निर्णय नं. ३३४२ - कीर्ते जालसाज
निर्णय नं. ३३४२ ने.का.प. २०४५ अङ्क १
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४३ सालको फौ.पु.नं. ५८८
फैसला भएको मिति : २०४४।९।२२।४ मा
पुनरावेदक/वादी : सप्तरी तिलाठी गा.पं. वार्ड नं. ६ बस्ने कामानन्द मिश्र
विरुद्ध
विपक्षी/प्रतिवादी : जि.सप्तरी बिरहीपुर गा.पं. वार्ड नं. ५ बस्ने नन्दलाल यादव
मुद्दा : कीर्ते जालसाज
(१) रेखा तथा लेखा विशेषज्ञको बकपत्र गराउँदा विवादास्पद सही ढिला चालमा लेखिएको देखिन्छ उक्त दस्तखत सहीको कामानन्द भन्ने अक्षरहरूमा “का” को शीर एकपटक “मा” को शिर एकपटक डिका दिई पुनः का र मा संग जोडेको देखिएको अवस्थाबाट निजको नमुना दस्तखत सहीहरूमा जुनप्रकार प्रवाह र गति पाइन्छ सो गति र प्रवाह विवादास्पद सहीमा नभएको नमुनाको दस्तखत सहीमा परेका अक्षरहरूको बनौट विवादास्पद सहीका अक्षरहरूको बनौटमा बिलकूल फरक रहेको समेत आधारमा नमूना दस्तखत सही र विवादास्पद सहीमा मौलिक भिन्नता देखिएकोले फरक भनी भन्ने लेखा तथा रेखा विशेषज्ञले आफूले पूर्व रुपमा दिएको रायलाई पुष्टि गर्दै बकपत्र गरिदिएको पाइन्छ, विवादास्पद लिखतको सही र अदालतबाट लिइएको नमूनाको सही तुलनात्मक रुपमा हेर्दा पनि रेखा तथा लेखा विशेषज्ञको राय तथ्ययुक्त एवं विश्वसनीय देखिने ।
(प्रकरण नं. १४)
पुनरावेदक, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री शिवानन्ददास सरस
फैसला
न्या.हरिहरलाल राजभण्डारी : पू.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी वेन्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ ।
२.मेरो नाम दर्ताको बिरहीपुर गा.पं. वार्ड नं. ५(क) कि.नं.३१ को ०–४–१ जग्गा र ऐ. ऐ. कि.नं.४१ को ०–९–१९ समेत ०–१४–० जग्गाको प्रतिवादी मोही भई कमाई आएकोमा ०३० सालको कुतवाली मलाई नबुझाएको तथा धरौटी समेत नराखेकोले धानमन ८–२० को प्रति मन रु.६४ का दरले हुने रु.५१५।९० प्रतिवादीबाट दिलाई भराई मोहिबाट निष्काशन समेत गराइपाउँ भनी भू.सु.का.मा फिराद गर्दा उक्त बमोजिमको कूत मैले ०३०।८।२७।४ मा बुझाई भर्पाई समेत लिई सकेको छु भनी भर्पाई पेश गरेकोमा उक्त भर्पाई मलाई सुनाउँदा कीर्ते हो भनी बयान गरेको थिएँ । सद्दे कीर्तेतर्फ अदालतबाट निर्णय गराई ल्याएका बखत कारवाही गर्ने गरी ०३५।९।२४ मा भू.सु.का.बाट कारवाही मुलतवी राख्ने गरी निर्णय गरेकोले यो नालेश गरेको छु । प्रतिवादीले कीर्ते भर्पाई पेश गरेकोले रेखा विशेषज्ञबाट जाँच गराई कीर्ते कागजको ७ नं. बमोजिम विपक्षीलाई सजायँ समेत गरिपाउँ भन्ने समेत फिराद दावी ।
३.वादी दावीको ०–१४–० जग्गाको म मोही हुँ ०३० सालको कूत ०३०।८।२७ मा बुझाई भर्पाई लिएको छु । उक्त भर्पाई बाली मोही मुद्दामा पेश गरेको छु कीर्ते जालसाजी गरेको होइन, सद्दे भर्पाई हो झुठ्ठा दावीबाट सफाई पाउँ भन्ने समेत प्रतिवादीको प्रतिउत्तरपत्र ।
४.मिति ०३०।८।२७।४ को सक्कल भर्पाई देखें सुनेें यो भर्पाई मैले गरिदिएको होइन कीर्ते जालसाज भनी भू.सु.का.मा ०३५।९।२१ मा बयान गरेको यही भर्पाई हो । सोही बयान बमोजिम प्रतिवादीलाई सजायँ गरिपाउँ भन्ने समेत वादी वा.कालीकानन्द मिश्रको बयान ।
५.भर्पाईमा लेखिए बमोजिम धान बुझी वादी कामानन्दले सही गरिदिएको सद्दे साँचो भर्पाई हुँदा वादीको लेखात्मक सहीसंग भिडाई झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत प्र.वा. तुरुन्तलाल यादवको बयान ।
६.कूत बुझाएको भर्पाईमा वादीकै सहीछाप देखिनाले कीर्ते हो भन्ने वादी दावी पुग्न सक्दैन भन्ने समेत शुरु सप्तरी जिल्ला अदालतको फैसला ।
७.शुरु जि.अ. को फैसलामा चित्त बुझेन फिराद दावी बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको वादीको सगरमाथा अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।
८.रेखा विशेषज्ञको रायपत्र अनुसार प्रत्यर्थी प्रतिवादीले पेश गरेको ०३०।८।२७ को भर्पाई सद्दे देखिन नआई कीर्ते देखिन आएबाट कीर्ते जालसाज गरेको ठहर्याउनु पर्ने नठहर्याएको शुरु जि.अ. को इन्साफ मिलेको नहुँदा उल्टी हुन्छ भन्ने समेत सगरमाथा अं.अ. को फैसला रहेछ ।
९.स.अं.अ. को फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीले दिएको निवेदनमा पु.क्षे.अ. बाट अनुमति दिइएको रहेछ ।
१०.न्यायोचित आधार र कारणहरू नखुलाई दिएको विशेषज्ञको रायलाई मात्र प्रमाण लगाई गरेको स.अं.अ. को फैसलामा प्रमाणको मूल्यांकन सम्बन्धी त्रुटी हुँदा सो फैसला बदर हुन्छ । २०३०।८।२७ को भर्पाईको सही र वादीले दिएको ०३८।१०।२६ को नमुना सहीसंग भिडाई हेर्दा हस्ताक्षरहरू सामान्य आकृति यकीन मिल्न भिड्न आएकोले वादी दावी नपुग्ने ठहर्याएको शुरु जि.अ. को इन्साफ मनासिव ठहर्छ भन्ने समेत पू.क्षे.को फैसला रहेछ ।
११.पू.क्षे.अ. को फैसलामा प्रमाण ऐन, ०३१ को दफा ३६(१)(३) तथा ५४ र अ.बं. १८५ समेतको त्रुटी हुँदा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादीको यस अदालतमा पर्न आएको निवेदन ।
१२.राय दिने विशेषज्ञ साक्षी सरह अदालतमा उपस्थित भई बकपत्र गरेमा उक्त रायलाई प्रमाणमा लिनु पर्नेमा यस्तो प्रकृया नै नअपनाई पू.क्षे.अ. बाट भएको फैसलामा प्रमाण ऐनको दफा २३ को प्रत्यक्ष त्रुटी देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत संयुक्तइजलासको मिति ०४३।३।१८।४ को आदेश रहेछ ।
१३.नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीतर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री शिवानन्ददास सरसले गर्नु भएको बहस समेत सुनियो । यसमा पू.क्षे.अ. को इन्साफ मिले नमिलेको के रहेछ सो सम्बन्धमा इन्साफ दिनु पर्ने देखियो ।
१४.यस्मा वादी दावी बमोजिमको भर्पाई कीर्ते हो होइन भन्ने तर्फ विचार गर्दा मिति ०३०।८।२७।४ को कूत बुझे भनेको विवादास्पद लिखत सहीसंग अदालतको रोहवरमा कामानन्द मिश्रले लेखिदिएको नमूना दस्तखत गर्ने तरीका वा आदत फरक दस्तखतहरूको मौलिक विशेषताहरू फरक रहेको आधारमा कामानन्द मिश्र भन्ने विवादास्पद दस्तखत सहीको तुलनामा नमूना दस्तखत सही फरक भएको भन्ने रेखा तथा लेखा विशेषज्ञले राय दिएकोमा यस अदालतबाट रेखा तथा लेखा विशेषज्ञ रामबहादुर थापाको बकपत्र गराउँदा विवादास्पद सही ढिला चालमा लेखिएको देखिन्छ । उक्त दस्तखत सहीको कामानन्द भन्ने अक्षरहरूमा ‘का’ को शिर एकपटक ‘मा’ को शिर एकपटक डिका दिई पुनः का र मा संग जोडेको देखिएको अवस्थाबाट निज कामानन्द मिश्रको नमूना दस्तखत सहीहरूमा जुनप्रकार प्रवाह र गती पाइन्छ सो गती र प्रवाह विवादास्पद सहीमा नभएको, नमूनाको दस्तखत सहीमा परेका अक्षरहरूको बनौट र विवादास्पद सहीका अक्षरहरूको बनौटमा विलकुल फरक रहेको समेत आधारमा नमूना दस्तखत सही र विवादास्पद सहीमा मौलिक भिन्नता देखिएकोले फरक भनी भन्ने लेखा तथा रेखा विशेषज्ञले आफूले पूर्व रुपमा दिएको रायलाई पुष्टी गर्दै बकपत्र गरिदिएको पाइन्छ । विवादास्पद लिखतको सही र अदालतबाट लिइएको नमूनाको कामानन्द मिश्रको सही तुलनात्मक रुपमा हेर्दा पनि रेखा तथा लेखा विशेषज्ञको उक्त राय तथ्ययुक्त एवं विश्वसनीय देखिन आयो । अतः मिति ०३०।८।२७।४ को भर्पाई कीर्ते नठहर्याएको शुरुको सदर गरेको पु.क्षे.अ.को इन्साफ मिलेको नदेखिँदा उक्त इन्साफ गल्ती ठहर्छ । वादी दावी बमोजिम उक्त भर्पाई प्रतिवादीले कीर्ते गरेको ठहर्याएको सगरमाथा अञ्चल अदालतको इन्साफ मनासिव ठहर्छ नियमबमोजिम गरी मिसिल बुझाई दिनु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम पू.क्षे.अ.को इन्साफ उल्टी भई वादी दावी बमोजिम प्रतिवादीले कीर्ते गरेको ठहरेको हुँदा पू.क्षे.अ. को मिति ०४२।१०।२१ को फैसलाले राख्ने गरेको लगत व्यहोरा जनाई कट्टा गर्न लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु ...............................................................................१
माथि इन्साफ खण्डमा लेखिए बमोजिम सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको मिति ०३९।१।१२ को फैसला सदर भएकोले सो फैसलाले राख्ने गरेको लगत कायम राख्नु भनी शुरु जि.अ. मा लेखी पठाउन का.जि.अ.त. मा लगत दिनु ...................................................................................................२
उक्त रायमा म सहमत छु ।
न्या.रुद्रबहादुर सिंह
इति सम्वत् २०४४ साल पौष २२ गते रोज ४ शुभम् ।