शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३३७७ - कर्तव्य ज्यान

भाग: ३० साल: २०४५ महिना: जेष्ठ अंक:

निर्णय नं. ३३७७                 ने.का.प. २०४५                  अङ्क २

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४३ सालको फौ.पु.नं. ५३६

फैसला भएको मिति : २०४४।१२।२२।२ मा

 

पुनरावेदक, वादी : दिलबहादुर दर्जीको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी : जि. इलाम फिकल गा.पं. वार्ड नं. ३ बस्ने यमबहादुर गुरुङसमेत

 

मुद्दा : कर्तव्य ज्यान

 

(१)                  अपराध गरेको हुन भन्ने प्रत्यक्ष र अप्रत्यक्ष प्रमाण समेत नभएको अवस्थामा  अनुमानको आधारमा कर्तव्य ठहराउन उचित नदेखिने ।

(प्रकरण नं. १७)

 

वादीतर्फवाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराज श्रेष्ठ

 

फैसला

न्या. रुद्रबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार रहेछ ।

२.     यामबहादुर गुरुङले नमस्ते तमाङलाई फिकल बजारसम्म पुर्‍याइ देउ भनी मृतक लालबहादुर दर्जीलाई साथ लिई आएका हुन् । घरमा फर्कि नआएकोले खोज्न तलाश गर्न जाँदा मरिरहेको लाश फेला परेकोले भवितव्य भई लडी मर्नेसम्मको स्थान नभएको हुँदा को को भई के कर्तव्यबाट मारे मराए अभियुक्त यामबहादुर र नमस्ते तमाङ माथि शंका भएको हुँदा अभियुक्तहरूलाई कानून बमोजिम सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त ।

३.     ०४१ साल पौष २५ गतेको लाश प्रकृति मुचुल्का ।

४.     यामबहादुर गुरुङ र नमस्ते तमाङ समेतलाई फिकलसम्म जाउँन भनी श्रीमानलाई लगेको थियो सो रातमा घर नफर्केकोले भारी बोकी गएको होला भनी २।३ दिनसम्म खोजी गरियो । धेरै दिनसम्म नआउँदा खोज तलाश गर्दा लाश फेला परेकोले के गरी मरे म जान्दिन यिनै यामबहादुर र नमस्ते तमाङबाटै खुलाई पाउँ भन्ने व्यहोराका मृतक श्रीमती दयत्री दर्जीले डोरमा गरेको कागज ।

५.     ०४१।९।२०। गते मेरी दिदीको घरमा गएको थिएँ । इन्द्रबहादुर तमाङ पनि दिदी कहाँ बसेका रहेछन् । निज नमस्ते तमाङले घर जान्छु मलाई फिकलसम्म पुर्‍याई देउ भन्दा पुर्‍याउँन जान लाग्दा मृतक लालबहादुर निजैको आँगनमा भएको हुँदा साथी इन्द्रबहादुर तमाङलाई फिकलसम्म पुर्‍याई आउ म रक्सी किनी खुवाउँला भनी मैले भन्दा निज लालबहादुर हामीसँगै ३ जना फिकल बजार आई साथी इन्द्रबहादुरलाई छाडी म र मृतक लालबहादुर घर फर्किदा बाटो छेउमा पर्ने उत्तम प्रधानका घरमा २ बोतल रक्सी किनी १।१ बोतल रक्सी खाई घरतर्फ जाँदै थियौं । हाम्र घर जाने बाटोमा पुगे पछि म भित्र पट्टि लडे मृतक लालबहादुर बाटो डिलमनी लडेछन् । पछि होस् आई उठाउँदा कहाँ गएछन । बोलाउँदा बोलेन घर गए भन्ने शंका लागी म घर गई सुतें । लालबहादुर घर आए कि आएन भनी सोध खोज गरिन मेरो केही रिसइवि छैन थिएन । मैले कर्तव्य गरी मारेको होइन भन्ने व्यहोराको प्र.यामबहादुरले प्रहरीमा गरेको कागज ।

६.     म घर फर्किन लाग्दा यामबहादुरसंग चिना जान हुँंदा यामबहादुर गुरुङ मृतक लालबहादुरले झिकल मोडसम्म पुर्‍याई निजहरू घर फर्के । दुवै जनाले रक्सी खाएका थिए । लालबहादुर धेरै मातेको थिए । कस्का घरमा रक्सी खाए कति वेला घर फर्के मृतकसंग मेरो कुनै रिसइवी थिएन । मृतकलाई मारी फालेको होइन म संग छुटी गई सकेपछि कस्ले मारे कस्ता किसिमबाट मारे जान्दीन भन्ने समेत व्यहोराको इन्द्र बहादुर तमाङले प्रहरीमा गरेको कागज ।

७.     पक्राउ परेका अन्य मानिस समेतको कसूरबाट लालबहादुर दर्जी मरेको होइन कर्तव्यमा शंका छैन भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का । सोही सरजमीन मुचुल्कामा केही मानिसले प्र.यामबहादुर उपर शंका लाग्छ भन्ने समेत लेखाई दिएको ।

८.     लालबहादुरलाई फिकलसम्म लिएर गएकोमा  यामबहादुर इन्द्रबहादुर समेतले स्वीकार गरेका र उत्तम प्रधानको घरमा रक्सी खाई जाँदा रक्सी लागी फिकल खोल्सामा पुगेपछि भित्तातर्फ लडे । बोलाउँदा नबोलेकोले म घर गएँ । मैले सोध खोज गरिन । पछि निज मरेको थाहा पाएँ भनी कागज गरेको हुँदा मौकामा सोध खोज नगरेको समेतबाट रक्सी खाएको कुरा साँचो नदेखिएको कारणबाट यामबहादुर गुरुङ र इन्दबहादुरले कर्तव्य गरी मारी फालेको कुरा पुष्टी हुन आएकोले निजहरूलाई मुलुकी ऐन ज्यानसम्बन्धीको महल १ नं. बिपरीत गरी ज्यान मारेमा ऐ. ऐन १३(३) बमोजिम सजायँ हुन अनुरोध गरिएको छ भन्ने समेतको व्यहोराको संयुक्त प्रहरी प्रतिवेदन ।

९.     यामबहादुरसंग बाटोमा भेट भई निजसँग फिकल आउन लाग्दा मृतक लाल बहादुरले यामबहादुरको आवाज सुनी हामीहरू भएको ठाउँमा आउँदा रक्सी खाई मातेको थियो । हामी ३ जना नै फिकल मोडमा पुगेपछि अर्जुन गुरुङ्गका पसलामा बसें, लालबहादुर र यामबहादुर फर्के । मृतक लालबहादुर के भई मरे रातको समयमा रक्सी खाई मातिई आफैं लडेर मरेको जस्तो  लाग्छ । म समेत भई कर्तव्य गरी मारेको होइन भन्ने व्यहोराको प्र.इन्द्रबहादुर तामाङ्गले अदालतमा गरेको बयान ।

१०.     ०४१।९।२० गते राती इन्द्रबहादुर तमाङलाई फिकल बजारमा पुर्‍याउन जाँदै गर्दा लालबहादुरले रक्सी खाई मातेका थिए । हाम्रो आवाज सुनी हाम्रो पछि लाग्न खोज्दा फर्क घर जाउ भन्दा नमानेकोले हामीसंगै गए । इन्द्रबहादुर अर्जून गूरुङको पसल घरमा बसे । म र लाल वबहादुर फिकल बजारमा पुगी म घर तर्फ जान लाग्दा लालबहादुरले रक्सी खाउ भनेकोले हामी दुवैजना उत्तम प्रधानको घरमा रक्सी खायौं लालबहादुरले म भन्दा धेरै खायो । त्यसपछि म घर गई सुतें । लालबहादुर कुन बेला उठेर गए थाहा छैन । घर गयो होला भनी खोज खबर गरिन । मृतकको र मेरो कुनै रिसइवी छैन । बढी रक्सी खाएको रातको समय हुँदा लडी मरेको हुनुपर्छ । मैले कर्तव्य गरी मारेको र मराएको होइन भन्ने व्यहोराको प्र.यामबहादुर गुरुङ्गले अदालतमा गरेको बयान ।

११.     प्रहरी प्रतिवेदन दावी बमोजिम प्रतिवादी यामबहादुर गुरुङ र नमस्ते भन्ने इन्द्रबहादुर तमाङलाई सजायँ गरिपाउँ भन्ने वादी दावी पुग्न नसक्ने हुँदा झुठ्ठा ठहर्छ । प्रतिवादीहरूले सफाई पाउने ठहर्छ भन्ने शुरु इलाम जिल्ला अदालतको ०४२।४।३२ गतेको फैसला ।

१२.    शुरु इलाम जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीहरुलाई प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरिपाउँ भन्ने श्री ५ को सरकार तर्फबाट पर्न आएको पुनरावेदन ।

१३.    कर्तव्य गरी मारेको हो भन्ने देखिने कुनै पनि सबूदको अभावमा अनुमानको आधारमा कर्तव्य ठहराउन न्यायोचित नदेखिँदा सफाई दिने गरेको शुरुको इन्साफ मनासिव छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति ०४३।६।८ को फैसला ।

१४.    मृतक आफ्नो साथमा फिकल बजारतर्फ आएकोमा प्रतिवादीहरू सावित नै रहेकोबाट पु.क्षे.अ. को फैसला बदर गरी प्रतिवादीहरूलाई प्रहरी प्रतिवेदन दावी अनुसारको सजायँ गरिपाउँ भन्ने समेत श्री ५ को सरकारको तर्फबाट पर्न आएको पुनरावेदन पत्र ।

१५.    नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा वादी श्री ५ को सरकार तर्फबाट उपस्थित हुनु भएको विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले मृतक र प्रतिवादीहरू संगै फिकल बजार गएकोमा सावित छन् उत्तम प्रधानको घरमा रक्सी खाएको भन्ने जिकिर लिएकोमा उत्तम प्रधानले आफ्नो घरमा प्र.यामबहादुर र मृतकले रक्सी नखाएको भनी लेखाई दिएबाट प्रतिवादीहरूलाई सफाई दिएको मिलेन भन्ने बहस गर्नु भयो ।

१६.     प्रस्तुत मुद्दामा प्रतिवादीहरूलाई सफाई दिएको शुरुको इन्साफ सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला मिले नमिलेको के रहेछ भन्ने नै निर्णय दिनु पर्ने हुनआएको छ ।

१७.    यसमा प्र.यामबहादुर तमाङ र इन्द्रबहादुर तमाङ आफू उपर लगाइएको अभियोगमा प्रहरी र अदालतमा समेत इन्कार रही बयान गरेका छन् । लाशजाँच प्रकृति मुचुल्का र लाश जाँचको रिपोर्टबाट शरीरमा कुनै घा चोट परेको भन्ने देखिँदैन । प्रतिवादीहरूले मृतक लाल बहादुरलाई मार्नु पर्ने सम्मको रिसइवी थियो भन्ने कुरा कतैबाट स्थापित हुनसकेको छैन । प्र.यामबहादुरले उत्तम प्रधानको घरमा रक्सी खाएको भन्ने जिकिर लिएकोमा उत्तम प्रधानले आफ्नो घरमा प्र.यामबहादुर र मृतकले रक्सी नखाएको भनी लेखाई दिएको भन्ने पुनरावेदन जिकिरका सम्बन्धमा विचार गर्दा उत्तम प्रधानलाई कागज गराउँदा मादक पदार्थ बिक्री वितरण गर्न इजाजतपत्र लिएको छ छैन नलिएको भए गैरकानुनी रुपले किन बिक्री गरेको भन्ने किसिमका प्रश्नहरू सोधिएको अवस्थामा आफू झन्झटमा परिन्छ कि भन्ने सोचाइबाट सही जवाफ नआएको पनि हुन सक्छ । लाशजाँच रिपोर्टमा मृतकको पेटमा केही पचेको खाना र मादक पदार्थ भेटिएको भन्ने उल्लेख भएबाट मृतकले मादक पर्दा सेवन गरेको भन्ने प्र. यामबहादुरको बयान समर्थित भएको छ । रक्सी खाएर हातेमालो गर्दै जाँदा दुवैजना लड््यौं एक छिन पछि हेर्दा लालबहादुरलाई देखिन म उठी घर गएँ भन्ने प्र. यामबहादुरले गरेको बयान रक्सी खाएका बखतको मानिसक अवस्था समेत विचार गर्दा अस्वाभाविक देखिँदैन । प्र. इन्द्रबहादुर घटना स्थलमा नपुग्दै घर गएको र रक्सी खाएको भन्नेमा समेत इन्कार रहेका छन् । प्रतिवादीहरूले अपराध गरेका हुन् भन्ने प्रत्यक्ष र अप्रत्यक्ष प्रमाण समेत नभएको यस अवस्थामा अनुमानको आधारमा कर्तव्य ठहर्‍याउन उचित नदेखिँदा प्रतिवादीहरूलाई सफाई दिएको इलाम जिल्ला अदालतको निर्णय सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिवै हुँदा सदर हुन्छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन । श्री ५ को सरकारको पुनरावेदन गरेको हुँदा केही गर्नु परेन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या. गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०४४ साल चैत्र २२ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु