निर्णय नं. ७६४८ - जोत नामसारी
निर्णय नं.७६४८ ने.का.प.२०६३ अङ्क २
सर्वोच्च अदालत, पूर्ण इजलास
माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
माननीय न्यायाधीश श्री अनूपराज शर्मा
माननीय न्यायाधीश श्री गौरी ढकाल
संवत् २०६२ सालको दे.पु.ई.नं. ........३७
फैसला मितिः २०६२।१२।१७।५
मुद्दा :— जोत नामसारी ।
पुनरावेदक / प्रतिवादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १९ ढोकाटोल वस्ने सागरप्रसाद मिश्रको मु.स.गर्ने छोरा नरेन्द्रप्रसाद मिश्र समेत
विरुद्ध
प्रत्यर्थी / वादी का.जि.का.म.न.पा.वडा नं. ३५ कोटेश्वर वस्ने कृष्णप्रसाद आचार्य
§ मोही निष्काशन हुने गरी फैसला भइसकेपछि पनि जग्गाधनीले साविक मोहीलाई नै मोही स्वीकार गरेको र उक्त फैसलाअनुसार तत्कालै मोही लगतकट्टा हुन नसकी कानूनीरुपमा साविकदेखिनै मोही रहिरहेको अवस्थामा साविकदेखि मोहीको हैसियतले कमाई आएको विवादित जग्गामा निजको मोहियानीसम्वन्धी हक अधिकार समाप्त भइसकेको मान्न मनासिब नहुने ।
(प्रकरण नं.२०)
§ साविक मोहीको मृत्यृपछि निजको हक खाने छोराका नाउंमा मोही नामसारी हुने ।
(प्रकरण नं.२२)
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्धान अधिवक्ता श्री हरिहर दाहाल
प्रत्यर्थी वादी तर्फवाटः
अवलम्वित नजीरः
फैसला
न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत, पाटनबाट मिति २०५६।२।२० मा भएको फैसला उपर प्रतिवादी तर्फको यस अदालतमा मुद्दा दोहर्याई पाउं भनी परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) वमोजिम मुद्दा दोहर्याई हेर्ने निस्सा प्रदान भई पेश हुँदा संयुक्त इजलासका माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ (१) (क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यसप्रकार छः-
२. म निवेदकको आमा पूर्ण कुमारी आचार्य (उपाध्याय) मोही र का.जि.का.म.न.पा.वडा नं. १९ ढोकाटोल वस्ने वलभद्र मिश्र जग्गाधनी भएको साविक कोटेश्वर गा.पं. वडा नं. ९ (क) कि.नं. ९८ को क्षे.फ. २–१–० हाल का.न.पा. वडा नं. ३५ अन्र्तगत पर्ने जग्गा म निवेदकको आमाको नाममा मोहियानी हक प्राप्त भई हाल आमा परलोक भएपछि मैले जोतभोग गर्दै आएको छु । आमा पूर्ण कुमारी मिति २०५०।११।१७ मा परलोक हुनु भएको हुँदा भूमि सम्वन्धी ऐन, २०२१ को दफा २६ (१) वमोजिम उक्त जग्गा म निवेदकको नाममा मोही नामसारी गरी पाउं भन्ने समेत व्यहोराको कृष्णप्रसाद आचार्यको निवेदन पत्र ।
३. विपक्षी कृष्णप्रसाद आचार्यले जोत नामसारी गरी पाउं भनेको जग्गाको जग्गाधनी हाम्रो पिताजी वलभद्र मिश्र परलोक भई उहांको हकदारहरु हामी २ भाई वाहेक अरु कोही छैनन् । विपक्षीको माताजी श्रीमती पूर्ण कुमारी उपाध्यायनी आचार्यसंग वाली भराई जग्गावाट निष्काशन गरी पाउं भन्ने मुद्दामा काठमाडौं जिल्ला अदालतको मिति २०२६।३।२४ गतेको फैसलावाट वाली भराई जग्गावाट निष्काशन हुने ठहरेकोमा हाल सम्म मोही लगतमा निजैको नाम कायम भइराखेको, हाम्रो पिताजी वलभद्र मिश्र परलोक भई सक्नु भएकोले हकदार हामी २ भाई वाहेक अरु कुनै नभएकोले मृत्यु दर्ता प्रमाण पत्र राखी फैसला कार्यान्वयन गरी पाउं भनी यस कार्यालयमा २०४८।१२।१७ मा दे.नं. ७८८४ को निवेदनपत्र दर्ता भएकोमा सो जग्गा हाम्रो नाममा नामसारी दर्ता भई नसकेकोले कार्यान्वयन हुन नसकिरहेको सम्म हो । सो फैसला पश्चात् हाम्रो जग्गा कसैलाई कमाउन दिएको र कसैले कमाई आएको छैन । त्यसकारण विपक्षीको मागदावी वमोजिम मोही कायम गरी नामसारी गरी दिन हाम्रो मन्जुर छैन भन्ने समेत व्यहोराको सागरप्रसाद मिश्र समेतको प्रतिउत्तर पत्र ।
४. जग्गाधनी परलोक भई ऐन वमोजिम हकवालाका नाममा नामसारी भइनसकेको अवस्थामा भुमि सम्वन्धी ऐन, २०२१ को दफा २६(१) अनुसार मोही नामसारी गर्न जग्गाधनीले मोहीको हकवाला मध्येवाट रोज्ने पत्याउने प्रक्रिया अपनाउनु पर्ने कानूनी प्रक्रिया पुरा भइनसकेकोले हाल मोही नामसारी गर्न नमिल्ने ठहर्छ भन्ने समेत व्यहोराको भूमिसुधार कार्यालय काठमाडौंको मिति २०५१।८।१५ को निर्णय ।
५. उक्त फैसलामा चित्त नवुझेकोले शुरु निवेदन मागदावी बमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको वादी कृष्णप्रसाद आचार्यको पुनरावेदनपत्र ।
६. पुनरावेदक वादीलाई मोही कायम गर्न पत्याउन मन्जुर छ, छैन ? सो सम्वन्धमा भूमि सम्वन्धी ऐन, २०२१ को दफा २६(१) वमोजिमको प्रकृया पुरा गर्नुपर्नेमा सो प्रकृया पुरा नगरी हाल मोही नामसारी गर्न नमिल्ने भनी वोलेको शुरुको निर्णय नमिलेकोले वदर गरी दिएको छ । अव कानून वमोजिम मोही पत्याउने सम्वन्धमा जग्गाधनीलाई जो बुझ्नु पर्ने वुझी यकिन निर्णय गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५२।१०।५ को फैसला ।
७. एकपटक अदालतवाट हक टुटीसकेपछि पूनः हक स्थापित गर्नको लागि जग्गाधनी र जोताहाको वीचमा कानून वमोजिमको कवुलियत भएको हुनु पदर्छ । त्यस्तो कवुलियत छ भन्न नसकेकोले सोको अभावमा हामीले भुमि सम्वन्धी ऐन, २०२१ को दफा २६(१) अनुसार विपक्षीलाई मोही स्वीकार्नु पर्ने वाध्यता छैन । हाम्रो २०४८।१२।१७ को निवेदन अनुसार विपक्षीकी आमा पूर्ण कुमारी उपाध्याय आचार्यको नाम खारेज गरी मोही हक समेत दाखिल खारेज दर्ता गरी पाऊँ भन्ने समेत व्यहोराको जग्गाधनीको लिखित प्रतिक्रिया ।
८. भूमि सम्वन्धी ऐन, २०२१ वमोजिम स्थापित भएको मोहियानी हक कानून वमोजिमको प्रकृयावाट समाप्त नभई मोही लगत जीवितै रहेको देखिँदा फिराद दावी वमोजिम मोही नामसारी हुन नसक्ने भन्ने स्थिति रहेन । पुनरावेदन अदालतको फैसलाले नामसारीतर्फ भूमि सम्वन्धी ऐन, २०२१ को दफा २६(१) वमोजिमको प्रकृया पुर्याई नामसारीतर्फको निर्णय दिनुपर्ने तर्फ वोली कानूनी मार्गदर्शन गरी सकेको हुँदा यस कार्यालयले त्यसतर्फ विवेचना गरी रहन परेन । मृतक मोहीका हकदार छोराहरुको मोही नामसारीमा विवादसमेत रहेको नदेखिएवाट मृतक पूर्ण कुमारीको नाउंमा दर्ता भइसकेको कि.नं. ९८ को जग्गाको मोही हक निजका हकदार छोरा मध्ये नामसारी माग गर्ने कृष्णप्रसादको नाउंमा भूमि सम्वन्धी ऐन, २०२१ को दफा २६(१) वमोजिम नामसारी हुने ठहर्छ भन्ने समेत व्यहोराको भूमिसुधार कार्यालय, काठमाडौंको मिति २०५४।३।८ को निर्णय ।
९. आत्मनिष्ठ तर्क र अनुमानको आधारमा मुलुकी ऐन अदालती बन्दोबस्तको महलको १८४(क), १८५ र १८९ नं. तथा प्रमाण ऐन समेतको कानून प्रतिकूल अन्यायपूर्ण र त्रुटीपूर्ण समेत भएकोले उक्त फैसला उल्टी गरी हाम्रो प्रतिउत्तर जिकिर बमोजिम इन्साफ गरीपाऊँ भन्ने समेत व्यहोराको पुनरावेदक प्रतिवादीको तर्फवाट पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र ।
१०. मिति २०२६।३।२४ मा काठमाडौं जिल्ला अदालतवाट भएको फैसलावाट कृष्णप्रसाद आचार्यको आमा पूर्ण कुमारीलाई विवादित जग्गाको मोही निष्काशन गरिसकेको देखिएको र सो फैसला भएकै छैन, होइन भन्ने जिकिर लिन नसकेको अवस्थामा सो फैसला हुनु भन्दा अगाडिको मोही लगतको उल्लेखन, वाली बुझाएको भरपाई र मोहियानी हकको स्थायी प्रमाण पत्र समेतको आधारमा सो फैसलाले मोही निष्काशन गरिदिएकी स्व. पूर्णकुमारीको नामवाट कृष्णप्रसादको नाममा मोही नामसारी हुने ठहराएको फैसलामा कानूनको व्याख्यात्मक त्रुटी भई फरक पर्न सक्ने देखिएकोले अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई आए पछि नियमानुसार गरी पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०५५।९।६ को आदेश ।
११. मिति २०२६।३।२४ पछि पनि २०३२, २०३९ र २०४१ सालमा प्रत्यर्थीहरुवाट यी पुनरावेदक स्वयंले वाली वुझी सानो भरपाइ समेत गरिदिएको उक्त भरपाईमा मुद्दाको दावी समेत छोडी भन्ने वोली समेत परेवाट पुनरावेदकले प्रत्यर्थीलाई मोही मानी वाली वुझी मुद्दाको दावी समेत छाडेको अवस्था भएको र मिति २०५१।८।१५ को तामेली फैसला उपर प्रत्यर्थी मोहीले चित्त नवुझाई पुनरावेदन गरेकोमा उक्त पुनरावेदनमा मिति २०५२।१०।५ मा प्रत्यर्थीको आमा पूर्ण कुमारीको मृत्यु पश्चात् मोही रोजाउनु पर्ने गरी भएको फैसलाले प्रत्यर्थीको विवादित जग्गामा अद्यापी मोही हक स्थापित भएको कुरा प्रष्टसंग उल्लेख गरेकोमा सो उपर पुनरावेदकको पुनरावेदन समेत परेको नदेखिँदा पुनरावेदकका नाउंमा मोहियानी नाउंसारी हुन सक्दैन भन्ने पुनरावेदन जिकिर कानून तथा तर्कसंगत देखिएन । मिति २०५२।१०।५ को यस अदालतको फैसला समेतको परिप्रेक्ष्यमा कृष्णप्रसादको नाउंमा मोही नामसारी गर्ने गरी भएको शुरु भूमिसुधार कार्यालय काठमाडौंको मिति २०५४।३।८ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५६।२।२० को फैसला ।
१२. काठमाडौं जिल्ला अदालतको २०२६।२।२४ को फैसला कतैवाट वदर नभई कायम रहेको अवस्थामा आमाकै मोही हक समाप्त भएपछि आमाको नामवाट छोराको नाममा मोही नामसारी हुने गरी भएको भुमि सुधार कार्यालय, काठमाडौंको २०५४।३।८ को फैसला सदर गर्ने गरी भएको पुनरावेदन अदालत पाटनको २०५६।२।२० को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३, ५४, अ.वं. १८४, १८५, भूमि सम्वन्धी ऐन, २०२१ को दफा ३४ को त्रुटि हुँदा दोहर्याई हेरी प्रतिउत्तर जिकिर वमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको तर्फवाट यस अदालतमा पर्न आएको निवेदन पत्र ।
१३. यसमा वलभद्र मिश्र वादी पूर्ण कुमारी प्रतिवादी भएको २०२४ सालको वाली भराई मोही निष्काशन गरी पाऊं भन्ने मुद्दामा वाली भराउने र मोहीवाट निष्काशन हुने ठहरी २०२६।३।२४ मा भएको फैसला अन्तिम रहेकोमा विवाद नभएपछि दुवै पक्षलाई कानून सरह लागु हुने अवस्थाको देखियो । त्यसपछि भूमि सम्वन्धी ऐन, २०२१ वमोजिमको रित पुर्याई मोही रहेको भन्न सकिने प्रमाणको अभावमा कुतवाली वुझी भरपाई गरी दिएको भन्ने कुराले अन्तिम फैसला निष्कृय रहेको भन्न मिलेन । तसर्थ विवादित जग्गाको मोही नै नरहरेको पूर्ण कुमारी आचार्यको मोही नामसारी हुने ठहर्याएको पुनरावेदन अदालत, पाटनको फैसलामा भूमि सम्वन्धी ऐन, २०२१ को दफा ३४(१) को व्याख्यात्मक त्रुटि रहेको र ने.का.प. २०५४ पृष्ठ १५१ मा प्रकाशित नि.नं. ६३३६ को मुद्दामा तथा २०५३ सालको दे.पु.नं. ३८३५ को मोही हक नामसारी मुद्दामा यस अदालतवाट २०५५।६।१ मा भएको फैसलावाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल रहेकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) समेतको आधारमा मुद्दा दोहर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालत संयुक्त इजलासवाट मिति २०५७।१२।१३।२ मा भएको आदेश ।
१४. मिति २०२६।३।२४ को काठमाडौं जिल्ला अदालतको फैसला पछि २०३२, २०३९ र २०४१ सालमा यसै कि.नं. ९८ को जग्गाको वाली जग्गाधनीले वुझी भरपाई गरी दिएको, सो भर्पाईमा अघि मुद्दामा भएको दावी छाडेको भन्ने व्यहोरा उल्लेख भएको, मोहीको लगतकट्टा नहुने गरी भएको भूमिसुधार कार्यालय काठमाडौंको मिति २०५१।८।१५ को निर्णयमा जग्गाधनीले चित्त वुझाई वसेको र उक्त २०५१।८।१५ को निर्णयमा साविक मोहीको मृत्युपछि मोही पत्याउने प्रकृयासम्म नमिलेको भनी पूनः निर्णयको लागि मुद्दा फिर्ता भएको देखिएको अवस्थामा साविक मोही पूर्ण कुमारीको मृत्यृ पछि निजको हक खाने छोरा कृष्णप्रसाद आचार्यका नाउंमा मोही नामसारी हुने गरी भएको शुरु भूमिसुधार कार्यालय, काठमाडौंको मिति २०५४।३।८ को फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०५६।२।२० को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री दिलीप कुमार पौडेलको राय ।
१५. काठमाडौं जिल्ला अदालतको मिति २०२६।३।२४ को फैसला पश्चात् २०३९ र २०४१ सालहरुमा प्रत्यर्थी वादी मोहीले पुनरावेदक प्रतिवादी जग्गाधनीलाई कुत वुझाएको भरपाई पेश भएको देखिन्छ । एक पटक मोही निष्काशनको फैसला पश्चात पूनः सोही व्यक्ति सोही जग्गाको मोही कायम हुन भूमी सम्वन्धी ऐन, २०२१ को दफा ३४ वमोजिमको कवुलियत भएको हुनु पर्नेमा त्यस्तो केही कवुलियत पेश भएको देखिँदैन । केही वर्षको कुत वाली वुझाएकै निस्साले पूनः मोही कायम हुन सक्ने नभएको र मोही कायम गरी पाउं भन्ने प्रस्तुत मुद्दाको विषय पनि नभएकोले मिति २०२६।३।२४ को फैसलाले मोही पूर्ण कुमारीको मोही हक समाप्त गरिसकेको र सो फैसला अन्तिम भएर वसेको अवस्थामा विवादको कि.नं. ९८ को २–१–० जग्गाको पूर्ण कुमारीकै हक समाप्त भएकोमा निजको मृत्यु पश्चात निजको हक खाने कृष्णप्रसाद आचार्यको नाममा मोही नामसारी हुन्छ भन्न मिल्दैन । तसर्थ आमाकै हक नभएको अवस्थामा छोराको नाममा मोही नामसारी हुने गरेको भुमि सुधार कार्यालय, काठमाडौंको मिति २०५४।३।८ को निर्णय सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०५६।२।२० को फैसला नमिलेकोले उल्टी हुन्छ भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री परमानन्द झाको राय भएको यस अदालत संयुक्त इजलासको मिति २०६१।११।१४ को फैसला ।
१६. प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीकोतर्फवाट विद्धान अधिवक्ता श्री हरिहर दाहालले काठमाडौं जिल्ला अदालतवाट मिति २०२६।३।२४ मा भएको फैसलावाट विवादित जग्गाको साविक मोही पूर्ण कुमारीलाई निष्काशन गर्ने गरी भएको फैसला अन्तिम भएर रहेकोछ । अदालतको फैसलावाट मोही निष्काशन भएपछि भूमि सम्वन्धी ऐन, २०२१ को दफा ३४ अनुसारको कवुलियतको आधारमा जग्गा कमाउन दिएको भन्ने देखिंदैन । यस्तो अवस्थामा वाली बुझिलिएको भरपाई गरिदिएको आधारमा मात्र फैसलाले निष्काशन गरिसकेको व्यक्ति पुन मोही कायम हुन सक्दैन । मोही निष्काशन हुने गरी भएको फैसला पक्षहरु समेतको लागि बन्धनकारी हुने भएकोले फैसला अनुसार मोही निष्काशन भइसकेपछि साविक मोही पूर्ण कुमारीको मृत्यु पछाडि निजको छोराको नाममा मोही नामसारी हुन सक्दैन । यसैले मोही नामसारी हुने गरी भएको पुनरावेदन अदालत पाटनको फैसला उल्टी हुने ठहर गरेको माननीय न्यायाधीश श्री परमानन्द झाको राय सदर हुनुपर्दछ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो । प्रत्यर्थी वादी कृष्णप्रसाद आचार्यले मोही निष्काशन गर्ने गरी काठमाडौं जिल्ला अदालतवाट फैसला भएपछि पनि साविक बमोजिम जग्गा कमाई आएको र जग्गाधनीलाई वाली समेत बुझाई आएको हो । जग्गाधनीले वाली बुझी गरिदिएको भरपाईमा मोही निष्काशन गर्ने गरि भएको फैसलाको दावी छोडेको व्यहोरा समेत उल्लेख गरेकोले मोही नामसारी गर्ने गरी भएको पुनरावेदन अदालत, पाटनको फैसला सदर गरेको माननीय न्यायाधीश श्री दिलीप कुमार पौडेलको राय सदर हुनुपर्दछ भन्ने समेत व्यहोराको जिकिर लिनुभयो ।
१७. उल्लेखित वहस जिकिर समेत सुनी निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा मोही नामसारी हुने गरी भूमिसुधार कार्यालय, काठमाडौंवाट भएको निर्णय सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०५६।२।२० को फैसला मिलेको छ, छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? भन्ने सम्वन्धमा निर्णय दिनुपर्ने देखियो ।
१८. यसमा साविक कोटेश्वर गा.पं.वडा नं. ९ (क) कि.नं. ९८ को २–१–० हाल का.म.न.पा.वडा नं. ३५ को जग्गाको जग्गाधनी वलभद्र मिश्र र आमा पूर्ण कुमारी आचार्य (उपाध्याय) मोही भएकोमा २०५०।११।१७ मा आमाको मृत्यु भएकोले आमाको नामको मोही हक नामसारी गरी पाऊँ भन्ने वादी कृष्णप्रसाद आचार्यको फिराद दावी र उक्त कि.नं. ९८ को जग्गाको साविक मोही पूर्ण कुमारी आचार्य भएकोमा निज उपर वाली भराई मोही निष्काशन मुद्दा परी काठमाडौं जिल्ला अदालतवाट मिति २०२६।३।२४ मा वाली भराई उक्त जग्गावाट मोही निष्काशन समेत हुने गरी भएको फैसला अन्तिम भै वसेको हुँदा पूर्ण कुमारीको मृत्यु पछि निजका छोराका नाउंमा मोही नामसारी हुनुपर्ने होइन भन्ने प्रतिउत्तर जिकिर रहेको देखिन्छ । भूमिसुधार कार्यालय, काठमाडौंवाट मोही निष्काशन समेत हुने गरी भएको फैसला बमोजिम मोही लगत कट्टा गर्ने तर्फ कारवाही नचलाएको र सो फैसला पछि पनि जग्गाधनीले वाली बुझेको तथा सो फैसला अनुसार जोत लगत कट्टा नहुने गरि भएको फैसला उपर जग्गाधनीको पुनरावेदन नपरेको भन्ने समेत आधारमा विवादित जग्गाको मोही पूर्ण कुमारी आचार्यवाट निजको छोरा कृष्णप्रसाद आचार्यका नाममा नामसारी हुनेगरी भएको निर्णय सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला उपर प्रतिवादीको तर्फवाट परेको निवेदनमा मुद्दा दोहोर्याउने निस्सा प्रदान भई पेश हुँदा संयुक्त इजलासका माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम प्रस्तुत मुद्दा यस इजलास समक्ष पेश हुन आएको देखियो ।
१९. प्रस्तुत मुद्दासंग सम्वन्धित मिसिल तथा प्रमाणको लागि पेश हुन आएका मिसिल संलग्न प्रमाण कागजातहरु समेत अध्ययन गर्दा साविक कोटेश्वर गा.पं.वडा नं. ९ (क) कि.नं. ९८ को २–१–० हाल का.म.न.पा.वडा नं. ३५ को जग्गाको जग्गाधनी पुनरावेदक प्रतिवादीका बाबु बलभद्र मिश्र र मोही प्रत्यर्थी वादीको आमा पूर्ण कुमारी आचार्य रहेकोमा विवाद रहेको देखिंदैन । जग्गाधनी बलभद्र मिश्र वादी पूर्ण कुमारी आचार्य प्रतिवादी भएको वाली भराई जग्गावाट निष्काशन समेत गरिपाऊँ भन्ने मुद्दामा काठमाडौं जिल्ला अदालतवाट मिति २०२६।३।२४ मा भएको फैसलावाट मोही पूर्ण कुमारी कि.नं. ९८ को जग्गाको मोहीवाट निष्काशन हुने गरी भएको फैसला अन्तिम भएर रहेकोले निजको मृत्यु पछि हक खाने छोरामा मोहियानी सर्न सक्दैन भन्ने मूख्य पुनरावेदन जिकिर लिएको देखिएकोले त्यसतर्फ विचारगर्दा मोही पूर्ण कुमारीले २०२४ सालको वाली नबुझाएकोले वाली दिलाई मोही निष्काशन गरिपाऊँ भनी जग्गाधनी बलभद्र मिश्रको फिराद परेकोमा काठमाडौं जिल्ला अदालतवाट मिति २०२६।३।२४ मा विवादित जग्गाको मोही निष्काशन हुने गरी फैसला भएको देखिन्छ । भूमि सम्वन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (१) को प्रतिवन्धात्मक वाक्याँश खण्ड (ग) अनुसार तोकिए बमोजिम कूत नबुझाई मोहियानी हक समाप्त भएमा सो कुराको लिखित सूचना जग्गावालाले भूमिसुधार अधिकारीलाई ३५ दिन भित्र दिनुपर्ने र भूमिसुधार अधिकारीले सो कुराको जाँचबुझ गरी मोहियानी हकको दर्ता किताबमा सच्याउनु पर्नेमा काठमाडौं जिल्ला अदालतवाट मोही निष्काशन हुने गरी भएको फैसला अनुसार जग्गाधनीले मोही लगत कट्टा गरिपाऊँ भनी कानून बमोजिम फैसला कार्यान्वयन तर्फ कारवाही चलाई तत्कालीन अवस्थामा नै फैसला अनुसार मोही लगत कट्टा गराई मोहियानी दर्ता किताबमा सच्याउन सकेको भन्ने देखिंदैन ।
२०. जग्गाधनी बलभद्र मिश्रको २०४१ सालमा मृत्यु भएपछि निजका हकवाला छोरा भएको नाताले मिति २०४८।१२।१७ मा यी पुनरावेदकहरुको तर्फवाट काठमाडौं जिल्ला अदालतको मिति २०२६।३।२४ को फैसला अनुसार मोहीको लगत कट्टा गरिपाऊँ भनी निवेदन परेकोमा भूमिसुधार कार्यालय, काठमाडौंवाट मोही लगत कट्टा हुन नसक्ने भनी निवेदन तामेलीमा राख्ने गरी मिति २०५१।८।१५ मा निर्णय भएको देखिन्छ । सो निर्णय उपर जग्गाधनीले पुनरावेदन गरी उक्त निर्णय बदर गराउन सकेको देखिंदैन । त्यसपछि पुनः जग्गाधनीकोतर्फवाट २०२६ सालमा भएको फैसला अनुसार मोही लगत कट्टा गर्न भूमिसुधार कार्यालयलाई जनाउ दिलाई पाऊँ भनी मिति २०५३।८।२५ मा निवेदन परेको देखिएवाट काठमाडौं जिल्ला अदालतवाट मिति २०२६।३।२४ मा विवादित जग्गाको मोही निष्काशन हुने गरी फैसला भएपछि सो फैसला अनुसार जग्गाधनीले मोही लगत कट्टा गराई नसकेको भन्ने स्पष्ट हुन्छ । मोही निष्काशन हुने गरी फैसला भइसकेपछि पनि जग्गाधनी बलभद्र मिश्रले साविक मोही पूर्ण कुमारीवाट २०२४ सालदेखि २०३२ सालसम्मको वाली बुझिलिएको भरपाईको व्यहोरामा “परिराखेको मुद्दा सबै छोडी दिई” भन्ने उल्लेख गरेको र त्यसपछि पनि २०३९ र २०४१ सालको वाली बुझी जग्गाधनीले भरपाई गरिदिएको र जग्गाको श्रेस्तामा विवादित जग्गाको मोहीको नाम पूर्णकुमारी नै कायम रहिरहेको र निजले विवादित जग्गाको मोहियानी हकको प्रमाणपत्र मिति २०३३।१०।२८ मा प्राप्त गरेको भन्ने मिसिल संलग्न मोहियानी हकको प्रमाणपत्रको प्रतिलिपिवाट देखिन्छ । जग्गाधनीले अदालतवाट मोही निष्काशन हुने गरी २०२६ सालमा भएको फैसला समेतको आधारमा सो प्रमाणपत्र बदर गर्ने तर्फ कुनै कारवाही चलाएको भन्ने देखिन आएको छैन । यसवाट समेत जग्गाधनीले वाली दिलाई मोही निष्काशन गरिपाऊँ भनी लिएको दावी र त्यस अनुसार काठमाडौं जिल्ला अदालतवाट मिति २०२६।३।२४ मा भएको फैसला अनुसार मोही निष्काशनतर्फ कारवाही नचलाई निजले साविकदेखि जग्गा कमाई आएको मोहीलाई नै मोही स्वीकार गरी पूर्ववत् जग्गा कमाउन दिएको भन्ने देखिएकोले मोही निष्काशन हुने गरी फैसला भइसकेपछि पनि जग्गाधनीले साविक मोहीलाई नै मोही स्वीकार गरेको र उक्त फैसला अनुसार तत्कालै मोही लगत कट्टा हुन नसकी कानूनी रुपमा पूर्ण कुमारी नै साविक देखि नै मोही रहिरहेको अवस्थामा पूर्ण कुमारीले साविक देखि मोहीको हैसियतले कमाई आएको विवादित जग्गामा निजको मोहियानी सम्वन्धी हक अधिकार समाप्त भइसकेको मान्नु मनासिब हुँदैन ।
२१. विवादित जग्गाको मोही पूर्ण कुमारी आचार्यको २०५० सालमा मृत्यु भएकोले मोही नामसारी गरी पाऊँ भनी निजको छोरा प्रत्यर्थी कृष्णप्रसाद आचार्यको निवेदन परेकोमा भूमिसुधार कार्यालय, काठमाडौंवाट मिति २०५१।८।१५ मा साविक जग्गाधनी बलभद्र मिश्र परलोक भई हकवालाको नाममा नामसारी भइनसकेकोले जग्गाधनीले मोहीको हकवाला मध्येवाट मोही रोज्ने, पत्याउने प्रक्रिया पूरा नभएकोले मोही नामसारी हुन नसक्ने गरी निर्णय भएको र उक्त निर्णय उपर निज प्रत्यर्थीकोतर्फवाट पुनरावेदन अदालत पाटनमा पुनरावेदन परेकोमा उक्त अदालतले साविक मोही पूर्ण कुमारी आचार्यको मृत्यु भइसकेको अवस्थामा भूमि सम्वन्धी ऐन, २०२१ को दफा २६(क) वमोजिमको मोही पत्याउने प्रक्रिया पुरा नगरी मोही नामसारी नहुने गरी भएको निर्णय बदर गरी मोही पत्याउने सम्वन्धी प्रक्रिया पुरा गरी निर्णय गर्नु भनी पूनः निर्णयको लागि २०५२।१०।५ मा भूमिसुधार कार्यालय, काठमाडौंमा नै पठाएको देखिन्छ । उक्त फैसला उपर यी पुनरावेदकहरुले पुनरावेदन गरी उक्त फैसलालाई बदर गराउन सकेको देखिंदैन । प्रत्यर्थी कृष्णप्रसाद आचार्यकोतर्फवाट मिति २०५६।३।१८ मा भूमि सम्वन्धी ऐन, २०२१ मा मिति २०५३।९।२४ मा भएको चौथो सँशोधनद्वारा संशोधित कानूनी व्यवस्था अनुसार विवादित जग्गा मोही र जग्गाधनी वीच वाँडफाँड गरिपाऊँ भनी निवेदन गरेकोमा जग्गाधनी सागरप्रसाद मिश्रलाई भूमिसुधार कार्यालयले झिकाई तारेखमा राखी जग्गा वाँडफाँडको कारवाहीमा निजलाई सरिक गराई विवादको कि.नं. ९८ को २–१–० जग्गा जग्गाधनी र मोहीका बीचमा वाँडफांड गर्ने गरी मिति २०५६।७।८ मा निर्णय गरेकोमा सो निर्णय उपर जग्गाधनी यी पुनरावेदकहरुको उजुर परेको नदेखिएकोले निजहरुले उक्त निर्णयलाई पनि स्वीकार गरेको देखिन्छ । जग्गा वांडफांड भएपछि विवादको जग्गा कित्ताकाट भई मोहीको भागमा पर्न आएको कि.नं.८ को जग्गा प्रत्यर्थी कृष्णप्रसाद आचार्यले विभिन्न मितिमा विभिन्न व्यक्तिहरुलाई हकछाडि दिएको मिसिल संलग्न कागज प्रमाणहरुवाट देखिन्छ । उक्त लिखतहरु बदर गराई पाऊँ भनी उजुर गरेको भनी यी पुनरावेदकहरुको तर्फवाट कुनै जिकिर लिनसकेको समेत नदेखिंदा यी पुनरावेदकहरुले प्रत्यर्थीले मोहीको हैसियतले विवादको जग्गा बाँडफाँड गरेको र त्यस अनुसार निजको भागमा परेको जग्गा हक हस्तान्तरण गरिदिएको कार्यलाई समेत स्वीकार गरेको देखिन आयो ।
२२. माथि उल्लेख गरिएको आधारहरुवाट साविक मोही पूर्ण कुमारीको मृत्यु पछि निजको हक खाने छोरा कृष्णप्रसाद आचार्यका नाउंमा मोही नामसारी हुने गरी भएको शुरु भूमिसुधार कार्यालय, काठमाडौंको मिति २०५४।३।८ को निर्णय सदर गरेको पुनरावेदन अदालत,पाटनको मिति २०५६।२।२० को फैसला सदर हुने ठहर गरेको हदसम्म संयुक्त इजलासका माननीय न्यायाधीश श्री दिलीप कुमार पौडेलको राय मनासिब देखिंदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार बुझाई दिनु ।
उपर्युक्त रायमा सहमत छौं ।
न्या.अनुपराज शर्मा
न्या.गौरी ढकाल
इति सम्वत् २०६२ साल चैत्र १७ गते रोज ५ शुभम् ..........