निर्णय नं. ३३५७ - उत्प्रेषण

निर्णय नं. ३३५७ ने.का.प. २०४५ अङ्क २
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४३ सालको रिट नं. २१०८
आदेश भएको मिति : २०४४।१।६।२ मा
निवेदक : का.जि.शेषनारायण गा.पं.वा.नं. ५ बस्ने मुसलमान (घले) तामाङ
विरुद्ध
विपक्षी : प्रधानपञ्च, शेषनारायण गा.पं. कार्यालय फर्पिङ प्रहरी थानासमेत
विषय : उत्प्रेषण
(१) अंशबण्डा गर्ने कुरामा मिलापत्र गरेको भन्ने देखिँदा प्रस्तुत विषय गा.पं. ऐन, ०१८ को दफा ४१ अनुसार पञ्चायतले हेर्न पाउने अधिकार भित्रको मुद्दा देखिन नआउँने ।
(प्रकरण नं. १२)
(२) कानुनी रीत बमोजिम नभएको कागजले कानुनी मान्यता प्राप्त गर्न नसक्ने ।
(प्रकरण नं. १४)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री नुतन थपलिया
प्रत्यर्थीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा विद्वान अधिवक्ता श्री शिवभक्त प्रधानाङ्ग
आदेश
न्या.बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुनआएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर निम्न प्रकार छ ।
२.म निवेदकको पिता कुप्पा तामाङको एक मात्र श्रीमती म निवेदकको आमा हरि (घले) तामाङको गर्भबाट श्याम तामाङ र म निवेदक २ जनाको मात्र जायजन्म भएको र श्याम विवाह नहुँदै परोलक भएकोले म निवेदक एक मात्र छोरा हुँ । पिता कुप्पा तामाङ र आमाको समेत परलोक भइसकेको छ । यसरी पिता माताको समेत परलोक भएपछि म निवेदकको कुनै नाता समेत नपर्ने विपक्षी मंगलमान सिंह तामाङबाट म निवेदकको पिता कुटपा तामाङबाट जन्मेको छोरा हो भन्ने लेखाई अंशबण्डा गरी गर्न लगाई पाउँ भन्ने गैरकानुनी निवेदन लिई सोही गैरकानुनी निवेदनको आधारमा विपक्षी गा.पं. कार्यालयले विपक्षी मध्येको प्रहरी थाना मार्फत मलाई झिकाई विपक्षी मंगल सिंह तामाङलाई अंश दिने लिने गरी कागज गर भनी प्रधानपञ्चले भन्दा इन्कार गरेको हुँदा प्रधानपञ्चले कुटेपछि ठीक हुन्छ भनी म निवेदकलाई डर धाक त्रास देखाई षडयन्त्रपूर्वक कपटपूर्ण भावनाबाट प्रेरित भई क्षेत्राधिकार समेत नभएको पञ्चायतमा मेरो नाता समेत नपर्ने व्यक्तिलाई ०३९।९।१२ मा अंश दिन्छु भन्ने समेतको कागज गराएकोले अधिकार नभएको अड्डाले गरे गराएको कागज अ.बं. ३५ नं. ले बदर हुने प्रष्टै छ । नेपालको संविधानको धारा १०, ११, ११(२)(ङ) धारा १५ द्वारा प्रदत्त हकबाट वञ्चित हुने गरी अधिकार नभएको गा.पं.का.ले मिति ०४३।९।१२ मा गराएको कागज बदर गरिपाउँ भन्ने निवेदन ।
३.यसमा के कसो भएको हो निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियमबमोजिम पेश गर्नु भन्ने यसै अदालतको एक न्यायाधीशको इजलासबाट भएको आदेश ।
४.कुनै पनि मुद्दा मिलापत्र भइसकेपछि मिलापत्रमा चित्त बुझेन भन्ने उजूरी अ.बं. १८२ नं. ले लाग्न नसक्ने कानुनी व्यवस्थाछ । गा.पं ले दिएको निर्णयमा चित्तनबुझ्ने व्यक्तिले जि.पं.मा उजूर वा पुनरावेदन गर्ने कानुनी व्यवस्था छ । ०४३।९।१२ का दिन मिलापत्र गराई पाउँ भन्ने संयुक्त निवेदन परेको छ ।
५.निवेदन बदर गराई पाउँ भन्ने रिट निवेदनमा प्रष्ट छैन । निवेदन बदर नभई मिलापत्र बदर हुने अवस्था आउँदैन । संयुक्त रुपमा दुबैले राजीखुशीले निवेदन दिई मिलापत्र गरेकोलाई विपक्षीले हाल आई झुठ्ठाकुरा लेखीदिएको रिट खारेज गरिपाउँ भन्नेसमेत मंगल सिंधोले तामाङको लिखितजवाफ ।
६.बाबु कृष्ण तामाङ २०४३ साल मार्ग २ गते आफ्नो कालगतिले परलोक भएकोले अशंबण्डा गरौं भन्दा नमानेकोले भाइ मुसलमानलाई झिकाई छलफल गराई अंशबण्डा गरिपाउँ भन्ने मंगल सिंको निवेदन पर्न आएको मुसलमानलाई पुर्जीद्वारा झिकाई निवेदन सुनाउँदा फाँटवारी लिई हाजिर हुन आउँनु भनी ०४३।९।५ बाट ०४३।९।१२ को तारेख बुझी लिएको विपक्षी र दाजु मंगल सिंह समेतलाई मिलापत्रको परिणाम र मतलव बुझाउँदा मिल्न मञ्जूर गरेकोले मिलापत्र गराई दिएको अधिकार बाहिरको मुद्दामा मिलापत्र गराउँदाको कार्य प्रणाली गा.पं.ऐन, ०१८ को परिच्छेद ७ दफा ४३ मा व्यवस्था भएको अनुरुप मिलापत्र गराएको भन्ने समेत भू.पू.प्र.पं. कूल मान सिं बस्नेतको लिखितजवाफ ।
७.विपक्षीलाई पक्राउ गर्ने थुनामा राख्ने जस्ता कुनै कार्य यस थानाले नगरेकोले यस प्रहरी थाना उपर रिट निवेदन खारेज हुने प्रष्टै देखिँदा खारेज गरिपाउँ भन्ने समेत प्रहरी थाना फर्पिङको लिखितजवाफ ।
८.नियमबमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दामा निवेदकको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री नुतन थपलिया र प्रत्यर्थी कार्यालयको तर्फबाट विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा र विपक्षी मंगल सिंको तर्फबाट विद्वान अधिवक्ता श्री शिवभक्त प्रधानाङ्ग समेतले गर्नु भएको बहस जिकिर समेत सुनियो ।
९.प्रस्तुत मुद्दामा निवेदकको माग बमोजिमको आदेश जारी हुन पर्ने हो होइन सो कुराको निर्णय दिन परेको छ ।
१०.यसमा अधिकार नभएको गा.पं.ले मंगल सिं तामाङ तेरो दाइ हो र तैंले निज मंगल सिं तामाङलाई अंश दिनु पर्छ भनी नाता कायम गरी अंश दिनु पर्ने गरी गराएको कागज बदर गरिपाउँ भन्ने निवेदकको मुख्य माग दावी भएकोमा गा.पं.ऐन, ०१८ को परिच्छेद ७ दफा ४३ बमोजिम अधिकार बाहिरको मुद्दामा मिलापत्र गराउँदाको कार्य प्रमाणित अनुसार दुबै पक्षको दर्खास्त बमोजिम मिलापत्र गराई दिएको भन्ने प्रत्यर्थी गा.पं. को लिखित जवाफ पाइन्छ ।
११.यस सम्बन्धी कानुनी व्यवस्था हेर्दा गा.पं. ऐन, ०१८ को परिच्छेद ७ को दफा ४३ मा दफा ४१ बमोजिम पञ्चायतबाट हेर्न पाउने बाहेक अन्य प्रचलित नेपाल कानूनले मिलापत्र गर्न पाउने मुद्दामा पहिला अदालतमा नालिश उजूर गर्न नगई पञ्चायतबाटै मिलापत्र गराई पाउँ भनी दर्खास्त गरेमा मिलापत्रको कागज लेखी दफा ४२ बमोजिम साक्षी बसी सहिछाप गराउन सो मिलापत्रको कागज र दुबै पक्षलाई नजिकको अदालतमा पठाई दिनु पर्छ । सो बमोजिम पञ्चायतबाट पठाएकोमा अदालतले पनि दुबै थरलाई सम्झाई बुझाई मिल्न मञ्जूर गरेको सोही मिलापत्र र सो मिलापत्रमा दुबै पक्षको मञ्जूरले संशोधन गर्नु पर्ने भए सो गरी त्यसमा समेत दुवै पक्षको सही गराई साक्षी बसी सो कागजपत्र र पक्षहरूलाई सम्बन्धित गा.पं. मा पठाई दिनु पर्छ भन्ने व्यवस्था भएको पाइन्छ ।
१२.प्रस्तुत मुद्दाको निवेदन तथा लिखितजवाफबाट अंशबण्डा गरिपाउँने निवेदन परी अंशबण्डा गर्ने कुरामा मिलापत्र गरेको भन्ने देखिँदा प्रस्तुत विषय गा.पं.ऐन, ०१८ को दफा ४१ अनुसार पञ्चायतले हेर्न पाउने अधिकार भित्रको मुद्दा देखिन आउँदैन ।
१३.गा.पं. को लिखितजवाफ साथ आएको मिलापत्रको नक्कल र लिखितजवाफबाट गा.पं.ऐन, ०१८ को दफा ४३ को कार्यविधि पुरा गरी सम्बन्धित जिल्ला अदालतमा पठाई साक्षी राखेको समेत देखिन आएन ।
१४.अतः माथि उल्लेख गरेको बमोजिम कानूनको रीत बमोजिम मिलापत्र गराएको देखिन नआएकोले कानुनी रीत बमोजिम नभएको कागजले कानुनी मान्यता प्राप्त गर्न नसक्ने हुँदा शेषनारायण गा.पं.का.ले गराएको ०४३।९।१२ को मिलापत्र कागज उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । सम्बन्धित कार्यालयको जानकारीको लागि आदेशको प्रतिलिपिसाथ राखी म.न्या.का.मार्फत लेखी पठाई नियमबमोजिम फाइल बुझाई दिनु ।
उक्त रायसंग म सहमत छु ।
न्या.हरगोविन्द सिंह प्रधान
इति सम्वत् २०४५ साल बैशाख ६ गते रोज २ शुभम् ।