निर्णय नं. ७०९१ - उत्प्रेषण मिश्रित परमादेश ।

निर्णय नं.७०९१ ने.का.प.२०५९ अङ्क ५/६
संयुक्त इजलास
सम्माननीय प्रधानन्यायाधीश श्री केशवप्रसाद उपाध्याय
माननीय नयायाधीश श्री कृष्णजंग रायमाझी
संवत् २०५७ सालको रिट नं......४०७९
आदेश मितिः २०५९।४।२८।३
विषयः– उत्प्रेषण मिश्रित परमादेश ।
निवेदकः जिल्ला वाग्लुङ, वाग्लुङ नगरपालिका वडा नं. १ बस्ने देवेन्द्रबहादुर हमाल
विरुद्व
विपक्षीः सचिव, जलश्रोत मन्त्रालय समेत
§ निवेदकले नियुक्ति पाएको पद नै कटौतीमा परेपछि श्री ५ को सरकारले अन्यत्र काम गर्न लगाएको कारणबाट पदमा वहालमा रही रहन पाउने कानूनी हक सृजना हुने भन्न नमिल्ने ।
§ अस्थायी प्रकृतिको पद भएको र आयोजनाको आवश्यक पद संख्या पूरा भएको भन्ने समेत देखिन आएकोबाट सफाइको मौका दिनुपर्ने तथा निजले पदमा वहाल रही रहन पाउने भन्न नमिल्ने हुंदा रिट निवेदकलाई अवकास दिएको विपक्षीको कार्यवाट रिट निवेदकको कुनै संवैधानिक एवं कानूनी हकमा आघात परेको नदेखिंइदा निवेदन माग बमोजिमको आदेश जारी गर्न नपरी प्रस्तुत रिट निवेदन खारेज हुने ।
(प्र.नं. ८ र ९)
निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री श्यामराज ढुंगेल
विपक्षी तर्फबाटः विद्वान सह न्यायाधिवक्ता श्री राजनारायण पाठक
अवलम्वित नजिरः
आदेश
न्या.कृष्णजंग रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) वमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. सिंचाई तथा जलवायु विज्ञान विभागको २०३९।४।१ को निर्णय अनुसार अस्थाई निजामती सेवामा शुरु गरी २०४० बैशाख देखि अत्रौली पुट्टार सिंचाई योजनालको विकासको दरवन्दिमा पदस्थापन भई काम गरेको छु । २०४२।७।१६ गते सिंचाई तथा जलवायु विज्ञान विभागको योजना अवधि भरका लागि सिभिल इन्जिनियर, रा.प्र. तृ.प्रा. (इरिगेसन उप–समूह) को पदमा विज्ञापन भई परीक्षामा सफल भई श्री ५ को सरकारको २०४३।२।८ को निर्णय बमोजिम विकास तर्फको स्थाई निजामती कर्मचारीको रुपमा नियुक्ति भएको हुँ । उक्त नियुक्ति बमोजिम अत्रौली पुट्टार सिंचाई योजनामा पदस्थापन भई २०५० साल माघसम्म कार्यरत रहेकोमा २०५०।६।२८ को श्री ५ को सरकारको निर्णय बमोजिम चापाकोटटार सिंचाई योजना, स्याङ्जा सरुवा भई सेवा गरेको छु । त्यस योजनाबाट पनि श्री ५ को सरकारको मिति २०५२।८।१५ का निर्णय अनुसार वागमती सिंचाइै योजनामा सरुवा भै काम गर्दै आएकोमा मिति २०५६।८।२४ को सिंचाई विभागको पत्र अनुसार २०५६।८।२८ देखि मलाई हाजिर गर्न नदिई २०५६।१०।१४ मा अवकाश पत्र बुझायो । उक्त अवकास पत्रमा सचिव स्तरीय मिति २०५६।८।२४ को निर्णय अनुसार स्थायी इन्जिनियरबाट पदपुर्ति भएको हुँदा तपाईलाई अस्थाई इन्जियर पदवाट अवकास दिएको भन्ने उल्लेख रहेको । यसरी मलाई अवकाश दिंदा कुनै सुनवाईको मौका समेत दिइएको छैन । अवकास दिने अधिकार श्री ५ को सरकरमा मात्र निहित रहेकोमा सचिव स्तरीय निर्णयबाट मलाई अवकाश दिइएको अधिकार क्षेत्रको त्रुटी समेत छ । अस्थाई नभै स्थाई निजामती कर्मचारी भएकोमा अस्थाई भनि उल्लेख गरी अवकाश दिएको समेत कानून विपरीत छ । ने.का.प. २०५१ पृ. ५५३ मा प्रकाशित नजिरको आधारमा निजामती सेवाको साधारणतर्फ स्थायी गर्नु पर्नेमा अवकास दिएको समेत गैरकानूनी छ । तसर्थ उपरोक्त विपक्षीहरुको गैर कानूनी काम कारवाहीवाट मेरो मौलिक हकमा आघात पुर्याएको हुँदा विपक्षीको २०५६।८।२४ को अवकास दिने निर्णय बदर गरी साविकदेखि कार्यरत पदमा बहाल गरी निजामती सेवाको विकास योजनाको स्थाई पदबाट सोही सेवाको साधारण तर्फ स्थायी पदमा लाग्ने प्रकृया पूरा गर्नु भन्ने परमादेश समेत जारी गरी पाउँ र साविक कै पदमा राखी साविक बमोजिम हाजिर गराई काम गर्न दिनु भनि विपक्षीहरुको नाउँमा अन्तरिम आदेश समेत जारी गरी पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन पत्र ।
३. यसमा के कसो भएको हो ? निवेदनको माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो ? यो आदेश प्राप्त भएको मितिले बाटाका म्याद बाहेक १५ दिन भित्र लिखित जवाफ पठाउनु भनि विपक्षीहरुको नाउँमा सूचना पठाउनु साथै अन्तरिम आदेश जारी गुर्ने परेन भन्ने समेत व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासको मिति २०५७।१।१२ को आदेश ।
४. रिट निवेदकलाई रा.प.तृ.प्रा. (इन्जिनियर समूह) को पदबाट अवकाश दिइएको सम्बन्धमा यस आयोगको कुनै काम कारवाहीवाट निजको हकमा आघात पारेको नहुँदा रिट निवेदन खारेज हुनु पर्छ भन्ने समेत व्यहोराको लोकसेवा आयोगको लिखित जवाफ ।
५. रिट निवेदकलाई सालवसाली दरवन्दीको म्याद थप भै आएमा कायम रहने गरी अत्रौली पुटार सिंचाई योजनामा असिष्टेष्ट इन्जिनियर पदमा योजना अवधि भरको लागि नियुक्ति गरिएको र मिति २०५०।६।७ को श्री ५ को सरकारको निर्णय अनुसार सो आयोजनाको अ.ई. दरबन्दी २०५०।७।१ देखि कटौती हुने भएकोले सोही मितिदेखि अवकाश दिनुपर्ने भै अवकास पत्र समेत तार गरिएकोमा निजको अनुभव उपयोगी हुने देखिई चापाकोटटार सिंचाई योजनामा सरुवा गरिएको हो । सो योजनामा पनि इन्जिनियर पद २०५२।०५३ देखि कटौती भएकाले निजको दरवन्दी सकिएपछि वाग्मती सिंचाई आयोजनामा सरुवा भएको हो । यस्तो अवस्थामा यी रिट निवेदकको नियुक्तिमा विज्ञापन गरे अनुसारको योजनाको पद सकिएको र म्यादी पदमा रही रहेकोले सो बाट अवकास दिएको कार्यले निजको कनुै मौलिक हकमा असर नपरेको हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको सचिव, जलश्रोत मन्त्रालयको लिखित जवाफ र सोही मिलानको मुख्य प्रशासकीय अधिकृत सिंचाई विभाग र वागमती सिंचाई आयोजनाको छुट्टाछुट्टै लिखित जवाफ ।
६. नियम वमोजिम पेश हुन आएको प्रस्तुत रिट निवदनमा रिट निवेदकको तर्फवाट विद्वान अविक्ता श्री श्याम राज ढुङ्गेलले निवेदकलाई निजामती सेवाको विकास तर्फको स्थायी कर्मचारीको रुपमा नियुक्ति गरी परीक्षणकालमा समेत राखी सेवा गर्दै आएकोमा निजामती सेवा ऐन र नियम बमोजिमको कार्यविधिहरु पूरा नगरी अस्थायी इन्जिनियर पदबाट अवकास दिइएको भनि दिएको अवकास कानून विपरीत भएको हुँदा निवेदन माग बमोजिमको आदेश जारी हुनुपर्छ भन्ने समेतको र विपक्षीहरुको तर्फवाट विद्वान सहन्यायाधिवक्ता श्री राज नारायण पाठकले रिट निवदक विज्ञपान अनुसारको नियुक्ति भएको आयोजनामा नै निज कार्यरत रहेको पद नै कटौती भइसकेको अवस्थामा विज्ञापन अनुसारको पदको नोकरी त्यसै बेला समाप्त भएको मान्नु पर्छ । पछि अन्य आयोजनामा निजलाई गरेको पदस्थापना अस्थाई नै भएको हुँदा त्यस्तो नियुक्ति भएको अस्थायी पदमा स्थायी नियुक्ति भै आएकोले अस्थाई कर्मचारीलाई अवकास दिने सम्वन्धमा निर्णय र सो बमोजिम भएका अन्य कामकारवाही कानूनसंगत हुँदा रिट निवेदन हुनुपर्छ भन्ने समेतको वहस गर्नु भयो ।
७. मिसिल अध्ययनका साथै विद्वान कानून व्यवासयीहरुको उपयुक्त बमोजिमको वहस समेत सुनी निर्णय तर्फ विचार गर्दा सिंचाई तथा जलवायु विज्ञान विभाग, पानीपोखरी महाराजगंजबाट मिति २०४२।७।१६ गतेको गोरखापत्रमा प्रकाशित विज्ञापन अनुसारको अत्रौलीपुटार सिंचाई योजना, तनहुंका लागि विज्ञापन नं. ४।०४२।४३ को इन्जिनियर सेवा, सिभिल समूह, इरिगेशन उप समूहको सिभिल इन्जिनियर रा.प.तृ.प्रा. पदमा निवेदकले दर्खास्त दिएको र श्री ५ को सरकारको मिति २०४३।२।८ को निर्णय अनुसार एकवर्षको परीक्षण कालमा रहने गरी जलश्रोत मन्त्रालय, सिंचाई तथा जलवायु विज्ञान विभागले मिति २०४३।२।१२।२ मा यी रिट निवेदकलाई नियुक्ति पत्र दिएको देखियो। मिसिल संलग्न उक्त नियुक्ति पत्र हेर्दा यस विभाग अन्तर्गत अत्रौलिपुटार सिंचाई योजनाको लागि सृजना भएको रा.प.तृ.प्रा.(असिष्टेण्ट इन्जिनियर) पदमा साल वसाली दरवन्दीको म्याद थप भै आएमा कायम रहने गरी योजना अवधि भरका लागि भनी नियुक्ति गरिएको भन्ने समेत देखिन्छ। त्यस्तै उक्त नियुक्ति पत्रमा नै निजामती सेवा नियमावली, २०२१ मा उल्लेख भएको उपदान, निवृत्तिभरण, अस्थायी निजामती कर्मचारीले नपाउने अरु सुविधा प्राप्त हुने छैन भनी उल्लेख भएको समेत देखिन आएकोबाट निवेदक निजामती सेवाको स्थायी पदमा नियुक्त भएको भन्ने देखिन आएन।
८. प्रत्यर्थी जलश्रोत मन्त्रालयको लिखित जवाफबाट अत्रौलीपुटार सिंचाई आयोजनाको अ.इ. दरवन्दी २०५०।७।१ देखि कटौति हुने भएकोले निवेदकको ७।८ वर्षको कार्य अनुभव श्री ५ को सरकारको अर्को त्यस्तो आयोजनामा उपयोग हुन सक्ने देखिई निजलाई अवकाश नदिई श्री ५ को सरकारको मिति २०५०।६।२८ को निर्णय अनुसार चापाकोटटार सिंचाई आयोजना, स्यांजामा साल वसाली वजेटको व्यवस्था भई योजनाको दरवन्दी कायम रहने गरी सरुवा गरिएको भन्ने देखिन्छ। यसबाट निवेदकले नियुक्ति पाएको पद नै कटौतिमा परेपछि श्री ५ को सरकारले अन्यत्र काम गर्न लगाएको कारणबाट पदमा वहालमा रही रहन पाउने कानूनी हक सृजना हुने भन्न मिलेन । अस्थायी प्रकृतिको पद भएको र आयोजनाको आवश्यक पद संख्या पूरा भएको भन्ने समेत देखिन आएकोबाट सफाइको मौका दिनुपर्ने तथा निजले पदमा वहाल रही रहन पाउने भन्न मिलेन ।
९. अतः माथी उल्लेखित आधार कारणहरुबाट रिट निवेदकलाई अवकास दिएको विपक्षीको कार्यवाट रिट निवेदकको कुनै संवैधानिक एवं कानूनी हकमा आघात परेको नदेखिंदा निवेदन माग बमोजिमको आदेश जारी गर्न नपरी प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उपर्युक्त रायमा सहमत छु ।
न्या.केशवप्रसाद उपाध्याय
इति संवत् २०५९ साल श्रावण २८ गते राजे ३ शुभम्............... ।