शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७१०१ - जवरजस्ती करणी ।

भाग: ४४ साल: २०५९ महिना: भाद्र अंक:

निर्णय नं.७१०१            ने.का.प. २०५९ अङ्क ५.६

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री टोपबहादुर सिंह

माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल

सम्वत २०५७ सालको फौ.पु.नं. .. २५७७

फैसला मितिः २०५९।२।२७।२

 

मुद्दाःजवरजस्ती करणी ।

 

पुनरावेदक

वादीः  जि. मोरङ डाँगीहाट गा.वि.स. वडा नं. ९ बस्ने चित्रमाया धिमालको जाहेरीले श्री ५ को   सरकार 

बिरुद्व

प्रत्यर्थी

प्रतिवादीः ऐ. ऐ. वस्ने दिपक भण्डारी  समेत

 

§  पीडितको योनीमा पेनिट्रेशन भएको झिल्ली (Hymen) च्यातिएको भन्ने उल्लेख भएको हुंदा करणी गरेको होइन भन्न नसकिने।

§  पीडित चित्रमायाले आफ्नो सतित्व वचाउ गर्न संघर्ष गर्न नसकेको भन्ने आधारमा मात्र निजको मन्जुरी थियो भन्ने सम्मको अनुमान गर्न सकिने अवस्था नहुंदा प्रतिवादीहरुले सामूहिक रुपमा जाहेरवालीलाई जवरजस्ती करणी गरेको ठहराउनु पर्नेमा सो नठहराई शुरु मोरङ जिल्ला अदालतले प्रतिवादीहरुलाई आरोपित कसूरबाट सफाइ दिने ठहराएको फैसला सदर गरेको पुनरावेदन अदालत विराटनगरको फैसला नमिलेकोले उल्टी हुने ।

(प्र.नं. २६)

 

पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता महेन्द्रबहादुर कार्की

प्रत्यर्थी वादी तर्फबाटः

अवलम्वित नजिरः

 

फैसला

न्या.टोपबहादुर सिंहः न्याय प्रशासन ऐन २०४८ को दफा १२(१) (ख) अन्तर्गत मुद्दा दोहोर्याई हेरी पाउं भन्ने निवेदन परी मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदन सरह दर्ता भै आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर प्रकार छ :

२.    २०४७।५।२८ गते डाँगीहाट स्थित नरवारी गाउँमा थारु जातिको नाचगान कार्यक्रम भएकोले म पनि वहिनी नावालिकालाई  साथमा लिई गएकी र सो कार्यक्रम समाप्त भएपछि आफ्नो घर आउन नावालिका वहिनी २ दिदी दुखनी धिमाल साथमा लिई राती अं. ११।१२ वजे घर आउँदै गर्दा वाटामा ऐ. वस्ने दिपक भण्डारी, ऐ. ६ वस्ने सुवास कटुवाल, ऐ. वस्ने प्रदिप कटुवाल, भिम भण्डारी र भानु राजवंशी समेत ५ जना हामी भएको ठाउँमा पुगी करणीको उद्देश्यले मलाई यौवन चिन्हमा पक्री जोर जुलुम गर्न लागेको र दिदी दुखनी भाग्न सफल भएकी, म रोई कराई गर्दा दिपक भण्डारीले आफ्नो चुप्पी झिकी आज करणी गर्न नदिए यसै चुप्पीले प्रहार गरी ज्यान लिन्छौं भनि डर त्रासमा पारी साथमा रहेकी नावालक वहिनी समेतलाई पालोपालो सँग पांचै जनाले करणी लिई वीर्यपात योनीमा भएपछि अपराधी पांचजना भागी गएको र म अवला नारीलाई आक्रमण गरी करणी गरी निजहरुको विर्य योनी र लगाएका सारी समेतमा पारी करणी लिएकाले निजहरुलाई जवरजस्ती करणी अन्तर्गत सजाय गरी पाउँ भन्ने समेत चित्रमाया धिमालको जाहेरी दर्खास्त ।

३.    प.सं. २६१ च.नं. ३६४ मिति २०४७।६।५ को कोशी अंचल अस्पतालबाट चित्रमाया धिमालको योनी जाँच रिपोर्ट मिसिल संलग्न रहेको ।

४.    २०४७।५।२८ गते प्रदिप कटुवाल, दिपक भण्डारी, भिमवहादुर भण्डारी, टेकवहादुर कटुवाल र म समेत नाच हेर्न गई राती पानी पर्न लागेकोले दिपक भण्डारी वाहेक हामी ४ जना आफ्ना घरमा गयौं । सोहीरात दिपक भण्डारी कुंडा जाहेवाली सँग ठोकिन गएको कुरा भोलिपल्ट सुने । गाउँकै गणेश चौधरीले हामी ५ चैं जनालाई बोलाई कुटपिट गरेपछि सो कुटपिटको सजायबाट जोगिन निज गणेशले जाहेरवालीलाई उक्साई उजुर गरेको हो मैले अपराध गरेको होइन भन्ने समेत प्र. भानु राजवंशीले प्रहरीमा गरेको बयान ।

५.    २०४७।५।२८ गते मेरो दाजु टेकवहादुर, भानु र भीमवहादुर नाच हेर्न गई राती १० वजे घर फर्किएका, सो दिन दिपक चित्रमाया सँग ठोकिए भन्ने भोलिपल्ट थाहा भयो । सोही कुरा लिई गाउँको गणेश चौधरीले हामीलाई कुटपिट गरेको र सोही रिसइविवाट जाहेरवालीले झुठ्ठा उजुर गरेको हो भन्ने समेत प्र. प्रदिपकुमार कटुवालले प्रहरीमा गरेको बयान ।

६.    २०४७।५।२८ गते राती नाच हेर्न गई पानी पर्न लागेकोले हामी पनि आफ्नो घर तर्फ लाग्यौं र घर छेउको कलभर्टमा बसिरहेको बेला श्याम राजवंशी आई तिमीले चित्र कुमारीलाई किन कुट्यौ भनि बतायो सो मिली सकेपछि ४।५ दिन पछि गणेश चौधरीले म, भिम, दिपक, प्रदिप र भानु राजवंशीलाई भेला गरी किन गाउँको चेलीवेटीलाई कुटपिट गरेका हौ भनि कुटपिट गरे सोही रिसले गणेश चौधरीको भनाइमा लागी जाहेरवालीले झुठ्ठा पोल गरेकी हुन् भन्ने समते प्र. टेकवहादुर कटुवालको प्रहरीमा भएको वयान ।

७.    २०४७।५।२८ गते रात म भाई दिपक, सुवास, प्रदिप, भानु सांस्कृतिक कार्यक्रम हेरी, पानी पर्न आटेपछि भाई दिपक वाहेक हामी ४ जना आफ्नो घर गयौं दिपक सँग जाहेरवाली ठोकियो अरे भन्ने सुनेको हुँ मैले जाहेरवालीलाई जवरजस्ती करणी गरेको छुईन भन्ने समेत व्यहोराको प्र. भिमवहादुर भण्डारीको प्रहरीमा भएको वयान ।

८.    २०४७।५।२८ गते मेरो वैनी होम कुमारी, रेणुका र म समेत कार्यक्रम हेर्न गई पानी पर्न लागेकोले रात ९।१० वजे म मेरो बडा वावु जवरवहादुरको घर तर्फ गयौं । सोही अवस्था वहिनीहरु र चित्र कुमारी जाँदैरहेछन् र वाटोमा जाँदा अध्यारो भएकोले जाहेरवाली सँग म ठोकिन पुगे । सोही कारणबाट जाहेरवाली रुइन्, मैलै जवरजस्ती करणी गरेको छुइन । सोही रिसइविले मलाई जाहेरी दिएकी हुन् भन्ने समेत प्र. दिपक भण्डारीको प्रहरीमा भएको बयान कागज ।

९.    मिति २०४७।५।२८ गते म, चित्रमाया, मेरो भाई जितवहादुर र चित्र मायाको वहिनी नावालिका नाच हेर्न गएका र सो रात १२ वजे प्र. ५ जना घर गाउँको बाटो लागि आउँदा भिमबहादुरले मलाई एक्कासी समाउन आई मेरो पेन्टी समाउँदा निजको हात झड्काली म भाँगे । चित्रमाया समेतलाई छाडी भागेकाले जवरजस्ती करणी गरे, गरेनन् भन्ने समेत व्यहोराको प्रहरीमा भएको दुखनी धिमालको ठाडो कागज ।

१०.    दिदी चित्रमायालाई ५ जनाले घेरी छेकी भुईमा लडाई दिपकले चुप्पी देखाई हामी ५ जनालाई करणी गर्न दे नत्र चुप्पी रोपी मारी फाली दिन्छु भनेपछि दिपक, भिम, भानु र सो पछि क्रमशः २ जनाले करणी गरी भागी गए दिदी उत्तानै परेकी थिई र निकै वेर पछि दिदी उठी रुँदैरुँदै दिदीको पछि विना गुरुङ समेत ३ जना गयौं चुपी देखेकाले म र दिदी नवोली उभिई राख्यौ भन्ने समेत व्यहोराको ९ वर्षकी कल्पना धिमालले प्रहरीमा गरेको ठाडो कागज ।

११.    २०४७।५।२८ मा नाच हेर्न गई चित्रमाया निजकी वहिनी कान्छी कल्पना र म घर फर्कदै गर्दा बाटोमा गाउँकै दिपक, भिम र अरु ३ जना भई दुखनीलाई समाउन खोज्दा निज भागेकीले दिपकले चित्रमायाँलाई समाई सो पश्चात ५ जनाले लडाई दिक भण्डारीले म समेत ५ जनालाई करणी गर्न दे नत्र चुप्पीले मारी दिन्छु भनि देखाई पहिला दिपक त्यस पछि भिम र क्रमस चित्रमायालाई करणी गरी भागे भन्ने समेत वर्ष ९ कि विना गुरुङ्गको प्रहरीमा भएको ठाडो कागज ।

१२.   प्रतिवादीहरु कसूर गरेमा इन्कार रहेता पनि नावालिकाहरुले गरि दिएको कागज डाक्टरको जाँच रिपोर्टमा योनी भित्र पेनिट्रेशन भएको, हाईमन च्यातिएको भन्ने जाँच रिपोर्टबाट जाहेरवालीलाई करणी भए गरेको कुरा पुष्टि हुन आएकोले विरुद्व खण्डमा लेखिएका प्र. दिपक भण्डारी, प्रदिप कुमार कटुवाल, टेकवहादुर कटुवाल, भानु राजवंशी र भिमवहादुर भण्डारी समेत प्रतिवादीहरुलाई जवरजस्ती करणीको ३ नं. बमोजिम कारवाही सजाय गरी सोही ऐनको १० नं. वमोजिम समेत हुन पेश गरिएको छ साथै दिपक भण्डारीको उमेर वर्ष १३ र प्रदिप कटुवालको उमेर १५ वर्ष हुँदा दण्ड सजायको १ नं. बमोजिम हुन समेत सादर अनुरोध छ भन्ने समेतको प्रहरी प्रतिवेदन ।

१३.   मिति २०४७।५।२८ गते हामी पक्राउ परेका ५ जना नाच हेर्न गई राती ११ बजे घर फर्कियौं । जाहेवालीलाई मैले करणी गरेको होइन । जाहेरवालीको छिमेकी गणेश चौधरीसँग रिसइवि भएको हुँदा हामीलाई पोल गरेकी हुन् भन्ने समेत व्यहोराको अदालतमा भएको प्र. प्रदिपकुमार कटुवालको वयान कागज ।

१४.   मिति २०४७।५।२८ गते टेकबहादुर, प्रदिप समेतका मानिसहरु नाँच हेर्न गई हामी ११ वजे रात घर फर्किएका हौं । जाहेरवालीलाई करणी गरेको होइन । गणेश चौधरी जाहेरवालाको छिमेकीले हामीलाई नाचमा हारमनिम लगी विगारी दिए भनि भन्दा कुटेर सोही रिसइविवाट झुट्टा पोल गरेका हुन् भन्ने समेत व्यहोराको प्र. भानु राजवंशीको अदालतमा भएको वयान ।

१५.   मिति २०४७।५।२८ गते नाच हेर्न गई ११ वजे तिर राती घर फर्किए । जाहेरवालीलाई मैले जवरजस्ती करणी गरेको होइन । जाहेरवालीका छिमेकी गणेश चौधरीले हारमनिम लगेर विगारेको भनेकाले झगडा भएको थियो । सोही रिसले पोल गरेका हुन भन्ने समेत व्यहोराको प्र. दिपक भण्डारीको अदालतमा भएको बयान ।

१६.    मिति २०४७।५।२८ गते नाच हेर्न गई हेरी रात ११ वजे घर फर्कदा भिम, प्रदिप, दिपक, कुल राजवंशी समेत साथमा थिए । मैले सो रातमा जाहेरवालीलाई जवरजस्ती करणी गरेको होइन । गणेश चौधरी जाहेरवालीको छिमेकी हुँदा र निज सँग झगडा भएको कारणले पोल गरेकी होलिन, प्रहरीमा डर त्रासले सो बयान गरेको हुन् भन्ने समेत प्र. टेकबहादुर कटुवालको अदालतमा भएको बयान ।

१७.   मिति २०४७।५।२८ गते थारु टोलमा नाच हेर्न गई म शुभक, नाजिर ठाडी राजवंशी समेतले नाच हेरी रात १०।११ वजे तिर संगै घर आएका सो रात जाहेरवालीसँग देखादेख भएन । निज जाहेरवालीलाई जवरजस्ती करणीको गरेको होइन । टोलको हारमुनियम लगेको र विग्रिएको हारमुनियम राती नै जिम्मा लगाउँदा हामीले नवनाई फिर्ता लिदैंनौं भनि घर आएकोमा ५ दिन पछाडि थारुहरुले हामीलाई झुक्याएर बोलाएर लगी जाहेरवालीको घरको कोठामा थुनी कुटपिट गरी म समेतलाई हारमुनियमको निउँमा जवरजस्ती करणीको अभियोग लगाई फसाउन जाहेरवालीलाई उचाली हात लिई झुठ्ठा जाहेरी दिएका हुन् भन्ने समेत भिमवहादुर भण्डारीले जिल्ला अदालतमा गरेको बयान ।

१८.   जाहेरवालीको उमेर १९ वर्ष देखिएको र यी प्रतिवादीले करणी गरेबाट हाइमन च्यातिएको भन्ने कुरा मिसिलबाट नखुलेको र करणी गर्ने प्रतिवादीको अंग जाँच भएको समेत नदेखिँदा अ.वं. ११८ नं. को देहाय २ को अवस्था विद्यमान नदेखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई सबै प्र. हरुलाई तारेखमा राखी मुद्दाको पूर्पुक्षा गर्नु भन्ने समेत मोरङ जिल्ला अदालतबाट भएको आदेश ।

१९.    तथ्ययुक्त ठोस सवूद प्रमाणको अभावमा प्रतिवादी दिपक भण्डारी, भिमवहादुर भण्डारी, टेकबहादुर कटुवाल, भानु राजवंशी र प्रदिप कुमार कटुवालले आरोपित कसूरबाट सफाइ पाउने ठहर्छ, भन्ने समेत मिति २०५०।५।२१।२ मा मोरङ्ग जिल्ला अदालतबाट भएको फैसला ।

२०.   अभियुक्तहरुलाई सवूद प्रमाणबाट कसूरदार ठहर नगरी सफाइ दिएको मोरङ्ग जिल्ला अदालतको फैसला वदर गरी मिसिल संलग्न प्रमाणको मूल्यांकन गरी प्रतिवादीहरुलाई अभियोग माग दावी अनुसार सजाय गरी पाउँ भन्ने समेत वादी श्री ५ को सरकारका तर्फबाट पु.वे.अ. विराटनगरमा २०५१।१।२७।३ मा दर्ता गराएको पुनरावेदन पत्र ।

२१.   जाहेरवालीको किटानी जाहेरी तथा सोही मिलानको बकपत्र घटनास्थलमा रहेको नावालिक कल्पना र विनाको वकपत्र र योनीमा पेनिट्रेशन भएको र हाइमन च्यातिएको भन्ने कोशी अंचल अस्पतालको प्रतिवेदन समेतका कारण प्रमाणबाट प्रतिवादीहरुलाई सफाइ दिने गरि शुरुले गरेको फैसला फरक पर्न सक्ने देखिँदा छलफलको लागि अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली २०४८ वमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने पु.वे.अ विराटनगरको आदेश ।

२२.   पीडित जाहेरवालीले शुरु जाहेरीमा करणी हुँदाको वीर्य साडीमा समेत लागेको भनेकिमा सो दाखिल हुन आई प्रमाणित हुन आएको अवस्था छैन । मिति २०४७।५।२८ को घटनाको विषयलाई लिएर २०४७।६।३ मा जाहेरी परी २०४७।६।५ मा पीडितको शारीरीक परीक्षण भएको पाइन्छ । जवरजस्ती करणी जस्तो मुद्दामा करणीको चिन्ह आदि तत्काल संकलित हुन सक्नु पर्ने सो सकेको देखिएन । चिकित्सकको रायमा करणीको चिन्ह पीडीतको जाँच गर्दा नपाइएको भन्ने छ । पेनिटे«शन र हाईमन च्यातिनु करणी वाहेक अरु कारणले पनि हुन सक्छ भन्ने चिकित्सकको वकपत्र देखिन्छ । पीडित चित्रमायाले जवरजस्ती करणी अघि पछि हार गुहार गर्दै घर गाउँमा गएको भन्ने पनि छैन र विना गुरुङको वकपत्रबाट करणी पछि सँगै घर गएको भन्ने देखिन्छ । २२ वर्ष उमेरकी दुखनी धिमालले म चित्रमाया भन्दा पछाडि थिएं, कुनै किसिमको घटना भएन भनि वकपत्र गरि दिएको देखिएबाट निजको वकपत्र तथ्यगत रुपमा विरोधाभासपूर्ण देखिन आएको छ । प्रतिवादीहरु प्रहरी र अदालतमा समेत इन्कार रहेको पाइन्छ। प्रतिवादीहरुको पनि तत्काल परीक्षण हुन सकेको छैन । यस अवस्थामा शुरु जिल्ला अदालतले प्रतिवादीहरुले आरोपित कसूरबाट सफाइ पाउने ठहराएको फैसला मनासिव हुँदा सदर हुने ठहर्छ, वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेतको पुनरोदन अदालत विराटनगरको मिति २०५२।९।२३ को फैसला ।

२३.   प्रतिवादीहरुले जवरजस्ती करणी गरेका हुन् भनि किटानी जाहेरी परेको र अदालतमा उपस्थित भई जाहेरवालीले वकपत्र गर्दा समेत आफ्नो शुरु जाहेरीकै व्यहोरा खुलाई लेखि दिएको अवस्था छ । वारदात हुँदाको अवस्थामा प्रत्यक्षदर्शीको रुपमा रहेका कल्पना धिमाल तथा विना गुरुङ्गले मौकामा कागज गर्दा र पछि अदालतमा समेत उपस्थित भई वकपत्र गर्दा शुरु मौकाको कथनलाई पुष्टी गर्दै प्र. दिपक समेतले जाहेरवालीलाई जवरजस्ती करणी गरेको हो भनि खुलाएको पाइन्छ । कोशी अञ्चल अस्पतालको मिति २०४७।६।५ गतेको जाँच रिपोर्टबाट पनि जाहेरवालीको हाईमन च्यातिएको  र योनीमा पेनिट्रेशन भएको भन्ने देखिएबाट शुरु जाहेरी तथा प्रत्यक्षदर्शीहरुको भनाइलाई थप पुष्टी गरेको अवस्था छ । उपरोक्त आधार प्रमाण साथै सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजिर (ने.का.प. २०४६ अंक ७, पृष्ठ ७२७) का आधारबाट समेत शुरुको फैसला र सो फैसलालाई सदर गरेको पु.वे.अ.को फैसलामा गम्भीर त्रुटि भएको हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (ख) बमोजिम मुद्दा दोहोर्याई हेरी उक्त फैसला वदर गरी शुरु माग दावी बमोजिम सजाय समेत गरी पाउँ भन्ने समेतको श्री ५ को सरकारका तर्फबाट यस अदालतमा परेको मुद्दा दोहोराई हेरी पाउँ भन्ने भन्ने निवेदन पत्र ।

२४.   यसमा प्रतिवादीहरु उपर पीडित चित्रमाया धिमालको किटानी जाहेरी तथा वकपत्र एवं चश्मदित नावालिकाहरु कल्पना धिमाल र विना गुरुङ्ग समेतको अनुसन्धानको क्रममा भएको कागज र अदालतमा भएको वकपत्रबाट प्रतिवादीहरुले जाहेरवाली चित्रमायालाई करणी गरेको भन्ने देखिने तथा चिकित्सकको जाँच प्रतिवेदनबाट करणी भएको भन्ने अवस्था समेत हुँदा प्रतिवादीहरुलाई सफाइ दिएको पुनरावेदन अदालत, विराटनगरको फैसलामा ने.का.प. २०४६ पृष्ठ ७२७ मा प्रकाशित नि.नं. ३८७४ को जवरजस्ती करणी मुद्दामा प्रतिपादित सिद्वान्त समेतको विपरीत हुँदा न्याया प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड  (ख) को आधारमा प्रस्तुत मुद्दा दोहोराई हेर्ने निस्सा प्रदान गरिएको छ । नियम बमोजिम गरी पेश गर्नु भन्ने यस अदालतबाट मिति २०५७।२।४ मा भएको आदेश ।

२५.   नियम बमोजिम साप्ताहिक तथा आजको दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितका मिसिल संलग्न सम्पूर्ण कागजातहरुको अध्ययन गरी पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान उप न्यायाधिवक्ता श्री महेन्द्रवहादुर कार्किले पीडीतको किटानी जाहेरी तथा अदालतको वकपत्र, चश्मदिद व्यक्तिहरुको वकपत्र एवं चिकित्सकको जाँच प्रतिवेदन समेतबाट प्रतिवादीहरुले पीडीत जाहेरवालीलाई जवरजस्ती करणी गरेको पुष्टी भइरहेको अवस्थामा अभियोग माग दावी बमोजिम कसूर स्थापित गरी सजाय गर्ने गरी फैसला हुनु पर्नेमा प्रतिवादीहरुलाई सफाइ दिने गरी भएको शुरु जिल्ला अदालतको फैसला र सोलाई सदर गर्ने गरेको पु.वे.अ. को फैसला त्रुटिपूर्ण हुँदा वदर गरी अभियोग माग दावी बमोजिम होस् भनि गर्नु भएको वहस समेत सुनी निर्णय तर्फ विचार गर्दा, पुनरावेदन अदालतको फैसला मिलेको छ छैन र पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन भन्ने सम्बन्धमा नै निर्णय दिनु पर्ने देखियो । 

२६.   यसमा पीडित चित्रमाया धिमाललाई प्रतिवादीहरुले जवरजस्ती करणी गरे भनि दिएको जाहेरी दर्खास्त र अदालतमा आई बकपत्र गर्दा समेत सो जाहेरीलाई पुष्टी हुने गरी वकपत्र गरेको पाइन्छ । पीडित चित्रमायासँग साथमा रहेको नावालिका वर्ष ९ कि विना गुरुङ्ग तथा अर्की  ९ वर्षकी कल्पना धिमाल तथा निजकी दिदी नाताकी दुखनी धिमाल मेतले प्रतिवादीहरु मध्ये दिपक भण्डारी र त्यसपछि अरुहरुले पालैपालो सँग पीडित चित्रमायालाई चुप्पी देखाई भुँईमा लडाई जवरजस्ती करणी गरेका हुन् भनि वकपत्र गरेको पाइन्छ । पीडित चित्रमायासंग साथमा रहेका नावालिका वर्ष ९ की विना गुरुङ तथा अर्की ९ वर्षकी कल्पना धिमाल तथा निजकी दिदी नाताकी दुखनी धिमाल समेतले प्रतिवादीहरु मध्ये दिपक भण्डारी र त्यसपछि अरुहरुले पालैपालोसंग पीडित चित्रमायालाई चुप्पी देखाई भुईमा लडाई जवरजस्ती करणी गरेका हुन भनी वकपत्र गरेको पाइन्छ । पीडित चित्रमायाको शारीरिक जांच गर्ने डा. कस्तुरी मल्लले पेनिट्रेशन भएको हो, शुक्रकिट फेला परेन, अरु शारीरीक संघर्ष गर्दाका अवस्था लाग्न सक्ने चोटपटक समेत केही फेला नपरेको भनी अदालत समक्ष आई वकपत्र गरेको पाइन्छ । पीडितको योनीमा पेनिट्रेशन भएको झिल्ली (Hymen) च्यातिएको भन्ने उल्लेख भएको हुंदा निजलाई करणी गरेको होइन भन्ने देखिएन । अव प्रतिवादीहरुले नै उक्त करणी गरेको हो होइन भन्ने सम्वन्धमा विचार गर्दा रातको ११।१२ वजेको समयमा पीडित समेत थारु नाचगान हेरी आफ्नो घरमा फर्किरहेको अवस्थामा पीडितलाई समाएको र करणी गरेको भन्ने निजका साथमा रहेका  कल्पना धिमाल, दुखनी धिमाल र विना गुरुङ समेतले अदालत समक्ष उपस्थित भई किटानी साथ वकपत्र गर्दा लेखाई दिएको पाइन्छ । पीडितले आफ्नो सतित्व जस्तो कुरामा प्रतिवादीलाई करणीको अभियोग लगाउनु पर्ने सम्मको रिसइवी प्रतिवादीहरुले देखाउन नसकेको र निजहरुको वारदातस्थलमा उपस्थिति रहेकै प्रमाणबाट देखिन आयो । डा.कस्तुरी मल्लले अदालतमा गरेको वकपत्रमा समेत पेनिट्रेशन भएको र Hymen च्यातिएको भन्ने प्रतिवेदनलाई पुष्टी गरिदिएको र पीडितको मन्जुरीबाट करणी लेनदेन भएको भन्ने समेत अवस्था देखिएको वा देखाइएको छैन । प्रतिवादीहरु दिपक भण्डारी, भिमबहादुर भण्डारी, टेकबहादुर कटुवाल, भानु राजवंशी र प्रदिपकुमार कटुवाल समेत ५ जनाको वीचमा वकपत्रमा १६ वर्ष र जाहेरीले १९ वर्ष लेखाएकी पीडित चित्रमायाले आफ्नो सतित्व वचाउ गर्न संघर्ष गर्न नसकेको भन्ने आधारमा मात्र निजको मन्जुरी थियो भन्ने सम्मको अनुमान गर्न सकिने अवस्था नहुंदा प्रतिवादीहरु दिपक भण्डारी, भिमबहादुर भण्डारी, टेकबहादुर कटुवाल, भानु राजवंशी र प्रदिपकुमार कटुवालले सामूहिक रुपमा जाहेरवालीलाई जवरजस्ती करणी गरेको ठहराउनु पर्नेमा सो नठहराई शुरु मोरङ जिल्ला अदालतले प्रतिवादीहरुलाई आरोपित कसूरबाट सफाइ दिने ठहराएको फैसला सदर गरेको पुनरावेदन अदालत विराटनगरको फैसला नमिलेकोले उल्टी भै प्रतिवादीहरुले आरोपित कसूर गरेको ठहर्छ । सो ठहर्नाले निजहरुलाई मुलुकी ऐन जवर्जस्ती करणीको ३ नं. बमोजिम जनही कैद वर्ष ४(चार) हुने भै प्रतिवादी मध्येका दिपक भण्डारी र प्रदिप कटुवालको हकमा मुलुकी ऐन दण्ड सजायको १ नं. बमोजिम हुने भनि शुरु अभियोग माग दावी देखिँदा निजहरुका हकमा भने मुलकी ऐन तत्कालीन दण्ड सजायको १ नं. बमोजिम उमेर पुगेका व्यक्तिलाई हुने सजायको आधा सजाय अर्थात जनही कैद वर्ष २(दुई) हुने ठहर्छ । साथै मुलुकी ऐन जवर्जस्ती करणीको १० नं. वमोजिम पीडित चित्रमायाँ धिमालले प्रतिवादीहरुको आधा अंश दिलाई पाउने समेत ठहर्छ । अरुमा तपसिल वमोजिम गर्नु ।

 

तपसिल

यसमा माथि ठहर खण्डमा उल्लेख भए वमोजिम शुरु जिल्ला अदालतले प्रतिवादीहरुलाई सफाइ दिने गरी गरेको फैसला र सोलाई सदर गर्ने गरेको पुनरावेदन अदालतको फैसला उल्टी भै प्रतिवादीहरु उपर अभियोग ठहर भै कसूर स्थापित भै सजाय समेत हुने ठहरेकाले देहाय बमोजिमको लगत शुरु जिल्ला अदालतमा दिनु ...... १

 

(क)     प्रतिवादी भिमवहादुर भण्डारीके कैद वर्ष ४ (चार),प्रतिवादी टेकवहादुर कटुवालके कैद  वर्ष ४ (चार),प्रतिवादी भानु राजवंशीके  कैद वर्ष ४ (चार) ,प्रतिवादी दिपक भण्डारीके कैद वर्ष २ (दुई)प्रतिवादी प्रदिप कुमार कटुवालके कैद वर्ष २ (दुई) हुने ठहरेकोले निजहरु मिति २०४७।६।५ देखि २०४७।६।२१ सम्म अनुसन्धानको सिलसिलामा हिरासतमा वसी २०४७।६।२२ बाट तारेखमा छुटेको देखिँदा सो अवधि दिन १७(सत्र) कट्टा गरी बाँकी हुन आउने अवधि अर्थात प्रतिवादी मध्येका भिमवहादुर भण्डारी, टेकवहादुर कटुवाल र भानु राजवंशीको हकमा रुजु नहुँदा जनही ३ वर्ष ११ महिना १३ दिन तथा प्रतिवादी मध्येका दिपक  भण्डारी  र  प्रदिप  कुमार कटुवालको हकमा रुजु नहुँदा जनही १ वर्ष ११ महिना १३ दिनको कैदको लगत कसी असुल गर्नु......१

 

(ख)   पीडित चित्रमाया धिमालले प्रतिवादीहरुको आधा अंश दिलाई पाउने ठहरेकाले प्रतिवादीहरुको आधा अंश सर्वस्व गरी निज चित्रमायालाई दशौद नलिई कानून वमोजिम भराई दिनु प्रस्तुत फैसलाको जनाउ पीडित चित्रमायालई दिई मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाई दिनु .....

 

उक्त रायमा सहमत छु ।

 

न्या.दिलिपकुमार पौडेल

 

इति संवत् २०५९ साल जेष्ठ २७ गते रोज २ शुभम् .......................

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु