निर्णय नं. ३३८७ - सवारी दुर्घटनाबाट मानिसको मृत्यु

निर्णय नं. ३३८७ ने.का.प. २०४५ अङ्क ३
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
सम्वत् २०४४ सालको फौ.सा.नं. ७२
फैसला भएको मिति : २०४४।१२।२३।३ मा
वादी : प्र.ह. चन्द्रप्रकाश मिश्र र तुलासिंह पुनःसमेतको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रतिवादी : भारत घर भई जि.टि.के. ४०११ नं. को टुरिष्टबस चालक शोभावाई पटेलसमेत
मुद्दा : सवारी दुर्घटनाबाट मानिसको मृत्यु
(१) ब्रेक लगाउँदा काम दिन नसकेकोले दुर्घटना भएको कुरा प्रतिवादीले स्वीकार गरेको, आफूले चलाएको बस भन्दा अगाडि सनसाइकल गइरहेको कुरा पनि स्वयंले स्वीकार गरेको, सो सनसाइकललाई उछिनी आफ्नो बस अगाडि लैजान खोजेको, जाहेरवाला र सरजमीनका व्यक्तिहरूको अदालतमा भएको बकपत्रबाट समेत प्रतिवादीको गाडी हँकाई लापरवाही रहेछ भन्ने देखिन आएको यस स्थितिमा प्रतिवादी बस चालक निर्दोष रहेको भन्न सकिने अवस्था नरहने । प्रतिवादीलाई माग दावी बमोजिम ज्यानसम्बन्धी १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गरेको इन्साफ मनासिव ठहर्ने ।
(प्रकरण नं. १५)
फैसला
प्र.न्या.धनेन्द्रबहादुर सिंह : पश्चिमाञ्चल क्षे.अ.ले साधक निकाशाको लागि जाहेर गरेको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :
२. २०४०।२।२३ गतेका दिन दिउँसो १.१५ बजेको समयमा मधौलिया गा.पं. अन्तर्गत कोटिहवानिर जि.टि.४०११ नं. को टुरिष्ट बसले लु.अं. ६१० नं. को सनसाइकल एक्सिडेन्ट गर्यो भन्ने थाहा पाई गई हेर्दा उक्त नं.को सनसाईल कच्याक कुचुक परेको र उक्त साइकिलमा सवारी रहेका सि.न.पं. वडा नं. ३ बस्ने सत्यजित पुनलाई मृतक अवस्थामा देखि दुर्घटना बस र चालक सोमावाई पटेल समेतलाई पक्राउ गरी दाखिल गरेको छु । कारवाही होस् भन्ने प्र.ह. चन्द्र प्रकाश मिश्रको प्रतिवेदन रहेछ ।
३. जि.रु. मधौलिया गा.पं. वडा नं. ४ मा पर्ने सिद्धार्थ राजमार्गको पूर्व सडकको पानी जाने कुलो पश्चिम सडक र आँपको रुख, उत्तर राजमार्ग, दक्षिण सोही राजमार्ग यति ४ किल्ला भित्र जि.टि.के. ४०११ नं. को इण्डीयन टुरिष्ट बस लु.अं. ६१० नं. को प्राइभेट सनसाइकलमा सवार रहेको सत्यजित पुनको लाश, सो लाश हेर्दा दुबै हात छाती मुनि टाउको गिद्धि उछिटिएको र उत्तर पूर्व, उत्तर पश्चिम तर्फ पुगेको, दाहिने हात पाखुरामा ४ ठाउँमा काटिएको बायाँ खुट्टाको पैताला माथि २ जति टिसर्टमा टायरको डाम देखिएको, लाशको घाँटी पुरै फुटेको, मुटु कलेजो बाहिर निस्केको हात खुट्टा छुटेको पिचरोडको चौडाई १५ हातको पश्चिमतर्फ ८ हात चार अंगुल आफ्नो साइड छोडी दायाँ तिर साइडको सडकमा टायर घिसारिएको डाम देखिएको शुरु ब्रेक लगाएको स्थान देखि सनसाइकल ठोकिएको ठाउँसम्मको दुरी ४९ हात ४ अंगुल भएको र टायरको डाम देखिएको सो ठोकिएको ठाउँ देखि सात हात उत्तरतर्फ घिसारिइँदै गएर उक्त सनसाइकल पल्टिएको ठाउँ देखि ४।। हात उत्तर साइकल सवार मृतक सत्यजित पुनको लाश । लाशलाई कुल्चिदै गई ८२ हात उत्तरतिर बायाँ साइडमा लागि घटना गर्ने जि.टि.के ४०११ नं. को बस रोकिएको घटनास्थल तथा लाश प्रकृति मुचुल्का रहेछ ।
४. भारत गुजारातबाट नेपाल पशुपतिनाथको दर्शन गर्न भनी म समेतका ५० जना पेसेन्जर भई उक्त ४०११ नं. को बसमा आएको अवस्था भैरहवा आई बुटवलतर्फ गई रहेको बखत मधौलिया गा.पं. अन्तर्गत कोटिहवा निर पुग्दा अगाडि लु.अं. ६१० नं. को सनसाइकल गई रहेको पछि पछि हामी बसेको बस ८०।९० कि.मि. को रफ्तारमा हाँकी रहेको सो अवस्था सनसाइकल देखी ब्रेक लगाएका थिएँ । बढी रफ्तार भएकोले ठाउँमा गाडी रोक्न नसकी दुर्घटना भई सत्यजित पुनको मृत्यु हुन गएको हो चालकले मादक पदार्थ सेवन गरेका थिएनन् भन्ने समेत व्यहोराको यसमा आएको यात्रु सुनिल सुक्लाले समेतले प्रहरीमा गरेको कागज व्यहोरा र हेछ ।
५. मिति ०४०।२।२३ गतेका दिन जि.टि.के. ४०११ को बस सोमावाई पटेलले चलाई आएकोले मेरो बाबुले चलाउने गरेको लु.अं. ६११ नं. को सनसाइकलमा दुर्घटना गरी बुबा सत्यजित पुनलाई किची मारी दिएकोले साइकलको क्षतिपूर्ति र बुबाको क्रिया खर्च समेत दिलाई चालकलाई कानून बमोजिम कारवाई गरिपाउँ भन्ने समेत मृतकको छोरा तुलसी पुनको जाहेरी दर्खास्त रहेछ ।
६. शरिरमा लागेको ठूलो आघातको चोटले निजको मृत्यु भएको भन्ने भैरहवामा भिम अस्पतालले गरिदिएको लाशजाँच प्रतिवेदन रहेछ ।
७. भारत गुजरात जिरावाद टुरिष्ट ट्रान्सपोर्ट समिति वरोडा युनाइटेड ट्रान्सपोर्ट कम्पनीको जि.टि.के. ४०११ नं. को बस मालिक स्मालवाई गान्धिको बस मैले ६ वर्ष अघि देखि चलाई आएको छु सो बस लिई काठमाडौं पशुपतिको दर्शन गराउन जाउँ भनी मालिकले भनेबाट ५० जना यात्रु लिई काठमाडौं जान आएको अवस्था मधौलिया गा.पं. अन्तर्गत कोटिहवा निर आई पुग्दा अगाडि घटना हुने लु.अं. ६१० सनसाइकल गई रहेको अवस्था मेरो गाडी ८०–९० कि.मि को रफ्तारमा गई रहेको सनसाइकल देखि रोक्न खोज्दा नरोकि सत्यजित पुनको मृत्यु भएको हो भन्ने समेत व्यहोराको चालक सीमावाई पटेलको प्रहरीमा गरेको बयान रहेछ ।
८. चालकले बढी रफ्तारमा गाडी चलाएको कारणबाट सत्यजित पुनको घटनास्थलमा मृत्यु भएको र सनसाइकिलको रु.७०००।– पर्छ भन्ने समेत सरजमीन मुचुल्का ।
९. चालक सोमावाई पटेललाई सजायँतर्फ मु.ऐन ज्यानसम्बन्धीको महलको १३(३) बमोजिम सजायँ हुन र सवारी ऐन, २०२० को दफा ५४ अनुसार मृतकको हकवालालाई क्रिया खर्च क्षतिपूर्ति दिलाई दुर्घटनाबाट क्षतिग्रस्त भएको साइकलको रु.७०००।– दफा ५३ अनुसार बस मालिकबाट सत्यजित पुनको हकवालालाई दिलाई पाउँ भन्ने प्रहरी प्रतिवेदन दावी रहेछ ।
१०. प्रहरी प्रतिवेदन दावी बमोजिमको कसूर मैले नगरेको हुँदा सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी सोमावाई पटेलले अदालतमा गरेको बयान रहेछ ।
११. प्र.ह.प्रकाश, जाहेरवाला तुलसिं पुन, सरजमीनका मानिस कविराजसमेतको बकपत्र मिसिल संलग्न रहेछ ।
१२. प्र.चालक सोमावाई पटेललाई मु.ऐन ज्या.सं.महलको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ । मृतकको हकदारले क्रिया खर्च र क्षतिपूर्ति बापत रु.६०००।– र सनसाइकलको क्षतिपूर्ति रु.७०००।– बस मालिकबाट भरी पाउने ठहर्छ भन्ने मिति ०४२।१।१० गतेको रुपन्देही जिल्ला अदालतको फैसला रहेछ ।
१३. प्रतिवादीको गाडी हकाई लापरवाही पूर्वक थियो भनी घटनास्थलमा नै रहेका व्यक्तिहरूले कागज गरिदिएको समेत र शुरु रुपन्देही जिल्ला अदालतको फैसलामा उल्लिखित बुँदा प्रमाण समेतका आधारमा प्रतिवादीलाई प्रहरी प्रतिवेदनमा माग दावी बमोजिम सजायँ गर्ने गरेको शुरु रुपन्देही जिल्ला अदालतको फैसला मनासिव ठहर्छ भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालतको ०४४।३।२४ को फैसला ।
१४. प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतले साधक जाहेर गरेको इन्साफ मिलेको छ छैन ? सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।
१५. यसमा निर्णयतर्फ हेर्दा लापरवाही सवारी चलाएमा मानिस मर्न गएमा सवारी ऐन, २०२० को संशोधित सहित दफा ५१ मा व्यवस्था भइरहेकोले निज चालक सोमावाई पटेललाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजायँ हुन माग दावी गर्दै प्रहरी र स.स.अ. को संयुक्त प्रतिवेदन परी प्रस्तुत मुद्दाको कारवाई भएको पाइन्छ । लु.अं. ६१० को सनसाइकल चालक सत्यजित पुनलाई जि.टि.के. ४०११ नं.को इण्डियन टुरिष्ट बसले किची सनसाइकल चालक सत्यजित पुनको मृत्यु भएको देखिन्छ । सो टुरिष्ट बस ८०।९० कि.मि. को रफ्तारमा चलाएको भन्ने कुरामा प्रतिवादी बस चालक सोमवाई पटेल प्रहरीमा सावित भई कागज गरिदिएको पाइन्छ । तर अदालतमा बयान गर्दा मोटर साइकिल एक्कासी दाहिनेतर्फ घुमाएको र मैले ब्रेक पनि लगाएँ र तर्काउन मोडेको पनि थिएँ घेरै नजिकबाट हुँदा ब्रेकले काम दिन नसकी मेरो गाडी मोटर साइकील माथि चढ्न पुगेकोले मानिस किचीन गई मानिसको मृत्यु भएको हो । मैले चलाएको बस ४०।५० कि.मि. गतिमा थियो भनेको देखिन्छ । यसबाट ब्रेक लगाउँदा काम दिन नसकेकोले दुर्घटना भएको कुरा प्रतिवादी चालक सोमावाई पटेलले स्वीकार गरेको पाइन्छ । आफूले चलाएको बस भन्दा अगाडि सनसाइकल गइरहेको कुरा पनि स्वयं प्रतिवादीले स्वीकार गरेको छ । सो सनसाइकललाई उछिनी आफ्नो बस अगाडि लैजान खोजेको मिसिल प्रमाणबाट देखिन्छ । जाहेरवाला र सरजमीनका व्यक्तिहरूको अदालतमा भएको बकपत्रबाट समेत प्रतिवादीको गाडी हँकाई लापरवाही रहेछ भन्ने देखिन आयो । यस स्थितिमा प्रतिवादी बस चालक सोमावाई पटेल निर्दोष रहेको भन्न सकिने अवस्था रहेन । तसर्थ प्रतिवादी बस चालक सोमावाई पटेललाई प्रहरी प्रतिवेदन माग दावी बमोजिम ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गरेको रुपन्देही जि.अ. को इन्साफ सदर गरी पश्चिमाञ्चल क्षेत्रीय अदालतले साधक जाहेर परेको इन्साफ मनासिव ठहर्छ । मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. बब्बरप्रसाद सिंह
इति सम्वत् २०४४ साल चैत्र २३ गते रोज ३ शुभम् ।