निर्णय नं. ८३०९ - खिचोला ।

निर्णय नं. ८३०९ जेठ, २०६७
सर्वोच्च अदालत, पूर्ण इजलास
माननीय न्यायाधीश श्री तपबहादुर मगर
माननीय न्यायाधीश श्री सुशीला कार्की
माननीय न्यायाधीश श्री भरतराज उप्रेती
संवत् २०६५ सालको DF– ००२८
फैसला मितिः २०६६।९।२।५
मुद्दाः–खिचोला ।
पुनरावेदक प्रतिवादीः जिल्ला सप्तरी मध्येपुरा गा.वि.स. वडा नं.३ बस्ने शिवनन्दन साह तेली
विरूद्ध
प्रत्यर्थी वादी: जिल्ला सुनसरी डुमराह गा.वि.स.वडा नं.३ बस्ने हितलाल साह तेली
शुरु फैसला गर्नेः
मा.जि.न्या.श्री बीरसंह महरा
पुनरावेदन फैसला गर्ने :–
मा.न्या. श्री ओमप्रसाद सुवेदी
मा.न्या. श्री गौरीबहादुर कार्की
सर्वोच्च फैसला गर्ने:–
मा.न्या. श्री गौरी ढकाल
मा.न्या. श्री गिरीशचन्द्र लाल
§ देवानी प्रकृतिका मुद्दाहरूमा पक्ष विपक्षको मौखिक भनाइभन्दा लिखतकै आधारमा वास्तविक न्याय निरुपण गरी निष्कर्षमा पुग्नु बाञ्छनीय हुने हुँदा लिखतमा लेखिएको व्यहोरालाई अनदेखा गर्नु न्यायसंगत नहुने ।
§ आफ्नो तथा बाबुको नाममा दर्ता नै नरहेको मिन्ही प्रकृतिको जग्गामा भोग समेत पुष्टि गर्न नसकेको अवस्थामा जग्गामा खिचोला मेटाई घर उठाई पाऊँ भन्न नमिल्ने ।
(प्रकरण नं.४)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री सनद देवकोटा
प्रत्यर्थी वादी तर्फबाटः
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
· अ.वं. ७८ नं.
फैसला
न्या. तपबहादुर मगरः सर्वोच्च अदालत संयुक्त इजलासको राय मतैक्य नभै सर्वोच्च अदालत नियमावली , २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः
सप्तरी जिल्ला मध्येपुरा गा.वि.स.वडा नं.३ को साविक प्रगन्ना पकरी मौजे मध्येपुरामा २००५ को सालको नापीबमोजिम फिरादीको बाबु महाबीर साहको नाउँमा घरबास तर्फ मिन्ही सा.कि.नं. ५५ को महादेव, सो उत्तर, डगर सो पश्चिम, लाली सो दक्षिण, पोखरी पानी सो पूर्वको
०–०–१० (दश धुर) र ऐ. मौजाको मिन्ही सा.कि.नं. ५७ को लाली सो उत्तर, डगर सो पश्चिम दक्षिण, पोखरी पानी सो पूर्वको ०–०–३ (तीन धुर) समेत घरबासको जग्गा दर्ता रही सो घरबासमा भएका घरहरू बाबु महाबीर साहू तथा निजका सन्तान फिरादी समेतले भोग चलन गर्दै आइरहेका थियौँ ।
उल्लिखित घरबासको जग्गा र नम्बरी जग्गाहरू समेत बाबु महाबीर साहले भोग गरी आएको अवस्थामा नम्बरी जग्गाहरू बाबुले बिक्री गरी घरबासको घर आफ्नो नाउँमा दर्ता र भोग कायम रहने गरी सुनसरी जिल्लाको डुमराहा गा.वि.स.वडा नं.८ मा जग्गा जमिन खरीद गरी सो ठाउँमा पनि बसोबास गरी आएको अवस्था २०३८।६।१५ मा उहांको परलोक भयो । आमा अघिनै परलोक भएकोले बाबुका नामको पोत नलाग्ने, नामसारी समेत नहुने मिन्ही घरबासको जग्गामध्ये कि.नं.५५ को दशधुर जग्गामा ११ हात लामो फुसको घर –१ र कि.नं.५७ को तीन धुर जग्गामा फूसको घर –१ र बाबुले खनाएको इनार समेत फिरादीले भोगचलन गर्दै आएको र उक्त मिन्ही घरबास वडा नं. ३ को गाउँ ब्लक नं.२१५ भित्र परेकोमा समेत कसैबाट विवाद उठेको थिएन । उल्लिखित घरबासको जग्गामा रहेका घरहरू बन्द गरी सुनसरीको डुमराहा गा.वि.स.मा धान बाली लगाउन गएको मौका पारी २०५८।१।२५ मा प्रतिवादीले अरु नचिनेका १०–१५ जना ज्यामी र आफू समेत भै उक्त घरबासको घर जग्गामा अनाधिकृत प्रवेश गरी तेह्र धुर जग्गा घेरबार गरी दुवै घर कब्जामा लिई प्रवेश गरी कि.नं.५५ मा भएको फुसको घरमाथि टिनको छाना बनाई दश धुरको खाली जग्गामा १५ हात लम्बाई भएको दुई कोठरीको पक्की मकान निर्माण कार्य शुरु गरी २०५८।२।१५ मा निर्माण सम्पन्न गरी खिचोला कव्जा गरेकोले उक्त खिचोला कव्जा छाड्न इन्कार गरेकोले जग्गा मिच्नेको १ नं. अन्तर्गत ऐ.का १८ नं. अनुसार थाहा पाएको ६ महिना भित्र र घर बनाउनेको १ नं. तथा ११ नं. को म्याद भित्रै फिराद गरेको छु ।
बाबु महाबीर साहू दर्ताको उपरोक्त गाउँ ब्लक नं.२१५ भित्र परेको साविक कि.नं.५५ र ५७ को घरबासको जग्गामा रहेका घर तथा इनार समेत कब्जा गरी फूसको छानामाथि टिनको छाना तथा पक्की मकानको २ कोठरी घर समेत बनाई खिचोला कब्जा गरी लिएकोले उक्त दुवै कित्ताको तेह्र धुर जग्गामा रहेका दुई वटा घर इनार समेतको खिचोला मेटाई कि.नं.५५ को खाली जग्गामा बनाएको पक्की घर उठाउन लगाउन र उठाई नलगे घर बनाउनेको ४ नं. बमोजिम गरी घर जग्गाको खिचोला मेटाई चलन चलाई पाऊँ भन्ने समेत व्यहोराको फिराद–पत्र ।
वादीले आफ्नो वतन सुनसरी डुमराहा गा.वि.स.वडा नं.८ देखाएबाट विवादको जग्गामा वादीको घर बसोबास नरहेको स्पष्ट छ । वादीले दावी गरेको कि.नं.५५ र ५७ को जग्गामा निजले फुसको घर बनाएको तथा इनार खनाएको भन्ने सम्पूर्ण कथन झूठा हो । वादीका बाबु स्वर्गीय महाबीर साहू तेलीले आफ्नो जीवनकाल अर्थात २०२० सालमा नै सप्तरी जिल्लाको मध्येपुरा गा.वि.स.वडा नं.२ बाट बसाई सराई गरी सुनसरी जिल्लाको डुमराह गा.वि.स. वडा नं. ८ गै घरबास गरी बसेका हुन् । वादीका पिता महाबीरले मेरो बाबु सजन साहू तेलीबाट रु.८०१।– बुझी सो बापत निजका नाउँमा मिन्ही कायम रहेको कि.नं.५७ को क्षेत्रफल ०–०–३ र कि.नं.५५ को क्षेत्रफल ०–०–१० गरी जम्मा क्षेत्रफल ०–०–१३ जग्गामा बाबु सजन साहुले घर बनाई बसेको हो । उक्त कुरा मैले दाम बुझी जग्गा छाडी दिएको भनी २०३० साल पौष ८ गते जग्गा छोडपत्रको कागज गरी दिएबाट पुष्टि हुन्छ । जग्गा छोडपत्रको तथ्य कुरा लोप गरी दोहोरो फाइदा लिने नियतले बनावटी कुरा उल्लेख गरी फिराद दायर गरेको भन्ने स्पष्ट देखिन्छ । बाबु सजन साहुले २०३० साल पूर्वनै घरद्वार बनाई भोगी चर्ची आएकोमा २०३४ सालदेखि २०४६ सालसम्ममा उक्त जगगामा पक्की तथा खपडाको छानासमेत भएको घर बनाई बिजुलीको मिटर समेत जडान गरी भोगी आएको अवस्था छ ।
दावीको कि.नं.५५ र ५७ मा इनार उल्लेख गरेपनि सो जग्गामा इनारको अस्तित्व नै
छैन । २०३० साल पूर्व नै बाबु सजन साहुले घरद्वार बनाई भोगी चर्ची आएको र वादीका बाबुले छोडपत्रको लिखत गरी दिए पश्चात् २०३४ साल देखि २०४६ सालसम्म कच्ची तथा पक्की घरहरू समेत बनाई बाउन्ड्री पर्खाल समेतले घेरी घर धुरी कर समेत तिरी भोग गरी आएको भन्ने सबूद प्रमाणले पुष्टि हुने हुँदा प्रस्तुत फिराद हदम्याद तथा हकदैयाविहीन देखिएकोले दावीबमोजिम घर उठाई खिचोला मेटाई पाउनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिउत्तर– पत्र ।
प्रतिवादीले पेश गरेको सक्कल लिखत कीर्ते गरेका हुन् । मालपोत कार्यालय सुनसरीमा र.नं.५३९९ मिति २०३७।२।७ मा बाबु महाबीर साहूले जग्गा रजिष्ट्रेशन पारित गरी बिक्री गरेको सक्कल लिखत झिकी जाँची पाऊँ । उक्त लिखत लिफामा गरे जस्तो देखिँदा रोनाष्टबाट जाँच गरिपाऊँ भन्ने व्यहोराको वादी हितलाल साहले अ.वं.७८ नं. बमोजिम गरेको बयान ।
वादीले गरेको बयान सम्पूर्ण झूठा हो, लिखत सद्दे हो कीर्ते गरेको हैन छैन भन्ने व्यहोराको प्रतिवादी शिवनन्दन साहले गरेको प्रत्युत्तर बयान ।
वादीका साक्षी मधुलाल साह तथा प्रतिवादीका साक्षी विश्वनाथ साहले आ–आफ्नो पक्षको समर्थनमा गरेको बकपत्र मिसिल सामेल रहेको ।
विवादित २०३०।९।२८ को घरसारको लिखतमा लागेको ल्याप्चे महाबीर साहको ल्याप्चेसँग मिल्ने भनी राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट जाँच भै प्रतिवेदन प्राप्त भएकोले सो कागज कीर्ते भन्ने वादीको बयान समर्थित हुन आएन । वादीका बाबुले प्रतिवादीका बाबुलाई २०३० सालमा रु.८०१।– मा हकछाडी दिएबाट मिन्हीमा नाम उल्लेख भएको आधारले मात्र हक रहिरहने अवस्था नहुँदा फिराद दावी पुग्न सक्दैन । प्रस्तुत लिखत सद्दे ठहरेकोले वादीलाई दण्ड सजायको १८ नं. ले रु.४००।५० जरीवाना हुन्छ भन्ने समेत व्यहोराको सप्तरी जिल्ला अदालतको २०५९।८।४ को फैसला ।
घरसारको लिखतबाट अचल सम्पतिको हक हस्तान्तरण हुन नसक्ने कानूनी व्यवस्था एवं प्रतिपादित नजीर सिद्धान्तविपरीत वादी दावीमा उठाएका प्रमाणहरूको मूल्याङ्कन नगरी भौतिक अवस्था समेतको विवेचना नगरी भएको सप्तरी जिल्ला अदालतको कानूनी त्रुटिपूर्ण फैसला बदर गरी वादी दावीबमोजिम इन्साफ पाऊँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन अदालत राजविराजमा परेको पुनरावेदन पत्र ।
मुलुकी ऐन, सातौँ संशोधन पूर्वको रु.८०१।– को घरसारको लिखतबाट हक छाडी दिएको कानूनी शून्य हुनेमा सो लिखतलाई कानूनी मान्यता दिई वादीको दावी पुग्न नसक्ने ठहर्याएको शुरुको फैसला फरक पर्ने देखिँदा छलफलको लागि अ.वं.२०२ नं. बमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने २०६०।२।१२ को पुनरावेदन अदालत राजविराजको आदेश ।
वादीका बाबुले रु.८०१।– मा प्रतिवादीका बाबुलाई हक हस्तान्तरण गरी दिएको भनिएको २०३०।९।२८ को घरसारको कागज हदमुनिको कागज नदेखिई तत्काल प्रचलित कानूनबमोजिम पारित नभई कानूनी मान्यता प्राप्त कागज पनि देखिदैन । प्रतिवादीले वादीका बाबुको नाममा दर्ता रहेको जग्गा जतिसुकै लामो अवधिदेखि घरबास गरी आए तापनि चिरभोगाधिकारको सिद्धान्तको अवधारणा हाम्रो कानूनमा नभएको अवस्था समेत हुँदा वादी दावी पुग्न नसक्ने ठह¥याएको सप्तरी जिल्ला अदालतको फैसला उल्टी भई वादी दावीको कि.नं. ५५ र ५७ को जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर्छ भन्ने व्यहोराको पुनरावेदन अदालत राजविराजको २०६०।५।३० को फैसला ।
प्रतिवादीले खिचोला गरेको ठहराई भएको पुनरावेदन अदालतको फैसलामा चित्त बुझेन । वादीका बाबुले २०३०।९।२८ मा दिएको छोडपत्रको लिखत अगावै पुनरावेदकका बाबु सजन साहूले घरद्वार बनाई बसोबास गरी घर धुरी कर समेत तिरी आएको तथ्यलाई समेत विवेचना
गरिएन । विवादित जग्गामा वादीका बाबु महाबीर साहूको हकभोग नभएको तथ्य लिखत जाँच भै दिएको प्रतिवेदन समेतबाट पुष्टि भैरहेको अवस्था तथा जग्गाको भौतिक अवस्था समेतको मूल्याङ्कन नगरी भएको पुनरावेदन अदालत राजविराजको त्रुटिपूर्ण फैसला उल्टी गरी सप्तरी जिल्ला अदालतको फैसला सदर कायम गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
वादी दावीको जग्गा वादीका पिता महाबीर साहूले २०३०।९।२८ मा गरी दिएको लिखतको आधारमा प्रतिवादीले घर बनाएको भन्ने देखिन आएको र सो जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर गरे पनि घरतर्फ फैसलामा केही नबोली अ.वं.१९२ नं. को त्रुटि गरेको देखिन आएकोले अ.वं.२०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आए वा अवधि नाघेपछि पेश गर्नु भन्ने २०६२।१०।२० को यस अदालतको आदेश ।
२०३०।९।२८ को लिखत घरायसी नै भएपनि वादीका पिता महाबीरले हकछाडी दिएको लिखतको सहिछाप भिडेको भन्ने राय प्रतिवेदन प्राप्त भएको देखियो । उक्त लिखतबमोजिको मिन्ही जग्गामा प्रतिवादीको भोग बसोबास भएको देखिन आउनुको अतिरिक्त प्रतिवादीले २०३४ सालदेखि २०४६ सालसम्म घर बनाई बसोबास गरी आएको अवस्था देखिन आएको हुँदा जग्गाको स्वामित्व बिना बसोबास गरी बस्ने प्रतिवादीले कति क्षेत्रफलमा घर बनाई बसोबास गरेका छन्, घरले कति क्षेत्रफल ओगटेको छ आदि कुराहरू नाप नक्सा गरी ठहर निर्णयमा पुग्नु पर्नेमा घरतर्फ केही नबोलेको पुनरावदेन अदालतको फैसलामा अ.वं. १९२ नं. को त्रुटि देखिंदा उक्त फैसला बदर गरी दिएको छ । अब उक्त जग्गामा भएका घरहरूले चर्चेको क्षेत्रफल कति हो, सो सम्बन्धमा अ.वं.१७१ नं. बमोजिम नापनक्सा गरी विवादित घरहरूको सम्बन्धमा निर्णय गर्नु भनी पक्षलाई तारेख तोकी मिसिल पुनरावदेन अदालत राजविराजमा पठाई दिने ठहर्छ भन्ने समेत व्यहोराको २०६५।१०।१३ को संयुक्त इजलासका माननीय न्यायाधीश श्री गौरी ढकालको राय फैसला ।
२०३०।९।२८ को घरसारको छोडपत्रको लिखत वादीले कीर्ते भने पनि विशेषज्ञबाट जाँच गराउँदा उक्त लिखत सद्दे साँचो व्यहोराबाट भएको भन्ने देखिन्छ । २०३०।९।२८ को लिखतको कार्यलाई पछि थाहा पाऊँ भनी २०५८।४।७ मा मात्र चुनौती दिई फिराद लिई प्रवेश गरेको र उक्त जग्गामा घर भएको कुरा उक्त घरसारको लिखत र बिजुली जडान लगायतका तथ्य प्रमाणले पुष्टि भैरहेको अवस्था देखिन्छ । यस्तो अवस्था जग्गा पजनीको तत्कालको १७ नं. को हदम्याद भित्र वादीको फिराद नपरेको तथ्य स्पष्ट भैरहेको हुनाले तथ्यभित्र प्रवेश गरी थप प्रमाण बुझी रहनुपर्ने अवस्था नहुँदा फिराद दावी खारेज हुने ठहर्छ । फिराद पत्र नै खारेज गर्नु पर्नेमा वादी दावी पुग्न सक्ने ठहराएको पुनरावेदन अदालत राजविराजको फैसला उल्टी हुने ठहर्छ । माननीय न्यायाधीश श्री गौरी ढकालको रायसँग असहमत भएको हुँदा रायबाझी फैसलाको निप्टारा हुन प्रस्तुत मुद्दा पूर्ण इजलाससमक्ष पठाई दिनु भन्ने संयुक्त इजलासका माननीय न्यायाधीश श्री गिरीशचन्द्र लालको २०६५।१०।१३ को राय फैसला ।
नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री सनद देवकोटाले विवादित कि.नं.५५ र ५७ का जग्गा प्रतिवादीका बाबु सजन साहले पहिलदेखि नै घर बसोबास गरी आएको तथ्य उल्लेख गरी वादीका बाबु महाबीर साहूले २०३० सालमा छोडपत्रको कागज गरी पुनरावेदकलाई दिएको अवस्था छ । उक्त २०३०।९।२८ मा भएको लिखत कागज वादीले कीर्ते भनी बयान गरे पनि सो कागज विशेषज्ञबाट जाँच भै सद्दे साँचो ठहरिएको तथ्यलाई अन्यथा भन्न मिल्ने स्थिति छैन । विवादको जग्गा मिन्ही भएकोमा विवाद नभएको र त्यस्तो प्रकृतिको जग्गा तत्काल रजिष्ट्रेशन हुने कानूनी व्यवस्था नभएको आधारमा घरसारको लिखत भएको देखिन्छ । वादी प्रतिवादीहरूका बाबुहरू बीच २०३० सालमा लिखत कागज हुनु अगावै प्रतिवादीका बाबुले घर बसोबास गरी आएको जग्गामा २०५८ सालमा घर उठाई जग्गा खिचोलाको दावी लिएको स्थिति हुँदा जग्गा पजनीको तत्कालको १७ नं. को कानूनी व्यवस्थाबमोजिम फिराद दायर हुँदा हदम्याद नाघेको स्पष्ट देखिन्छ । विवादको जग्गा वादीले आफ्नो भोगमा रहेको भनेपनि भोगको पुष्टि हुने आधार देखाउन सकेको स्थिति छैन । लिखतअनुसार पुनरावेदक प्रतिवादीले नै भोग गरी आएको तथ्य स्थापित भएको हुँदा फिराद दावी खारेज गर्ने गरेको माननीय न्यायाधीश गिरीशचन्द्र लालको राय सदर हुनुपर्छ भन्ने समेत व्यहोराको बहस गर्नुभयो ।
उपर्युक्त विद्वान कानून व्यवसायीको बहस सुनी पुनरावेदन पत्र सहितको शुरु मिसिल समेत अध्ययन गरी निर्णय तर्फ विचार गरी हेर्दा, विवादित जग्गामा भएका घरहरूले चर्चेको क्षेत्रफल कति हो सो सम्बन्धमा अ.वं. १७१ नं. बमोजिम स्थलगत नापनक्सा गरी प्रमाण बुझी घरतर्फ पनि ठहर निर्णय गर्नु पर्नेमा सो नगरेको पुनरावेदन अदालतको फैसला बदर गरी दिएको छ, नाप नक्सा गरी पुनः निर्णयको लागि मिसिल पुरावेदन अदालतमा पठाउने ठहराई भएको माननीय न्यायाधीश श्री गौरी ढकालको राय तथा जग्गा पजनीको तत्कालीन १७ नं. को हदम्यादभित्र वादीको फिराद नपरेको आधारमा थप प्रमाण बुझिरहनु नपर्ने भनी फिराद दावी खारेज हुने ठहराई भएको माननीय न्यायाधीश श्री गिरीशचन्द्र लालको राय भै संयुक्त इजलासबाट भएको फैसलामा राय मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१)(क) बमोजिम पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्ने हो होइन ? सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, मूलतः सप्तरी जिल्ला मध्येपुरा गा.वि.स. वडा नं. ३ को साविक प्रगन्ना पकरी मौजे मध्येपुरामा २००५ सालको नापीमा बाबु महाबीर साहका नाउँमा घरवासतर्फ साविक कि.नं.५५ को क्षेत्रफल ०–०–१०, ऐ. मौजाको मिन्ही साविक कि.नं.५७ को क्षेत्रफल ०–०–३ जग्गामा घरबास गरी बसी आएको घरबासको मिन्ही तथा अन्य नम्बरी जग्गासमेत भोग गरी आएको अवस्थामा बाबुले नम्बरी जग्गा बिक्री गरी मिन्ही घरबासको जग्गा कायमै राखी सुनसरी जिल्लाको डुमराहामा बसोबास गरी आएका थियौं । २०३८ सालमा बाबुको मृत्यु भएपछि मिन्ही घरबासको जग्गा र सो मा बनेका घर इनार समेत फिरादीले भोग गरी आएको थिएँ । उक्त घरबासको जग्गामा रहेका घरहरू बन्द गरी सुनसरीको डुमराहा गा.वि.स.मा धानबाली लगाउन गएको मौका पारी विपक्षीले २०५८।१।२५ मा सो घरजग्गामा अनधिकृत प्रवेश गरी जग्गामा घेरबार गरी कब्जामा लिई फुसको छानाको सट्टा टिनको छाना राखी पक्का मकान सहितको घरसमेत बनाई खिचोला गरेकोले उक्त दुवै कित्ता जग्गामा रहेको घर इनार समेतको खिचोला मेटाई घर उठाउन लगाई चलन समेत पाऊँ भन्ने फिराद दावी लिएको पाइयो । विवादित दुवै कित्ता जग्गा उपर लिएको सम्पूर्ण दावी झूठा हो । वादीका पिता महाबीरले बाबु सजन साहू तेलीबाट रु.८०१।– बुझी सो बापत उपरोक्त विवादको मिन्ही जग्गा २०३०।९।२८ मा छोडपत्रको लिखत कागज गरी दिएको तथ्य लोप गरी बनावटी तर्क उल्लेख गरी दावी लिएको हुँदा फिराद दावीबमोजिम खिचोला मेटाई पाउनु पर्ने होइन भन्ने प्रतिउत्तर जिकीर रहेको देखियो ।
३. विवादको जग्गाको विषयमा प्रतिवादीले उल्लेख गरेको २०३०।९।२८ को जग्गा छोडपत्रको लिखित कीर्ते भनी वादीले बयान गरेअनुसार विशेषज्ञबाट जाँच भै प्रेषित प्रतिवेदन तथा सो लिखत कागजको विवेचना गर्नुपर्ने हुन आयो । प्रतिवादीले प्रतिउत्तर पत्रमा जिकीर लिएको २०३०।९।२८ मा धनी प्रतिवादीका बाबु सजन साहू तेली र ऋणी वादीका बाबु महाबीर साहू तेलीबीच भएको घरसारको लिखत कागज हेर्दा, उक्त लिखतमा वादीका बाबु महाबीर साहू जि.स.प्र.पकरी मौजे मध्येपुरा पञ्चायत वडा नं.२ मा जन्मी हाल जि.सुनसरी प्रगन्ना बेली मौजे डुमरा पञ्चायत अन्तर्गत वडा नं.८ प्रगन्ना ऐ. मौजे बंकुलवा झोरा बस्ने भनी सुनसरी जिल्लाको वतन उल्लेख गरेको देखियो । कम्पनी रु.८०१।– बुझी धनीले पोखरीको डिलमा घर बनाई बसेको र मेरा नाममा मिन्ही भएको तपसीलको घरबासको ।।३ धुर र ।।१० धुर गरी जम्मा ।।१३ धुर जग्गामा म यहांबाट २०२० सालमा सरी बंकुलवामा गई सो जग्गा निजै धनीको पोखरीको डिल भएको र घर बनाई बसेको हुनाले दाम बुझी जग्गा छाडी दिएँ, मेरा नामबाट आफ्ना नाउँमा दर्ता गराई लिनु भन्ने बोली पारी कागज भएको व्यहोराले विवादित जग्गामा पुनरावेदकका पिता सजन साहू तेलीले सो घरसारको कागज हुनु अगावै घरबास गरी बसेको र वादीका पिता २०२० सालमा सो घरबासको जग्गाबाट बसाई सरी सुनसरी गएको भन्ने तथ्य देखिन आयो ।
४. उक्त लिखतको सम्बन्धमा सद्दे कीर्ते तर्फ अ.वं.७८ नं. बमोजिम प्रत्यर्थी वादीले बयान गर्दा सो लिखत कीर्ते भनी मालपोत कार्यालय सुनसरीमा बाबु महाबीर साहुले र.नं.५३९९ मिति २०३७।२।७ मा रजिष्ट्रेशन पारित गरी बिक्री गरेको सक्कल लिखत झिकाई यस लिखतसँग भिडाई जाँच गरिपाऊँ भनी लिएको जिकीरअनुसार विवादित २०३०।९।२८ को लिखतमा लागेको ल्याप्चे छाप तथा वादीले उल्लेख गरेको पारित राजीनामा लिखतको ल्याप्चे छाप राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट जाँच भै आएको देखियो । सो २०५९।६।१६ को लिखत परीक्षण प्रतिवेदन व्यहोरामा वि–१ र न–१ एकै व्यक्तिका ल्याप्चे छापहरू हुन् । वि–१ र न–१ का ल्याप्चे छापहरूलाई (Magnifying glass) को सहायताले तुलनात्मक अध्ययन गर्दा समानताहरू पाइन्छ । ती मध्ये वि–१ (शिरको वा. महलको ल्याप्चे छाप) लाई न–१ (दिनेको सहिछाप अन्तर्गत रेखात्मक बायाँ महलमा लगाइएको ल्याप्चेछाप) सँग तुलना गरी समानताका विन्दुहरू फोटोमा १ देखि १६ सम्म संकेत गरी देखाइएका छन् भन्ने उल्लेख भएको व्यहोराले वादीले उक्त लिखत कागज कीर्ते भनी गरेको बयान समर्थित हुन आएन । विवादका दुवै कित्ता जग्गाहरू साविक मै मिन्ही जनिई वादीका बाबुको भोगसम्म रहेको कुरा उल्लेख गरी दावी लिएको अवस्थामा उल्लिखित जग्गा छोडपत्रको कागज व्यहोराले भोग समेत पुनरावेदकका पिता सजन साहूलाई छोडिदिएको र उक्त लिखत हुनु अगावै निजले घर बनाई बसोबास गरी आएको भन्ने कुरा निर्विवाद रुपमा पुष्टि हुन आयो । देवानी प्रकृतिका यस्ता मुद्दाहरूमा पक्ष विपक्षको मौखिक भनाई वा फिराद प्रतिउत्तर पत्रको लेखाइभन्दा लिखतकै आधारमा वास्तविक न्याय निरुपण गरी निष्कर्षमा पुग्नु बाञ्छनीय पनि हुने हुँदा लिखतमा लेखिएको व्यहोरालाई अनदेखा गर्नु पनि न्यायसंगत हुँदैन । वादीले आफूले दावी लिदा नै विवादित मालपोत नलाग्ने प्रकृतिको मिन्ही घरबासको जग्गा वादीका बाबु तथा वादीले आफ्नो नाउँमा दर्ता गरेको भन्ने मिसिल प्रमाणबाट नदेखिनुका अतिरिक्त आफ्नो नम्बरी जग्गा बाबुले नै बिक्री गरी सुनसरी जिल्लाको डुमराहा गा.वि.स.मा बसोबास गरी आएको भनी वादी स्वयमले फिराद पत्रको प्रकरण (२) मा उल्लेख गरेको व्यहोरा समेतबाट प्रत्यर्थी वादीको घर बसोबास विवादको मिन्ही घरबासको जग्गामा नरहेको भन्ने देखिन आयो । मुलुकी ऐन जग्गा मिच्नेको १ नं. को कानूनी व्यवस्था हेर्दा “एकाको हकको जग्गा अर्काले चापी मिची घुसाई खान र सरकारी जग्गा तिरो नगरी कुनै तवरले दवाई आफूले खान र अर्कालाई खुवाउन समेत हुँदैन” भन्ने उल्लेख भएको देखिन्छ । आफूले खिचोलामा दावी लिएको जग्गा बाबु तथा आफ्ना नाउँमा दर्ता भोग रहेको भनी सन्तोषप्रद आधार उल्लेख गरी सप्रमाण दावी लिन नसकेको र मिन्ही प्रकृतिको जग्गा वादीका बाबुले तत्काल भोग गरेकै अवस्था भएपनि सो जग्गा रहेको सप्तरी जिल्लाबाट २०२० सालमै वादीका बाबु बसाई सरी सुनसरी जिल्लामा गएको भन्ने तथ्य देखिएको अवस्थामा २०५८ सालमा प्रतिवादीले उक्त जग्गामा घर बसोबास गरी खिचोला गरेको भन्ने वादी दावी फिराद लेखबाटै खण्डित हुन गै वादी दावी विश्वासप्रद एवं प्रतीतलायक देखिएन । आफ्नो नामको नम्बरी जग्गा बाबुले नै बिक्री गरी मिन्ही घरबासको जग्गासम्म बाँकी रहेको भनी फिरादपत्रमा उल्लेख गरेपनि २०३०।९।२८ को लिखत वादीका बाबुले नै गरिदिएको भन्ने विशेषज्ञबाट दिएको राय प्रतिवेदनले पुष्टि गरेको र उक्त लिखत गरिदिनु पर्ने अन्य कारण रहे भएको भन्ने वादीको भनाई समेत नरहेबाट सो घरबासको जग्गामा पुनरावेदक प्रतिवादीकै भोगचलन रहेको भन्ने कुरामा द्विविधा रहने स्थिति देखिएन । सद्दे लिखत कागज स्वयम्ले उक्त जग्गा वादीका बाबुले प्रतिवादीका बाबुलाई रु.८०१।– बापत भोग चलन गर्न दिएको भन्ने देखिएको र सो लिखत कानूनबमोजिम रजिष्ट्रेशन पारित नभएको अवस्था भएपनि उक्त लिखतको व्यहोरामा विवादको जग्गामा यिनै प्रतिवादीको बसोबास रहेको भन्ने तथ्यलाई अन्यथा अर्थ गरी वादीको मौखिक कथनको आधारमा निजका नाउँमा दर्ता नै नभएको सो मिन्ही जग्गा उल्लिखित जग्गा मिच्नेको १ नं को “एकाको हकको जग्गा अर्काले चापी मिची घुसाई खान हुँदैन” भन्ने वाक्यांशले विवादको जग्गा वादी दावीबमोजिम प्रतिवादीले खिचोला गरेको भनी मान्न न्यायसंगत पनि देखिएन । आफ्नो तथा बाबुको नाममा दर्ता नै नरहेको मिन्ही प्रकृतिको यस्तो जग्गामा भोग समेत पुष्टि गर्न नसकेको अवस्था देखिएबाट विवादको जग्गामा खिचोला मेटाई घर उठाई पाऊँ भन्ने वादी दावी पुग्न सक्ने स्थिति देखिएन ।
५. अतः माथि विवेचित आधार कारणबाट विवादको जग्गा वादीको दर्ता एवं हकभोग रहेको भन्ने दर्ता स्रेस्ता प्रमाणबाट नदेखिएको हुँदा विवादको जग्गामा रहेका घरले चर्चेको जग्गाको क्षेत्रफल यकीन गरी अ.वं. १७१ नं. बमोजिम नाप नक्सा गरी सम्वद्ध प्रमाण बुझी घरतर्फ समेत ठहर निर्णय गर्नु भनी पुनरावेदन अदालत राजविराजको फैसला बदर गरेको माननीय न्यायाधीश श्री गौरी ढकालको राय तथा जग्गा पजनीको तत्कालीन १७ नं. को हदम्याद भित्र वादीको फिराद नपरेको हुनाले तथ्यभित्र प्रवेश गरी थप प्रमाण बुझिरहन नपर्ने भनी पुनरावेदन अदालत राजविराजको फैसला उल्टी गरी फिराद पत्र खारेज हुने ठहर गरेको माननीय न्यायाधीश श्री गिरीशचन्द्र लालको राय समेतसँग सहमत हुन सकिएन । समग्र मिसिलको अध्ययनबाट प्रत्यर्थी वादीले विवादित दुवै कित्ता जग्गाको दर्ता हकभोगको स्रोत देखाई वादी दावी पुष्टि गर्न नसकेको यस्तो अवस्थामा वादी दावी पुग्न नसक्ने ठहर गर्नुपर्नेमा सप्तरी जिल्ला अदालतको फैसला उल्टी गरी प्रतिवादीले खिचोला गरेको ठहराई भएको पुनरावेदन अदालत राजविराजको २०६०।५।३० को फैसला मिलेको नदेखिंदा उल्टी हुन्छ । फिराद दावी पुग्न नसक्ने ठहराई भएको शुरु सप्तरी जिल्ला अदालतको २०५९।८।४ को फैसला मनासिब ठहर्छ । अरु तपसीलबमोजिम गर्नू ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत राजविराजको फैसला उल्टी भै फिराद दावी पुग्न नसक्ने ठहराई भएको सप्तरी जिल्ला अदालतको फैसला मनासिब ठहरेकोले पुनरावेदन अदालत राजविराजको फैसलाको तपसील खण्डमा रहेको लगत कायम नरहने जानकारी सप्तरी जिल्ला अदालतमा लेखी पठाई दिनु .......१
पुनरावेदक प्रतिवादीले पुनरावेदन अदालत राजविराजमार्फत् यस अदालतमा पुनरावेदन गर्दा र.नं.२४१४ मिति २०६०।९।११ मा रु.२१५०।५० धरौटी राखेको देखिंदा उक्त रकम कानूनका म्यादभित्र फिर्ता माग्न आए फिर्ता दिनु भनी पुनरावेदन अदालत राजविराजमा लेखी पठाई दिनु .....२
प्रतिवादीले पुनरावेदन अदालत राजविराजमार्फत यस अदालतमा पुनरावेदन गर्दा पुनरावेदन गरेबापतको थप कोर्टफी रु.२८०।५० र.नं.२३८० मिति २०६०।९।११ मा पुनरावेदन अदालत राजविराजमा राखेको देखिँदा उक्त कोर्टफी रकम वादीको जेथा देखाई भराई पाऊँ भनी कानूनका म्यादभित्र प्रतिवादीको दरखास्त परे भराई दिनु भनी सप्तरी जिल्ला अदालतमा लेखी पठाई मिसिल नियमबमोजिम बुझाई दिनु ...... ३
उक्त रायमा सहमत छौं ।
न्या.सुशीला कार्की
न्या. भरतराज उप्रेती
इति संवत् २०६६ साल पुस २ गते रोज ५ शुभम्
इजलास अधिकृत :– पुनाराम खनाल