शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३३८८ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ

भाग: ३० साल: २०४५ महिना: असार अंक:

निर्णय नं. ३३८८ ने.का.प. २०४५     अङ्क ३

 

 

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४३ सालको रिट नम्बर २५१५

आदेश भएको मिति : २०४४।१२।२८।१ मा

 

निवेदक : वारा जिल्ला भतैडा गा.पं.वडा नं. ५ बस्ने खड राउत कुर्मी

विरुद्ध

विपक्षी : ऐ.ऐ. बस्ने ध्रुवप्रसाद गुप्तासमेत

 

विषय : उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ

 

(१)      कित्ता नं. खुलाई छुट्टा छुट्टै निवेदन परी रहेको स्थितिमा छुट्टा छुट्टै मिसिल कायम गरी निर्णय गर्नुपर्ने ।

दुबै मुद्दाको एउटै मिसिल खडा गरी निर्णय गरेको त्रुटिपूर्ण देखिने ।

(प्रकरण.नं. ९)

 

निवेदकतर्फबाट   :      विद्वान अधिवक्ता श्री प्रकाश वस्ती

विपक्षीतर्फबाट    :      विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ

 

आदेश

प्र.न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ :

२.     भतौडा गा.पं. वडा नं. ५ स्थित साविक कि.नं.१४७ को ज.वि. ०१५ को जग्गाधनी विपक्षी किशोरीलाल साहु कानुको पिता उगर साहु कानून ऐ. स्थित साविक कि.नं.१४८ को ज.वि. ०० को ज.ध. विपक्षी ध्रुबप्रसाद गुप्ताको पिता हिरालाल भई दुवै कित्ता जग्गाको जोताहा मेरो पिता समशेर भन्ने रमेश राउत कुर्मी भएकोमा विपक्षीहरूका पिताले २०२३ साल देखि मोहियानी हटक गरेकाले मेरा पिताले फिराद गरी भूमिसुधार विशेष अदालत वाराबाट क्रमशः मिति २०२३।५।२४, २०२३।५।१६ मा मेरा स्वर्गीय पिताको मोही हक कायम हुने निर्णय भई उक्त जग्गाको जोताहा महलमा मेरो पिताको नाम कायम गरिएकोमा पिता स्वर्गीय भए पश्चात उक्त जग्गा मैले जोती कूत बुझाई आइरहेको थिएँ । निज विपक्षीहरूको पिताहरूको देहान्त पश्चात उक्त जग्गाको जग्गाधनी विपक्षीहरू हुनु भएबाट उक्त जग्गाको मोही नामसारी गरिपाउँ भन्ने मैले निवेदन विपक्षी भूमिसुधार कार्यालय, वारामा दिएको र पछि हालको कि.नं.पनि उल्लेख गरी दुई अलगअलग संशोधन निवेदन दिएकोमा मिसिल सामेल भई कारवाहीका निमित्त रहेको थियो । विपक्षी नं. ३ बाट जारी भएको म्यादमा विपक्षी नं. २ ले म्याद बुझी प्रतिवाद नै नगरी मेरो दावीलाई स्वीकार गरेको र दावी अनुरुपको जग्गाको जग्गाधनी म होइन भन्ने विपक्षी नं. १ को प्रतिवाद भए पनि निज जग्गाधनी रहेको कि.नं.१३४ नै साविक कि.नं.१४८ रहेको प्रमाण मिसिल सामेल रहेको । भूमिसुधार विशेष अदालत फैसला अनुसारको जग्गाको ज.ध. विपक्षी नं. १ र २ नं. भएको भन्दै मेरो निवेदन तामेलीमा राख्ने गरी विपक्षी नं. ३ ले मिति २०४३।२।८ मा निर्णय गर्‍यो

३.     दुइवटा कित्ता जग्गामा दुई अलगअलग विवाद भएकोमा एउटै निर्णय हुनु प्रतिपादित सिद्धान्तको बर्खिलाप छ । विवादित जग्गाको विधिवत मोही मेरो पिता भएको तथ्युक्त प्रमाण भूमिसुधार वि.अ. वाराको मिति २०२३।५।२४ र २०२३।५।१६ को फैसला छ । उक्त फैसला यथास्थितिमा भएबाट चुनौती रहित छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(१) को बिपरीत भई विपक्षी नं. ३ ले मेरो निवेदन उपर कुनै सबूद प्रमाण नै नबुझी तामेलीमा राख्ने गरी गरिएको निर्णयमा प्रमाण ऐनको दफा ३,५४ अ.बं. १८४(क) १८५ र १८९ नं. समेतको बिपरीत छ । विवादित जग्गाको साविक नम्बर उल्लेख गरी मैले निवेदन गरेकोमा पछि हाल नापी हुँदाको कि.नं.समेत उल्लेख गरी मैले समयमा नै संशोधन समेत गरी पाउँनको निमित्त दोस्रो निवेदन विपक्षी नं. ३ को कार्यालयमा दिएको छु । यस विषयमा सरजमीन तथा गा.पं. को सिफारिश समेत छ यसरी निवेदन परेपछि वास्तविक कुरा बुझी विवादको निरोपण गर्नु पर्दथ्यो । प्रतिवादै नगर्ने विपक्षीको २ नं. को हकमा समेत स्वयं मनगढन्ते आधार लिंदै गरिएको निर्णय त्रुटिपूर्ण छ । मैले दावी लिएको जग्गाको जग्गाधनी विपक्षीहरू होइनन् भनी सबूद प्रमाणको मूल्यांकन नै नगरी पूर्व फैसला समेतको उपेक्षा गरी मेरो मोहियानी प्रमाणपत्र पाउने अधिकारबाट बञ्चित पारी तामेलीमा राख्ने गरिएको निर्णयबाट संविधानको धारा १०, ११(२)(ङ) र १५ द्वारा प्रदत्त मौलिक हक समेत हनन् हुन गएकोले उत्प्रेषणको आदेशद्वारा उल्लिखित निर्णय बदर गरी कानून बमोजिम सबूद प्रमाण हेरी बुझी यो मुद्दाको कारवाही र निर्णय गरिदिनु भनी परमादेशको आदेश समेत जारी गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर ।

४.     विपक्षीहरूबाट लिखितजवाफ मगाई आए पछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत यस अदालत  सिंगलबेञ्चको मिति २०४३।३।६।६ को आदेश ।

५.     मोही नामसारी दावीको जग्गाहरू प्र्रतिवादी गरेको जग्गाधनीहरूको नाममा नरहेको भनी मालपोत कार्यालय, वाराको पत्र समेतबाट किटान भएको देखिँदा यस कार्यालयको मिति २०४३।२।८ मा जग्गाधनी बनाइएका विपक्षीहरूको नाममा वादी दावीको जग्गाहरू दर्ता नदेखिएको हुँदा प्रमाण पुर्‍याई कार्यवाही मागेमा कानून बमोजिम कार्यवाही हुने नै हुँदा प्रस्तुत मुद्दा तामेलीमा राखी दिने भनी गरेको निर्णय कानूनी त्रुटिपूर्ण भएको छैन रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत भूमिसुधार कार्यालय, वाराको लिखितजवाफ ।

६.     रिट निवेदकले भूमिसुधार वि.अ. वाराको २०२३।५।२४ र २०२३।५।१६ को फैसलाहरूमा भतौरा गा.पं. को कि.नं.५ को साविक कि.नं.५ को साविक कि.नं.१४७ र १४८ को उल्लेख नगरी सर्भे कि.नं.१४७, १४८ उल्लेख गरी निवेदन दिई फैसला गराएको रहेछ । यसरी उक्त फैसलामा सर्भे कि.नं.अर्थात हालको कि.नं.बाटै फैसला भएको तथ्यलाई ढाकछोप गरी कुनियत चिताई अदालतमा प्रवेश गर्नु भएको छ । रिट निवेदकले मूल निवेदन एउटै दिनु भएको र पछि मात्र दुई संशोधन निवेदन दिनुभएकोले एउटै निर्णय हुनु स्वभाविकै हो । विपक्षीको निवेदनपत्रमा कारवाही भई प्रतिवाद भइसकेपछि सो निवेदनको व्यहोरा बिना आधार संशोधन गर्न कानून नभएको यसरी मूल निवेदनमा आधार लिएको फैसलाहरू अनुसार जग्गा नै हाम्रो नाममा दर्ता नरहेकोलाई सो कि.नं.को नाताबाट अरु कि.नं.को जग्गामा दावा गर्न पाउने विपक्षीहरू रिट निवेदकको अ.बं. ८२ नं. अनुसार हकदैया नै नपुग्ने भएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत विपक्षीहरू ध्रुवप्रसाद गुप्ता र किशोरी साह कानुको लिखितजवाफ ।

७.     निवेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री प्रकाश बस्तीले अघि निवेदकको पिता रमशर राउत कुर्मीका पाला देखि नै मोहिको हैसियतले कमाउँदै आएको र त्यतिखेरै मोही सम्बन्धी मुद्दा पर्दा निवेदकको बाबु मोही ठहरी फैसला भएको जग्गामा मोही नामसारीको निमित्त दर्खास्त दिएको र शुरु दर्खास्तमा गलत कित्ता उल्लेख गरेको भनी हाल कायम कित्ता समेत उल्लेख गरी छुट्टा छुट्टै संशोधन निवेदन दिएकोमा कित्ता नम्बर नमिलेको भनी मुद्दा तामेलीमा राखेको भूमिसुधार कार्यालय वाराको निर्णय त्रुटिपूर्ण हुँदा बदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो । विपक्षी भूमिसुधार कार्यालय वाराको तर्फबाट उपस्थित विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले निवेदनमा उल्लेख भएको कित्ताको जग्गाधनी नमिलेको भनी पछि प्रमाण पुर्‍याई आएपछि कारवाही हुने गरी मिसिल तामेलीमा राखेको कानून अनुरुप नै हुँदा रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।

८.     प्रस्तुत रिट निवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने हो वा होइन सो कुराको निर्णय दिनु पर्ने हुन आयो ।

९.     यस्मा निर्णयतर्फ हेर्दा रिट निवेदकका बाबु रमेसरकै पालादेखि विवादित जग्गा मोहिको हैसियतले कमाई आएकोमा मोही विषयमा विवाद पर्दा २०२३।५।१६ र २०२३।५।२४ मा फैसलाले मोही ठहरेको कुरा उल्लेख गर्दै भतौडा गा.पं. वडा नं. ५ को साविक कि.नं.१४७ र १४८ को जग्गा नामसारी गरिपाउँ भनी निवेदन दिएकोमा पछि हालको कि.नं.उल्लेख गरी छुट्टा छुट्टै संशोधन निवेदनहरू भूमिसुधार कार्यालय, वारामा निवेदन गरेको देखिन्छ । विवादित जग्गाहरूमा जग्गाधनीहरू अलगअलग व्यक्ति रहेको र भूमिसुधार विशेष अदालतको २०२३।५।१६ र २०२३।५।२४ को फैसलाबाट समेत अलगअलग मिसिल कायम गरी फैसला भइरहेको देखिनुको साथै हालको कित्ता नं. खुलाई छुट्टा छुट्टै निवेदन परी रहेको स्थितिमा छुट्टा छुट्टै मिसिल कायम गरी निर्णय गर्नु पर्ने हुन्छ । तर भूमिसुधार कार्यालयबाट  प्रस्तुत विवादमा दुवै मुद्दाको एउटै मिसिल खडा गरी निर्णय गरेको त्रुटिपूर्ण देखिन्छ ।

१०.     अतः भूमिसुधार कार्यालय, वाराको मिति २०४३।२।८ को निर्णय त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशले बदर गरिदिएको छ । छुट्टा छुट्टै मिसिल खडा गरी कानून बमोजिम पुनः निर्णय गर्नु भनी विपक्षी भूमि सुधार कार्यालयका नाममा परमादेशको आदेश जारी हुनेठहर्छ । यो आदेशको एकप्रति प्रतिलिपि विपक्षी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा मेरो सहमति छ ।

न्या.प्रचण्डराज अनिल

 

इति सम्वत् २०४४ साल चैत्र २८ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु