शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७६५२ - जवर्जस्ती करणी

भाग: ४८ साल: २०६३ महिना: जेष्ठ अंक:

निर्णय नं.७६५२           ने.का.प.२०६३       अङ्क २

 

सर्वोच्च अदालत संयुक्त इजलास

माननीय न्यायाधीश श्री अनूपराज शर्मा

माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित

सम्वत् २०६२ सालको फौ.पु.नंं ३७४५

फैसला मितिः २०६३।२।१७।४

 

मुद्दा : जवरजस्ती करणी

 

पुनरावेदक / प्रतिवादीः जिल्ला कन्चनपुर लक्ष्मीपुर गा.वि.स..वडा नं. ९ घर भएका विष्णु अधिकारी

विरुद्ध

वादी / प्रत्यर्थीः चक्रबहादुर चलाउनेको जाहेरीले नेपाल सरकार 

 

§  ८ बर्षकी नवालिका पार्वतीलाई आफ्नो लिङ्ग खेलाउन लगाई खाटमा सुताई बलपूर्वक निजको योनीमा लिङ्ग पुर्‍याई वीर्य स्खलन गराएको कार्य जवरजस्ती करणीको कसूर नहुने भन्न नमिल्ने ।

§  जवरजस्ती करणीको कसूर खासगरी महिलाको शरीर र इज्जतमाथि यौनेच्छा पूरा गर्ने उद्देश्यबाट गरिने आक्रमणको रुपमा लिनुपर्ने ।

§  अवोध अवस्थाकी वालिकालाई आफ्नो लिङ्ग चलाउन लगाउने र निजको योनीद्वारसम्म लिङ्ग पुर्‍याई वीर्य स्खलन गराइ आफ्नो यौन सन्तुटी लिने कार्यलाई केवल करणीको उद्योग मात्र हो भनी व्याख्या गर्नु जवरजस्ती करणीसम्बन्धी कानूनी व्यवस्थाको भावना अनुकूल नहुने ।

§  योनीमा लिङ्ग प्रबेश नगरेसम्म जबरजस्ती करणीको कसूर हुदैन भनी सबै अवस्थामा व्याख्या गर्ने हो भने शारीरिक रुपमा कमजोर महिलामाथि हुने यौनजन्य अपराधबाट प्रतिवादीले उन्मुक्ति पाउने अवस्था आउन सक्ने ।

(प्रकरण नं.१७)

 

पुनरावेदन प्रतिवादी तर्फवाटः

वादी प्रत्यर्थी तर्फवाटः विद्वान अधिवक्ता श्री हेमराज अधिकारी

अवलम्विन नजीरः

 

फैसला

न्या.अनूपराज शर्माः पुनरावेदन अदालत महेन्द्रनगरवाट मिति २०६१।९।२०।३ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :-

२.    अन्यायी विष्णु अधिकारीको र मेरो घर वरपरतिर पर्दछ । निज विष्णु अधिकारीको खेत अधिया गर्न भनि निजकै खेतमा वीउ राखेको र २०६०।२।२४ गते दिउंसो वर्ष ८ को छोरी पार्वती चलाउने उक्त वीउको रेखदेख गर्न गएकीमा निज बदमास विष्णु अधिकारीले छोरी पार्वतीलाई ललाई फकाई घर कोठामा लगी जवरजस्ती करणी गरेको रहेछ । २०६०।३।१० गते छोरीले पेट दुख्यो भनि भन्दा के भयो भनि हेर्दा योनी पाकेको देखि सोधपुछ गर्दा विष्णु अधिकारीले २०६०।२।२४ गते मलाई जवरजस्ती करणी गरेको हो भनि वताएको हो भन्ने समेत व्यहोराको जाहेरी दरखास्त ।

३.    मिति २०६०।२।२४ गते विहान म नुहाई आफ्नै कोठामा सुतेको अवस्थामा पार्वती चलाउनेले मेरो लिङ्ग सुमसुमाई राखेको अवस्थामा व्यूँझिदा देखी मलाई निजले मेरो लिङ्ग खेलाएको राम्रो लाग्यो र मैले पार्वती चलाउनेलाई आफ्नो लिङ्ग खेलाउन दिएँ, एकैछिन मलाई वढी उत्तेजना भएकोले निज पार्वतीलाई समाती निजको योनीको प्वालमा पुगाई छुने वित्तिकै मेरो विर्य स्खलन भै हाल्यो । सो पश्चात निज पार्वती आफ्नो घर गई हाली । मैले पार्वतीलाई जवरजस्ती करणी गर्न खोजेको होइन  भन्ने समेत प्रतिवादी विष्णु अधिकारीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान ।

४.    पार्वती चलाउनेको स्वास्थ्य परीक्षण गर्दा करणी भएको, उक्त करणी एकहप्ता भित्रै भएको हुनुपर्ने, घाउ चोट पटकमा No external injury seen, soreness into introitus present हाइमन च्यातिएको सम्वन्धमा Hymen torn भएको  भन्ने समेत स्वास्थ्य परीक्षण रिपोर्ट ।

५.    मिति २०६०।२।२४ गते मेरो वुवा प्रतिवादी विष्णु अधिकारीको जग्गा अधिया कमाउने भएकोले म खेतमा लगाएको धानको वीउ हेरचाह गर्न भनि गएकी थिएँ र प्रतिवादी विष्णु अधिकारीले मलाई घाममा किन वसेकी घरमा गई वस भनेपछि म घरमा गएपछि राम्रो खाने कुरा ल्याएको छु आउ भनी घर भित्र लगी मलाई आफ्नो लिङ्ग समात्न लगायो । मैले नाई नास्ती गर्दा निजले नमानी मलाई खटिया माथि लगी मेरो मिड्डी माथि गरी योनीभित्र आफ्नो लिङ्ग पुरै पसाएको र म रुदै कराएकोमा समेत नमानी आफ्नो सन्तुष्टी लिई सके पश्चात मलाई घर जाउ भनि पठाएको र सो कुरा आमालाई भन्दा नवुझेको र २०६०।३।१० गते मेरो योनी र पेट वढी दुख्न लागेपछि वुवालाई भन्दा वुवाले मेरो योनी समेत हेर्नु भएको थियो भन्ने पीडित पार्वती चलाउनेले अनुसन्धानका क्रममा गरेको वयान ।

६.    जिल्ला कंचनपुर लक्ष्मीपुर गा.वि.स.वडा नं. ९ वुटावारी स्थित पूर्वमा नन्दराम जोशीको जमीन पश्चिममा हस्तबहादुर खड्काको जमीन, उत्तरमा शिवराम जोशीको जमीन, दक्षिणमा धनी अधिकारीको जमीन यति ४ किल्ला भित्र प्रतिवादी विष्णु अधिकारीको जमिन तथा घर सो घरको पश्चिम पट्टी धानको वीउ छरेको वेर्ना कच्ची घरको पहिलो कोठामा २०६०।२।२४ गते प्रतिवादी विष्णु अधिकारीले पार्वती चलाउनेलाई जवरजस्ती करणी गरिएको भनिएको कोठा, सो कोठा केलाई हेर्दा जवरजस्ती करणी गर्दा लगाएको भनिएको खैरो रङ्गको कट्टु पहेलो रंगको तौलिया र निलो रङ्गको भेष्ट फेला परेको भन्ने घटनास्थल प्रकृति मुचुल्का ।

७.    मिति २०६०।३।१० गतेका दिन जाहेरवालाले मलाई वोलाई मेरी छोरी पार्वती चलाउनेले पेट दुख्यो भन्ने कुरा गरी हेर्दा छोरीको योनी सुनिएको, पाकेको पाइयो, कसरी भएको भनि सोध्दा २०६०।२।२४ गते अभियुक्त विष्णु अधिकारीले छोरीलाई ललाई फकाई जवरजस्ती करणी गरेको कुरा सुनी थाहा पाएको हुँ । निज पीडितको स्वास्थ्य परीक्षण समेत गर्दा करणी भएको भन्ने लक्षण देखिएकोमा निज पीडित पार्वतीलाई विष्णु अधिकारीले जवरजस्ती करणी गरेको नै हो भन्ने व्यहोराको कृष्णप्रसाद जैशी र फुलमाया चलाउनेले अनुसन्धानको क्रममा गरेको एकै मिलानको कागज ।

८.    मिति २०६०।२।२४ गतेको दिन धानको वीउ हेर्न गएकी पार्वती चलाउनेलाई प्रतिवादी विष्णु अधिकारीले ललाई फकाई जवरजस्ती करणी गरेको कुरा सुनी थाहा पाएको हुँ । निजले करणी गरेको कुरा आमालार्ई भन्दा कान कम सुन्ने भएको कारण नबुझेको र २०६०।३।१० गते वढी भएकोले आफ्नो वुवा जाहेरवालालाई योनी समेत देखाई । विष्णु अधिकारीले जवरजस्ती करणी गरेको नै हो भन्ने व्यहोराको अम्वानन्द जोशी समेतका जना ५ ले एकै मिलानको गरेको वस्तुस्थिति मुचुल्का ।

९.    संकलित सवुद प्रमाणको आधारमा प्रतिवादी विष्णुप्रसाद अधिकारीले वर्ष ८ की नावालिका पार्वती चलाउनेलाई ललाई फकाई जवरजस्ती करणी गर्नुका साथै अप्राकृतिक मैथुन समेत गरेको देखिनाले निज प्रतिवादी विष्णु अधिकारीलार्ई जवरजस्ती करणीको १ नं. को कसूरमा सोही महलको ३ (१) बमोजिम सजाय गरी सोही महलको ९ (क) नं. बमोजिम थप सजाय र प्र विष्णु अधिकारी र निजको आमा धनी अधिकारीका नाममा ६।२ सा.कि.नं. ५० को १५ क्षेत्रफलको जग्गा मध्ये प्र. विष्णु अधिकारीको अंशको आधा अंश जवरजस्ती करणीको १० नं. बमोजिम पीडित पार्वती चलाउनेलाई दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको अभियोग दावी ।

१०.    मिति २०६०।२।२४ गते म आफ्नै घरमा सुतिरहेको अवस्था पीडित पार्वती चलाउने म सुतेको ठाउँमा आई मेरो लिङ्ग खेलाउन लागेकी रहेछ । म निन्द्रावाट विउझदा लिङ्ग खेलाएकोमा मलार्ई उत्तेजना आई पार्वती चलाउनेलाई म उत्तानो पल्टी निजलाई आफू माथि राखी चढाई निजको मेड्डी माथि गरी आफ्नो लिङ्ग निजको योनीमा मिलाउदा मेरो विर्य पतन भएकोले करणी गर्ने काम हुन पाएन । निजको उमेर १०।१२ वर्षकी छ । निजले भने बमोजिमको काम मैले गरेको होइन अरुका सिकावटमा लागि लेखाएकी हो । मलाई फसाई मेरो जग्गा हडप्ने उद्देश्यले लेखाएको होला भन्ने प्रतिवादी विष्णु अधिकारीले शुरु जिल्ला अदालतमा गरेको वयान ।

११.    प्रतिवादी विष्णु अधिकारीले जवरजस्ती करणीको कसूर गरेको हो भन्ने समेत व्यहोरा उल्लेख गरी जाहेरवाला चक्रबहादुर चलाउने र पीडित पार्वती चलाउनेले अदालत समक्ष गरेको बकपत्र ।

१२.   पीडितको स्वास्थ्य परीक्षण रिपोर्टवाट तथा जाहेरवाला र वादी पक्षका अरु साक्षीको वकपत्रले पनि प्रतिवादीले वारदात गरेको पुष्टी भएको साथै निजले साक्षी प्रमाण समेत दिन नसकेको देखिंदा प्रतिवादीले वर्ष ८ की वालिका पार्वती चलाउनेलाई जवरजस्ती करणी गरेको  ठहर्छ ।  निजलाई जवरजस्ती करणीको महलको ३ (१) बमोजिम १० वर्ष कैद हुने ठहर्छ ।  दफा ९ (क) को दावी पुग्न सक्तैन र अभियोगमा उल्लेख भएको जग्गावाट प्रतिवादी र निजको आमा दुई अंशियार देखिंदा सोको दुई भाग गरी १ भाग प्रतिवादीको हुने भै सो को आधी पीडितले अंश स्वरुप पाउने ठहर्छ भन्ने समेत मिति २०६१।३।१६।४ मा शुरु कंचनपुर जिल्ला अदालतवाट  भएको  फैसला ।

१३.   प्रतिवादीले साक्षी वकपत्र गराउन नसकेको तर्क लगाई भएको तथ्यगत ठोस प्रमाणको मूल्यांकन नै नगरी मलाई हराई गरेको फैसला साह्रै अन्यायपूर्ण भएकोले विपक्षी झिकाई शुरुको फैसला उल्टी गरी प्रस्तुत आरोपबाट सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी विष्णु अधिकारीले पुनरावेदन अदालतमा गरेको पुनरावेदन ।

१४.   पीडितको योनीको भित्री भाग सुनिएको देखिन्छ । पीडितले अदालतमा वकपत्र गर्दा प्रतिवादीले आफ्नै घरको खटियामा पल्टाई मेरो माथि चढी करणी गरेको भनि भनेको देखिन्छ । पीडित नावालक वर्ष ८ की पार्वती चलाउनेलाई प्रतिवादी विष्णु अधिकारीले करणी गरेको क्रिया जवरजस्ती करणीको महलको १ नं. को कसूर भित्र पर्ने हुँदा निजलाई सोही महलको ३ (१) नं. ले दश (१०) वर्ष कैद गर्ने समेत गरेको शुरु कंचनपुर जिल्ला अदालतको मिति २०६१।३।१६।४ को फैसला मिलेकै देखिंदा सो फैसला सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्दैन भन्ने पुनरावेदन अदालत महेन्द्रनगरको २०६१।९।२०।३ को फैसला ।

१५.   मैले अदालत समक्ष र अनुसन्धानका क्रममा समेत करणी गरेको कुरामा इन्कार रही पीडितको योनीमा मेरो लिङ्ग पुर्‍याउदा वाहिर नै वीर्य स्खलन भएको भनी बयान गरेको छु । यसबाट करणी हुन नपाएको कुरा स्पष्ट छ । पीडित पार्वतीको शरीरको स्वास्थ्य परीक्षण गर्दा अरु कुनै चोटपटक देखिएको छैन । घटना भन्दा धेरै ढिलो गरी शरीर जाँच भएकोले अरु कारणबाट पनि Hymen च्यातिन सक्ने कुरा तर्फ पुनरावेदन अदालतको फैसलामा ध्यान गएको छैन । पीडितले अनुसन्धान क्रममा गरेको बयान र अदालतमा गरेको बकपत्रमा भिन्नता रहेको छ । निजको बकपत्रका व्यहोरा शरीर जाँचको प्रतिवेदनसँग मिल्दो छैन । एकछिनलाई पडितको भनाइ र स्वास्थ्य परीक्षण रिपोर्टलाई मान्ने हो भनेपनि जवरजस्ती करणी भएको नभई उद्योगसम्म मात्र भएको देखिएको छ । शुरु र पुनरावेदन तहवाट भएको त्रुटीपूर्ण फैसला उल्टी गरी आरोपबाट सफाई पाउँ भन्ने समेत प्रतिवादीले यस अदालतमा गरेको पुनरावेदन जिकीर ।

१६.    नियमबमोजिम पेशीसूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन लगायत सम्पूर्ण मिसिल अध्ययन गरी वैतनिक वकीलका रुपमा उपस्थित विद्वान अधिवक्ता श्री हेमराज अधिकारीले गर्नु भएकोबहस समेत सुनी विचार गर्दा यसमा पुनरावेदन अदालत महेन्द्रनगरले प्रतिवादीले जवरजस्ती करणीको कसूर गरेको ठहर्‍याएको इन्साफ मिले नमिलेको एवं प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्ने नसक्ने के हो सो सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो । 

१७.   निर्णयतर्फ विचार गर्दा अनुसन्धान क्रममा प्रतिवादीले गरेको वयानमा पीडितलाई आफूमाथि राखी लिङ्ग समाती पीडितको योनीमा स्पर्स गराई वीर्य स्खलन गराएको कुरा स्वीकार गरेको देखिन्छ । निजले अदालतमा बयान गर्दा समेत सो व्यहोरालाई स्वीकार गर्दै पीडितको योनीभित्र लिङ्ग प्रवेश गराएको कुरालाई मात्र इन्कार गरी करणी गर्ने प्रयास गरेको कुरामा सावित भएको देखिन्छ । प्रतिवादीले यस अदालतमा गरेको पुनरावेदनमा पनि सो तथ्य उल्लेख भएको छ । यसबाट प्रतिवादीले जवरजस्ती करणीको उद्योगसम्म गरेको तर जवरजस्ती करणी नै भने नगरेको भनी जिकीर लिन खोजेको पाइयो । तर पीडित पार्वती चलाउनेको शरीरको स्वास्थ्य परीक्षणबाट निज उपर करणी भएको, योनीद्वार (introitus)  सुनिएको, hymen च्यातिएको देखिएको छ । पीडितले अनुसन्धान क्रममा गरेको कागजमा प्रतिवादीले आफूलाई राम्रो खानेकुरा दिने लोभ देखाई फकाएर खेतवाट आफ्नो घरमा लगी लिङ्ग समाउन लगाएको, त्यसपछि खाटमा पल्टाई योनीमा लिङ्ग प्रवेश गराई वीर्य स्खलन गराएपछि पीडितलाई घरमा पठाएको कुरा उल्लेख छ । अदालत समक्ष बकपत्र गर्दा निजले सो व्यहोरालाई समर्थन गर्दै प्रतिवादीले गालामा थप्पड समेत हानी डर देखाएको, लिङ्ग योनीभित्र घुसाएको, योनी च्यातिएको र पछिसम्म पनि दुख्ने गरेको भन्ने व्यहोरा समेत खुलाइ दिएको पाइन्छ । पीडितका वाबु जाहेरवाला चक्रबहादुर चलाउनेले पनि आफू शान्तिपुरबाट २०६०।३।१० मा घर फर्कि आउदा पीडित पार्वती पेट दुख्यो भनी सुतिरहेकीले के भयो भनी सोध्दा विष्णु अधिकारीले लिङ्ग समात्न लगाई खाटमा पल्टाई कुटपीट गरी जवरजस्ती करणी गर्‍यो भनी बताएको कुरा खुलाई अदालत समक्ष बकपत्र गरेको देखिन्छ । उक्त तथ्य समर्थित हुनेगरी मौकामा कागज गर्ने कृष्णप्रसाद जैसी तथा जयकला शाहीले समेत अदालतमा बकपत्र गरेको छन् । उल्लेखित प्रमाणहरूबाट प्रतिवादीले पीडित पार्वतीलाई केवल जवरजस्ती करणी गर्ने प्रयास मात्र गरेको नदेखिइ जवरजस्ती करणी नै गरेको भन्ने देखिन आउछ । प्रतिवादीको जिकीरलाई नै मानेको खण्डमा पनि ८ बर्षकी नवालिका पार्वतीलाई आफ्नो लिङ्ग खेलाउन लगाई खाटमा सुताई बलपूर्वक निजको योनीमा लिङ्ग पुर्‍याई वीर्य स्खलन गराएको कार्य जवरजस्ती करणीको कसूर नहुने भन्न मिल्दैन । जवरजस्ती करणीको कसूर खासगरी महिलाको शरीर र इज्जतमाथि यौनेच्छा पूरा गर्ने उद्देश्यबाट गरिने आक्रमणको रुपमा लिनु पर्ने हुन्छ । अवोध अवस्थाकी वालिकालाई आफ्नो लिङ्ग चलाउन लगाउने र निजको योनीद्वारसम्म लिङ्ग पुर्‍याई वीर्य स्खलन गराइ आफ्नो यौन सन्तुटी लिने कार्यलाई केवल करणीको उद्योग मात्र हो भनी व्याख्या गर्नु जवरजस्ती करणी सम्बन्धी कानूनी व्यवस्थाको भावना अनुकूल पनि हुदैन । योनीमा लिङ्ग प्रबेश नगरेसम्म जबरजस्ती करणीको कसूर हुदैन भनी सबै अवस्थामा व्याख्या गर्ने हो भने शारीरिक रुपमा कमजोर महिलामाथि हुने यौनजण्य अपराधबाट प्रतिवादीले उन्मुक्ति पाउने अवस्था आउन सक्छ । अझ नावालिकामाथि भएको यस्तो कसूरमा त यो विषयलाई अझ गम्भीर रुपमा विचार गर्नुपर्ने हुन्छ । यस मुद्दाकी पीडित केवल ८ बर्षकी भएकी र निजमाथि प्रतिवादीले बलपूर्वक गरेको करणीजण्य अपराधबाट निजको यौनाङ्गमा चोट लाग्नुको साथै सो घाउ पछिसम्म पनि निको नभइ पाकेको देखिएको अवस्थामा प्रतिवादीको जिकीर बमोजिम निजको कसूर केवल जवरजस्ती करणीको उद्योगसम्मको  मात्र  हो  भनी मान्न मिल्दैन । उल्लेखित विवेचनाबाट प्रतिवादीले नावालिका पीडित उपर जवरजस्ती करणीको कसूर गरेको देखिएकोले मुलुकी ऐन जवरजस्ती करणीको महलको ३(१) बमोजिम कैद बर्ष १० (दश) हुने र ऐ महलको १० नं. बमोजिम प्रतिवादीले पाउने अंशको आधा अंश पीडित पार्वती चलाउनेले पाउने गरी शुरु कञ्चनपुर जिल्ला अदालतले गरेको इन्साफ सदर गरेको पुनरावेदन अदालत महेन्द्रनगरको १०६१।९।२०।३ को फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ। प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । मिसिल नियमानुसार बुझाइदिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.शारदाप्रसाद पण्डित

 

 

इति सम्वत् २०६३ साल जेठ १७ गते रोज ४ शुभम् .............

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु