निर्णय नं. ३३५६ - खिचोला निर्णय दर्ता बदर हक कायम समेत

निर्णय नं. ३३५६ ने.का.प. २०४५ अङ्क २
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
सम्वत् २०४२ सालको दे.पु.नं. ६९८ वि.वि.नं. ७३
फैसला भएको मिति : २०४४।१२।२८।१ मा
पुनरावेदक, निवेदक, प्रतिवादी : का.न.पं. वडा नं. ३२ डिल्लीबजार बस्ने ग्वारा मुनीकारसमेत
विरुद्ध
विपक्षी, वादी : ऐ. घट्टेकुलो बस्ने रमादेवी घिमिरे
मुद्दा : खिचोला निर्णय दर्ता बदर हक कायम समेत
(१) अधिकार क्षेत्र शुन्य स्तिथिमा रहेको नहुने ।
(प्रकरण नं. १६)
(२) क्षेत्राधिकार नतोकिएको स्थितिमा शुरु जि.अ. ले आफ्नो इलाकाभित्रको मुद्दा मामिलाको शुरु कारवाही किनारा गर्ने अधिकार देखिने ।
(प्रकरण नं. १६)
(३) विभिन्न ठाउँहरूमा टाँस भई भनी विभिन्न ठाउँ उल्लेख गरी सही समेत भएको स्थितिमा विभिन्न ठाउँमा म्याद टाँस नै भएन भन्ने स्थिति देखिन नआउँने ।
(प्रकरण नं. १७)
(४) सनदद्वारा अधिकार प्रदान भई सोही बमोजिम म्याद टाँस भइरहेको स्थितिमा अ.बं. ११० नं. बमोजिम म्याद तामेल हुनु पर्ने भन्ने स्थिति रहन नआउँने ।
(प्रकरण नं. १७)
(५) पहिले आफैंले दर्खास्त दिई म्याद पुर्जी टाँसलाई स्वीकार गरेको स्थितिमा अहिले आई बेरितपूर्वक म्याद टाँस भएको भन्ने बिवन्धनको सिद्धान्तले मिल्न आउँने नदेखिने ।
(प्रकरण नं. १७)
पुनरावेदक, प्रतिवादीतर्फबाटः विद्वान व.अ.हरु श्री लक्ष्मणप्रसाद अर्याल र श्री कृष्णप्रसाद पन्त
विपक्षी, वादीतर्फबाट : विद्वान व.अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विद्वान अधिवक्ता श्री प्रकाश वस्ती
प.भं.तहविल का.तर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुंगाना
उल्लिखित मुद्दा : पशुपतिनाथ अमालकोट संलग्न रहेको निवेदन निज अमालकोट विपक्षी गोपकुमारी मरी मु.स.गर्ने वटुक संशेर थापा समेत भएको नापी दर्ता बदर खिचोला मेटाई पाउँ भन्ने मुद्दामा उक्त अमालकोट उपर शुरु जि.अ. बाट नालिश दायर भई यस अदालत पूर्णइजलास समेतबाट २०४४३१५ मा निर्णय भएको देखिने डिभिजनबेन्चबाट सम्वत् २०३४ सालको नि.नं. ६९४ निवेदक मूल पुजारी रावल पद्यनाथ शास्त्री भट्टजी विरुद्ध पद्यलक्ष्मी राजभण्डारी भएको वहाली पुर्जी सदर गरिपाउँ भन्ने मुद्दामा बाली नबुझाउने मोहीलाई पजनी गर्न सकिने भन्ने समेत मिति ०३४१०१० मा सिद्धान्त कायम भएको
फैसला
न्या.बब्बरप्रसाद सिंह : म.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने प्र.ग्वारमुनीको निवेदनमा अनुमति प्रदान भएको र पशुपति भण्डार तहविलको निवेदनमा इन्साफ जाँच गरिदिनु भन्ने वक्स भएको हुकूम प्रमाङ्गी बमोजिम दर्ता हुनआएको समेत प्रस्तुत मुद्दाको संक्षित तथ्य निम्न प्रकार छ ।
२.श्री पशुपतिनाथको मूल पुजाहारीका खान्गीमा दरियाको पशुपति भण्डार तहविलमा दर्ता भएको उक्त तहविल भण्डारमा सालको धानमुरी १०।१० घ्यू खाने रु.१।– समेत तिर्नु पर्ने मांगडोल भन्ने खेत रोपनी ८–०–० को मोही का.जि. भगवान बहाल बस्ने श्रीमती कृष्णलक्ष्मी श्रेष्ठ हुनुहुन्थ्यो । उक्त जग्गा मध्ये हाल नापिबाट कि.नं.४०७ कायम भएको ज.रो. ५–१२–२–३ जग्गा मैले कृष्णलक्ष्मीबाट मिति २०३६।९।१२ मा काठमाडौं मालपोत कार्यालयबाट हालै देखि बकसपत्र गरी हकभोग गरी आई यस जग्गाको विपक्षी पशुपतिनाथका भण्डार तहविल कार्यालयमा दाखेल खारेज गराउन र २०३६ सालको बाली तिर्न पटक पटक जाँदा दाखिल खारेज पनि भएन र बाली पनि सर्वोच्च अदालतमा परेको रिट टुंगो नलागेसम्म बुझी नलिई मूल भट्टले फर्काउनु भयो । तर अचानक ०३७।१।२ गते श्री पशुपतिनाथका मूल पुजाहारी रावल पद्यनाथ शास्त्री भट्टजीले ०३६ सालको बाली वार वार ताकिता गर्दा पनि नबुझाएको भन्दै कार्यालयमा भएको सनद बमोजिम कूत खान्गी बाली असूल उपर गरिपाउँ भनी दर्खास्त दिनु भएको छ । अड्डाले पनि भइरहेको सबूद बमोजिम १० दिनभित्र साविक मोही वा हक पुग्नेले तिरे उनीहरूले र सो म्याद नाघेको ३ दिनभित्र हकवालाले सो म्याद नघाए जस्ले कबूल गर्छ उससंग ऐन सनद सवाल बमोजिम बाली बाँकी कूत बुझी जग्गा पजनी हुने काम हुनेछ भन्दै गैरकानुनी तवरले म्याद तामेल गराउनु भई म पटक–पटक बाली बुझाउन जाँदा संकेतसम्म नगरी मैले प्राप्त गरी भोगचलन गरी मेरो कानुनी हक भोग भइरहेको जग्गामा विपक्षी ग्वारामुनीकार विपक्षी कार्यालय एवं पधाधिकारीहरूको गैरकानुनी पर्चाको आधारमा २०३७।२।१९ गते देखि नै खिचोला उठाई भोगचलनबाट वञ्चित गरेकोले कि.नं.२०७ मा घर हुँदै नभएको ग्वारा मुनिकारलाई घरवाला समेत भनी ग्वारामुनिकारका नाउँमा निर्णय गरी गराई बहालीको चलन पुर्जी गरी पजनी गरेको सम्पूर्ण रुपमा गैरकानुनी हुँदा का.जि.अ. का.न.पं. वडा नं. ३२ कि. नं. ४०७ को जग्गा रोपनी ५–१२–३–२ जग्गाबाट खिचोला मेटाई दर्ता एवं निर्णय बदर गरी मेरो दर्ता हक कायम गराई चलन समेत चलाई पाउँ भन्ने समेत व्यहोरा को रमादेवी घिमिरेको फिरादपत्र ।
३.वादीले सो जग्गाको समयमा नै तिरो बुझाई आफ्नो जग्गा सुरक्षित राख्नु पर्ने सो नगरी पशुपतीनाथ मूल पुजारीको खान्गी बाँकी राखेतर्फ जग्गा टाँस गर्न निवेदन परी कूतवाली बाँकीमा दर्ता बाली कृष्णलक्ष्मी श्रेष्ठका नाममा बाली बुझाउने विषयको १० दिने म्याद जारी भई टाँस भएपछि आफ्नो म्यादभित्र आफ्नो हक पुग्ने भएको जग्गाको लाग्ने कूत बाली बुझाई जग्गा सुरक्षित राख्नु पर्ने थियो । सो गरेका छैन भन्ने कुरा वादीको श्रीमान रामकृष्णले गरेको बाली बुझाई पाउँ भन्ने विषयको निवेदनमा नै ग्वारामुनिकारको २०३७।२।१३ मा निवेदन परेपछि मात्र सो जग्गा २०३७।१।१२ मा टाँस भएको सकार गरिपाउँ भन्ने ०३७।२।१४ मा निवेदन परेको छ । सो निवेदनले पनि ग्वारामुनीकारको निवेदन जेठो छ भन्ने प्रष्ट हुनआएकोले यस भण्डार तहविललाई भएको १९९९ सालको सनद बमोजिम बाली नतिर्ने मोहीको जग्गा बाली बुझाउने ग्वारामुनिकार समेतका नाउँमा वहाल गरिदिने ठहर गरिएको निर्णय बदर हुने होइन भन्ने समेत व्यहोराको पशुपतिनाथ भण्डार तहविल कार्यालयको प्रतिउत्तरपत्र ।
४.मैले अघिदेखी जोतखन गरी भोगचलन गरिआएको मैतीमाडोल भन्ने जग्गा रोपनी ८–०–० मध्ये रोपनी ६–०–० को भनी का.जि. ठमेल भगवान बहाल बस्ने कृष्णलक्ष्मी श्रेष्ठले सालको धान मुरी १२। बुझी लिने गर्दै आएकोमा निजले मलाई दिने गरेको रसिदमा श्री पशुपतीनाथको मूल भट्टको खान्गी भनी २०२३।१२।३१ मा भर्पाई समेत गरिदिएको छ यसरी मैले १० कर्म गरिआएको जग्गा बाली नबुझी कि.नं.४०७ रोपनी ५–१२–२–३ मा नत कृष्णलक्ष्मीले भोग गरेको हुन् नत रमादेवीले नै भोगचलन गरेका छन् । यो सबै जग्गा हत्याउन अधिकृत गुणप्रसाद शर्मा सहित मिली यस्तो सरासर झुठ्ठा र फरेवी कुरालाई यो नालिश गरेका हुन् । श्री पशुपतीनाथ भण्डार तहविललाई भइराखेको सनद सवाल ताडपत्र लालमोहर र परम्परा देखि चली आएका खान्गीको कार्य र श्री ५ महाराजाधिराज सरकारको हुकूम प्रमाङ्गी समेत पाई अधिकार प्राप्त वाला तालुक कार्यालयबाट गरेको निर्णय पर्चा फैसला बमोजिम मैले वहालीको चलन पुर्जी समेत लिई सकेकोमा वादीले हाल बकसपत्र पारित गरी लिएको जग्गामा जग्गा पजनीको दफा २(क) अनुसार दाखिल खारिज गरी आफ्नो हक कायम गर्नु पर्ने हो । सो कायम भएको छैन भने ऐ. को दफा १३–१५ को प्रश्न उठ्दैन भन्ने समेत व्यहोराको ग्वारामुनिकारको प्रतिउत्तरपत्र ।
५.अ.बं. ११० मा २ जना भलाद्मी र १ जना पञ्चायत सदस्य राखी म्याद तामेल गर्नु पर्ने स्पष्ट व्यवस्था गरिएकोमा अ.बं. ११० बिपरीत म्याद टाँसिएकोले सो मुचुल्कालाई ठोस रुपमा प्रमाणयोग्य मान्न सकिँदैन तसर्थ पशुपतिनाथ भण्डार तहविल कार्यालयबाट गरिएको पर्चा कानून अनुरुप नहँुुदा उक्त पर्चा बदर गर्ने र वादीको हक कायम र चलन पाउने ठहर्छ भन्ने समेत व्यहोराको का.जि.अ. बाट भएको फैसला ।
६.उक्त इन्साफमा चित्त बुझेन भन्ने ग्वारामुनीकारको पुनरावेदन ।
७.वेरितको म्याद तामेलीको मुचुल्काको आधारमा पशुपति भण्डार तहविल कार्यालयबाट गरिएको दर्ता कानून अनुरुप नहँुदा उक्त पर्चा बदर हुने ठहर्याई शुरु जि.अ. ले गरेको इन्साफ मिलेकै देखिन्छ प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको वा.अं.अ. को फैसला ।
८.कानुनी प्रश्न उल्लंघन गरी सो को मान्यता विहिन गरेको फैसला त्रुटिपूर्ण कानुनी त्रुटीको हुँदा वा.अं.अ. को फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको पशुपतिनाथ भण्डार तहविलको निवेदन ।
९.म निवेदकले आफ्नो प्रतिउत्तर र पुनरावेदनमा उठाएको बुँदाहरू खण्डन नगरी फैसला भएकोले त्रुटिपूर्ण हँुदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने ग्वारामुनीकारको निवेदन ।
१०.श्री पशुपति भण्डार तहविल कार्यालयलाई मोही पजनी गर्ने अधिकार भई सोही बमोजिम गरी गरेको निर्णय पर्चा समेत बदर हुने ठहर्याएको शुरुको सदर गरेको अञ्चल अदालतको फैसला कानुनी त्रुटिपूर्ण देखिएकोले न्या.प्र.सु. ऐन ०३१ को दफा १३(३)(ख)(ग) को आधारमा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने म.क्षे.अ. सिंगलबेञ्चको आदेश ।
११.१९९९ सालको सनद बमोजिम मोहीले कूत बुझाउन पर्ने म्याद चैत्र मसान्तसम्मको उल्लेख गरी बाँकी वालालाई बैशाख लागेदेखि पक्री असूल गर्ने व्यवस्था गरेकोमा २०३७ साल बैशाख २ गते नै मूल पुजाहारीको दर्खास्त परेकोमा २०३७ साल बैशाख १२ गते म्याद टाँसेको मुचुल्कामा मोहीको घर दैलामा सबैले देख्ने ठाउँमा र पशुपतिनाथ भण्डार तहविलको अगाडि टाँसेको व्यहोराका साक्षीमा मोहीको घर भएको स्थानको वतन भएको कुनै साक्षी नदेखिएको र अन्य ठाउँमा स्थानीय पञ्चायतको कुनै सदस्य रहेको नदेखिएको साथै सनदको व्यवस्था बमोजिम ३ प्रति १० दिने म्याद समेत टाँस गरेको समेत देखिएन र अ.बं. ११० नं. को रीत पुर्याई म्याद तामेल भएको पाइएन । जहाँसम्म क्षेत्राधिकारको प्रश्न छ सो विषयमा २०३७ साल जेष्ठ १९ गतेको पशुपति भण्डार तहविल कार्यालयबाट खडा गरेको पर्चामा नै चित्त नबुझ्ने पक्षलाई सम्बन्धित अदालतमा जानु भन्ने उल्लेख भएको र न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा ९ बमोजिम प्रचलित अन्य नेपाल कानूनमा अन्यथा व्यवस्था भएको नदेखिँदा जिल्ला अदालतलाई आफ्नो इलाकाभित्रको सबै मुद्दामा शुरु कारवाही किनारा गर्ने अधिकार भएको हुँदा का.जि.अ. को फैसलालाई सदर गरेको बागमती अञ्चल अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेत म.क्षे.अ. को फैसला ।
१२.पुनरावेदनको अनुमति पाउँ भन्ने ग्वारामुनिकारको निवेदनमा विवादित विषयमा पशुपति भण्डार तहविलका नाउँमा १९९९ सालमा भएको सनदमा व्यवस्था तथा अधिकार अनुसार बाली बाँकीवाला मोहीका नाउँमा १० दिने र हकवालाका नाउँमा ३ दिने म्याद दिई सोही सनदको अख्तियार बमोजिम निर्णय पर्चा गरेकोमा सो पर्चा निर्णय उपरको फेराद लिई मुलुकी ऐन अ.बं. ११० नं. बिपरीत म्याद तामेल भएको भनी पर्चा बदर गरी वादी दावी अनुसार हक कायम र चलन पाउने ठहर्याई शुरु का.जि.अ. ले र सोही सदर गरी वा.अं.अ., म.क्षे.अ. ले फैसला गरेको देखिन्छ । लालमोहर तथा सनद सवाल छुट्टै खडा भई सोही आधारमा सोही बमोजिम काम कारावाही गर्ने कार्यालयको मुख्य अधिकारावाला मूल पूजाहारीले आफूलाई भएको अधिकार अनुसार गरेको निर्णय पर्चा बदर गराउन जिल्ला अदालतमा फिराद लाग्न सक्ने र जिल्ला अदालतले निर्णय गर्ने कानुनी व्यवस्था तथा परम्परा समेत भएको पाइँदैन । यस्तो स्थितिमा जिल्ला तथा अञ्चल अदालतको इन्साफ मनासिव गर्ने गरी म.क्षे.अ. ले गरेको निर्णयमा उक्त प्रारम्भिक कथनको ४ नं. को त्रुटी हुनुका साथै अधिकार व्याख्यात्मक त्रुटी समेत देखिन आएकोले न्या.प्र.सु.ऐन ०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने स.अ. डिभिजनबेन्चको आदेश ।
१३.म.क्षे.अ. को इन्साफ दोहर्याई दिनु भन्ने हुकूम प्रमाङ्गी पाउँ भन्ने पशुपति भण्डार तहविल कार्यालयको निवेदनमा श्री ५ महाराजाधिराजबाट इन्साफ जाँची कानून बमोजिम गर्नु भन्ने हुकूम प्रमाङ्गीको निवेदनपत्र ।
१४.नियमबमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विपक्षी वादीको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विद्वान अधिवक्ता श्री प्रकाश वस्ती र श्री पशुपति भण्डार तहविलका मूल भट्ट श्री पद्मनाथ शास्त्रीको तर्फबाट विद्वान अधिवक्ता श्री दमन ढुङ्गाना समेतले गर्नु भएको बहस जिकिर समेत सुनियो ।
१५.प्रस्तुतमुद्दामा म.क्षे.अ.को इन्साफ मनासिव बेमनासिव के रहेछ सो सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।
१६.पशुपतिनाथका मूल पुजारीको खान्गीमा दरिएको उक्त तहविल भण्डारमा सालको धान मुरी १०।१० बुझाउन पर्ने कि.नं.४०७ ज.रो. ५–१२–२–३ को साविक मोही कृष्णलक्ष्मीबाट २०३६।९।१२ मा मा.पो.का.काठमाडौंबाट हालैदेखिको बकसपत्र पाई भोगचलन गरिआएकोमा २०३६ सालको बाली तिर्न जाँदा बुझी नलिई २०३७।१।२ मा मूल पुजारीले २०३६ सालको बाली बारम्बार ताकेता गर्दा पनि नबुझाएको भन्दै सनद बमोजिम भनी बेरितपूर्वक म्याद तामेल समेत गराई गैरकानुनी पर्चाको आधारमा २०३७।२।१९ मा विपक्षी ग्वारा मुनिकारलाई बहाली पुर्जी दिने गरी उक्त मितिदेखि नै मेरो कानुनी हकभोग भइरहेको जग्गामा विपक्षीले खिचोला गरेकोले खिचोला मेटाई दर्ता एवं निर्णय बदर गरी मेरो दर्ता हक कायम गराई चलन चलाई पाउँ भन्ने समेतको वादीको फिराद दावी भएकोमा मोही कृष्णलक्ष्मीले विवादित जग्गाको कूत बाली बुझाई आफ्नो हक सुरक्षित राख्नु पर्नेमा सो नगरी म्याद समेत गुजारी बसेकोले र सनद सवाल बमोजिम ग्वारा मुनिकारको पहिले परेको निवेदनबाट निज ग्वारा मुनिकारको नाउँमा बहाल चलनपूर्जी गरिदिने गरी निर्णय भएबमोजिम हक कायम भई भोगचलन गर्दै आएको भन्ने समेत प्रतिवादी जिकिर देखिन आयो मोही कृष्णलक्ष्मी श्रेष्ठका नाउँमा बाली बुझाउँन ल्याउँनु भनी पशुपति भण्डार तहविल कार्यालयबाट जारी भएको म्याद मु.ऐ. अ.बं. ११० नं. को रीत नपुर्याई बेरितपूर्वक तामेल भएको म्यादबाट पशुपतिनाथ भण्डार तहविल कार्यालयले गरिएको निर्णय पर्चा कानून अनुरुप नभएको भन्ने आधारमा उक्त निर्णय पर्चा बदर गर्ने गरेको शुरु जि.अ.को इन्साफलाई सदर गरेको बा.अं.अ. को इन्साफलाई समेत म.क्षे.अ.ले मनासिव ठहर गरे उपर प्रतिवादी ग्वारा मुनिकारको म.क्षे.अ.को त्रुटिपूर्ण फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत पर्न आएको निवेदनमा सनदको अख्तियार बमोजिम निर्णय पर्चा गरेकोमा मु.ऐन अ.बं. ११० नं. बिपरीत म्याद तामेल भएको भनी उक्त पर्चा बदर गरेको र तहविल कार्यालयले गरेको निर्णय उपर शुरु जि.अ.ले निर्णय गर्न नपाउनेमा उक्त दुबै त्रुटी गरेको भन्ने आधारमा म.क्षे.अ.को फैसला उपर पुनरावेदन गर्ने अनुमति प्रदान भएको र श्री पशुपतिनाथ भण्डार तहविल कार्यालयको म.क्षे.अ.को त्रुटिपूर्ण इन्साफ दोहर्याई दिनु भनी स.अ.का नाउँमा हु.प्र. बक्स पाउँ भनी परेको निवेदनबाट म.क्षे.अ. बाट छिनिएको उक्त मिसिल झिकाई इन्साफ जाँची कानून बमोजिम गर्नु भन्ने हु.प्र. बक्स भई आए बमोजिम प्रस्तुत मुद्दामा दुबै पक्षका विद्वान अधिवक्ताहरूले बहस पैरवी समेत गर्नु भई आज निर्णय सुनाउँने तारेख तोकी आएको प्रस्तुत मुद्दामा दुबैपक्षका विद्वान अधिवक्ताहरूले गर्नुभएको बहस जिकिरहरू समेतलाई दृष्टिगत गर्दै मुख्यतः प्रस्तुत मुद्दामा यस अदालतको संयुक्त इजलासको पुनरावेदन गर्ने अनुमतिको लागि पर्न आएको प्रतिवादी ग्वारा मुनिकारको निवेदनमा पशुपति भण्डार तहविल कार्यालयले गरेको निर्णय उपर जिल्ला अदालतमा फिराद लाग्न नसक्ने र जिल्ला अदालतले निर्णय गर्ने कानुनी व्यवस्था तथा परम्परा समेत भएको पाइँदैन भन्ने समेत बुँदा लिई अनुमति प्रदान भएको देखिएबाट प्रथमतः उक्त शुरु जि.अ.लाई प्रस्तुत मुद्दामा आफ्नो क्षेत्राधिकार प्राप्त छ छैन भन्ने सम्बन्धमा विचार गर्नु पर्ने देखियो । कुन विषयको मुद्दामा कुन अदालतमा नालेश लाग्न सक्ने भन्ने क्षेत्राधिकारको सम्बन्धमा प्रत्येक देशको कानूनमा निश्चित व्यवस्था गरिए जस्तै हाम्रो नेपाल कानूनमा पनि यसको व्यवस्था छ । अधिकार क्षेत्र सून्य स्थितिमा रहेको हुँदैन यो सर्वमान्य सिद्धान्त पनि हो । न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा ९ लाई हेर्दा यो ऐनमा र प्रचलित अन्य नेपाल कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक जिल्ला अदालतलाई आफ्नो इलाकाभित्रको सबै मुद्दामा शुरु कारवाही र किनारा गर्ने अधिकार हुनेछ भन्ने व्यवस्था भएबाट क्षेत्राधिकार नतोकिएको स्थितिमा शुरु जि.अ.ले आफ्नो इलाकाभित्रको मुद्दामामिलाको शुरु कारवाही किनारा गर्ने अधिकार प्रदान गरेको देखिन आयो । प्रमाण स्वरुप मिसिल संलग्न रहेको १९९९ सालको सनदमा उक्त सनदमा उल्लेख भएबमोजिम गरेको काम कारवाहीमा कहाँ उजूर गर्ने भन्ने उल्लेख भएको पाइएन । उक्त पशुपति भण्डार तहविल कार्यालयले गरेको निर्णय पर्चा उपर चित्त नबुझ्नेले फलानो अड्डा अदालतमा उजूर गर्न जानु भन्ने पनि उल्लेख गरेको देखिन आएन । अनुमतिको बुँदामा उल्लेख गरिए बमोजिम सो तहविल कार्यालयको पर्चा उपर जिल्ला अदालत बाहेकको अन्य कुनै अदालतमा नालेश लाग्ने भन्ने समेत परम्परा भएको देखिन आएन । १९९९ सालको सनदद्वारा प्राप्त अधिकार बमोजिम नै पशुपतिनाथ अमालकोट संलग्न रहेको निवेदन निज अमालकोट विपक्षी गोपकुमारी मरी मु.स. गर्ने बटुक शंसेर थापा समेत भएको नापी दर्ता बदर खिचोला मेटाई पाउँ भन्ने मुद्दामा उक्त अमालकोट उपर शुरु जि.अ.बाट नालिश दायर भई यस अदालत पूर्णइजलास समेतबाट २०४४।३।११।५ मा निर्णय भएको देखिन आएबाट समेत प्रस्तुत मुद्दामा उपरोक्त उल्लिखित बमोजिम न्या.प्र.सु. ऐन, २०३१ को दफा ९ बमोजिम शुरु जि.अ. ले नै मुद्दा हेरेको कानून बमोजिम नभई अधिकारक्षेत्रको त्रुटी हुनआएको भन्न मिल्ने देखिएन आएन । तसर्थ मिसिल संलग्न प्रमाणहरूबाट इन्साफ दिनु पर्ने देखिन आयो ।
१७.प्रस्तुत मुद्दामा वादीको जिकिर साविक मोही कृष्णलक्ष्मीबाट २०३६।९।१२ मा हालदेखिको बकसपत्र गरी विवादित जग्गामा हक भोग गरिआएको र २०३६ सालको बाली तिर्न पटक–पटक जाँदा बुझी नलिएको भन्ने देखिन आएको छ भन्ने प्रतिवादीहरूको मुख्य जिकिरमा वादीले बाली बुझाउन ल्याउँनु भनी म्याद तामेल भइसकेपछि पनि ऐनको म्यादभित्र बाली बुझाउन नल्याएकोले १९९९ सालको सनद बमोजिम बाली नतिर्ने मोहीको जग्गाबाली बुझाउने ग्वारा मुनिकार समेतका नाउँमा बहाल गरिदिने गरी गरेको भन्ने देखिन आयो । पशुपति भण्डार तहविलमा दर्ता भएको विवादित जग्गा सम्बन्धमा प्रमाणस्वरुप पेश भइआएको पशुपति तहविल कार्यालयको मिसिल संलग्न रहेको १९९९ सालको सनद हेर्दा पशुपतिनाथका हाता इलाकाको जागिरदार रकमी समेत खान्गीको बाली बुझाउन पर्ने मोही रैतिले साल सालको बाली साल सालको चैत्र मसान्तसम्ममा बेमाख गरी बुझाउनु पर्दछ सो म्यादभित्र बाली बेमाख नगर्ने मोहीको बैशाख लागेदेखिको बाँकीवालालाई पक्री असूल गर्नुपर्छ, नबुझाई अटेर गरे बाली कूतमा जग्गा पजनी हुनेछ भनी बाँकी रहेको खला गडा खोली सो बाँकीवाला मोहीको घर दैलामा १, अड्डामा १, सबैले देख्ने ठाउँमा १ जम्मा ३ प्रति १० दिने म्याद टाँसी दिनु सो म्यादभित्र साविक मोहीले तिरे साविक मोहीले र सो म्याद नाघेको ३ दिनभित्र हकवालाले बुझाए हकवालाले सो म्याद नाघे जस्तै कबूल गर्छ उसंग बाली कूत बुझी जग्गा पजनी गरी ऐन सवालको रीत पुर्याई कबूल गर्नेलाई बहाली पुर्जी दिई कबूल गर्नेका नाउँमा दर्ता गरिदिनु भन्ने उल्लेख भएको देखिन आएबाट उक्त सनदद्वारा पशुपति तहविल कार्यालयलाई अधिकार प्रदान गरेको देखिन आयो, यस्मा वादीले समेत विवाद उठाएको देखिन आएन । अब उक्त सनदद्वारा प्राप्त अधिकार बमोजिम जुन कृष्णलक्ष्मीको नाउँमा म्याद तामेल भयो त्यो रीतपूर्वक भएन भन्ने जिकिर सम्बन्धमा उक्त कृष्णलक्ष्मी श्रेष्ठनीको नाउँको म्याद हेर्दा का.जि.ठबहिल बस्ने कृष्णलक्ष्मी श्रेष्ठनी तथा निजबाट कुनै किसिमसंग हक छुट्टाई लिनु भएको भए दर्तावाला वा हक हुने समेतले तपसीलका जग्गाको तपसीलका साल सालको बाली बाँकी चैत्र मसान्तसम्ममा पनि बुझाउन नल्याई बराबर ताकिता गर्न पठाउँदा पनि आजसम्म बुझाउन नल्याई अटेर गरी बाली बाँकी राखेको हुँदा अड्डालाई भइरहेका सनद बमोजिम १० दिनभित्र साविक मोहीले वा हक पुग्नेले तिरे उनीहरूले र सो म्याद नाघेको ३ दिनभित्र हकवालाले सो म्याद नाघे जसले कबूल गर्दछ उसैसंग ऐन सवाल सनद बमोजिम बाली बाँकी कूत बुझी जग्गा पजनी गर्ने काम हुनेछ भन्ने यस अड्डाबाट तपसीलका ठाउँ ठाउँमा म्याद पुर्जी टाँस्दा हामीहरूको रोहवरमा म्याद टाँसेको साँचो हो फरक छैन भनी म्याद टाँसेको मुचुल्का लेखी श्री पशुपति भण्डारमा चढायौं भनी तपसील खण्डमा मोहीको घर दैलोमा टाँस्दा देख्ने साक्षी सबैले देख्ने ठाउँ जग्गा रहेको मैतिदेवी जग्गामा टाँस्दा देख्ने साक्षी पशुपति भण्डार तहविलका अगाडि टाँस्दा देख्ने साक्षी भनी व्यक्तिहरूको नाउँ उल्लेख गरी सही समेत गरेको देखिन आयो । यसरी तपसीलको विभिन्न ठाउँहरूमा टाँस भई भनी विभिन्न ठाउँ उल्लेख गरी सही समेत भएको स्थितिमा विभिन्न ठाउँमा म्याद टाँस नै भएन भन्ने स्थितिमा देखिन आएन । मुलुकी ऐन अ.बं. ११० नं. को रीत पुर्याउँन पर्ने भन्ने जिकिर सम्बन्धमा प्रस्तुत मुद्दामा सनदद्वारा अधिकार प्रदान भई सोही बमोजिम म्याद टाँस भइरहेको स्थितिमा उक्त अ.बं. ११० नं. बमोजिम म्याद तामेल हुनु पर्ने भन्ने स्थिति पनि रहन आएन साथै उपरोक्त बमोजिम बाली ल्याउ भनी बराबर तर ताकेता गर्दा पनि आजसम्म बाँकी बाली बुझाउँन नल्याएकोले यस कार्यालयलाई भएको सनद बमोजिम टाँस गरी बाँकी कूत खान्गी बाली असूल उपर गरिपाउँ भनी पशुपतीनाथका मूल पुजारीको दर्खास्त परी उक्त म्याद टाँस भइसकेपछि प्रतिवादी ग्वारा मुनीकारको विवादित जग्गाको दर्ता कायम गरी वहालीको चलन पुर्जी समेत गरिपाउँ भनी मिति २०३७।२।१३ मा परेका निवेदनपछि उपरोक्त टाँस मुचुल्कालाई नै आधार लिएर उक्त टाँस भएको जग्गाको बहाली चलन पुर्जी पाउँ भनी वादी निवेदक श्रीमती रमादेवी घिमिरेको २०३७।२।१४।३ मा मात्र दर्खास्त पर्न आएको देखिएबाट समेत पहिले आफैले दर्खास्त दिई म्याद पुर्जी टाँसलाई स्वीकार गरेको स्थितिमा ऐले आई वेरीत पूर्वक म्याद टाँस भएको भन्ने समेत बिवन्धनको सिद्धान्तले मिल्न आउँने देखिँदैन । उक्त बहाली चलन पुर्जीको लागि समेत २०३७।१।१२ मा टाँस भएको म्यादमा १० दिनभित्र साविक मोहीले वा हक पुग्नेले तिरे उनिहरूले र सो म्याद नाघेको ३ दिनभित्र हकवालाले दर्खास्त दिनुपर्नेमा सो म्याद नघाई वादी रमादेवीको दर्खास्त पर्न आएबाट ग्वारा मुनीकारको निवेदन नै अगाडि पर्न आएको देखिएको छ । निज रमादेवीले पटक–पटक बाली बुझाउँन जाँदा बुझी नलिएको भन्ने जिकिर लिए तापनि त्यस प्रकारको बाली कूत कतै धरौट राखेको भन्ने समेत देखिन आएको छैन । साथै यस सर्वोच्च अदालतमा मोही कृष्णलक्ष्मी श्रेष्ठको रिट निवेदन परेको स्थितिमा बाली बुझाउँन असुविधा परेको भन्ने समेत स्थिति समेत कानून मिल्दो देखिन आउँदैन । मोहीबाट हक छुटाई लिएको भन्ने वादी दावी भएपछि बकसपत्र पासपछि म्यादभित्र आई बाली बुझाउँनु उक्त मोहीको कर्तव्य हुनआएको स्थितिमा सो कर्तव्य पुरा गरेको देखिन आएन । उक्त पशुपति भण्डार तहविलका नाउँमा १९९९ सालमा जारी भएको उक्त सनद अनुसार मोही कुष्णलक्ष्मी श्रेष्ठनीले बाली नबुझाएपछि मोहीका नाउँमा म्याद टाँस भई उक्त टाँस भएको म्यादमा पनि वादीले बाली बुझाउँन नआएपछि मात्र सो सनद अनुसार मिति ०३७।२।१३।२ मा परेको निवेदनबाट ग्वारा मुनीकारको नाउँमा चलन पुर्जी गरिदिने ठहराई उक्त पशुपति भण्डार तहविलबाट ०३७।२।१९।१ मा निर्णय पर्चा भएको देखिन आएको तत्पश्चात निज ग्वारा मुनीकारले नै विवादित जग्गा भोगचलन गर्दै आएको देखिन आएको छ । यसरी बाली नबुझाउने मोहीलाई उपरोक्त सनद बमोजिम पजनी गर्न सकिने देखिन आएको छ भने अर्को तर्फ यसै अदालत डिभिजनबेन्चबाट सम्वत् २०३४ सालको नि.नं. ६९४ निवेदक मूल पुजारी रावलपद्यनाथ शास्त्री भट्टजी विरुद्ध पदमलक्ष्मी राजभण्डारी भएको बहाली पुर्जी सदर गरिपाउँ भन्ने मुद्दामा बाली नबुझाउने मोहीलाई पजनी गर्न सकिने भन्ने समेत मिति २०३४।१०।१० मा सिद्धान्त कायम भएको देखिन आएबाट लालमोहर सनदद्वारा प्राप्त गरेको अधिकार प्रयोग गरी अधिकार प्राप्त अधिकारीले बाली बाँकी नतिर्ने मोहीलाई पजनी गर्ने गरी विपक्षी प्रतिवादी ग्वारा मुनीकारलाई चलन पुर्जी दिने गरेको पशुपति भण्डार तहविल कार्यालयको उक्त २०३७।२।१९।१ को निर्णय पर्चा कानून अनुकूल नै देखिन आएकोले उक्त भण्डार तहविलले गरेको निर्णय पर्चालाई बदर गरी गरेको शुरु तथा अञ्चल अदालतको निर्णयलाई मनासिव ठहर गरेको म.क्षे.अ. को इन्साफ उल्टी हुने नै ठहर्छ । वादी दावी पुग्न सक्दैन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादी दावी नपुग्ने गरी फैसला भएकोले पुनरावेदक प्रतिवादी ग्वारामुनीकारले वा.अं.अ. मा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.९०।९९ र क्षे.अ. मा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.९०।९९ स.अ.मा पुनरावेदन गर्दा राखेको कोर्टफी ९०।९९ समेत जम्मा २७२।९७ वादी रमादेवीबाट भराई लिन पाउने हुँदा ऐन बमोजिम वादीको जग्गा देखाई प्रतिवादीको दर्खास्त पर्न आए ऐन बमोजिम गरी भराई दिनु भनी का.जि.अ.त. मा लगत दिनु ..१, म.क्षे.अ. का माननीय न्यायाधीश श्री जनार्दनलाल मल्लीक र मा.न्या. श्री हरिप्रसाद शर्माको उल्टीमा रेकर्ड राख्नु .२, मिसिल नियमबमोजिम गरी बुझाई दिनु .......................३
उक्त रायमा म सहमत छु ।
न्या.पृथ्वीबहादुर सिंह
इति सम्वत् २०४४ साल चैत्र २८ गते रोज १ शुभम् ।