शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८२३८ - रैकर दर्ता बदर गुठी कायम ।

भाग: ५१ साल: २०६६ महिना: माघ अंक: १०

निर्णय नं. ८२३८     माघ, २०६६          अङ्क १०

 

सर्वोच्च अदालत पूर्ण इजलास

माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा

माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला

माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल

संवत् 063–DF–0012

फैसला मितिः २०६६।२।७।५

 

मुद्दा :रैकर दर्ता बदर गुठी कायम 

 

पुनरावेदक/प्रतिबादीः स्याङ्गजा जिल्ला, पेलाकोट गा.वि.स. वडा नं. ७ बस्ने टीकाराम पाठक

विरुद्ध

प्रत्यर्थी/बादीः का.जि.का.म.न.पा.वडा नं. ८ पशुपति स्थित रहेको गोरक्ष पीठ सिद्धाचल मृगस्थली मठ समेत

 

अघि निर्णय गर्नेः

गुठी प्रशासक श्री श्यामराज ढुगेंल

पुनरावेदन अदालत पाटनः

मा.न्या.श्री ऋषिराज जोशी

मा.न्या.श्री बोधरीराज पाण्डे

 

§  गुठी स्वीकार गरिसकेपछि दाताकै हक समाप्त भएको अवस्थामा निजबाट हक प्राप्त गर्ने पुनरावेदकको हक बाँकी रहेको भन्न नमिल्ने 

(प्रकरण नं.५)

§  राजगुठीको जग्गाको हक, स्वामित्व र प्रकृति नापीले अन्यथा निर्णय गर्दैमा समाप्त हुन नसक्ने 

(प्रकरण नं.६)

§  कुनै खास उद्देश्य लिई कुनै विशेष कार्य सञ्चालन गर्नको लागि बनेको विशेष प्रकारको कानूनको प्रयोग सोही रुपमा हुनुपर्ने हुन्छ । यदि त्यस्तो विशेष कानूनमा सामान्य कानूनमा भन्दा पृथक खालको प्रक्रिया वा कार्यविधि निश्चित गरिएको छ, हक प्राप्ति र समाप्तिको सम्बन्धमा पनि सामान्य कानूनको भन्दा भिन्न आधार दिइएको छ भने पनि त्यसैलाई अनुशरण गर्नु पर्दछ । त्यस्तोमा सामान्य कानूनी प्रक्रियाबमोजिम हुनु पर्दछ भन्ने जिकीर गर्न नमिल्ने 

§  व्यक्तिव्यक्तिका बीच जग्गाको तेरोमेरोको विवाद उठी एकपटक भएको निर्णय अन्तिम भै सम्बन्धित पक्षलाई बन्धनकारी हुने सामान्य व्यवस्थाको विपरीत गुठी जग्गाको स्वरुप वा प्रकृति समाप्त हुने गरी भएको निर्णय जहिलेसुकै बदर गर्न मिल्ने हुँदा नापी गोश्वाराबाट कुनै निर्णय भएकै भरमा वा त्यसउपर पुनरावेदन वा उजूर नपरेकै आधारमा गुठी धर्मलोप हुन नसक्ने 

(प्रकरण नं.८)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताहरू श्री शम्भु थापा, श्री लोकभक्त राणा तथा श्री रवीन्द्रनाथ अर्याल

प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री रामप्रसाद गौडेल

अवलम्वित नजीरः

§  नेकाप २०६४ पृष्ठ १२७५

सम्बद्ध कानूनः

§  गुठी संस्थान ऐन, २०३३ को दफा ३९

§  नाप जाँच ऐन, २०१९ को दफा ६(९)

 

फैसला

      न्या. दामोदरप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम पुनरावेदन अदालत पाटनको मिति २०५८।९।२३ को फैसला दोहोर्याई हेरिपाऊँ भनी प्रतिवादीका तर्फबाट पर्न आएको निवेदनमा यस अदालतबाट मिति २०६०।३।२५ मा निस्सा प्रदान भै संयुक्त इजलासमा पेश हुँदा मत्यैक्यता हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३१(क) बमोजिम यस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः-

      २ नं नापी टोलीबाट नापी हुंदा का न.पा वडा न. ७ (घ) कित्ता नं ८८ टीकाराम पाठक र कि.नं ८९ ज्ञानप्रसाद र रामबहादुरका नाममा नापनक्सा भएको साविक चाबहिल गा.पं. वडा नं. ३ को कि.नं. १०० कित्ताकाट भै कि.नं. १७३ र १७४ कायम गरी लालपुर्जा वितरण भएकोमा गुठी संस्थानबाट २०३६।८।२३ मा गोरक्षनाथ बालचक्र पूजा गुठी निर्णय भै पूर्जा बदरको लागि मालपोत कार्यालयमा लेखापढी भै २०४० सालदेखि मोही लगत कायम गरी साल बसाली बाली बुझाई आएको हुँदा उक्त जग्गामा बालचक्र गुठी कायम गरी मोहीमा मेरो नाम कायम गरिपाऊँ भनी ताराबहादुर लामाले २ नं. नापी टोलीमा मिति ०४४।३।३१ मा दिएको निवेदन 

      उल्लिखित जग्गा रैकर कायम भएकोमा गुठी संस्थानबाट सो जग्गा गोरक्षनाथ गुठी कायम गर्ने गरी निर्णय भै लगत कट्टाको लागि कारवाही भै रहेकोमा उक्त जग्गा हालको नापीमा कि.नं. ८८ र ८९ समेत २ कित्ता रैकर हो भन्ने दावी गर्न आएकोले गुठी नै कायम गरिपाऊँ भनी गुठी संस्थानबाट खटिएको.रामचन्द्र फुयालको प्रतिवेदन पर्न आएकोले  साविक कि.नं. १०० क्षेत्रफल १०, जग्गा रैकरको लगत कट्टा गरी मृगस्थली गोरक्षनाथको चक्र पुजा गुठी कायम गर्ने गरी गुठी संस्थानबाट ०३६।८।२३ मा निर्णय भै सोही अनुसार रैकरको लगत कट्टा गरी गुठी कायम गरी पठाई दिन सो सम्बन्धी कारवाही फायल मा.पो.का. काठमाडौँमा २०४३।१०।११ मा पठाई सकिएकोले उल्लिखित जग्गा मृगस्थली गोरक्षनाथको चक्र पुजा गुठीको नै कायम गरी नापनक्सा हुन अनुरोध छ भन्ने गुठी लगत तथा तहविल कार्यालयले ३ नं. नापी गोश्वारामा दिएको ०४४।३।२४ को पत्र 

      चाबहिल गा.पं. वडा नं. ३ को कि.नं. २७४ को जग्गा ७(घ) को कि.नं. ८९ कायम भएको हो । यो जग्गा मैले खरीद गरी लिएको हो । मेरो नाउँमा पुर्जा भएको जग्गालाई गुठी कायम गरिपाऊँ भनी लिएको दावी झूठा हो । गुठी संस्थानबाट लिएको दावी पनि झूठ्ठा  हो । पुर्जाबमोजिम मेरो नाउँमा दर्ता गरिपाऊँ भन्ने टीकाराम पाठकले २ नं. नापी टोलीमा  मिति ०४५।५।१ मा गरेको बयान 

      चाबहिल गा.पं. वडा नं. ३ को कि.नं. २७३ को ५ रोपनी जग्गा ७(घ) को कि.नं. ८९ कायम भएको हो । यो जग्गा ज्ञानप्रसाद पाठक र मैले संयुक्त रुपमा खरीद गरी लिएको हो । हाम्रो नाउँमा पुर्जा भएको जग्गालाई गुठी कायम गरिपाऊँ भनी लिएको दावी झूठा हो । गुठी संस्थानबाट लिएको दावी पनि झूठ्ठा  हो । हाम्रो नाममा पुर्जा भएबमोजिम हाम्रो नाउँमा दर्ता गरिपाऊँ भन्ने रामबहादुर श्रेष्ठसमेतले २ नं. नापी टोलीमा मिति ०४५।५।१ मा गरेको बयान 

      विवादित कि.नं. ८८ र ८९ जग्गाका जग्गाधनी सिद्धाचल मृगस्थली गुठी भै दर्तावाला मोही अमर आदर्श मा.बि.बानेश्वर हो । यसर्थ विभिन्न व्यक्तिको नाम बदर गरी विद्यालयको नाउँमा कायम गरिपाऊँ भनी अमर आदर्श माध्यमिक बिद्यालयले २ नं. नापी टोलीमा  पठाएको मिति ०४७।३।२८ को पत्र 

      विवादित साविक कि.नं. १०० कित्ताकाट भै कि.नं. २७३ र २७४ कायम भएर सोको जग्गाधनी क्रमशः ज्ञानप्रसाद पाठकसमेत र टीकाराम पाठकले रैकरको प्रमाण पुर्जा पेश गरेको देखिएको हुनाले साविक कि.नं. २७४ को हालको कि.नं. ८८ र साविक २७३ को हालको कि.नं. ८९ क्रमशः टीकाराम पाठक र ज्ञानप्रसाद पाठक समेतको नाउँमा जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६(९) बमोजिम दर्ता गर्ने भन्ने ६ नं.नापी गोश्वाराको ०४७।५।१२ को निर्णय 

      चाबहिल गा.पं. वडा नं. ३ कि.नं. १०० कित्ताकाट भै कायम भएको कि.नं. २७३ र २७४ को रैकर बदर गरी गुठी कायम गर्ने विषय कार्यान्वयन नहुदै साविक कि.नं. २७३ को हाल नापीमा का.जि.का.म.न.पा. वडा नं. ७ क कि.नं.८९ को ४, ज्ञानप्रसाद पाठक,रामबहादुर श्रेष्ठको नाममा र कि.नं. २७४ को हाल का.जि.का.म.न.पा.वडा नं.७ क कि.नं. ८८ को ५१ टीकाराम पाठकको नाममा दर्ता भएको देखिएको छ । यो जग्गाको रैकर बदर गर्न ०३६।८।२३ मा निर्णय भै सकेकोले पुनः निर्णय गरी रहनु पर्ने अवस्था देखिएन, निर्णय कार्यान्वयन सम्म गर्नुपर्ने भन्ने समेत व्यहोराको ०५६।२।३ को गुठी संस्थान केन्द्रीय कार्यालयको निर्णय 

      जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६(९) को आधार लिई टीकाराम पाठक र ज्ञानप्रसाद पाठक समेतको नाउँमा रैकर दर्ता गर्ने गरी भएको नापीको निर्णय बदर गर्ने ०५६।२।३ को गुठी प्रशासकको   निर्णय फैसला अन्तिमताको सर्वमान्य सिद्धान्त समेतको प्रतिकूल भएकोले बदर गरी पांउ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, ललितपुरमा परेको टीकाराम पाठकको पुनरावेदन पत्र 

      यसमा विवादित जग्गाहरू पुनरावेदकहरूले साविक पोता लगत मौजा बौद्ध हा.नं. ३०३ कायम भै रैकर परिणत गरेको जग्गा भनी दावी लिई रहेको र जग्गा नाप जाँच ऐनअनुसार उक्त जग्गा निजहरूले दर्ता गराएको समेत देखिंदा नापी दर्ता बदर गर्नेतर्फ कारवाही नगरिएको र साविक दर्ता लगतको विवेचना नगरी भएको गुठी संस्थानको ०५६।२।३ को निर्णय नेकाप २०४४, निर्णय नं. २१८८, पृष्ठ ८७० को धनसरिया दासिन विरुद्ध गुठी संस्थान भएको उत्प्रेषण रिटमा प्रतिपादित सिद्धान्तप्रतिकूल हुँदा छलफलको लागि अ.वं. २०२ नं. र पुनरावेदन अदालत नियमावली २०४८ को नियम ४७ बमोजिम विपक्षी झिकाई आए वा अवधि नाघेपछि नियमानुसार गरी पेश गर्नु भन्ने समेत पुनरावेदन अदालत, पाटनको आदेश 

      यसमा मिति २०३६।८।२३ को निर्णय मूल निर्णय भएको र यो निर्णय बदर गर्न पुनरावेदन नपरेको अवस्थामा सो निर्णय कार्यान्वयन गर्नसम्म मिति २०५६।२।३ मा निर्णय भएको र मिति २०५६।२।३ को विवादित निर्णय बदर भए पनि मिति २०३६।८।२३ को मुल निर्णयमा तात्विक असर नपर्ने हुँदा पुनरावेदकको मागबमोजिमको विवादित निर्णय बदर गरी रहन परेन । यो अवस्थामा गुठी संस्थानको विवादको मिति २०५६।२।३ को निर्णय परिवर्तन गरी रहन परेन भन्ने व्यहोराको पुनरावेदन अदालत, पाटनको फैसला 

      पुनरावेदन अदालत पाटनबाट फैसला गर्दा मिति २०३६।८।२३ को गुठी संस्थानको निर्णय बदर गराउन नसकेको भन्ने उल्लेख छ । उक्त निर्णय अधिकार प्राप्त अधिकारीबाट नभै अनाधिकार अधिकारीबाट भएको छ । गुठी संस्थान ऐन, २०३३ को दफा ३९(१) मा गुठीको जग्गा रैकरमा दर्ता भएको भए प्रशासकले त्यस्तो जग्गा गुठीमा दर्ता गरी रैकरको लगत कट्टा गर्नसक्ने कानूनी व्यवस्था गरिएको छ । मिति २०३६।८।२३ को निर्णय प्रशासकले गरेको नभै गुठी संस्थानको अध्यक्षबाट भएको देखिन्छ । यसरी प्रशासकलाई तोकिएको कार्य अध्यक्षबाट भएको हुँदा उक्त अनधिकृत व्यक्तिबाट भएको निर्णय बदर गराइ रहनु पर्ने होइन । स्वतः बदर हुने हो, उक्त निर्णयमा थपिएको ठाउँमा निर्णयकर्ताको सही छैन । गुठी लगत तथा तहसिल कार्यालयले मिति २०३५।८।२३ मा चक्रपुजा गुठीको सम्बन्धमा देउपाटन पशुपति मृगस्थली गोरखनाथका महन्त नारायणनाथ पिरका नाममा भएको  १९५६ सालको लालमोहरको प्रतिलिपि मागी पठाएकोमा १९५६ सालको लालमोहरको किताबमा सो नाउँ नदेखिएको भनी २०३५।९।११ मा मालपोत विभागले गुठी लगत तथा तहसिल कार्यालय भद्रकालीलाई पत्र पठाएको थियो । यसबाट विवादित जग्गा समेत राजगुठीको कुनै लगतमा नभएको प्रष्ट हुन्छ । विवादित जग्गा जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६(९) बमोजिम मेरा नाउँमा दर्ता गर्ने गरी ०४७।५।१२ मा ३ नं. नापी गोश्वराबाट निर्णय भएको छ । सो निर्णय विपक्षीलाई जानकारी भएर पनि विपक्षी चित्त बुझाई बसेको अवस्था छ । यस्तोमा मिति २०३६।८।२३ को निर्णयको हवाला दिन मिल्ने होइन । मिति ०५६।२।३ को निर्णय गर्दा मलाई बुझिएको समेत छैन । दर्तावालाहरूको हकमा असर पर्ने गरी निर्णय गर्दा नबुझि गरेको निर्णय प्राकृतिक न्यायको सिद्धान्त समेत विपरीत हुँदा पुनरावेदन अदालत, पाटनको मिति २०५८।९।२३ को फैसला त्रुटिपूर्ण भएको तथा नजीरको समेत विपरीत हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को खण्ड (क) र (ख) बमोजिम दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरी फैसला बदर गरी रैकरको लगत यथावत राखिपाऊँ भन्ने समेत व्यहोराको टीकाराम पाठकको यस अदालतमा पर्न आएको निवेदन व्यहोरा 

      यसमा लगाउको नि.नं ३०४६ को मुद्दामा दोहोर्याई हेर्ने निस्सा प्रदान हुने आदेश भएकाले सो आदेशमा उल्लिखित आधार प्रमाणबाट प्रस्तुत मुद्दामा पनि न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) खण्ड (क) (ख) अन्तर्गत दोहोर्‍याउने निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालतको मिति २०६०।३।२५ को आदेश 

गुठी संस्थानको ०३६।८।२३ को निर्णयमा विवादको जग्गा के कुन प्रमाणबाट छुट गुठीको देखिएको भन्ने प्रमाण नदेखिएको, पछि पुनरावेदन अदालत तथा यस अदालतमा मुद्दाको कारवाहीको सिलसिलामा पनि कुनै प्रमाण दिन नसकेको अवस्था र १९५६ सालको लालमोहर नभएको भन्ने मालपोत कार्यालयको जवाफ, लक्ष्मीनारायणका पुर्खा इन्द्रमानको नाउँको पोता तहसील अड्डामा का.पूर्व ३६९ अन्तर्गत क्वाको ११० जग्गा निजी गुठीमा दर्ता भएको, १९७६, १९९८, २००७ साल तथा मिति नखुलेको रसिद , जगतमानले दिएको लगतबाट पोता लगत नं. ४३३ गुहेश्वरी र गोरखनाथमा सरुवा चामल बुझाउने गरी निजी गुठीमा दर्ता भएको सो जग्गा नै २०२४।४।२४ को विवरणबमोजिम रैकर परिणत भएको जग्गा नै लक्ष्मीनारायणबाट यी पुनरावेदकले २०३८ सालमा राजीनामा पारित गरी लिएको देखिंदा विवादित जग्गा निजी गुठीको देखियो । तसर्थ, माथि उल्लिखित आधार र कारणबाट मिति २०३६।८।२३ मा गुठी संस्थानका अध्यक्षबाट छुट गुठी कायम गर्ने गरी भएको विवादित निर्णयबमोजिम गर्ने भनी पछि पुनः गुठी संस्थानबाट भएको मिति २०५६।३।२ को निर्णय कायम रहन सक्ने देखिएन बदर हुन्छ । उक्त निर्णय बदर गर्ने ठहर गर्नुपर्नेमा मिति ०५६।३।२ को गुठी संस्थानको निर्णय बदर नहुने ठहर गरेको पुनरावेदन अदालत, पाटनको निर्णय उल्टी हुने ठहर्छ । सो निर्णय सदर कायम राख्ने राय व्यक्त गरेको मा.न्या.श्री गौरी ढकालको रायसंग सहमत नहुँदा प्रस्तुत मुद्दा निर्णयको लागि सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भनी भएको माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद भण्डारीको राय 

लक्ष्मीनारायणको नाममा भएको कि.नं. २७३ र २७४ को जग्गाको रैकरको लगत कट्टा गरी गुठीको लगत कायम राख्ने भनी गुठी संस्थानबाट ०३६।८।२३ मा निर्णय भई सोको जानकारी समेत प्राप्त गरी सकेपछि सो कुरा लुकाई २०३८ सालमा आएर मात्र कि.नं.२७४ को जग्गा यी पुनरावेदक टीकाराम पाठकलाई राजीनामा गरी दिएको देखिन्छ । ०३६।८।२३ को कि.नं. २७३ र २७४ का जग्गाको रैकरको लगत कट्टा गरी गुठीको लगत कायम राख्ने गरी भएको गुठी संस्थान केन्द्रीय कार्यालयको निर्णय कार्यान्वयन गर्नको लागि मात्र गुठी संस्थानबाट मिति ०५६।२।३ को निर्णय भएकोमा सो गुठी संस्थानको ०३६।८।२३ को निर्णय बदरमा यी पुनरावेदकका दाता लक्ष्मीनारायणले पुनरावेदन नगरी गुठी स्वीकार गरी बसिसकेपछि दाताकै हक समाप्त भएको अवस्स्थामा यी पुनरावेदकको हक बांकी छ भन्न मिल्दैन । किनभने गुठी कायम गर्ने मुल निर्णय ०३६।८।२३ को भएको, ०५६।२।३ को निर्णय उक्त २०३६।८।२३ को निर्णय कार्यान्वयन गर्न गराउन मात्र भएको देखियो । प्रस्तुत मुद्दामा यी पुनरावेदकको ०५६।३।२ को निर्णय बदरतर्फ मात्र माग रहेको देखिंदा सो मिति २०५६।२।३ को निर्णय बदर भएको अवस्थामा पनि कि.नं ८८ को जग्गाको रैकर लगत कट्टा गर्ने गरी भएको ०३६।८।२३ को निर्णय कायम नै रहने देखिन्छ । तसर्थ मिति २०३६।८।२३ मा नै दाताको हक समाप्त भैसकेको अवस्थामा ०३६।८।२३ को निर्णय कार्यान्वयन गर्न मात्र भएको गुठी संस्थानको ०५६।२।३ को निर्णय सदर हुन्छ । उक्त ०५८।९।२३ को पुनरावेदन अदालतको फैसला उल्टी गर्ने राय व्यक्त गर्ने मा.न्या.श्री राजेन्द्रकुमार भण्डारीको रायसंग सहमत हुन नसकेकोले सर्वोच्च अदालत नियमावली, २०५९ को नियम ३.१(क) बमोजिम प्रस्तुत मुद्दा पूर्ण इजलासमा पेश गर्नु भन्ने मा.न्या.श्री गौरी ढकालको राय 

      नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकको तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरू श्री शम्भु थापा, श्री लोकभक्त राणा तथा श्री रविन्द्रनाथ अर्यालले मेरो पक्षको नाउँमा साविक सनातनदेखि निजी गुठी रही रैकरमा दर्ता भएको जग्गालाई गुठी संस्थानको अध्यक्षबाट रैकरको लगत कट्टा हुने गरी भएको २०३६।८।२३ को निर्णय गुठी संस्थान ऐन,२०३३ को दफा ३९(१) को व्यवस्था विपरीत अधिकार नभएको व्यक्तिबाट भएको निर्णय स्वतः अमान्य र जग्गा नाप जाँच ऐन,२०१९ बमोजिम नापी गोश्वाराबाट ०४७।५।१२ को निर्णय अन्तिम रहेको अवस्था हुँदा ०५६।२।३ को निर्णयबाट रैकरको लगत कट्टा गर्न मिल्ने होइन । तसर्थ रैकरको लगत कट्टा गरी गुठीमा दर्ता गर्ने गरी भएको गुठी संस्थानको उक्त निर्णय कायम राख्न मिल्ने नहुँदा उक्त निर्णय सदर गरी भएको पुनरावेदन अदालतको फैसला बदर गरी साविक रैकरको लगतबमोजिम नापी गोश्वाराको निर्णय कायम हुनुपर्छ भन्ने व्यहोराको बहस जिकीर प्रस्तुत गर्नुभयो भने विपक्षी गुठी संस्थानको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री रामप्रसाद गौडेलले रैकरमा परिणत गरी दर्ता गर्ने निर्णयलाई गुठी संस्थानको २०३६।८।२३ को निर्णयले बदर गरी राज गुठी कायम गर्ने निर्णय गरी सकेपछि सो निर्णय कतैबाट बदर नभएको र बदरमा मुद्दा पनि नपरेको अवस्थामा उक्त मिति २०३६।८।२३ को निर्णयालई चुनौती नै नदिएको अबस्थामा उक्त मिति २०३६।८।२३ को निर्णय कार्यान्वयन गर्न परेको ०५६।२।३ मा भएको निर्णय बदर हुन सक्ने होइन । तसर्थ पुनरावेदन अदालत, पाटनको निर्णय मिलेको हुँदा सदर हुनुपर्छ भन्ने व्यहोराको बहस प्रस्तुत गर्नुभयो 

      २.    आज निणय सुनाउन तारेख तोकिएको प्रस्तुत मुद्दामा पक्ष विपक्षका कानून व्यवसायीहरूले गर्नु भएको उपरोक्त बहस जिकीर मनन गरी, पुनरावेदनपत्र सहितको मिसिल कागजात अध्ययन गरी निर्णयतर्फ विचार गर्दा पुनरावेदन अदालत, पाटनको फैसला उल्टी हुने ठहर्याएको माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारीको राय वा सो फैसला सदर कायम राख्ने गरेको माननीय न्यायाधीश श्री गौरी ढकालको रायमध्ये कुन चाँहि राय मनासिव देखिन्छ भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो 

      ३.    साविक चाबहिल गा.प.वडा नं. ३ कि.नं १०० को १०० जग्गा लक्ष्मीनारायण बैद्यको जग्गा भएको र उक्त कि.नं. १०० कित्ताकाट भई कायम भएको कि.नं. २७३  ज्ञानप्रसाद  र  रामबहादुर श्रेष्ठले एवं कि.नं. २७४ टीकाराम पाठकले राजीनामा गरी लिएको जग्गा हो । उक्त जग्गाहरू २०४५ सालमा नयाँ नापी हुँदा कि.नं.२७३ कि.नं. ८९ मा ४० तथा कि.नं. २७४ कि.नं. ८८ मा ५१ कायम भै नापनक्सा भई जग्गाधनी प्रमाण पूर्जा समेत प्राप्त गरेको जग्गालाई गुठी संस्थान केन्द्रीय कार्यालयका प्रशासकबाट गुठी संस्थानको २०३६।८।२३ को निर्णयबमोजिम भनी मिति २०५६।२।३ मा ज्ञानप्रसाद पाठक, रामबहादुर श्रेष्ठ र टीकाराम पाठकको नाममा भएको उक्त साविक कि.नं. २७३ र २७४ को रैकर लगत कट्टा गरी गुठी लगत कायम गर्न पठाउने भन्ने निर्णय गरेकोले गुठी संस्थानको उक्त ०५६।२।३ को निर्णय बदर गरी रैकर कायम गरिपाऊँ भन्ने नै पुनरावेदकको मुख्य पुनरावेदन जिकीर रहेको देखियो 

      ४.    उक्त साविक कि.नं.१०० को १०० जग्गाका सम्बन्धमा श्री गोरखनाथ पुजा गुठी चलाई भोज खानुपर्ने रै.का.नं. ३०३ मा रैकर परिणत भएको २१।। रोपनी जग्गा मध्ये तत्कालीन चावहिल गा.प.वडा नं. ३ कि.नं. १०० को १०० रत्न वैद्य, श्याम वैद्य, इन्द्रकुमारी वैद्य, पदमबहादुर वैद्य र लक्ष्मीनारायण वैद्य समेत ७ जनाको नाउँमा दर्ता भएकोमा अन्य ६ जना गुठीयारले लक्ष्मीनारायणको नाउँमा २०३१।११।२५ मा छोडपत्र गरिदिएको र सो कि.नं. १०० कित्ताकाट भई कि.नं. २७३ र २७४ भएकोमा सो जग्गा रैकर बनाई धर्मलोप गरे भन्ने सम्बन्धमा उजूरी निवेदन परी उक्त निवेदनउपर कारवाही हुँदा गुठीको पशुपति गोश्वाराबाट खडा भएको लगतबाट छुट गुठीको लगतमा दर्ता भएको गोरखनाथमा मामुलियत पर्व चलाउने गरी लगत खडा भएको देखिनाले छुट गुठीमा जिन्सी फलुवा चामल १।१० बुझाउनु पर्ने जग्गा छुट गुठी होइन भन्न नमिल्ने हुनाले उल्लिखित २ कित्ता जग्गा रोपनी १०० को रैकर तर्फको लगत कट्टा गराउन मालपोत कार्यालयमा लेखी पठाउनु र बाँकी १० रोपनी जग्गा पनि खोजी छुट गुठी कायम गर्नु भनी गुठी संस्थानका अध्यक्षबाट ०३६।८।२३ मा टिप्पणी सदर निर्णय भएको प्रमाणमा आएको उक्त सक्कलै निर्णय फायलबाट देखिन्छ । त्यसको जानकारी मिति २०३७।३।२१ मा प्राप्त गरी सो उपर पुनरावेदन नगर्ने लक्ष्मीनारायणले सो कुरा लोप गरी २०३८ सालमा कि.नं. २७४ को जग्गा पुनरावेदक टीकाराम पाठकलाई तथा कि.नं. २७३ को जग्गा ज्ञानप्रसाद पाठक र रामप्रसाद श्रेष्ठलाई राजीनामा गरी दिएको भन्ने कुरा मिसिल संलग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २०५४।७।१२ को निर्णयबाट प्रष्ट भैरहेको स्थिति छ । गुठी संस्थानको सो निर्णय कार्यान्वयन गर्न सम्बन्धित निकायहरूलाई गुठी संस्थानबाट पटक पटक ताकेता गर्दै रहेको देखिए पनि रैकर लगत कट्टा गर्ने कार्य हुन नसकेको र उक्त निर्णय कार्यान्वयन नहुँदैको अवस्थामा पुनरावेदकले नयाँ नापीको क्रममा नापी दर्ता गराएको देखिन्छ । गुठीको जग्गा रैकरमा नापी दर्ता गराएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष उजूरी परी कारवाहीको क्रममा मात्र मिति २०३६।८।२३ को निर्णय कार्यान्वयन नगरी सो निर्णयबाट राजगुठीमा परिणत भै सकेको विवादित जग्गा गुपचुपमा नापी दर्ता गराएको तथ्य खुल्न आई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय समेतको आधारमा गुठी संस्थान केन्द्रीय कार्यालयको पूर्व निर्णय कार्यान्वयन गर्ने प्रयोजनका लागि मिति २०५६।२।३ मा निर्णय भएको देखियो 

      ५.    गुठी संस्थानको ०३६।८।२३ को निर्णय बदरमा पुनरावेदकका दाता लक्ष्मीनारायणले पुनरावेदन नगरी गुठी स्वीकार गरी बसी सकेपछि दाताकै हक समाप्त भएको अवस्थामा निजबाट हक प्राप्त गर्ने यी पुनरावेदकको हक बाँकी रहेको भन्न मिल्ने कुनै कानूनी आधार विद्यमान रहेको देखिन आउदैन 

      ६.    विवादित जग्गा, जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६(९) बमोजिम पुनरावेदकका नाउँमा दर्ता गर्ने गरी ०४७।५।१२ मा ३ नं. नापी गोश्वराबाट निर्णय भएको छ । सो निर्णय विपक्षीलाई जानकारी भएर पनि विपक्षीले चित्त बुझाई बसेको भनी पुनराबेदकले जिकीर लिएको देखिए पनि पुनरावेदकका दाता लक्ष्मी नारायण समेतले विवादित जग्गा रैकर परिणत गराएको कामकारवाही बदर गरी गुठी संस्थानबाट मिति ०३६।८।२३ मा गुठी कायम गरिसकेको देखिन्छ । सो निर्णय कार्यान्वयनको लागि गुठी संस्थानबाट सम्बन्धित मालपोत कार्यालय समेतलाई मौकैमा पत्राचार भएको भन्ने पनि देखिएको छ । राज गुठीको जग्गाको हक स्वामित्व र प्रकृति नापीले अन्यथा निर्णय गर्दैमा समाप्त हुनसक्ने पनि देखिदैन 

      ७.    गुठी संस्थान ऐन, २०३३ को दफा ३९ ले गुठी जग्गालाई, जुनसुकै तरहले, जोसुकैले, रैकरमा दर्ता गराएको भएपनि गुठी प्रशासकले जुनसुकै समयमा बदर गरी गुठी कायम गर्न सक्ने गरी गुठी जग्गाको मौलिक स्वरुप वा प्रकृति कहिल्यै पनि परिवर्तन हुन नसक्ने र सदैव कायम रहने विशेषाधिकार प्रदान गरिरहेको अवस्थामा नापी दर्ताउपर गुठी संस्थानले उजूरी नगरेको कारणबाट सनातनदेखि चली आएको गोरखनाथको गुठी धर्मलोप हुन सक्ने स्थिति देखिदैन । त्यसमा पनि नापीको बखतमा समेत विवादित जग्गा गुठीको हो भन्ने विषय उठेको र सो तथ्य मौकैमा नापी गोश्वाराको जानकारीमा रहेको भन्ने देखिन्छ । त्यसरी नापीको समयमा नै विवादित जग्गा गुठी वा रैकर भन्ने विवाद उठेपछि साविक लगत, मोठ स्रेस्ता र गुठी समेत बुझी यकीन साथ निर्णयमा पुग्नुपर्ने दायित्व भएको नापी गोश्वाराले गुठी संस्थानबाट मिति २०३६।८।२३ मा भएको निर्णय पेश हुन नसकेको भन्ने आधारमा विवादित जग्गा रैकरमा नापी दर्ता हुने गरी गरेको निर्णय स्वयंमा गुठी संस्थान ऐन, २०३३ को दफा ३९ विपरीत गैरकानूनी देखियो । गुठी संस्थान ऐन, २०३३ को दफा ३९ प्रतिकूल भएको त्यस्तो गैरकानूनी निर्णयको कुनै कानूनी र प्रमाणिक महत्व नरहने भएबाट गुठी संस्थानले सो निर्णय बदर गराइरहनु पर्ने औचित्य र आधार देखिएन 

      ८.    कुनै खास उद्देश्य लिई कुनै विशेष कार्य सञ्चालन गर्नको लागि बनेको विशेष प्रकारको कानूनको प्रयोग सोही रुपमा हुनुपर्ने हुन्छ । यदि त्यस्तो विशेष कानूनमा सामान्य कानूनमा भन्दा पृथक खालको प्रक्रिया वा कार्यविधि निश्चित गरिएको छ, हक प्राप्ति र समाप्तिको सम्बन्धमा पनि सामान्य कानूनको भन्दा भिन्न आधार दिईएको छ भने पनि त्यसैलाई अनुशरण गर्नु पर्दछ । त्यस्तोमा सामान्य कानूनी प्रक्रिया बमोजिम हुनु पर्दछ भन्ने जिकीर गर्न मिल्दैन । धार्मिक वा सांस्कृतिक मूल्य मान्यताको जर्गेना, उन्नयन वा संरक्षण गर्ने तथा सार्वजनिक कल्याण समेतको पवित्र उद्देश्यबाट ओतप्रोत भै गुठी राखिने भएबाट गुठी धर्म लोप हुन नदिन गुठी सम्बन्धी कानूनमा विशेष कानूनी प्रवन्ध गर्नु परेको हुन्छ । गुठी संस्थान ऐन, २०३३ को दफा २ को खण्ड (ग) मा गुठीभन्नाले कुनै मठ वा कुनै देवी देवताको पर्व, पूजा वा जात्रा चलाउन वा कुनै धार्मिक वा परोपकारी कामको लागि कुनै मन्दिर, देवस्थल, धर्मशाला, पाटी, पौवा, इनार, पोखरी, तलाउ, धारा, पियाउ, बाटो, घाट, पुल, चौतारा, गौचरण, बाग, बगैंचा, जंगल, पुस्तकालय, पाठशाला, औषधालय, चिकित्शालय घर, इमारत वा संस्था बनाउन, चलाउन वा त्यसको संरक्षण गर्न कुनै दाताले आफ्नो चल अचल सम्पत्ति वा आयस्ता आउने अरु कुनै सम्पत्ति वा रकममा आफ्नो हक छाडिराखेको गुठी समेतलाई संझनु पर्दछ भनी दिइएको परिभाषाबाट गुठी सम्पत्तिको विशेष महत्व रहेको स्पष्ट हुन्छ । यस्तो धार्मिक मूल्य मान्यताको संरक्षण र सार्वजनिक कल्याणको निमित्त राखिएको गुठी सम्पत्तिको हिनामिना, दुरुपयोग वा मसौट हुन नपाओस भनी ऐनको दफा ३९ मा गरिएको व्यवस्थालाई विशेष रुपमा नै ग्रहण गरिनु पर्दछ । गुठी, व्यक्तिको हक समाप्त हुने र समूह, समुदायको हक सिर्जना हुने प्रक्रिया भएकोले गुठी राख्नेले आफ्नो इच्छापत्रमार्फत् व्यक्त गरेको इच्छालाई नमासिने गरी जोगाई निरन्तरता (Perpetual Continuity)  प्रदान गर्नु राज्य वा सरकारको अंङ्गको रुपमा रहेको गुठी संस्थान जस्ता निकायहरूको कानूनी कर्तव्य हुने भनी निवेदक अधिवक्ता प्रकाशमणि शर्मा समेत विरुद्ध नेपाल सरकार मन्त्रिपरिषद् सचिवालय समेत विपक्षी भएको संवत् २०५८ सालको रिट नं.७७ यस अदालतको विशेष इजलासबाट मिति २०६४।१०।१० मा निर्णय भई नेकाप २०६४, पृष्ठ १२७५ मा सिद्धान्त समेत प्रतिपादन भएको अवस्था छ । त्यसैले व्यक्ति व्यक्तिका बीच जग्गाको तेरोमेरोको विवाद उठी एकपटक भएको निर्णय अन्तिम भै सम्बन्धित पक्षलाई बन्धनकारी हुने सामान्य व्यवस्थाको विपरीत गुठी जग्गाको स्वरुप वा प्रकृति समाप्त हुने गरी भएको निर्णय जहिलेसुकै बदर गर्न मिल्ने हुँदा नापी गोश्वाराबाट कुनै निर्णय भएकै भरमा वा त्यसउपर पुनरावेदन वा उजूर नपरेकै आधारमा गुठी धर्मलोप हुन सक्ने देखिएन । 

      ९.    प्रस्तुत पुनरावेदन ०५६।२।३ को निर्णयउपर परेकोले सोही निर्णय बदर सम्मको जिकीर लिइएको देखिन्छ । सो निर्णय बदर भएको स्थितिमा पनि विवादित जग्गाको रैकर लगत कट्टा गरी गुठी कायम गर्ने गरी भएको ०३६।८।२३ को मूल निर्णय कायम नै रहने भएबाट विवादित जग्गाको गुठीतर्फको लगत अन्यथा हुन सक्ने देखिदैन । त्यसमा पनि गुठी संस्थानको मूल निर्णयउपर यी पुनराबेदकका दाता लक्ष्मीनारायणले कुनै उजूर नगरी २०३६।८।२३ को गुठी संस्थानको सो मूल निर्णयको अस्तित्व स्वीकार गरी बसेको अबस्थामा सो मिति पश्चात् पुरावेदकले रैकरको हैसियतबाट प्राप्त गरेको राजीनामा लिखतले बैधता पाउन सक्ने अवस्था नहुँदा सो राजीनामाको आधारबाट गराएको नापी दर्ता समेत स्वतः गैरकानूनी हुने देखिन्छ 

१०.    दोहोर्‍याउने निस्सा प्रदान गर्दा गुठी संस्थान ऐन, २०३३ को दफा ३९ मा संशोधन भए पश्चात्का नजीरहरू उल्लेखन भएको पाइन्छ । गुठी संस्थानको उक्त मिति २०३६।८।२३ को निर्णय गुठी संस्थान ऐन, २०३३ मा पहिलो संशोधनबाट दफा ३९ मा संशोधन हुनु पूर्वको भन्नेमा विवाद छैन । तत्काल वहाल रहेको उक्त दफामा गुठी प्रशासकको व्यवस्था नगरिएको हुँदा गुठी संस्थानको अध्यक्षलाई त्यस सम्बन्धमा निर्णय गर्ने अधिकार रहेकै देखिन्छ । मिति २०४१।८।२४ मा गुठी संस्थान ऐन, २०३३ मा भएको पहिलो संशोधनपश्चात् उक्त दफा ३९ मा प्रशासकको व्यवस्था भएको र प्रशासकबाट भएका काम कारवाहीका सम्बन्धमा परेका विवादहरूका सन्दर्भमा कायम गरिएका प्रतिपादित सिद्धान्त (नेकाप २०४४, पृष्ठ ८७०, नि.नं. ३१८८ र नेकाप २०५७, पृष्ठ २६३ नि.नं. ६८८२) हरूको प्रस्तुत मुद्दामा सान्दर्भिकता नहुँदा यस अदालतबाट मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गर्दा लिइएको आधार एवं सोलाई सर्मथन गर्ने गरी भएको माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद भण्डारीको रायसंग सहमत हुन सकिएन 

      ११.    तसर्थ उल्लिखित आधार कारण, कानूनी व्यवस्था र प्रतिपादित सिद्धान्त समेतको बिवेचनाका आधारमा मिति २०३६।८।२३ को गुठी सस्थानको मूल निर्णय उपर पुनरावेदकका दाता लक्ष्मीनारायणले कुनै उजूर नगरी स्वीकार गरी बसेको र सो निर्णय कार्यान्वयन गर्ने गराउने प्रयोजनका लागि गुठी संस्थानका प्रशासकबाट मिति २०५६।२।३ मा भएको निर्णयउपर मात्र प्रस्तुत पुनराबेदन परेको अबस्था हुंदा दाताकै हक समाप्त भएको अवस्थामा यी पुनरावेदकको हक बाँकी रहेको भन्न नमिल्ने हुंदा गुठी संस्थानको ०५६।२।३ को निर्णय बदर गर्नु नपर्ने भनी भएको पुनरावेदन अदालत पाटनको मिति ०५८।९।२३ को फैसला सदर कायम राख्ने गरेको मा.न्या.श्री गौरी ढकालको राय मनासिब ठहर्छ। मिसिल नियमानुसार गरी बुझाई दिनू 

 

उक्त रायमा हामी सहमत छौं 

 

न्या.मोहनप्रकाश सिटौला

न्या.गिरीशचन्द्र लाल

 

इति संवत् २०६६ साल जेठ ७ गते रोज ५ शुभम्..

इजलास अधिकृत  :    कृष्णराम कोइराला

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु