शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३३५० - जालसाजी

भाग: ३० साल: २०४५ महिना: जेष्ठ अंक:

निर्णय नं. ३३५०                 ने.का.प. २०४५                  अङ्क २

 

पूर्ण इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४३ सालको फौ.पु.इ.नं. १९

फैसला भएको मिति : २०४४।१२।१८।५ मा

 

निवेदक/वादी : सिन्धुपाल्चोक सिपापाटी गा.पं.वडा नं. ५ बस्ने कर्णबहादुर ठकुरी

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने काशीराज ठकुरीसमेत

 

विषय : जालसाजी

 

(१)                  प्रतिवादी अंशियार रहेको भन्ने कुरामा विवाद देखिएन, यस स्थितिमा वादी दावी बमोजिम राजीनामा र रसिद जालसाजी भन्न सकिने अवस्था नहरने ।

(प्रकरण नं.  १८)

 

निवेदकतर्फबाट   : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती

विपक्षीतर्फबाट    : विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्मा

 

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराजका जुनाफमा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट छिनिएको मुद्दा दोहोर्‍याई पाउँ भनी वादी कर्णबहादुर ठकुरीले चढाएको विन्तिपत्रमा फुलबेन्चबाट दोहोर्‍याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४३।१।२३ मा तोक लागी आई यस इजलासको लगतमा दर्ता भई पेश हुनआएकोमा मुद्दाको तथ्य यसप्रकार छ ।

२.विर्ता उन्मुलन ऐन, २०१६ बमोजिम विर्ता रैकरमा परिणत भई सिन्धुपाल्चोक मालमा मेरा नाममा दर्ता भएको कच्ची घर कित्ता एक रातेमाटे वारी १, समीका वारी धारा खोला वारी कित्ता १ घरवारी कित्ता एक समेतको घर र जग्गा विपक्षी मध्येको तुलसीदेवी मेरो अंशियारै नभएको र निजको उक्त जग्गा र घर समेत कुनै किसिमबाट हक नभएको यदि अंशबाट पाएको भए लिखित हुनुपर्ने सो नभई हकै नपुग्नेले सो घर जग्गा विपक्षीहरू मिली विपक्षी मध्येको गोविन्दले मेरो रसिदका किनारामा तुल्सीमाया समेतको भन्ने जनाई प्रधानपञ्च गणेश दाशले दोहोरी रसिद गरिदिने र तुल्सीदेवीले हक नपुग्ने घर जग्गा समेत राजीनामा गरिदिने निज गोविन्दले रु.१००।मोल हाली अघिको मिति राखी जालसाजी राजीनामा लेख्ने, बालकृष्ण, टिकादत्त, इन्द्रबहादुर समेत किनारमा साक्षी बस्ने काशी, डम्बरबहादुर, लोकबहादुर, भोटे भन्ने समेतले जालसाजी राजीनामा  समेत गराई लिनेदिने गरेका छन् सो कुरा मिति २०२६।३।७ मा विपक्षी मध्ये काशीराज समेत आई जग्गामा कोदोको बीउ राखी घर समेत भत्काई अन्याय गरेकाले किन यसो गरेको भन्दा यो घर र जग्गा समेत हामीहरूले तुल्सीदेवीसंग राजीनामा गरी लिई सकेको छु भनी भनेकाले थाहा पाई फिराद गर्न आएको छु । जालसाजी गरेमा विपक्षीहरूलाई सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।

३.ससुरा मिनराजको छोरा माहिला वादीको पिता र कान्छा मनु, लक्ष्मीदेवीको पति अघि नै भिन्न भई आआफ्नु अंश लिई बसेको, वादीको पिता २०११ साल अघि नै र मनु लक्ष्मीको पति २०१२ सालमा परलोक हुनु भएकोले मलाई म कहाँ बस्न आउनुस् भन्दा भविष्य सोची पिताको हक अंशतिरको जग्गाको पुरानो कागज रसिदहरू र अरु चल श्री सम्पति जति भएको जम्मै २०१३ सालदेखि वादीका घरमा लगी राखी सगोलमा नै बसी आएकोमा पछि म तुल्सीदेवी माइत गएको अवस्थामा विर्ता उन्मुलन ऐन अनुसार विपक्षी कर्णबहादुरले आफ्नु नाममा दर्ता गराएछन् र भूमि सुधार लागू हुँदा वादीका नाममा ४ नं. फाराम समेत भरेछन् । घरको मुख्य मानिस भएकोले तिरो भरो समेत निजैले गरेछन् । पछि ०२५।०२९ कुन सालमा हो मेरो छोरीको विवाह सक्नासाथ घर बनाउन सक्दिन आफैंले बनाउनु र तपाईको जे भएको श्री सम्पति समेत जो जे छ लैजानु जग्गा जमीन समेत आफैंले भोगचलन गर्नु भनी छुट्याई राखेको भिन्न भइसकेपछि वादी दावाको ४ किल्लाभित्रको जग्गा र घर समेत ०२६।०२७ सालको तिरो तिरान समेत गरी भोगी आएको जग्गा हुन् । मेरो लोग्नेबाट अंश पाई मेरो हक हुनआएको जग्गा घर समेत मैले राजीखुसीबाट राजीनामा गरिदिएको हो जालसाजी गरेको हैन भन्ने तुल्सीदेवीको र उक्त उल्लिखित व्यहोराबाट प्रतिवादी तुल्सीको हक भएको निजसंग मैले रुपैयाँ दिई राजीनामा गराई लिएको हुँ र जालसाजीसँग राजीनामा गरी लिएको हैन भन्ने काशीराज, लोकबहादुर, डम्बरबहादुर, भोटे समेत र खास जालसाजी राजीनामा गरी लिएको नहुँदा हामी समेत साक्षी बसी दिएको हो भन्ने बालकृष्ण, टिकादत्त, हरिलाल, इन्द्रबहादुर समेतका प्रतिउत्तर र हामीले रसिद जालसाजी गरी दिई अर्को नाम समेत जनाई दिएको समेत कुनै कुरा होइन भन्ने समेत व्यहोराको जना ११ को संयुक्त प्रतिउत्तरपत्र ।

४.प्रतिवादीबाट पेश गरेको धनी काशीराज ऋणी तुल्सीदेवी भएको राजीनामा थान ४ र रसीद थान ४ समेत जम्मा कागज थान ८ यस अदालतबाट पढी बाँची सुनाई देखाउँदा देखे सुने जालसाजी गरेको लिखत यिनै हुन् भन्ने समेत व्यहोराको वादीको वारिश दलबहादुरको बयान ।

५.दलबहादुरको बयान देखे सुने सो राजीनामा रसिदहरू समेतका लिखतमा लेखिएको मितिमा शुद्ध व्यवहारबाट भएको हुँदा सद्दे नै हो लिखत जालसाजी भनेमा वादीलाई नै सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको वारिश समेत काशीराजको बयान ।

६.वादी दावी बमोजिम २०२७ सालको राजीनामा थान ४ र रसीद थान ४ कागज प्रतिवादीहरूले जालसाजी गरेको हो भन्ने वादीको लेख बाहेक अरु प्रमाण वादीले दिन सकेको नदेखिएको र वादीकै साक्षी भक्तबहादुरले प्रधानपञ्च गणेशदाशले रसिद जालसाजी गरिदिएको होइन । राजीनामा पनि जालसाजी होइन, थाहा छैन भनी बकपत्र गरेको देखिनाले समेतका सबूदबाट राजीनामा ४ र रसिद थान ४ समेत ८ थान कागज जालसाजी भन्ने वादी दावी पुग्न सक्दैन । वादीले झुठ्ठा उजूर गरेको ठहर्छ भन्ने समेत सिन्धुपाल्चोक जिल्ला अदालतको फैसला ।

७.सो फैसलामा चित्त बुझेन भन्ने वादी कर्णबहादुरले बागमती अञ्चल अदालतमा गरेको पुनरावेदनपत्र ।

८.वादीले भ्रष्टाचार गरे भनी निवेदन गरी प्र.जि.अ. को कार्यालय सिन्धुपाल्चोकमा चलेको मुद्दामा जग्गाको हक बेहक देखिएको भन्ने प्र.जि.अ. को निर्णयमा लेखिएको सो राजीनामा गरी लिनु दिनु गरेको जग्गा हक बेहकतर्फ वादीले उजूर दावी गरेको पनि देखिँदैन यस्तो स्थितिमा जालसाजी नठहराएको शुरुको इन्साफ मनासिव ठहर्छ भन्ने बागमती अञ्चल अदालतको फैसला ।

९.सो फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादीले म.क्षे.अ.मा दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त गरेको रहेछ ।

१०.तुल्सीदेवीले काशीराजलाई राजीनामा गरिदिएको भनेको जग्गा वादीको नाममा दर्ता तिरो रहेकोमा प्रतिवादी सावित देखिन्छ । वादीबाट सो जग्गाको कुनै हक छुटाएको प्रमाण प्रतिवादीबाट पेश भएको देखिन्न । वादी दर्ताको जग्गामा वादीको हक छुटाएको प्रमाण बेगर काशीराज, तुल्सीले लिनु दिनु गरेको क्रिया कीर्ते कागजको ३ नं. को व्यवस्थाभित्र पर्ने देखिँदा हक नपुग्ने जग्गाको रसिद र राजीनामा जालसाजी होइन भन्न मिल्ने नदेखिँदा शुरु अञ्चलको फैसला मिलेको देखिएन । जग्गा दिने तुल्सीदेवी र लिने काशीराज देखिएकोले निजहरूले रसिद गरिदिनेलाई विश्वास पारी रसिद गराएको रसिदको आधारबाट राजीनामा गराई लिने काशीराज नै देखिन आएकोले काशीराज, तुल्सी बाहेकका अन्य प्रतिवादीहरूले जालसाज गरेको भन्ने पक्का प्रमाणको अभावमा सजायँ गर्न नमिल्ने हुँदा वादी दावीका राजीनामा रसिदहरू समेत काशीराज तुल्सीदेवीलेसम्म जालसाज गरेको ठहर्छ भन्ने समेत म.क्षे.अ.को मिति २०३८।७।१६ गतेको फैसला ।

११.सो फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादीहरूको यस अदालतमा परेको निवेदनपत्र ।

१२.यसमा २०२१ सालको रसिदहरू तथा २०२७ सालको राजीनामाहरूका विषयमा २०३१ साल जेष्ठमा मात्र फिराद परेको देखिन्छ । भए गरेको मितिले कीर्ते कागजको १८ नं. बमोजिम २ वर्ष भित्र फिराद गर्नु पर्नेमा सो म्याद नघाई फिराद परेको पाइन्छ । म.क्षे.अ.ले सो कीर्ते कागजको महलको १८ नं. को त्रुटी गरेकोले पुनरावेदनको अनुमति दिइएको छ, भन्ने समेत डिभिजनबेन्चको आदेश ।

१३.२०२४ सालको तिरो तिरेको रसिद वादी कर्णबहादुरले पेश गरेको सो रसिदमा रैतिको नाममा कर्णबहादुर ठकुरी र कान्छी आमा तुल्सीदेवी भन्ने उल्लेख भएकोलाई कान्छी आमा तुल्सीदेवी भन्ने शब्दहरू जालसाजीबाट राखेको भए २०२५।१।२९ मा गरिदिएको सो रसिद बारे ऐनका म्यादभित्र उजूर वाजूर गरी बदर गराउन सकेको समेत नदेखिनाले यस्तो स्थितिमा प्रतिवादी तुलसा र काशीराजले जालसाजी गरेको ठहराई म.क्षे.अ.ले गरेको इन्साफ मिलेको देखिन आएन । सो फैसला उल्टी हुने ठहर्छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४१।६।२६ को फैसला ।

१४.श्री ५ महाराजाधिराज सरकारका जुनाफमा मुद्दा दोहोर्‍याई पाउँ भनी वादीले चढाएको बिन्तिपत्रमा मुद्दा फुलबेञ्चबाट दोहोर्‍याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम बक्सेको छ भनी मौसुफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४३।१।२३ मा तोक लागी आएको रहेछ ।

१५.निवेदक वादीतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री प्रकाश वस्तीले वादीका नाममा जग्गा दर्ता छ रैकर परिणत गराएको छ । साथै भूमि सुधार फाराम समेत भरेको छ । तुल्सीदेवी वादीको कान्छी आमा अंशियार हुन् । तर हक छाडेको लिखत छैन । वादीका नामको जग्गा तुल्सीदेवीले बिक्री गर्न हकै पुग्दैन । २०२४ सालको तिरो तिरेको रसिदमा कर्ण  बहादुर तुल्सीदेवीको नाम उल्लेख छ । तुल्सीदेवीको नाम पछि घुसाएको हो । तसर्थ प्रतिवादी तुल्सीदेवीले जग्गा बिक्री गरेको जालसाजी हो भन्ने प्रष्ट छ । सर्वोच्च अदालत डिभिजनबेन्चले जालसाजी नठहराएको इन्साफ मिलेको छैन । जालसाजी ठहराएको क्षेत्रीय अदालतको इन्साफ सदर हुनुपर्दछ भन्ने विपक्षी प्रतिवादीहरूतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्माले प्रतिवादी तुल्सीदेवीलाई अंशियार होइन भनी फिराद दिएको छ । बिन्तिपत्रमा आधा हक लाग्ने भन्ने लेखिएको छ । रसिद र राजीनामा भएका मितिले ऐनको म्यादभित्र वादीको फिराद परेको छैन । भ्रष्टाचार मुद्दामा हक बेहकमा नालिश गर्न प्र.जि.अ. ले सुनाएकोमा हक बेहकमा नालिश गर्न सकेको पनि छैन । तसर्थ सर्वोच्च अदालत डिभिजनबेन्चले गरेको निर्णय सदर हुनु पर्दछ भन्ने समेत बहस गर्नु भयो ।

१६.आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा सर्वोच्च अदालत डिभिजनबेन्चको इन्साफ मिलेको छ, छैन ? सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।

१७.यसमा निर्णयतर्फ हेर्दा प्रतिवादी तुल्सीदेवी मेरो अंशियार होइन मेरा नाम दर्ताको ४ किल्ला जग्गा र घर समेत रु.१००।का दरले अघिको मिति राखी २०२९।३।६ मा जालसाजीबाट ४ थान राजीनामा गरिदिएको र मेरो रसिदको किनारामा तुल्सीमाया समेतको भन्ने जनाई जालसाजी गरे सजायँ गरिपाउँ भन्ने समेत निवेदकको फिराद दावी देखिन्छ ।

१८.वादी कर्णबहादुरले आफ्नो फिराद साथ पेश गरेको २०२४ सालको तिरो तिरेको मिति २०२५।१।२९ गतेको रसिदमा रैतिको नाम, थर, वतन कर्णबहादुर ठकुरी कान्छी आमा तुल्सी भन्ने उल्लेख भएको देखिन्छ । रसिदमा तुल्सादेवीको नाम थपिएको जालसाजी भनी दावी लिएको छ । सो रसिदको सम्बन्धमा भ्रष्टाचार गरे भनी यिनै वादीले विशेष प्रहरीको अधिकार प्राप्त अधिकारी समक्ष उजूर दिएकोमा २०३०।१२।२२ मा प्र.जि.अ. कार्यालय सि.धु.पा. बाट निर्णय भएको भनि बागमती अञ्चल अदालतको इन्साफमा उल्लेख भएको पाइन्छ । त्यसबाट सो रसिदमा तुल्सादेवीको नाम थपेको कुरा मौकैमा वादीलाई थाहा जानकारी भएको मान्नु पर्ने अवस्था देखिएको छ । वादीले जालसाजी भनेको प्रतिवादी तुल्सादेवीले बिक्री गरेको घर जग्गा अंश भाग पाएको भन्ने प्रतिवादी तुल्सादेवीको जिकिर देखिन्छ । वादी कर्णबहादुर तथा प्रतिवादी मध्येका तुल्सादेवी अंशियार रहेको भन्ने कुरामा विवाद देखिएन । यस स्थितिमा वादी दावी बमोजिम राजीनामा र रसिद जालसाजी भन्न सकिने अवस्था रहेन । तसर्थ प्र.तुल्सा र काशीराजले जालसाजी गरेको ठहराएको म.क्षे.अ.को इन्साफ मिलेको नदेखिएको भनी सो फैसला उल्टी हुने ठहराएको सर्वोच्च अदालत डिभिजनबेन्चको इन्साफ मनासिव ठहर्छ ।

 

उक्त रायमा हामीहरू सहमत छौं ।

न्या.हरिगोविन्द सिंह प्रधान,

न्या.प्रचण्डराज अनिल

 

इति सम्वत् २०४४ साल चैत्र १८ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु