शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३३९२ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ

भाग: ३० साल: २०४५ महिना: असार अंक:

निर्णय नं. ३३९२ ने.का.प. २०४५     अङ्क ३

 

 

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४४ सालको रिट नं. १५८४

आदेश भएको मिति : २०४५।१।१२।१ मा

 

निवेदक : काठमाडौं जिल्ला अदालतका स्थायी बहिदार लक्ष्मण कुँइकेल

विरुद्ध

विपक्षी : श्री बागमती अञ्चल अदालत, डिल्लीबजार, काठमाडौंसमेत

 

विषय : उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ

 

(१)                  निजामती सेवा नियमावली, २०२१ को नियम ३.५ को देहाय (६) को देहाय (क)(१) मा सेवा प्रवेशको निमित्त न्यूनतम शैक्षिक योग्यता भन्नाले हाल बहाल रहेको पदमा नयाँ नियुक्ति गरिंदा आवश्यक पर्ने शैक्षिक योग्यतालाई सेवा प्रवेशको निमित्त तोकिएको न्युनतम शैक्षिक योग्यता मानिने व्यवस्था भएबाट वहिदार पद हाल बहाल रहेको पद र सो पदमा नियुक्ति गरिंदा आवश्यक पर्ने शैक्षिक योग्यता अष्टम कक्षा उत्तीर्ण देखिन्छ, सो अंक एक तह माथिको कुनै एक शैक्षिक योग्यता भन्नाले दशम कक्षा उत्तीर्ण हुन आउने ।

(प्रकरण नं.  १०)

 

निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम पराजुली

प्रत्यर्थीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री कुष्णराम श्रेष्ठ

 

आदेश

प्र.न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ :

२.     निवेदकले २०३९।२।१६ गते सुर्खेत जिल्ला अदालतमा अस्थायी बहिदार पदमा नियुक्ति पाएको र २०३९।४।१ मा स्थायी नियुक्ति भई हाल सोही पदमा काठमाडौं जिल्ला अदालतमा सरुवा भई कार्यरत छु । विपक्षी बढुवा समिति काठमाडौं जिल्ला अदालतले मिति २०४४।१।१७ मा विचारी पद एक आन्तरिक बढुवाद्वारा पदपूर्ति गर्ने भनी सूचना प्रकाशित गरेकोमा म निवेदक सम्भाव्य उम्मेद्वार भएकाले आवेदन भरेको थिएँ । त्यस्तै विपक्षी सोमप्रसाद श्रेष्ठ समेत ६ जनाको आवेदन परेको । बढुवा समितिको मिति २०४४।५।५।६ को निर्णयले विपक्षी सोमप्रसाद श्रेष्ठलाई बढुवा गर्ने निर्णय गरेकोमा म्यादै भित्रै मिति २०४४।६।५ मा बागमती अञ्चल अदालतमा उजूरी गरेकोमा विपक्षी बढुवा समितिको निर्णय मनासिव ठहराई मिति २०४४।७।२४ मा निर्णय भएको जानकारी निवेदकलाई नदिए पनि विपक्षीलाई बढुवा पुर्जी दिएको हुँदा थाहा हुनआएको र सो निर्णयबाट निवेदकको नेपालको संविधान, २०१९ को धारा ११(१) ११(२)ङ द्वारा प्रदत्त हकमा आघात पर्न आएकोले यो निवेदन गर्न आएको छु ।

३.     विपक्षी बागमती अञ्चल अदालतले मलाई जेष्ठता बापत १५.९८३ वर्गीकृत ७.६३० शैक्षिक योग्यता बापत ५३.०० का.स.मु. १०२.०० गरी जम्मा १७८.५८३ दिएको छ । विपक्षी सोमप्रसाद श्रेष्ठलाई जेष्ठता १६.३१७, वर्गीकृत ४०७९ शैक्षिक योग्यता बापत ५३ र का.स.मू. ११२.०० गरी जम्मा १८५.३९६ दिई मैले भन्दा ६.७८३ अंक बढी पाएको ठहर गरी विपक्षीलाई बढुवा दिने गरेको पाइन्छ जुन प्रत्यक्ष त्रुटिपूर्ण छ । म निवेदकको न्युनतम शैक्षिक योग्यता बापत ३६.०० र निवेदकले एस.एल.सी.उत्तीर्ण गरेको हुँदा न्युनतम योग्यता भन्दा माथिको कुनै एक उपाधिको पाउने भई १७ अंक समेत शैक्षिक योग्यता बापत जम्मा अंक ५३ नोकरी जेष्ठताको १६.०० वर्गीकृत ११.२०८ का.स.मू. १०२ कायम गरे पनि १८२.२०८ हुन्छ । विपक्षी एस.एल.सी.उत्तीर्ण नगरी मात्र टेष्ट पास गरेको हुँदा एस.एल.सी.उत्तीर्ण गरेको अंक दिएको त्रुटिपूर्ण छ । विपक्षी बढुवा समितिले दिएको शैक्षिक योग्यताको अंक मनासिव थियो तर विपक्षी बागमती अञ्चल अदालतबाट दिएको नि.से.नि. नियम ३.५ को ६ को (ख) को बिपरीत दिएको अंकलाई घटाई हेर्दा विपक्षीले पाउने जेष्ठता १६.३१७, वर्गीकृत ४.०७० अंक दिएको भए पनि ४.१६८ हुन आउछ शैक्षिक योग्यता ३६.०० का.स.मु. ११२ गरी कूल जम्मा १६८.४८५ अंक हुन आउँछ । जबकी निवेदकको १८२.२०८ मा विपक्षीले पाउने १६८.४८५ घटाउँदा विपक्षीको भन्दा १३.७२३ अंक निवेदकको बढी हुन आउने भई बढुवा पाउने प्रष्ट छ । मलाई ०४१।०४२, ०४१।४।१ देखि २०४२ साल आषाढ मसान्तसम्मको का.स.मु. को अंक नदिंदा सारै मर्का परेको छ । नि.से.नि. को नियम ३.५(८) बमोजिम शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि पेश नगरेकोमा नम्बर दिन नमिल्नेमा विपक्षीलाई दिएको त्रुटिपूर्ण छ । का.स.मु. मा पनि मलाई अनुपातित अंक प्रदान गरिएको छैन । उपर्युक्त उल्लेख भएबमोजिम विपक्षी बढुवा समिति काठमाडौं जिल्ला अदालत तथा विपक्षी बागमती अञ्चल अदालतको निर्णय समेत त्रुटिपूर्ण हुँदा उक्त निर्णयहरू उत्प्रेषणको आदेशद्वारा बदर गरी निवेदकलाई बढुवा दिनु भन्ने विपक्षीहरूका नाममा परमादेशको आदेश समेत जारी गरिपाउँ भन्ने समेत लक्ष्मण कँुइकेलको रिट निवेदन ।

४.     विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासको मिति २०४४।८।१७ को आदेश ।

५.     विचारी पदमा बढुवाद्वारा पूर्ति गर्ने बागमती अञ्चल अदालतबाट मिति २०४४।१।१९ मा स्वीकृत प्राप्त भए अनुसार यस अदालतबाट मिति २०४४।१।१७ को सूचना अनुसार उम्मेद्वारहरूको परेका आवेदन फाइलहरू छानबीन गरी नियमबमोजिम पाउने अंक दिई २०४४।५।५ मा बसेको बढुवा समितिबाट सबैभन्दा बढी १६८.३९६ अंक प्राप्त गर्ने सोमप्रसादलाई विचारी पदमा बढुवा गर्ने यस अदालतबाट निर्णय भएको थियो सो उपर बागमती अञ्चल अदालतमा निवेदन परी जाँचबुझ हुँदा लक्ष्मण कँुइकेलको १७८.५८३ सोमप्रसादको १८५.३९६ अंक भएकाले बढी अंक प्राप्त गरेको सोमप्रसादलाई बढुवा गरेको निर्णय मनासिव ठहरी मिति २०४४।७।२४ मा आदेश भएकोबाट मिति २०४४।७।२५ को निर्णय अनुसार सोही मितिमा सोमप्रसादलाई बढुवाको नियुक्ति पत्र दिएको हो निवेदक माग अनुसारको आदेश जारी गरिपाउँ भन्ने समेत काठमाडौं जिल्ला अदालतको लिखितजवाफ ।

६.     सोमप्रसादलाई एल.एल.सी.को नम्बर नदिई बहिदारको लागि आवश्यक न्यूनतम योग्यता अष्टम कक्षाको श्रेणी नखुलेकोले ३६ नम्बर सो भन्दा माथिको दशम कक्षा श्रेणी नखुलेकाले नि.से.नि. को ३.६(क) र ३.६(ख) बमोजिम १७ नं. अंक प्रदान गरेको रीतपूर्वकको कार्य सम्पादन मूल्यांकन फाराम सम्बन्धित फाइलमा समावेश रहेको देखिएकोले सोही बमोजिम का.स.मु. बापत १०२ निजलाई भरिएको टेष्टको प्रमाण प्रतिलिपि पेश गरेपछि अष्टम कक्षाको प्रमाणपत्रको प्रतिलिपि पेश गर्न आवश्यक नभएकोले शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि पेश नभएको भन्ने जिकिर संगत नभएको र सोमप्रसाद श्रेष्ठलाई ज्येष्ठता बापत १६.३१७ वर्गीकृत क्षेत्र ४.०७९ शैक्षिक योग्यता ५३.०० र का.स.हु.जा. ११२.०० प्रदान गरिएको र निवेदक लक्ष्मण कुँइकेललाई जेष्ठता बापत १५.९८३ वर्गीकृत ७.९३० शैक्षिक योग्यता ५३ का.स.मु. १०२.०० प्रदान गर्दा बढी अंक पाउने देखिएका सोमप्रसादलाई बढुवा गर्ने बढुवा समितिको निर्णयमा अंकसम्म केही हेरफेर भए पनि सोमप्रसादकै बढी अंक देखिएको आधारमा मिति २०४४।७।२४ मा निजको बढुवा सदर भएको तसर्थ उपरोक्त आधारमा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी बागमती अञ्चल अदालतको लिखितजवाफ ।

७.     सेवा प्रवेशको निमित्त तोकिएको न्युनतम शैक्षिक योग्यता भन्दा माथिको योग्यताको हकमा म प्रत्यर्थीले मेरो माथिल्लो योग्यता एल.एल.सी.को अंक पाउने जिकिर लिएको देखिन्छ । सेवा प्रवेशको निमित्त शैक्षिक योग्यता भन्नाले हाल वहाल रहेको पदमा नयाँ नियुक्ति गरी वा आवश्यक पर्ने शैक्षिक योग्यतालाई मानिने कुरा नि.से.नि. नियम ३.५ (६) को देहाय (क)(१) (ख) मा उल्लेख छ । यसबाट म विचारी पदमा बढुवा पाउनु भन्दा पूर्व हाल वहाल रहेको भनिएको पद बहिदार हुन आउँछ । सो पदको लागि न्युनतम शैक्षिक योग्यता अष्टम कक्षा उत्तीर्ण हो र टेष्ट पास न्युनतम शैक्षिक क्षेत्रमा काम गरे बापत पाएको अंक कम भएको जिकिर लिनु भएको छ नि.से.नि. नियम ३.५(४) को देहाय (१) को प्रतिबन्धात्मक वाक्यांश देहाय २ मा व्यवस्था गरे अनुसार १ वर्ष अवधि नपुगेको विपक्षीले काठमाडौं जिल्लामा सेवा गरेको अवधिको समेत अंक विपक्षीलाई कानूनले दिन मिल्ने होइन । कार्य सम्पादन मूल्यांकनमा कम नम्बर दिइयो भन्ने हकमा कार्य सम्पादन मूल्यांकनको नम्बर कुनै बर्षमा अत्याधिक पाएको भए पनि अब वर्षमा पनि सोही अनुसार अंक पाउनु पर्छ भन्ने कुरा कानूनतः स्थापित हुन सक्दैन मैले पाए सरह विपक्षीले पनि पाउनु पर्छ भन्ने कुरामा पनि कुनै औचित्यता र प्रमाणिक वजन समेत छैन । विपक्षीको दावी उजूरी रिट निवेदन दिंदा प्रशस्त विरोधाभाष पूर्ण पनि छन् त्यस्तै माग दावी पनि प्रष्ट छैनन् अतः रिट निवेदन खारेज गरिपाउँ भन्ने  समेत प्रत्यर्थी सोमप्रसाद श्रेष्ठको लिखितजवाफ ।

८.     रिट निवेदकतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री राधेश्याम पराजुलीले विपक्षी बढुवा समिति तथा बागमती अञ्चल अदालत समेतबाट रिट निवेदकले पाउने वर्गीकृत क्षेत्रको वास्तविक नम्बर दिइएन । कार्य सम्पादन मूल्यांकनमा पनि कम नम्बर दिइयो । शैक्षिक योग्यताको नम्बरमा विपक्षी सोमप्रसादले एस.एल.सी.पास नगरेकाको लागि निवेदककै बरावर न्युनतम शैक्षिक योग्यता भन्दा माथिको योग्यताको १७ अंक प्रदान गरी विपक्षी सोमप्रसादको बढी भएको भनी विचारी पदमा बढुवा गर्ने निर्णय भएकोछ । तर कार्य सम्पादन मूल्यांकनको अंक कायमै राखे पनि अंक दिन नमिल्ने शैक्षिक योग्यताको न्युनतम शैक्षिक योग्यता भन्दा माथिको योग्यताको अंक १७ विपक्षीलाई नदिने हो भने रिट निवेदकको बढुवा हुने निश्चित छ । यस स्थितिमा निवेदकलाई काठमाडौं जिल्ला अदालतमा सेवा गरे बापतको अंक प्रदान नगरी न्युनतम शैक्षिक योग्यता भन्दा माथिको शैक्षिक योग्यता एस.एल.सी.उत्तीर्ण नभएका विपक्षीलाई सो बापत १७ अंक प्रदान गरी विपक्षीको रिट निवेदकको भन्दा बढी अंक भएको भनी विपक्षी सोमप्रसाद श्रेष्ठलाई विचारी पदमा बढुवा गरेको विपक्षी बढुवा समिति काठमाडौं जिल्ला अदालत तथा उजुरी सुन्ने विपक्षी बागमती अञ्चल अदालतको निर्णय समेत त्रुटिपूर्ण हुँदा सो निर्णयहरू उत्प्रेषणको आदेशद्वारा बदर गरी रिट निवेदकलाई उक्त विचारी पदमा बढुवा गर्नु भन्ने विपक्षीहरूका नाममा परमादेशको आदेश समेत जारी गरिपाउँ भन्ने र प्रत्यर्थीतर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले रिट निवेदकले तथा प्रत्यर्थी सोमप्रसाद समेतले प्राप्त गरेको अंक मनासिव छन् । वर्गीकृत क्षेत्रको कम अंक दिइयो भन्ने रिट निवेदन जिकिरको सम्बन्धमा काठमाडौं जिल्ला अदालतमा एक वर्ष भन्दा कम अवधि काम गरे बापत अंक दिन नमिल्ने हुँदा सो अंक प्रदान नगरेको कानून अनुरुप छ । शैक्षिक योग्यताको अंकहरू पनि बढुवा समिति काठमाडौं जिल्ला अदालत तथा उजूरी सुन्ने बागमती अञ्चल अदालत समेतबाट दिएको ठिक छ रिट निवेदकले प्रत्यर्थी सोमप्रसादलाई एस.एल.सी.उत्तीर्ण नभएर पनि एस.एल.सी.को अंक दियो भन्ने भनाई गलत हो । रिट निवेदकले पाएको अंक भन्दा सोमप्रसाद श्रेष्ठले बढी अंक पाएकोबाट निजलाई विचारी पदमा बढुवा हुने ठहर गरेको बढुवा समिति काठमाडौं जिल्ला अदालत तथा बागमती अञ्चल अदालत समेतको निर्णयहरू कानून अनुरुप नै हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

९.     यसमा निर्णयतर्फ हेर्दा एस.एल.सी.उत्तीर्ण नै नभएका विपक्षी सोमप्रसाद श्रेष्ठलाई एस.एल.सी.पास गरेको म सरहको अंक दिई वर्गीकृत क्षेत्रको प्राप्त गर्नु पर्ने अंक नदिई का.स.मु. समेत साविकमा प्राप्त गरेको भन्दा कम अंक प्रदान गरी औसत निकाली विपक्षी सोमप्रसादको बढी अंक भएको भनी विचारी पदमा बढुवा हुने ठहर गरेको बढुवा समिति काठमाडौं जिल्ला अदालतको मिति २०४४।५।५ को निर्णय तथा सो निर्णय सदर कायम गरेको बागमती अञ्चल अदालतका अञ्चल न्यायाधीशको मिति २०४४।७।२४ गतेको निर्णय तथा सो आधारमा विपक्षीलाई प्रदान गरिएको बढुवा नियुक्ति समेत त्रुटीपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरी निवेदकलाई बढुवा दिनु भन्ने विपक्षीहरूका नाममा परमादेशको आदेश जारी गरिपाउँ भन्ने समेत रिट निवेदकको मुख्य निवेदन जिकिर देखिन्छ ।

१०.     विद्वान सहन्यायाधिवक्ताले इजलास समक्ष देखाएको बढुवा सम्बन्धी कारवाही निर्णय फाइल हेर्दा प्रत्यर्थी काठमाडौं जिल्ला अदालतमा बसेको बढुवा समितिले सबैभन्दा बढी अंक पाएको भनी प्रत्यर्थी सोमप्रसाद श्रेष्ठलाई विचारी पदमा बढुवा हुने ठहर्‍याई मिति २०४४।५।५ मा निर्णय गरेकोमा सो उपर रिट निवेदकको प्रत्यर्थी बागमती अञ्चल अदालतमा उजूरी पर्दा प्रत्यर्थी सोमप्रसाद श्रेष्ठको बढी अंक ठहर्‍याई निजलाई विचारी पदमा बढुवा हुने ठहर गरेको बढुवा समितिको निर्णयलाई सदर कायम गरेको पाइन्छ । मैले पाउनु पर्ने वर्गीकृत क्षेत्रमा काम गरेको पूरा अंक प्रदान नगरिएको भन्ने रिट निवेदन जिकिर लिएतर्फ हेर्दा विभिन्न भौगोलिक क्षेत्रमा एकवर्ष वा सो भन्दा बढी अवधि काम गरेको अवस्थामा मात्र अंक प्रदान गर्न मिल्ने एकवर्ष नपुगेको अवधिको लागि प्रदान गर्न नमिल्ने भन्ने निजामती सेवा नियमावलीमा व्यवस्था गरेको पाइन्छ पेश भएको कारवाही फाइल हेर्दा एकवर्ष वा सो भन्दा बढी अवधि काम गरेको वर्गीकृत क्षेत्रमा काम गरे बापतको अंक रिट निवेदक समेतलाई प्रदान गरेको र एकवर्ष भन्दा कम अवधिको मात्र अंक गणना नगरेको फाइलबाट देखिँदा निवेदन जिकिर युक्तिसंगत देखिएन जहाँसम्म विपक्षीलाई एस.एल.सी.उत्तीर्ण नै नभएकोमा पनि एस.एल.सी.शैक्षिक योग्यताको म सरह समान अंक प्रदान गरिएको छ । सो मिलेन भन्ने रिट निवेदन जिकिरको प्रश्न छ । निजामती सेवा नियमावली, २०२१ को नियम ३.५ को देहाय (६) मा बढुवामा शैक्षिक योग्यता बापत अंक दिंदा सेवा प्रवेशको निमित्त तोकिएको न्युनतम शैक्षिक योग्यता बापत क्रमशः प्रथम श्रेणीको ४०, द्वितीय श्रेणीका लागि ३६ र तृतीय श्रेणीको लागि ३३ अंक प्रदान गरिने सो न्युनतम शैक्षिक योग्यता भन्दा माथिको योग्यता पनि भएमा सेवा प्रवेशको निमित्त तोकिएको न्युनतम शैक्षिक योग्यता भन्दा माथिको सम्बन्धित कुनै एक उपाधिको पनि क्रमशः प्रथम श्रेणीको लागि २०, द्वितीय श्रेणीको लागि १७ र तृतीय श्रेणीको लागि १४ अंक दिइने व्यवस्था भएको  पाइन्छ । प्रस्तुत विचारी पदको बढुवाको लागि आवश्यक पर्ने न्युनतम शैक्षिक योग्यता र सो भन्दा एक तह माथिको शैक्षिक योग्यता भन्नाले कुन हो भन्ने तर्फ हेर्दा निजामती सेवा नियमावली, २०२१ को नियम ३.५ को देहाय (६) को देहाय (क)(१) मा सेवा प्रवेशको निमित्त न्युनतम शैक्षिक योग्यता भन्नाले हाल बहाल रहेको पदमा नयाँ नियुक्ति गरिँदा आवश्यक पर्ने शैक्षिक योग्यतालाई सेवा प्रवेशको निमित्त तोकिएको न्युनतम शैक्षिक योग्यता मानिने छ भन्ने व्यवस्था भएबाट प्रस्तुत केशमा बहिदार पद हाल बहाल रहेको पद र सो पदमा निुयिक्त गरिंदा आवश्यक पर्ने शैक्षिक योग्यता अष्टम कक्षा उत्तीर्ण देखिन्छ । सो अंक एक तह माथिको कुनै एक शैक्षिक योग्यता भन्नाले दशम कक्षा उत्तीर्ण हुन आउँछ । कारवाही फाइलबाट रिट निवेदक तथा प्रत्यर्थी सोमप्रसाद श्रेष्ठ समेतलाई न्युनतम शैक्षिक योग्यता बापत अष्टम कक्षाको ३६ अंक र सो भन्दा माथिको कुनै एक उपाधि (टेष्ट पास ) दशमकक्षा उत्तीर्ण गरेको शैक्षिक योग्यता बापत १७ अंक प्रदान गरेको देखिन्छ । रिट निवेदकको जिकिर अनुसार प्रत्यर्थीलाई एस.एल.सी.पास गरेको अंक प्रदान गरेको देखिन आएन ।

११.     तसर्थ उपर्युक्त उल्लेख भएबमोजिम प्रत्यर्थी अञ्चल अदालतबाट प्रदान गरिएका अंकहरू कानूनसंगत नै देखिएको र त्यसरी प्रदान गरेको अंकमा प्रत्यर्थी सोमप्रसाद श्रेष्ठको अंक सबभन्दा बढी देखिन आएबाट प्रत्यर्थी सोमप्रसाद श्रेष्ठलाई विचारी पदमा बढुवा गरेको प्रत्यर्थी अञ्चल न्यायाधीश बागमती अञ्चल अदालतको मिति २०४४।७।२४ गतेको निर्णय समेतमा कुनै त्रुटि नदेखिँदा रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियमबमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या. प्रचण्डराज अनिल

 

इति सम्वत् २०४५ साल बैशाख १२ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु