निर्णय नं. ३३४७ - अंश नामसारी

निर्णय नं. ३३४७ ने.का.प. २०४५ अङ्क १
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४३ सालको दे.पु.नं. ६६२
फैसला भएको मिति : २०४४।१२।१४।१ मा
पुनरावेदक/प्रतिवादी : जि. रुपन्देही मानमटेरिया गा.पं. वार्ड नं. १ मंगलपुर बस्ने झुम्थुर पूर्विया रौतार थारु
विरुद्ध
विपक्षी/वादी : ऐ.ऐ. बस्ने सवुतरी थरुनी
मुद्दा : अंश नामसारी
(१) नागरिकताको प्रमाण–पत्र व्यक्तिगत कागज नभई सरकारीया प्रमाण–पत्र भएको यदी सो कागज मुद्दा परिसकेपछि प्रमाण खडा गर्न बनाएको भए नातातर्फ बयान गर्दा प्रमाणमा दिएपछि सो बयान सुनी बयान गर्ने प्रतिवादीले सो उपर कानून बमोजिम उजूर गरी बदर गराउनु पर्ने सो गराएको प्रमाण नआएकोले अन्यथा सावित नभएसम्म सो प्रमाणलाई प्रमाण ऐनको दफा ६(ङ) ले मान्यता दिन पर्ने र अंशबाट उठेको नाता कायम मुद्दा जिकिर बमोजिम अंश मुद्दा नभई एकै मुद्दा हुँदा अंश मुद्दामा बकेका साक्षीहरूको प्रमाण लिन नमिल्ने भन्ने जिरह मनासिव नदेखिई अंश पाउने ठहर्याएको क्षे.अ. को इन्साफ मनासिव ठहर्ने ।
(प्रकरण नं. १४)
पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री विष्णुप्रसाद भट्टराई
विपक्षी वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
फैसला
न्या.हिरण्येश्वरमान प्रधान : पश्चिमाञ्चल क्षेत्रीय अदालतको २०४३।३।२४।३ को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ :
२.यसमा मंगली थारुका २ छोरा फौज्दार थारु र झुथ्थुर थारु हुन्, मेरो लोग्ने फौज्दार अघि नै परलोक भएकोले झुथ्थुरसंग बसी आएकोमा २०३८ साल मार्ग देखि विरामी पर्दा औषधी उपचार नगराउने र इज्जत आमद अनुसार खान लाउन नदिएकोले २०३९।१।१५ गते अंश माग्दा अंश दिन्न भनी जावाफ दिएका, जग्गा जमीन विपक्षका नाउँमा दर्ता भएकोले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सम्पत्तिको तायदाती फाँटवारी लिई आधा अंश मलाई दिलाई नामसारी समेत गराई पाउँ भन्ने सबुतरी थरुनीको फिरादपत्र ।
३.मंगली थारुको फौज्दार र झुथ्थुर २ छोरा भए पनि बाबुकै पालामा अंशवण्डा भइसकेको र अलग अलग ठाउँमा बसोबास गरेको हो, वण्डापत्र नभए पनि भए सरह छ । साथै फिरादीलाई मेरो दाजुको प्रकाश गरी राखेको स्वास्नी नहुँदा सम्पत्ति हात पार्ने षडयन्त्र गरेको हो । दाजुको पहिलो र दोस्रो स्वास्नी दुबै मरिसकेका छन् । वादीले फौज्दारको स्वास्नी भनी प्रमाण पुर्याएको खण्डमा आफ्नो लोग्नेको हक जहाँ छ त्यहिँ गई बस्नुपर्छ मेरो अंश हकको सम्पत्तिमा वादीले दावी गर्न पाउने होइन भन्ने समेत झुथ्थुर पूर्विया रातारको प्रतिउत्तरपत्र ।
४.वादी सबुतरी थरुनी फौज्दारी थारुको श्रीमती हुन् भन्नेसमेत वादीको वा.जगेश्वर थारुको बयान ।
५.वादी सबुतरी थरुनी फौज्दारको स्वास्नी होइन । सिमलार गा.पं. वार्ड नं. १ उनिला बस्ने महर पचहिको श्रीमती हुन् भन्ने समेत प्र.वा. पद्यमबहादुर कोइरालाको बयान ।
६.वादी प्रतिवादीका साक्षीहरूको बकपत्र भएको र तायदाती फाँटवारी समेत दाखिल भएको रहेछ ।
७.वादी फौज्दारको स्वास्नी हो भन्ने कुरा साक्षीबाट पुष्ट्याई भएको, नागरिकताको प्रमाण–पत्रमा समेत फौज्दारको श्रीमती भनी लेखिएको देखिँदा वादी फौज्दारको स्वास्नी ठहर्छ । फौज्दार र झुथ्थुरका बीच अंशवण्डा भएको कुनै प्रमाण नदेखिँदा वादीले प्रतिवादीबाट दावी बमोजिम अंश पाउने ठहर्छ भन्ने समेत शुरु रुपन्देही जिल्ला अदालतको २०४१।३।२ को फैसला ।
८.वादीलाई फौज्दारको स्वास्नी ठहर्याई म झुथ्थुरबाट अंश पाउने ठहर्याएको शुरु अदालतको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरिपाउँ भन्ने समेत प्रतिवादी झुथ्थुर थारुको प.क्षे.अ. मा परेको पुनरावेदन ।
९.यसमा वादी फौज्दारको स्वास्नी हो होइन, सरजमीन गरी निर्णय भएको पाइँदैन, नागरिकताको प्रमाण–पत्र फिराद परिसकेपछि लिएको देखिन आउँछ । फौज्दार र झुथ्थुर भाइ भाइ भए पनि आ–आफ्नो सम्पत्ति भोग गरेको भन्ने प्रमाणहरूबाट पुष्टि हुन आउँछ । यस अवस्थामा शुरु फैसला फरक पर्ने भएबाट अ.बं. २०२ नं. बमोजिम विपक्षीलाई झिकाई आएपछि पेश गर्नु भन्ने प.क्षे.अ. सिंगलबेञ्चको आदेश ।
१९.प्रतिवादीले बाबु फौज्दारसंग अंशवण्डा भएको भनी रीतपूर्वकको लिखत पेश गर्न सकेको छैन । प्रतिवादीले अलग भएको सबूद प्रमाण गुजार्न सकेको नदेखिँदा वादीले प्रतिवादीबाट २ भागको १ भाग अंश पाउने गरी ठहर्याएको शुरु रुपन्देही जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ । प्र.झुथ्थुर थारुको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
११.प.क्षे.अ. ले गरेको फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्ष गम्भीर कानुनी त्रुटी हुँदा पुनरावेदनको अनुमति पाउँ भनी प्र.झुथ्थुर पूर्विया थारुको यस अदालतमा पर्न आएको निवेदन ।
१२.यसमा वादी सबुतरी थरुनीले पेश गरेको नागरिकताको प्रमाण–पत्रको आधारमा निज सबुतरीलाई फौज्दारको श्रीमती हो भनी प.क्षे.अ. ले निर्णय गरेको पाइन्छ । तर उक्त सबुतरीले पेश गरेको नागरिकताको प्रमाण–पत्र प्रतिवादीलाई सुनाएको देखिन नआएकोले प.क्षे.अ. को फैसलामा मु.ऐन अ.बं. ७८ नं. को गम्भीर कानुनी त्रुटी देखिएकोले त्यस्तो त्रुटी सार्वजनिक महत्वको विषय समेत हुँदा न्या.प्र.सु.ऐन २०३१ को दफा १३(५)(ख) बमोजिम प्रस्तुत मुद्दामा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने यस अदालत डिभिजनबेञ्चको आदेश ।
१३.नियमबमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदन तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री विष्णुप्रसाद भट्टराई र विपक्षी वादीको तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी समेतले गर्नु भएको बहस जिकिर सुनियो ।
१४.पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला मनासिव बेमनासिव के रहेछ भनी निर्णयतर्फ विचार गर्दा यसमा जहाँसम्म नागरिकताको प्रमाण–पत्र सुनाउनु पर्ने भन्ने हकमा नागरिकताको प्रमाण–पत्र व्यक्तिगत कागज नभई सरकारीया प्रमाण–पत्र भएको यदि सो कागज मुद्दा परिसकेपछि प्रमाण खडा गर्न बनाएको भए नातातर्फ बयान गर्दा प्रमाणमा दिएपछि सो बयान सुनी बयान गर्ने प्रतिवादीले सो उपर कानून बमोजिम उजूर गरी बदर गराउनु पर्ने सो गराएको प्रमाण नआएकोले अन्यथा सावित नभएसम्म सो प्रमाणलाई प्रमाण ऐनको दफा ६(ङ) ले मान्यता दिन पर्ने र अंशबाट उठेको नाता कायम मुद्दा जिकिर बमोजिम बेगर मुद्दा नभई एकै मुद्दा हुँदा अंश मुद्दामा बकेका साक्षीहरूको प्रमाण लिन नमिल्ने भन्ने जिरह पनि मनासिव नदेखिई अंश पाउने ठहर्याएको क्षे.अ.को इन्साफ मनासिव ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक प्रतिवादी झुथ्थुर पूर्विया रौतारले अंश नामसारीतर्फ कोर्टफी राखी पुनरावेदन गरेकोले केही गरिरहन परेन ......................................................१
नाता कायमतर्फ शुरु रुपन्देही जिल्ला अदालतले पुनरावेदक प्रतिवादी झुथ्थुर पूर्वियालाई रु.२००।– जरिवाना गरेकोले पुनरावेदन गरे बापत अ.बं. २०३ नं. बमोजिम सयकडा ५ ले रु.१०।– जरिवाना हुन्छ । लगत कसी असूल गर्नु भनी शुरु रुपन्देही जिल्ला अदालतमा लेखी पठाउन काठमाडौं जिल्ला अदालत तहसीलमा लगत दिनु..२
मिसिल नियमबमोजिम गरी बुझाई दिनु ...........३
उक्त रायमा म सहमत छु ।
न्या.रुद्रबहादुर सिंह
इति सम्वत् २०४४ साल चैत्र १४ गते रोज १ शुभम् ।