शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७१०३ - लेनदेन ।

भाग: ४४ साल: २०५९ महिना: भाद्र अंक:

निर्णय नं. ७१०३     ने.का.प.२०५९ अङ्क ५.६

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल

माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी

सम्बत २०५४ सालको दे.पु.नं. .. ४०४५

फैसला मितिः २०५८।६।३।४

 

मुद्दाः लेनदेन ।

 

पुनरावेदक

प्रतिवादीः जिल्ला उदयपुर गा.वि.स.भूमरसुवा वडा नं.९ हाल त्रि.न.पा. वडा १५ वस्ने भेषराज रेग्मी

बिरुद्व

प्रत्यर्थी

वादीः  जि. खोटाङ गा.वि.स.दिक्तेल वार्ड नं.४ भै हाल जि.उदयपुर त्रि.न.पा. वार्ड नं.१ वस्ने      तारानाथ आचार्य 

 

§  पुनरावेदक प्रतिवादीले आफ्नो नाममा रहेको जग्गा २०५१ साल पौष मसान्त सम्ममा वादीलाई पारीत गरिदिने भाखा राखी रु.५०००। वुझी लिई मिति २०५१।८।१७ मा लिखत गरिदिएको अवस्थामा पुनरावेदन जिकिर वमोजिम तत्काल प्रचलित करार ऐन, २०२३ को दफा १८(२)(ग) वमोजिमको हदम्याद आकर्षित हुने

§  प्रस्तुत मुद्दाको फिराद लेनदेन व्यवहारको ४० नं. ले लिखत भएको मिति २०५१।८।१७ को २ वर्ष भित्र परेको देखिंदा हदम्याद नाघी फिराद परेको भन्न नमिल्ने ।

(प्र.नं. ११)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः

प्रत्यर्थी वादी तर्फबाटः

अवलम्वित नजिरः

 

फैसला

न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत राजविराजको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :

२.    जि. उदयपुर गा.वि.स. भूमरसुवा वार्ड नं. ७ (ख) कि.नं. १२८ का विगाहा ०२ जग्गा धान वाली लाग्छ मेरो नाममा दर्ता छ, मूल्यको हकमा रु.५,०००।दिएमा जग्गा जम्मा मुल्य रु. ४२,७८०।मा बाँकी मूल्य मसान्त सम्ममा बुझी जग्गा पारीत गरि दिन्छु भनेर मिति ०५१।८।१७ गतेका दिन बिहान हरिप्रसाद आचार्य र मैले नचिनेका मानिस समेत २ जनाको रोहवरमा मैले रु.५,०००।नगदी नोट भेषराज रेग्मीलाई दिएँ । निजले बुझी बाँकी मुल्य मसान्तसम्ममा दिई पारित गरि दिन्छु नतिरे दोबर लिनु भनि आफ्नो हस्ताक्षरबाट लिखतलेखी निज हरिप्रसाद र मेरो अपरिचित व्यक्ति हिरा रेग्मी सोही लेखाई तमसुक बनाई मलाई दिई जग्गा पारित गरिदिन्छु भन्नु भयो । जग्गा पारीत गरिदिनु होस् पैसा लिनुहोस् भन्दा आज भोलि पारित गरिदिन्छु भन्दै आलटाल गर्दै भाखामा पारित समेत नगरी दिएकाले निजले बुझी लिएको साँवा र सर्त बमोजिम साँवा रु.५,०००।र पारीत नगरे डबल बुझाउने छु भनि सर्त भएपनि लेनदेन व्यवहारको ६ नं. बमोजिम सयकडा १०।भन्दा बढीमा भराई दिने दावी नपुग्ने हुँदा लिएको मिति २०५१।८।१७ ले फिराद दर्ता भएको मिति २०५२।४।२१ गते सम्मको १०% ले व्याज रु. ३२१।समेत जम्मा विगो रु. ५३२१ र भराएका मिति सम्मको व्याज अन्य दस्तुर समेत विपक्षीबाट दिलाई भराई पाउँ भन्ने वादीको फिराद पत्र ।

३.    विपक्षी तारानाथले मेरा नाममा दिनुभएको वादीको प्रमाण २ मा उल्लेख भएको जि. उदयपुर गा.वि.स. भुमरसुवा वार्ड नं. ७ कि.नं. १२८ को ज.वि. ०२ जग्गा मेरा नाउँमा दर्ता रहेको हुँदा जग्गा विक्री गर्ने प्रसंग भएको हुँदा विपक्षी वादी पनि खरिद गर्ने भै जग्गा खोजी हिडेकै अवस्था मेरो जग्गा समेत विक्री हुने कुरा गाउँघरबाट सुनी मेरो घरमा आई विपक्षीको र मेरो भेटघाट भै जग्गाको मोल हुँदा दुवै पक्षको चित्तबुझी जम्मा मोल रु.४२,७००। कायम गरी २०५१।८।१७ गते बैना वापत रु. ५०००।दिनु लिनु गरी बैना बट्टाको लिखत भएको हो । २ जनाको संयुक्त मञ्जुरीबाट बैनाबट्टा लिखत २०५१।९। मसान्तको भाखा राखी जग्गाधनीले जग्गा नदिए वैमान गरे बैनाको दोबर बुझाउने र जग्गा लिनेले भाखामा पैसा नदिए थैली नदिएमा रुपैयाँ पच भनि दुवै पक्षको मंजुरीसाथ बैनावट्टाका लिखत गरेको हुँदा र सोही बैनाको भाखा भित्र जग्गापारित गर्न मैले विपक्षी वादीलाई पटक पटक आग्रह गर्दा आज भोली भन्दै जग्गा पारित गर्ने चासो नलिई उल्लेख भएको भाखा नघाई हाल मेरो नाउँमा लेनदेन व्यवहारको ४० नं. को आधार लि मुद्दा दर्ता गर्नु भएको हो । विपक्षीलाई मैले झुक्याई बैना गरि जग्गा रजिष्टे«शन नगर्ने नियत भै बैना पचाउने समेत धारणा गरेको भए विपक्षीले मेरो नाउँमा करार ऐन, २०२३ को दफा १८ को उपदफा २(ग) बमोजिमको म्याद आधार राखी उजुर गर्नुपर्ने सो समेत नगरी बैनाको लिखतलाई लेनदेनमा उजुर गर्नु भएको हुँदा विपक्षीलाई नै सजायँ होस् भन्ने प्रतिउत्तर पत्र ।

            ४.    साँवा रु. ५,०००।र सो को लिखत मितिबाट सो अनुरुप सयकडा रु.१०।ले हुने व्याज समेत वादीले प्रतिवादीबाट भराई लिन पाउने ठहर्छ भन्ने व्यहोराको मिति २०५३।२।३१ गतेको उदयपुर जिल्ला अदालतको फैसला

५.    मेरो सवुत प्रमाणको मूल्यांकन नगरी हचुवा किसिमबाट केही नवुझी वादी दावी वमोजिमको सांवा व्याज समेत भराई लिन पाउने ठहर्छ भन्ने मिति २०५३।२।३१ को उदयपुर जिल्ला अदालतको फैसलामा चित्त बुझेन उक्त त्रुटीपूर्ण फैसला बदर गरी शुरु प्रतिउत्तर जिकिर र पुनरावेदन जिकिर बमोजिम गरी पाउँ भन्ने समेत व्यहोरा प्रतिवादीले पुनरावेदन अदालत राजविराजमा दिएको पुनरावेदन  पत्र ।

६.    यस्मा मिति २०५१।८।१७ को वैनापट्टाको लिखतमा व्याज लिने दिने शर्त नरहेकोमा पनि व्याज भराई दिने गरेको शुरु जिल्ला अदालतको फैसला फरक पर्न सक्ने देखिँदा छलफलको निमित्त अ.वं. २०२ नं. र पुनरावेदन अदालत निमावली, २०४८ को नियम ४७ बमोजिम विपक्षी झिकाई नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत राजविराजको आदेश।

७.    लिखतमा व्याज पाउने उल्लेख नभएकोमा व्याज समेत भराई दिने गरी गरिएको शुरु उदयपुर जिल्ला अदालतको फैसला व्याज भराई दिने गरेको हदसम्म उल्टी भई प्रतिवादीबाट वादीले साँवा रु. ५,०००।मात्र भराई लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत राजविराजको मिति २०५३।११।१२ को फैसला ।

८.    वादीले साँवा रु. ५,०००।भराई लिन पाउने ठहर्याई पुनरावेदन अदालतबाट भएको  फैसलामा चित्त बुझेन । सो फैसला उल्टी गरी वादीले भरी पाउने विगोबाट रिहाई गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

९.    पुनरावेदन अदालत राजविराजबाट पुनरावेदक प्रतिवादीलाई मिति २०५४।७।२५ मा यस अदालतमा हाजिर हुन जानु भनि तोकिएको तारेख प्रतिवादीले गुजारी बसेको देखिन्छ ।

१०.    नियम बमोजिम पेश हुन आएको मुद्दामा पुनरावेदन सहितको मिसिल संलग्न कागजात अध्ययन गरी पुनरावेदन अदालत राजविराजको फैसला मिलेको छ छैन ? सो सम्बन्धमा निर्णय दिनु पर्ने  देखियो ।

११.    निर्णयतर्फ बिचार गर्दा विवादको मिति २०५१।८।१७ को वैनापटृाको लिखतलाई वादीले करार ऐन अन्तर्गत फिराद गर्नुपर्नेमा लेनदेन व्यवहार अन्तर्गत परेको फिरादमा सांवा रु.५०००। भराउने ठहर गरेको पुनरावेदन अदालत राजविराजको फैसला त्रुटिपूर्ण छ भन्ने प्रतिवादीको पुनरावेदन जिकिर रहेको पाइन्छ । मिसिल संलग्न रहेको मिति २०५१।८।१७ को लिखतको फोटो प्रतिलिपी हेर्दा वादी तारानाथ आचार्य धनी र प्रतिवादी भेषराज रेग्मी ऋणी भै प्रतिवादीका नाउंमा रहेको कि.नं. १२८ मोल रु.४२,७००। मध्ये वादीबाट ५०००। वुझी लिई वांकी रुपैया जग्गा पारित भएका वखत दिने गरी जग्गा २०५१ साल पौष मसान्तसम्ममा पारित गरी दिने नगरे वैनाको दोव्वर वुझाउने व्यहोरा उल्लेख भै वैनावटृाको कागज लेखी तपाई साहुलाई दिएं भनी यि पुनरावेदक प्रतिवादीले सहिछाप गरी लिखत गरी दिएको देखियो । उक्त मिति २०५१।८।१७ को लिखतको व्यहोराबाट प्रतिवादीले आफ्नो नाउंमा रहेको जग्गा २०५१ साल पौष मसान्तसम्मा वादीलाई पास गरिदिने गरी वैना वापत वादीबाट ५०००। वुझी लिई लिखत गरिदिएको र यस कुरामा वादी प्रतिवादी वीच विवाद रहेको समेत  देखिदैन । विवादित लिखतमा उल्लेख भएको २०५१ साल पौष मसान्तसम्ममा प्रतिवादीले आफ्नो नाउंमा रहेको कि.नं. १२८ को जग्गा वादीलाई पारित गरिदिएको देखिएन । पुनरावेदक प्रतिवादीले आफ्नो नाममा रहेको जग्गा २०५१ साल पौष मसान्त सम्ममा वादीलाई पारीत गरिदिने भाखा राखी रु.५०००। वुझी लिई मिति २०५१।८।१७ मा लिखत गरिदिएको अवस्थामा पुनरावेदन जिकिर वमोजिम तत्काल प्रचलित करार ऐन, २०२३ को दफा १८(२)(ग) वमोजिमको हदम्याद आकर्षित हुने देखिएन । प्रस्तुत मुद्दाको फिराद लेनदेन व्यवहारको ४० नं. ले लिखत भएको मिति २०५१।८।१७ को २ वर्ष भित्र परेको देखिंदा हदम्याद नाघी फिराद परेको भन्न मिलेन  ।

            १२.   तसर्थ प्रतिवादीबाट वादीले साँवा रु. ५०००।भरि पाउने ठहर्याएको पुनरावेदन अदालत राजविराजको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उपरोक्त रायमा सहमत छु ।

 

न्या.भैरवप्रसाद लम्साल

 

 

इति संवत् २०५८ साल आश्विन ३ गते रोज ४ शुभम् ..........

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु