शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८३१४ - डाँका ।

भाग: ५२ साल: २०६७ महिना: जेष्ठ अंक:

निर्णय नं. ८३१४     जेठ, २०६७

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल

संवत् २०६४ सालको फौ.पु.नं. : .....२७२

फैसला मितिः २०६६।१०।१३।४

मुद्दाःडाँका ।

पुनरावेदक वादीः खगेन्द्र चौहान समेतको जाहेरीले नेपाल सरकार   

विरुद्ध

प्रत्यर्थी प्रतिवादीः भारत दार्जिलिङ्ग जिल्ला ग्राम पञ्चायत कुमाई जलढका घर भई हाल      जिल्ला कारागार शाखा झापामा थुनामा बस्ने सनम भन्ने पुष्पराज राई समेत

शुरु फैसला गर्नेः

मा.जि.न्या. श्री उमेशराज पौडेल

पुनरावेदन फैसला गर्नेः

का.मु.मु.न्या.श्री ऋषिराज मिश्र

मा.न्या. श्री पुरुषोत्तम भण्डारी

मा.न्या.श्री एकराज आचार्य

 

§  कुनै अपराधको वारदातको पटक कायम गर्नु पर्दा उक्त वारदातले कार्यरुप प्राप्त गरेको अवस्थालाई मात्र विचार गरेर हुँदैन । सो वारदातले कार्यरुप लिनुभन्दा अगाडि बनाइएको योजना र अपराधसँग सम्बन्धित अन्य तथ्यहरू समेतलाई विचार गर्नुपर्ने ।

§  चोरीको अपराधको पटक गणना गर्दा एकै चोटी योजना बनाई एउटै मितिमा एकै समयको अन्तरालमा एउटै अपराधीहरूको समूहबाट भएको वारदातलाई पटकपटक अपराध गरेको भन्न सो कानूनको मनसाय हुन नसक्ने ।

(प्रकरण नं.३)

पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री शंकरबहादुर राई

प्रतिवादी तर्फबाटः विद्वान वैतनिक अधिवक्ता श्री राजन अधिकारी

अवलम्वित नजीरः नेकाप २०४१, नि.नं. २२१५, पृ.१११९

सम्बद्ध कानूनः

·         चोरीको ११, १४(४)

 

फैसला

न्या.गिरीशचन्द्र लालः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छः

मिति २०६१।१२।३१ गते रातिको समयमा झापा मेचीनगर नगरपालिकास्थित हामी दरखास्तवालाहरूको घरमा ५।६ जनाको संख्यामा आएका डाँकाहरूले हामी सुरक्षाकर्मी हौं । सर्च गर्न आएका हौं भनी हाम्रो घर घेराउ गरी घरभित्र पसी धनमाल सबै देखाउन लगाई ढोका बन्द गरी हातहतियार पेस्तोल समेत देखाई डरत्रासमा पारी गीता बरालको घरबाट रू.६८९६५।चन्द्रकान्तको घरबाट रू.३,१९०।खगेन्द्र चौहानको घरबाट रू.१०,५००।बिगो बराबरको धनमाल डाँका गरी लगे भन्ने समेत मिति २०६२।१।१ गते हुलिया जाहेरी दरखास्तको प्रतिलिपि ।

घरको दराज खोलिएको, बाकस खोलिएको, सामान लुगाहरू छरप्रष्ट भएको भन्ने मिति २०६२।१।१ गतेको घटनास्थल प्रकृति मुचुल्काहरूको प्रतिलिपि ।

मिति २०६१।१२।३१ गते राति झापा मेचीनगर नगरपालिकास्थित हामी दरखास्तवालाहरूका घरमा अपरिचीत ५।६ जनाको संख्यामा आएका डाँकाहरूले हामी सुरक्षाकर्मी हौं । सर्च गर्न आएका हौं भनी हाम्रो घर घेराउ गरी घरभित्र पसी धनमाल सबै देखाउन लगाई ढोका बन्द गरी हातहतियार पेस्तोल समेत देखाई डरत्रासमा पारी गीता बरालको घरबाट रू.८६,९६५।चन्द्रकान्त कर्णको घरबाट रू.३,१९०।खगेन्द्र चौहानको घरबाट रू.१०,५००।समेत जम्मा रू.१,००,६५५।बिगो बराबरको धनमाल डाँका गरी लगेकाले हाम्रो धनमाल समेत दिलाई भराई पाऊँ भन्ने संयुक्त जाहेरी दरखास्तको प्रतिलिपि ।

डाँका मुद्दामा पक्राउ परी आएका प्रतिवादीहरू चन्दन थापा मगर, सनम भन्ने पुष्पराज राई र अरुण राईलाई देखाउँदा हेर्‍यौं देख्यौं । निज प्रतिवादीहरू समेतले हाम्रो घरमा डाँका गरेको ठीक साँचो हो भन्ने समेत जाहेरवालाहरूको सनाखत कागजको प्रतिलिपि ।

जाहेरवालाहरूको घरमा गई जाहेरीमा उल्लिखित बिगो बराबरको धनमाल डाँका गरेको हो भन्ने समेत व्यहोराको प्रतिवादी चन्दन थापा मगरले अधिकार प्राप्त अधिकारिसमक्ष गरेको बयानको प्रतिलिपि ।

मैले जाहेरवालाको घरमा डाँका गरेको होइन । म  निर्दोष छु भन्ने समेत व्यहोराको प्रतिवादी अरुण राईले अधिकार प्राप्त अधिकारिसमक्ष गरको बयानको प्रतिलिपि ।

प्रतिवादीहरूले मेरो घर लगायतका ३ वटा घरमा बिगो रू.१,००,६५५।बराबरको धनमाल डाँका गरी लगेका हुन् भन्ने समेत जाहेरवाली कञ्चन बरालकी बहिनी लक्ष्मी बराल, जाहेरवालीकी श्रीमती रीमा बराल, जाहेरवाला चन्द्रकान्तको छोरा विजयकर्ण समेतले अनुसन्धानको क्रममा प्रहरी समक्ष गरेको कागजको प्रतिलिपि । जाहेरवालाहरूको घरबाट पक्राउ परेका प्रतिवादीहरू पुष्पराज राई र चन्दन थापा मगर समेतले बिगो रू.१,००,६५५।बराबरको धनमाल डाँका गरी लगेकोमा विश्वास लाग्छ भन्ने वस्तुस्थिति मुचुल्काको प्रतिलिपि ।

            म समेत भई पहिला कञ्चन बरालको घरमा,  दोस्रो पटक चन्द्रकान्त कर्णको घरमा, तेस्रो पटक खगेन्द्र चौहानको घरमा डाँका गरेका हौं भन्ने प्रतिवादी चन्दन थापा मगरले गरेको ततिम्बा बयानको प्रतिलिपि ।

            म समेत भई पहिला कञ्चन बरालको घरमा, दोस्रो पटक चन्द्रकान्त कर्णको घरमा, तेस्रो पटक खगेन्द्र चौहानको घरमा डाँका गरेका हौं भन्ने समेत व्यहोराको प्रतिवादी पुष्पराज राईले गरेको ततिम्बा बयानको प्रतिलिपि ।

            प्रतिवादीहरूले जाहेरवाला खगेन्द्र चौहानको घरमा गई बिगो रू.१०,५००।बराबरको धनमाल तेस्रो पटक डाँका गरी लगेको पुष्टि भएकाले निजहरूलाई चोरीको १ र ६ नं. को कसूरमा सोही ऐनको १४(४) नं. अनुसार तेस्रो पटक कायम गरी (आजै चन्द्रकान्त कर्णको जाहेरी परेको यिनै प्रतिवादीहरू भएको डाँका मुद्दामा दोस्रो पटक कायम गरी अभियोग पेश भएको हुँदा) प्रतिवादीहरूलाई सजाय समेत गरी जाहेरवाला खगेन्द्र चौहानको घरमा डाँका गरिएको बिगो रू.१०,५००।प्रतिवादीहरूबाट दिलाई भराई पाऊँ भन्ने अभियोग पत्र ।

            मैले जाहेरवालाको घरमा डाँका गरेको होइन । म निर्दोष छु भन्ने प्रतिवादी अरुण राईले अदालतमा गरेको बयान ।

            मिति २०६१।१२।३१ गते राति म सुजन थापा, सागर आदिबासी, विनय राई र चन्दन थापा समेत भई जाहेरवालाहरू समेतको ३ वटा घरमा डाँका गरी जाहेरीमा उल्लेख गरेअनुरूपको बिगो बराबरको धनमाल डाँका गरी लगेका हौ भन्ने प्रतिवादी सनम भन्ने पुष्पराज राईले अदालतमा गरेको बयान ।

            मिति २०६१।१२।३१ गते राति म सुजन थापा, सागर आदिवासी, विनय राई र सनम भन्ने पुष्पराज राई समेत भई जाहेरवालाहरू समेतको ३ वटा घरमा डाँका गरी जाहेरीमा उल्लेख गरेअनुरूपको बिगो बराबरको धनमाल डाँका गरी लगेको हो भन्ने प्रतिवादी चन्दन थापा मगरले अदालतमा गरेको बयान ।

            आदेशानुसार प्रतिवादी अरुण राईका साक्षी प्रेम आचार्य र जाहेरवाला खगेन्द्र चौहान समेतको वकपत्र भई मिसिल संलग्न रहेका ।

            प्रतिवादीहरू मध्येका प्रतिवादीहरू विनय राई र सुजन भन्ने मनोज थापाका हकमा निजहरू भारतीय देखिँदा नेपाल सरहद भित्र पक्राउ परी आएको बखत कारवाही गर्ने गरी हाल तामेलीमा राखी दिने प्रतिवादी अरुण राईको हकमा वारदातमा संलग्न रहेको भन्ने मिसिलबाट नदेखिँदा निजले अभियोग दावीबाट सफाइ पाउने तथा प्रतिवादीहरू द्वय सनम भन्ने पुष्पराज राई र चन्दन थापा मगरले जाहेरवाला चन्द्र कान्त कर्णको घरमा दोस्रो पटक डाँका गरेको ठहरेकोले प्रस्तुत मुद्दामा जाहेवाला खगेन्द्र चौहानको घरमा तेस्रो पटक पारी डाँका गरेको कसूरमा चोरीको १४(४) नं. अनुसार १२(बाह्र) वर्षे कैद र बिगोको डेढ रू.१५,७५०।जरीवाना समेत हुने ठहर्छ भन्ने शुरु झापा जिल्ला अदालतबाट भएको मिति २०६२।८।२६ गतेको फैसला ।

            घटनाको अवस्था र प्रकृतिलाई विचार गरी साविती भएको भन्ने आधारमा हामीहरूलाई पटके समेत कायम गर्दै शुरु झापा जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी अभियोग दावीबाट सफाइ पाऊँ भन्ने समेत प्रतिवादीहरू सनम भन्ने पुष्पराज राई र चन्दन थापा मगरको संयुक्त पुनरावेदन पत्र ।

            यसै लगाउको स फौ.पु.नं. ७८।१३० को डाँका मुद्दामा आजै प्रत्यर्थी झिकाउने आदेश भएको र प्रस्तुत मुद्दा पनि उक्त मुद्दासँग अन्तरप्रभावी देखिँदा यसमा पनि छलफलको लागि अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८को नियम ४७ बमोजिम प्रत्यर्थी वादी नेपाल सरकारका हकमा पुनरावेदन सरकारी वकील कार्यालय, इलामलाई पेशीको सूचना दिई लगाउका मुद्दा समेत साथै राखी नियमानुसार पेश गर्नु भन्ने मिति २०६३।५।१३ को आदेश ।

            पुनरावेदक प्रतिवादीहरू सनम भन्ने पुष्पराज राई र चन्दन थापा मगर समेतउपर जाहेरवालाहरूको किटानी जाहेरी परेको निज प्रतिवादीहरूले मौकामा अधिकार प्राप्त अधिकारिसमक्ष र अदालतमा समेत जाहेरवालाहरूको घरमा डाँका गरेको कुरालाई पूर्णतः स्वीकार गर्दै स्वेच्छाले बयान गरेको देखिएको । सो जाहेरी व्यहोरा तथा प्रतिवादीहरूको साविती व्यहोरालाई जाहेरवाला खगेन्द्र चौहानको अदालतमा भएको वकपत्र र मौकामा कागज गर्ने विजय कर्ण, रीमा बराल, लक्ष्मी बराल समेतको कागज तथा बस्तुस्थिति मुचुल्काका मानिसहरू लक्ष्मी खतिवडा, घनश्याम खतिवडा, प्रदीप थापा समेतका व्यक्तिहरूको कथनबाट समेत पुष्टयाई भएको देखिँदा यी प्रतिवादी दुवैले जाहेरवाला खगेन्द्र चौहानको घरबाट बिगो रू.१०५००।०० बराबरको धनमाल तेस्रो पटक डाँका गरेकै देखियो । आफूहरूले प्रस्तुत डाँकाको आरोपित कसूर नगरेको हुँदा शुरुको फैसला उल्टी गरी सफाइ पाऊँ भन्ने पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकीरसँग सहमत हुन सकिन । जहाँसम्म एकं रातमा एउटै वारदातको प्रस्तुत मुद्दा भएकोले पटक कायम गर्ने नगर्ने सन्दर्भमा चोरीको ११ र १४(४) नं. समेत हेर्दा छुट्टाछुट्टै समयमा छुट्टाछुट्टै घरमा छुट्टाछुट्टै जाहेरवालाको छुट्टाछुट्टै वारदात भएको डाँकाको कसूरमा छुट्टाछुट्टै पटक कायम गरी कसूरदार प्रतिवादीहरूलाई सजाय गर्न, निजहरू स्वयंले बयानमा पटक उल्लेख गरी कसूर स्वीकार गरेको भएपछि, कानूनतः मिल्ने नै हुँदा प्रत्यर्थी झिकाउने आदेश र पुनरावेदन जिकीरसँग समेत म सहमत हुन सकिन । उपर्युक्त उल्लिखित आधार, कारण र प्रमाणहरूबाट शुरु झापा जिल्ला अदालतबाट प्रस्तुत मुद्दामा भएको मिति २०६२।८।२६ को फैसला मिलेकै देखिँदा त्यसलाई परिर्वतन गरिरहनु परेन । सो फैसला सदर हुने ठहर्छ भन्ने माननीय का.मु.मुख्य न्यायाधीश श्री ऋषिराज मिश्रको मिति २०६३।१०।१ गतेको राय ।

            प्रतिवादीहरूले डाँका वारदातको आरोपित कसूर अपराध गरेको सम्बन्धमा जाहेरवालाहरूको किटानी जाहेरी, प्रतिवादीहरूको मौकामा अधिकार प्राप्त अधिकारिसमक्ष गरेको साविति, निजहरूको उक्त साविती स्वेच्छाविपरीतको साविती भन्ने कहीँ कतैबाट प्रमाणित हुन सकेको अवस्था नदेखिएको र जाहेरवालाहरूले प्रमाण ऐन, २०३१ अनुसार अदालतमा आई वकपत्र समेतका मिसिल संलग्न तथ्यगत प्रमाणहरूबाट प्रतिवादीहरूको कसूर अपराध स्थापित भएको देखिँदा प्रतिवादीहरूले डाँका गरेको ठहर गर्ने गरी शुरु झापा जिल्ला अदालतले गरेको मिति २०६२।८।२६ गतेको फैसला सदर गर्ने गरी माननीय का.मु.मुख्य न्यायधीश श्री ऋषिराज मिश्रको राय मनासिवै देखिँदा उक्त बुँदा तर्फमा मेरो सहमति नै रहेको छ । जहाँसम्म प्रतिवादीहरूलाई तेस्रो पटक डाँका गरेको ठहराई पटकेमा सजाय गर्ने सम्बन्धमा विचार गर्दा जाहेरवाला कञ्चन बराल, खगेन्द्र चौहान, चन्द्रकान्त कर्ण समेतको घरमा डाँका वारदात भएको देखिन्छ । उक्त वारदात मिति २०६१।१२।३१ मा तीनै जाहेरवालाको घरमा डाँका वारदात भएको र एउटै समयमा लगातार रुपमा एउटै जाहेरी दिएका उक्त जाहेरीमा समेत फरकफरक वारदात उल्लेख भएको अवस्था देखिँदैन । एकैदिन एउटै समयमा लगातार एकैसाथमा रहेका घरहरूमा डाँकाको वारदात भएको देखिन्छ । वेग्ला वेग्लै वारदात भएको भए वेग्ला वेग्लै मुद्दाको वेग्ला वेग्लै अनुसन्धान गरी कुन कुन समयमा कुन कुन घरमा के कति समय अन्तरको आधारमा डाँका भएको हो स्पष्ट अनुसन्धान भै खुलेको हुनुपर्ने । एका घरमा डाँका गरी धनमाल, सम्पत्ति लिई गै उक्त धनमाल सम्पत्ति अर्को ठाउँमा लि सुरक्षित राखी केही समय पछि पुनः अर्को घरमा डाँका गर्न अएको भन्ने अवस्था देखिँदैन । अनुसन्धानको समयमा छुट्टाछुट्टै वारदात देखाई तीनै जनाको जाहेरीअनुसार जाहेरवालाहरूको घरको दूरी अवस्था समेत यकीन गरी घरमा यस कारणले फरक फरक वारदात भएको भन्ने स्पष्ट रुपबाट खुलिआएको अवस्था समेत देखिँदैन । एउटै वारदातको रुपमा डाँका वारदात भएको अवस्थालाई टुक्रा टुक्रा गरी छुट्टाछुट्टै वारदात देखाउने आधार प्रमाण केहि देखिँदैन । अतः एकै मितिमा एकै रातमा एउटै वारदातको सिलसिलमा डाँका भएको देखिएकोले यसै लगाउको फौ.पु.नं. २७३ को मुद्दा र प्रस्तुत मुद्दाको वारदात एउटै देखिएबाट दोहोरो वारदात कायम गर्न मिल्ने अवस्था देखिएन ।

            अतः एउटै वारदात कायम गरी सजाय गर्नु पर्नेमा एकै रात एकै समय एकै वारदात भएकोमा छुट्टै वारदात मानी तेस्रो पटक पटके कायम गर्ने गरी भएको शुरु झापा जिल्ला अदालतको मिति २०६२।८।२६ गतेको फैसला सो हदसम्म मिलेको नदेखिँदा तेस्रो पटक कायम गरेको हद सम्म फैसला उल्टी हुने ठहर्छ । सो ठहर्नाले पटके कायम गर्ने गरी भएको माननीय कायम मुकायम मुख्य न्यायाधीश श्री ऋषिराज मिश्रको रायसँग सहमत हुन नसकी न्याय प्रशासन ऐन, २०४८दफा ८ को उपदफा (४) तथा पुनरावेदन अदालत नियमावली, २०४८को नियम ११ अनुसार राय बाझी भएकोले प्रस्तुत मुद्दा निर्णयार्थ तेस्रो न्यायाधीशको इजलास समक्ष पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री पुरुषोत्तम भण्डारीको मिति २०६३।१०।१ गतेको राय ।

            प्रतिवादीहरू मध्येका पक्राउ परेका विनय राई र सुजन भन्ने मनोज थापाको हकमा मुल्तवी रहेकोले सनम भन्ने पुष्पराज राई र चन्दन थापा मगरले डाँकाको कसूर गरेको ठहर गरेको तथा अरुण राईले सफाइ पाउने गरी गरेको जिल्ला अदालतको फैसला सदर गर्ने गरेको का.मु.मु.न्या. श्री ऋषीराज मिश्र र मा.न्या.श्री पुरुषोत्तम भण्डारीको मतैक्य भएको राय मनासिव हुँदा त्यसतर्फ विचार गर्नु परेन । प्रतिवादीमध्येका सनम भन्ने पुष्पराज राई र चन्दन थापा मगरले मिति २०६१।१२।३१ गते राति ७११ को बीचमा यी जाहेरवाला खगेन्द्र चौहानको घरका अतिरिक्त चन्द्रकान्त कर्ण र कञ्चन बरालको घरमा समेत डाँका गरेको उपरोक्त उल्लिखित दुई घरमा डाँका गरेकोमा दोस्रो पटक मानी खगेन्द्र चौहानको घरमा गरेको डाँकालाई तेस्रो पटक कायम गरी जिल्ला अदालतको फैसला सदर गर्ने का.मु.मु.न्या.श्री ऋषिराज मिश्रको राय र तेस्रो पटक कायम गरी सजाय गरेको हदसम्म झापा जिल्ला अदालतको फैसला उल्टी हुने भनी मा.न्या.श्री पुरुषोत्तम भण्डारीको अलगअलग राय भै निर्णयार्थ तेस्रो न्यायाधीश कहाँ पेश हुन आएकोमा पटके कायम गरी प्रस्तुत मुद्दामा तेस्रो पटक कायम गर्न मिल्ने हो कि होइन भन्नलाई यी जाहेरवालाको घर, कञ्चन बराल र चन्द्रकान्त कर्णको घर प्रतिवादीहरूले मिति २०६१।१२।३१ गते रातिकै ७ बजे देखि ११ बजेको समयमा डाँका गरी धनमाल लिई गएका छन् । वारदात अलगअलग हुन् भन्ने कुनै सबूद प्रमाणहरूबाट पुष्टि भएको छैन । एउटै जाहेरी, एकैरातको एकै समयमा एउटै स्थानमा अवस्थित जाहेरवालाहरूको घरमा डाँका गरेकोलाई पटक पटकको अलग अलग वा छुट्टाछुट्टै वारदातको भन्नु कानून एवं न्यायको रोहबाट मनासिव देखिन आएन । कञ्चन बराल, चन्द्रकान्त कर्णको घरमा भएको वारदात र प्रस्तुत वारदात एउटै भएको पुष्टि हुन आयो । नेकाप २०४१ नि.नं. २२१५ अङ्क १२ पृष्ठ १११९ मा प्रतिपादित सिद्धान्त समेतका आधारमा एकै रातको एकै ठाउको एउटै वारदातलाई छुट्टाछुट्टै पटक कायम गर्न नमिल्ने र लगाउको स.फौ. पु.नं. १४० मा दोस्रो पटक कायम गर्न नमिल्ने भनी आजै निर्णय भएकोले प्रश्तुत मुद्दामा पनि पटक कायम गर्न मिलेन । तेस्रो पटक कायम गरेको झापा जिल्ला अदालतको फैसला सो हदसम्म उल्टी गरी प्रतिवादीहरूलाई जनही कैद वर्ष ६(छ) र जरीवाना रू.१५७५०।हुने ठहरायको मा.न्या. श्री पुरुषोत्तम भण्डारीको राय मनासिव हुँदा सो रायसंग सहमत छु भन्ने पुनरावेदन अदालत इलामका मा.न्या. श्री एकराज आचार्यबाट भएको फैसला ।

            मिति २०६१।१२।३१ गते राति ७ देखि ११ बजेको समयमा जाहेरवालाहरूलाई आआफ्नो घर कोठामा बन्द गरी प्रतिवादीहरूले डाँका गरेको र डाँकाको वारदात समय ७ बजे देखि ११ बजे सम्म रहेभएको देखिएकोले एकै समयमा वारदात भएको थिएन भन्न सकिने स्थिति छैन । नेकाप २०४५ पृष्ठ १०४६ नि.नं. ३६१३ को मुद्दामा एकै रातमा ४ घरमा डाँका गरेकोमा पटक कायम गरी सिद्धान्त प्रतिपादन भएको छ । चोरीको ११ नं. मा जुनसुकै प्रकारको चोरीमा पक्राउ भएकोमा एकै पटक पक्रिएको भएपनि जति पटक जति ठाउँमा चोरी गरेको ठहर्छ उति पटक सजाय गर्नु पर्ने भन्ने वाध्यात्मक कानूनी व्यवस्था छ । यस अघि कञ्चन बराल र चन्द्रकान्तको घरमा डाँका गरेकोमा पुनरावेदन पत्र पेश भैसकेको हुँदा र प्रस्तुत वारदातमा प्रतिवादीहरूले डाँका वारदात गरेको भनी फैसलाबाट स्वीकारिसकिएको अवस्थामा तेस्रो पटक डाँकामा सजाय नहुने गरी भएको फैसला चोरीको १ नं. र प्रतिपादित सिद्धान्तविपरीत हुँदा सो हद सम्म बदर गरी प्रतिवादीलाई अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने नेपाल सरकारको मिति २०६४।६।६ को पुनरावेदन पत्र ।

            प्रतिवादीहरू मिति २०६१।१२।३१ गतेको राति जाहेरवालाको घरमा डाँका गरेको कसूरमा सावित भएको र मुलुकी ऐन,चोरीको महलको ११ नं. मा जुनसुकै प्रकारको चोरीमा पक्राउ भएकोमा एकै पटक पक्रिएको भएतापनि जति पटक जति ठाउमा चोरी गरेको ठहर्छ उति पटकको सजाय हुन्छभन्ने कानूनी व्यवस्था भएको परिप्रेक्ष्यमा कञ्चन बराल समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी चन्दन थापा समेत भएको मिति २०६१ सालको स.फौ.नं. २४७ को डाँका मुद्दामा दोस्रो पटक सजाय भएको देखिएकोले नेकाप २०४५ नि.नं. ३६१३ पृष्ठ १०४६ को खुन डाँका मुद्दामा प्रतिपादित सिद्धान्तको रोहमा निजलाई तेस्रो पटक कायम गरेको पुनरावदन अदालतको फैसला मिलेको नदेखिँई फरक पर्न सक्ने हुँदा विपक्षी झिकाई आएपछि वा अवधि समाप्त भएपछि नियमानुसार पेश गर्नु भन्ने मिति २०६६।२।१० को आदेश ।

            नियमबमोजिम पेश भएको प्रस्तुत मद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित हुनु भएका विद्वान उपन्यायाधिवक्ता श्री शंकरबहादुर राईले अभियुक्त प्रतिवादीहरूले मिति २०६१।१२।३१ गते राति एउटै ठाउँका भिन्दा भिन्दै घरमा डाँका गरेका छन् । डाँका गरेकोमा सावित छन् । जति घर वा स्थानमा डाँका गरेको छ ती सबैलाई बेग्ला बेग्लै वारदात मानी, पटक कायम गरी सजाय गर्नु पर्नेमा चोरीको ११ नं. को कानूनी व्यवस्थाविपरीत पटक कायम नहुने गरी भएको पुनरावेदन अदालत इलामको फैसला त्रुटिपूर्ण हुँदा सो हद सम्म फैसला बदर गरी अभियोग दावीअनुसार पटक कायम गरी सजाय गरिपाऊँ भन्ने र प्रत्यार्थी प्रतिवादीको तर्फबाट उपस्थित विद्वान वैतनिक अधिवक्ता श्री राजन अधिकारीले एउटै समयमा एकै पटक सबै घर र स्थानमा डाँकाको वारदात भएको छ । एक घरमा डाँका गरी फर्की गई पुनः अर्को घरमा डाँका गरेको अवस्था छैन । यस अवस्थामा एउटै वारदात मान्नु पर्छ र पटक कायम गर्नु हुँदैन । पटक कायम नगरेको पुनरावेदन अदालतको फैसला मनासिव हुँदा सदर हुनुपर्छ भनी बहस गर्नुभयो ।

            प्रतिवादी पुष्पराज राई, चन्दन थापा, विनय राई, सुरज भन्ने मनोज थापा र सागर आदीवासीले मिति २०६१।१२।३१ को राति ७ बजेदेखि ११ बजेको बीचको समयमा कञ्चन बराल, चन्द्रकान्त कर्ण र खगेन्द्र चौहानको घरमा प्रवेश गरी सबैको घरबाट डाँका गरी धनमाल लगेको वारदात छ । विनय राई र सुजन भन्ने मनोज थापा मगर विदेशी भएको र पक्राउ नभएको कारण पक्राउ भएका बखत कारवाही गर्ने गरी निजहरूको हकमा मुल्तवी रहेको, प्रतिवादी अरुणले सफाइ पाउने र प्रतिवादीहरू सनम भन्ने पुष्पराज राई, र चन्दन थापा मगरले डाँका गरेको ठहरी जिल्ला अदालतबाट फैसला भएउपर प्रतिवादी पुष्पराज राई र चन्दन थापा मगरले हामीहरूले सफाइ पाउनु पर्नेमा पटके कायम गरी सजाय गरेको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी सफाइ पाऊँ भनी पुनरावेदन अदालतमा पुनरावेदन गरेकोमा पुरावेदन अदालतबाट डाँकाको कसूर गरेकोमा सदर गरी पटके कायम गरेको हदसम्म उल्टी गरी फैसला गरेको रहेछ । सो फैसलाउपर प्रतिवादीहरूको पुनरावेदन परेको देखिदैन । डाँका वारदातमा धेरै घरमा डाँका गरेको अवस्थामा चोरीको ११, १४   (४) नं. बमोजिम पटक कायम गरी सजाय गुर्नपर्नेमा पुनरावेदन अदालतको फैसलाबाट पटक कायम नभएको हुँदा सो हदसम्म पुनरावेदन अदालतको फैसला बदर गरी प्रतिवादीहरूलाई पटक कायम गरी सजाय समेत गरिपाऊँ भन्ने नेपाल सरकारको तर्फबाट पुनरावेदन पर्न आएको
देखिन्छ ।

            २. निर्णयतर्फ विचार गर्दा, प्रतिवादीहरू पुष्पराज राई र चन्दन थापा मगरले डाँकाको कसूर गरेको सम्बन्धमा जिल्ला अदालतबाट कसूर ठहर गरी भएको फैसलामा पुनरावेदन अदालतबाट पनि सदर भएको र वादी एवं प्रतिवादी दुबै पक्षबाट सो सम्बन्धमा पुनरावेदन नपरेको हुँदा, त्यस सम्बन्धमा यहाँ विचार गरिरहनु परेन । पुनरावेदन अदालत इलामले प्रतिवादीहरूले डाँकाको कसूर गरेको ठहर गरे पनि तीन घरमा भएको डाँकाको वारदातलाई एउटै वारदात मानी पटक कायम नगरेको विषयमा नेपाल सरकारको तर्फबाट प्रस्तुत पुनरावेदन पर्न आएको हुँदा एकै पटक धेरै घरमा भएको डाँकाको वारदातमा पटक कायम हुनुपर्ने हो वा होइन ? पटक कायम नगरी गरेको पुनरावेदन अदालत इलामको फैसला मुनासिव वा वेमुनासिव के रहेछ ? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आएको छ ।

            ३. यसमा डाँका वारदात ठहर भै शुरु जिल्ला अदालत एवं पुनरावेदन अदालतबाट फैसला भएको तर्फ प्रतिवादीहरूको पुनरावेदन नपरेको साथ साथै सो तर्फ वादी नेपाल सरकारको सहमति नै रही प्रतिवादीहरूलाई चोरीको ११ नं. एवं १४(४) नं. अनुसार पटके अपराध कायम नगरी पुनरावेदन अदालतबाट भएको फैसलामाथि पटके समेत कायम हुनुपर्ने भनी वादी नेपाल सरकारको पुनरावेदन परेको देखिनाले प्रतिवादीहरूबाट भएको उक्त अपराध पटके हो होइन सो कुरामा मात्र सीमित रही प्रस्तुत पुनरावेदन सम्वन्धमा निर्णय दिनुपर्ने देखिन्छ । सोतर्फ विचार गर्दा मिति २०६१।१२।३१ गते राति अन्दाजी ९ बजेदेखि ११ बजेको समयमा तीनै जना जाहेरवालाहरूको घरमा डाँका वारदात भएको भनी तीनै जनाको एउटै जाहेरी परेको देखिएको साथै सो डाँका वारदात एकै ठाउँमा वासिन्दाहरूको घरमा उही प्रतिवादीहरूले एउटै समयको अन्तरालमा गरेका छन् र सो अपराध गर्नको लागि अलगअलग समयमा अलगअलग योजना समेत बनाएको कुरा मिसिल संलग्न कागजातहरूबाट देखिदैन । मुलुकी ऐन चोरीको ११ नं. मा पटके कायम गर्न प्रयुक्त भएका शव्दहरू तर्फ विचार गर्दा जुनसुकै प्रकारको चोरीमा पक्राउ भएकोमा एकै पटक पक्रिएको भए पनि जति पटक जति ठाउँमा चोरी गरेको ठहर्छ उति पटकको सजाय हुन्छ भनी व्यवस्था भएको पाइएको सन्दर्भमा विचार गर्दा सो ऐनअनुसार चोरीको अपराध कति पटक भएको हो त्यसको गणना गर्नुपर्ने देखिन्छ । कति घरमा चोरी भएको भन्नेकुरासँग उक्त ऐन सम्बद्ध रहेको पाइएको छैन । कुनै अपराधको वारदातको पटक कायम गर्नु पर्दा उक्त वारदातले कार्यरुप प्राप्त गरेको अवस्थालाई मात्र विचार गरेर हुँदैन । सो वारदातले कार्यरुप लिनु भन्दा अगाडि बनाइएको योजना र अपराधसँग सम्बन्धित अन्य तथ्यहरू समेतलाई विचार गर्नुपर्ने हुन्छ । उदाहरणको लागि कुटपीटको एउटै वारदातमा पाँच जनालाई चोट पटक लागेको भए पनि कुटपीटको वारदातको गणना गर्दा एकै पटक भनी गणना गर्नुपर्ने हुन्छ । त्यस्तै चोरीको अपराधको पटक गणना गर्दा एकै चोटी योजना बनाई एउटै मितिमा एकै समयको अन्तरालमा एउटै अपराधीहरूको समूहबाट भएको वारदातलाई पटक पटक अपराध गरेको भन्न सो कानूनको मनसाय हुन सक्दैन । चोरीको ११ नं. एवं १४(४) नं. अनुसार पटके कायम गरी बढी सजाय समेत हुनुपर्ने भन्ने कानूनको व्यवस्था अपराधीलाई अपराध गर्ने प्रवृत्तिबाट रोक्नुबाट अभिप्रेरित भएको र अपराध गर्ने प्रवृत्ति एकपटक सजाय गर्दा हटेको नपाइने अवस्थामा बढी सजाय गर्नुपर्ने मनसाय राखी भएको देखिन आउँछ । प्रस्तुत मुद्दाको वारदात हुनु भन्दा अघि प्रत्यर्थी प्रतिवादीहरू चोरीको कुनै वारदातमा सम्मिलित रहेको कुरा प्रस्तुत मुद्दाबाट देखिन आएको समेत छैन । यस सम्बन्धमा सर्वोच्च अदालतबाट नेकाप २०४१, नि.नं. २२१५, पृष्ठ १११९ मा एकै मितिमा, एकै रातमा, एउटै वारदातको सिलसिलामा डाँका भएकोमा दोस्रो पटक कायम गर्न नमिल्ने भनी प्रतिपादन भएको सिद्धान्त समेतलाई मनन् गर्दा उपरोक्त विवेचनाले नै मद्दत पाउने देखिन आउँछ । त्यसकारण यस अदालतबाट मिति २०६६।२।१० मा झगडिया झिकाउन भएको आदेशमा उल्लिखित आधारसँग सहमत हुने अवस्था देखिदैन । त्यसकारण प्रस्तुत मुद्दामा एउटै मिति र एउटै समयको अन्तरालमा एउटै योजनाअनुसार एउटै प्रतिवादीको समूहबाट वारदात भएको र सो सम्बन्धमा एउटै जाहेरी परी सोही आधारमा अनुसन्धान समेत भै प्रस्तुत मुद्दा दायर भएको देखिनाले प्रस्तुत मुद्दामा चोरीको ११ नं. अनुसार प्रतिवादीहरूलाई पटके कायम गर्न कानूनसम्मत एवं न्यायोचित नदेखिनाले पटके अपराध कायम नगरी प्रत्यर्थी प्रतिवादीहरूले डाँका गरेको ठहर गरेको पुनरावेदन अदालत इलामबाट भएको मिति २०६३।१२।२८ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरी लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।

उक्त रायमा सहमत छु ।

न्या.रामप्रसाद श्रेष्ठ

इति संवत् २०६६ साल माघ १३ गते रोज ४ शुभम्

इजलास अधिकृतः लीलाराज अधिकारी

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु