शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७०८७ - वकसपत्र वदर ।

भाग: ४४ साल: २०५९ महिना: भाद्र अंक:

निर्णय नं.७०८७     ने.का.प.२०५९ अङ्क ५/६

 

पूर्ण इजलास

सम्माननीय प्रधानन्यायाधीश श्री केशवप्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री कृष्णकूमार वर्मा

माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा

माननीय न्यायाधीश श्री टोपबहादूर सिंह

माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी

माननीय न्यायाधीश श्री रामनगिना सिंह

माननीय न्यायाधीश श्री सूशीला सिंह सिलू

संवत् २०५४ सालको दे.पु.इ.नं. .. १२६

फैसला मितिः २०५८।५।१४।५

 

मुद्दा: वकसपत्र वदर ।

 

पुनरावेदक

प्रतिवादीः राप्ती अंचल, दाङ देउखुरी जिल्ला नारायणपुर गा.वि.स. वडा न. ११ वस्ने मिनवहादुर   वस्नेत

विरुद्व

प्रत्यर्थी

वादीः राप्ती अंचल, दाङ देउखुरी जिल्ला त्रिभुवन न.पा. वडा ११ घोराही वजार वस्ने वेदकुमारी   वस्नेत समेत

 

§  हक छाडि दिन सकिने व्यवस्था मुलुकी ऐनले विभिन्न महलमा विभिन्न अवस्थामा गरेको र तत् तत् महलमा नालिस गर्ने हदम्यादको समेत छुट्टाछुट्टै व्यवस्था गरेको हुनाले हक छोडि दिएकै अवस्था भएपनि सवै प्रकृतिको हक हस्तान्तरणमा नालिस गर्ने हदम्याद सम्वन्धमा लेनदेन व्यवहारकै १० नं. नै आकर्षित हुन्छ भन्ने अनुमान गर्न कानूनसंगत नहुने ।

§  विधायिकाद्वारा नै अलग अलग अवस्था र तथ्यका लागि अलग अलग रुपमा गरिएको कानूनी व्यवस्थालाई त्यही रुपमा हेर्नु पर्ने हुंदा आफूलाई सजिलो पर्ने किसिमले स्पष्ट रुपमा भइरहेको व्यवस्थालाई अनदेखा गरी जवरजस्ति व्याख्या गर्नु न्यायोचित नहुने ।

§  बकस पत्र वदर सम्वन्धी विवादमा दान बकसको ५ नं. कै हदम्याद पक्डी फिराद परेको देखिएकाले लेनदने वयवहारको १० नं. कै हदम्याद लागू हुने भन्ने विद्वान कानून व्यवसायीको वहससंग सहमत हुन नसकिने ।

(प्र.नं. १८)

§  वण्डा गर्नुपर्ने प्रकृतिको सम्पत्तिको प्रकृति कस्तो हुने र आफूखुश गर्न पाउने सम्पत्ति कुन प्रकृति र स्वरुपको हुने हो भन्ने सम्बन्धमा मुलुकी ऐन अंशवण्डाको महलको १८ र १९ नं. को व्यवस्थालाई नै अध्ययन गर्नुपर्ने ।

(प्र.नं. २०)

§  अंशवण्डाको विवाद नभएकोले १८ न. मा व्यक्त सगोलको सम्पत्ति र निजी आर्जनको प्रकृतिका सम्पत्ति के हो भन्ने सम्वन्धमा विवेचना हुन नपर्ने र प्रमाण ऐन, २०३१ का दफा ६ (क) ले सगोलको अनुमान गर्नुपर्ने भन्ने व्यवस्थाका सम्वन्धमा प्रस्तुत मुद्दामा बकस पत्रको लिखत वदरको विवाद भएको अवस्था हुँदा पनि हेर्नुपर्ने भन्ने भनाईसंग सहमत हुन नसकिने ।

§  दान बकसको १ नं. मा प्रयुक्त आफ्नो हक पुग्ने सम्पत्ति दान वा बकस गरी दिन हुन्छ । आफ्नो खुस गर्न पाउने बाहेक अंशियार र हक हुनेहरुको मन्जुरीको लिखत नलिई वा साक्षी नराखी दान बकस गरी दिन हुँदैन भन्ने शव्दावलीले अंशवण्डाको महलको १८ नं. ले वण्डा गर्न कर नलाग्ने र १९ नं. को देहाय २ ले आफ्नो पालामा आर्जित संपत्ति आफूखुस गर्न पाउने नै देखिने ।

§  विवादित सम्पत्ति प्रतिवादी तेजवहादुर वस्नेतको आफूखुस गर्न पाउने सम्पत्ति रहे भएको पाइएकोले पुनरावेदक प्रतिवादीलाई बकसपत्र गरिदिंदा वादीहरुको मंजूरी लिईरहनु पर्ने अवस्था नहुँदा सो लिखत सदर गर्नु पर्नेमा दावी बमोजिम लिखत वदर हुने ठहर्‍याएको शुरु दाङ देउखुरी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत नेपालगन्जको फैसला मिलेको नदेखिंदा उल्टी हुने ।

(प्र.नं.२२ देखि २४)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विव्दान अधिवक्ता श्री वालकृष्ण न्यौपाने

प्रत्यर्थी वादी तर्फबाटः विव्दान अधिवक्ता श्री शम्भु थापा

अवलम्वित नजिरः

 

फैसला

            न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत, नेपालगंजको मिति २०५०।१।९ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (ख) बमोजिम मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(२) बमोजिम यस पूर्ण इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं यस अदालतको ठहर यस प्रकार छ :

२.    विपक्षी मध्येका तेजवहादुर वस्नेत हामी फिरादीका लोग्ने तथा बाबु र मिनबहादुर वस्नेत जेठाजु तथा ठुला बाबु हुनु हुन्छ । विपक्षीहरु कानून बमोजिम छुट्टि भिन्न भई सक्नु भएको छ। विपक्षी बाबु तथा लोग्ने तेजबहादुर वस्नेत समेत हामी ४ अंशियार एकासगोलमा छौं। हामी बीच अंशवण्डा भएको छैन । हामी स्वास्नी मानिस र नावालक भएकोले विपक्षीहरुले नाजायज फाइदा उठाउने नियतले आफू भन्दा सानो भाइ अर्थात हामी फिरादीहरुका बाबु लोग्नेलाई विपक्षी ठुलो बाबु जेठाजुले रिझाएको व्यहोरा उल्लेख गरी हामी फिरादीहरु समेतको अंश हक लाग्ने अन्यायी बाबु लोग्ने तेजबहादुरको नाउँमा दर्ता श्रेस्ता भएको दाङ नारायणपुर गा.पं. वडा नं. २(ग) कि.नं. ३५५ को ज.वि. ०१० तथा ऐ.ऐ. कि.नं. ३८६ को ज.वि. ०१० जग्गालाई हाम्रो मन्जूरी वेगर दाजुले भाइलाई रिझाएको भन्ने झुठा व्यहोरा उल्लेख गरी नारायणपुर गा.पं. अन्तर्गतको बजार नजिकको वहुमुल्य जग्गालाई मात्र रु. ८,०००। मूल्य अंकित गरी दाङ विजौरी वस्ने शालिक राम पौडेलको घरमा गई मिति २०४५।३।६ गतेको हालैको वकसपत्र खडा गरी दिएकोले उक्त जग्गा हामी समेतको अंश हक लाग्ने पिता पुर्खाको आर्जन तथा सो बाट बढे वढाएको सम्पत्ति दर्ता श्रेस्ता समेत गरी पाउँ भन्ने समेत व्यहोराको वेद कुमारी वस्नेत समेतको फिराद पत्र ।

            ३.    विवादको लिखतको सम्पत्ति पिता पूर्खाको पालाको सम्पत्ति भएको वा त्यस्तो सम्पत्तिवाट वढे वढाएको सम्पत्ति हो भन्ने सम्वन्धमा कुनै प्रमाण पेश हुन सकेको छैन । विवादको जग्गा मैले रुपैयां दिई साविक जग्गाधनी यज्ञप्रसाद गौतमबाट मिति २०४१।२।२९ मा भाइ तेजवहादुरले खरिद गरी लिएका हुन् । उक्त जग्गा तेजवहादुरले विभिन्न व्यक्तिलाई विक्री गर्दै जांदा हाल कि.नं. ३५५ र ३८६ कायम हुन आएको छ । मैले भाइलाई गरेको आर्थिक सहयोग समेतको गुण विर्सन नसकी निजले उक्त जग्गा मलाई बकसपत्र गरिदिएका हुन् । उक्त बकसपत्र गरिदिएको जग्गा भाइ तेजवहादुरको आफ्नै आर्जनको आफूखुसी गर्न पाउने सम्पत्ति भएकोले त्यस्तो सम्पत्ति कुनै पनि किसिमले हक छाडि दिनु पर्दैन अरुको मंजूरी लिनु पर्ने कानूनी व्यवस्था नभएकोले फिरादीको मंजूरी नलिई बकसपत्र गरिदिएका हुन् ।वादी दावी वमोजिम ४ खण्ड को ३ खण्ड वदर हुनु पर्ने होइन भन्ने समेत व्यहोराको मिनवहादुर वस्नेतको प्रतिउत्तर पत्र।

४.    प्रतिवादी तेजवहादुर वस्नेतको नाउँमा मिति २०४७।२।२४ मा तामेल भएको म्याद भित्र प्रतिउत्तर नपरेको ।

५.    वादीको अंश हक लाग्ने सगोलको सम्पत्ति दानवकसको १ नं. बमोजिम अंशियारहरुको मंजूरीको लिखत नलिई वा साक्षी नराखी वकस गरि दिएको देखिंदा फिरादीहरुको हकमा पर्ने ३ खण्ड लिखत वदर भै वादीहरुको नाउँमा दर्ता हुने ठहर्छ भन्ने समेत व्यहोराको दाङ देउखुरी जिल्ला अदालतको मिति २०४७।७।१९ को फैसला ।

६.    सर्वोच्च अदालतबाट प्रतिपादित नजिरहरुको आधारमा समेत तेजवहादुरले मलाई गरिदिएको बकसपत्रको लिखत अंशियार भएको मात्र कारणले वादीहरुले वदर गराउन पाउने होइनन् । वादीको दावि वमोजिम ३ भाग लिखत वदर गर्ने गरेको दाङ जिल्ला अदालतको फैसला वदर गरी पाउँ भन्ने समेत व्यहोराको मिनवहादुर वस्नेतको पुनरावेदन अदालत,नेपालगंजमा परेको पुनरावेदन पत्र ।

७.    वादीहरुको समेत अंश हक लाग्ने सम्पत्ति प्र. तेजबहादुरले २०४५।३।६ को बकसपत्रद्वारा प्रतिवादी मीनवहादुरलाई हस्तान्तरण गर्दा दानवकसको १ नं. ले एका सगोलमा यी अंशियार वादीहरुलाई साक्षी राखेको वा निजहरुको मंजूरी लिएको नदेखिंदा वादी दावी अनुसार ४ खण्डको ३ खण्ड लिखत वदर भै सो अनुसारको जग्गा वादीहरुका नाउँमा दर्ता हुने समेत ठहराएको शुरु दाङ जिल्ला अदालतको फैसला मिलेकै देखिंदा मनासिव ठहर्छ भन्ने समेत वयहोराको पुनरावेदन अदालत, नेपालगंजको मिति २०५०।१।९ को फैसला ।

८.    मैले बकसपत्र लिएको जग्गा विपक्षीहरुका पति पिता तेजवहादुरको स्वआर्जनको सम्पत्ति भएको कुरालाई शुरु र पुनरावेदन अदालतको फैसलामा स्वीकार गरेको देखिन्छ । स्वआर्जनको आफूखुस गर्न पाउने यस्तो सम्पत्ति बकसपत्र दिंदा विपक्षीहरुको मन्जूरी लिनु पर्दैन। पिता पुर्खाको पालाको सम्पत्तिवाट वढे वढाएको भनी दावी गर्ने फिरादीले प्रमाण ऐन, २०३१ को दफा २६ अनुसार दावी प्रमाणित गर्नुपर्छ । पुनरावेदन अदालतको फैसलामा अंशवण्डाको १९ नं. लेनदेन व्यवहारको १० नं. समेतको त्रुटि भएकोले वदरभागी छ भन्ने समेत व्यहोरको प्रतिवादी मिनवहादुर वस्नेतको यस अदालतमा परेको निवेदन पत्र ।

            ९.    वादी वसन्तकुमार, गोविन्द वस्नेत नावालक देखिएकोले निजहरुको मंजुरी लिई रहनु नपर्ने भई निजहरुको माग बमोजिम वदर गरेको शुरु फैसला सदर गरेको पुनरावेदन अदालतको फैसलामा ने.का.प. २०४८ नि.नं. ४४२२ पृष्ठ ७८१ मा प्रतिपादित नजिरको त्रुटि देखिन आएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(ख) अन्तर्गत मुद्दा दोहोर्‍याउने निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत, संयुक्त इजलासको मिति २०५१।८।१ को आदेश ।

१०.    यस अदालत संयुक्त इजलासबाट समान प्रश्न समावेश भएको पुनरावेदक वादी रामकुमार विष्ट विरुद्व प्रत्यर्थी प्रतिवादी सानुनानी विष्टिनी समेत भएको लिखित वदर मुद्दामा (ने.का.प. २०४४ नि.नं. ३०७४ पृ. ४७८) अंशवण्डाको १९ नं. मा भएको व्यवस्था स्वास्नी छोरा वा विधुवा बुहारी भएका मानिसलाई आफ्नो घर व्यवहार चलाउन अचलको आधिसम्म आफूखुस गर्न पाउने गरी अधिकार प्रदनन भएको, विद्यवा वुहारी नाती, छोरा भएका स्वास्नी मानिसलाई सो अधिकार दिएको भन्न नमिल्ने सगोलको सम्पत्ति राजीनामा बिक्री गरिदिएको नदेखिई हालैको बकसपत्र गरिदिएको देखिन आएकोले दानबकसको महलमा सो बमोजिम गर्न पाउने अधिकार कसैलाई प्रदान गरको देखिदैन । भनि सिद्धान्त प्रतिपादन भएको तथा पुनरावेदन वादी केशवप्रसाद नेपाल समेत विरुद्व प्रत्यर्थी प्रतिवादी निलकण्ठ नेपाल समेत भएको बकसपत्र वदर मुद्दा ने.का.प. २०४८ नि.नं. ४४२२ पृ. ७८१) बकसपत्र वदरको लागि परको फिरादमा समेत अंशवण्डाको १९(१) नं. को कानूनी व्यवस्था प्रयोग गरी २१ वर्ष उमेर ननाघेको हकमा सदर गरी अरु फिरादीको हकमा लिखत वदर गरेको देखियो । यसरी समान प्रश्न समावेश भएका उपर्युक्त दुई फैसलाहरुमा प्रतिपादित सिद्धान्तमा एकरुपता (नदेखिएको र प्रस्तुत मुद्दाको बकसपत्रको  लिखतमा समेत पटक पटक घर व्यवहार चलाउने प्रयोजनका लागि रुपैया दिई सहयोग गरको भन्ने व्यहोरा उल्लेख भएको समेत नहुँदा व्यवहार चलाउने प्रयोजनको लिखत वकसपत्रको व्यहोरावाट नदेखिएको स्थितमा अंशवण्डाको पहकलो १९ नं. आकर्षित हुन सक्ने देखिन आएन । तसर्थ दानबकसको १ नं. ले एकासगोलका यी अंशियार वादीहरुलाई साक्षी राखेको वा निजहरुको मंजूरी लिएको नखेखिंदा वादी दावी अनुसार ४ खण्डको ३ खण्ड लिखत वदर भई सो अनुसारको जग्गा वादीहरुको नाउँमा दर्ता हुने समेत ठहराएको शुरु इन्साफ सदर गर्ने गरेको पुनरावेदन अदालत, नेपालगंजको फैसला मिलेकै देखियो । तर यस अदालत संयुक्त इजलासको ने.का.प. २०४८ निं. नं. ४४२२ पृ. ७८१ मा प्रकाशित प्रतिपादित सिद्धान्त संग यो इजलास सहमत नहुँदा सर्वोच्च अदालत नियमावाली, २०४९ को नियम ३(१) (ख) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५४।८।२७।६ को फैसला ।

            ११.    यसमा पुनरावेदक वादी रामकुमार विष्ट समेत विरुद्व प्रत्यर्थी प्रतिवादी सानुमाया विण्टनी समेत भएको लिखत वदर मुद्दामा (ने.का.प. २०४८, नि.नं. ३०७४, पृ. ४७८) र पुनरावेदक वादी केशवप्रसाद नेपाल समेत विरुद्व प्रत्यर्थी प्रतिवादी निलकण्ठ नेपाल समेत भएको वकस पत्र वदर मुद्दामा (ने.का.प. २०४८, नि.न. ४४२२, पृष्ठ ७८१) दुई संयुक्त इजलासवाट प्रतिपादित सिद्धान्तमा एक रुपता नभएको र ने.का.प. २०४८, नि.नं. ४४२२, पृष्ठ ७८१ मा प्रतिपादित सिद्धान्तसंग संयुक्त इजलास सहमत हुन नसकेको भनी पेश हुन आएको प्रस्तुत मुद्दा तीन जना भन्दा वढी न्यायाधीशहरुको इजलासमा पेश गर्न उचित हुँदा सम्माननीय प्रधानन्यायाधीश समक्ष पेश गरी नियमानुसार गर्नु भन्ने समेत व्यहोराको यस अदालत तीन सदस्यीय पूर्ण इजलासको मिति २०५५।११।२० को आदेश ।

१२.   आफ्ना पालाको सम्पत्ति आफूखुस गर्न पाउने स्पष्ट अधिकार अंशवण्डाको १९ नं. को देहाय २ ले दिएपछि निजी आर्जन सरह त्यसको स्वरुप निर्धारण गर्न कानूनको सटिक व्याख्या मान्न मिलेन ।  पुनरावेदक वादी गितादेवी रिमाल समेत विरुद्व प्रत्यार्थी प्रतिवादी भुवनमान शाक्यको मु.स. गर्ने मासिनमाया शाक्य भएको लिखत बदर मुद्दा (ने.का.प. २०५५, पृ. १५१) मा यस अदालत वृहत पूर्ण इजलासवाट तत्कालीन अवस्थामा विद्यमान लेनदेन व्यवहारको १० नं. मा उल्लेखित आफूले आर्जेको भए संग वस्नेको मन्जूरी लिनु पर्दैन भन्ने शव्दावली अनुसार आफूले आर्जेको अचल सम्पत्ति राजीनामा गरीदिंदा अरुको मन्जूरी लिनु नपर्ने सिद्धान्त प्रतिपादन भएको पाइन्छ । साविक मुलुकी ऐन लेनदेन व्यवहारको १० नं. मा वर्णित आफूले आर्जेको भन्ने शव्दहरु र हाल अंशवण्डाको १९ नं. को देहाय २ मा उल्लेखित आफ्ना पालामा आर्जेको भन्ने परिकल्पना नै गर्न नमिल्ने समेत भएवाट लक्ष्मीदेवी वास्तोलाको मुद्दामा वृहत पूर्ण इजलासबाट प्रतिपादित सिद्धान्तसंग सहमत नहुँदा यस सम्वन्धमा एउटा निश्चित सिद्धान्त कायम गर्नको लागि प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(२) बमोजिम पांचजना भन्दा बढी न्यायाधीशहरुको वृहत पूर्ण इजलासवाट हेरिन उपयुक्त देखिंदा नियमानुसार पेश गर्ने भन्ने समेत व्यहोराको यस अदालत पांच सदस्यीय पूर्ण इजलासको मिति २०५७।४।२६ को फैसला ।

१३.   नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फवाट विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने प्रतिवादीहरु तेजबहादुर र मिनबहादुर बिच अंशवण्डा भै सकेपछि विवादित जग्गा यज्ञप्रसादबाट राजीनामाबाट खरिद गरी तेजबहादुरले किनेको र उक्त जग्गा मिनवहादुरलाई हालैको बकस गरिदिएको हो । उक्त जग्गा अंशवण्डाको १९(२) नं. बमोजिम तेजबहादुरले आफ्नो खुस गर्न पाउने सम्पत्ति भएकोले दान बकसको १ नं. बमोजिम वादीहरुहको मंजुरी नलिई बकस दिएको कानूनसंगत नै छ । प्रस्तुत मुद्दा लेनदेन व्यवहारको १० नं. को हदम्याद नाघी दायर गरेकोले त्यस्तो हदम्याद नाघी परेको फिराद खारेजभागी छ । वादीहरु मध्ये केही नावालक रहे भएको समेत अवस्थामा निजहरुको मंजुरी लिनु पर्ने समेत भन्ने समेत व्यहोराको वहस जिकिर प्रस्तुत गर्नु भयो ।

१४.   प्रत्यर्थी वादीको तर्फवाट विद्वान अधिवक्ता श्री शम्भु थापाले विवादित जग्गा तेजवहादुरले खरिद गरी लिएको भएतापनि उक्त जग्गा निजको आफ्नो आर्जनवाट खरिद गरेको भन्ने प्रमाण पेश हुन सकेको छैन । आफ्नो पालामा आर्जेको सम्पत्ति आफूखुस गर्नलाई त्यस्तो सम्पत्ति अंशवण्डाको १८ नं. बमोजिम निजी आर्जनको हुनु पर्ने हुन्छ । सगोलको अंशियारले खरिद गरी लिएको सम्पत्ति प्रमाण ऐन, २०३१ को दफा ६(क) ले अन्यथा प्रमाणित नभएसम्म सगालेको सम्पत्ति हुने र त्यस्तो संपत्ति सवै अंशियारको वीच अंश लाग्ने हुँदा त्यस्तो अदालतको अनुमान खण्डन गर्ने भार सोही ऐनको दफा २९ ले प्रतिवादीकोनै हुन्छ । वादी र दाता तेजवहादुर सगोलको अंशियार भन्नेमा विवाद नभएको, विवादित संपत्ति सगोलको होइन भनि प्रमाणित गर्न सकेको नपाइएवाट सवै अंशियारको भाग लाग्ने सम्पत्ति मान्न पर्ने देखिएको हुन्छ । वादीहरुको मंजूरी विना वकस गरी दिएको कानून विपरीत छ । ने.का.प. २०५४, पृ. १ मा प्रतिपादित नजिर समेतले आफ्नो पालामा आर्जेको सम्पत्ति अंशवण्डाको १८ नं. ले निजी ठहर्ने प्रकृतिको भए मात्र ऐ.को १९ नं. ले आफूखुस गर्न पाउने गरी व्याख्या भएको छ । ने.का.प. २०५५ नि.नं. ६५२० मा प्रतिपादित नजिर लेनदेन व्यवहारको १० नं. को सन्दर्भमा भएको हुँदा, अंशवण्डाको १८ र १९ नं. को व्याख्या गर्नुपर्ने अवस्था रहेको प्रस्तुत मुद्दामा आकर्षित हुन सक्दैन । २१ वर्ष उमेर नपुगेको छोराहरुको मंजुरी लिनु पर्ने सन्दर्भमा अंशवण्डाको १९ नं. आकर्षित नभै दान बकसको १ नं. आकर्षित हुने हुँदा मंजुरी लिनु नपर्ने भन्ने कानूनी व्यवस्था र सिद्धान्त प्रस्तुत मुद्दामा आकर्षित हुन सक्तैन । तसर्थ दावी बमोजिम लिखत वदर हुने ठहर गरेको पुनरावेदन अदालत नेपालगंजको फैसला सदर हुनु पर्दछ भन्ने समेत व्यहोराको वहस जिकिर प्रस्तुत गर्नु भयो ।

१५.   आज निर्णय सुनाउन तोकिएको उपर्युक्त बमोजिमको तथ्य र निर्णय (राय) प्रस्तुत भएको यस मुद्दामा दुवै तर्फको कानून व्यवसायीहरुको वहस र प्रेषित वहसनोट समेतको अध्ययन गर्दा निम्न प्रश्नको निर्णय हुनु पर्ने देखियो ।

(१)    पूर्ण इजलासको मिति २०५७।४।२६  को फैसलामा उल्लेख भएको लक्ष्मी देवी                वास्तोला समेत विरुद्व इन्द्र मोहन अधिकारी समतेको लिखत वदर मुद्दा र                         पुनरावेदक वादी मु.स गर्ने गीता देवी रिमाल समेत विरुद्व भुवनमान शाक्यको                मु.स. गर्ने मसिम माया शाक्य भएको लिखत वदर मुद्दाको राय एक अर्कासंग                  वाझिएको छ छैन ।

 

(२)   प्रस्तुत मुद्दामा लेनदेन व्यवहारको १० नं. मा व्यवस्थित हदम्याद लाग्ने हो वा               दान बक्सको ५ नं. मा व्यवस्थित हदम्याद लाग्ने हो ?

      (३)   विवादित सम्पत्ति दाता तेजवहादुरको आफ्ना पालामा आर्जेको सम्पत्ति हो होइन ?                   र निजले कसैको मंजूरी विना सो सम्पत्ति आफूखुस गर्न पाउने हो होइन ?

 

            १६.    सर्वप्रथम राय वाझिएको छ छैन भन्ने तर्फ विचार गर्दा पूर्ण इजलासको फैसलामा उल्लेख भएको लक्ष्मी देवी वास्तोला समेतको र गीता देवी रिमालको मुद्दाको तथ्य र सो मुद्दाको निर्णय हेर्दा लक्ष्मी देवी वास्तोला समेतको लिखत वदर गरी पाउं भन्ने मुद्दामा पति पिता कलाधारले एकासगोलमा वसी आएका हामी अंशियारलाई थाहै नदिई  हाम्रो मंजूरी वेगर अचल संपति जग्गा राजीनामा गरिदिएकोले हाम्रो भाग वदर गरी पाउँ भनी दाता कलाधरकी श्रीमति लक्ष्मी देवी र छोरा हरिकृष्ण वास्तोलाको फिराद परेको र फिरादमा सो जग्गा अंशवण्डाको १८ नं. को व्यवस्था बमोजिम कलाधरको निजी आर्जनको नभएको वण्डा गर्नुपर्ने सम्पत्ति हो भन्ने मूल जिकिर वादीहरुको भएकोमा अंशवण्डाको १९ नं. ले घर व्यवहार चलाउन आधासम्म आफू खुस गर्न पाउने हुँदा आधा बिक्री गरेको उक्त जग्गा डम्वरवहादुरवाट आफ्नो कमाई र ऋण समेतवाट आफैले किनेको हुँदा लिनु दिनु गरेको भन्ने प्रतिउत्तर जिकिर भएकोमा विवादको जग्गा निजी र आफ्नो पालामा आर्जेको भन्ने देखिन नआएकोले सो सम्पत्तिको प्रकृति र स्वरुपको सम्वन्धमा सम्वद्व कानूनी व्यवस्थाको उल्लेखन भै सारत जग्गा निजी र आफ्नो पालाका आर्जन नदेखिएको भन्ने आधारमा आफ्ना पालाको आर्जन भएकोले अंशवण्डाको १९ नं. बमोजिम लेनदेन गरेको भन्ने प्रतिवादी तर्फको कथन स्वीकार्य नभै सो १९ नं. को व्यवस्था प्रतिकूल गरिएको राजीनामाको लिखत वादीहरुको हकसम्म वदर भएको पाइन्छ ।

१७.   पुनरावेदक वादी मुरारीप्रसादको मु.स. गर्ने गीता देवी रिमाल समेत भएको लिखत बदर पुद्दामा नन्दनप्रसाद, मुरारीप्रसादको साख्यै भाइ र राधादेवीको देवर भएको, पिता तथा ससुराको स्वर्गे भई सकेको अंशवण्डा नभएको, भाइको नाममा संगोलमा खरिद गरेको हाम्रो समेत हक लाग्ने जग्गा हाम्रो मन्जुरी वेगर राजीनामा गरिदिएकोले आफ्नो भाग जतिको लिखत वदर गरी पाउँ भनि दाता नन्दनप्रसादका भाइ तथा भाउजुले फिराद गरेको र नन्दनप्रसादले आफ्नो आर्जनवाट किनेको घर जग्गा लेनदेन व्यवहारको ८ नं., अंशवण्डाको १८ र १९ नं. ले बेचविखन गर्न पाउने हुँदा वदर हुनु पर्ने होइन भन्ने प्रतिउत्तर भएकोमा २०३३।९।२ मा लिखत भएको सो लिखत हुँदा वहाल रहेको लेनदेन व्यवहारको १० नं. ले आफूले आर्जेको भएसंग वस्नेको मंजुरी लिन पर्दैन भन्ने देखिन आएको समेत र नन्दनप्रसादले घर व्यवहार गरी आएको तथ्य समेत पुष्टि हुन आएकोले वादीहरुको मंजूरी लिनु नपर्ने भन्ने निर्णय  भएको पाइन्छ । यसरी लक्ष्मी देवी वास्तोला समेत भएको मुद्दामा विवादको सम्पत्ति दाताको पालाको आर्जन भएको नदेखिएको कारणले निजी आर्जन र आफ्नो पालाको आर्जन सम्वन्धी कानूनी व्यवस्थाको उद्धारणसम्म गरी माग वमोजिम लिखत वदर हुने र गितादेवी रिमाल समेतको मुद्दामा पनि आफ्नो पालाको आर्जन भए मन्जुर लिन नपर्ने कानूनी व्यवस्था भएको पाइए पनि विवादित जग्गा दाता नन्दनप्रसादले २०२५।१२।१८ मा राजीनामावाट खरिद गरी लिएकोले निजको पालाको आर्जन भएको भन्ने समेत आधारमा वादीहरुको मंजुरी लिनु पर्ने कानूनी अनिवार्यता नदेखिएको भन्ने फैसला भएबाट दुवै मुद्दाको सारभूत निर्णय आफ्नो पालामा आर्जेको सम्पत्ति भए साविकको कानून र हाल वहालमा रहेको कानूनी व्यवस्थाको रोहमा समेत हक छोडि दिंदा हकवाला वा अंशियार वा स्वास्नी छोराको मंजूरी लिन नपर्ने भन्ने निर्णय भएको देखिदा राय पृथक भई वाझिएको भन्ने अवस्था देखिन आएन ।

            १८.   पुनरावेदक प्रतिवादी तर्फवाट उपस्थित हुनु भएका विद्वान अधिवक्ताले प्रस्तुत मुद्दाको फिराद लेनदेन व्यवहारको १० नं. बाट व्यवस्थित हदम्याद नाघी दायर भएको भन्ने जिकिर लिएको पाइएकाले त्यस तर्फ पनि निर्णय गर्नुपर्ने हुन आएको छ । त्यस तर्फ बिचार गर्दा प्रतिवादी तेजवहादुरले यी पुनरावेदक प्रतिवादी मिनवहादुर वस्नेतलाई हालैको वकस पत्र गरि दिएको भन्नेमा विवाद छैन । त्यसरी वबसपत्र गरिदिंदा हाम्रो मंजुरी नलिएको हुँदा हामी फिरादीको अंश भागमा वर्ने ३ खण्ड जग्गाको हालैको वकपत्र लिखत वदर गरी पाउँ भनि अ.वं. ८२ नं. र दानबकसको १ नं. र ५ नं. को कानूनी व्यवस्थालाई टेकी प्रस्तुत फिराद परेको पाइन्छ। लेनदेन व्यवहारको १० नं. मा अंश नभएका अंशीयारले सगोलको अचल सम्पत्ति वेचविखन गर्दा वा कुनै किसिमले हक छाडी  दिदा ऐनले आफूखुस गर्न पाउने अरुको मंजूरी लिनु नपर्नेमा वाहेक अरुमा एकाघरसंगका अंशियार सवै साक्षी बसेको वा निजहरुले मञ्जुरीको लिखत गरि दिएको भए मात्र पक्का ठहर्छ । साक्षी पनि नवसेको र मञ्जुरीको लिखत पनि नभए मञ्जुर नहुनेले रजिष्ट्रेशन भएको मितिले एक वर्ष सम्ममा थाहा पाएको पैतिस दिनभित्र उजुरगर्‍यो  र निजको मञ्जुरी ठहरिएन भने निजको हक जति सो सम्पत्ति निजलाई फिर्ता गराई दिनु पर्छ भन्ने व्यवस्था गरिएको छ । दान बकसको १ नं. मा आफ्नो हक पुग्ने सम्पत्ति दान वा बकस गरिदिन हुन्छ । सो बमोजिम दान वा बकस गरी दिंदा हकवालालाई बकस भनि र अरुलाई दान वा बकस जुन व्यहोराले दिए पनि हुन्छ । आफ्नो खुस गर्न पाउने बाहेक अरुमा अंशियार  र हक पुग्नेहरुको मञ्जुरीको लिखत नलिई वा साक्षी नराखी दान वा बकस गरिदिन हुँदैन । र सोही महलको ५ न. मा आफूले दान बकस पाएको कुरामा आफ्नो हक पुगेको मितिले र दिन नहुने दानबकस दिएकोमा पाउनेको हक पुगी भोग चलन गनरेको मितिले दुई वर्ष भित्र नालिस नदिए लाग्न सक्तैन भन्ने व्यवस्था भएको पाइन्छ । लेनदेन व्यवहारको १० नं. को व्यवस्थाले अचल सम्पत्ति जुनसुकै तरिकावाट हक हस्तान्तरण गरी लेनदेन वयवहार भए पनि सो ऐनमा व्यवस्थित हदम्याद लाग्ने हो कि भन्ने जस्तो देखिन्छ र पुनरावेदक तर्फका विद्वान कानून व्यवसायीले यसैलाई सिरानी हाल्नु भएको पाइन्छ । हक छाडि दिन सकिने व्यवस्था मुलुकी ऐनको विभिन्न महलमा विभिन्न अवस्थामा गरेको र त्तत् तत् महलमा नालिस गर्ने हदम्यादको समेत छुट्टाछुट्टै  व्यवस्था गरेको पाइन्छ । यसैले हक छोडि दिएकै अवस्था भएपनि सवै प्रकृतिको हक हस्तान्तरणमा नालिस गर्ने हदम्याद सम्वन्धमा लेनदेन व्यवहारकै १० नं. आकर्षित हुन्छ भन्ने अनुमान गर्ने स्पष्ट अन्य कानूनी व्यवस्था भई रहेको अवस्थामा कानूनसंगत हुन सकदैन । विधायिकाद्वारा नै अलग अलग अवस्था र तथ्यका लागि अलग अलग रुपमा गरिएको कानूनी व्यवस्थालाई त्यही रुपमा हेर्नु पर्ने हुन्छ । आफूलाई सजिलो पर्ने किसिमले स्पष्ट रुपमा भइरहेको व्यवस्थालाई अनदेखा गरी जवरजस्ति व्याख्या गर्नु न्यायोचित हुन सक्दैन । तसर्थ प्रस्तुत विवाद बकस पत्र वदर सम्वन्धी भएको र दान बकसको ५ नं. कै हदम्याद पक्डी फिराद परेको देखिएकाले लेनदने वयवहारको १० नं. कै हदम्याद लागू हुने भन्ने विद्वान कानून व्यवसायीको वहससंग सहमत हुन सकिएन ।

            १९.    अव विवादित सम्पत्ति दाता तेजबहादुरको आफ्नो पालामा आर्जित सम्पत्ति हो होइन ? र निजले कसैको मंजूरी बिना सो सम्पत्ति आफूखुस गर्न पाउने हो होइन ? भन्ने सम्बन्धमा बिचार गर्दा, विवादका जग्गाहरु हामी सगोलका अंशियारहरुको समेत अंश लाग्ने सम्पत्ति हुँदा मंजूरी बेगर बकसपत्र गरी दिएकोले सो लिखत मध्ये हाम्रो भाग जति वदर गरी पाउँ भन्ने वादीको मुख्य दावी रहेको पाइन्छ । विवादित सम्पत्ति तेजवहादुरको आफ्नो पालाको आर्जित सम्पत्ति हो निजले आफूखुस गर्न पाउने सम्पत्ति हो भन्ने भनाई पुनरावेदक प्रतिवादीको रहेको देखिन्छ । पुनरावेदक तर्फका विद्वान कानून व्यवसायीले विवादको सम्पत्ति दाता तेजबहादुरको आफ्नो पालामा आर्जेको सम्पत्ति भएको हुनाले त्यस्तो सम्पत्ति बकसपत्र गरिदिंदा अंशवण्डाको महलको १९ को देहाय २ नं. ले मन्जुरी नलिईकन आफूखुस गर्न पाउंछ भन्ने र प्रत्यर्थी तर्फका विद्वान कानून व्यवसायीले वादीहरु र प्रतिवादी तेजबहादुर सगोलको अंशियार रहेको र सगोलमा जो सुकै अंशियारको नाममा रहेको भए पनि अन्यथा प्रमाणित नभए सगोलकै हुन्छ । प्रतिवादी तेजवहादुरले अंश वण्डाको १८ नं. बमोजिमको निजि आर्जनको हो भन्ने प्रमाणित गर्न नसकेकोले लक्ष्मी देवी वास्तोलाको मुद्दामा प्रतिपादित सिद्धान्तका आधारमा समेत लिखत बदर हुनु पर्दछ भन्ने समेत व्यहोराको वहस जिकिर लिएको पाइन्छ । यस प्रकार विवादको सम्पत्ति प्रतिवादी तेजवहादुरले आफूखुस गर्न पाउने प्रकृतिको सम्पत्ति हो होइन भन्ने मुल प्रश्न नै प्रस्तुत विवादमा रहेको छ ।

            २०.   फिरादमा उल्लेख भएको विवादको कि.नं. ३५५ र ३८६ को जग्गा साविकमा कि.नं. ३५१ र ३५२ को जग्गा रु १३,०००। मा  प्रतिवादी तेजबहादुरले यज्ञप्रसाद गौतमबाट २०४१।२।२९ मा पारित राजीनामाबाट खरीद गरी लिएको र सो पश्चात बिक्री गर्दै कित्ताकाट हुँदै बांकी रहेको उक्त कि.नं. ३५५ र ३८६ प्रतिवादी मिनवहादुरलाई बकसपत्र गरिदिएको तथ्यलाई वादी तर्फबाट अन्यथा भन्न सकिएको देखिन आउँदैन । कस्तो स्वरुप र प्रकृतिको सम्पत्ति कसरी प्रयोग नपाउने भन्ने सम्बन्धमा महिला पुरुष र घरको मुख्य व्यक्ति समेतका हकमा भिन्न भिन्न कानूनी व्यवस्था रहेको पाइन्छ । यस मध्ये वण्डा गर्नुपर्ने प्रकृतिको सम्पत्तिको प्रकृति कस्तो हुने र आफूखुश गर्न पाउने सम्पत्ति कुन प्रकृति र स्वरुपको हुने हो भन्ने सम्बन्धमा मुलुकी ऐन अंशवण्डाको महलको १८ र १९ नं. को व्यवस्थालाई नै अध्ययन गर्नुपर्ने हुन्छ किनकी वण्डा गर्नुपर्ने सम्पत्ति सम्वन्धी समेतका व्यवस्था यिनै नं. हरुले मूलभूत रुपमा गरेको पाइन्छ ।

२१.   अंशवण्डाको महलको १८ नं. ले मानो नछुट्टिई संगै बसेको अंशियार छन् भन्ने जुनसुकै अंशियारले सगोलको सम्पत्तिवाट वा सगोलको खेति, उद्योग, व्यापार व्यवसायवाट वढे वढाएको सगोलको आर्जन र लेनदेन व्यवहारको महलको ८ नं. बमोजिम लगाएको ऋण सवै अंशियारलाई भाग लाग्छ । सो बाहेक कुनै अंशियारले आफ्नो ज्ञान सिपको प्रयासवाट निजी आर्जन गरेको वा कसैवाट निजी तवरले दान वा बकस पाएको वा कसैको अपुतालि परेको वा स्त्री अंश धनको हलको ५ नं. बमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफूखुस गर्न पाउंछ वण्डा गर्न कर लाग्दैन भन्ने र सोही महलको १९ नं. को देहाय १,,३ मा क्रमशः पिता पुर्खाको पालाको चलन अचल गैह्र सम्पत्तिको हकमा चलमा सवै र अचलमा आधि सम्म व्यवहार चलाउनका लागि स्वास्नी, छोरा वा विधवा बुहारीहरुको मन्जूरी नभए पनि आफू खुस गर्न पाउंछ । अचलमा आधि भन्दा बढि भने व्यवहार चलाउन परे पनि २१ वर्ष नाघेका स्वास्नी, छोरा विदवा बुहारीहरुको मन्जूरी लिई मात्र खर्च गर्न हुन्छ । मन्जुरी नलिई गरेको सदर हुँदैन ।  आफ्ना पालामा आर्जेको चल अचल सवै एक स्वास्नी वा एक स्वास्नी पट्टिका छोरा मात्र भएकोले वा अरु छोरा वा स्वास्नी मरी त्यस्तो अवस्था हुन आएकोले पनि आफ्नो खुस गर्न पाउंछ । एक देखि वढ्ता स्वास्नी वा एक स्वानी देखि वढ्ता स्वास्नी पटृीको छोरा वा एउटा स्वास्नी अर्को स्वास्नी पटृीका छोरा भएकाले सो भएको अवस्थामा पनि मनपरेको स्वास्नी छोरालाई दिन वाहेक आफ्नो खुस गर्न पाउंछ । मन परेको कोही छोरालाई मात्र बकस समेत केही व्यहोरा गरिदिन भने हुँदैन । सवै स्वास्नी छोरालाई ऐनले पाउने भाग बमोजिम दिएको भए मात्र सदर हुन्छ । आफूखुसी गर्न पाउँनेमा स्वास्नी वा छोरा  विदवा वुहारीको मन्जुरी नभए पनि र खुस गर्न नपाउनेमा अंश नलिएका २१ वर्ष नाघेका स्वास्नी छोरा वा विद्यवा बुहारीहरुको मन्जुरी भएमात्र पिता पुर्खाको पालाको आर्जनको समेत चल अचल गैह्र सम्पत्ति मनपरेका स्वास्नी छोरा वा बुहारीलाई दिन समेत आफूखुस गर्नेको सदर हन्छ भन्ने व्यवस्था गरेको पाइन्छ । यसबाट मुलतः  सम्पत्ति (१) सवै अंशियालाई भाग लाग्ने (२) वण्डा गर्न कर नलाग्ने (३) आफूखुस गर्न र व्यवहार चलाउन मन्जुर लिनु पर्ने (४) आफूखुस गर्न मन्जुरी लिनु नपर्ने गरी प्रकृति र स्वरुपको अवस्थाको हुने व्यवस्था उल्लेखित कानूनी व्यवस्थावाट देखिन आउछ ।

            २२.   प्रस्तुत विवाद अंशियार बीच सम्पत्ति वण्डा गरिदिनु पर्ने भन्ने विषयसंग सम्बन्धित नभै वादी दावीको सम्पत्ति प्रतिवादी तेजबहादुरले आफूखुस गर्न पाउने सम्पत्ति हो होइन भन्ने रहेकोबाट विवादित सम्पत्तिको दाता तेजबहादुरको हकको स्रोत के कस्तो रहेछ भन्ने कुराको निरुपण  सम्म हुनु पर्ने हो । अंशवण्डाको विवाद नभएकोले उक्त १८ न. मा व्यक्त सगोलको सम्पत्ति र निजी आर्जनको प्रकृतिका सम्पत्ति के हो भन्ने सम्वन्धमा विवेचना हुनपर्ने अवस्था छैन र प्रमाण ऐन, २०३१ का दफा ६ (क) ले सगोलको अनुमान गर्नुपर्ने भन्ने व्यवस्था प्रस्तुत बकस पत्रको लिखत वदरको विवाद भएको अवस्था हुँदा पनि हेर्नुपर्ने भन्ने भनाईसंग सहमत हुन सकिने अवस्था छैन किनकि दान बकसको १ नं. मा प्रयुक्त आफ्नो हक पुग्ने सम्पत्ति दान वा बकस गरी दिन हुन्छ । आफ्नो खुस गर्न पाउने बाहेक अंशियार र हक हुनेहरुको मन्जुरीको लिखत नलिई वा साक्षी नराखी दान बकस गरी दिन हुँदैन भन्ने शव्दावलीले अंशवण्डाको महलको १८ नं. ले वण्डा गर्न कर नलाग्ने र १९ नं. को देहाय २ ले आफ्नो पालामा आर्जित संपत्ति आफूखुस गर्न पाउने नै देखिन्छ ।

२३.   माथि उल्लेख भए बमोजिम विवादित सम्पत्ति प्रतिवादी तेजबहादुरको हकको स्रोत यज्ञप्रसाद गौतमबाट गरी लिएको राजीनामा भएवाट विवादको सम्पत्ति अंशवण्डाको प्रयोजनको लागि  वण्डा हुने प्रकृतिको पैतृक रुपमा प्राप्त संगोलको सम्पत्ति र ज्ञानसिपवाट प्राप्त वण्डा गर्न कर नलाग्ने प्रकृतिको नभई अंशवण्डाको महलको १९ को देहाय २ ले व्यवस्था गरेको आफ्ना पालामा आर्जेको सम्पत्ति भन्ने देखिन आयो । यसरी यज्ञप्रसाद गौतमबाट हक प्राप्त गरी आफ्नो पालामा आर्जेको सम्पत्ति एक स्वास्नी र एकास्वास्नी पट्टिका छोरा भएको अवस्थामा मन परेको स्वास्नी छोरालाई दिन बाहेक आफूखुस गर्न पाउने देखिंदा पुनरावेदन प्रतिवादी मीनवहादुरलाई बकसपत्र गरिदिंदा प्रत्यर्थी स्वास्नी छोराहरुको मन्जुरी लिनु पर्ने  भन्ने कानूनी व्यवस्थाको अभावमा त्यस्तो लिखत सदर हुँदैन भन्न मिल्ने अवस्था देखिन आएन । विवादित लिखत गर्दा स्वास्नी छोराहरुसंग मन्जुरी नै लिन नपर्ने देखिदैन वादीहरु मध्ये सवैको मन्जुरी लिनु पर्ने अवस्था नरहेको भन्ने प्रतिवादी कथन तर्फ अरु केही वोलिरहन परेन ।उल्लेखित लक्ष्मी देवी वास्तोला समेत भएको मुद्दाको सारतः भावना पनि अंशवण्डाको १८ नं. को निजी र सोही महलको १९ को देहाय २ को आफ्नो पालामा आर्जेको सम्पत्ति आफूखुस गर्न पाउने भन्ने नै रहेको देखिन आउँछ ।

            २४.   अतः माथि गरिएका विश्लेषण अनुसार विवादित सम्पत्ति प्रतिवादी तेजवहादुर वस्नेतको आफूखुस गर्न पाउने सम्पत्ति रहे भएको पाइएकोले पुनरावेदक प्रतिवादीलाई बकसपत्र गरिदिंदा वादीहरुको मंजूरी लिईरहनु पर्ने अवस्था नहुँदा सो लिखत सदर गर्नु पर्नेमा दावी बमोजिम लिखत वदर हुने ठहर्‍याएको शुरु दाङ देउखुरी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत नेपालगन्जको फैसला मिलेको नदेखिंदा उल्टी भै वादी दावी नपुग्ने ठहर्छ । अरु तपसिल बमोजिम गर्नु ।

 

तपसील

पुनरावेदक मिनवहादुर वस्नेत के. माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदन अदालतको फैसला उल्टी हुने ठहरी वादी दावी नपुग्ने ठहरेकोले शुरु जिल्ला अदालतको फैसला बमोजिम प्रतिवादीवाट वादीलाई भराई दिने ठहर भएको कोर्टफी रु.२०। यी प्रतिवादीले पुनरावेदन गर्दा तत्कालीन राप्ती अंचल अदालतमा धरौटीमा रखेको सो कोर्ट फि वादीले भराई दिन नपाउने भई यिनै  पुनरावेदकले फिर्ता पाउने हुँदा म्याद भित्र फिर्ता माग गर्न आए फिर्ता दिनु र तत्कालिन राप्ती अंचल अदालतमा पुनरावेदन गर्दा यी प्रतिवादीले राखेको कोर्टफि रु.३।र यस अदालतमा राखेको कोर्टफि रु.३। समेत जम्मा कोर्ट फि रु.६।कोर्टफि ऐन, २०१७ को दफा १५ वमोजिम वादीबाट भराई लिन पाउने हुंदा भराई पाउं भनी कानूनको म्याद भित्र दरखास्त परे भराई दिनु भनि दाङ्ग देउखुरी जिल्ला अदालतमा लेखी पठाई दिनु........... १

माथी इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदन अदालतको फैसला उल्टी भै वादी दावी नपुग्ने ठहर भएकोले शुरु दाङ्ग देउखुरी जिल्ला अदालतको फैसलाको तपसीलको देहाय २ ले कायम गरेको व्यहोरा कट्टा गरी दिनु भनी दाङ देउखुरी जिल्ला अदालतमा लेखि पठाई दिनु....     २

नियमानुसार गरी मिसिल वुझाई दिनु ....३

 

उपयुक्त रायमा सहमत छौं ।

 

प्र.न्या.केशवप्रसाद उपाध्याय

न्या.राजेन्द्रराज नाख्वा

न्या.टोपबहादुर सिंह

 

माननीय न्यायाधीश श्री सुशीला सिंह सिलुको राय

            तेजबहादुर वस्नेतले विवादित जग्गाहरु आफ्नो श्रीमती र नाबालक छोराहरुको मन्जुरी नलिई अंशवण्डा भई छुट्टिएको सहोदर दाजु प्रतिवादी मीनबहादुर वस्नेतलाई हालै देखिएको बकसपत्र गरिदिएकोमा दाता तेजबहादुर बस्नेतको पत्नी श्रीमती वेदकुमारी वस्नेतले आफ्नो र आफ्ना छोराहरुको हकमा समेत बकसपत्र लिखत बदर गरी पाउँ भन्ने माग गरी फिराद गरेको देखिन्छ । शुरु दांग देउखुरी जिल्ला अदालत तथा पुनरावेदन अदालत, नेपालगंज समेत दुई तह अदालताट भएको विवादित जग्गाको चारभागको तीन भाग लिखत बदर गर्ने निर्णय उपर यस अदालतवाट दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई यस अदालतको संयुक्त इजलासवाट यस मुद्दाको जस्तै तथ्य समावेश भएको विभिन्न मुद्दाहरुमा भएका निर्णयहरुमा एकरुपता नभएको एकरुपता कायम गर्न पूर्ण इजलासमा पेश गर्ने आदेश भएकोमा तीन सदस्यीय पूर्ण इजलासले तीन जना भन्दा बढी न्यायाधीशहरुको इजलासमा पेश गर्न उचित देखिदा प्रधान न्यायाधीशज्यू समक्ष पेश गर्नु भन्ने भएको आदेश बमोजिम पांच जना न्ययाधीशहरुको वृहद पूर्णं इजलासमा पेश हुंदा सो वृहद पूर्ण इजलासले यस सम्वन्धमा निश्चित सिद्धान्त कायम गर्नको लागि पांच जना भन्दा बढी न्यायाधीशहरुको पूर्ण इजलासद्वारा हेरिनु उपयुक्त ठहर्‍याई पेश गर्ने आदेश भए अनुसार यस ७ सदस्यीय पूर्ण इजलासमा पेश हुन आएको देखिन्छ ।

            प्रस्तुत मुद्दामा निर्णय दिनु पर्ने प्रश्नहरु मुख्यतः निम्न लिखित छन् । तेजवहादुर वस्नेतले आफ्ना दाजु मीनबहादुर वस्नेतलाई बकसपत्र गरिदिंदा सगोलमा रहेको आफ्नो स्वास्नी छोराहरुको मंजूरी लिनु पर्ने हो वा होइन र मंजूरी लिनु पर्ने अवस्थामा नाबालक छोराहरुको मंजूरी लिनु पर्ने हो वा होइन ? वा निजले विवादको जग्गा आफूखुशी नै गर्न पाउने सम्पत्ति हो कि ?

            यसको साथै यस अदालतका विभिन्न इजलासहरुले प्रस्तुत मुद्दामा निर्णय गर्दा उल्लेख गरिएका विभिन्न नजिरहरुमा ऐनका विभिन्न दफाहरुको व्याख्याहरु माथि राम्ररी विचार गरी नजिरमा एकरुपता ल्याई प्रस्तुत मुद्दामा निर्णय गर्नु आवश्यक देखिन्छ ।

            सर्वप्रथम अंशवण्डाको १९ नं. प्रस्तुत मुद्दामा आकर्षित हुन्छ कि हुँदैन भन्ने बारेमा यस अदालतका विभिन्न इजलासले फरक फरक व्याख्या गरेकोले यस सम्वन्धमा राम्ररी बिचार गर्नु आवश्यक  हुन्छ । खास गरी १९ नं. को देहाय (२) को आशयबारे विभिन्न निष्कर्ष निकालेको देखिन्छ । वर्तमान मुलुकी ऐनको अंशवण्डाको महलको १९ नं. तर्फ बिचार गर्दा साविक मुलूकी ऐन, (वि.स. १९१०) मा थपघट फेरबदल गरी परिमार्जित रुपमा वि.सं. १९९२ सालमा जारी गरिएको (५ भाग ऐनको) भाग ३ को अंशवण्डा महलको ३८ नं. मा गरेको व्यवस्थामा हाल आई केही संशोधन गरी नयाँ रुपमा ल्याएको हालको १९ नं. हो भन्ने देखिन्छ । साविक ऐनमा अंशवण्डाको ३८ नं. को देहाय १ देखि ५ सम्म अंश नलिएका स्वास्नी छोराहरु हुने लोग्ने मानिसले घर व्यवहार चलाउन आफूखुशी गर्दा कस्तो कस्तो सम्पत्ति कुन कुन अवस्था ककस्को मंजूरी लिनु पर्दछ कुन अवस्थामा आफूखुश गर्न पाउँछ भन्ने कानूनी व्यवस्था वि.सं. १९७० सालदेखि लागू गरिएको हो । साविक ऐनको अंशवण्डा को ३८ नं. लाई अहिलेको ऐनमा संशोधित रुप दिई अंशवण्डाको १९ नं. को देहाय १ देखि ५ मा अंश नलिएका स्वास्नी छोरा वा विधवा बुहारीहरु हुने लोग्नेमानिसले कस्तो सम्पत्ति कस्तो अवस्थामा आफूखुश गर्न कसको मंजूरी लिनुपर्ने र कस्तो अवस्थामा कसैको मंजूरी नलिई आफूखुश गर्न पाउने भन्ने व्यवस्था गरिएको हो । ऐ.को १९ नं. को देहाय १ ले गरेको पिता पुर्खाका पालाको चल अचल सम्पत्तिको हकमा चलमा सवै र अंचलमा आधिसम्म व्यवहार चलाउनलाई स्वास्नी छोरा वा विधवा बुहारीको मंजुरी नभएपनि आफूखुश गर्न पाउने व्यवस्था र अचलमा आधी भन्दा वढी भने व्यवहार चलाउनै परेपनि एक्काईस वर्ष नाघेको स्वास्नी छोरा विधवा बुहारीको मंजूरी मंजूरी लिनु पर्ने व्यवस्था स्पष्ट नै छ । शव्दहरुको अर्थमा कुनै भ्रम उठ्न सक्ने ठाउं छैन । अर्थात कसैको मंजुरी नलिई चल सवै र अचल आधीसम्म मात्र र त्यो पनि व्यवहार चलाउनको लागि मात्र आफूखुश गर्न  पाउछ ।

            पिता पूर्खाको पालको सम्पत्ति बारे अंशवण्डाको १९ नं. को देहाय १ मा व्यवस्था गरिएको हो भने आफ्नो पालमा आर्जेको सम्पत्तिको बारेमा सो १९ नं. को देहाय २ ले व्यवस्था गरेको देखिन्छ । अंशवण्डाको १९ नं. को देहाय २ को आशय बुझ्ने कुरामा दुई वटा प्रश्न उठ्न सक्दछ र यसै बारे यसै अदालतका विभिन्न इजलासहरुले विभिन्न समयमा र प्रस्तुत मुद्दाकै सम्वन्धमा पनि फरक फरक अर्थ लगाएको देखिन्छ । पहिलो प्रश्न १९ नं. को देहाय २ मा आफ्ना पालामा आर्जेको भन्ने शव्दहरुको अर्थ के हो ? र यसमा ऐनको आशय आफ्ना पालाको आर्जन को अर्थ आफ्नै निजी आर्जन हो भन्ने अथवा सम्पत्त आफूखुश गर्ने सम्वन्धमा आफैले आर्जेको भनी प्रमाणित गराइरहन नपर्ने के हो ? दोस्रो   प्रश्न १९ नं. को देहाय २ मा देहाय १ मा झै व्यवहार चलाउनालाई भन्ने शव्दहरु समावेश नभएकोमा देहाय २ ले आफूखुश गर्न पाउने भनी इंगित गरेको स्थितिमा व्यवहार चलाउनलाई मात्र सम्पत्ति बेचविखन वन्धकी आदि गर्न पाउने हो कि पूर्ण रुपले आफूखुश गर्न छुट पाउने हो अर्थात आफ्नो इच्छा अनुसार कुनै पनि बेला दान बकस सुक्री गर्न पाउने के हो ?

            पहिलो प्रश्नको सम्वन्ध अंशवण्डाको १९ नं.को देहाय २ मा उल्लेखित आफ्ना पालमा आर्जेको भन्नाले ऐनको आशय आफ्नो आर्जन भन्ने हो कि होइन भन्ने वुझन् सोही महलको १८ नं. संगै राखी हेर्दा उपयुक्त हुन्छ । १८ नं. मानु नछुट्टिइसंग बसेको अंशियार हुने मानिसबारे र १९ नं. अंश नदिएका स्वास्नी छोरा वा विधवा बुहारी हुने मानिस बारे गरिएको व्यवस्था हुन् । मोटामोटी रुपले हेर्दा १८ नं. संयुक्त परिवारको र १९ नं. ले एकाई परिवार (वा एकल Nucleus) को स्थितिको कल्पना गरिएको देखिन्छ । १८ नं. मा अरु अंशियारको हक नलाग्ने स्थितिको वर्णन गर्दा निजी आर्जन भनी किटानी साथ उल्लेख गरेको र १९ नं. को देहाय २ मा भने खास स्थितिमा आफूखुश गर्न पाउने सम्पत्तिको वर्णनमा आफ्नो नीजी आर्जन नभनी आफ्नो पालाको आर्जन भन्ने शव्दहरु प्रयोग गरिएको आधारमा यी दुई सम्पत्ति एकै प्रकारका होइनन् भिन्ना भिन्नै प्रकारका हुन् भन्ने देखिन्छ । तसर्थ उक्त १९ नं. को देहाय २ को आफ्नो पालमा आर्जेको सम्पत्ति लाई १८ नं. अन्तर्गत नीजी आर्जन सरह मान्न मिल्दैन भन्ने प्रस्तुत मुद्दामा पांच न्यायाधीशहरको वृहत पूर्ण इजलासले  दिएका रायसंग असहमत हुनु पर्ने अवस्था देखिदैन ।

            दोस्रो प्रश्नमा बिचार गर्दा अंशवण्डाको १९ नं. को देहाय २ मा व्यवहार चलाउन भन्ने शव्दहरु नलेखिएको भएतापनि १९ नं. को देहाय १ र देहाय २ छुट्टाछुट्टै नं. मा नलेखी एकै नं. को दुइ देहाय गरी लेखिएको छ । यसको अर्थ यी दुई देहाय परस्पर सम्वन्धित छन् । उक्त १९ र १८ नं. को व्यवस्था झै अलग अलग कुरा होइनन् । १९ नं. को देहाय १ का पिता पुर्खाको पालाको अचल सम्पत्ति आधीसम्म व्यवहार चलाउन कसैको मंजूरी नलिई खर्च चलाउन सक्ने व्यवस्था गरिएको हो भन्ने पिता पुर्खाको पालाको नभई त्यसको विपरीत आफ्ना पालामा आर्जेका सम्पत्ति खर्च गर्ने बारे १९ न. को देहाय २ मा लेखिएको हो । तसर्थ आफ्ना पालामा आर्जेको सम्पत्ति आफूखुश गर्न कुन स्थितिमा अरुको मंजूरी लिनुपर्ने र कुन स्थितिमा कसैको मंजुरी लिन नपर्ने भनी १९ न. को देहाय २ मा गरिएको व्यवस्था स्वभावतः घर व्यवहार चलाउनको लागि खर्च गर्ने सन्दर्भमा गरिएको हो भन्ने देखिन्छ । अंश नलिएका स्वास्नी छोरा वा विधवा बुहारी हुने मानिसले आफ्नो हकको जति आफूखुश गर्न पाउने व्यवस्था १९ नं. को देहाय ४ मा गरिएकोबाट पनि त्यस व्यक्तिको आफ्नो पालामा आर्जेको लगायत आफ्नो एकाई परिवारको सगोलको सम्पत्तिमा अरु अंशियाराको पनि अधिकार वा  Interest भएको कुरा १९ नं. ले  मानेको सिद्व हुन्छ । यस स्थितिमा १९ नं. ले एकल परिवारको मुलीलाई व्यवहार चलाउन खर्च गर्ने अधिकार दिएको अर्थ मूलीको हैसियतले सम्पत्तिको व्यवस्था गर्ने प्रवन्ध गर्न वा घर व्यवहार चलाउन निर्णय गर्ने अधिकार मात्र दिएको हो, अंशियारहरुको हितमा प्रतिकूल प्रभाव पर्ने गरी आफूखुश गर्ने होइन भन्ने कुरा स्पष्ट छ । 

            व्यवहार चलाउन खर्च गर्दा त्यसको फल वा फाइदा सवै अंशियारहरुले पाउने हुनाले त्यसको अनुकूल र प्रतिकूल दुवै प्रभाव पनि सवै अंशियारले भोग्नु पर्ने कुरा स्वतः सिद्व हुन्छ, तर दानबकसवाट सम्पत्ति कसैलाई हस्तान्तरण गर्दा एक जनाको निर्णय वा आत्मसन्तुष्टिको लागि सवै अंशियारको हितमा प्रतिकूल प्रभाव पर्न सक्ने हुनाले ऐन निर्माता त्यस्तो विषयमा सजग रहेको हुन्छ । प्रस्तुत मुद्दाको हकमा अंश नलिएका स्वास्नी छोराहरु भएका तेजबहादुर बस्नेतले सगोलको सम्पत्तिको केही जग्गा आफ्नो दाजु मीनबहादुर बस्नेतलाई राजीनामा बिक्री गरिएको नभई रीझ वापत हालैका बकसपत्र गरिदिएको देखिन आएकाले दाजुले भाइलाई आफ्नो प्रभावमा लिई बकसपत्र गराई दिने धेरै सम्भावना हुनुको साथै प्रस्तुत मुद्दामा दाजु प्रतिवादीले  आफ्नो प्रतिउत्तरमा नै यो विवादको जग्गा खरदि गर्न भाइलाई मैले रुपैया दिई  सहयोग गरेको गुणलाई सम्झी हालैको बकस पत्र गरेको भनाई भएको समेतका कारणले यसमा अंशवण्डाको १९ न. आकर्षित नहुने र दान वकसको १ नं. आकर्षित हुने देखिन्छ । यसरी स्थितिमा दान बकसको १ नं. अनुसार सवै अंशियारहरु र हक पुग्नेहरुको मंजुरी नलिई वा साक्षी नराखी दानबकस गरिदिन नहुन व्यवस्थाको विपरीत प्रस्तुत मुद्दामा वादीहरुलाई साक्षी राखेको वा निजहरुको मंजूरी दिएको नदेखिंदा यस इजलासको वहुमतको निर्णयसित सहमत हुन सकिएन । वादीदावी अनुसार ४ खण्डको ३ खण्ड लिखत वदर गरी सो अनुसारको जग्गा वादीहरुका नाममा दर्ता हुने ठहराएको जिल्ला अदालतको निर्णय सदर गर्ने गरेको पुनरावेदन अदालत नेपागंजको फैसला मिलेको देखिदा त्यसमा केही परिवर्तन गर्न नपर्ने भन्ने राय व्यक्त गर्दछु ।

 

उपर्युक्त रायमा सहमत छु ।

 

न्या.कृष्णकुमार वर्मा

 

माननीय न्यायाधीश श्री रामनगिना सिंहको रायः

            नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फवाट उपस्थित विद्वान कानून व्यवसायी अधिवक्ता श्री बालकृष्ण न्यौपानले अंशवण्डाको १९(२) नं. ले मेरो पक्षको दाताले बकस दिदा वादीहरुको स्वीकृति लिनु पर्ने होइन किनभने बकस गरिएको सम्पत्ति दाता तेजबहादुरको आफ्नो पालामा आर्जन गरेको सम्पत्ति हो र अंशवण्डाको १९(१) मा भएको व्यवस्था भन्दा भिन्न रुपको व्यवस्था अंशवण्डाको १९(२) मा गरेको छ । आफ्ना पालाको आर्जनको सम्पत्ति आफूखुश गर्न पाउछ मंजूरी लिनु पर्दैन । वादीले लेदनेन व्यवहारको १० नं. मा निर्धारण गरिएको हदम्याद भित्र यो नम्बर अनुसार उजुर पनि गरेको छैन। वादी दावी खारेज हुनुपर्छ र प्रत्यर्थी वादीको तर्फवाट उपस्थित हुनु भएको विद्वान अधिवक्ता श्री शम्भु थापाले मेरो पक्षको लोग्ने बाबु तेजबहादुरले आफ्नो निजी आर्जनवाट जग्गा आर्जन गरको होइन, सगालको सम्पत्तिवाट सागोलमा रहेको अवस्थामा खरिद गरेको जग्गा भएकाले सवै अंशियारको अंशभाग लाग्ने सम्पत्ति हो । रिझवापत आफ्नो भिन्न बसको दाजुलाई बकस गरी दिएकोले त्यसमा हाम्रो पनि हंशहक लाग्छ । हाम्रो मंजुरी वेगर बकस गरी दिएकोले हाम्रो अंश जति बदर गरी पाउँ । बकसपत्र गरि दिएकोले लेनदेन व्यवहारको १० नं. होइन कि दानबकसको १ र ५ नं. नै यसमा आकर्षित हुन्छ । जिल्ला अदालतले गरेको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालतले गरेको फैसला सदर गरी पाउँ भनी बहस जिकिर प्रस्तुत गर्न भयो ।

            यसमा विद्वान अधिवक्ताहरुको वहस जिकिर सुनि मिसिल अध्ययनगरी निर्णय तर्फ विचार गर्दा यसमा निर्णय गरिनु पर्ने निम्न प्रश्नहरु देखिन्छ ।

(क)   आफ्नो पालाको आर्जनको सम्पत्ति आफूखुश गर्दा सगोलको स्वस्नी, छोराको मंजूरी            अंशवण्डाको १९(२) अनुसार लिनु पर्छ कि पर्दैन ?

      (ख)   स्वीकृति नलिएमा नावालकले उजुर गर्न पाउंछ कि पाउँदैन ?

      (ग)   सगोलको सम्पित्त अंशियारहरुको मंजुरी वेगर बकस गरी दिएमा दान बकसको ऐन            बमोजिम उजूर गर्नुपर्ने हो ? कि लेनदेन व्यवहारको १० नं. अनुसार नै उजुर                 गर्नुपर्ने हो ?

      (घ)   आफ्ना आर्जन र आफ्ना पालाको आर्जन भन्ने शव्दले एउटै स्थितिलाई दर्शाउंछ             वा अलग अलग स्थितिलाई दर्शाउंछ ?

            यस बारे प्रचलित कानूनमा के कस्तो व्यवस्था रहे भएको छ त्यस तर्फ हेर्दा मुलुकी ऐन लेनदेन व्यवहारको १० नं. मा अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति वेचविखन गर्दा वा कनै किसिमले हक छाडिदिंदा ऐनले आफूखुशी गर्न पाउने अरुको मंजूरी लिनु नपर्नेमा वाहेक अरुमा एकाघरसंगका अंशियार सवै साक्षी बसेको वा निजहरुले मंजूरीको लिखत गरिदिएको भएमात्र पक्का ठहर्छं । साक्षी पनि नवसेको र मंजुरीको लिखत पनि नदिएको भए मंजूर नहुनेले रजिष्ट्रेशन भएको मितिले एक वर्षसम्ममा थाहा पाएको पैतिस दिन भित्र उजुर गर्‍यो र निजको मंजूरी ठहरिएन भने निजको हक जति सो सम्पत्ति निजलाई फिर्ता गराई दिनु पर्छ । सो बमोजिम फिर्ता भएकोमा साहुको थैली परेको भए जतिको थैली र ऐन बमोजिमको व्याज लिखत रजिष्ट्रेशन दस्तुर समेत सो सम्पत्ति वेचविखन गरी वा अरु कुनै किसिमले हक छाडी दिनेवाट साहुले कपाली सरह असुल गरी लिन पाउछ । आफ्नो निजी आर्जनको भए संग बस्नेको मंजूरी लिनु पर्दैन । बेचविखन समेत गैह्र गर्न हुन्छ भन्ने उल्लेख भएको छ । अंशवण्डाको १९(१) मा पिता पुर्खाका पालको चल अचल गैह्र सम्पत्तीको हकमा चलमा सवै र अचलमा आधीसम्म व्यवहार चलाउनलाई स्वास्नी, छोरा व विधवा वुहारीको मंजूरी नभए पनि आफूखुश गर्न पाउछ । अचलमा आधी भन्दा वढी भने व्यवहार चलाउनै परे पनि एक्काईस वर्ष नाघेका स्वास्नी छोरा र विद्यवा बुहारीको मंजुरी लिई मात्र खर्च गर्न हुन्छ । मंजुरी नलिई गरेको सदर हुदैन र अंशवण्डाको  १९(२) मा आफ्नो पालामा आर्जेको चल अचल सवै एक स्वास्नी वा एक स्वास्नीपट्टिका छोरा मात्र भएकाले वा छोरा स्वास्नी मरी त्यस्तो अवस्था हुन आएकाले पनि आफ्नो खुश गर्न पाउछ। एक देखि वढ्ता स्वास्नी वा एक स्वास्नीदेखि वढ्ता स्वास्नी पट्टिका छोरा एउटा स्वास्नी र अर्को स्वास्नी पट्टिका छोरा भएकाले सो भएका अवस्थामा भने मन परेको स्वास्नी छोरलाई दिन वाहेक आफ्नो खुशी गर्न पाउंछ । मन परेका कोही स्वास्नी छोरालाई मात्र बकस समेत केही व्यवहोरा गरी दिनु भने हुँदैन । स्वास्नी, छोरालाई ऐनले पाउने भाग वमोजिम दिएको भए मात्र सदर हुन्छ भन्ने उल्लेख भएको छ । सोही महलको १८ नं. मा मानो नछुट्टिई संग बसेको अंशियार छन् भने जुनसुकै अंशियारले सगोलको सम्पत्तिवाट वा सगोलको खेती, लेनदेन व्यवहारको ८ नं. बमोजिम लगाएको ऋण सवै अंशियारलाई भाग लाग्छ । सो बाहेक कुनै अंशियारले आफ्नो ज्ञान वा सीप व प्रयासवाट निजी आर्जन गरेको वा कसैवाट निजी तवरले दान वा बकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंशधनको महलको ५ नं. बमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफूखुश गर्न पाउंछ । वण्डा गर्न कर लाग्दैन भन्ने उल्लेख भएको देखिन्छ । त्यस्तै घरको मुख्य भै कामकाज गर्न वा सगोलमा बसी विभिन्न ठाउँमा घर, खेती व्यापार अरु कुनै काम गरी बस्ने उमेर पुगेको जानकार लोग्नेमानिस वा स्वास्नी मानिस आफू बसी काम गरेको ठाउँको मुख्य ठहर्छ । त्यस्ता मुख्यले गरेको व्यवहार वा एकाघरका उमेर पुगेका अरुले गरेकोमा मुख्य जानकारको पनि सहिछाप वा लिखत भएको व्यवहार मात्र गोश्वारा धनवाट चल्छ भन्ने लेनदेन व्यवहारको ८ नं. मा उल्लेख भएको छ । त्यसै गरी अन्यथा प्रमाणित नभएसम्म एकाघरसंगका अंशियारहरु मध्ये जुनसुकै अशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नेछ भन्ने प्रमाण ऐन, २०३१ को दफा ६(क) मा उल्लेख भएको देखिन्छ ।

            माथि उल्लेखित कानूनी व्यवस्थाको परिप्रेक्षमा विचार गरी हेर्दा तेजवहादुर वस्नेत र वादीहरु एकासगेलका लोग्ने, स्वास्नी बाबुले छोरा नाताको हुन् । यिनीहरुको अंशवण्डा भएको छैन भन्ने कुरामा कुनै विवाद देखिदैन । सगोलमै रहेको अवस्थामा २०४१।२।२९ मा यज्ञप्रसाद गौतम वाट विवादित जग्गा खरिद गरेको हो । विवादित जग्गा तेज बहादुरकै पालमा अर्जन भएको कुरामा कुनै विवाद देखिदैन । उक्त आर्जन भएको सम्पत्ति तेजवहादुरको निजी ज्ञान, सीप वा प्रयासवाट आर्जन गरेको सम्पत्ति हो वा सगोलमा रहेको सापतिवाट वा सगोलको खेती ईत्यादिवाट वढेवढाएको सगोलको आर्जनवाट खरिद भएको सम्पत्ति हो ? तेजवहादुरका निजी ज्ञान, सीप वा प्रयासवाट आर्जन गरेको जग्गा हो भन्ने तथ्यको पुष्टि हुन कुनै प्रमाण मिसिलमा संलग्न रहेको पाइदैन । बकस पाउने व्यक्ति मीनवहादुरले तेजवहादुरको निजी आर्जनको जग्गा हो भन्ने कुरा पुष्टि गर्ने कुनै प्रमाण पेश गर्न सकेको छैन । प्रमाणको अभावमा विवादित जग्गा सगोलकै आर्जनवाट खरिद भएको मान्नुपर्ने हुन आयो । विावदित जग्गा तेजवहादुरले आफूखुश गर्न पाउने हो होइन निष्कर्षमा पुग्नलाई जग्गाको आर्जन कसरी भएको भो निश्चित हुन अपरिहार्य हुन गएको देखिन्छ । सो निश्चित नभै आफूखुशी गर्न पाउने हो होइन एकिन गर्न सकिदैन । माथि भनिए अनुसार विवादित जग्गा तेजबहादुरको निजी आर्जनको नभै सगोल परिवार कै आयस्तावाट खरिद गरिएको कुरामा शंका गर्ने कुनै ठाउँ देखिदैन । सगोल परिवारमा वसेको वादीहरुको पनि अंश हक लाग्ने जग्गा नै देखिन्छ ।

             अव प्रश्न आउंछ कि आफ्नो पालामा आर्जेको सम्पत्ति आफूखुश गर्दा स्वास्नी छोराहरुको विधवा वुहारी हुने मानिसको चल अचल सम्पत्तिमा देहायमा लेखिए बमोजिम हुन्छ मूल शीर्षक अंशवण्डाको १९ नं. मा दिई त्यसलाई देहाय नम्वरहरुमा विभिन्न विषयलाई वर्गीकृत गरिएको छ। प्रस्तुत मुद्दामा अंशवण्डाको १९(१) र १९(२) प्रासंगिक भएकोले त्यसको नै विवेचना गर्नुपर्ने भएको छ ।

            आफूखुश गर्दा स्वास्नी छोराको मंजुरी लिनु पर्ने हो होइन ? विवेचना गर्नु भन्दा पूर्व आफ्ना पालामा भन्ने शव्दहरुको अर्थ के हो ? र ऐनमा यो कहाँ कहाँ कुन सन्दर्भमा प्रयोग भएको हो र त्यसको अर्थ के हो ? हेर्नु पर्छ । अंशवण्डाको १९(१) मा पिता पुर्खाको पालाको र अंशवण्डाको १९(२) मा आफ्ना पालामा आर्जेको”  भन्ने शव्दहरु प्रयोग भएको देखिन्छ । पिता पुर्खाको पालाको भन्ने शव्दहरुले पिता पुर्खाको जीवनकालमा आर्जन भएको सम्पत्तिलाई इंगित गर्दछ, त्यसै गरी आफ्नो पालाको आर्जनले आर्जन गर्नेको जीवनकालमा आर्जन भएको सम्पत्तीलाई इंगित गर्दछ । घरको मुख्यको जीवनकालमा सगोलमा रहेको सम्पत्तिको आयस्ताबाट निजको नाउँमा आर्जित सम्पत्ति र घरको मुख्यले आफ्नो निजी ज्ञान, सीप, प्रयासवाट आर्जेको सम्पत्ति पनि रहेको हुन सक्छ । अर्को शव्दमा भन्ने हो भने आफ्ना पालको आर्जनमा सगोलको आर्जन र निजी आर्जन दुवै किसिमको सम्पत्ति पर्दछ, जवकी निजी आर्जनको सम्पत्तिमा सगोलको आर्जनको सम्पत्ति पर्दैन । पहिलो किसिमको सम्पत्तिमा एकाघर सगोलमा रहेको सवै अंशियारको अंश हक लाग्दछ जवकि दोश्रो किसिमको सम्पत्तिमा आर्जन गर्नेको हकको वाहुल्यता रहन्छ । निजी आर्जनको सम्पत्ति आर्जनकर्ताले आफूखुश गर्न पाउंछ कसैको मंजुरी लिनु पर्ने वाध्यता रहदैन । जवकि सगोलको सम्पत्तिको हक हस्तान्तरण गर्दा सगोलको सवै अंशियारको स्वीकृति लिनु अनिवार्य हुन्छ । प्रस्तुत मुद्दामा रहेको विवादित सम्पत्ति तेजबहादुरको निजी आर्जनको नरहेको तथ्यको विवेचना माथि प्रकरणमा गरी सकिएको छ । अस्तु अंशवण्डाका १९(२) मा प्रयोग भएको आफ्नो पालामा आर्जेको शव्दहरुले निजी आर्जनलाई जनाउँदैन । आफ्नो पालामा आर्जेका भन्नाले निजी आर्जनलाई जनाउँछ भनी व्याख्या गर्दा कानूनको सटिक व्याख्या हुँदैन ।कानूनमा प्रयोग भएको शव्दहरुको व्याख्या गर्दा ऐनको अरु कुनै नं. मा प्रयोग भएका शव्दहरुलाई निष्क्रिय तुल्याउने गरी व्याख्या गर्न हुदैन अर्थात अंशवण्डाको १९(२) मा प्रयोग भएको आफ्नो पाला आर्जेको शव्दहरुको अर्थ निजी आर्जन भनि गर्दा अंशवण्डाको १८ नं. मा निजी आर्जनको गरिएको परिभाषा निरर्थक हुन जान्छ, जो कि गर्न मिल्दैन । अंशवण्डाको १९(१) र १९(२) को बनौट पनि विधिकर्ताले दुई रुपमा गरेको देखिन्छ । घर व्यवहार चलाउने जिम्मेवारी घरको मुख्य कै कांधमा हुन्छ । घर परिवार चलाउँदा पर्न आएको आर्थिक कठीनाई समाधान गर्ने जिम्मेवारी पनि घरको मुख्यकै भएकोले सो को परिपूर्ति गर्न कानूनले घरको मुख्यलाई केही विशेष अधिकार प्रदान गरेको देखिन्छ । सोही सन्दर्भमा अंशवण्डाको १९(१) मा पिता पुर्खाको पालाको चलन अचल गैह्र सम्पत्तिको हकमा चलमा सवै र अचलमा आधीसम्म व्यवहार चलाउनलाई स्वास्नी, छोरा वा विधवा बुहारीको मंजूरी नभए पनि आफूखुश गर्न पाउंछ । अचलमा आधी भन्दा बढी भने व्यवहार चलाउनै परे पनि एक्काइस वर्ष नाघेका स्वास्नी, छोरा र विधवा बुहारीको मंजुरी लिई मात्र खर्च गर्न हुन्छ । मंजुरी नलिई गरेको सदर हुदैन भन्ने उल्लेख भएको देखिन्छ । घर चलाउनलाई अर्थको आवश्यकता हुने भएकोले नै त्यस्तो छुट विधिकर्ताले घरको मुख्यलाई दिएको देखिन्छ । किनकि त्यसको प्रतिफल सवै अंशियारले भोग गर्न पाउंछ र त्यसबाट हुने परिणाम पनि सवै अंशियारले भोग्नु पर्दछ । त्यसको विपरीत १९(२) मा बकस पत्रको कुरा उल्लेख भएको देखिन्छ । दान बकसको प्रकृति बेचविखनको प्रकृति सित मिल्दैन । बेचविखनबाट अर्थको प्राप्ति हुन्छ, जसबाट परिवारिक व्यवहार चल्दछ जवकि दान बकसबाट दिनेलाई आत्मसन्तुटी मात्र हुन्छ। त्यसको हुनाले नं अंशवण्डाको १९(२) मा उमेरको हदको प्रावधान गौण गरिएको छ । १९(१) मा उमेरको हदको प्रावधान महत्वपूर्ण रुपमा राखिएको देखिन्छ ।

            सगोलमा रहेको अंशियारहरु मध्ये नावालकसित स्वीकृति नलिएमा नावालकले आफ्ना अंशहक सुरक्षित गर्न उजुर गर्न पाउंछ कि पाउँदैन ? यस प्रश्न तर्फ हेर्दा अंशवण्डाको १९(१) जे उजुर गर्न नपाउने भनी प्रतिवन्ध लगाएको देखिन्छ । किन कि. त्यस नं. ले घरको मुख्यलाई घर व्यवहार चलाउनलाई केही विशेषधाधिकार प्रदान गरेको देखिन्छ । घर व्यवहार चलाउँदा अचल सम्पत्ति बेचविखन गरी प्राप्त आयस्तालाई नावालकले पनि अप्रत्यक्ष रुपले भोगेको हुन्छ । सम्पत्ति भोग्नेले दायित्व पनि वेहोर्न पर्ने सामान्य कानूनी सिद्धान्त छ त्यसो हुनाले नै अंशवण्डाको १९(१) ले उजुर गर्न नालालकलाई अधिकार नदिएको देखिन्छ । त्यसको विपरीत अंशवण्डाको १९(२) मा दान बकसद्वारा दातालाई आत्मिक संतुष्टि हुने भएकाले नै उक्त नं. मा उमेरको प्रतिवन्ध विधिकर्ताले राखेको देखिदैन । दानबकस गरिएको सम्पत्तिमा दाताको हक पुगेको छ छैन मात्र बिचारणीय हुन्छ । नावालकको हक सुरक्षित गर्न प्रावधान अंवं. ८३ नं. मा पनि प्रष्ट गरेको देखिरहेकै छ । त्यसो हुनाले स्वीकृति नलिई गरेको दानबकसलाई बदर गराउन नावालकलाई अधिकार छैन भन्न मिल्दैन । नावालकले उजुर गर्न पाउनै नै देखिन्छ । त्यति मात्र नभई नावालकले नालेस गर्न उमेर पुगे पछि निजको हदम्याद प्रारम्भ हुने प्रावधान पनि छ।

            अव प्रश्न आउंछ सगोलको सम्पत्ति सगोलको अंशियारको स्वीकृति नभई हक हस्तान्तरण गर्दा लेनदेन व्यवहारको १० नं. अनुसार नै उजुर गर्नु पर्ने हो वा दान बकसको १,५ नं. अनुसार पनि उजूर गर्न पाउंछ ? प्रस्तुत मुद्दामा तेजबहादुरले सगोलो सम्पत्ति बकस गरी आफ्नो दाजुलाई दिएको दोखिन्छ । लेनदेन व्यवहारको १० नं. बेचविखन भै गरेको व्यवहारलाई अंगालेको छ र दानबकसको १,५ नं. ले दानबकसको कुरालाई अंगालेको देखिन्छ । विक्री व्यवहार भै हस्तान्तरित भएको सम्पत्तिलाई दिएर लेनदने व्यवहारको १० नं. अनुसार उजुर पर्दा अंशवण्डाको १९(१) लाई मध्ये नजर राखी वदर हुने नहुने तर्फ बिचार गर्नु पर्ने हुन्छ । जवकि दानबकसको १,५ नं. अनुसार उजुर पर्दा दिनेले आफ्नो हक पुगेको सम्पत्ति दानबकस गरेको हो होइन र उजुरकर्ताको हक लाग्ने सम्पत्ति उसको मंजुरी बेगर दानबकस गरेको हो होइन ? भन्ने तर्फ नै बिचार गर्नुपर्ने हुन्छ राजीनामा भएकोमा उजुरकर्ताको उमेरको पनि विचार गर्नुपर्ने हुन्छ । जव कि दानबकसमा उजूरकर्ताको उमेरको प्रश्न नै महत्व राख्दैन । हस्तान्तरण भएको सम्पत्तिमा उजूरकर्ताको अंशहक पुग्छ, पुग्दैन सो विषय नै महत्वपूर्ण हुन्छ । प्रस्तुत मुद्दा दानबकसको १, ५ नं. अनुसार दायर भएकोले त्यस ऐनको परिधि भित्र नै रही वादी दावी पुग्ने नपुग्ने विवेचना गर्नुपर्ने हुन्छ । लेनदेन व्यवहारको १० न. यसमा आकर्षित हुदैन बाटो रोज्ने काम उजुर कर्ता कै हुन्छ । अदालतको होइन । उजुरकर्ताले जुनबाटो रोजी आएको हुन्छ त्यस भित्र उसको दावी पुग्छ पुग्दैन यती मात्र अदालतले बिचार गर्नु पर्छ । माथि विवेचना गरिए अनुसार विवादित सम्पत्ति सगोलको आर्जनवाट आर्जित सम्पत्ति रहेकोले सवै अंशियारको अंशहक लाग्ने सम्पत्ति नै देखिन्छ । र उक्त सम्पत्ति वकस दिंदा सगोलका अंशियार यी वादीहरुको मंजुरी लिएको देखिदैन । अतः पुनरावेदकको कानून व्यवसायीको वहस जिकिर सित सहमत हुन सकिएन ।

            यसै मुद्दामा मिति २०५७।४।२६ मा पांचजना माननीय न्यायाधीशको वृहत पूर्ण इजलासले अंशवण्डाको १९(२) मा प्रयोग भएको आफ्नो पालाको आर्जनआफूखुश गर्न पाउंछ , अरुको स्वीकृति लिनु पर्दैन भन्ने व्याख्या कानूनको सटिक व्याख्या नभै संकुचित व्यख्या भएकोले त्यससित सहमत हुन सकिएन ।

            त्यसो हुनाले वादी दावी अनुसार चार खण्डको तीन खण्ड लिखत वदर गरी वादीहरुको नाममा दर्ता हुने ठहराई दाङ जिल्ला अदालतले गरेको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत, नेपालगंजले मिति २०५०।१।९ मा गरेको इन्साफ मुनासिव हुँदा सदर हुने ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन ।

      सहयोगी सम्माननीय प्रधानन्यायाधीश एवं अन्य माननीय न्यायाधीशहरुको राय सित सहमत हुन नसेकोले आफ्नो छुट्टै राय अभिव्यक्त गरेको छु । वहुमतको राय अनुसार नै हुने हुनाले मेरो राय बमोजिम केही गरी रहनु परेन । दायरी लगत कटृा गरी मिसिल नियम वमोजिम वुझाई दिनु ।

 

इति संवत् २०५८ साल भाद्र १४ गते राजे ५ शुभम्.............. ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु