निर्णय नं. ७६६८ - कर्तव्यज्यान

निर्णय नं.७६६८ ने.का.प.२०६३ अङ्क ३
सर्वोच्च अदालत संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
मानीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह
संवत् २०६० सालको फौ.पु.नं. ....३१०२
फैसला मितिः २०६३।२।३१।४
मुद्दा :– कर्तव्य ज्यान ।
पुनरावेदक / वादीः जि.धनुषा यज्ञभूमि गा.वि.स.वडा नं.५ बस्ने चन्दर मुखिया विनको जाहेरीले नेपाल सरकार
विरुद्ध
प्रत्यर्थी / प्रतिवादीः जि.धनुषा यज्ञभूमि गा.वि.स.वडा नं.५ बस्ने राजलाल मुखिया वीन
§ ज्यान सम्बन्धीको १३ नं. र सो को देहाय (३) को कानूनी व्यवस्थाले ज्यान मार्ने मनसाय रही ज्यान मारेकोलाई मात्र यो नम्बर बमोजिम सजाय हुनसक्ने देखिन्छ । ज्यानमार्ने मनसाय ईवी वा योजना नभएको र तत्काल उठेको रीस थाम्न नसकी प्रहार गरेबाट ज्यान मर्न गएको अवस्थामा ज्यानसम्बन्धीको १३ नं. आकर्षित नहुने ।
(प्रकरण नं.३१)
§ ज्यान मार्ने पूर्व मनसाय रहेको वा लुकी चोरीकन हानेको जस्ता कुनै तत्वको विधमानता नभई कुनै कुरामा रीस उठेमा साधारण लात, मुक्का, लाठा, ढुंगाले हानेमा ज्यान मर्न गए १४ नं.को कसूर कायम हुने ।
§ आफूसंग मात्र झैं झगडा भै रीस उठेमा मात्र उक्त नं. आकर्षित हुने र अन्य व्यक्तिसंगको झगडामा रीस उठी प्रहार गरेमा आकर्षित नहुने भन्न नमिल्ने ।
(प्रकरण नं.३२)
पुनरावेदक वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता महेन्द्रबहादुर कार्की
प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री खिमराज पौडेल
अवलम्वित नजीरः
फैसला
न्या.रामकुमार प्रसाद शाहः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत जनकपुरको फैसला उपर वादीको पुनरावेदन परी पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ :–
२. जिल्ला धनुषा यज्ञभूमि गा.वि.स.वा.नं. ५ स्थित पुर्वमा कारी मुखियाको खेत पश्चिममा सुटा मुखियाको घर, उत्तरमा चन्दर मुखियाको खेत दक्षिण सार्वजनिक सडक यति चार किल्ला भित्र रहेको भुई तले टाटीको वेरा भएको चन्दर मुखियाको घर, सो घरको दक्षिणतर्फ ढोका सामुन्ने रगत जमीसकेको टाटाहरु रहेको, सोही ठाउँदेखि पश्चिमतर्फ घरको सुरमा रगत जमी सुकेको टाटाहरु भएको देखिएको, घर अगाडि सडकमा ४ फिट ५ इन्च लम्वाई ४ इन्च गोलाई भएको कटवाँसको लाठी रहेको देखिएको सोही ठाउँमा शिव सतीदेवीलाई कुटपीट गरी घाइते बनाएको घटनास्थल प्रकृति विवरण ठीक छ भन्ने मिति २०५७।१२।१४ गतेको घटनास्थल प्रकृति मुचुल्का।
३. जनकपुर अंचल अस्पतालको आकस्मिक सेवा भवनको वेड नं. ६ मा रहेको मृतकको लाशको टाउकोमा १ फिट लामो आघी फुलेको कपाल रहेको टाउकोको तालुको भागमा ४ इन्च गोलाईमा कपाल काटेको अवस्थामा रहेको उक्त ठाउँमा (स्टीच) टांचा लगाएको अवस्थामा रहेको, बाया खुट्टाको घुंडामा छाला खुइलिई कालो भएको देखिएको मृतकको टाउको तथा वायां खुट्टाको घुंडामा बाहेक अन्य ठाउँमा कुनै चोट पटक भएको नदेखिएको भन्ने व्यहोराको मिति २०५७।१२।१५ गतेको मृतक शिवसती देवी मुखियाको लाश जांच प्रकृति मुचुल्का ।
४. विपक्षीहरु मध्ये राम लक्षण यादवले म जाहेरवालाको श्रीमती वर्ष ३० की शिवसतीदेवी मुखियासंग रु. ५००।– सापटी लिएकोमा फिर्ता माग्दा अपमान गरेको भनी रीस राखेको थिएं । मैले आफ्नो घरमा पालन पोषण गर्दै आएको १० वटा कुखुराहरुमध्ये १ वटा कुखुरा हराएकोले खोज तलास गर्दा फेला नपरेकोले मिति २०५७।१२।१४ गतेका दिन ११ बजेको समयमा आफ्नै घरमा बसी कसैलाई पनि किटान नगरी गाली गरी बसी रहेको अवस्था प्रतिवादी राजलाल मुखिया सोलिन्द मुखिया, चन्दे मुखिया, लक्ष्मण भन्ने राम लक्ष्मण यादव समेत उक्त स्थानमा आई राम लक्ष्मण यादवले वचन दिनासाथ राजलाल मुखियाले आफ्नो साथमा लिई आएको वांसको लाठीले टाउकोमा प्रहार गरे । अन्य प्रतिवादीहरुले लात मुक्काले कुटपीट गरेपछि गाउंका अन्य व्यक्तिहरु आएकोदेखी भागी गएका घाइतेलाई तत्काल उपचारको लागि जनकपुर अंचल अस्पतालमा लगी उपचार गर्दा गर्दै सोही चोटको कारणबाट मृत्यु भयो । निज विपक्षीहरुलाई ज्यान सम्बन्धी महल अनुसार कारवाही गरिपाऊँ भन्ने व्यहोराको मिति २०५७।१२।१७ गते चन्दर मुखियाले दिएको जाहेरी दरखास्त ।
५. मिति २०५७।१२।१४ गतेका दिन म सबेरै चिया पिउने उद्देश्यले किसनपुर चौकमा आएको थिएं । चौकमा चिया खाई ११ बजेको समयमा घरमा जांदा हल्ला खल्ला भएको सुनी गई बुझ्दा जाहेरवालाको श्रीमती वर्ष ३० को शिवसती देवी मुखियासंग मेरो भाउजु श्रीवती देवी मुखियाको झैं झगडा भएकोमा भाइ राजलाल मुखिया वव्न गई सम्झाउंन खोज्दा नमानेकोले लाठीले प्रहार गर्दा टाउकोमा चोट लागेको भन्ने कुरा सुनी थाहा पाएको हुं । घाइतेलाई घर नजिकै उपचार भइरहेको थियो । पछि उपचार गराउन जनकपुर अंचल अस्पताल लगेका थिए । उपचार हुंदा हुंदै मृत्यु भएछ । निजको मृत्यु पश्चात के कुन उद्देश्यले म समेतको नाम उल्लेख गरी जाहेरी दरखास्त दिएका हुन् । निजनै जानून् भन्ने व्यहोराको प्रतिवादी सोलिन्द्र मुखिया वीनको बयान कागज ।
६. मिति २०५७।१२।१३ गतेका दिन राती म खाना खाई घरमा नै सुतेको थिएं । राती २३ बजेको समयमा जाहेरवालाको श्रीमती वर्ष ३० को शिवसती देवीले आफूले पालन पोषण गर्दै आएको कुखुराहरु मध्ये १ वटा कुखुरा हराएकोले मेरो घर नजिकमा आई नानाभाँती अपशब्द गाली गरेको थियो । म चुप लागी सुनिरहे । बिहान मेरो जेठो दाजु उपेन्द्र मुखियाको श्रीमती श्रीवती देवी मुखिया गोवर लिई जाहेरवाला चन्दर मुखियाको घर पछाडि रहेको वारीमा फाल्न जानु भयो । म आफ्नै ट्युबलमा लुगा धुन नुहाउनका लागि गएको थिएँ दिउंसो करीव ११ बजेको समयमा म लुगा धोईरहेको अवस्थामा भाउजु श्रीवती देवी मुखिया वारीमा गई गोवर फाली घरतर्फ आई रहेको अवस्थामा शिवसतीदेवीले कुखुराको निहुं झिकी भाउजुसंग झैं झगडा गरेको हुंदा कान्छो भाइले म भएको ठाउँमा आई खवर गरेकोले गई हेर्दा भाउजुको कपडामा समाती शिवसतीले कुटपीट गरेको देखि आफ्नो घरमा भएको वासको लाठी लिई गई १ पटक प्रहार गर्दा टाउकोमा लागि टाउको फुटी रगत आएकोदेखि वांँसको लाठी त्यही छाडी भागी गएको हुं । पछि घाइतेलाई उपचारको लागि जनकपुर अंचल अस्पतालमा लगी उपचार गर्दा गर्दै मृत्यु भएछ । उक्त घटना हुंदा अन्य कोही व्यक्तिहरु थिएनन् भन्ने व्यहोराको प्रतिवादी राजलाल मुखिया वीनको बयान कागज ।
७. मिति २०५७।१२।१४ गतेका दिन म आफ्नो घरमा नै थिएँ । सो समयमा जाहेरवालाको श्रीमती शिवसती देवीले आफूले पालेको १ वटा कुखुरा हराएकोले कसैलाई नतोकी गाली गलौज गरीरहेको अवस्था जाहेरवालाको श्रीमती भएको ठाउंमा प्रतिवादी राजलाल मुखियाको भाउजु खेतमा गई फर्की आउंदा समेत कराई रहेको देखि दुवै जना बीच वादविवाद भयो । वाद विवाद भएको सुनी राजलाल मुखिया सोलिन्द्र मुखिया, चन्दे मुखिया, लक्ष्मण यादव समेत आई लक्ष्मण यादवले बचन दिनासाथ राजलाल मुखियाले आफ्नो साथमा लिई गएको वांसको लाठीले त्यही २।३ को चोटी प्रहार गरी छाडी भागी गए पछि घाइतेलाई उपचारको लागि जनकपुर अंचल अस्पतालमा लगी उपचार गराइएकोमा उपचार हुंदा हुंदै मृत्यु भएको हो भन्ने व्यहोराको बुझिएको रुदल मुखियाले लेखाई दिएको कागज ।
८. मिति २०५७।१२।१४ गतेका दिन ११ बजेको समयमा म आफ्नो घरमा नै बसी रहेको थिएँ । सोही समयमा जाहेरवालाको श्रीमती शिवसती देवी आफूले पालेको कुखुरा मध्ये १ वटा कुखुरा हराएकोले घरमा नै बसी गाली गरीरहेको अवस्था प्र. राजलाल मुखियाको भाउजु खेतमा गई घरतर्फ फर्कि आउंदा समेत गाली गरीरहेको देखि आफूलाई गाली गरेको जस्तो लागि दुवै जना बीच विवाद शुरु भयो । सो समयमा राजलाल मुखिया, सोलिन्द्र मुखिया, चन्दे मुखिया, राम लक्ष्मण यादव समेत भई राम लक्ष्मण यादवले वचन दिनासाथ राजलाल मुखियाले आफ्नो साथ लिई गएको वांसको लाठीले शिवसती देवीको टाउकोमा प्रहार गरे । अन्य प्रतिवादीहरुले लात मुक्काले कुटपीट गरेकोले भुईमा लडेकोले राजलाल मुखियाले लिई गएको वांसको लाठी त्यही छाडी भागी गएका हुन्। घाइतेलाई अन्य गाउंलेहरुको सहायताले उपचार गराउन जनकपुर अंचल अस्पताल लगेका थिए। पछि मृत्यु भएछु, सुनी थाहा पाएको छु भन्ने व्यहोराको बुझिएका राजदेव मुखियाले लेखाई दिएको कागज ।
९. मिति २०५७।१२।१४ गतेका दिन म आफ्नो घरमा नै थिएं । सो दिन ११ बजेको समयमा हल्ला खल्ला भएको सुनि त्यस ठाउँमा जांदा जाहेरवालाको श्रीमती शिवसती देवीको टाउको फुटी रगत बगी रहेको देखि घटना सम्बन्धमा बुझ्दा जाहेरावालाको श्रीमती र प्रतिवादी राजलाल मुखियाको भाउजु बीच कुखुराको विषयमा विवाद भइरहेको अवस्था राजलाल मुखिया, सोलिन्द मुखिया,चन्दे मुखिया,राम लक्ष्मण यादव समेत आई राम लक्षण यादवले बचन दिनासाथ राजलाल मुखियाले वांसको लाठीले शिवसती देवीको टाउकोमा प्रहार गरी लडाई पश्चात अन्य प्रतिवादीहरुले लात मुक्काले कुटपीट गरेकोदेखि प्रमाण खण्डमा मानिसहरु आएको देखी राजलाल मुखियाले वासंको लाठी त्यही छाडी भागी गएकोमा घाइतेलाई उपचारको लागि जनकपुर अंचल अस्पतालमा लगी उपचार गराउंदा गराउंदै मृत्यु भएको हो भन्ने बुझिएका सत्य नारायण यादवले लेखाई दिएको कागज ।
१०. मिति २०५७।१२।१४ गतेका दिन म आफ्नो घरमा नै थिएँ । सो दिन ११ बजेको समयमा हल्ला खल्ला भएको सुनी त्यस ठाउंमा जांदा जाहेरवालाको श्रीमती शिवसती देवीको र प्र. राजलाल मुखिया, चन्द्रमुखिया,सोलिन्द्र मुखिया, लक्ष्मण भन्ने राम लक्ष्मण यादव समेत घटनास्थलमा आई राम लक्षण यादवले बचन दिनासाथ राजलाल मुखियाले आफ्नो साथमा लिएको वांसको लाठीले शिवसती देवीको टाउकोमा प्रहार गरे । अन्य प्रतिवादीले लात मुक्काले कुटपीट गरेकोदेखि गाउंका अन्य मानिस आएको देखि राजलालले वाँसको लाठी त्यही छाडी गएका हुन् । तत्काल घाइतेलाई उपचार गराउन जनकपुर अंचल अस्पताल लगी उपचार गराइएकोमा उपचार हुंदा हुंदै मृत्यु भएको हो भन्ने बुझिएका धतराज मुखियाले लेखाई दिएको कागज ।
११. मिति २०५७।१२।१४ गतेको दिन ११ बजेको समयमा म आफ्नो घरमा नै थिएं । सो समयमा मेरो घर नजिकै रहेको जाहेरवालाको घरमा कुखुरा हराएको विषयमा कराई रहेको थिए । सोही ठाउँमा प्र. राजलाल मुखियाको भाउजुले म आफूलाई कराएको होला भनी दुवै जना बीच वादविवाद हुंदा राजलाल मुखिया, चन्दे मुखिया, सोलिन्द्र मुखिया, लक्ष्मण भन्ने राम लक्षण यादव समेत गई राम लक्ष्मणले बचन दिनासाथ राजलाल यादवले आफ्नो साथमा भएको वांसको लाठीले शिवसती देवीको टाउकोमा प्रहार गर्यो, अन्य प्रतिवादीले लात मुक्काले कुटपीट गरेको देखि गाउंका मानिस आएको देखि राजलालले वांसको लाठी त्यही छाडी भागी गएपछि घाइतेलाई उपचारको लागि जनकपुर अंचल अस्पतालमा लगी उपचार गराई रहेकोमा मुत्यु भयो भन्ने कुरा सुनी थाहा पाएको हुँ भन्ने व्यहोराको बुझिएका लक्ष्मणदेव मुखियाले लेखाई दिएको कागज ।
१२. मिति २०५७।१२।१४ गते दिन ११ बजेको समयमा मेरो घर नजिकै रहेको जाहेरवालाको घरमा जांदा राजलाल मुखियाको भाउजु र जाहेरवालाको श्रीमती बीच कुखुराको विषयलाई लिएर वादविवाद भईरहेको थियो । पछि राजलाल मुखिया, सोदिन्द्र मुखिया, चन्द्र मुखिया, लक्ष्मण भन्ने राम लक्ष्मण यादव समेत उक्त स्थानमा आई राम लक्षण यादवले बचन दिनासाथ राजलाल मुखियाले शिवसती देवीको टाउकोमा वाँसको लाठी प्रहार गरी त्यही छाडी भागी गएका हुन्। घाइतेलाई अंचल अस्पतालमा लगी प्रहार गरी उपचार गराएकोमा सोही चोटको कारणबाट मृत्यु भएको हो भन्ने व्यहोराको बुझिएका विल्टु मुखिया वीनले लेखाई दिएको कागज ।
१३. मिति २०५७।१२।१४ गतेका दिन ११ बजेको समायमा म घर नजिकै वारीमा काम गरिरहेको थिएं । जाहेरवालाको घरतर्फ हल्ला खल्ला भएको सुनी गई हेर्दा जाहेरवालाको श्रीमती र राजलालको भाउजु बीच कुखुराको विषयमा विवाद भईरहेको थियो । सोही समयमा राजलाल मुखिया, सोलिन्द्र मुखिया, चन्दे मुखिया, लक्ष्मण भन्ने राम लक्ष्मण यादव समेत उक्त स्थानमा आई राम लक्ष्मणले बचन दिनासाथ राजलाल मुखियाले साथमा लिई आएका वाँसको लाठीले शिवसती देवीको टाउकोमा प्रहार गरे । अन्य प्रतिवादीहरुले लात मुक्काले प्रहार गरेकोदेखि हल्ला खल्ला गर्दा गाउँका अन्य मानिसहरु समेत आएकोदेखी राजलालले वाँसको लाठी त्यही छाडी भागी गए । घाइतेलाई अंचल अस्पतालमा लगी उपचार गराएकोमा पछि सोही चोटको कारण मृत्यु भएको हो भन्ने बुझिएका राजदेव मुखियाले लेखाई दिएको कागज ।
१४. मृतक शिवसती देवीको मृत्यु टाउकोमा चोट लागी टाउको फुटी मृत्यु भएको हो भन्ने पोष्ट मार्टम रिपोर्ट ।
१५. यी प्रतिवादीहरु उपर ज्यान सम्बन्धी महलको १ नं. प्रतिकूल कसूरमा ऐ.को १३(३) नं. बमोजिम सजाय गरीपाउँ भनी अभियोग पत्र दायर भएको ।
१६. मेरो भाउजुलाई कुटपिट गरेकोदेखी मैले तत्काल आफ्नो रिश थाम्न नसकी निज जाहेरवालाको दुरामा भएको वांसको फराठी निकाली शिवसतीको टाउकोमा हिर्काएको हुं । निज भुईमा लड्ने वित्तिकै म भागेर घरतिर आएको हुं । त्यहाँ म तथा भाउजु र जाहेरवाला चन्दर र निजकी श्रीमती शिवसती ४ जना थियो भन्ने समेत व्यहोराको प्र. राजलाल मुखिया वीनले अदालतमा गरेको बयान ।
१७. २०५।१२।१४ गते म घरगाउँमा नभई सिकायाही गाउंमा थिएँ । पछि फर्किदा भाइ राजलाल र श्रीमतीसंग झगडा भयो भन्ने सुने, शिवसतीलाई कटहरको रुख मुनि देखें । एकछिन पछाडि प्रहरी आई म तथा भाइ राजलाल समेतलाई पक्राउ गरी लगे । मैले कुटपीट गरेको होइन भाइले कुटे कुटेनन्, मैले देखिन झगडा भयो भन्नेसम्म सुनें । गाउंको रिस इवीले गर्दा मेरो नाम हालेको हो भन्ने समेत व्यहोराको प्र. सोलिन्दर मुखियाले अदालतमा गरेको बयान ।
१८. जाहेरवालको श्रीमतीलाई मैले कुटपीट गरेको छैन । म मज्दुरी गर्न भनी ०५७।११।१५ गते आफ्नो गाउँबाट भारतको पंजाव भन्ने ठाउंमा गएको थिएँ । ०५८।४।२७ गते गाउँ आएको हुं । म उपर गाउंको पाटा पार्टीको रिसइवीको कारण फँसाउनको लागी झुठा जाहेरी समेत दिएको हो भन्ने समेत व्यहोराको प्र. चन्दे मुखिया वीनले अदालतमा गरेको बयान ।
१९. म वारदातमा संलग्न छैन । मैले बचन दिएको र कुटपीट गरेको छैन । किन मेरो नाम दिएका हुन् थाहा छैन । २०५७।२।१० का दिन यज्ञुभूमि गा.वि.स.को घरबाट चौराकोयलपुर गएको थिएं भन्ने समेत व्यहोराको प्र. लक्ष्मण भन्ने राम लक्षण यादवले अदालतमा गरेको बयान।
२०. प्र. राजलालको साक्षी वसनी यादव, सोलिन्दर मुखियाको साक्षी भोला सदा मुसहर, प्र. चन्दे मुखियाको साक्षी छेदीया चौधरीले गरेको बकपत्र । प्रतिवादीहरुलाई फसाउन झुठा जाहेरी दिएको हुं भन्ने समेत व्यहोराको जाहेरवाला चन्दर मुखियाले अदालतमा गरेको बकपत्र ।
२१. प्रतिवादी राजलाल मुखियाले अदालतमा गरेको बयानमा वांसको फराठी निकाली शिवसती देवीको टाउकोमा हिर्काएको र अरु प्रतिवादी थिएनन् भनी उल्लेख गरेबाट लाठीले टाउकोमा हिर्काएको चोटबाट शिवसतीको मृत्यु भएको प्रष्ट हुंदा प्रतिवादी मध्येका राजलाल मुखियाले अभियोग दावी बमोजिम कसूर गरेको ठहर्छ । अन्य प्रतिवादीहरुले कसूर गरेको पुष्टि नहुंदा सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको धनुषा जिल्ला अदालतको फैसला ।
२२. पोष्टमार्टम रिपोर्टमा टाउकोमा चोट लागेको कारण मृत्यु भएको कुरा उल्लेख छ । सो चोट मैले लगाएको भन्ने उल्लेख छैन । मृत्यु ट्यूवेलको हेडमा टाउको ठोकाई मृत्यु भएको हो। म पुनरावेदकको चोटको कारण मृत्यु भएको हैन । सो कुरा जाहेरवालाको बकपत्रबाट पुष्टि हुन्छ । शुरुको फैसला बदर गरीपाउँ भन्ने समेत व्यहोराको प्र. राजलाल मुखियाको पुनरावेदन पत्र ।
२३. यसमा जाहेरी लगायत प्रतिवादी राजलालको बयान समेतबाट निजले मृतकलाई लाठीले एक पटक हानेको भन्ने देखिन्छ । पोष्ट मार्टम रिपोर्ट र लाश प्रकृति मुचुल्काले पनि सो एकै पटकको हनाईको चोटलाई प्रदर्शित गरेको देखिन्छ । जाहेरी तथा प्रतिवादी राजलालको बयानबाट मृतकसंग कुखुराको विषयलाई लिएर भना वैरी भएको भन्ने पनि देखिन्छ । यति सामान्य झगडाका कुरालाई लिएर तत्काल रिसाई वाँसको लाठीले मृतकलाई एक पटक हानी भागी गएको व्यहोराको बयान यि पुनरावेदक प्रतिवादीले प्रहरी र अदालतमा गरेको देखिएको परिप्रेक्ष्यमा यो घटना वारदातसंग सम्बन्धित कसूरमा ज्यान सम्बन्धीको १४ नं. आकर्षित हुन सक्ने देखिएकोमा शुरुबाट पुनरावेदक प्रतिवादीलाई १३(३) नं. बमोजिम सर्वस्व सहित जन्मकैद हुेन ठहराएको फैसला फरक पर्न सक्ने हुंदा छलफलको निमित्त अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली २०४८ समेत अनुसार पुनरावेदन सरकारी वकील कार्यालय जनकपुरलाई पेशीको सूचना दिई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।
२४. प्रतिवादी राजलाल मुखियाले तत्काल उठेको रिस थाम्न नसकी एक लाठी मात्र प्रहार गरेबाट शिवसतीको टाउकोमा लाग्न गई मृत्यु भएको देखिंदा निज प्रतिवादीलाई ज्यान सम्बन्धीको १४ नं. बमोजिम १०(दश) वर्ष कैद हुने भै शुरु जिल्ला अदालतको फैसला केही उल्टी हुने ठहर्छ भन्ने पुनरावेदन अदालत जनकपुरको मिति २०५९।११।१४ को फैसला ।
२५. प्रतिवादी राजलाल मुखिया वीन आफूले मृतकलाई लाठी प्रहार गरी मारेकोमा अदालतमा समेत सावित भै कसूर स्थापित भैरहेकोमा अभियोगदावी बमोजिम सजाय गर्नुपर्नेमा नगरेको त्रुटीपूर्ण छ । दोश्रो पक्ष उपर परेको आधातमा तेश्रो पक्षले घटाएको घटनामा तेश्रो पक्षले ज्यान सम्बन्धीको १४ नं.को सुविधा प्राप्त गर्न सक्दैन । तसर्थ पुनरावेदन अदालतको उक्त फैसला त्रुटिपूर्ण हुंदा बदर गरी प्र. राजलाल मुखिया वीनलाई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सजायँ गरिपाऊँ भन्ने वादी तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।
२६. यसमा झैं झगडा भै रहेको व्यक्ति बाहेक तेश्रो व्यक्तिले गरेको प्रहारबाट मृत्यु हुन जांदा सो तेश्रो व्यक्तिलाई पनि ज्यान सम्बन्धीको १४ नं. अनुसार नै सजाय गर्ने गरेको पुनरावेदन अदालत जनकपुरको फैसलामा ज्यान सम्बन्धीको १४ नं. को व्याख्यात्मक त्रुटि रहेकोले अ.वं. २०२ नं. बमोजिम छलफलका निमित्त प्रत्यर्थीलाई झिकाई पेश गर्नु भन्ने यस अदालतको २०६२।२।२ को आदेश ।
२७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता महेन्द्रबहादुर कार्कीले दुई जना आईमाई बीच झगडा हुंदा प्रतिवादीले लाठी लिएर गई टाउकोमा प्रहार गरेको कारण यो वारदात घट्न गएकोले ज्यान सम्बन्धीको १४ नं. प्रस्तुत मुद्दामा आकर्षित हुन नसक्ने हुंदा पुनरावेदन अदालतको सो फैसला उल्टी गरी प्रतिवादीलाई अभियोग दावी बमोजिम सजाय होस् भनी बहस गर्नु भयो । प्रत्यर्थी प्रतिवादी राजलाल मुखिया वीनको तर्फबाट उपस्थित विद्वान अधिवक्ता खिमराज पौडेलले मेरो पक्षको ज्यान मार्ने मनसायको अभाव रहेको मिसिलबाट देखिएको, तत्काल उठेको रिस थाम्न नसकी गरेको प्रहारबाट मृतकको मृत्यु भएको र पुनरावेदन अदालतको फैसलालाई मेरो पक्षले स्वीकार गरेको समेत हुंदा पुनरावेदन अदालतको फैसला सदर होस् भनी वहस गर्नुभयो ।
२८. मिसिल अध्ययन गरी उपर्युक्त वहस जिकिरलाई समेत मध्यनजर गरी देहायका प्रश्नमा निर्णय दिनुपर्ने देखियोः–
(क) प्रस्तुत वारदातमा ज्यान सम्बन्धीको १३(३) वा १४ नं. कुन प्रावधान आकर्षित हुने हो ?
(ख) वादी पक्षको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन ?
२९. पहिलो प्रश्न तर्फ बिचार गर्दा, आफ्नो कुखुरा हराएको निहुंमा जाहेरवालाको पत्नी मृतक शिवसती देवी र प्रतिवादी राजलाल मुखिया वीनको भाउजुको बीच भनाभन झगडा भएको अवस्थामा प्रतिवादीहरु सोलिन्दर, चन्दे, लक्ष्मण यादव समेत आई निज लक्ष्मणले बचन दिनासाथ राजलालले आफ्नो साथमा लिई आएको वांसको लाठीले टाउकोमा मृतक शिवसती देवीलाई प्रहार गरेको र उपचारको लागी अस्पतालमा उपचार गराउंदै सोही चोटबाट निजको मृत्यु भएको भन्ने मिसिल कागजातबाट पुष्टि भएकोले प्रतिवादीहरु राजलाल मुखिया, विन, सोलेन्दर मुखिया, चन्दे मुखियालाई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम र मृतकलाई मार्न बचन दिने लक्ष्मण भन्ने राम लक्ष्मण यादवलाई ऐ १३(४) नं. बमोजिम सजाय गरिपाऊं भन्ने अभियोग दावी रहेको देखियो। शुरु जिल्ला अदालतले प्र.राजलाल मुखिया वीनलाई अभियोग दावी बमोजिम सजाय हुने र अन्य प्रतिवादीहरुलाई आरोपबाट सफाई दिने गरी फैसला गरेकोमा पुनरावेदन अदालतबाट सो फैसला केही उल्टी गरी प्रतिवादी राजलाल मुखिया विनलाई ज्यान सम्बन्धीको १४ नं. बमोजिम १० वर्ष कैद हुने ठहरयाई फैसला गरेको देखियो । शुरुले राजलाल बाहेकका अन्य प्रतिवादीलाई सफाई दिएकोमा सो उपर वादी तर्फबाट पुनरावेदन परेको देखिंदैन । पुनरावेदन अदालतले प्रतिवादीलाई शुरुले गरेको भन्दा कम सजायँ गरे तर्फ मात्र वादीको यस अदालतमा पुनरावेदन परेको देखियो ।
३०. निर्णय तर्फ बिचार गर्दा आफ्नो कुखुरा हराएको निहुंमा प्रतिवादी राजलाल मुखियाकी भाउजु श्रीवतीलाई शिवसतीदेवीले कुटपीट गरेको देखी आफ्नो घरमा भएको वांसको लाठी लिई गई एकपटक प्रहार गर्दा शिवसती देवीको टाउकोमा लागेको भन्ने प्रतिवादी राजलाल मुखियाको प्रहरी समक्षको बयान रहेको देखिन्छ । लास जांच प्रकृति मुचुल्काबाट मृतकको टाउकोमा र वांया खुट्टाको घुंडामा चोट परेको भन्ने देखिएको छ भने पोष्टमार्टम रिपोर्टमा मृतकको टाउकोमा चोट लागी टाउको फुटी मृत्यु भएको भन्ने उल्लेख भएको पाईन्छ । अदालतमा बयान गर्दा प्रतिवादी राजलालले प्रहरी समक्ष भएको बयानलाई नै दोहोर्याउंदै आफ्नो भाउजु श्रीमतीलाई मृतक शिवसतीले कुखुरा हराएको निहुंमा भनाभन भै कुटपीट गरेकोदेखी तत्काल आफ्नो रीस थाम्न नसकी जाहेरवालाको दुरामा रहेको वासंको फराठी निकाली शिवसतीको टाउकोमा हिर्काएको भन्ने साविती बयान दिएको पाईन्छ । घट्नास्थलबाट दशीको लाठी बरामद भएको पाईन्छ । मृतकलाई प्रतिवादीले मार्नु पर्ने सम्मको कुनै पूर्व रीस ईवी, योजना वा षडयन्त्र भएको मिसिलबाट देखिंदैन । आफ्नी भाउजुलाई कुटेको हेर्न सहन नसकी तत्काल उठेको रीस थाम्न नसकी निज प्र.ले लाठाले टाउकोमा नै एक पटक प्रहार गरेको भन्ने निजको कथन लाश प्रकृति मुचुल्का र पोष्टमार्टम रिपोर्ट समेतबाट समर्थित भएको देखिन आउंछ । यस्तो वारदात भएको अवस्थामा प्रतिवादी उपर ज्यान सम्बन्धीको १३(३) नं. बमोजिमको अभियोग लगाईएको र शुरु अदालतले पनि सोही नं. बमोजिम सजाय गरेको फैसला उल्टी गरी पु.वु.अ.ले ज्यान सम्बन्धीको १४ नं. बमोजिम सजायँ गरेको पाइन्छ ।
३१. ज्यान सम्बन्धीको १३ नं. र सो को देहाय (३) को कानूनी व्यवस्थाले ज्यान मार्ने मनसाय रही ज्यान मारेकोलाई मात्र यो नम्बर बमोजिम सजाय हुन सक्ने देखिन्छ । ज्यानमार्ने मनसाय ईवी वा योजना नभएको र तत्काल उठेको रीस थाम्न नसकी प्रहार गरेबाट ज्यान मर्न गएको अवस्थामा उपरोक्त ज्यान सम्बन्धीको १३ नं. आकार्षित हुन सक्ने हुंदैन । यस सन्दर्भमा ज्यान सम्बन्धीको १४ नं. मा निम्नानुसारको व्यवस्था रहेको देखिन्छ :–
“१४ नं. ।। ।। ज्यान मार्नाको मनसाय रहेनछ, ज्यान लिनुपर्ने सम्मको ईवी पनि रहेनछ, लुकीचोरी हानेको पनि रहेनछ, उसै मौकामा उठेको कुनै कुरामा रीस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा ढुंगा, लात मुक्का इत्यादी हान्दा सोही चोट पीरले ऐनका म्यादभित्र ज्यान मरेमा दशवर्ष कैद गर्नुपर्छ ।”
३२. उक्त कानूनी प्रावधानको पठनबाट ज्यान मार्ने पूर्व मनसाय रहेको वा लुकी चोरीकन हानेको जस्ता कुनै तत्वको विधमानता नभई कुनै कुरामा रीस उठेमा साधारण लात, मुक्का लाठा, ढुंगाले हानेमा ज्यान मर्न गए उक्त १४ नं.को कसूर कायम हुने अवस्था उत्पन्न हुन्छ । आफूसंग मात्र झैं झगडा भै रीस उठेमा मात्र उक्त नं. आकर्षित हुने र अन्य व्यक्तिसंगको झगडामा रीस उठी प्रहार गरेमा आकर्षित नहुने भन्न मिल्ने हुंदैन । आफू वा आफ्नो परिवारका सदस्यसंग झैंझगडा लगायतका कुनै कुरामा रीस उठी थाम्न नसकी जोखिमी हतियार बाहेक साधारण लाठा ढुंगाले हानेमा मानिस मरेमा उक्त १४ नं. आकर्षित हुने भएकोले प्रस्तुत मुद्दामा कुखुरा हराएको कुरामा आफ्नो साख्वै भाउजुलाई मृतक शिवसतीले कुटपीट गर्दै रहेको देखी यी प्र.राजलालले सो कुरालाई सहन गर्न नसकी तत्काल उठेको रीस नियन्त्रण गर्न नसकी नजिकै रहेको लाठाले प्रहार गरेको र सो प्रहार मृतकको टाउकोमा लाग्न पुगी सोही कारणले शिवसतीको मृत्यु भएको देखिंदा त्यस्तो प्रकृतिको वारदातमा ज्यान सम्बन्धीको १३(३) नं. नलाग्ने भै ऐ. १४ नं. नै आकर्षित हुने देखिन आउंछ ।
३३. तसर्थ, उपरोक्त विवेचित आधारहरुबाट प्रतिवादी राजलाल मुखिया वीनले मृतक शिवसतीलाई तत्काल उठेको रिस नियन्त्रण गर्न नसकी साधारण लाठाले एक पटक प्रहार गरेकोमा सो प्रहार निजको टाउकोमा लाग्न गई सोही कारणले मृत्यु भएको देखिंदा धनुषा जि.अ. ले ज्यान सम्बन्धीको १३(३) नं. बमोजिमको सजायँ उल्टी गरी ज्यान सम्बन्धीको १४ नं. आकर्षित हुने भनी निज प्रतिवादीलाई ऐ.को. १४ नं. बमोजिम १० (दश) वर्ष कैद हुने ठहराएको पुनरावेदन अदालत जनकपुरको मिति २०५९।११।१४ को फैसला मनासिव हुंदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा मेरो सहमति छ ।
न्या.रामप्रसाद श्रेष्ठ
इति संवत् २०६३ साल जेठ ३१ गते रोज ४ शुभम् .....................।