शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७४४० - उत्प्रेषण समेत ।

भाग: ४६ साल: २०६१ महिना: पौस अंक:

निर्णय नं.७४४०     ने.का.प.२०६१ अङ्क ९

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री राम नगिना सिंह

माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ

संवत २०५९ सालको रिट नम्वर ३६७४

आदेश मितिः २०६१।८।१।३

 

विषयःउत्प्रेषण समेत ।

 

      निवेदकः जिल्ला सप्तरी इनरुवा गा.बि.स. वडा नं.९ बस्ने राजकुमार भगत

विरुद्ध

      विपक्षीः पुनरावेदन अदालत राजविराज सप्तरी समेत

 

§  अ.बं.१७ नं.को मनसाय हेर्दा एक पटक आदेश भै कारवाही टुंगी सकेपछि पुनः मुद्दामा बेरीत भएको भन्दै परेको अ.बं.१७ नं.अन्तर्गतको निवेदनबाट कारवाही गर्न नमिल्ने ।

§  प्रस्तुत मुद्दामा समेत नावालक रामबाबु आँफैले दा.खा.को पुर्जि नलिने गरी मुद्दा तामेली गराइ पाउँ भनी निवेदन दिएको र उक्त निवेदनमा निजको आमा मीना देवी संरक्षक बसेको, उक्त निवेदनमा कारवाही हुँदा वादीले पुर्जि लिन नपाउने गरी तामेली गरी दिएको भन्ने शुरु सप्तरी जिल्ला अदालतबाट आदेश भएको देखिएको सो आदेश बदर नभई कायमै रहेको यस्तो अवस्थामा अ.बं.८३ नं.आकर्षित हुन नसक्ने ।

 

निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री सुरेन्द्रकुमार खड्का

विपक्षी तर्फवाटः

अवलम्वित नजिरः ने.का.प. २०५६, अंक ३, नि.नं. ६६९५, पृष्ठ २३९

 

आदेश

न्या.रामनगिना सिंहः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३,८८(२) अन्र्तगत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :-

२.    म निवेदकले बिपक्षीको सौतेनी छोरा राज कुमार भगत नाउँ दर्ताको पंचायत इनर्वा फुलवरिया वडा नं.९ (क) कि.नं.२०१ को ०१७ ऐ.कि.नं.२०२ को ०९ ऐ.कि.नं.२०३ को ०६ ऐ.कि.न..२०४ को ०० ऐ.कि.नं.५०९ को ०१३ समेत जम्मा जग्गा बिगाहा ०५ जग्गा र.नं.२८६२ मिति ०५१।१०।३ मा म रिट निवेदनले खरिद गरी लिएकोमा उक्त बिपक्षी मध्येका रामबाबु भगत र मीनादेवी भगत समेत वादी भै म समेत उपर सप्तरी जिल्ला अदालतमा दर्ता गरेको २०५३ सालको सा.दे.नं.२३६५ को बकसपत्र लिखत बदर दर्ता बदर मुद्दामा सप्तरी जिल्ला अदालतबाट वादी दावी वमोजिम ३ खण्डको २ खण्ड लिखत तथा दर्ता बदर हुने ठहरी मिति ०५४।८।३० मा भएको फैसला अन्तिम भयो ।

३.    सप्तरी जिल्ला अदालतको फैसला अन्तिम भएकोले सो फैसला वमोजिम लिखत दर्ता बदर गरी पुर्जि गर्ने कुरामा म निवेदक र बिपक्षीहरु समेत भै सप्तरी जिल्ला अदालत छिनुवा फाँटमा बिपक्षीहरु समेत भै बिपक्षीहरुले जिती पाएको जग्गाको मोल रु.२,५०,०००।घरसारमा बुझि लि सकेकोले सप्तरी जिल्ला अदालत छिनुवा फाँटमा बिपक्षी मध्येका रामबाबु भगतको संरक्षक भै स्वयम् रामबाबु भगत र मीनादेवी समेत भै जिति पाएको फैसला कार्यान्वयन नगराउने गरी सो मुद्दा तामेली राखि पाउन मिति ०५६।१।२८ मा संयुक्त निवेदन पर्दा उक्त लिखत बदर मुद्दा फैसला गर्ने बेन्चबाटै यसमा वादीले फैसला वमोजिम पुर्जि लिन्न भन्ने दुवै थरले संयुक्त निवेदन दिंदा निवेदन मिसिल सामेल गरी वादीले पुर्जि लिन नपाउने गरी तामेल गरी दिएको छु भनि मिति ०५६।१।२९।४ मा आदेश भै उक्त लिखत बदर मुद्दाको फैसला कार्यान्वयन टुंग्याई तामेली भयो । यसरी मिति ०५६।१।२८ को संयुक्त निवेदन वमोजिम फैसला कार्यान्वयन तामेल गराई बिपक्षी वादीहरुले आआफ्नो हिस्साको जग्गा वापत नगद म निवेदकबाट घरसारमा बुझि लिई संयुक्त दरखास्त दिई मिति २०५६।१।२९।४ मा तामेली आदेश भैसकेको अवस्थामा सोही मुद्दामा सोही झगडियाको कुनै उजुर नलाग्ने अवस्थामा शुरु फिराद तथा तामेली गराउन दरखास्त दिंदा संरक्षक राखी अड्डामा आँफै उपस्थित भै वादी आँफैले गरेको काम कारवाही बदर गर्न तेश्रो पक्षले वादी मध्येको राम बाबु भगतको संरक्षक भै बिपक्षी रामप्रसाद भगतले पुनः फैसला वमोजिम आफ्नो हक हिस्सा ३ खण्डको १ खण्डको पुर्जि पाउँ भनि मिति २०५८।१।१२ मा दिनु भएको निवेदनमा सप्तरी जिल्ला अदालत छिनुवा फाँटबाट आदेश हुँदा यसमा यसै अदालतबाट मिति २०५६।१।२९ मा वादीले पुर्जि लिन नपाउने गरी तामेली गरी दिएको छ भन्ने समेत आदेश भैरहेको देखिंदा मा.न्या.ज्यू समक्ष पेश गर्नु भनि तहसिलदारबाट आदेश भै मिति ०५८।४।५ मा जि.न्या.ज्यूबाट आदेश हुँदा यसमा निवेदन माग वमोजिम गर्न अडवड परेको भनि पेश भएको प्रस्तुत मिसिल हेर्दा यस अदालतबाट मिति २०५६।१।२९।४ मा वादीले पुर्जि लिन नपाउने गरी तामेली गरी दिएको छ कानूनबमोजिम गर्नु भन्ने भएको आदेश कायमै रहेको देखियो अब सो आदेश बदर नभई कायमै रही रहेको अवस्थासम्म हाल वादीले दिएको ०५८।१।१२ को निवेदन मागबमोजिम गर्न मिलेन भन्ने व्यहोराको आदेश भएकोमा सो उपर बिपक्षी मध्येको रामप्रसाद भगतको श्री पुनरावेदन अदालत, राजविराजमा अ.बं.१७ नं.वमोजिम निवेदन पर्दा पुनरावेदन अदालत, राजविराजबाट मिति ०५८।६।२४ मा आदेश हुँदा नावालकको हकमा निवेदन पत्र दिंदा मुलुकी ऐन अ.बं.८३ नं.वमोजिम प्रक्रिया अपनाई अड्डाको अनुमति लिई निवेदन गर्नुपर्नेमा उक्त अ.बं.८३ नं.को प्रक्रिया नपु¥याई गरिएको निवेदन लिई मिति ०५६।१।२९ मा त्यहाँबाट पुर्जि लिन नपाउने गरी भए गरिएको आदेश रीतपूर्वक नदेखिएकोले सो आदेश र उक्त बेरीतको आदेशलाई आधार लिई मिति ०५८।४।५।६ मा भएको आदेश समेत बेरीतको हुँदा उक्त दुवै आदेश बदर गरी दिएको छ जे जो बुझ्नु पर्छ बुझि कानूनबमोजिम गर्नु भनि आदेश भयो । सो आदेश पश्चात सप्तरी जिल्ला अदालताट ३ खण्डको २ खण्ड जग्गा दर्ता गर्न पुर्जि गरी दिएकोमा उक्त जग्गाहरु बिक्रि भैसकेको कारणले पुर्जि वमोजिम दर्ता नभएको कारणले यिनै वादी समेत भै चलाएको लिखत बदर मुद्दा श्री सप्तरी जिल्ला अदालतमा चलिरहेको छ ।

४.    यसरी एक पटक फैसला वमोजिम दा.खा.दर्ता भै जग्गाको मोल वापतको रुपैया निवेदकसंग घरसारमा बुझि लिई अ.बं.१८२ नं. वमोजिम मुद्दाको जुनसुकै तहमा जुनसुकै अवस्थामा मिलापत्र हुन सक्ने भएकोले फैसला कार्यान्वयनको अवस्थामा पुर्जि गर्दा संरक्षकमा रहेकी आमालाई नै संरक्षकमा राखि अ.बं.२४ नं. वमोजिमको प्रक्रियाबाट खुद बिपक्षी रामबाबु भगत र मिनादेवीले मिलापत्र गरी फैसला कार्यान्वयन तामेली गरी गराई सकेको अवस्थामा हाल सोही मिलापत्र गरी तामेलीमा राख्नेको संरक्षकको हैसियतबाट फैसला पुर्जि पाउन निवेदन गरेकोमा पुनरावेदन अदालतको उल्लेखित आदेश र सो वमोजिम सप्तरी जिल्ला अदालतबाट भएको पुर्जि समेतबाट मेरो कानून तथा संबिधानद्वारा संरक्षित सम्पति सम्बन्धि हक तथा कानूनी हकमा आघात परेको र अन्य कुनै बैकल्पिक उपचार नभएको हुनाले सम्मानित अदालत समक्ष यो निवेदन गर्न आएको  छु । अतः फैसला कार्यान्वयन तहमा मिलापत्र भै तामेली भैसकेको बिषयमा उनाउ व्यक्तिको निवेदनबाट अ.बं.१७ नं.अन्तर्गत हेरि छिनेको श्री पुनरावेदन अदालत, राजविराजको मिति ०५८।६।२४ को आदेशबाट तामेली आदेश बदर गरी पुर्जि भएको काम कारवाही त्रुटिपूर्ण भएकोले उक्त पुनरावेदन अदालत, राजविराजको मिति ०५८।६।२४ को आदेश साथै सो आधारमा सप्तरी जिल्ला अदालतबाट मिति २०५८।८।४ मा भएको आदेश र सो  आधारमा तहसिल फाँटबाट मिति ०५८।८।५ मा भएको दर्ता पुर्जि समेतको सम्पूर्ण काम कारवाही उत्प्रेषणको आदेशबाट बदर गरी जो चाहिने आज्ञा आदेश जारी गरी पाउन सादर अनुरोध गर्दछु । तत्काल पेश भएका प्रमाणबाटै अन्तरिम आदेश जारी गर्न प्रयाप्त आधार भएकोले तत्काल यो मुद्दा किनारा नभए सम्म उक्त फैसला कार्यान्वयन सम्बन्धी कुनैपनि काम कारवाही नगर्नु नगराउनु भनि अन्तरिम आदेश जारी गरी पाउं भन्ने समेत व्यहोराको रिट निवेदन ।

५.    यसमा बिपक्षीहरुबाट लिखित जवाफ मगाउनु साथै अन्तरिम आदेश समेतको माग हुँदा लिखित जवाफ प्राप्त नभएसम्मका लागि फैसला कार्यान्वयनको कार्य नगर्नु नगराउनु भनि विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरि दिएको छ । सो को सूचना बिपक्षीहरुलाई दिनु भन्ने समेत व्यहोराको यस अदालतको आदेश ।

६.    शुरु सप्तरी जिल्ला अदालतको फैसला वमोजिम ३ खण्डको १ खण्ड पुर्जि पाउँ भनी रामबाबु भगतको संरक्षक भै रामप्रसाद भगतले सप्तरी जिल्ला अदालतमा मिति ०५८।१।१२ मा निवेदन दिंदा उक्त निवेदनमा यस अदालतबाट मिति ०५६।१।२९।४ मा वादीले पुर्जि लिन नपाउने गरी तामेली गरी दिएको छ, कानूनबमोजिम गर्नु भनि भएको आदेश कायमै रहेको देखियो अब सो आदेश बदर नभै कायमै रही रहेको अवस्थासम्म हाल वादीले दिएको निवेदन मागबमोजिम गर्न मिलेन भनी सप्तरी जिल्ला अदालतबाट आदेश भएको रहेछ । उक्त बेरीतको आदेश बदर गरीपाउँ भनी नावालक रामबाबु भगतको हकमा रामप्रसाद भगतको यस अदालतमा अ.बं.१७ नं.वमोजिम निवेदन परि सो निवेदनमा कैफियत प्रतिवेदन समेत भै यस अदालतको संयुक्त इजलास समक्ष पेश हुँदा यसमा नावालकको हकमा निवेदन पत्र दिंदा मुलुकी ऐन अ.बं.८३ नं. वमोजिमको प्रक्रिया अपनाई अड्डाको अनुमति लिई निवेदन गर्नुपर्नेमा उक्त अ.बं.८३ नं.को प्रक्रिया नअपनाई गरेको निवेदन लिई मिति ०५६।१।२९।४ मा त्यहाँबाट पुर्जि लिन नपाउने गरी भए गरेको आदेश रीतपूर्वकको नदेखिएकोले सो आदेश र उक्त बेरीतको आदेशको आधार लिई मिति ०५८।४।५।६ मा भएको आदेश समेत बेरीतको हुँदा दुवै आदेश बदर गरिएकोछ, निवेदकले मिति ०५८।१।१२ मा दिएको निवेदनका शन्दर्भमा जो जे बुझ्नु पर्ने बुझि कानूनबमोजिम कारवाही गर्नु होला भनि मिति ०५८।६।२५।५ मा यस अदालतबाट आदेश भै रहेको हुँदा यस अदालतबाट कानूनबमोजिम भएको आदेश सदर राखी निवेदकको रिट निवेदन खारेज भागी हुँदा खारेज गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, राजविराजको र सोही मिलानको सप्तरी जिल्ला अदालतको र रामबाबु भगत, मिनादेवी भगत र रामप्रसाद भगतको तर्पmवाट पर्न आएको  लिखित जवाफ ।

७.    नियम वमोजिम पेशी सुचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदकतर्फका विद्वान अधिवक्ता श्री सुरेन्द्र कुमार खडकाले रामबाबु भगत नावालक भएकोमा निजको हकमा समेत निजको आमा मीना देवीले बकसपत्र बदर दर्ता बदर मुद्दा दायर गरेकोमा शुरु सप्तरी जिल्ला अदालतबाट बकसपत्र बदर हुने ठहरी फैसला भएको सो फैसला कार्यान्वयन तहमा मिलापत्र भै तामेली भै सकेको बिषयमा अ.बं.१७ नं.अन्तर्गत परेको निवेदनबाट हेरी सो तामेली आदेश बदर गर्न नमिल्नेमा सो तामेली आदेश पुनरावेदन अदालतले बदर गरी दिएको, सो आदेशको आधारमा शुरु सप्तरी जिल्ला अदालतले दिएको दर्ता पुर्जि समेत उत्प्रेषणको आदेशद्वारा बदर हुनु पर्छ भनि वहस प्रस्तुत गर्नु भयो ।

८.    विद्वान कानून व्यवसायीको वहस समेत सुनी मिसिल संलग्न कागजात अध्ययन गरी हेर्दा निवेदन मागदावी वमोजिमको आदेश जारी हुनुपर्ने हो होइन ? सो सम्वन्धमा निर्णय गर्नुपर्ने हुन आयो।

            ९.    निर्णयतर्फ विचार गर्दा बकसपत्र बदर दर्ता बदर मुद्दाको फैसला कार्यान्वयन तहमा मिलापत्र भै तामेली भैसकेको अवस्थामा अ.बं.१७ नं.अन्तर्गत परेको निवेदन हेरी पुनरावेदन अदालतले आदेश गरेकोमा सो आदेशानुसार शुरु सप्तरी जिल्ला अदालतबाट दिइएको दर्ता पुर्जि समेत त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ भन्ने निवेदन माग दावी र निवेदनमा उल्लेख भएको बकसपत्र बदर दर्ता बदर मुद्दाको सम्बन्धमा अ.बं.१७ नं.अन्तर्गतको निवेदन परी सो निवेदनमा कैफियत प्रतिवेदन भै नावालकको हकमा निवेदन दिंदा अ.बं.८३ नं.को प्रक्रिया अपनाई अड्डाको अनुमति लिई निवेदन गर्नुपर्नेमा सो गरेको नदेखिंदा पुनरावेदन अदालतबाट शुरुको आदेश बदर हुने गरी भएको आदेश रीतपूर्वककै रहेकोले रिट निवेदन खारेज गरी पाउँ भन्ने लिखित जवाफ रहेको देखिन्छ ।

१०.    यसमा रुदल भगतले बिक्रि गरेको लिखत मध्ये तिन खण्डको दुई खण्ड बदर गरी पाउँ भनी दिएको फिरादबाट लिखत बदर हुने गरी शुरु सप्तरी जिल्ला अदालतबाट मिति २०४४।८।३०।२ मा निर्णय भएको भन्ने प्रमाणको रुपमा आएको मिसिलबाट देखिन्छ । उक्त निर्णय अन्तिम भै बसेको, उक्त अन्तिम निर्णयको आधारमा दा.खा.गराउन पुर्जि पाउँ भनी राम बाबु भगत र निजको संरक्षक आमा मीनादेवीले शुरु सप्तरी जिल्ला अदालतमा निवेदन दिएको, तत्पश्चात दा.खा.को चलन पुर्जि नलिने गरी मुद्दा तामेल गराई पाउँ भनी रामबाबुले आँफै निवेदन दिएको र उक्त निवेदनमा निजको आमा मीनादेवी संरक्षक बसेको उक्त निवेदनको आधारमा दा.खा. गर्ने कारवाही तामेलीमा राख्ने भन्ने शु्रु सप्तरी जिल्ला अदालतबाट मिति २०५६।१।२९।४ मा आदेश भएको देखिन्छ । तत्पश्चात पुनः रामबाबु भगतले तामेली आदेश बदर गरी फैसला वमोजिम दा.खा.पुर्जि पाउँ भनी दिएको निवेदनमा कारवाही हुँदा मिति २०५६।१।२९।४ मा वादीले दा.खा.पुर्जि लिन नपाउने गरी तामेली आदेश भएको सो आदेश बदर नभई कायमै रही रहेको अवस्थामा हाल वादीले दिएको निवेदन मागबमोजिम गर्न मिलेन कानूनबमोजिम गर्नु भनी मिति २०५८।४।५।६ मा शुरु सप्तरी जिल्ला अदालतबाट आदेश भएको देखिन्छ । उक्त आदेश उपर वादीको तर्पmबाट अ.बं.१७ नं.अनुसार निवेदन परेकोमा शुरुले तामेलीमा राख्ने गरी गरेको आदेश समेत वदर गर्ने गरी पुनरावेदन अदालत, राजविराजबाट मिति २०५८।६।२५ मा आदेश भएको र सोही आदेशको आधारमा शुरु सप्तरी जिल्ला अदालतबाट दा.खा.को पुर्जि दिने काम कारवाही भएको देखिन्छ । अ.बं.१७ नं.को मनसाय हेर्दा एक पटक आदेश भै कारवाही टुंगी सके पछि पुनः मुद्दामा बेरीत भएको भन्दै परेको अ.बं.१७ नं.अन्तर्गतको निवेदनबाट कारवाही गर्न मिल्ने देखिदैन । यस्तै प्रश्न समावेश भएको सम्बत् २०५२ सालको दे.पु.नं.३३४९, तुल्सीप्रसाद भण्डारी बिरुद्ध इन्द्रप्रसाद भण्डारी समेत भएको लिखत वदर मुद्दामा (ने.का.प.२०५६ अंक ३ पृष्ठ २३९ नि.नं.६६९५) नावालक आँफै र आफ्ना एकाघरका अंशियार दाजुहरु समेत भै संयुक्त रुपमा अदालतमा उपस्थित भै फिराद पत्र दिएको देखिएकोले यस्तो अवस्थामा अ.बं.८३ नं.आकर्षिक हुन नसक्ने भै पुनरावेदन अदालत, पोखराको फैसला मनासिब ठहर्ने भन्ने यस अदालतको संयुक्त इजलासबाट निर्णय भै सिद्धान्त प्रतिपादन भएको देखिन्छ । प्रस्तुत मुद्दामा समेत नावालक रामबाबु आँफैले दा.खा.को पुर्जि नलिने गरी मुद्दा तामेली गराइ पाउँ भनी निवेदन दिएको र उक्त निवेदनमा निजको आमा मीना देवी संरक्षक बसेको, उक्त निवेदनमा कारवाही हुँदा वादीले  पुर्जि  लिन नपाउने गरी तामेली गरी दिएको भन्ने शुरु सप्तरी जिल्ला अदालतबाट आदेश भएको देखिएको सो आदेश बदर नभई कायमै रहेको यस्तो अवस्थामा अ.बं.८३ नं.आकर्षित हुन नसक्ने भएकोले पुनरावेदन अदालत, राजविराजको मिति २०५८।६।२४ को आदेश र सो आदेशको आधारमा सप्तरी जिल्ला अदालतले गरेको सम्पूर्ण काम कारवाही उत्प्रेषणको आदेशद्वारा वदर हुने ठहर्छ । यो फैसलाको जानकारी सम्बन्धित निकायमा पठाई दिई मिसिल नियमानुसार गरी वुझाई दिनु । 

 

उक्त रायमा सहमत छु ।   

 

न्या.रामप्रसाद श्रेष्ठ

 

इजलास अधिकृत (रा.प.द्वि.) वैद्यनाथ गुप्ता

 

इति सम्बत २०६१ साल मंसिर १ गते रोज ३ शुभमः–––––––

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु