निर्णय नं. ३३८२ - घरबाट निकाला गरिपाउँ

निर्णय नं. ३३८२ ने.का.प. २०४५ अङ्क ३
पूर्ण इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४४ सालको दे.पु.ई.नं. १०९
फैसला भएको मिति : २०४५।२।२०।५
निवेदक/वादी : डोटी दानकोट गर्खालाटामाडो गा.पं. वडा नं. ५ भट्याल बस्ने पद्मराज जोशी
विरुद्ध
विपक्ष/प्रतिवादी : ऐ. पाच कर्टे वडा मुडभरा गा.पं. वडा नं. ७ देवाली गाउँ बस्ने यज्ञराज जोशी
मुद्दाः घरबाट निकाला गरिपाउँ
(१) थैलीमा मुख नमिलेपछि प्रतिवादीबाट पेश भएको लिखत अ.बं. ७८ नं. बमोजिम वादीलाई सुनाई त्यसबाट जो गर्नुपर्ने कारवाई गरी मात्र ठहर गर्नुपर्नेमा सो बमोजिम भए गरेको नदेखिएकोले यस्तो अवस्थामा प्रतिउत्तर जिकिरलाई दावी कायम गरी साँवा व्याज भराई दिने गरेको कानून मिल्दो देखिन नआउने ।
(प्रकरण नं. २०)
फैसला
न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराज सरकारका हजूरमा कानून बिपरीतको फैसला बदर गरिपाउँ भनी वादी पदमराज जोशीले चढाएको बिन्तिपत्रमा मुद्दा पूर्णइजलासबाट दोहराई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम वक्सेकोछ भनी मौसुफ सरकारका विशेष जाहेरी विभागबाट ०४३।११।४ मा तोक लागी आई पूर्णइजलासको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :
२. मेरो देवाली जग्गामा घर अंश हुँदा मेरो अंश भागमा रहेको घर छोडी अर्कै घर बनाई बसेकोमा सो खाली घर मलाई दिनु पर्यो भनी अन्यायवालाले भनेकाले रु.४,५००।– मूल्य कायम गरी लिखत लेख्न लाग्दा रु.२,०००।– नगद र रु.१,५००।– को तमसुक लेखी दिएका र बाँकी रु.१,०००।– देउ भन्दा पास गर्ने बखत दिछु भनी बाँकी राखेका थिए । रु.१,०००। नदिई मेरो उनले लिएको भनेको भरमा उनै बसी आएकोले तिमीले दिएको रु.३,५००। लिई घर छाडी देउ भन्दा मिति २०४०।१।१० मा कुटी रु.१००। लुटी मिति ०३९।१२।१४ गते मेरो हिस्साको आधा घर छाडी घरको झ्याल साङ्गला फुकाली घरको ढुङ्गा निकाली वेपत्ता पारेकाले सोको बिगो रु.९४६। भराई घरबाट निकाला गराई मैले रु.३,५००। बुझाउने गरी चलन समेत चलाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
३. फिराद दावी बमोजिम वादीको घरमा भएका झ्याल ढोका साङ्गला समेत बेपत्ता गरेको होइन छैन । वादीले देवालीको घर छोडी घरको मूल्य रु.४,५००। कायम गरी सो रुपैयाँ दिई वादीबाट लिखत गराई लिएकोमा उक्त लिखत रजिष्ट्रेशन पारित नगरिदिएको हुँदा सो घरमा बसेको छैन लिखत बमोजिम रुपैयाँ नदिई रु.१,०००। बाँकी राखेको भन्ने वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।
४. वादीले प्रतिवादीलाई घर बेचे भन्ने सुनेको छु । अरु थाहा छैन भन्ने वादीका साक्षी टीका कार्कीको अदालतमा भएको बकपत्र ।
५. वादीका घर वादीकै भोगचलनमा छ । रु.४,५००। मा लिने भनेको घर प्रतिवादीका नाममा पास हुनसकेको छैन । ०३९।१२।१४ मा प्रतिवादी वादीका घरमा बसेकाले ढोका समेत निकाली फालिदिए भन्ने कुरा हो वादी दावी झुठ्ठा हो भन्ने समेत प्रतिवादीका साक्षीप्रसाद भाटको बकपत्र ।
६. आफ्नो भोगचलनमा रहेको घरलाई खिचोला गरेको भन्ने वादी दावी झुठ्ठा ठहर्छ भन्ने समेत डोटी जिल्ला अदालतको फैसला ।
७. सो शुरु इन्साफ उपर सेती अञ्चल अदालतमा पुनरावेदन परी इन्साफ हुँदा शुरुले गरेको इन्साफ सदर गरी सेती अञ्चल अदालतबाट भएको फैसला ।
८. सेती अञ्चल अदालतबाट इन्साफ उपर वादीबाट पुनरावेदनका निमित्त अनुमतिको माग भई पुनरावेदनको अनुमति प्रदान भएको सु.प.क्षे.अ. सिंगल बेञ्चको आदेश ।
९. शुरु डोटी जिल्ला अदालत र सेती अञ्चल अदालत दुवैको फैसला बदर गरी फिराद दावी र प्रतिउत्तर जिकिर अनुसार बुझ्नु पर्ने बुझी एकै पटक किनारा गर्नु भन्ने सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चको फैसला ।
१०. आफ्नो भोगमा रहेको घरलाई खिचोला गर्यो भन्ने वादी दावी पुग्न नसक्ने र फिरादीले प्रतिवादीलाई रु.४,५००।– को लेनदेन व्यवहार बमोजिम सयकडा १०प्रतिशत ले हुने व्याज समेत भराई दिनु पर्ने ठहर्छ भन्ने समेतको डोटी जिल्ला अदालतको फैसला ।
११. सो फैसलामा चित्त नबुझी वादीको सेती अञ्चल अदालतमा परेको पुनरावेदनमा उक्त शुरु जिल्ला अदालतको इन्साफ सदर गर्ने समेत ठहराई मिति ०४२।४।१५।३ मा सेती अञ्चल अदालतबाट भएको फैसला ।
१२. सेती अञ्चल अदालतको उक्त फैसलामा चित्त नबुझी वादीले पुनरावेदकका निमित्त अनुमतिको माग गरी निवेदन दिएकोमा सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालत सिंगल वेञ्चबाट अनुमति प्रदान भएको आदेश ।
१३. प्रतिवादीले पेश गरेको मिति ०३४।९।२६ को लिखतबाट वादीले प्रतिवादीलाई रु.४,५००। मा आफ्नो घर जग्गा लिखत गरिदिएको र सो लिखत रजिष्ट्रेशन पास भई प्रतिवादीले घरवारी भोगचलन गर्न पाएको नदेखिँदा रजिष्ट्रेशनको ६ नं. बमोजिम भोग गर्न नपाएको अवस्थामा व्याज समेत दिनुपर्ने कानूनी व्यवस्था भएकोले सेती अञ्चल अदालतको इन्साफ मनासिव ठहराई सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट मिति ०४२।८।२६।४ मा भएको फैसला ।
१४. सुदुर पश्मिाञ्चल क्षेत्रीय अदालतको मिति ०४२।८।२६।४ को फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी यस अदालत समक्ष वादी पदमराज जोशीबाट पेश भएको निवेदन ।
१५. वादी पदमराज जोशीलाई पुनरावेदन गर्ने अनुमति प्रदान गरेको यस अदालत डिभिजनबेञ्चको मिति ०४२।११।८।४ को आदेश ।
१६. सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेत सर्वोच्च अदालत संयुक्त इजलासको ०४३।९।३ को फैसला ।
१७. श्री ५ महाराजाधिराज सरकारका हजूरमा सर्वोच्च अदालतले कानून बिपरीत गरेको फैसला बदर गरिपाउँ भनी वादीले चढाएको विन्तिपत्रमा पूर्णइजलासबाट दोहराई हेरी कानून बमोजिम निर्णय गरिदिनु भन्ने समेत श्री ५ महाराजाधिराजबाट हुकूम बक्सेको छ भनी मौसुफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४३।११।४ मा तोक लागी आएको रहेछ ।
१८. निवेदक वादी पदमराज जोशी तथा विपक्षीको वारिश नवराज पाण्डेलाई पेशी तारिख तोकी पेश हुन आई आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा सर्वोच्च अदालत संयुक्त इजलासको इन्साफ मिलेको छ छैन ? सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।
१९. यस्मा निर्णयतर्फ हेर्दा निवेदक वादीले आफ्नो फिरादमा खास गरी निम्न तीन कुराको दावी लिएको देखिन्छ ।
(१) विपक्षीलाई विवादको घर रु.४,५००। मा राजीनामा दिएकोमा रु.१०००। लिन बाँकी हुँदा रु.३५००। बुझाउन पाउने गरिपाउँ ।
(२) राजीनामाको घर विपक्षीले चलन गरिआएको घरको सामान नोक्सान गरेकोहुँदा सो बिगो दिलाइपाउँ ।
(३) विवादको घरबाट हटाई चलन चलाई पाउँ ।
२०. निवेदक वादीको प्रथम दावीतर्फ पास नभएको राजीनामा बमोजिम लिएको रु.३५००। बुझाउन पाउने गरिपाउँ भन्ने हकमा विपक्षीले विवादको घर राजीनामा लिएको कुरामा स्वीकार गरे पनि दावी बमोजिम रु.३५००। मात्र दिई रु.१०००। पछि दिने भनेको नभई मौकैमा रु.४५००। दिई राजीनामा गराएको भन्ने जिकिर लिएकोबाट लिनु दिनु गरेको थैलीमा मुख नमिलेको हुँदा प्रतिउत्तरको जिकिर दावीलाई मान्यता दि सोहि बमोजिम भराउने गरेको देखियो । खास लिएको थैलीमा मुख नमिलेपछि प्रतिवादीबाट पेश भएको लिखत अ.बं. ७८ नं. बमोजिम वादीलाई सुनाई त्यसबाट जो गर्नु पर्ने अरु कारवाई समेत गरी मात्र ठहर गर्नु पर्नेमा सो भए गरेको पनि नदेखिएकोले यस्तो अवस्थामा प्रतिउत्तर जिकिरलाई दावी कायम गरी साँवा ब्याज भराई दिने गरेको कानून मिल्दो देखिन आएन । उसमा पनि विपक्षी प्रतिवादी यज्ञराज जोशीले आफ्नो पारित नभएको सोही राजीनामाको आधारमा राजीनामा बमोजिमको रु.४५००। र ब्याज समेत कपाली सरह भराई पाउँ भनी डोटी जिल्ला अदालतमा २०४४।८।२६ मा फिराद समेत दिई सकेको निवेदक वादीले पेश गरेको फिराद नक्कलबाटै देखिन्छ । सो राजीनामाको लिखतबाट के कति भरी पाउने हो सोही मुद्दाबाट कानून बमेजिम ठहर निर्णय हुने भएकोले त्यस सम्बन्धमा वादी दावी बमोजिम बुझाउन पाउने गरिपाउँ भन्ने दावीतर्फ यस मुद्दाबाट ठहर गर्न नमिल्ने हुँदा रु.३५००। बुझाउन पाउने गरिपाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ । रु ४५००। र त्यस्को व्याज समेत भराउने गरेको शुरु जिल्ला अदालत सेती अञ्चल अदालत र सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरेको सर्वोच्च अदालत संयुक्त इजलासको इन्साफ मिलेको नदेखिँदा बदर हुने ठहर्छ ।
२१. जहाँसम्म राजीनामाको घर विपक्षीको चलनमा रहेकोमा घरको मालसामानहरू नोक्सान गरेकोले बिगो भराई सो घरबाट निकाली चलन चलाई पाउँ भन्ने समेत वादी दावीको हकमा राजीनामा लिखत पास भएको भन्ने देखिँदैन । विवादित घर विपक्षी प्रतिवादीको भोगचलनमा रहेको र नोक्सान गरेको भन्ने तथ्ययुक्त सबूद प्रमाण निवेदक वादीले दिन सकेको छैन । तसर्थ नोक्सानी बिगो भराई घरबाट निकाला गरी चलन चलाई पाउँ भन्ने वादी दावी पुग्न सक्ने देखिएन । यसतर्फ वादी दावी नपुग्ने गरेको जिल्ला अदालत, सेती अञ्चल अदालत र सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरेको सर्वोच्च अदालत संयुक्त इजलासको इन्साफ मनासिव ठहर्छ । कोर्टफी लागेको मुद्दा हुँदा कसैलाई केही गर्नपरेन मिसिल नियमबमोजिम गरी बुझाइदिनु ।
उक्त रायमा हामीहरू सहमत छौं ।
न्या. गजेन्द्रकेशरी बास्तोला,
न्या. हिरण्येश्वरमान प्रधान
इति सम्वत् २०४५ साल ज्येष्ठ २० गते रोज ५ शुभम् ।