शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७६५४ - जालसाज

भाग: ४८ साल: २०६३ महिना: जेष्ठ अंक:

निर्णय नं.७६५४           ने.का.प.२०६३       अङ्क २

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री खिलराज रेग्मी

माननीय न्यायाधीश श्री हरिजंग सिजापती

सम्बत् २०५८ सालको फौ.पु.नं.२९६०

फैसला मितिः २०६२।१०।१९।४

 

मुद्दा : जालसाज ।

 

पुनरावेदक / प्रतिवादीः कञ्चनपुर जिल्ला श्रीपुर गा.वि.स.वडा नं.७ बस्ने सोभान सिंह खड्का

बिरुद्ध

विपक्षी / वादीः ऐ.जिल्ला महेन्द्रनगर नगरपालिका वडा नं.४ बस्ने वलवहादुर सिनाल समेत

 

§  अंश मुद्दाको फैसलाले पनि ऋण वण्डा हुने ठहराएको अवस्था नभै सो फैसला अन्तिम भएर रहेको देखिदा पछि वादीले दिएको लेनदेन मुद्दामा रतनवहादुर बाहेक यी वादीहरु मध्ये कसैलाई पनि विपक्षी बनाएको नदेखिएकोले सो लिखत सोही समयमा प्रकाशमा आएको संझन नमिल्ने ।

§  लिखत बमोजिमको साँवाव्याज वादीले प्रतिवादीबाट भरी पाउने ठहर भएको जिल्ला अदालतको २०५४।६।२ को फैसलाको नक्कल वादीहरुले २०५५।१।२५ मा रीतपूर्वक सारी थाहा पाएपछि मात्र सो लिखतको तथ्य प्रकाशमा आई आफ्नो हकमा समेत प्रतिकूल असर परेको ठानी २०५५।४।१७ मा वादीहरुको प्रस्तुत मुद्दाको फिराद परेको देखिएबाट काम भए गरेका मितिले किर्ते कागजको १८ नं.को हदम्याद भित्र फिराद दिनुपर्ने भन्ने सान्दर्भिक नदेखिने ।

(प्रकरण नं.१८)

§  किर्ते कागजको ३ नं. को कानूनी व्यवस्थालाई सरसर्ती हेर्दा जालसाजी क्रिया हुनलाई अर्काको हक मेट्ने वा कुनै तरहसँग नोक्सान पार्ने क्रिया भै सकेको अवस्थाको अनिवार्यता देखिने।

(प्रकरण नं.१९)

§  वादीहरुले प्रतिवादीहरुको के कुन काम कुराले आफ्नो हक मेटिन गएको हो सो कुराको स्पष्ट रुपमा जिकिर लिन नसकेको र वादी दावीमा उल्लेख गरेको तथ्यबाट वादीहरुको हक जाने, नोक्सान हुने कुनै काम कारवाही भए गरेको अवस्था देखिन नआएकोले त्यस्तो अस्पष्ट र अनिश्चित दावीको आधारमा वादी माथि कुनै दायित्व आउँछकि भनी पूर्व अनुमान गरी जालसाजी जस्तो फौजदारी अपराधमा प्रतिवादीहरुलाई कसूरदार ठहराउन न्यायोचित नहुने ।

(प्रकरण नं.२०)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्धान अधिवक्ताद्वय श्री शंभु थापा र श्री कृष्ण थापा

विपक्षी वादी तर्फवाटः

अवलम्वित नजीरः

 

 

फैसला

न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत महेन्द्रनगरको मिति २०५७।१२।६ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोराई पाउँ भनी प्रतिवादीको यस अदालतमा परेको निवेदनमा मुद्दा दोहोराउने निस्सा प्राप्त भै पुनरावेदनमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :

२.    बुबा उदय सिनालका प्रतिवादी रतनवहादुर सिनाल समेत हामी ५ भाई छोरा हौं । विपक्षी रतनले हाम्रो अंश भाग लाग्ने सम्पत्ति हाम्रो जानकारी विना बेचविखन गरी दिएकाले अंश र र.पा.बदर हक कायममा मुद्दा दिई हाम्रो दावी बमोजिम अंश पाउने र र.पा.बदर हुने ठहर अन्तिम समेत भएको छ । विपक्षी रतनवहादुरले विपक्षी सोभान सिंहसँग मिलोमतो गठजोर गरी अंश मुद्दाको तायदातीमा ऋण देखाएको ऋणका हकमा साहुका उजुर परेका वखत ठहरे बमोजिम हुने भनी ठहर भएको थियो ।

३.    विपक्षी सोभानले विपक्षी रतन सिनालका नाउँमा २०५४मा लेनदेन मुद्दा दायर गरेकोमा रतनवहादुरले म्यादमा प्रतिउत्तर नफिराई म्याद गुजारी बसेकाले १,५०,०००।साँवा र १० प्रतिशत व्याज समेत भरी पाउने ठहरी २०५४।६।२ मा मुद्दा फैसला भएको छ । विपक्षी सोभान त्यति ठूलो रकम ऋण दिन र रतन सिनाल त्यही लिने व्यक्ति नै होइनन् । विपक्षीहरुले यसरी झुठ्ठा तथ्य तयार गरी ऋण लिनु दिनु गरेको बनाई हामीहरु उपर समेत दण्ड सजायको २६ नं.समेतको कानूनी व्यवस्था आकर्षित गराउने गरी हाम्रो हक हित जाने जालसाजी कार्य गरेकोले हाम्रो हकमा जालसाजको कार्य बदर गरी किर्ते कागजका १० नं.बमोजिम सजाय गरी पाउँ भन्ने समेतको फिराद दावी ।

४.    फिराद लेख झुठ्ठा हो । म सरहको प्रतिवादी रतनवहादुर सिनाल चिने जानेको, महेन्द्रनगरको खैरमहिमा जग्गा, घर, सम्पत्ति भै सम्पन्न व्यक्ति भएको म पनि श्रीपुर बेलौरी टाउनमा जग्गा पक्की घर सम्पत्ति वाला ऋण दिन सक्ने हैसियतको हुँदा प्रतिवादी रतनवहादुरले मागेको ऋण दिएको पछि ऋण फिर्ता दिन इन्कार गर्दा लेनदेन मुद्दा दिई भरी पाउने ठहर भएपछि बिगो भरी भराउको निवेदन दिई कारवाही चलिरहेको छ । यिनीहरुको अंशमा असर पर्ने गरी कुनै जालसाज गरेको होइन । मैले लिनुपर्ने रुपैयाँ भुस गराउन दाजुभाईहरु मिली मुद्दा गरेको हुन सक्छ । दण्ड सजायका १८ नं.ले सजाय गरी ऐ.का १९ नं. बमोजिम क्षतिपूर्ति दिलाई पाउँ भन्ने समेत मिति २०५५।७।१९ को प्रतिवादी सोभान सिंह खड्काको प्रतिउत्तर पत्र ।

५.    फिरादी र म संगोल मै रहेको अवस्थामा मेरा परिचित सोभान सिंह खड्काबाट २०४७।८।२५ का दिन रु.२,००,०००।कर्जा निकालेको र.पा.बदर र अंश मुद्दा चल्दाका अवस्थामा फांटवारीमा सो कर्जा देखाएको र विपक्षीहरुले कर्जा बुझाउन कुनै पहल नगरेकोले एक्लै उक्त कर्जा बुझाउन असमर्थ भएबाट लेनदेनमा प्रतिउत्तर नफिराई बसेको हुँ । जालसाज गरेको होइन । फिरादीहरुको हक दैयामा असर परेको भए कागज भए गरेका मितिले २ वर्ष भित्र फिराद दर्ता गरी सक्नु पर्ने थियो अहिले आएर मुद्दा दर्ता गराउने हदम्याद किर्ते कागजको १८ नं.ले विपक्षीहरुलाई प्राप्त छैन झुठ्ठा फिरादबाट फुर्सद गरी द.स.का १८ नं.ले सजाय गरी पाउँ भन्ने समेत व्यहोराको मिति २०५५।९।१३ को प्रतिवादी रतनवहादुर सिनालको प्रतिउत्तर पत्र ।

६.    २०४७ सालमा रतनवहादुर सिनाल र सोभान सिंह खड्काका बीच लेनदेन कारोवार कुनै केही भएको होइन । प्रतिवादीहरु त्यति रुपैयाँ लिन दिन सक्ने हैसियत वाला होइनन् । वादीहरुलाई फसाउने नियतले जालसाजबाट कागज खडा गरेको हुनुपर्छ भन्ने समेत वादीको साक्षी प्रेमराम दमाईको बकपत्र ।

७.    प्रतिवादी सोभान सिंह खड्का र रतनवहादुर सिनालका बीच रुपैयाँ लेनदेन भएको होइन । सोभान सिंह खड्का त्यति रुपैयाँ दिन सक्ने सामर्थवान व्यक्ति होइनन् । बलवहादुर र रतनवहादुरको अंश मुद्दा परेपछि जालसाज गरी सो कागज बनाएको हुनुपर्छ भन्ने समेत व्यहोराको वादीको साक्षी विष्णु राम दमाईको बकपत्र ।

८.    प्रतिवादी सोभान सिंह खड्काले रतनवहादुर सिनाललाई २०४७ सालमा रु.२,००,०००।कर्जा दिएको देखेको हुँ । कर्जा बजारमा दिएको र दिन सक्ने हैसियतको व्यक्ति हो भन्ने समेत प्रतिवादी सोभान सिंह खड्काको साक्षी गंगाराम मिस्त्रीको बकपत्र ।

९.    तमसुक जालसाजपूर्ण होला भन्ने विश्वास लाग्दैन । रत्नवहादुरकी श्रीमती विमार भएको बेला रु.२,००,०००।सोभान सिंहबाट कर्जा झिकी ईलाज गर्न भारततर्फ गएको कुरा थाहा छ भन्ने समेत प्रतिवादी रतनवहादुर सिनालको साक्षी हरिहर पाण्डेयको बकपत्र ।

१०.    प्रतिवादी रतनवहादुरले २०५१।१०।१९ मा तायदाती पेश गर्दा आफ्नो नाममा कि.नं.८१५, ८१७ को जम्मा ०१४१६ जग्गा मात्र देखाएको पाईन्छ । एकातिर दाजुको लागि प्रतिवादी रत्नवहादुरले ऋण मागी दिने कार्य पत्यारलायक देखिदैन । प्रतिवादी सोभान सिंहले पनि आफुसँग लिएको रकम उठ्ने सम्भावना नदेखि प्रतिवादीको ०१४१६ जग्गा नहेरी त्यसै लगानी गर्ने प्रश्न पनि आउँदैन । अर्कोतिर तमसुकमा व्यापार गर्न भन्ने कारण जनाईएको छ । तायदातीमा दाजुको लागी ऋण लिएको भन्ने बोली परेको छ । वादीका साक्षीको बकपत्रमा श्रीमतीको उपचार गर्न प्रतिवादी रतनवहादुरले ऋण लिएको भन्ने भनाई देखिदा त्यस्तो तीन किसिमको फरक फरक भनाईको कारणबाट वादीको भनाई नै पुष्टि भएको देखियो । यसरी वादीको अंश हकमा असर पर्ने गरी नभए नगरेको वनावटी काम कुराबाट वादीले अंश मुद्दाबाट पाउने सम्पत्ति प्रतिवादीहरुले लिने खाने नियतले लेनदेन भएको भन्ने गरेको देखिंदा किर्ते कागजको ३ नं.ले सो काम कारवाही यी वादीहरुको हकमा सम्म जालसाजी ठहर्छ । सो ठहर्नाले लेनदेन मुद्दामा वादीले पक्रेको विगो रु.१,५०,०००।को सयकडा २५ प्रतिशतले हुने रु.३७,५००।किर्ते कागजको १० नं. बमोजिम प्रतिवादीहरुलाई जरिवाना हुन्छ भन्ने समेतको शुरु कन्चनपुर जिल्ला अदालतको मिति २०५६।८।२६ को फैसला ।

११.    शुरु कन्चनपुर जिल्ला अदालतले म समेतले जालसाज गरेको ठहराई जरिवाना समेत गरेको मेरो विरुद्धको फैसला मुलुकी ऐन किर्ते कागजको १८ नं. र प्रमाण ऐन, २०३१ को दफा ३, , ५४ विरुद्ध हुँदा र हदम्याद जस्तो कुरोलाई शंका र अनुमानको भरमा कायम गरी जालसाज गरेको ठहराएको शुरुको फैसला बदर गर्न अ.वं.२०२ नं.बमोजिम झगडीया झिकाई शुरु फैसलाले लागेको जरिवाना समेत फिर्ता गरी शुरु फैसला बदर गरी पाउँ भन्ने समेतको पुनरावेदक सोभान सिंह खड्काको २०५७।२।१७ को पुनरावेदन अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

१२.   मिति २०४७।८।२५ को धनी सोभान सिंह खड्काका ऋणी रतन सिं सिनाल भएको लेनदेन व्यवहारको कागजमा बन्द व्यापार गर्न भनी आफू फूले ऋण लिए दिएको पाईन्छ भने रतन सिं सिनालको वा.भक्तवहादुर धामीले मिति २०५१।१०।१९ मा दिएको २०५० सालको दे.नं.२४।१८४ को अंश मुद्दाको तायदाती विवरणमा वलवहादुर सिनालले बन्द व्यापार गर्छु ऋण निकाली देउँ भनी मलाई भन्दा ऋण निकाली पछि फिर्ता लिने गरी निज दाजुलाई दिएको भन्ने रहेको पाईन्छ । रतन सिं र वलवहादुरको बीचको व्यवहारको आधार तायदाती विवरणमा देखिई रहेको अवस्थामा सो तर्फ दृष्टि नदिई प्रतिवादीहरुलाई जालसाजीतर्फ जरिवाना समेत गर्ने गरेको कन्चनपुर जिल्ला अदालतको फैसला सोही आधारले मिलेको पाइएन । तसर्थ अ.वं.२०२ नं.तथा पुनरावेदन अदालत नियमावली, २०४८को नियम ४७ बमोजिम विपक्षीहरुलाई झिकाई उपस्थित भए वा म्याद गुजारेपछि नियम अनुसार पेश गर्नु भन्ने मिति २०५७।४।२२ को पुनरावेदन अदालतको आदेश ।

१३.   बलवहादुर सिनाल समेत वादी रतनवहादुर सिनाल प्रतिवादी भएको अंश मुद्दामा रतनवहादुरले २०५१।१०।१९ मा अंशको फांटवारी दिंदा प्रस्तुत मुद्दाका वादी सोभान सिंह खड्काबाट २०४७।८।२५ मा रु.२,००,०००।ऋण लिएको भनी उल्लेख गरेकोमा सो तायदाती दुवै पक्षलाई सुनाइएको देखिएन । पछि सोभान सिंह खड्काले रतनवहादुर उपर दिएको लेनदेन मुद्दामा दावी बमोजिम ठहर हुने गरी भएको फैसला अन्तिम भएको र सो फैसला पश्चात विगो भरी भराउमा सोभान सिंह खड्काले निवेदन दिंदा बलवहादुर सिनाल समेतले अंश मुद्दाको फैसला बमोजिम अंश पाउने ठहरेका कि.नं.८१५, ८१७ र ८१९ को जग्गा समेत उल्लेख गरेको कुरा थाहा पाई रतनवहादुर सिनालले लेनदेन मुद्दाका वादी प्रतिवादी उपर प्रस्तुत जालसाजी मुद्दा दिएको देखिन्छ । अंश मुद्दामा रतनवहादुरले २०५१।१०।१९ मा तायदातीमा ऋण समेत देखाएकोले सोही मितिबाट जालसाजीमा हदम्याद शुरु हुने भनी प्रतिवादीको जिकिर भएपनि अंश मुद्दाको तायदातीमा पेश भएको ऋणको हकमा साहुको उजुर परेका बखत ठहरे बमोजिम हुने भन्ने फैसला भएबाट प्रस्तुत मुद्दाका वादीहरुको सम्पत्तिबाट पनि ऋण असुल हुन सक्ने भनी पूर्व अनुमान गर्न नमिल्ने हुँदा लेनदेन मुद्दाको फैसला कार्यान्वयनको सिलसिलामा वादीहरुले अंश पाउने ठहरेको जग्गा समेतबाट विगो भरी पाउँ भनी लेनदेन मुद्दाका वादी सोभान सिंह खड्काको निवेदन परेको प्रस्तुत मुद्दाका वादीहरुलाई जानकारी भएको मितिबाट प्रस्तुत फिराद परेको देखिंदा हदम्याद नाघेको भन्न मिलेन । दावी बमोजिम जालसाजी कृया भए नभए तर्फ हेर्दा अंश मुद्दामा तायदाती दिंदा प्रस्तुत मुद्दाका प्रतिवादी रतनवहादुर सिनालले रु.२,८७,०००।ऋण मध्ये रु.५०,०००।वुझाई सकेको भनी बाँकी रकम तर्फ मात्र दावी गरी रु.५०,०००।को सम्बन्धमा भरपाई एवं लिखतमा दरपिठ समेत गरेको अवस्था नभएको र रतन वहादुरले लेनदेन मुद्दामा प्रतिउत्तर समेत नफिराएबाट लिदै नलिएको ऋणको सम्बन्धमा वादीहरुलाई समेत दायित्व थोपर्ने मनसायले प्रतिवादी रतनवहादुर र सोभान सिंह खड्काले मिलोमतो गरी लेनदेन को लिखत खडा गरेको कार्य जालसाजी हुँदा वादी दावी बमोजिम जालसाजी ठहराएको शुरु जिल्ला अदालतको फैसला मनासिव ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत महेन्द्रनगरको फैसला ।

१४.   प्रतिवादी मध्येका रतनवहादुर सिनाल र प्रत्यर्थी वादी बीच चलेको अंश मुद्दाबाट २०५२।१२।२ सम्म एका संगोलमा रहेको पुष्टी भएकोले २०४७।८।२५ मा लिएको ऋणको दायित्व लेनदेन व्यवहारको ८ नं.बमोजिम वादीहरुमा समेत नपर्ने भन्न मिल्दैन । मुद्दाबाट रतनवहादुर घरको मूली भएको तथ्यमा विवाद देखिदैन । मसँग २०४७।८।२५ मा ऋण लिएको कुरा रत्नवहादुरले वादीसँगको अंश मुद्दाको तायदातीमा २०५१।१०।१९ मा नै उल्लेख गरिसकेका छन । २०५१।१०।१९ मा नै जानकारी भएको विषयमा २०५५ सालमा जानकारी भएको भनी हदम्याद कायम गरी परेको फिराद खारेज हुनुपर्नेमा वादी दावी बमोजिम लिखत जालसाजी ठहराएको पुनरावेदन अदालतको फैसला बदर गरी वादी दावी खारेज गरी पाउँ भन्ने समेत व्यहोराको सोभान सिंह खड्काको मुद्दा दोहोराई पाउँ भनी यस अदालतमा परेको   निवेदन ।

१५.   यसमा जुन लिखतलाई जालसाजी किर्ते घोषित गरी पाउँ भनी फिराद परेको हो । सो ऋण धनको सम्बन्धमा पूर्व परेको अंश मुद्दाको तायदातीमा नै उल्लेख भएको र फैसला हुँदा सो ऋणका सम्बन्धमा पछि दावी परेका बखत हुने गरी भएको फैसला अन्तिम रुपमा रहेको सो ऋणका सम्बन्धमा वादीले गरेको दावीका आधारमा जालसाजी ठहराएको किर्ते कागजको ३ र १८ नं.को व्याख्यात्मक त्रुटी विद्यमान रहनुका साथै ने.का.प.२०३५ पृष्ठ १११, ने.का.प.२०३०, पृष्ठ ६८५, ने.का.प.२०३४, पृष्ठ १२३ समेतमा प्रतिपादित सिद्धान्तको प्रतिकूलता समेत पुनरावेदन अदालतको फैसलामा रहेको देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) र (ख) को आधारमा मुद्दा दोहोराई हेर्न निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालतको आदेश ।

१६.    नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फका विद्धान अधिवक्ता द्वय श्री शंभु थापा र श्री कृष्ण थापाले विपक्षी वादीहरुले वलवहादुर उपर दिएको अंश मुद्दामा तायदाती पेश गर्दा वलवहादुरले सोभान सिंह खड्कासँग ऋण लिएको कुरा उल्लेख गरी सोही लिखतको सम्बन्धमा सोभान सिंहले दिएको लेनदेन मुद्दामा दावी बमोजिम ठहर फैसला भएकोमा सो फैसला बदरमा दावी नभएको र लेनदेनको लिखत भएको कुरा वादीहरुलाई अंश मुद्दाको तायदाती २०५१।१०।१९मा पेश भएपछि थाहा भएको मान्नु पर्ने भै सोही मितिबाट किर्ते कागजको १८ नं.को हदम्याद भित्र  फिराद दिनुपर्नेमा सो हदम्याद नघाई २०५५।४।१७ मा परेको फिरादबाट इन्साफ हुन र किर्ते कागजको ३ नं.बमोजिमको दावीबाट फैसला बदर समेत हुन सक्ने अवस्था छैन । लेनदेन मुद्दाको फैसला बमोजिम वादीहरुले अंश पाएको जग्गाबाट विगो भरी भराउको कार्य समेत नभै सकेको अवस्थामा जालसाजी कार्य भै सकेको भन्न मिल्दैन । तसर्थ वादी दावी पुग्न नसक्ने ठहर गर्नुपर्नेमा वादी दावी बमोजिम लेनदेनको लिखत जालसाजी ठहराएको पुनरावेदन अदालतको फैसला बदर हुनुपर्दछ भन्ने र विपक्षी तर्फका विद्धान अधिवक्ता श्री हरिहर दाहालले घरसारमा भएको लिखत तत्काल तेश्रो पक्षले जानकारी पाउन नसक्ने भै विपक्षीहरुको मिलोमतोमा भएको भनिएको लिखत २०५४।१।२९ मा प्रकाशमा आएकोले सो मितिबाट तत्काल किर्ते कागजको १८ नं.को हदम्याद २ वर्ष भित्र अर्थात् २०५५।४।१७ मा प्रस्तुत फिराद परेको अवस्था छ । लेनदेन मुद्दामा प्रस्तुत मुद्दाका वादीलाई विपक्षी नबनाएकोले तत्काल आफ्नो व्यहोरा अभिव्यक्त गर्न सक्ने अवस्था नभएकोले विपक्षीहरुले मिलोमतो गरी लिखत तयार गरी मुद्दा समेत गरेको कुरा वादीले थाहा पाएको मितिले ऐनका म्याद भित्र फिराद परेको छ । लेनदेन मुद्दाको फैसला बमोजिम विगो भरी भराउमा अंश मुद्दाको फैसला बमोजिम वादीहरुले समेत अंश हक पाउने ठहराएको जग्गा समेतबाट विगो असूलीमा निवेदन परेको समेत कारणबाट वादीहरुको अंश हक मार्ने उद्देश्यले विपक्षीहरु मिली लेनदेनको लिखत खडा गर्ने गरेको कार्य जालसाजी भएकोले दावी बमोजिम जालसाजी ठहराएको पुनरावेदन अदालतबाट भएको फैसला सदर हुनुपर्दछ भनी गर्नु भएको बहस समेत सुनी मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालतको फैसला मिले नमिले सम्बन्धमा नै निर्णय दिनुपर्ने देखियो।

१७.   निर्णयतर्फ विचार गर्दा प्रतिवादी मध्येका रतनवहादुर उपर हामीले दिएको अंश मुद्दामा निजले तायदाती पेश गर्दा ऋण समेत देखाएकोमा तायदातीमा उल्लेख भएको सम्पत्ति मध्ये ५ भागको ४ भाग हामी वादीहरुले पाउने र ऋणको हकमा साहुको उजुर परेका बखत ठहरे बमोजिम हुने भन्ने पुनरावेदन अदालत समेतबाट २०५३।८।३ मा अन्तिम फैसला भएको थियो । यस्तैमा विपक्षी सोनाम सिं खड्का साहु र रतनवहादुर सिनाल ऋणी भै एक आपसमा मिलोमतो गरी रु.१,५०,०००।–  को लिखत वनाई लेनदेन मुद्दा दायर गरी एकतर्फी रुपमा फैसला गराई हामी वादी समेतलाई संगोलको परिवार देखाई हामीले अंश पाउने ठहराएको सम्पत्तिबाट समेत विगो भराउने उद्देश्यले जालसाजी क्रिया गरी लिखत तयार गरेकोले विपक्षीहरुको सो कार्यलाई जालसाजी घोषित गरी पाउँ भन्ने वादीमा रतनवहादुर घरको मुख्य व्यक्ति हुँदा निजले ऋण मागेकोले दिएको ऋण समयमा नतिरेकोले लेनदेन मुद्दा दिएको कुनै जालसाजी गरेको होइन भन्ने सोभान सिंह खड्का र वादीहरुबाट म संगोलमा रहदा ऋण लिएको हुँदा जालसाजी नगरेको भनी रतनवहादुर सिनालको प्रतिउत्तर भै दावी बमोजिमको लिखत जालसाजी ठहराई प्रतिवादीहरुलाई ऐन बमोजिम सजाय हुने ठहराएको शुरु जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला उपर मुद्दा दोहोराई पाउँ भनी प्रतिवादी सोभान सिंह खड्काको यस अदालतमा परेको निवेदनमा दोहोराउने निस्सा प्रदान भै प्रस्तुत मुद्दा पुनरावेदनमा दर्ता हुन आएको देखिन्छ ।

१८.   यसमा प्रस्तुत मुद्दाका वादीहरुले प्रतिवादी रतनवहादुर सिनाल उपर दिएको अंश मुद्दामा निज प्रतिवादी रतनवहादुर सिनालले २०५१।१०।१९ मा तायदाती पेश गर्दा पुनरावेदक प्रतिवादी सोभान सिंह खड्कासँग २०४७।८।२५ मा रु.२,००,०००।कर्जा लिएको भन्ने समेत उल्लेख गरेकोमा अंश मुद्दाको फैसला हुँदा ऋणको हकमा साहुको उजुर परेका वखत ठहरे बमोजिम हुने भन्ने वोली परेको देखिन्छ । पछि सोही लिखतको आधारमा सोभान सिंह खड्का र रतनवहादुर सिनाल बीच लेनदेन मुद्दा परी रतनवहादुरले प्रतिउत्तर नफिराई शुरु म्यादै गुजारी बसेपछि दावी बमोजिम साँवा व्याज भराई दिने ठहराएको कन्चनपुर जिल्ला अदालतको फैसलाको नक्कल वादीहरुले २०५५।१।२५ मा प्राप्त गरेपछि किर्ते कागजको १८ नं.को म्याद भित्र २०५५।४।१७ मा लेनदेनको लिखत जालसाजी घोषित गरी पाउँ भनी वादीहरुको प्रस्तुत मुद्दाको फिराद परेको देखिन्छ । बहसको क्रममा पुनरावेदक तर्फका विद्धान कानूनी व्यवसायीले उल्लेख गर्नु भएको यस अदालतको पूर्ण इजलासबाट सम्बत् २०६० सालको फौ.पु.इ.नं.१७ पुनरावेदक प्रतिवादी हरि प्रसाद खरेल विपक्षी वादी भद्र प्रसाद खरेल समेत भएको जालसाजी मुद्दामा भएको मिति २०६२।१।२२ को निर्णय बमोजिम किर्ते कागजको १८ नं.बमोजिम काम भए गरेका मितिले २ वर्ष भित्र नालेस गर्नुपर्ने भन्ने प्रतिपादित सिद्धान्त विपरित वादीले लिखत भएको कुरा अंश मुद्दामा प्रतिवादी रतनवहादुरले २०५१।१०।१९ मा पेश गरेको तायदातीमा उल्लेख गरेबाट सोही मितिमा थाहा पाईसकेकोले सोही मितिले २ वर्ष भित्र प्रस्तुत फिराद नपरी २०५५।४।२५ मा मात्र परेकोले सो निर्णय बमोजिम प्रस्तुत मुद्दामा हदम्यादको आधारमा प्रस्तुत मुद्दाको वादी दावी खारेज हुनुपर्ने भन्ने लिनु भएको जिकिर सम्बन्धमा विचार गर्दा प्रतिवादी रतनवहादुर सिनालले विवादको लिखत अंश मुद्दामा २०५१।१०।१९ मा तायदाती दिंदा पेश गर्न सकेको देखिदैन । उक्त अंश मुद्दाको फैसलाले पनि ऋण वण्डा हुने ठहराएको अवस्था नभै सो फैसला अन्तिम भएर रहेको देखिन्छ । पछि वादी सोभान सिंह खड्काले दिएको लेनदेन मुद्दामा रतनवहादुर बाहेक यी वादीहरु मध्ये कसैलाई पनि विपक्षी बनाएको नदेखिएकोले सो लिखत सोही समयमा प्रकाशमा आएको संझन मिल्ने नभएको र उक्त मुद्दामा लिखत बमोजिमको साँवा व्याज वादीले प्रतिवादी रतनवहादुरबाट भरी पाउने ठहर भएको कन्चनपुर जिल्ला अदालतको २०५४।६।२ को फैसलाको नक्कल वादीहरुले २०५५।१।२५ मा रितपूर्वक सारी थाहा पाएपछि मात्र सो लिखतको तथ्य प्रकाशमा आई आफ्नो हकमा समेत प्रतिकूल असर परेको ठानी २०५५।४।१७ मा वादीहरुको प्रस्तुत मुद्दाको फिराद परेको देखिएबाट काम भए गरेका मितिले किर्ते कागजको १८ नं.को हदम्याद भित्र फिराद दिनु पर्ने भन्ने पुनरावेदकतर्फको विद्धान अधिवक्ताले प्रस्तुत गर्नु भएको उल्लेखित निर्णय प्रस्तुत मुद्दामा सान्दर्भिक देखिन आएन ।

१९.    अब वादी दावी बमोजिमको लिखत जालसाजी ठहर गर्नुपर्ने हो होइन भन्ने सम्बन्धमा विचार गर्दा प्रस्तुत विवादमा वादीहरुको मुख्य दावी नै विवादको लिखत किर्ते कागजको ३ नं.बमोजिम जालसाजी घोषित गरी पाउँ भन्ने देखिन्छ । किर्ते कागजको ३ नं.को कानूनी व्यवस्थालाई सरसर्ती हेर्दा जालसाजी क्रिया हुनलाई अर्काको हक मेट्ने वा कुनै तरहसँग नोक्सान पार्ने क्रिया भै सकेको अवस्थाको अनिवार्यता देखिन्छ । प्रस्तुत विवादमा यिनै वादीहरुले प्रतिवादी मध्येका रतनवहादुर सिनाल उपर दिएको अंश मुद्दामा रतनवहादुरले अंशको तायदाती फांटवारी पेश गर्दाको अवस्थामा सोभान सिंह खडकालाई तिर्नु पर्ने भनी देखाएको रु.२,००,०००।ऋणको सम्बन्धमा पछि सोभान सिंह खड्काले रतनवहादुर सिनाल उपर लेनदेन मुद्दा दिई फैसला भएपश्चात सो को जानकारी प्राप्त भएपछि वादीहरुले हाम्रो अंश हक मार्ने उद्देश्यले विपक्षीहरु मिली कथित २०४७।८।२५ को लिखत खडा गरी एकतर्फी फैसला गराएबाट हामीले नखाएको ऋण खायो भनी हाम्रो सम्पत्ति समेतबाट विगो भराउने काम हुन सक्ने हुँदा सो लिखत जालसाजी घोषित गरी पाउँ भन्ने सम्म दावी लिए पनि सोही लिखत अनुसार दावी बमोजिम साँवा व्याज भरी पाउने ठहरी फैसला भै सकेकोमा सो फैसला बदरमा दावी लिन सकेको अवस्था देखिदैन । प्रमाण निमित्त प्राप्त पुनरावेदक शोभान सिं खड्काले लेनदेनको विगो भरी पाउँ भनी दिएको निवेदन सहितको मिसिल अध्ययन गर्दा वादीहरुले अंश मुद्दाबाट ५ भागको ४ भाग अंश पाउने ठहर भएको कि.नं.८१५, ८१७, ८१९ समेतको जग्गाबाट विगो भरी पाउँ भन्ने सोभान सिंह खड्काको दावी भए पनि लेनदेन मुद्दामा र विगो भरी पाउँ भनी दिएको निवेदनमा वादीहरु उपर दावी भएको नदेखिनुका साथै लेनदेन व्यवहारको ८ नं.दण्ड सजायको २६ नं.बमोजिम वादीहरुको अंश भाग समेतबाट विगो भरी भराउको कार्य हुने नहुने भन्ने विषय पनि अनिर्णित नै रहेको देखिन्छ । 

२०.   यसरी वादीहरुले प्रतिवादीहरुको के कुन काम कुराले आफ्नो हक मेटिन गएको हो सो कुराको स्पष्ट रुपमा जिकिर लिन नसकेको र वादी दावीमा उल्लेख गरेको तथ्यबाट वादीहरुको हक जाने, नोक्सान हुने कुनै काम कारवाही भए गरेको अवस्था देखिन नआएकोले त्यस्तो अस्पष्ट र अनिश्चित दावीको आधारमा वादी माथि कुनै दायित्व आउँछकि भनी पूर्व अनुमान गरी जालसाजी जस्तो फौज्दारी अपराधमा प्रतिवादीहरुलाई कसूरदार ठहराउन न्यायोचित नहुने हुँदा २०४७।८।२५ को लिखत जालसाजी ठहराई प्रतिवादीहरुलाई किर्ते कागजको ३ नं.को कसूर गरेको भनी ऐ.१० नं.बमोजिम सजाय हुने ठहराएको कन्चनपुर जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत महेन्द्रनगरको फैसला मिलेको नदेखिंदा उल्टी भै वादी दावी पुग्न नसक्ने ठहर्छ । अरु तपसिल बमोजिम गर्नु ।

 

तपसिल

पुनरावेदक/प्रतिवादी सोभान सिंह खड्काके माथि इन्साफ खण्डमा लेखिए बमोजिम फिराद दावी बमोजिम जालसाजी ठहराएको शुरु जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला उल्टी भै वादी दावी पुग्न नसक्ने ठहरेकाले शुरु फैसला बमोजिम निजलाई भएको जरिवाना रु.१८,७५०।शुरु अदालतमा निजले र.नं.३०८८ मिति २०५७।२।१६ मा दाखिल गरेको मिसिल संलग्न रसिदबाट देखिंदा सो जरिवाना निजलाई नलाग्ने भै     फिर्ता पाउने हुँदा फिर्ता पाउँ भनी ऐनका म्याद भित्र दर्खास्त परे फिर्ता दिनु र  शुरु फैसलाले राखेको जरिवानाको लगत समेत कट्टा गर्नु भनी शुरु कन्चनपुर जिल्ला अदालतका नाममा लेखी पठाई दिनु ––

वादी दावी बमोजिम जालसाजीको कसूर नै स्थापित नभएकोले पुनरावेदन नगर्ने प्रतिवादी रतनवहादुर सिनालका हकमा पनि अ.वं.२०५ नं.बमोजिम जरिवाना हुने अवस्था नहुँदा निजका नाममा राखिएको लगत समेत कट्टा गर्न भनी शुरु कन्चनपुर जिल्ला अदालतमा लेखी पठाई दिनु –––

वादी दावी पुग्न नसक्ने ठहरेकाले वादीलाई केहि सजाय गर्नुपर्छ कि भन्नलाई दण्ड सजायको १८ नं.को अन्तिम वाक्यांशले केहि गरिरहन परेन

मिसिल नियमानुसार गरी बुझाई दिनु––

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरिजंग सिजापती

 

इति सम्बत् २०६२ साल माघ १९ गते रोज ४ शुभम्––––––

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु