निर्णय नं. ८२३२ - अंश दर्ता चलन ।

निर्णय नं. ८२३२ २०६६ पुस,अङ्क ९
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला
माननीय न्यायाधीश श्री रणबहादुर बम
सम्वत् २०६० सालको दे.पु.नं.– ९३१७
फैसला मितिः २०६६।६।१९।२
मुद्दा : अंश दर्ता चलन ।
पुनरावेदक/वादीः रौतहट जिल्ला, मर्यादापुर गा.वि.स.वार्ड नं. ४ बस्ने चन्द्रेश्वर राय यादव समेत
विरुद्ध
प्रत्यर्थी/प्रतिवादीः रौतहट जिल्ला, मर्यादापुर गा.वि.स.वार्ड नं.४ बस्ने विद्यानन्द राय यादव समेत
शुरु फैसला गर्ने :
मा.न्या.श्री लीलाप्रसाद गौतम
पुनरावेदन फैसला गर्ने :
मा.न्या. श्री कल्याण श्रेष्ठ
मा.न्या. श्री खेमराज शर्मा
§ अघिल्लो पुस्तामा मानो छुटिृएको भन्ने तथ्यले पछिल्लो पुस्ताका बीचको सम्बन्ध निर्धारण गर्न नसक्ने ।
§ अघिल्लो पुस्ताका बाबुहरूले हजुरबुवासँग गरेको मुद्दाले नाति पुस्तालाई आफ्ना बाबु र काकासँग अंश माग्न पाउने हक खोस्न सक्दैन र त्यस्ता अप्रासांगिक तथ्यलाई आधार बनाएर न्याय निरुपण गर्न नमिल्ने ।
(प्रकरण नं. २)
पुनरावेदक वादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री किशोरकुमार अधिकारी
प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री सतिशकुमार झा
अवलम्वित नजीरः
§ नेकाप २०५७, निर्णय नं. ६९३९, पृष्ठ ६७५
सम्बद्ध कानूनः
फैसला
न्या.राजेन्द्रप्रसाद कोइरालाः पुनरावेदन अदालत हेटौंडाको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क)(ख) अनुसार यस अदालतमा दोहोर्याउने निवेदन परी निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षीप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः-
मूल पुरुष ज्ञानचनको छोरा महावीर र निजको श्रीमती परलोक भैसकेका, निजका २ छोरामध्ये जेठा प्रतिवादी भुटलाल र कान्छा प्रतिवादी रामआशिष राय हुन् । भुटलालको श्रीमती रजपतिया देवी परलोक भएकी, निजका २ छोरा प्रतिवादी हरिन्दर र कान्छा प्रतिवादी विद्यानन्द हुन् । हरिन्दरको श्रीमती प्रतिवादी इलयिची देवी हुन् । कान्छा रामआशिषको श्रीमती हामी वादीको आमा परलोक भै सकेको, निजबाट हामी ४ जना वादी शम्भु, चन्द्रेश्वर, कामेश्वर र सरेश हौं। हामी वादी प्रतिवादी एकासगोलमा बसी आएकोमा घरायसी कुरामा भनाभन भै मिति २०४८ साल बैशाखमा चूल्हो मानो छुट्टिई बसेको हुँदा मिति २०४८।१।१ लाई मानो छुट्टिएको मिति कायम गरी २ भागको १ भागबाट ५ भागको ४ भाग अंश दिलाई पाऊँ भन्ने समेत व्यहोराको शम्भु राय यादव समेतको मिति २०५८।५।२६ मा परेको फिराद पत्र ।
वादीहरूलाई हामीहरूले अंश दिनुपर्ने अवस्था छैन । वादीको वावु र हाम्रा वावुले सर्वे हुनुभन्दा अघिदेखि चल सम्पत्ति घरसारमै बाँडफाँड गरी अचल सम्पत्तिको हकमा मौखिक रुपमा आ–आफ्नो नामको जग्गा आ–आफ्नै नाममा राखी वाँडफाँड गरी वेग्ला वेग्लै चुल्हो मानो छुट्टाई चार ठाउँमा बसी कमाई खाई जीवन व्यतीत गरिरहेकै अवस्थामा २०३३ सालमा प्रतिवादीमध्येका भुटलाल र वादीको वावु रामआशिष जना २ ले चलित्तर र महावीर यादवउपर दे.नं ३३५६ नं को अंश मुद्दा दिई मिति २०१९।१।२७ लाई मानो छुट्टिएको मिति कायम भै उक्त मुद्दा डिसमिस भएको थियो । वादीले आफ्नो बाबुबाट मात्र अंश पाउनु पर्ने हो भन्ने समेत व्यहोराको प्रतिवादी भुटलाल, इलाइची, विद्यानन्द र हरिन्दर राय यादव समेतको मिति २०५८।७।२८ को संयुक्त प्रतिउत्तर पत्र ।
प्रतिवादी राम आशिषले शुरु म्यादै गुजारी प्रतिउत्तर नफिराई बसेका ।
वादी प्रतिवादीबीच वण्डा भएको छैन भन्ने समेत व्यहोराका वादीका साक्षी निर्गुण वैठाको र वादी प्रतिवादीको नाता पुस्तावारी ठीक हो, तर यिनीहरू २०१९ सालदेखि नै अलग वसेका छन् । निजहरूको १ नं, ७ नं फाराम अलग अलग छ । प्रतिवादीहरूबाट वादीले अंश पाउनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी नवल राय यादवको मिति २०५८।९।३ को वकपत्र ।
वादी प्रतिवादीहरू मूल पुरुष स्व. ज्ञानचनका नाति पनाति रहे भएकोमा विवाद देखिएन। निजहरू बीच आधिकारिक रुपमा वण्डा भएको प्रमाण पेश हुन सकेको देखिँदैन । २०३३ सालको डिसमिस फैसलाबाट पनि वादीहरूले अंश पाइसकेको देखिँदैन । २०३४ साल पूर्व यिनीहरू बीच कुनै कारोवार भएको देखिँदैन । यस स्थितिमा दुवै पक्ष अंशियारा नै देखिन आए । २०३३ सालको मुद्दाको आधारमा २०३३।३।३१ मानो छट्टिएको मिति कायम हुन्छ । पेश भएको तायदाती फाँटवारीमध्ये २०३३ सालसम्मको सर्वप्रथम २ भाग गरी १ भाग (प्रतिवादी रामआशिषको भागमा पर्ने सम्पत्ति) सम्पत्तिलाई पुनः ५ खण्ड गरी सोको ४ खण्ड यी वादीहरूले प्रतिवादीहरूबाट अंश पाउने र अंशमा परेको जग्गा वादीहरूका नाममा पृथक पृथक दर्ता गराई चलन चलाई दिने समेत ठहर्छ भन्ने समेत व्यहोराको मिति २०५९।५।२६ को शुरु रौतहट जिल्ला अदालतको फैसला ।
हामी वादी प्रतिवादीहरू एकासगोलमा नै थियौं, जुन कुरा प्रतिवादी भुटलालले मिति २०५०।२।२१ मा जग्गा राजीनामा गर्दा लिखतमा पुनरावेदकको वावुलाई साक्षी राखेकोबाट देखिन्छ। यदि २०३३ सालमा मानो छुट्टिएको भए २०५० सालमा साक्षी राख्नु पर्ने अवस्था नै पर्ने थिएन । २०३४ सालमा डिसमिस फैसला भएको मुद्दाको मानु छुट्टिएको मिति प्रस्तुत मुद्दामा कायम गर्न नै नमिल्ने र दावीबमोजिम २०४८।१।१ लाई मानो छुट्टिएको मिति कायम गर्नुपर्नेमा सो नगरेको रौतहट जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी फिरादबमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको मिति २०५९।९।२६ को वादीहरूको पुनरावेदन अदालत हेटौडामा परेको पुनरावेदन पत्र ।
अघि दिएको अंश मुद्दा दायर भएको मितिबाट मानो छुट्टिएको मिति कायम भए पछि तत्पश्चात् पक्ष विपक्षका कारोवारमा अंशियारमध्येका कहिले कोही साक्षी राखे वा नराखेको सम्म कारणले मानो छुट्टिएको मिति सर्ने अवस्था देखिन आउँदैन । त्यसबाट पनि उपरोक्त बमोजिम शुरुले कायम गरेको मानो छुटिृएको मिति सम्बन्धमा परिवर्तन गर्नुपर्ने भएन । अरु नातामा विवाद नभएको, ऐनबमोजिम वण्डा पाएको अवस्था पनि नदेखिएकोले उपरोक्तबमोजिम मानो छुटिृएको मितिसम्मको वण्डा लाग्ने सम्पत्तिको तायदातीबमोजिम वादी दावीबमोजिम अंशवण्डा छुट्याई दिने गरेको शुरुको इन्साफमा परिवर्तन गर्नु नपर्ने हुँदा शुरु रौतहट जिल्ला अदालतको मिति २०५९।५।२६ को फैसला मुनासिव ठहर्छ भन्ने समेत व्यहोराको मिति २०६०।२।२९ को पुनरावेदन अदालत हेटौंडाको फैसला ।
हामी वादी प्रतिवादीबीच मानो छुट्टिएको मिति सम्बन्धमा मुख मिलेको नभै बाझिएको स्थिति छ । मुख नमिलेको स्थितिमा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम हुने भन्ने सम्बन्धमा नेकाप २०५६, नि.नं ६८२०, र नेकाप २०५७, नि.नं ६९३९ मा सिद्धान्त प्रतिपादन भै रहेको अवस्थामा २०३३ सालको मुद्दालाई आधार लिई मानो छुट्टिएको मिति कायम गरेको फैसला त्रुटिपूर्ण छ । दे.नं. ३३५६ को अंश मुद्दामा विपक्षी भुटलाल तथा हाम्रा पिता राम अशिषले महावीरसमेत उपर मुद्दा हाल्दा हामीहरू अलग भै बसेको वा मानो छुट्टिएको भन्ने कहिँ कतै उल्लेख नभएको स्थिति छ । भुटलालले शम्भुलाई २०५० सालमा कि.नं ३०० को जग्गाबाट राजीनामा गर्दा लिखतमा हाम्रो वावुलाई साक्षी राखिएको छ । प्रमाणमा लिनै नमिल्ने अंश मुद्दालाई प्रमाणमा लिइएको छ । यहाँ अ.वं १८४, १८५, प्रमाण ऐनको दफा ५४ तथा अंश वण्डाको १८ नं. को गम्भीर त्रुटि हुँदा मुद्दा दोहोर्याई हेरी शुरुको फैसला सदर गरेको पुनरावेदन अदालत हेटांैडाको फैसला बदर गरी वादी दावीबमोजिम अंश पाऊँ भन्ने समेत व्यहोराको वादीहरूले यस अदालतमा दायर गरेको मिति २०६०।५।२३ को मुद्दा दोहोर्याई हेरिपाऊँ भन्ने निवेदनपत्र ।
वादीको दावीमा २०४८ साल बैशाख १ गतेलाई र प्रतिवादी जिकीरमा २०१९ सालमा मानो छुट्टिएको मिति देखाएकोमा शुरुले २०३३ सालमा यी निवेदक वादीका पिता रामआशिष र प्रत्यर्थी प्रतिवादीहरूका पिता भुटलालले आफ्ना पिता महावीर विरुद्ध संयुक्त रुपमा दायर गरेको अंश मुद्दामा भएको डिसमिस निर्णयलाई मानो छुट्टिएको मिति कायम गरेकोलाई पुनरावेदन अदालत हेटौडाबाट मनासिव ठहर्याई गरेको निर्णयमा मुलुकी ऐन अ.वं १८५ नं.को व्याख्याको त्रुटि र नेकाप २०५७, नि.नं ६९३९, पृष्ठ ६५० मा प्रतिपादित सिद्धान्त प्रतिकूल निर्णय भएको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क)(ख) बमोजिम दोहोर्याई पाउने निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालतको मिति २०६०।९।८ को आदेश ।
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको सम्पूर्ण मिसिल अध्ययन गरी हेर्दा मुख्य रुपमा विपक्षी काका भुटलाल र निजका छोराहरूसमेत सँग एकासगोलमा रहेको र घरायसी कुरामा भनाभन भै २०४८ साल वैशाखमा चूल्हो मानो छुटिृई बसेको हुँदा त्यसैलाई मानो छुटिृएको मिति कायम गरी २ भागको १ भागबाट ५ भागको ४ भाग अंश दिलाई पाऊँ भन्ने फिराद दावी रहेकोमा २०३३ सालमा भुटलाल र वादीको बाबु रामआशिष समेतले दिएको अंश मुद्दा मिति २०१९।१।२७ लाई मानो छुटिृएको मिति कायम भै डिसमिस भएको हुँदा वादीले आफ्ना बाबुबाट मात्र अंश पाउनु पर्ने हो भन्ने समेतको प्रतिउत्तर जिकीर रहेको देखिन्छ । शुरु अदालतबाट २०३३ सालको मुद्दाको आधारमा २०३३।३।३१ लाई मानो छुटिृएको मिति कायम गरी वादीले अंश पाउने ठहर्याएउपर मानो छुटिृएको मिति नमिलेको भनी वादीको पुनरावेदन परेकोमा पुनरावेदन अदालत हेटौंडाबाट शुरु सदर हुने ठहरी फैसला भएको र सो उपर मुद्दा दोहोर्याई हेरी पाऊँ भनी वादीको निवेदन परेको देखिन्छ । यस अदालतबाट प्रतिवादीहरूका पिता भुटलालले आफ्ना पिता महावीर विरुद्ध दायर गरेको अंश मुद्दामा भएको डिसमिस निर्णयलाई मानो छुटिृएको मिति कायम गरेकोलाई सदर गरेको पुनरावेदन अदालतको फैसलामा अ.वं. १८५ नं. को व्याख्यात्मक त्रुटि र नजीर सिद्धान्त समेतको प्रतिकूल निर्णय भएको भन्ने समेतका आधारमा दोहोर्याई हेर्ने निस्सा प्रदान भएको अवस्था छ । उल्लिखित तथ्य रहेको प्रस्तुत मुद्दामा पुनरावेदक/वादी तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री किशोरकुमार अधिकारी र प्रत्यर्थी/प्रतिवादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री शतिसकुमार झाले गर्नु भएका बहस समेत सुनी निर्णय तर्फ विचार गर्दा मूलतः देहायका प्रश्नहरूको निरुपण हुनुपर्ने देखिन्छ :
१. प्रतिवादीहरूका पिता भुटलालले आफ्ना पिता महावीर विरुद्ध दायर गरेको अंश मुद्दामा भएको डिसमिस निर्णयलाई मानो छुटिृएको मिति कायम गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको छ वा छैन ?
२. यदि त्यसरी मानो छुटिृएको मिति कायम गरेको मिलेको छैन भने वादीले दावी गरेको मिति २०४८।१।१ वा प्रस्तुत मुद्दाको फिराद परेको अघिल्लो दिन अर्थात् मिति २०५८।५।२६ मध्ये कुन मितिलाई मानो छुट्टिएको मिति कायम गर्नुपर्ने हो ?
२. प्रथमतः पहिलो प्रश्नमा विचार गर्दा, वादी प्रतिवादीबीच पुस्तावलीका सम्बन्धमा मुख मिलेकै देखिन्छ । वादीहरूले प्रतिवादीहरूबाट २ भागको १ भाग बाट ५ भागको ४ भाग अंश पाउने ठहर्याएको हदसम्मको शुरु एवं पुनरावेदन अदालतको फैसलालाई प्रतिवादीले स्वीकार नै गरेको अवस्था हुँदा वादी प्रतिवादीहरू सगोलका अंशियार रहेको भन्ने कुरामा पनि विवाद देखिँदैन । विवादको मुख्य विषयका रुपमा कुन मितिलाई मानो छुटिृएको मिति कायम गर्ने भन्ने विषय नै रहेको छ । यी वादीहरूले आफूहरू २०४८ साल बैशाखदेखि चूल्हो मानो छुटिृई बसेको हुँदा मिति २०४८।१।१ लाई मानो छुटिृएको मिति कायम गरी २ भागको १ भागबाट ५ भाग लगाई त्यसमध्ये ४ भाग अंश दिलाई पाऊँ भनी दावी लिएकोमा प्रतिवादीहरूले २०१९ सालदेखि नै छुटिृभिन्न भै सकेको र २०३३ सालमा प्रतिवादीहरूका पिता भुटलाल र वादीका पिता रामआशिषले चलितर यादव र महावीर यादवउपर संयुक्त रुपमा दायर गरेको अंश मुद्दामा मिति २०१९।१।२७ लाई मानो छुटिृएको मिति कायम भै मुद्दा डिसमिस समेत भएको अवस्था हुँदा वादीहरूले आफ्नै बाबुबाट मात्र अंश पाउने हो, आफूहरूबाट अंश पाउने होइन भनी जिकीर लिएको अवस्था छ । शुरु एवं पुनरावेदन अदालत समेतबाट सोही डिसमिस फैसलालाई आधार मानी यी वादी प्रतिवादीबीचमा मानो छुटिृएको मिति कायम गरिएको, सोही आधारमा उक्त मिति भन्दा अघिको सम्पत्तिबाट वादीहरूले अंश पाउने ठहर्याइएको र त्यसलाई वादी पक्षले अस्वीकार गर्दै आएको कुरा मिसिलबाट देखिएको छ । त्यसैले प्रस्तुत मुद्दामा निहीत रहेको विवादको प्रश्नमा प्रवेश गर्नु अघि २०३३ सालको दे.नं. ३३५६ को अंश मुद्दामा लिइएको दावी र सो मुद्दा डिसमिस गर्दा लिइएको आधारका सम्बन्धमा सिंहावलोकन गर्नु अपरिहार्य देखिन्छ । उक्त मुद्दाका फिरादीमा महावीर रायका छोराद्वय रामआशिष राय यादव र भुटलाल राय यादव रहेको देखिन्छ भने ज्ञानचरन रायका छोराद्वय महावीर राय यादव र चलितर राय यादवलाई प्रतिवादी बनाइएको देखिन्छ । यसरी रामआशिष र भुटलालले आफ्नै बाबु र काकालाई विपक्षी बनाई दिएको मुद्दामा मिति २०१९।१।२७ मा वादी प्रतिवादीबीच चूल्हो मानो छुट्याई अलग भएको भन्ने व्यहोरा उल्लेख गरिएको र सो मुद्दामा प्रतिवादी नपर्नुका साथै वादीले तारेख गुजारी बसेका आधारमा मुद्दा डिसमिस भएको देखिन्छ । त्यसरी उक्त मुद्दाबाट विवादको निरुपण भएको वा मानो छुटिएको मितिका सम्बन्धमा न्यायिक निर्णय भएको नभै कार्यविधिगत कारणले गर्दा मुद्दा अन्तिम भएको भए तापनि फिरादमा उल्लिखित व्यहोराको प्रतिवाद नगरिएकोले मिति २०१९।१।२७ मा वादी प्रतिवादीबीच चूल्हो मानो छुट्याई अलग भएको भन्ने तथ्य स्थापित हुन पुगेको मान्नुपर्ने हुन्छ । तर उक्त मितिमा यी वादीहरूका बाबु रामआशिष र काका भुटलालबीच मानो छुटिृएको भन्ने तथ्य सो मुद्दाबाट स्थापित हुँदैन । प्रस्तुत मुद्दा रामआशिषका छोराहरूले दायर गरेको र निजहरूले आफ्ना बाबु रामआशिष, काका भुटलाल र निजका छोराहरू हरिन्दर र विद्यानन्दलाई विपक्षी बनाई अंशमा दावी लिएको अवस्था छ । २०१९ सालमा अघिल्लो पुस्तामा मानो छुटिृएको भन्ने तथ्यले पछिल्लो पुस्ताका बीचको सम्बन्ध निर्धारण गर्दैन । रामआशिषका बाबु महावीर र काका चलितरसँग मानो छुटिृएको भन्ने तथ्यले रामआशिष र भुटलालका बीचमा मानो छुटिृएको भन्ने तथ्य स्थापित हुन सक्ने हुँदैन । प्रस्तुत मुद्दा रामआशिषका छोराहरूले आफ्नै बाबु रामआशिष र काका भुटलाल र निजका छोराहरूका विरुद्धमा दायर गरेको र आफूहरू बीचमा मिति २०४८।१।१ मा मात्र मानो छुटिृएको भनी उल्लेख गरेको अवस्था हुँदा प्रतिवादीहरूले मिति २०१९।१।२७ मा मानो छुटिृएको भनी लिएको जिकीरसँग सहमत हुन सक्ने अवस्था देखिँदैन । जहाँसम्म शुरु रौतहट जिल्ला अदालतले २०३३ सालको दे.नं. ३३५६ को अंश मुद्दा परेको मिति अर्थात् २०३३।३।३१ लाई मानो छुटिृएको मिति कायम गरी मिति २०३३।३।३० सम्मको दुबै पक्षले पेश गरेको तायदाती फाँटवारीका आधारमा २ भागको १ भागबाट ५ भाग लगाई त्यसमध्ये ४ भाग अंश वादीहरूले पाउने ठहर्याएको र सोलाई पुनरावेदन अदालत हेटौंडाको फैसलाले समेत सदर गरेको सन्दर्भ छ, उक्त मिति २०३३।३।३१ लाई मानो छुटिृएको मिति कायम गरी मिति २०३३।३।३० सम्मको सम्पत्तिलाई वण्डायुक्त सम्पत्ति मान्ने आधार र कारण सो फैसलामा उल्लेख हुन सकेको छैन । केबल २०३३ सालको दे.नं. ३३५६ को अंश मुद्दा मिति २०३३।३।३१ मा दायर भएको भन्ने आधारमा मात्र अदालत सो निष्कर्षमा पुगेको देखिन्छ । तर २०३३ सालको दे.नं. ३३५६ को अंश मुद्दा प्रस्तुत मुद्दाका वादी प्रतिवादीबीच चलेको नभै प्रस्तुत मुद्दाका प्रतिवादीहरू रामआशिष र भुटलालले आफ्ना बाबु र काका उपर दायर गरेको अवस्था हुँदा सो मुद्दाको तथ्यले प्रस्तुत मुद्दालाई असर गर्ने अवस्था नै छैन । २०३३ सालको उक्त मुद्दालाई मात्र आधार बनाउने हो भने २०१९ साललाई मानो छुटिृएको मिति कायम गर्नुपर्ने अवस्था हुन आउँछ, न कि २०३३ साललाई । तर अघिल्लो पुस्ताका बाबुहरूले हजुरबुवासँग गरेको मुद्दाले नाति पुस्तालाई आफ्ना बाबु र काकासँग अंश माग्न पाउने हक खोस्न सक्दैन र त्यस्ता अप्रासांगिक तथ्यलाई आधार बनाएर न्याय निरुपण गर्न मिल्ने पनि हुँदैन । तसर्थ २०३३ सालको दे.नं. ३३५६ को अंश मुद्दा परेको मिति अर्थात् २०३३।३।३१ लाई मानो छुटिृएको मिति कायम गर्ने शुरु एवं पुनरावेदन अदालतको फैसलामा लिइएका आधार र तर्कहरू प्रासांगिक, न्यायोचित एवं तथ्यपरक नदेखिँदा पुनरावेदन अदालत हेटौंडाको मिति २०६०।२।२९ को फैसला मिलेको देखिएन ।
३. यसरी पुनरावेदन अदालत हेटौंडाले मिति २०३३।३।३१ लाई मानो छुटिृएको मिति कायम गरेको फैसला मनासिव नदेखिएको अवस्थामा अब वादीले दावी गरेको मिति २०४८।१।१ वा प्रस्तुत मुद्दाको फिराद परेको अघिल्लो दिन अर्थात् मिति २०५८।५।२५ मध्ये कुन मितिलाई मानो छुट्टिएको मिति कायम गर्नुपर्ने हो ? भन्ने प्रश्नमा विवेचना हुनु सान्दर्भिक देखिन्छ । यसमा प्रतिवादीले २०३३ सालको दे.नं. ३३५६ को अंश मुद्दालाई आधार बनाएर २०१९ साललाई मानो छुटिृएको मिति कायम गर्नु पर्ने भनी जिकीर लिएको भएतापनि शुरु एवं पुनरावेदन अदालतले उक्त मुद्दा परेको मितिलाई मानो छुटिृएको मिति कायम गरेकोलाई नै स्वीकार गरी बसेको भन्ने कुरालाई शुरु एवं पुनरावेदन अदालतको फैसलाउपर प्रतिवादीहरूको पुनरावेदन नपरेको तथ्यले नै पुष्टि गर्दछ । तर पहिलो प्रश्नको निरुपणका क्रममा गरिएको विवेचनाबाट २०३३ सालको दे.नं. ३३५६ को अंश मुद्दालाई आधार बनाएर २०१९ साललाई मानो छुटिृएको मिति कायम गर्न नमिल्ने र साथै शुरु एवं पुनरावेदन अदालतले उक्त मुद्दा परेको मिति अर्थात् २०३३।३।३१ लाई मानो छुटिृएको मिति कायम गरेकोलाई न्यायोचित एवं तथ्यपरक नदेखिएको भनी अस्विकार गरिसकिएको सन्दर्भमा प्रतिवादीहरूको कथनसँग सहमत हुन सक्ने अवस्था देखिएन । यसरी मानो छुटिृएको मिति कुन कायम गर्ने भन्ने प्रश्न उपस्थित भै पक्षहरूबीच मुख नमिलेको अवस्थामा यस अदालतबाट मानो छुटिृएको मितिका सम्बन्धमा विवाद रहेको र कुनै प्रमाणबाट यकीन मिति पुष्टि हुन नसकेको स्थितिमा फिराद परेको दिनको अघिल्लो मितिलाई मानो छुटिृएको मिति कायम गर्नुपर्ने भनी (नेकाप २०५७, नि.नं. ६९३९, पृ. ६७५) सिद्धान्तहरू स्थापित भएका छन् । ती सिद्धान्तहरूसँग असहमत हुनुपर्ने अवस्था नदेखिँदा प्रस्तुत बुँदामा थप विचार र विवेचना गरिरहनु परेन ।
४. तसर्थ माथि गरिएको विश्लेषण समेतका आधारमा प्रस्तुत मुद्दामा वादीको फिराद मिति २०५८।५।२६ मा दायर भएको देखिएबाट वादी प्रतिवादीहरू बीच फिराद परेको अघिल्लो दिन अर्थात् मिति २०५८।५।२५ लाई मानो छुटिृएको मिति कायम गरी दुबै पक्षबाट सोही मितिसम्मको तायदाती फाँटवारी दाखिल गर्न लगाई सोही आधारमा न्याय निरुपण हुनुपर्नेमा मिति २०३३।३।३१ लाई मानो छुटिृएको मिति कायम गरी न्याय निरुपण गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०६०।२।२९ को फैसला मिलेको नदेखिँदा बदर गरिदिएको छ । अब वादी प्रतिवादीहरू बीच फिराद परेको अघिल्लो दिन अर्थात् मिति २०५८।५।२५ लाई मानो छुटिृएको मिति कायम गरी सो मितिसम्मको तायदाती फाँटवारी लिई तायदातीमा छानविन गरी फैसला गर्नु भनी दुबै पक्षलाई तारेख तोकी शुरु मिसिल, पुनरावेदन अदालत हेटौंडाको रेकर्ड मिसिल र प्रमाण मिसिलहरू समेत पुनरावेदन अदालत हेटौंडामा पठाइदिने ठहर्छ । प्रस्तुत मुद्दाको दायरीको लगत कटृा गरी यस अदालतको रेकर्ड मिसिल नियमानुसार गरी बुझाईदिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.रणबहादुर बम
इति संवत् २०६६ साल असोज १९ रोज २ शुभम्
इजलास अधिकृतः उमेश कोइराला