं. ले हकदैया नै पुग्दैन । साथै अपुताली परेको छैन भनेपछि अपुताली हक प्राप्त हुने नहुने कुराको ठहर जिल्ला अदालतबाट भएपछि मात्र ऋण निश्चित हुने नहुने कुराको ठहर गर्नु पर्ने सो नभएको हुँदा बदरभागी हुनुको साथै विपक्षी बुद्धिबहादुरले पेश गरेको बण्डापत्र भनेको लिखित रजिष्ट्रेशन भएको नहुँदा प्रमाण योग्य नहुने र सो लिखत मलाई सुनाउनु पर्ने सो केही पनि गरिएको छैन । तसर्थ मेरो संवैधानिक हकाधिकारमा असर पारेकाले संविधानको धारा १६ बमोजिम धारा ७१ अनुसार उत्प्रेषणको आदेश जारी गरी विपक्षी कार्यालयको फैसला बदर गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन रहेछ ।
३.यस अदालतको मिति ०४३।७।२०।५ का आदेशानुसार प्राप्त हुनआएको लिखितजवाफ निम्नानुसार रहेछ ।
४.संखुवासभा जिल्ला अदालतबाट मंगल सिंह मरी अपुताली परी निजको नजिकको हकदार लालबहादुर तथा बुद्धिबहादुर भएबाट बुद्धिबहादुरको भाग अंश पाइए निजले भोगबन्धकी ऋण निश्चित गराएको हो । भन्ने समेतको व्यहोरा उल्लेख भई सरजमीन भएको कुरालाई जालसाजी भन्न नमिल्ने भनी गरेको इन्साफलाई अञ्चल अदालतबाट समेत सदर फैसला भएको निजको हक स्वामित्व भएकोले अ.बं. ८२ नं. को प्रतिकूल नहुनुको साथै सरजमीनबाटै उब्जा आयस्ता यकीन हुने जग्गा कमोद कसले गरेको छ भन्ने कुरा पनि प्रष्ट हुने भएकाले सरजमीन गर्नु परेकोबाट पनि न्यायोचित देखिन्छ । बुद्धिबहादुरले पेश गरेको बण्डापत्रको कागजलाई अदालतबाट नै प्रमाण लगाइसकेको र सो कुरालाई पछि जिल्ला कार्यालयले आधार लिएको हुनाले बदर छ हुनु पर्ने होइन भन्ने समेत व्यहोराको प्र.जि.अ. जिल्ला कार्यालय संखुवासभाको लिखितजवाफ रहेछ ।
५.जिल्ला अदालतमा यिनै गणेशप्रसादबाट सरजमीन उपर उजूर परी निर्णय भएको र सो निर्णय अञ्चल अदालतबाट समेत सदर भएकोले र त्यसबाट मेरो हकाधिकार समेत देखिने हुँदा विपक्षीको रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको बुद्धिबहादुरको लिखितजवाफ रहेछ ।
६.नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत विषयमा निवेदक तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री शम्भु सिग्द्यालले र विपक्षीको तर्फबाट खटिई उपस्थित विद्वान का.मु. सह–न्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले गर्नु भएको बहस जिकिर समेत सुनी सम्पूर्ण फायल अध्ययन गरी विचार गर्दा निवेदकका माग बमोजिमको आदेश जारी गर्नु पर्ने हो वा होइन सो सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।
७.यसमा निवेदकले विवादको ०३२।१०।१८ को सरजमीन मुचुल्का उपर जालसाजी मुद्दा संखुवासभा जिल्ला अदालतमा चलाई सो मुद्दाबाट मंगल सिंहको छोरा मरी अपुताली परेको हो होइन भन्ने सम्बन्धमा गाउँ सरजमीन बुझ्न खटीई गएको डोरले मंगल सिंहका सन्तान सबै मरी अपुताली परी नजिकको हकदार लालबहादुर र बुद्धिबहादुर भएकोबाट, लालबहादुरबाट बुद्धिबहादुरले अंश भाग पाई निजले भोगबन्धकी ऋण निश्चित गराएको हो भनी सरजमीनले लेखाई दिएकोले सरजमीन जालसाजी नठहर्ने भनी फैसला भई त्यस उपर परेको पुनरावेदनमा कोशी अञ्चल अदालतबाट सोही इन्साफ सदर भएको भन्ने देखिन्छ र सो इन्साफ अन्तिम भइसकेको कुरा पनि विवादरहित देखिन आएको छ । यसरी निवेदकले चलाएको जालसाजी मुद्दाबाट हकदार कायम भई अदालतको निर्णय अन्तिम भइरहेको र सो निर्णय निवेदकले बदर गराउन सकेको नभएपछि सोही अदालतको फैसला बमोजिम संखुवासभा जिल्लाका प्रमुख जिल्ला अधिकारीले गरेको मिति ०४३।५।३० को निर्णयमा कुनै कानुनी त्रुटी नदेखिँदा रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायसंग म सहमत छु ।
न्या.हरगोविन्द सिंह प्रधान
इति सम्वत् २०४४ साल फागुण १९ गते रोज शुभम् ।