निर्णय नं. ७०९३ - कर्तव्य ज्यान ।

निर्णय न.७०९३ ने.का.प.२०४९ अङ्क ५/६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ
सम्वत २०५५ सालको फौ.पु.न. ... २०२५
सम्वत २०५६ सालको सा.नं. .. २९२
फैसला मितिः २०५८।१।१३।५
मुद्दाः– कर्तव्य ज्यान ।
पुनरावेदक
प्रतिवादीःजिल्ला उदयपुर देउराली गा.वि.स.वडा नं.५ घर भई हाल कारागार शाख चन्द्रगढी झापामा थुनामा रहेकी पदममायाँ वस्नेत
बिरुद्व
प्रत्यर्थी
वादीः राधा वस्नेतको जाहेरीले श्री ५ को सरकार
पुनरावेदक
वादीः राधा वस्नेतको जाहेरीले श्री ५ को सरकार
विरुद्व
प्रत्यथी
प्रतिवादीः जि. उदयपुर देउराली गा.वि.स वडा नं. ५ भई हाल कारागार शाखा चन्द्रगढी झापामा थुनामा रहेकी पदममायाँ वस्नेत
§ मृतक बालकको उमेर केवल २ महिना ५ दिन मात्र भएको पाइदा त्यस्तो बालक कोक्राबाट बाहिर निस्कन र आफै कुनै वस्तु सेवन गर्न सक्ने अवस्था नहुने ।
§ आफूले चाहे जस्तो गरि छोराको विवाह गर्न नपाएकोले छोराले इन्कार गर्दागर्दै अन्यत्र वच्चा जन्माएकी आईमाईलाई वच्चा सहित इच्छा विपरीत घरमा भित्र्याई दिएकाले समाजको सामु खिन्नता उत्पन्न भई कोही नभएको मौका छोपी कोक्रामा सुतिरहेको अवोध दुधे कलिलो (२ महिना ५ दिनको) उमेरको बालकलाई विष ख्वाई हत्या गरेको देखिंदा यसरी जानीजानी विष खुवाई कठोर अपराध गरेकोले अ.वं. १८८ नं. आकर्षित नहुने ।
(प्र.नं. ३६ र ३७)
पुनरावेदक प्रतिवादी तर्फबाटः
प्रत्यर्थी वादी तर्फबाटः
अवलम्वित नजिरः
फैसला
न्या.ज्ञाइन्द्रबहादुर श्रेष्ठः न्याय प्रशासन ऐन ०४८ को दफा ९ अन्तर्गत परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :
२. म जाहेरवाली जिल्ला उदयपुर गा.वि.स. देउरी वडा नं. ५ वस्ने सुर्यवहादुर वस्नेतको घरमा ४,५ वर्ष अगाडि देखि वसी जि. सप्तरी अन्तर्गत सिसवारी मा.वि.मा अध्ययन गर्दाको अवस्थामा ऐ ऐ वस्ने वर्ष १८ को सोमकुमार वस्नेतसंग सोही स्कूलमा पढ्ने दुवैजनाको मन्जुरीबाट शारीरिक सम्बन्ध कायम भई मिति २०५१ साल फाल्गुण महिना देखि गर्भ रहन गएको कुरा अवगत गराउँदा कतै पनि हल्ला नगर म छँदै छु भनेकोले मैले हल्ला गरिन । पछि अरुले थाहा पाएपछि सोम कुमारको बावु र मेरो वावु बसेर गाउँलेहरुलाई जम्मा गरी जिम्मा लगाउन खोज्दा निज केटा सोम कुमार भागी गएकोले मलाई सोही घरमा जिम्मा लगाएकोले म त्यही बसी आएकोमा मिति २०५२ साल मार्ग महिनामा मेरो गर्भबाट छोरा जन्मिएको थियो । तत्पश्चात पति सोमवहादुर पनि घरमा नै भएतापनि बोलचाल भने थिएन । २०५२।१०।८ गते विहान अं. ८ बजे तिर छोरा खम्ब सिंह बस्नेतलाई कोक्रामा सुताई घाँस काट्न गएकी र फर्की आउँदा कोक्रामा नानी आलसतालस भै मुखमा फिँज काडी रहेको भेटी कोक्राबाट झिकी दुध खुवाउँदा नखाएकोले नानीलाई के भयो भनि म कराउन खोज्दा ससुरा आई झारफुक गरि दिए पछि बालकको मृत्यु भयो । मैले बालक कर्तब्यबाट मरेको छ जाहेर गर्नु पर्छ भन्दा समेत नमानी गाउँले भेला भै लास दवाए, निज वालकको मृत्यु सासु पदममायाँ बस्नेत, पति सोमबहादुर बस्नेत समेतको कर्तब्यबाट भएकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको राधा वस्नेतको जाहेरी दर्खास्त ।
३. मृतक खम्व सिंह वस्नेतको लास राखेको ठाउँमा हेर्दा उत्तानो अवस्थामा भएको दुवै आँखा वन्द दुवै कानबाट केही नवगेको नाकको प्वालबाट तरल पदार्थ बगेको मुख खुला रहेको, मुखबाट फिंज बगेको, ओठ कालो देखिएको छाती र दाहिने पाखुरामा राता दाग देखिएको मृत्यु भएको ठाउँमा हेर्दा रगत जमी रातो दाग देखिएको मलद्वारबाट केही मात्रामा दिसा बगेको भन्ने समेतको लास जाँच तथा घटनास्थल मुचुल्का ।
४. भिषेराको रिपोर्ट नआउन्जेल सम्म मृतक बालकको मृत्युको कारण खुलाउन नसकिने भन्ने पोष्टमार्टम फारमको रिपोर्ट ।
५. मिति २०५२।१०।१० गते बालक मरेको कुरा जानकारी पाई जाहेरवालीको घरमा आई बुझ्दा मिति २०५२।१०।८ गते विहान बालकलाई दुध खुवाई घाँस काट्न जंगल गै दिनको अं. १ वजे घरमा आई बालकलाई दुध खुवाउन खोज्दा आलसतालस भै बालकले दुध नखाएको मुखबाट फिंज आइरहेको थियो । सासु पदममायाँ घरमा नै थिइन् । औषधी उपचार पनि गरिनन्। केही छिनमा बालकको मृत्यु भयो । पति सोम कुमार र सासु पदममायाँले हेला होचो गर्ने गरेको कारण प्रतिवादी सोमकुमार बस्नेत र पदममाया बस्नेतको मिलेमतोबाट मृतक खम्ब सिंह बस्नेतलाई कुनै विषालु औषधी सेवा गराई मारेकोमा विश्वास लाग्छ भनी जाहेरवाली राधा बस्नेतले भनेको हुँदा निजहरुको कर्तब्यबाट बालकको मृत्यु भएकोमा विश्वास लाग्छ भन्ने सेरबहादुर अधिकारीले गरेको कागज ।
६. मिति २०५२।१०।१७ गते प्रतिवादी पदममाया वस्नेतको घर खान तलासी गर्दा वि.ए.सी. पाउडर फेला परेकोले उक्त विसालु औषधी वि.ए.सी. पाउडर, स्टीलको कचौरा, भाँचिएको चम्मा समेत वरामद गरेको बरामदी मुचुल्का ।
७. छोरा सोम कुमारको मन्जुरी नलिई राधा वस्नेत जाहेरवालीलाई जिम्मा लगाई दिएको र राम्रो सँग आफूले छोराको विवाह गर्न नपाएको कारण वालक खम्व सिंह बस्नतेलाई मारी दिए बुहारी राधा अन्यत्र जाने थिई भन्ने मनमा सोची मिति २०५२।१०।८ गतेका दिन राधा घरमा नभएको मौका पारी घरमा अन्नमा प्रयोग गर्न ल्याई राखेको वि.ए.सी. पाउडर स्टीलको कचौरामा पानीमा घोली स्टिलको भाँचिएको चच्चाले ५।७ चम्चा निज बालकलाई कोक्रामा नै खुवाई दिएको हो । सोही विष मैले खुवाएको कारणबाट नै निज बालक खम्व सिंह बस्नेतको मृत्यु भएको हो भन्ने प्रतिवादी पदममाया वस्नेतको साविती बयान ।
८. मिति २०५२।१०।९ गते मैले आमा पदममाया र बालकलाई घरमा छाड्दा बालक स्वस्थ्य नै थियो । कसरी मर्यो भनि सोध पुछ गर्दा आमाले बालकलाई वि.ए.सी. पाउडर पानीमा घोली खुवाई दिएकी थिएँ भनि वताएकी हुँदा मृतक बालकलाई आमा पदममायाँले नै उक्त विष पाउडर खुवाई कर्तव्य गरि मारेकोमा विश्वास लाग्छ मैले कर्तव्य गरि मारेको होइन भन्ने जाहेरवालाको पती सोमकुमार भन्ने सोमवहादुर वस्नेतको बयान कागज ।
९. मिति २०५२।१०।८ गते जोहरवाली बालकलाई कोक्रामा सुताई घाँस काट्न गइन् र दिउँसो घरमा आई बालकलाई दुध खुवाउन खोज्दा नखाई मुखबाट र नाकबाट फिँज निकाली आलस तालस भई राधा वस्नेत रोइरहेकी हुँदा म तोरी दाउनीबाट घर आई हेर्दा विरामी जस्तो देखि मैले फुकी दिएं त्यसको केही समयमा नै वालकको मृत्यु भयो र वारीमा, लगी लास दवाएको हो । मृतक बालकलाई को कस्ले विषालु औषधी प्रयोग गरे गरेनन् र कर्तव्य गरि मारेको हो होइन थाहा छैन । पदम माया वस्नेतले वि.ए.सी. पाउडर खुवाएको कारणबाट बालकको मृत्यु भएको हो भने निज पदममाया नै जानुन् भन्ने प्रतिवादी भक्तवहादुर बस्नेतको वयान कागज ।
१०. मिति २०५२।१०।५ गते मृतक खम्ब सिंह बस्नेतलाई को को भएर के कस्ता परिवन्दबाट कर्तव्य गरी मारे मराएका हुन् सो कुरा मलाई थाहा छैन । बालक मरेको र मलामी जाई दिनु पर्यो भनेकाले मलामी गई लास दवाएको हो । मैले मारे मराएको होइन प्रतिवादी पदममाया वस्नेतले वि.ए.सी. पाउडर खुवाएको देखिन । निजले उक्त वि.ए.सी. पाउडर खुवाई खम्व सिंह बस्नेतको मृत्यु भएको हो भने उनै जानुन् भन्ने प्रतिवादी महेन्द्र वहादुर खुलाल मगरको बयान कागज ।
११. मृतक बाल खम्व सिंह वस्नेत मर्नु भन्दा अगाडि कुनै प्रकारको रोगी विरामी थिएन । उक्त बालकको मृत्यु भए पश्चात भक्तवहादुरको घरमा म पनि गएको थिए म समेतका व्यक्तिहरुले लास सदगत गरेको हो भन्ने समेत व्यहोराको प्रतिवादी हर्कमाया खड्काको बयान कागज ।
१२. मृतक बालकको लास दवाउने अवस्था तथा मृत्यु पश्चात कर्तव्यबाट मारेको कुरा मलाई कुनै जानकारी भएन । प्रतिवादी पदममाया बस्नेतले मृतक बालक खम्व सिंह बस्नेतलाई वि.ए.सि. पाउडर खुवाएको कारणबाट खम्ब सिंह वस्नेतको मृत्यु भएको हो भने निज पदममाया नै जानुन । बालक खम्व सिंह वस्नेतलाई मार्नमा को कसैको सहमत छ थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी ललितवहादुर रानामगरको बयान कागज ।
१३. मर्नु अगाडि वच्चाको स्थिति हेर्दा निज प्रतिवादीहरुले कुनै विषालु पदार्थ खुवाई कर्तव्य गरी मृतक खम्व सिंह वस्नेतलाई मारेको हुनु पर्छ किनकी बालक मर्नु भन्दा अगाडि मुख रातो र दुवै आँखा बन्द थियो । बच्चा आलसतालस भएको देख्दा कर्तव्यमा मलाई पूर्ण विश्वास लाग्छ भन्ने वरेली जेठा भन्ने बलवहादुर कार्कीको कागज ।
१४. मृतक बालक खम्व सिंह बस्नेतलाई जाहेरवालीकै सासु पदममायाले वि.ए.सी. पाउडर पानीमा घोली खुवाएको कारणबाट खम्व सिंह बस्नेतवको मृत्यु भएको भन्ने पछि बुझ्दा थाहा पाएकी हुँ । निज पदममाया बस्नेतले जाहेरवालीलाई गाली गर्थिन । त्यसैले नावालखलाई मारेकोमा मलाई पूर्ण विश्वास लाग्छ भन्ने लिलामाया विश्वकर्माको कागज ।
१५. मृतक बालक मर्नु भन्दा अगाडि विरामी भएको थाहा छैन । मृत्यु हुनासाथ लास सद्गद् गरेका हुन् । नावालख खम्ब सिंह बस्नेतलाई के कुन औषधी प्रयोग गरेको हो । निज प्रतिवादी पदम माया बस्नेतलाई नै थाहा होला मलाई थाहा छैन भन्ने समेत व्यहोरा भएको एकै मिलानको घटनास्थलको वस्तुस्थिति मुचुल्का ।
१६. संकलित सवूद प्रमाणको आधारमा जाहेरवालीको छोरा खम्व सिंह बस्नेतलाई प्रतिवादी पदममाया वस्नेत र सोमकुमार भन्ने समवहादुर वस्नेतले पूर्व रिसइविका साथ मिलेमतो एवं सर सल्लाह गरी वि.ए.सी. पाउडर नामक विसालु पदार्थ पानीमा घोली खुवाई कर्तव्य गरी मारेको पुष्टि हुन आई प्र. पदममाया वस्नेत र सोम कुमार भन्ने समवहादुर वस्नेतले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं. विपरीत कसूर गरेको देखिँदा ज्यान सम्बन्धी महलको १३(२) नं. बमोजिम सजाय हुन र अन्य प्रतिवादीहरु भक्तवहादुर वस्नेत, महेन्द्रवहादुर खुलाल, हर्कमाया खड्का ललितवहादुर रानामगरले कर्तव्यबाट मरेको बालक खम्व सिंह बस्नेतको लासको बारेमा जाहेर नगरि लास गाड्ने दवाउने गरेको देखिएकोले निजहरुलाई ज्यान सम्बन्धी महलको १७ नं. र २५ नं. र ४ नं.को कसूर अपराधमा ऐ. को १७ नं. को देहाय ३ र ऐ २५ नं. बमोजिम र ऐ. को ४ नं. बमोजिम थप सजाय समेत गरिपाउँ र बरामद भएको कचौरा चम्चा र वि.ए.सी. पाउडर र मृतकको भिषेरा परीक्षणको लागि केन्द्रिय प्रहरी वैज्ञानिक प्रयोगशालामा पठाएकोले प्राप्त भएपछि पठाउने व्यहोरा अनुरोध छ भन्ने समेत व्यहोरा अनुरोध छ भन्ने समेत व्यहोराको अभियोग पत्र।
१७. मिति २०५२।१०।८ गतेका दिन मृतक खम्व सिंहको मृत्यु भएको हुँदा सो ठाउँमा गएकोमा वच्चा कर्तव्यबाट मरेको भन्ने थाहा थिएन । जाहेरवालीले मृतक खम्व सिंह कर्तव्यबाट मरेको भनि भनेको थिइनन् । कर्तव्यबाट मरेको भन्ने थाहा नभएकोले सो लास दवाउन गएको हुँ भन्ने समेत व्यहोराको प्र. हर्कमाया खड्काले गरेको बयान ।
१८. बच्चालाई म समेतको सहमतीबाट विष खुवाउने कार्य गरेको छैन । विष खुवाई कर्तव्य गरि मारेको कुरा थाहा छैन । बच्चा विरामी थियो भनेको हुँदा दिनको २ वजे मैले झारफुक गरेको हुँ । चिसोले हो की भनि जाहेरवालीलाई आगो वाल्न लगाई तेलले सेक्न लगाए । म वारीमा दाउनी गर्न लागे केही वेर पछि वच्चाको मृत्यु भयो भनि रुवावासी हुन थाले पछि गई हेर्दा कर्तव्यबाट मृत्यु भएको जस्तो नलागी लासलाई दवाउनु पर्ने परम्परा भएकोले लास दवाएको हो । जाहेरी अनुसार अपराध गरेको होइन लासको मुखमा फिंज राल सिगान थिएन भन्ने समेत व्यहोराको प्र. भक्तवहादुर वस्नेतले गरेको बयान ।
१९. मिति २०५२।१०।८ गते विहान म गाउँ तिर गएको थिए । मेरो श्रीमती विहान नानीलाई दुध खुवाई विहान ८।९ बजे तिर दाउरा काट्न गएको थियो, १२:०० बजे तिर घरमा आई खाना खाई नानीलाई दुध खुवाउँदा दुध खाएन भनि भनेको हो । पहिला वच्चा विरामी थिएन । बच्चा विरामी भयो भनि धामी जैसीलाई झारफुक गराएको हो डाक्टर टाढा हुँदा बोलाउन पाइन त्यसै बच्चाको मृत्यु भएको हो । मृत्यु हुँदाको अवस्था राल सिगान भएको र निलो अवस्था थिएन । म समेतको मिलेमतोबाट वि.ए.सी. पाउडर खुवाई कर्तव्य गरि मारे मराएको होइन प्रहरीमा भएको कागज पढी सुनाई सहीछाप गराएको हो । जाहेरवाली सँग मेरो प्रेम भै शारीरिक सम्बन्ध भएर गर्भ रहेको थियो । म वाहिर रहेको अवस्था बच्चा अस्पतालमा जन्मिएछ बच्चा जन्मेको १५।२० दिन पछि मलाई घरमा जिम्मा लागएको हो । बच्चालाई विष खुवाई मृत्यु भएको कुरा मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्र. सोमकुमार भन्ने समवहादुर वस्नेतले अदालतमा गरेको बयान ।
२०. मृतक खम्व सिंह बस्नेतलाई विषालु औषधी वि.ए.सी. पाउडर घोली मैले कर्तव्य गरि मारेको होइन । मृतक खम्व सिंहले सो दिनको दिउँसो १२ वजेको समयमा आमाको दुध खुवाउँदा खाएन विरामी पनि थिएन । दिनको २ वजे तिर नानीलाई सेकी म वारीमा गाई चराउन गए ३ वजे तिर वच्चाको मृत्यु भयो भनि खवर भएको हुँदा म घरमा आएं । सो दिन विहान देखि जाहेरवाली घरमै थिइन् । बुहारी घासँ काट्न गएको मौका पारी मैले वि.ए.सी. पाउडर खुवाई कर्तव्य गरि मारेको होइन । मलाई प्रहरीमा कुटपिट गरि सास्ती दिई विष खुवाई मारेको हो भन्न लगाएकोले ज्यानको सुरक्षाको लागि सो कुरा भनेकी हुँ जाहेरवाली नभएको अवस्थामा वि.ए.सी. पाउडर खुवाएको होइन । बच्चाले फिंज काडेको मैले देखिन भन्ने समेत व्यहोराको प्र. पदममाया वस्नेतले गरेको बयान ।
२१. अभियोग दावी बमोजिमको कसूर गरेको होइन बच्चा मर्यो भनि बोलाएको हुँदा गएको हुँ । बच्चा कर्तव्यबाट मरेको जस्तो नभै कालगतिले मरेको जस्तो देखिएको र कालगतिले मर्यो भनेको हुँदा सो लास दवाएको हो । जाहेरी व्यहोरा झुठ्ठा हो मैले कर्तव्यबाट मरेको लास हो भनि जानी जानी दवाउने काम गरेको छैन भन्ने समेत व्यहोरोको प्र. ललितवहादुरले गरेको बयान ।
२२. प्र. पदममायाको घर देखि मेरो घर ३।४ विगहा फरकमा छ निजहरुको घर जाने आउने सँधै गरेको छैन । बोलाउँदा जाने गरेको हुँ । वच्चा कर्तव्यबाट मारेको मैले नदेखेको हुँदा परम्परा अनुसार म समेतले दवाउने काम गरेको हुँ । जाहेरी व्यहोरा झुठ्ठा हो जाहेरवालीले कर्तव्यबाट मारेको हो भन्ने कुरा सो बेला भनेको थिइनन् । म उपरको अभियोग दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको प्र.महेन्द्रवहादुरले गरेको वयान ।
२३. यसमा प्रतिवादी पदममाया वस्नेतलाई थुनामा राखी पूर्पक्ष गर्ने प्र. सोमवहादुर प्र. भक्तवहादुरलाई क्रमशः रु.५०,०००।– रु.३२,०००।– र प्र. महेन्द्रबहादुर, हर्कमाया र ललितवहादुर रानालाई जनही रु. १५७५।– नगद वा जेथा धरौट माग गरि दिए तारेखमा राखि मुद्दाको पूर्पक्ष गर्नु भन्ने जिल्ला अदालत उदयपुरबाट २०५२।११।९ मा भएको थुनछेकको आदेश ।
२४. आदेशानुसार जाहेरवाली राधा वस्नेत अनुसन्धान अधिकारीका समक्ष कागज गर्ने सेरवहादुर अधिकारी लास प्रकृति मुचुल्काका मानिस कर्णवहादुर भुजेल, अम्वरवहादुर कार्की, कृतिवहादुर विश्वकर्मा प्रतिवादीका साक्षी नेत्रप्रसाद काफ्ले, नन्दलाल ढुंगाना, रामकुमार राउत, वासु कार्की, दुर्गा सिंह सार्की समेत उपस्थित भै वकपत्र गरेको र मृतकको भिषेरा, वरामद भएको कचौरा समेत जाँच भै राय प्राप्त भै मिसिल संलग्न रहेको ।
२५. यसमा मिति २०५२।१०।८ का दिन घरमा जाहेरवाली समेत कोही नभएका अवस्थामा पारी प्र. पदममायाले विष खुवाई खम्व सिंह वस्नेतलाई कर्तव्य गरी मारेको ठहर्छ ।
२६. अतः प्र. पदम मायालाई मु. ऐन ज्यान सम्बन्धी महलको १३(२) बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्छ । प्र. सोमवहादुर भन्ने देखिएको र जाहेरवाली रोइ कराई रहेको अवस्था मात्र घर आएको भन्ने देखिँदा प्र. सोबहादुर भन्ने समवहादुरका हकमा निजले सफाइ पाउने ठहर्छ । प्र.भक्तवहादुर, हर्कमाया, महेन्द्रवहादुर, ललितवहादुर उपर दावी गरिएको ज्यान सम्बन्धी १७(३) नं. बमोजिमको माग दावी प्रमाणका अभावमा पुग्न सक्दैन । निजहरुलाई ज्यान सम्बन्धीको ४ नं. बमोजिम रु.१०।– र २५ नं. बमोजिम जनही रु.२०।– का दरले जरिवाना हुन्छ भन्ने समेत उदयपुर जिल्ला अदालतले गरेको मिति २०५३।११।२१।३ को फैसला ।
२७. मृतक खम्व सिंह बस्नेतको मृत्यु भवितब्यबाट भएको हो । मैले कसूर गरेको देखें साक्षी प्रमाणहरुको अभावमा परिस्थितिजन्य प्रमाणको आधारमा मलाई सजाय गर्ने गरेको शुरुको फैसला उल्टी गरि म निरअपराधीलाई सफाइ दिलाई पाउँ भन्ने प्रतिवादी पदममाया बस्नेतको भद्रपुर कारागार कार्यालय मार्फत पुनरावेदन अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
२८. वादी पक्षबाट प्रमाण ऐन, २०३१ को दफा १८ र २५ नं. बमोजिम कसूरमा प्रमाणित गरिएको अवस्था विद्यमान हुँदाहुँदै उदयपुर जिल्ला अदालतबाट उल्लेखित प्रतिवादीहरु मध्ये सोमकुमार भन्ने समवहादुर वस्नेतलाई ज्यान सम्बन्धी महलको १३(२) को माग गरिएको ऐनको ४ नं. बमोजि मात्र सजाय हुने ठहराएको र अन्य प्रतिवादीहरु भक्तवहादुर वस्नेत, हर्कमाया खड्का, ललितवहादुर रानामगर र महेन्द्रवहादुर खुलाल मगरको हकमा ज्यान सम्बन्धीको १७(३), २५ र ४ नं. को माग दावी भएकोमा १७(३) को माग दावी पुग्न नसक्ने ठहराएको फैसला त्रुटिपूर्ण हुँदा उक्त हद सम्म मिति २०५३।११।२१ को फैसला उल्टी गरि प्रतिवादीहरुलाई शुरु माग दावी बमोजिम सजाय गरि पाउन अनुरोध गरिन्छ भन्ने श्री ५ को सरकारको पुनरावेदन पत्र ।
२९. यसमा जाहेरवाली राधा वस्नेत सोमकुमार भन्ने समवहादुरको पत्नी र प्रतिवादी पदममाया वस्नेतको छोरा बुहारी भएको तथ्य निर्विवाद छ । निजले प्रतिवादीहरुको घरमा आउँदा जाँदा २०५२ साल मार्गमा वालक जन्मिएको र सो बालकको मिति २०५२।१०।८ गते मृत्यु भएको तथ्य स्थापित हुन आउँछ । मृतक बालकको भिषेरा जचाउँदा विषालु पदार्थको अवशेष फेला परेको भन्ने शब परीक्षण प्रतिवेदनबाट देखिएको छ । यस तथ्यलाई प्रतिवादी पदममायाले पुनरावेदनमा समेत ठोस आधारमा खण्डन गर्न सकेको छैन । प्रतिवादीकी बुहारी राधा वस्नेत घरमा आउँदा आउँदै बालक जन्मिएकाले प्रचलित सामाजिक संस्कार एवं वातावरणमा सो घरको प्रत्येक व्यक्तिको मनमा खिन्नता आउनु स्वाभाविक छ । सो भावना गहिरदै गई बुहारी वा जन्मिएको बालक प्रति प्रवल घृणा वा द्वेषको रुपमा परिणत हुन जान्छ । त्यस्तो भावनाबाट प्रेरित भई निज पदममायाले निजको बुहारी राधा वस्नेतले जन्माएको बालकलाई घरेलु किटाणुनासक औषधी प्रयोग गरि मारेको देखिन आई रहेको हुँदा शुरुले प्रतिवादीलाई आरोपित कसूर गरेको ठहराई गरेको फैसला मुनासिव देखिन्छ ।
३०. साथै श्री ५ को सरकारको पुनरावेदन तर्फ विचार दुर्गा, प्र. समवहादुर बस्नेत समेत मिली २ महिने बालक मारेको भन्ने कुराको प्रमाण वादी पक्षले प्रस्तुत गरेको छैन । ठोस प्रमाणको अभावमा सम्भावनाको आधारमा दोषी ठहराउन मिलेन ।
३१. प्रतिवादीहरु भक्तवहादुर, महेन्द्र, हर्कमाया र ललितवहादुर समेत उपर ज्यान सम्बन्धीको १७(३) को कसूर कायम गरि सजायको माग गरिए तर्फ विचार गर्दा प्रतिवादी पदममायाले वालकलाई विष खुवाउँदा उपस्थित भएको वा त्यस कार्यलाई हेरीरहेको वा अन्य किसिमले सहयोग गरेको समेत नदेखिँदा उक्त प्रतिवादीहरुलाई सफाइ दिने भनि शुरुले गरेको फैसला मनासिवै देखिन्छ । साथै सोही घरका व्यक्ति वा गाउँघरमा व्यक्तिहरुले अस्वभाविक मृत्यु भएको थाहा पाएर पनि अधिकार प्राप्त अधिकारी वा निकायबाट पूर्जि नलिई लाश गाड्ने कार्यमा सहयोग सम्म भएको देखिएकोले ज्यान सम्बन्धी महलको ४ नं. अनुसार जरिवाना मनासिव छ। अतः प्रतिवादी पदममायालाई आरोपित कसूर गरेको ठहराएको र प्र. समवहादुरलाई सफाइ दिई अन्य प्रतिवादीहरुलाई ज्यान सम्बन्धीको ४ नं. अनुसार जरिवाना सम्म गर्ने ठहरी उदयपुर जिल्ला अदालतबाट भएको फैसला मनासिवै हुँदा सदर हने ठहर्छ । प्रतिवादी पदममाया वस्नेत र वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत राजविराज सप्तरीको मिति २०५४।१०।२७ को फैसला ।
३२. प्रस्तुत वारदातमा चश्मदित गवाहको अभाव छ । भिषेरा जाँच प्रतिवेदन अनुसार The Samples (1 to 6)have shown positive test for B.H.C but sample 7 has show negative test) भनिएको छ। Sample No.2-5% का सम्बन्धमा भिषेरा प्रतिवेदन मौन देखिन्छ । जुन कचौरामा B.H.C घोलेर खुवाएको भनिएको छ । सो कचौरा Sample No.16 को test फरक फरक देखिनु Sample No. 2-5 का सम्बन्धमा मौन हुनु र भाँचिएको चम्चा जाँच गर्ने ठाउँमा नपुगेबाट उक्त भिषेरा जाँच प्रतिवादनको सत्यतामा प्रश्न चिन्ह खडा भएको र त्यस्तो प्रतिवेदनलाई स्वीकार गरी गरेको शुरु फैसलालाई सदर गरेको पुनरावेदन अदालत राजविराजको फैसाल त्रुटिपूर्ण हुँदा चित्त नबुझेकाले पुनरावेदन गरेकी छु झगडीया झिकाई प्रमाणको सही व्याख्या गरि पुनरावेदन अदालत राजविराजको फैसला समेत वदर गरिपाउँ भन्ने प्रतिवादी पदममाया वस्नेतको यस अदालतमा परेको पुनरावेदन पत्र ।
३३. पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शम्भु थापा र अधिवक्ता श्री इश्वरीप्रसाद भट्टराईले प्रस्तुत वारदातमा चश्मदित गवाहको अभाव छ, प्रतिवादीलाई हिरासतमा कुटपिट गरि बयान गरिएको कुरा अदालतको आदेशद्वारा भएको घा जाँच फारमबाट स्पष्ट रुपमा देखिन आएको छ भने अनुसन्धानका क्रममा वरामदी मुचुल्का अनुसार वि.एस.सि. पाउडर वरामद भएको छ भन्ने भिसेरा परीक्षणबाट अर्कै वि.एस.सि. किटनाशक विष फेला परेको देखिँदा शुरुको फैसला सदर गर्ने गरेको पुनरावेदन अदलात राजविराजको फैसला त्रुटिपूर्ण हुँदा परिवर्तन गरिपाउँ । पुनरावेदन अदालतको फैसला मनासिव देखिएको स्थितिमा पनि एउटा नारीले गरेकी अपराध प्रति उद्वार दृष्टिकोण राखि अ.वं. १८८ नं. प्रयोग गरिपाउँ भनि प्रस्ततु गर्नु भएको बहस जिकिर समेत सुनियो ।
३४. प्रतिवादी पदममाया वस्नेतलाई सर्वस्वसहित जन्मकैद हुन ठहराएको शुरु उदयपुर जि.अ.को. इन्साफ सदर गरेको पुनरावेदन अदालत राजविराजको मिति २०५४।१०।२७ को फैसला मिले नमिलेको के रहेछ निर्णय दिनु पर्ने हुन आयो ।
३५. यसमा पुनरावेदन अदालत राजविराजबाट साधक जाहेर भई आएकोमा प्रतिवादी पदममाया वस्नेतको पुनरावेदन परेकोले पुनरावेदनकै रोहबाट निर्णय निरोपण हुने भएकोले साधकको लगत काटी दिनु ।
३६. अभियोग माग दावी हेर्दा प्रतिवादी पदम माया वस्नेत उपर ज्यान सम्बन्धी महलको १३ नं. को देहाय २ बमोजिमको सजाय माग दावी लिएको पाइन्छ । निज प्रतिवादी पदम मायाले अदालतमा उपस्थित भई इन्कारी वयान गरेको देखिए पनि अनुसन्धानका क्रममा सँगै अध्ययन गर्दाका अवस्था छोरा सँग शारीरिक सम्बन्ध भई माइतीमा नै निज जाहेरवालीले वच्चा जन्माई इच्छा नहुँदा नहुँदै निजलाई घरमा भित्र्याई जिम्मा दिएकोले वच्चा र जाहेरवालीसँग रिसइवि भएकोले वच्चा खम्व सिंह बस्नेतलाई मारी दिए बुहारी राधा वस्नेत अन्यत्र जाने थिई भनि मिति २०५२।१०।८ गतेका दिन वच्चालाई दुध खुवाई जाहेरवाली घाँस काट्न गएको र घरमा अरु कोही नभएको मौका पारी घरमा अन्नमा प्रयोग गर्न ल्याई राखेको वि.ए.सी. पाउडर स्टीलको कचौरामा पानीमा घोली स्टीलको भाँचिएको चम्चाले ५।७ चम्चा उक्त वालकलाई कोक्रामा नै खुवाई दिएकी हुँ । सोही कारणले दिनको अन्दाजी ३ बजे तिर बालकको मृत्यु भएको हो । मृतक बालक खम्व सिंह वस्नेतको मृत्यु वि.ए.सी. पाउडर पानीमा घोली खुवाएकोबाट नै भएको अरु कुनै कारण छैन भनि साविती बयान दिएको देखिन्छ । प्रतिवादी पदममाया वस्नेतको रोहवरमा वरामद भएको वि.ए.सि पाउडर र बालकको भिसेरा (Sample No. 7 and Sample No.1 मा B.H.C पाउडर फेला परेको र सो B.H.C विषै हो भनि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट जाँच भै आएको प्रतिवेदन समेत मिसिल सामेल रहेछ । मृतक बालकको उमेर केवल २ महिना ५ दिन मात्र भएको पाइन्छ । त्यस्तो बालक कोक्राबाट बाहिर निस्कन र आफै कुनै वस्तु सेवन गर्न सक्ने अवस्था देखिदैन । यसरी प्रतिवादी पदममायाले अनुसन्धानका क्रममा गरेको साविती वयान भिसेरा रिपोर्ट समेतको परीक्षण प्रतिवेदन अपराध हुँदाको अवस्था र प्रकृतिबाट समेत समर्थन भएको स्थितिमा शुरुले सर्वश्वसहित जन्मकैद गर्ने भनि गरेको फैसलालाई सदर गरेको पुनरावेदन अदालत राजविराजको इन्साफ मिलेकै देखिँदा सदर हुने ठहर्छ। प्रतिवादी पदममाया बस्नेतको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
३७. पुनरावेदिका तर्फका विद्वान अधिवक्ताद्वयले प्र. पदममाय वस्नेतको हकमा अ.वं. १८८ नं. प्रयोग हुन पर्छ भनि वहसको सिलसिलामा उठाउनु भएको प्रश्नको सम्बन्धमा विचार गर्दा आफूले चाहे जस्तो गरि छोरा समवहादुर वस्नेतको विवाह गर्न नपाएको छोराले इन्कार गर्दागर्दै अन्यत्र वच्चा जन्माएकी आईमाईलाई वच्चा सहित इच्छा विपरीत घरमा भित्र्याई दिएकाले समाजको सामु खिन्नता उत्पन्न भई कोही नभएको मौका छोपी कोक्रामा सुतिरहेको अवोध दुधे कलिलो (२ महिना ५ दिनको) उमेरको बालकलाई विष ख्वाई हत्या गरेको देखिन्छ । यसरी जानीजानी विष खुवाई कठोर अपराध गरेको देखिँदा अ.वं. १८८ नं. आकर्षित हुन आउने समेत देखिदैन । यो फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालय मार्फत सम्बन्धित कारागार पुनरावेदकको जानकारीको निमित्त पठाई दिनु । मिसिल नियमानुसार गरि बुझाई दिनु।
उक्त रायमा सहमत छु ।
न्या.केदारनाथ उपाध्याय
इति संवत् २०५८ साल वैशाख १३ गते रोज ५ शुभम् ............................