निर्णय नं. ८२५४ - सालको अवैध चिरान काठ ओसार पसार ।

निर्णय नं. ८२५४ माघ, २०६६ अङ्क १०
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री रणबहादुर बम
माननीय न्यायाधीश श्री अवधेशकुमार यादव
संवत् २०६२ सालको स.फौ.पु.नं.– ३२७९
फैसला मितिः २०६६।६।२६।२
मुद्दा :– सालको अवैध चिरान काठ ओसार पसार ।
पुनरावेदक वादीः चन्देश्वर सदा समेतको प्रतिवेदनले नेपाल सरकार
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः जिल्ला सुर्खेत गुटु ८ हाल उत्तरगंगा गा.बि.स.वडा नं.८ बस्ने ताराप्रसाद देवकोटा समेत
शुरु फैसला गर्नेः–
मा.जि.न्या. श्री गणेश पंजियार
पुनरावेदन फैसला गर्नेः–
मा.न्या. श्री रामकुमारप्रसाद शाह
मा.न्या. श्री चोलेन्द्र शम्सेर ज.व.रा.
§ वन पैदावार ओसार–पसार गर्ने कसूरजन्य अपराधमा साधन प्रयोग हुनु नै कसूर हो । सवारी साधनको मालिकको मञ्जूरी होस् वा नहोस् त्यस्तो कार्यमा प्रयोग गरिएको कार्य नै कसूर स्थापित हुने तथ्य नै पर्याप्त हुने ।
(प्रकरण नं.४)
§ कुन कार्य कसूर हो त्यसको परिभाषा र निर्धारण विधायिकाले कानूनद्वारा गर्दछ । कसूर र अपराधका लागि सजाय र अपराधमा प्रयोग भएका बस्तु वा साधन जफत हुने वा नहुने सोको निर्धारण पनि विधायिकाले नै ऐनद्वारा गर्दछ । त्यस्ता कानूनमा जे लेखिएको छ सोहीबमोजिम अदालतले फौजदारी न्याय प्रदान गर्दा प्रचलित कानून लागू गर्दछ । ऐनमा नभएको सजाय गर्न पाइदैन भने ऐनले गर्नुपर्ने सजाय र कसूरमा प्रयोग भएको साधन जफत गर्नुपर्नेमा कानूनको गलत व्याख्या वा कानूनी प्रावधानप्रतिको उपेक्षाभावले जफत नगर्नु भनेको वन ऐन, २०४९ को दफा ६६ मा भएको जफतसम्बन्धी व्यवस्थाको प्रतिकूल हुने ।
(प्रकरण नं.६)
पुनरावेदक वादी तर्फबाटः
प्रत्यर्थी÷प्रतिवादी तर्फबाटः सहन्याधिवक्ता श्री बलराम शर्मा
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
§ वन ऐन, २०४९ को दफा ५०(१)(घ)(४), ६६
फैसला
न्या.रणबहादुर बमः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्याई हेर्न निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :-
मिति २०५६।५।१२ गतेका दिन राति ३ बजे रत्न राजमार्गको हुड्के ढुंगाबाट बीरेन्द्रनगर तर्फ आइरहेको भे.अ.ख ३४६ नं.को ट्रक रोकी चेक जाँच गर्दा अवैध ढाँचा निसानाका काँचो चिरान साल काठ भेटिएकोले ट्रकका चालक घनश्याम कडेल र लोडरहरू कर्णबहादुर पुलामी, बलबहादुर पुलामी, भुवन सिंह पुलामी, मानबहादुर सिजाली, बीरमान पुलामी, टेकबहादुर पुलामी, ओमबहादुर पुलामी समेतका ८ जनालाई पक्राउ गरी वरामद भएको विभिन्न नाप साइजका चिरान काठ थान १२२ र उक्त ट्रक समेत आवश्यक कारवाहीका लागि पेश गरेको छु भन्ने समेत व्यहोराको जिल्ला वन कार्यालय, सुर्खेतका निमित्त जिल्ला वन अधिकृत चन्द्रेश्वर सदा समेतको प्रतिवेदन ।
वरामद भै आएको काठहरू तथा ट्रक जिम्मामा बुझी हवल्दार दलबहादुर डाँगीले गरी दिएको भरपाई ।
मिति २०५६।५।१२ गते राति ३ बजे गिरीघाटको राजमार्गको बाटो हुँदै बीरेन्द्र नगरपालिकातर्फ आउदै गरेको भे.अ.ख ३४६ नं.को ट्रक सुर्खेतका गस्ती कर्मचारीहरूले चेक जाँचगर्दा विना प्रमाणका कुनै पनि ढाँचा चिन्ह प्रयोग नभएका तपसीलमा उल्लिखित नाप साइजका साल जातको हरियो नयाँ चिरानी काठ थान १२२ लोड गरी ल्याएको हुँदा उक्त ट्रक सहित चालक तथा लोडरहरू जना ७ लाई पक्राउ गरी लगेको ठीक छ भन्ने समेत व्यहोराको बरामदी मुचुल्का ।
मिति २०५६।५।१२ को घटनास्थल प्रकृति मुचुल्का ।
पक्राउ भै बरामद भएको काठ मसिना सामुदायिक वनको हो । उक्त काठ सामुदायिक वनका मानिससँग मिली मैले किनेर ल्याएको हुँ । तयारी अवस्थामा छ । लोड गरी दिनुहोस् ज्याला दिउँला भनी मनबहादुर बिष्टले भनेका हुँदा मिति २०५६।५।१२ गते साँझ ५ बजे म लगायत बलबहादुर पुलामी, भुवन सिं पुलामी, मानबहादुर सिंजाली, बीरमान पुलामी, टेकबहादुर पुलामी, ओमबहादुर पुलामी समेतका जना ७ ले मसिनामा गई १२२ थान चिरानी सालका काठहरू भे.अ.ख ३४६ नं.को ट्रकमा लोड गरी बीरेन्द्रनगरमा अनलोड समेत गर्नको लागि ट्रकमा आइरहेको बखत पक्राउमा परेको हो । हामीले ज्यालाको लागि काम गरेका हौ । भन्ने समेत व्यहोराको अभियुक्त कर्णबहादुर पुलामीले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
मिति २०५६।५।१२ गते बेलुकी मनबहादुर बिष्टले मलाई मसिनाबाट काठ ल्याइदेउ भनेकाले मैले नमान्दा मलाई डरत्रास धम्की दिएकोले मसिना ओदालताल भन्ने ठाउँबाट निज मनबहादुर बिष्टले काठ लोड गर्न लगाएका हुन् । काठ लोड गरी कर्णबहादुर पुलामी समेतका लोडरहरू ट्रकमा आइरहेका बखत पक्राउमा परेको हो । काठ कुन ठाउँको हो को कसले काटेका हुन थाहा छैन काठ र ट्रक वरामद हुँदा मनबहादुर बिष्ट ट्रकको हुड माथि बसेका थिए हामी पक्राउमा पर्दा उनी भागी फरार भएका हुन अरु काठ ल्याइदेउ भन्ने मनबहादुर बिष्टलाई नै थाहा होला भन्ने समेत व्यहोराको अभियुक्त घनश्याम कडेलले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
म कर्णबहादुर पुलामी समेतका ७ जना आफ्नो खेतमा धान गोडिरहेको बेला २०५६।५।१२ गते साँझ ५ बजे मनबहादुर बिष्ट आई सामुदायिक वनमा काठ चिर्न लगाई तयार छ बीरेन्द्रनगरसम्म लैजान लोड अनलोड गरी दिनुहोस् ज्याला दिउँला भनेकोले पैसाको आसले १२२ थान काठ लोडगरी आउन लाग्दा वन गस्ती टोलीले पक्राउ गरेको हो भन्ने समेत व्यहोराको अभियुक्तहरू ओमबहादुर पुलामी, बीरमान पुलामी, टेकबहादुर पुलामी, भुवन सिं पुलामी समेतले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
यो काठ कुनाथरीको मसिना भन्ने सामुदायिक सरकारी वनमा काटिएको काठ हो । हामी खेतवारीमा काम गरिरहेको बेला मनबहादुर बिष्टले काठ लोड गरीदेउ भनेकोले ज्याला लिने गरी लोड गरिदिएको हो । ज्याला नदिएकोले सोही ट्रकमा बसी आएका हौं भन्ने समेत व्यहोराको अनुसन्धान अधिकारीसमक्ष अभियुक्त मानबहादुर सिंजाली तथा बलबहादुर पुलामीले गरेको पृथक पृथक बयान ।
मैले उक्त दिन मसिना सामुदायिक वनको मसिना भन्ने ठाउँबाट लोड गरी ल्याएको हुँ । उक्त समयमा त्यहाँ मानिसहरू थिए, सामुदायिक वनका हुन वा अरु कुनै हुन मलाई थाहा भएन भन्ने समेत व्यहोराको घनश्याम कडेलले गरेको ततिम्बा बयान ।
मिति २०५६।५।१२ गते राति ११ बजे राति ९,१० जना लेवर लिएर ट्रकमा मनबहादुर बिष्ट आए । हामीले ट्रक किन ल्याउनु भएको भनी सोध्दासोध्दै पनि बल प्रयोग गरी ट्रकमा आएका लेवरहरूले ट्रकमा काठ लोड गर्न थाले । काठ लोड गर्ने बेलामा मनबहादुर बिष्ट पनि थिए । पक्राउ गरिएको काठमा मसिना सामुदायिक वनले चिरान गरेको २,३ वटा मिसिएको काठ देखिन्छ भन्ने समेत व्यहोराको बलबहादुर बुढाथोकीले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
पक्राउ भै वरामद भएको काठ मसिना सामुदायिक वनको मसिना भन्ने ठाउँ नजिक सानोपोखरी भन्ने ठाउँमा मनबहादुर बिष्टले ट्रकमा लोड गर्न ल्याएको चिरानी काठ हो । उक्त काठ लोड गरी ल्याउँदा हाम्रो सामुदायिक वनको ठेकेदार कृष्णबहादुर थापाले टेण्डरबाट लिई चिरान गरेको काठको रेखदेख गर्न उक्त समूहको सदस्य बलबहादुर बुढाथोकीलाई राखेका थिए । निजलाई डर, धम्की दिई मनबहादुर बिष्टले काठ लोड गराउन लगाएका थिए भन्ने कुरा निजबाट सुनेको हुँ काठ कहाँको कस्तो हो मलाई थाहा छैन भन्ने समेत व्यहोराको सामुदायिक वनको कोषाध्यक्ष समेत रहेको भुवन सिंह सिजाली अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
मिति २०५६।५।१२ गते राति ३ बजे जिले ट्रक समातेको हो भन्ने थाहा पाएको हुँ । त्यो मितिमा कुनाथरी ५ स्थित कमेरे भन्ने ठाउँमा कोठ भएकोले म त्यहाँ गएको थिएँ । अरु मलाई थाहा छैन भन्ने समेत व्यहोराको मसिना सामुदायिक वनको सचिव समेत रहेका सोमराज सुवेदीको बयान ।
मिति २०५६।५।१२ गते राति ट्रक पक्राउ परेको ०५६।५।१४ गते बिहान मात्र थाहा पाएँ, उक्त दिन मेरो पालो थिएन । बलबहादुर बुढाथोकीको पालो ०५६।४।१८ देखि हालसम्मको हो भन्ने समेत व्यहोराको समितिका उपाध्यक्ष गंगाबहादुर पौडेलले अनुसन्धान अधिकारी समक्ष गरेको बयान ।
त्यो मिति र दिनमा औषधी उपचार गर्न इण्डिया गएको थिएँ । सबै गोलिया चिरानी काठको जिम्मा पालोमा खटिएका समितिका सदस्य बलबहादुर बुढाथोकीको जिम्मामा छ । ट्रक समातेको बारे मलाई केही थाहा छैन भन्ने समेत व्यहोराको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भक्तबहादुर सारुले अनुसन्धान अधिकारी समक्ष गरेको बयान ।
काठ मसिना सामुदायिक वनबाट ३ थान चिरानी फण्टा साइजको काठ उक्त ट्रकमा लोड गरेर मनबहादुर बिष्टले लगेका हुन् भन्ने कुरा सुनेको हुँ । अन्य लोड भएका काठहरू कहाँबाट ल्याएका हुन् मलाई थाहा छैन । काठ जबरजस्ती गरी लगेको हो भन्ने सुनेको हुँ भन्ने समेत व्यहोराको सुरथबहादुर थापा समेतको मिति २०५६।५।२८ को सर्जमिन मुचुल्का ।
वन पैदावर हटाउने मनबहादुर बिष्ट, घनश्याम कडेल, कर्णबहादुर पुलामी, बलबहादुर पुलामी, भुवन सिं पुलामी, मानबहादुर सिंजाली, बीरमान पुलामी, टेकबहादुर पुलामी, ओमबहादुर पुलामीलाई वन ऐन, २०४९ को दफा ४९ (घ) र ताराप्रसाद देवकोटा, बलबहादुर बुढाथोकी, गंगाबहादुर पौडेल, भक्तबहादुर सारु, भुवन सिंह सिंजाली, सोमराज सुवेदीलाई वन ऐन, २०४९ को दफा ५४ को कसूर गरी बिगो रु.६५,६७६। को साल काठ थान १२२ क्यू.फि.३२८.३८ को वन पैदावर हटाई ओसार पसार एवं मिलोमतो गरेको हुँदा प्रतिवादीहरूलाई सोही ऐनको दफा ५०(१) (घ) (४) बमोजिम सजाय गरी दफा ६६ बमोजिम बरामद काठ र भे.अ.ख ३४६ नं.को ट्रक समेत जफत गरी जनही जरीवाना बिगोको दोब्बर रु.१,३१,३५१। र १ बर्ष कैद गरिपाऊँ भन्ने अभियोगपत्र ।
मैले भे.अ.ख ३४९ नं.को ट्रक चलाएको हुँ । प्र.मनबहादुर बिष्टले मसिना सामुदायिक वनबाट काठ ढुवानी गर्नु छ आऊँ भनी भन्दा मैले इन्कार गर्दा गर्दै पनि जबरजस्ती करकापमा पारी म समेत भएर गएको हो । अन्य प्रतिवादीहरू पनि उसको खटनमा गएका रहेछन् । सालको काठहरू वैध रुपमा काटिएका हुन् वा अवैध हुन् मलाई थाहा छैन । सबै मिलेर काठ लोड गरिएको हो । उक्त गाडी ताराप्रसाद देवकोटाको हो । उक्त ट्रक मसिनाबाट १.५० बजे रातिको समयमा हिडेको थियो । उक्त काठ ओसार–पसार गर्नमा मेरो कुनै संलग्नता नरहेको र मेरो मञ्जूरी समेत नभएको हुँदा म निर्दोष छु भन्ने समेत व्यहोराको प्रतिवादी घनश्याम कडेलले जिल्ला अदालत समक्ष गरेको बयान ।
मसिना सामुदायिक वन उपभोक्ता समितिको मिलोमतोबाट सालको काठ ओसार पसार भएको होइन । सो काठ बाङ्गेसिमल चौकी वन बेरियरमा रातिको ३ बजेको समयमा पक्राउ भएको हो भन्ने बलबहादुर बुढाथोकीबाट वन कार्यालय आएपछि थाहा पाएको हुँ । निजको भनाइअनुसार मनबहादुर बिष्ट थिए भन्ने कुरा सुनाएका थिए । सो समयमा म मातृत्व परियोजनाको तालिममा बीरेन्द्रनगरमा भएकोले मलाई केही थाहा छैन । उपभोक्ता समूहको कोषाध्यक्ष भएको नाताले जाहेरी प्रतिवेदन परेको हो भन्ने समेत व्यहोराको प्र.भुवन सिंह सिंजालीले जिल्ला अदालतमा गरेको बयान ।
पक्राउ परेको काठ ओसार पसार गर्न चिरान गर्न र वन पैदावर हानि नोक्सानी पुर्याउनमा मेरो सहमति थिएन । म माथि अन्याय गरी अभियोग लगाएको छ भन्ने समेत व्यहोराको प्र.गंगाबहादुर पौडेलले जिल्ला अदालतमा गरेको बयान ।
मिति २०५६।५।१२ गतेमा म लगायत ७ जना बसिरहेको बेला घर कहाँ हो थाहा छैन मनबहादुर बिष्ट नाम गरेको मानिसलाई मसिना सामुदायिक वनमा मेरो काठ छ गाडीमा लोड गरिदिनु पर्यो भनी भनेकोले डर त्रास देखाई जवर्जस्ती हामीलाई ल्याई काठ लोड गराएको हो । उक्त काठ हामी ७ जना लेख गाउँकै मानिसले लोड गरेका हौं । उक्त गाडीमा काठ लोड गरेवापत एक जनालाई रु.१००। दिउँला भनेका थिए । उक्त पैसा पछि दिउँला भनी हामी समेत उक्त पैसा लिन सोही ३४६ नं.को ट्रकमा आइरहेको बेला बाङ्गेसिमल चेकपोष्टमा वनका कर्मचारीहरूले पक्राउ गरेका हुन् भन्ने समेत व्यहोराको प्र. बीरमान पुलामीले सुर्खेत जिल्ला अदालतमा गरेको बयान ।
अवैध रुपमा सालको काठ ओसार–पसार गर्ने कार्यमा मेरो कुनै संलग्नता छैन । म बिलकूल अनभिज्ञ छु । समूहको सचिव भएको हुँदा अभियोग लगाइएको होला । सो समयमा वनहेर्ने पालो बलबहादुर बुढाथोकीको थियो । सो सालको काठ अवैध रुपमा चोरी निकासी गर्न मुख्य काम मनबहादुर बिष्टले गरेका हुन् भन्ने समेत व्यहोराको प्र.सोमराज सुवेदीले गरेको बयान ।
मिति २०५६।५।१२ गते बेलुका मनबहादुर बिष्ट हामी भएतिर आई मसिना सामुदायिक वनमा मेरो चिरान साल काठ छ ट्रकमा लोड गर्न जाउँ भन्यो । हामीलाई करकापमा पारी जानका लागि बाध्य बनाएका हुँदा सातै जना मसिना पुगेपछि चिरी राखेको काठ रहेछ, लोड गरिदेउ प्रति लोडर रु.१००। दिन्छु भनी लगेका हुन् । उक्त काठ बैध वा अवैध के हो थाहा छैन भन्ने समेत व्यहोराको प्र. टेकबहादुर पुलामीले अदालतमा गरेको बयान ।
मिति २०५६।५।१२ गते म प्र. धन सिंह पुलामी समेत ७ जना ओदाल तालमा खेत गोडदै थियौं । वरामद भएको काठ मानबहादुर बिष्टको हो । सो दिन ६.३० बजेतिर काठ लोड गर्न गएको हो । सामुदायिक वनमा काठ बनाएको छु रु.१००। दिन्छु भनेको हुँदा सो लकडी ट्रकमा लोड गरेका हौ । उक्त काठ करिव १२ बजे लोड गरिसकेको हो भन्ने समेत व्यहोराको प्र.कर्णबहादुर पुलामीले अदालतमा गरेको बयान ।
मिति २०५६।५।१२ गते राति ३ बजे भे.अ. ख ३४६ नं.को ट्रकमा म समेत जना ७ ले उक्त गाडीमा दार लोड गर भनी मनबहादुर बिष्टले भनेकाले लोड गरेको हुँ । लोड गरेवापत एक जनाको रु.१००। दिने शर्त थियो । गाडीमा लोड गरेको दार १५० थान जति केही १२ फुट, केही ७ फुट, केही ६ फुट चिरान काठ थियो भन्ने समेत व्यहोराको प्र.भुवन सिं पुलामीले अदालतमा गरेको बयान ।
अभियोग पत्रमा उल्लिखित मनबहादुर बिष्ट समेतका प्रतिवादीहरू कहाँ थिए थाहा छैन । म मेरो घरमा नै थिए । मैले ट्रकमा काठ लोड गर्न लगाएको वा ओसार–पसार गर्नमा मद्दत वा सहयोग केही पनि गराएको छैन । अन्य को कसले गराए थाहा छैन म मसिना सामुदायिक वन समितिको अध्यक्ष भएको हुँदा म समेतलाई जाहेरी परेको हो भन्ने समेत व्यहोराको भक्तबहादुर सारु मगरले अदालतमा गरेको बयान ।
मनबहादुर बिष्टले काठ लोड गरिदिनु पर्यो भनी मलाई डर त्रासमा पारे पछि म समेतका मानिस मसिना सामुदायिक वनमा गई त्यहाँ मनबहादुर बिष्ट चिनेका र अन्य नचिनेका ४ जना जति मानिस थिए । काठ लोड गरी ट्रकमा बसी आउँदा रातको ३ बजे सुर्खेत बाङ्गेसिमलमा वनका कर्मचारीहरूले पक्राउ गरेका हुन् भन्ने समेत व्यहोराको प्र.मानबहादुर सिंजालीले अदालतमा गरेको बयान ।
मनबहादुर बिष्ट समेत २,३ जना आई जान्न भन्दा पनि पिट्छु भन्ने धम्की दिए पछि डरको कारण रु.१००। लोड गरेको लिने शर्तमा म समेत गई ट्रक काठ लोड गरेको हो भन्ने समेत व्यहोराको प्र.ओमबहादुर पुलामीले अदालतमा गरेको बयान ।
मसिना सामुदायिक वनबाट चिरान गरी राखेको काठ हो । काठ मनबहादुर बिष्टका हुन् । मैले काटी तयार गरेको होइन, तयार गरेको काठ मनबहादुर बिष्टले मलाई रु.१००। दिने शर्तमा ट्रकमा लोड गरिदिएको हो भन्ने समेत व्यहोराको प्र.बलबहादुर पुलामीले अदालतमा गरेको बयान ।
उक्त ट्रक ०५६।५।१२ गते अं.९,१० बजे वन समिति मसिना गएको हो । ट्रकभन्दा अघि मोटरसाइकलमा १ जना शेरबहादुर देउवा र अर्को नचिनेका आएका थिए । मनबहादुर बिष्ट ट्रकमा आएका हुन् । मनबहादुर बिष्टले जवर्जस्ती ट्रक लगी चिरान भएको दार लोड गरी लगे । उक्त ट्रक र दार वनका कर्मचारीले पक्राउ गरी लगे भन्ने २०५६।५।१५ मा सुनेको हुँ । खुकुरी झिकी डर त्रास देखाई सो काठ वनपाले शेरबहादुर देउबाले देखाई जवर्जस्ती लोड गराइ ल्याएको हो । हाम्रो वन पैदावरबाट उक्त काठ नलगेकोले उजूर गरिन भन्ने समेत व्यहोराको प्र. बलबहादुर बुढाथोकीले अदालतमा गरेको बयान ।
भे.अ.ख ३४६ नं.को ट्रक मेरै हो । समितिको मानिसबाट सुनेअनुसार मनबहादुर बिष्टले जवर्जस्ती गाडी लगी काठ लोड गरी आफू फरार भयो रे भन्ने कुरा सुनी थाहा पाएँ । ट्रक समितिले ढुँगा बोक्न पठाएको र मैले काठ लोड गर्नलाई नपठाएको हुँदा ट्रक जफत हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्र. ताराप्रसाद देवकोटाले गरेको बयान ।
मिति २०५६।५।१२ गते बिहान १० बजे म टाउको दुख्ने विरामी भएकोले नेपालगञ्ज गएको हुँ । उक्त मिति र समयमा म घटनास्थलमा थिइन । उक्त काठ काटी ओसार पसार गर्ने कार्यमा मेरो संलग्नता छैन । ट्रकको ड्राइभर र गाडी मालिकको मिलोमतोमा मलाई फसाउने उद्देश्यले सबै प्रतिवादीलाई यसै मनबहादुर बिष्टको हो भनी सिकाई भनेका हुन् । गाडी मालिक र ड्राइभरसँग मेरो पूर्व झगडा भएकोले सोही रिसइवीले भनेका होलान् तर मेरो संलग्नता छैन । मलाई नेपालगञ्ज उपचार गराउन लग्दा ना.अ.ख २१६ नं.को बस चालक गोपाल गिरी र गेहेन्द्रदेव गिरीले पुर्याई ०५६।५।१२ देखि १९ गतेसम्म भेरी अञ्चल अस्पतालमा उपचार गराई घरमा २० गते मात्र आएको हुँ भन्ने समेत व्यहोराको प्र.मनबहादुर बिष्टले अदालतमा गरेको बयान ।
मिति २०५६।५।१२ गते दिनको १० बजे मैले चलाउने गरेको ना.अ.ग २१६ नं.को गाडीमा बिरामी हालतमा निज मनबहादुर बिष्ट बसेको हुँदा मैले उनलाई भेरी अञ्चल अस्पताल नेपालगञ्जमा सम्म पुर्याई छाडेको हुँ । अरु मलाई थाहा छैन । अभियोग पत्र अनुसार काठ ओसार पसार गरे गरेनन् मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्र.मनबहादुर बिष्टका साक्षी गोपाल गिरीले गरेको बकपत्र ।
मनबहादुर बिष्टले उक्त अवैध काठ ओसार–पसार गरेका होइनन् । काठ वरामद १३ गते भएको छ । प्र. मनबहादुर बिष्ट १२ गते नेपालगञ्ज कोहलपुर सम्म सँगै गै म बर्दियातिर गए र मनबहादुर बिष्ट बिरामी अवस्थामा अस्पताल जान्छु भनी गएका हुन् । कहिले आए थाहा भएन भन्ने समेत व्यहोराको प्र.मनबहादुर बिष्टका साक्षी गेहेन्द्रदेव गिरीले गरेको बकपत्र ।
बरामदी काठ अवैध हो भनी उल्लिखित प्रतिवादीहरू ७ लाई थाहा थिएन । निजहरू बनिबुतो गरी खाने मानिस हुन् । निजहरूलाई ज्याला दिने कुरामा काठ लोड गरेको कुरा मलाई थाहा छ । ओदालताल भन्ने ठाउँमा मेरो भान्जीको घर गएको थिएँ । प्रतिवादीहरू आफ्नो खेत गोड्ने काममा लागिरहेका थिए । सोही दिनको बेलुका ६,७ बजेतिर ती प्रतिवादीहरूलाई काठ लोड गरिदिनु भनी मैले चिन्हाएको मनबहादुर बिष्ट होइन । अरु नै मनबहादुर बिष्टले प्रतिवादीहरूसँग कुरा गरी राखेको मैले देखे सुनेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादीहरूका साक्षी उज्जवल सिं लामिछानेले गरेको बकपत्र ।
उक्त मितिमा प्र. ताराप्रसाद देवकोटा बेलुका ७ बजेसम्म नेपालगञ्ज सुर्खेत होटलमा म सँगै हुनुहुन्थ्यो । त्यस पछि ऐ.१३ गते नेपालगञ्ज नर्सिंङ होममा भेटेको हुँ । तसर्थ वहाँलाई लगाइएको अभियोग दावी झूठा हो भन्ने समेत व्यहोराको प्र.ताराप्रसाद देवकोटाका साक्षी विजयराज देवकोटाले गरेको बकपत्र ।
उक्त मितिमा म आफ्नो घरमा नै थिए । भक्तबहादुर सारु उपचार गराउन भारततर्फ जानुभयो । सोमराज सेवेदी कुनाथरी गा.बि.स.को कमेरे भन्ने ठाउँमा गाईबस्तु लिई जानु भएको थियो । भुवन सिं सिजाली सेभ द मदरहुड प्रोजेक्टले बीरेन्द्रनगर सुर्खेतमा दिएको तालिममा आएका थिए । गंगाबहादुर पौडेल लेख गाउँ गा.बि.स.वडा नं.४ मा आफ्नो नातेदारको घरमा गएका थिए । बलबहादुर मसिना सामुदायिक वनमा वन हेर्न बस्नु भएको थियो । यसरी उल्लिखित प्रतिवादीहरू त्यस ठाउँमा नै नभएको हुँदा वनसम्बन्धी अपराध गरेको होइनन् । उक्त सामुदायिक वन क्षेत्रबाट प्रतिवादीहरूले अनियमित निकासी गरेका होइनन् भन्ने समेत व्यहोराको प्रतिवादीहरू ५ जनाका साक्षी तेजबहादुर बस्नेतले गरेको बकपत्र एवं सोही मिलानको चन्द्रबहादुर थापा, डम्बरबहादुर पौडेल समेतको बकपत्र ।
मिति २०५६।५।१२ गते राति ३ बजेको समयमा घनश्याम कडेंल समेतका ७ जना भई अवैध काठ निकासी गर्न लागेको फेला पारेको हुँ । साल जातको २३४.५६ क्यू.फिट चिरान काठ वरामद भएको हो । मिति २०५६।५।१३ को जाहेरीमा भएको व्यहोरा साँचो हो । उक्त कागजमा लागेको सहिछाप मेरै हो भन्ने समेत व्यहोराको जाहेरबाला चन्द्रेश्वर सदाले गरेको बकपत्र ।
०५६।५।१२ गते राति ३ बजे हामीहरू गस्ती गर्दै जाँदा बाङ्गेसिमलमा पश्चिमतर्फबाट अवैध काठ ट्रकमा हाली ल्याएको अवस्थामा हामीहरूले पक्राउ गरेका हौं । त्यस बखत चालक घनश्याम कडेल र अन्य कर्णबहादुर पुलामी समेत ७ जना थिए । जाहेरी दरखास्तमा भएको व्यहोरा साँचो हो भन्ने समेत व्यहोराको जाहेरबाला हरिलाल शर्माले गरेको बकपत्र एवं सोही मिलानको भुपालबहादुर मल्ल, भविन्द्रदेव गिरी समेतले गरेको बकपत्र ।
मिति २०५६।५।२८ गते भएको सर्जमिन मुचुल्का मेरो रोहबरमा भएको ठीक हो । मसिना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरू निर्दोष छन् भन्ने समेत व्यहोराको सर्जमिनका मानिस कृष्णबहादुर खड्काले गरेको बकपत्र ।
ट्रक गिरीघाट खोलाको बाटोमा थियो । त्यहाँ एउटा मोटरसाइकल आयो अनि होहल्ला भयो । ट्रकमा बसी आएका मानिस समेतले घनश्याम कडेंललाई धडपकड गरी जवबजजस्ती ट्रक लिएर पश्चिम हुडके ढुँगातर्फ गए । मोटरसाइकलमा आएका मध्ये मनबहादुर बिष्टलाई चिन्दछु अरुलाई चिन्दिन भन्ने समेत व्यहोराको प्र.घनश्याम कडेलका साक्षी कृपालाल अधिकारीले गरेको बकपत्र ।
मिति २०५६।५।१२ देखि ०५६।५।१४ सम्म प्रतिवादी ताराप्रसाद देवकोटा नेपालगञ्ज स्थिति मेरो सुर्खेत होटलमा खाना खादै र रुद्रबहादुर शाहीको घरमा सुत्ने गर्नुहुन्थ्यो भन्ने समेत व्यहोराको प्र. ताराप्रसाद देवकोटाका साक्षी उदयराम थापाले गरेको बकपत्र ।
गिरीघाट खोलाको बाटोमा ट्रक थियो । एउटा मोटरसाइकल गयो । ड्राइभर पनि बाटोमै थिए हो हल्ला भयो म बाटोमा आउँदा ट्रक पश्चिम तर्फबाट गैसकेको थियो भन्ने समेत व्यहोराको प्र. घनश्याम कडेंलको साक्षी नन्दराम कडेलले गरेको बकपत्र ।
प्रतिवादी मनबहादुर बिष्ट, घनश्याम कडेंल, कर्णबहादुर पुलामी, बलबहादुर पुलामी, भुवन सिंह पुलामी, मानबहादुर पुलामी, बीरमान पुलामी, टेकबहादुर पुलामी, ओमबहादुर पुलामी, समेत ९ जनाले अभियोग दावीअनुसार वन ऐन, २०४९ को दफा ४९(घ) अनुसार र प्र. बलबहादुर बुढाथोकीले वन ऐन, २०४९ को दफा ५४ अनुसारको कसूर गरेको ठहर्छ । तसर्थ प्र. मनबहादुर बिष्ट मुख्य व्यक्ति हुँदा वन ऐन, २०४९ को दफा ५०(१) (घ) ४ बमोजिम बिगोको दोब्बर रु.१,३१,३५२। जरीवाना र ३ महिना कैदको सजाय हुन्छ । अन्य प्रतिवादीहरूले ज्याला मजदूरी समेतका कारणबाट लोड गरी ओसार–पसार गरेका हुँदा निजहरूलाई जनही ३ महिना कैदको दरले सजाय समेत हुने ठहर्छ । प्रतिवादीमध्येका गंगाबहादुर पौडेल, भक्तबहादुर सारु, भुवन सिं सिजाली, सोमराज सुवेदी तथा ताराप्रसाद देवकोटा समेतका प्रतिवादीहरू निर्दोष हुँदा यी प्रतिवादीहरू उपरको अभियोग माग दावी पुग्न सक्दैन सफाइ पाउने ठहर्छ । बोझ वाहक भे.अ.ख ३४६ नं.को ट्रक जफत गर्नेतर्फ सबूद प्रमाणको अभावमा वादीको माग दावी सो हदसम्म नपुग्ने ठहर्छ । वरामदी १२२ थान काठ वन ऐन, २०४९ को दफा ६६ बमोजिम जफत हुने ठहर्छ भन्ने समेत व्यहोराको सुर्खेत जिल्ला अदालतबाट मिति २०५७।८।२ मा भएको फैसला ।
वन ऐन, २०४९ को दफा ६६ विपरीत ट्रक धनीलाई सफाइ र ट्रकलाई फिर्ता दिने गरी भएको फैसला बदरभागी छ । सफाइ पाएका अन्य प्रतिवादीहरू गंगाबहादुर पौडेल, भक्तबहादुर सारु, भुवन सिं सिंजाली र सोमराज सुवेदी, ताराप्रसाद देवकोटालाई अभियोग दावीबाट सफाइ दिएको बदर योग्य हुँदा सो हदसम्मको शुरु फैसला बदर गरी अभियोग दावीबमोजिम गरिपाऊँ भन्ने नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
काठ चिरान गरी राखेको भन्ने कुरा पनि पुष्टि नभएको र वारदात समयमा म अन्यत्र रहेको कुरा साक्षी र अस्पतालको प्रेप्क्रिप्सनबाट पुष्टि भैराखेको अवस्थामा सहअभियुक्तको पोलको आधारमा मलाई सजाय गर्ने गरेको सुर्खेत जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी मनबहादुर बिष्टको पुनरावेदन अदालत सुर्खेतमा परेको पुनरावेदनपत्र ।
वन ऐन, २०४९ को दफा ६६ को प्रतिकूल अवैध काठ ओसार–पसार गर्दा पक्राउ परेको भे.अ.ख ३४६ नं.को ट्रक जफत नगर्ने गरी शुरु सुर्खेत जिल्ला अदालतले गरेको फैसला विचारणीय देखिएकाले छलफलको लागि बिपक्षी झिकाउनु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, सुर्खेतको मिति २०५९।३।३ को आदेश ।
यसै लगाउको फौ.पु.नं.१६।४८ को मुद्दामा बिपक्षी झिकाउने आदेश भएकोले सोही लगाउको यस मुद्दामा पनि पुनरावेदन सरकारी वकील कार्यालय, सुर्खेतलाई पेसीको सूचना दिनु भन्ने समेत व्यहोराको फौ.पु.नं.२७ मा भएको पुनरावेदन अदालत, सुर्खेतको मिति २०५९।३।३ को आदेश ।
प्रतिवादीहरू घनश्याम कडेंल, कर्णबहादुर पुलामी, बलबहादुर पुलामी, भुवन सिंह पुलामी, मानबहादुर पुलामी बीरमान पुलामी, टेकबहादुर पुलामी, ओमबहादुर पुलामीले पुनरावेदन नगरी चित्त बुझाई बसेका र मनबहादुर बिष्टको हकमा विचार गर्दा पक्राउ परेका काठ लोडगर्ने लेवरहरू ट्रक चालक तथा वन रेखदेख गर्ने सबै प्रत्यक्षदर्शीको कथनबाट प्रतिवादी मनबहादुर बिष्ट घटनास्थलमा रहेको उपस्थितलाई रअन्यथा भन्न नमिल्ने र अस्पतालको पुर्जीलाई अकाट्य प्रमाणको रुपमा लिन मिल्ने देखिएन । सरकारी कार्यालय वा अड्डा अदालतमा उपस्थित भई सहिछाप गरेको अवस्था नभएको हुँदा अन्य स्थलमा थिएँ भन्ने निजको भनाई ग्रहणयोग्य देखिएन । निज घटनास्थलमा रही सामुदायिक वनको काठ विना इजाजत ट्रकमा लोड गराई ओसार–पसार गर्ने कसूरजन्य कार्य गरेको देखिंदा निज प्र. मनबहादुर बिष्टलाई कसूरदार ठहराई सजाय गर्ने गरेको सुर्खेत जिल्ला अदालतको फैसला मनासिब छ । अव अपराधमा प्रयोग भएको भे.अ.ख ३४६ नं.को ट्रकका सम्बन्धमा ट्रक धनीको सहमति वा संलग्नतामा सो अपराध भएको नदेखिंदा निजको स्वामित्वमा रहेको ट्रक जफत गर्न न्यायोचित समेत नहुने भई ट्रक चालकलाई सजाय भइसकेको समेत परिप्रेक्ष्यमा ट्रक जफत नगर्ने गरेको फैसलामा कानूनी त्रुटि नदेखिंदा सुर्खेत जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, सुर्खेतको मिति २०५९।१२।२५ गतेको फैसला ।
बिरुद्ध खण्डमा उल्लिखित प्रतिवादीहरूलाई सफाइ दिएको फैसलाउपर गरिएको पुनरावेदनमा निजहरूको हकमा केही नबोली दावीका सबै कुरामा ठहर नगरी आंशिक रुपमा ठहर गरिएको फैसला त्रुटिपूर्ण छ । त्यसै गरी वन ऐन, २०४९ को दफा ६६ ले बिगो रु.१०,०००। भन्दा बढी कसूर ठहर भएका कसूरमा वरामद भएको त्यस्तो बोझ वाहक सवारी साधनहरू समेत जफत हुने भनी स्पष्ट कानूनी व्यवस्था भएकोमा ट्रक जफत नहुने गरी वन ऐन, २०४९ को दफा ६६ को व्याख्यामा त्रुटि गरी पुनरावेदन अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी वरामदी ट्रक समेत जफत गरी पाउन न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहर्याई पाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको निवेदन पत्र ।
यसमा वन ऐन, २०४९ को दफा ६६ ले वरामद भएको बोझ वाहक समेत जफत गर्ने कानूनी व्यवस्था भएकोमा ट्रक जफत नगर्ने गरी गरेको पुनरावेदन अदालत, सुर्खेतको मिति २०५९।१२।२५ को फैसला वन ऐन, २०४९ को दफा ६६ को व्यवस्थाविपरीत हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्याई हेर्न निस्सा प्रदान गरी दिएको छ भन्ने समेत व्यहोराको यस अदालतको मिति २०६२।५।२९ को आदेश ।
नियमबमोजिम पेश भएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट सहन्यायाधिवक्ता श्री बलराम शर्माले अपराधमा प्रयोग भएको ट्रक जफत हुने भन्ने स्पष्ट कानूनी व्यवस्थाको विपरीत जफत नगरेको फैसला त्रुटिपूर्ण छ । ट्रक अन्य व्यक्तिका हकमा गए पनि सो जफत हुने प्रकृतिको हो । सफाइ पाएका व्यक्तिका हकमा केही बोलिएन । ट्रक जफत नहुने भनी व्याख्या गरी गरिएको निर्णय त्रुटिपूर्ण हुँदा पुनरावेदन अदालतको फैसला उल्टी गरी अपराधमा प्रयोग भएको ट्रक समेत जफत हुनु पर्दछ भन्ने समेत प्रस्तुत गर्नु भएको बहस समेत सुनी मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत सुर्खेतको फैसला मिलेको छ छैन ? सोही विषयमा निर्णय दिनुपर्ने देखियो ।
निर्णयतर्फ विचार गर्दा, प्रतिवादी मनबहादुर बिष्ट, घनश्याम कडेंल, कर्णबहादुर पुलामी, बलबहादुर पुलामी, भुवन सिं पुलामी, मानबहादुर सिजाली, वीरमान पुलामी, टेकबहादुर पुलामी, ओमबहादुर पुलामीलाई वन ऐन, २०४९ को दफा ४९ (घ) र ताराप्रसाद देवकोटा, बलबहादुर बुढाथोकी, गंगाबहादुर पौडेल, भक्तबहादुर सारु भुवन सिंह सिंजाली, सोमराज सुवेदीलाई सोही ऐनको दफा ५०(१)(घ) (४) बमोजिम सजाय र दफा ६६ बमोजिम भे.अ.ख ३४६ नं.को ट्रक जफत गरी बिगोबमोजिम दोब्बर जरीवाना गरी कैद समेत गरिपाऊँ भन्ने अभियोग माग दावी भएकोमा प्रतिवादी मनबहादुर बिष्ट, घनश्याम कडेंल, कर्णबहादुर पुलामी, बलबहादुर पुलामी, भुवन सिं पुलामी, मानबहादुर पुलामी, बीरमान पुलामी, टेकबहादुर पुलामी, ओमबहादुर पुलामीले वन ऐन, २०४९ को दफा ४९ (घ) अनुसार प्र. बलबहादुर बुढाथोकीले ऐ.दफा ५४ अनुसार कसूर गरेको ठहर्याई ऐ. दफा ५०(१)(घ) (४) बमोजिम सजाय तथा प्रतिवादीहरू गंगाबहादुर पौडेल, भक्तबहादुर सारु, भुवन सिं सिजाली, सोमराज सुवेदी, ताराप्रसाद देवकोटाले सफाइ पाउने र बोझ वाहक ३४६ नं.को ट्रक जफत नहुने ठहर गरेको शुरुको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला दोहोर्याई हेरिपाऊँ भनी वादी नेपाल सरकारको तर्फबाट निवेदन परी मुद्दा दोहोर्याई हेर्न निस्सा प्रदान भई निर्णयार्थ पेश हुन आएको पाइयो ।
२. यसमा निर्णयतर्फ विचार गर्दा कसूर ठहर भएका प्रतिवादीहरू मध्ये मनबहादुर बिष्टले पुनरावेदन अदालतको फैसलाउपर मुद्दा दोहोर्याई पाऊँ भनी यस अदालतमा दिएको नि.नं.१०४० को निवेदनमा निस्सा प्रदान नहुने ठहरी मिति २०६५।७।११ मा आदेश भइसकेको र पुनरावेदन अदालतबाट कसूरदार ठहर भएका अन्य प्रतिवादीहरू मध्ये घनश्याम कडेंल, कर्णबहादुर पुलामी, बलबहादुर पुलामी, भुवन सिं पुलामी, मानबहादुर पुलामी, बीरमान पुलामी, टेकबहादुर पुलामी, ओमबहादुर पुलामी र बलबहादुर बुढाथोकीले पुनरावेदन अदालतको फैसलामा चित्त बुझाई पुनरावेदन गरेको नदेखिंदा निजहरूको हकमा प्रस्तुत मुद्दाबाट केही बोलिरहन परेन ।
३. अव सफाइ पाएका प्रतिवादीहरूको हकमा पुनरावेदन अदालतले निर्णयगर्दा केही नबोलेको र ट्रक जफत नहुने ठहर गरेको निर्णय नमिलेको भनी वादी नेपाल सरकारको तर्फबाट पुनरावेदनमा जिकीर रहेको छ । अभियोग दावीबाट सफाइ पाएका प्रतिवादीहरू मध्ये गंगाबहादुर पौडेल, भक्तबहादुर सारु, भुवन सिं सिजाली, सोमराज सुवेदी तथा ताराप्रसाद देवकोटाको हकमा विचार गर्दा, प्रतिवादी ताराप्रसाद देवकोटा सवारी धनी र अन्य प्रतिवादीहरू मसिना सामुदायिक वन उपभोक्ता समिति कुनाथरी ५ सुर्खेतको समितिका पदाधिकारी रहेको तथ्यमा बिवाद छैन । निजहरूको मिलोमतोमा उक्त सामुदायिक वनको सालको काठ थान १२२ (फी ३२८.३८) अवैधरुपले ओसार पसार गरेको हुँदा निजहरूलाई वन ऐन, २०४९ को दफा ५०(१)(घ)(४) बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग माग दावी रहेको छ । सामुदायिक वन भित्रका काठ शंकलन गरी राखेको र सोको रेखदेख तथा जिम्मा समितिकै सदस्य बलबहादुर बुयाथोकीमा रहेको हुँदा के कसरी काठहरू अवैध किसिमले ओसार–पसार गरिएको हो निजैलाई थाहा छ भनी प्र. ताराप्रसाद देवकोटा समेतले कसूरमा इन्कार रही अनुसन्धान अधिकारी र अदालतमा बयान गरेको देखिन्छ । जाहेरबाला प्रतिवादी चन्द्रेश्वर सदा समेतले दिएको प्रतिवेदनमा यी प्रतिवादीहरू उक्त कार्यमा संलग्न रहेको भन्ने उल्लेख गरेको देखिदैन भने अदालतमा बकपत्र गर्दा समेत शंकासम्म गरेको स्थिति छैन । सहअभियुक्त कर्णबहादुर पुलामी समेत चालक प्रतिवादी घनश्याम कडेंलले पनि यी प्रतिवादीहरू सामुदायिक वनको काठ ओसार–पसार गर्ने कार्यमा सलग्न थिए भनी पोलसम्म गर्न सकेका छैनन् । वारदातमा सरिक भई कसूरमा सावित हुने प्रतिवादी कर्णबहादुर पुलामी समेतले यी प्रतिवादीहरू उपर पोल गरेको अवस्था समेत नहुँदा अनुमानका आधारमा कसूरदार कायम गर्न फौजदारी न्यायका मान्य सिद्धान्तका आधारमा मिल्ने देखिएन । काठ ओसार–पसारमा यो यस प्रकारबाट निज प्रतिवादीहरूको संलग्नता छ भन्ने पुष्टि हुने खालको शंकारहित ठोस एवं आधिकारिक प्रमाण वादी पक्षबाट पेश हुन सकेको छैन । उक्त सामुदायिक वनबाट सालको काठ थान १२२ ओसार पसार गरेको तथ्यमा बिवाद नरहे पनि सो कसूरमा अन्य प्रतिवादीले पोल नगरेको र वादी पक्षबाट प्रमाण गुजार्न नसकेबाट यी प्रतिवादी गंगाबहादुर पौडेल, भक्तबहादुर सारु, भुवन सिं सिजाली, सोमराज सुवेदी तथा ताराप्रसाद देवकोटा निर्दोष देखिंदा अभियोग माग दावीबाट सफाइ पाउने ठहर गरेको शुरुको इन्साफ सदर गरेको पुनरावेदन अदालत, सुर्खेतको सो हदसम्मको निर्णय मिलेकै देखियो ।
४. अव काठ ओसार–पसारमा प्रयोग भएको बोझ वाहक सवारी साधन वन ऐन, २०४९ को दफा ६६ बमोजिम जफत गर्नुपर्नेमा जफत नहुने ठहर गरेको पुनरावेदन अदालतको फैसला नमिलेकोले बदर गरी प्रयोग भएको सवारी साधन ट्रक वरामद गरिपाऊँ भन्ने नै वादी नेपाल सरकारको पुनरावेदन जिकीर रहेको छ । प्र.ताराप्रसाद देवकोटाको नाउँमा दर्ता रहेको भे.अ.ख ३४६ नं.को ट्रक उक्त काठ ओसार पसार गर्ने कार्यमा प्रयोग भएको तथ्यमा बिवाद छैन । प्रतिवादी ट्रक चालक घनश्याम कडेंलले बयानगर्दा ढुङ्गा लिने प्रयोजनका लागि इजाजत लिई समितिबाट गएकोमा प्र.मनबहादुर बिष्टले काठ लोड गर्न लगाएको भनी बयानमा उल्लेख गरेको देखिन्छ । ट्रक चालक घनश्याम कडेल काठ ओसार–पसार गर्ने कार्यमा सरिक नभएको भए आफूले चलाएको ट्रक अरुको अनुरोधमा कसूरजन्य अपराधमा प्रयोग गर्न दिने अवस्था रहदैन थियो । वन पैदावार ओसार–पसार गर्ने कसूरजन्य अपराधमा साधन प्रयोग हुनु नै कसूर हो । सवारी साधनको मालिकको मञ्जूरी होस वा नहोस त्यस्तो कार्यमा प्रयोग गरिएको कार्य नै कसूर स्थापित हुने तथ्य नै प्रयाप्त हुन्छ ।
५. वन ऐन, २०४९ को दफा ६६ मा भएको व्यवस्था हेर्दा “यो ऐनबमोजिम सजाय हुने कसूर गरेको ठहरिएमा कसूरमा वरामद भएको सबै बोझवाहक, औजार, चौपाया र अन्य साधनहरू जफत हुनेछन् तर बिगो दश हजार रुपैया भन्दा कम्ति मोल पर्ने वन पैदावर लादी ल्याउने ट्रेंक्टर, ट्रक, लहरी, मोटर र अन्य सवारी साधनको हकमा त्यस्तो सवारी साधन जफत नगरी उक्त कार्य गर्नेलाई अन्य दफाले हुने सजायमा दश हजार रुपैयासम्म थप सजाय हुने छ” भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दामा बिगो रु.६५,६७६। कायम भएको र उक्त दफामा भएको व्यवस्थाबमोजिम रु.१०,०००। भन्दा माथि बिगो कायम भएपछि काठ ओसार पसार गर्ने कार्यमा प्रयोग भएको सवारी साधन जफत गर्नुपर्ने हुन्छ । ऐनले नै रु.१०,०००। भन्दा माथिको बिगोमा प्रयोग भएको बोझ वाहक साधन जफत गर्नुपर्ने व्यवस्था गरेकोले त्यसमा अदालतले स्वविवेक प्रयोग गरी जफत नहुने गरी ठहर गर्न मिल्दैन ।
६. कुन कार्य कसूर हो त्यसको परिभाषा र निर्धारण विधायिकाले कानूनद्वारा गर्दछ । त्यसै गरी कसूर र अपराधका लागि सजाय र अपराधमा प्रयोग भएका बस्तु वा साधन जफत हुने वा नहुने सोको निर्धारण पनि विधायिकाले नै ऐनद्वारा गर्दछ । त्यस्ता कानूनमा जे लेखिएको छ सोहीबमोजिम अदालतले फौजदारी न्याय प्रदान गर्दा प्रचलित कानून लागू गर्दछ । ऐनमा नभएको सजाय गर्न पाइदैन भने ऐनले गर्नुपर्ने सजाय र कसूरमा प्रयोग भएको साधन जफत गर्नुपर्नेमा कानूनको गलत व्याख्या वा कानूनी प्रावधानप्रतिको उपेक्षाभावले जफत नगर्नु भनेको वन ऐन, २०४९ को दफा ६६ मा भएको जफत सम्बन्धी व्यवस्थाको प्रतिकूल हुन जानु हो ।
७. तसर्थ काठ ओसार–पसार गर्ने कार्यमा प्रयोग भएको बोझ बाहक सवारी साधन भे.अ.ख ३४६ नं.को ट्रक जफत नहुने ठहर गरेको शुरु सुर्खेत जिल्ला अदालतको फैसला सदर हुने ठहर गरेको पुनरावेदन अदालत, सुर्खेतको मिति २०५९।१२।२५ को फैसला मिलेको नदेखिंदा केही उल्टी भई भे.अ.ख ३४६ नं.को ट्रक वन ऐन, २०४९ को दफा ६६ बमोजिम जफत हुने ठहर्छ । सफाइ पाएका प्रतिवादीहरूलाई सजाय गरिपाऊँ भन्ने हदसम्म नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । अरुमा तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम भे.अ.ख ३४६ नं.को ट्रक वन ऐन, २०४९ को दफा ६६ बमोजिम जफत हुने ठहरेकोले ताराप्रसाद देवकोटाबाट मिति २०५८।१०।३ मा बीरेन्द्रनगर ६ सुर्खेत बस्ने दिपककुमार पन्तका नाममा नामसारी भइ गएको भन्ने यातायात व्यवस्था कार्यालय नेपालगञ्जको मिति २०६५।८।६ को पत्रबाट देखिंदा उक्त ट्रक जफत गरी कानूनबमोजिम प्रक्रिया पूरा गरी लिलाम बिक्री गर्नु र लिलामबाट प्राप्त रकम राजस्वमा दाखिला गर्नु भनी सुर्खेत जिल्ला अदालतमा लेखी पठाई दिनु.........१
फैसला भएको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिनु .....२
प्रस्तुत मुद्दाको दायरीको लगत कटृा गरी मिसिल नियमानुसार बुझाई दिनु––––३
उक्त रायमा म सहमत छु ।
न्या.अवधेशकुमार यादव
इति संवत् २०६६ साल असोज २६ गते रोज २ शुभम
इजलास अधिकृत–दीपक ढकाल