शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३३३८ - उत्प्रेषणयुक्त परमादेश वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

भाग: ३० साल: २०४५ महिना: बैशाख अंक:

निर्णय नं. ३३३८                 ने.का.प. २०४५     अङ्क १

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४४ सालको रिट नं. १३३४

आदेश भएको मिति : २०४४।१२।७।१ मा

 

निवेदक :      जि.जुम्ला चन्दननाथ गा.पं. बस्ने सत्तल सिंह कठायत

विरुद्ध

विपक्षी  :      श्री ५ को सरकार सामान्य प्रशासन मन्त्रालय, निजामती किताबखाना हरिहर भवन, पुल्चोक

 

विषय : उत्प्रेषणयुक्त परमादेश वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 

(१)                  सिटरोल भर्दा उमेर २४ वर्ष भन्ने उल्लेख गरेको र सोही सिटरोल फाराम अनुसार नै निजामती किताबखानाले निवेदकको उमेर यकीन गरी मिति २०४४।७।२६ देखि अनिवार्य अवकाश पाउने भनी सूचना दिएको त्रुटिपूर्ण मान्न नमिल्ने ।

(प्रकरण नं.  १२)

 

निवेदकतर्फबाट   :      विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल

प्रत्यर्थीतर्फबाट   :      विद्वान मुख्यन्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा

उल्लिखित मुद्दा  :      सर्वोच्च अदालत पूर्ण इजालसबाट नि.नं. २८०८ सम्वत् २०४२ सालको रिट फु.नं. २१ मा मिति २०४३८१० मा सिद्धान्त प्रतिपादित

 

आदेश

न्या.हरगोविन्द सिंह प्रधान : नेपालको संविधान २०१९ को धारा १६।७१ अन्तर्गत परी निर्णयार्थ पेश भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ ।

२.निजामती किताबखानाले च.नं. ५६३१ मिति २०४३।९।३० को मालापेत कार्यालय कालिकोटलाई दिएको सूचनामा यस कार्यालयको अभिलेखबाट त्यस कार्यालयका ना.सु. श्री सत्तलसिंह कठायतको उमेर २०४४।७।२५ मा ६० वर्ष पुरा हुने देखिएकोले २०४४।७।२६ देखि अनिवार्य अवकाश दिई यस कार्यालयलाई सूचना दिन अनुरोध गरिन्छ भनी सूचना आएको जानकारी प्राप्त भयो । तत्पश्चात २०३६ सालमा भरेको १३ पाने सिटरोलमा उमेर खुलेको छ जन्म कुण्डली समेतका आधारमा उमेर संशोधन गरिपाउँ भन्ने समेत व्यहोराको मेरो निजामती किताबखानामा निवेदन परेको थियो ।

३.निजामती किताबखानाको २०४४।१।२४ को च.नं. १०६१६ को कालिकोट माल कार्यालयलाई लेखी मलाई बोधार्थ दिइएको उमेर संशोधन बारेको पत्रबाट उमेर संशोधनको लागि नोकरीमा प्रवेश हुनु अघिको निजामती प्रथमा मध्येमा हालको एस.एल.सी.जस्ता शैक्षिक योग्यताका प्रमाणपत्रहरूको आधारमा मात्र उमेर संशोधन गर्न मिल्ने र भाषा पाठशाला नि.मा.वि. को स्तरको शैक्षिक स्तरका शैक्षिक योग्यताका प्रमाणपत्रहरू जन्म कुण्डलीको आधारमा उमेर संशोधन गर्न नमिल्ने भएकोले संशोधन गर्न नमिलेको भन्ने जानकारी प्राप्त भयो । अनिवार्य अवकाश पाउने साल २०५०।१०।१८ हुन्छ ।

४.२०३६ सालमा भरिएको सिटरोलमा समेत मेरो जन्म मिति १९८९।१०।१९ भन्ने देखिन्छ शैक्षिक संस्थाको सर्टिफिकेट, स्थायी सिटरोललाई मान्यता दिनु पर्ने कुरा ने.का.प. २०४३ फु.वे.नि.नं. २८०८ मा प्रतिपादित सिद्धान्तबाट समेत अवकाश पाउने उमेरको हिसाब सिटरोलमा उल्लिखित उमेरबाट कायम गर्नु पर्नेमा शैक्षिक संस्थाको प्रमाणपत्रलाई समेत मान्यता नदिई अस्थायी नोकरी गर्दा देखाएको उमेरको गणना गरिएको स्पष्ट रुपमा त्रुटिपूर्ण रहेबाट बदरभागी छ ।

५.अतः अनिवार्य अवकाश हुने भनी माल कार्यालय कालिकोटलाई दिएको सूचना तथा मैले शैक्षिक संस्थाबाट हासिल गरेको प्रमाणपत्रमा उल्लिखित शैक्षिक प्रमाणपत्रको आधारमा उमेर संशोधन गर्न नमिल्ने भनिएको समेत उत्प्रेषणको आदेशद्वारा बदर गरी स्थायी सिटरोल तथा शैक्षिक योग्यताको प्रमाणपत्रको आधारमा अनिवार्य अवकाश पाउने उमेरको गणना गर्नु भनी परमादेश वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर ।

६.यसमा विपक्षीबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियमबमोजिम पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासको मिति २०४४।४।२१ को आदेश ।

७.नि.से.नि. ७.१ को दफा २(क) मा निजामती कर्मचारीको उमेर नोकरीमा प्रवेश गरेको बेलामा निजले पेश गरेको शैक्षिक संस्थाको प्रमाणपत्रमा किटिएको जन्मदिन वा वर्षबाट हुनआएको उमेर अनुसार हुने उल्लेख भएको देखिन्छ । निवेदकले नोकरीमा प्रवेश गर्दा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको देखिँदैन र सिटरोलमा उल्लेख गरेको उमेरलाई नै मुख्य रुपमा मान्यता दिइने हुँदा नयाँ सिटरोलमा भरेकोलाई मान्यता नदिने गरिआएको व्यहोरा श्री ५ को सरकारको मिति २०३८।३।३१ को निर्णय अनुसार देखिन्छ । यसर्थ निवेदकको उमेर संशोधन गर्ने पर्याप्त आधार नभएको  हुँदा निजलाई मिति २०४४।७।२६ देखि नै अनिवार्य अवकाश दिनु पर्ने व्यहोरा अनुरोध छ भन्ने समेत व्यहोराको प्रत्यर्थी निजामती किताबखानाको लिखितजवाफ ।

८.रिट निवेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल तथा प्रत्यर्थी निजामती किताबखानाका तर्फबाट उपस्थित विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्माको बहस समेत सुनी रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्नुपर्ने हो वा होइन सो कुराको निर्णय दिनु पर्ने हुन आयो ।

९.यसमा निर्णयतर्फ विचार गर्दा प्रत्यर्थी निजामती किताबखानाले निवेदक मिति २०४४।७।२५ मा ६० वर्ष उमेर पूरा गर्ने हुँदा ऐ. २६ गते देखि अनिवार्य अवकाश पाउने भन्ने व्यहोराको जानकारी सूचना पठाएको रहेछ । निवेदकले जन्म कुण्डली समेतका आधारमा उमेर संशोधन गरिपाउँ भन्ने निवेदन प्रत्यर्थी किताबखानामा दिंदा सो बमोजिम संशोधन गर्न नमिल्ने सूचना गरेको देखियो । २०३६ सालमा भरिएको सिटरोल फाराममा खुलेको जन्म मिति अनुसार निवेदकले २०५०।१०।१८ मा मात्र अनिवार्य अवकाश प्राप्त गर्नेमा हाल उमेर संशोधन समेत गर्न नमिल्ने भनी अवकाश दिने गरेको विपक्षी निजामती किताबखानाको निर्णय समेत बदर गरिपाउँ भन्ने समेत व्यहोराको मुख्य रिट निवेदन जिकिर रहेको पाइन्छ ।

१०.निवेदकले २००८ साल कार्तिक २६ गतेमा जुम्ला मालको नगदी तहविलदार पदमा भर्ना भएको र उक्त समयमा सिटरोल भर्दा उमेरको महलमा २४ वर्ष उल्लेख गरी प्रमाणित गरे अनुसार नै मिति २०४४।७।२५ मा ६० वर्ष पुग्ने हुँदा जानकारी गराइएको भन्ने प्रत्यर्थीको लिखितजवाफ रहेको देखियो । यस अनुसार निवेदकले शुरुमा सिटरोल भरे अनुरुप निजको उमेर ६० वर्ष पुगेको तर संशोधन गरिपाउँ भन्ने निवेदनसाथ देखाइएको जन्म कुण्डली आदिका आधारमा निवेदकको उमेर हाल ६० वर्ष नपुग्ने भन्ने जिकिर लिएको देखियो ।

११.निवेदकले अवकाश प्राप्त गर्ने सूचना प्राप्त गरेपछि उमेर सच्याउन निवेदन दिएको भए तापनि नोकरीमा प्रवेश गर्दा भरिएको सिटरोल बमोजिम निजले अनिवार्य अवकाश प्राप्त गर्ने उमेर सूचना बमोजिम नै २०४४ सालमा हुने देखिन्छ । अब सच्याउन दिएको प्रमाणपत्रको आधारमा उमेर संशोधन हुने हो वा होइन भन्ने सम्बन्धमा हेर्दा अनिवार्य अवकाश पाउने उमेरको हिसाब निजलाई नै भरेको सिटरोलमा उल्लिखित उमेरबाट कायम गर्नु पर्ने हुन आउँछ भन्ने सिद्धान्त यस अदालत पूर्णइजलासबाट नि.नं. २८०८ सम्वत् २०४२ सालको रिट फु.नं. २१ मा मिति २०४३।८।१० मा प्रतिपादन भएको पाइन्छ ।

१२.उपरोक्त बमोजिम निवेदकले २००८ सालमा सिटरोल भर्दा उमेर २४ वर्ष भन्ने उल्लेख गरेको र सोही सिटरोल फाराम अनुसार नै निजामती किताबखानाले निवेदकको उमेर यकीन गरी मिति २०४४।७।२६ देखि अनिवार्य अवकाश पाउने भनी सूचना दिएको त्रुटिपूर्ण मान्न मिलेन । रिट निवेदकको जिकिर बमोजिमको आदेश जारी गर्नुपर्ने अवस्था नहुँदा रिट निवेदन खारेज हुने ठहर्छ । फायल नियमबमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.रुद्रबहादुर सिंह

 

इति सम्वत् २०४४ साल चैत्र ७ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु