निर्णय नं. ८३१५ - कर्तब्य ज्यान ।

निर्णय नं. ८३१५ जेठ, २०६७
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री सुशीला कार्की
संवत् २०६१ सालको फौ.पु.नं. ३८०४, ३७७२
फैसला मितिः २०६६।१०।४।२
मुद्दा : कर्तब्य ज्यान ।
पुनरावेदक वादीः कृष्णप्रसाद भण्डारीको जाहेरीले नेपाल सरकार
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः जिल्ला सिन्धुपाल्चोक, किउल गा.वि.स. वडा नं. ४ बस्ने ऋषिराम भण्डारी समेत
पुनरावेदक प्रतिवादीः जिल्ला सिन्धुपाल्चोक, किउल गा.वि.स. वडा नं. ४ बस्ने रामहरि भण्डारी
विरुद्ध
प्रत्यर्थी वादीः कृष्णप्रसाद भण्डारीको जाहेरीले नेपाल सरकार
शुरु फैसला गर्नेः
मा.जि.न्या. श्री देवेन्द्रराज शर्मा
पुनरावेदन फैसला गर्नेः
मा.न्या. श्री हरिजंग सिंजापति
मा.न्या.श्री रणबहादुर वम
§ आवेश प्रेरित हत्यामा मूलतः मृतकको ज्यान मार्ने मनसाय वा पूर्व रिसइवी नभएपनि कुनै विषयमा केही गर्दा वा भनाभन वा विवाद हुँदा तत्कालै रिस उठी सो रिसलाई थाम्न सक्ने सामर्थ्य गुमाई आरोपित व्यक्तिले मृतकउपर साधारण लाठी, ढुंगा प्रहार गर्दा वा लात मुक्का वा यस्तै प्रकारको गैर जोखिमी साधनले प्रहार गर्दा त्यसको प्रहारको चोटबाट तत्कालै वा ऐनका म्यादभित्र ज्यान मर्न गएको स्थिति हुनु पर्ने ।
(प्रकरण नं.६)
§ भवितव्यको वारदातमा ज्यान मार्ने मनसाय वा पूर्व रिसइवी नभई कसैले केही कार्य गर्दा त्यस्तो कार्यबाट मानिसको ज्यान जानसक्ने स्थिति पनि नदेखिएको र तत्काल रिस उठी सो रिसको आवेगमा त्यस्तो कार्य गरेको स्थिति पनि नभएको, सामान्य समझको मानिसले हेर्दा पनि कुनै कार्यबाट मानिस मर्नसक्ने सम्मको अवस्था नहुँदा नहुँदै पनि त्यही कार्यबाट केही भई मानिस मर्न गएको स्थिति हुनुपर्ने ।
(प्रकरण नं.७)
पुनरावेदक वादीतर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठी
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ताहरू श्री सिन्धुनाथ प्याकुरेल र श्री हरिहर दाहाल तथा विद्वान अधिवक्ताहरू श्री कृष्णप्रसाद सापकोटा र श्री सरोजनाथ प्याकुरेल
जाहेरवालाको तर्फबाटः विद्वान अधिवक्ता श्री बच्चुसिंह खड्का
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
· ज्यानसम्बन्धी महलको ५ नं. ६(२), १३(३), १४ नं.
फैसला
न्या.सुशीला कार्कीः पुनरावेदन अदालत पाटनको मिति २०६०।८।१ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उप दफा १ (ग) अनुसार यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यस प्रकार छः–
मिति २०५६।९।१० गते साँझ मेरो भाइ बाबुराम भण्डारीलाई विपक्षी ऋषिराम भण्डारी समेतले गा.वि.स. बाट वडा विकासलाई आएको बजेट बाँडफाँडको बिषयलाई लिएर कुटपीट गरी घाइते बनाई विपक्षीहरूकै घरभित्र लगी एकरात राखिसकेपछि छिमेकीहरूले थाहा पाई भाइलाई नारिल लामा समेतले बोकी मेलम्ची पुर्याई मिति २०५६।९।१२ गते त्रि. वि. शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा भर्ना गरी उपचार गराउँदा गराउँदै मिति २०५६।९।१३ गते राति मृत्यु भएकोले विपक्षीहरू ऋषिराम भण्डारी, रामहरि भण्डारी र सान्नानी भण्डारीलाई कारवाही गरिपाऊँ भनी जिल्ला प्रहरी कार्यालय काठमाडौँमा दिएको जाहेरी दरखास्त ।
मृतक बाबुरामको दुवै हात तथा खुट्टाहरूमा कतै छाला खुइलिएको, कतै नीलडाम भएको घाउ खत देखिएको, दाहिने घूँडादेखि तल भाँच्चिएको, दुवै गोडाको मासु थिलथिलो भएको भन्ने समेत व्यहोराको मिति २०५६।९।१४ गतेको लाशजाँच प्रकृति मुचुल्का ।
मिति २०५६।९।१० गते गाउँबाट बेसीतिर झर्दै गर्दा छुवालीको आगो निभ्न लागेकोले छोरा रामहरि बसेको घरमा गई अर्को राँको बनाई जान्छु भनी जाँदा गाउँका कटकबहादुर भण्डारी, सम्शेरबहादुर भण्डारी, दलबहादुर भण्डारी समेतका मानिसलाई देखी के भएको भन्दा बाबुरामले तपार्इँको छोराको घरमा आई तपाईँको छोरा–बुहारीलाई कुटपीट गर्न खोजेकोले हामीले छुट्याई दियौँ । बाबुराम पनि घरमै रहेछन् । मैले निजलाई घरमा जान दिनु हुँदैन भनी निजको मुखमा थुकी छलफल गरेर मात्र जान दिने भनी बाबुरामलाई कुटी खाटको खुट्टामा एउटा हातमा डोरीले बाँधी राखेका हौँ । सोभन्दा अगाडि छोराबुहारीले झगडा हुँदा बाबुरामलाई पिर्का र दाउराले हानेको भनेको हुँ । जनप्रतिनिधिहरू आई हामीले कुटपीट गरेको ठहर गरेकोले औषधि उपचारको लागि रु.१०,०००।– तिरेर मिलापत्र गरेको हो । बाबुराम भण्डारीले गएको कार्तिक ११ गते अन्दाजी १५ मुरी धान लुटेर लगेको हुँदा लुटपीटमा अदालतमा मुद्दा चलिरहेको छ भन्ने समेत व्यहोराको ऋषिराम भण्डारीले अधिकार प्राप्त अधिकारिसमक्ष गरेको मिति २०५६।९।१८ को बयान ।
मिति २०५६।९।१० गते बेलुका ७ बजेको समयमा म र मेरो परिवार लगायत गंगानाथ भण्डारीको परिवारसँगै बसेको अबस्थामा बाबुराम भण्डारी हाम्रो परिवारलाई तथानाम गाली गर्दै मेरो घरभित्र आए । मलाई झम्टेपछि मैले पनि ज्यान बँचाउनै पर्छ भनी पहिला हात मुड्कीले हानी निज लडेपछि घरभित्र भएको पीर्काले पनि निजलाई खुट्टामा हानेको हुँ । ५/७ मिनेट हानिसकेपछि गंगानाथ भण्डारी भन्ने व्यक्तिले गाउँका मानिस बोलाई ल्याइसकेका रहेछन् । निजहरूले नै छुट्याई दिएका हुन् । श्रीमती पनि त्यहीँ थिइन । निजले हाने नहानेको मैले
देखिन । गाउँका मानिसहरू आएपछि यसलाई छाड्न हुँदैन भनी मैले मेरै घरको खाटमा बाँधी राखेको थिएँ । पछि म घरमा जाँदिन यहीँ सुत्छु भनेपछि बाँधेको डोरी खोलिदिएको हुँ । जनप्रतिनिधिको ठहरअनुसार बाबुरामलाई रु.१०,०००।– दिएर भोलिपल्ट मिलापत्र गरेका हौँ भन्ने समेत व्यहोराको रामहरि भण्डारीले अधिकार प्राप्त अधिकारिसमक्ष गरेको मिति २०५६।९।१८ को बयान
मिति २०५६।९।१० बेलुका अन्दाजी ७ बजेको समयमा मेरो घरमा म, मेरो श्रीमान्, स–साना बच्चाहरू र गंगानाथ बसिरहेका थियौँ । सोही बेलामा बाबुराम भण्डारी हाम्रो परिवारलाई तथानाम गाली गर्दै हातमा लाठी लिएर हाम्रो घरभित्र आई मेरो श्रीमान्लाई झम्टन लाग्दा हाम्रो घरमा बसेका गंगानाथले झगडा गर्ने होइन भनी घरबाहिर निकाल्नु भयो । त्यसपछि फेरि घरभित्र पसी मलाई लछारपछार गर्न लाग्नुभयो । सो देखेर मेरो पतिले निजलाई हान्नु भयो । मसमेत जाइलाग्न लाग्दा बत्ती निभी अँध्यारो भयो । आधा घण्टा जति लडाइँ भएपछि छर छिमेकले थाहा पाई आएपछि बत्ती बाले । बत्ती बालेर हेर्दा बाबुराम भूँईमा लडिरहेको थियो । मैले बाबुरामलाई हानेको जस्तो लाग्दैन भन्ने समेत व्यहोराको सान्नानी भण्डारीले अधिकार प्राप्त अधिकारिसमक्ष गरेको मिति २०५६।९।१८ को बयान ।
मिति २०५६।९।१० गते बेलुका अन्दाजी ८ बजे गंगानाथ भण्डारी मेरो घरमा आई रामहरि र बाबुराम झगडा गरिरहेका छन्, मैले छुट्याउन सकिन, एकछिन जानु पर्यो भनेकोले म पनि गएको थिएँ । घटनास्थलमा पुग्दा रामहरि भण्डारी, ऋषिराम भण्डारी र रामहरिकी श्रीमती थिए । बाबुरामलाई खाटको खुट्टामा बाँधिराखेका थिए । के भएको भन्दा ऋषिराम, रामहरि र निजकी श्रीमतीले मलाई कुटपीट गरे भनी बाबुरामले भन्दै थिए । रामहरिले रातको समयमा मेरो घरमा आई मेरो परिवारलाई मार्ने धम्की दिएकाले कुटेको हुँ भनेका थिए । बाँधिराखेको नाम्लो हामीले फुकाई दिएका हौं । रातभरि त्यहीँ राखी भोलिपल्ट मिलापत्र गरेका हुन् भन्ने दलबहादुर भण्डारीले अनुसन्धान अधिकृतसमक्ष गरेको मिति २०५६।९।२१ को कागज ।
मिति २०५६।९।१० गते बेलुका रामहरिका बाबु ऋषिराम भण्डारी मेरो घरमा आई बाबुरामले रामहरिको परिवारलाई मार्छु भनी रामहरिको घरमा आएकोले बाबुरामलाई बाँधेर राखेका रहेछन्, एकछिन जानु पर्यो भनी बोलाउन आएकोले म पनि त्यहाँ गएँ । वारदातस्थलमा जाँदा बाबुरामलाई मझेरीमा सुताई राखेका थिए । के भयो भन्दा बाबुरामले यस्तै भयो भने । अरु कुरा मसँग गरेनन् । बाबुराम हिँड्डुल गर्न नसक्ने अबस्थामा थिए भन्ने समेत व्यहोराको कटकबहादुर भण्डारीले अनुसन्धान अधिकृतसमक्ष गरेको मिति २०५६।९।२१ को कागज ।
मृतक बाबुराम भण्डारी र गा.वि.स. अध्यक्ष गोम्बे लामाबीच २०५४ सालदेखि राजनैतिक मतभेद भई फरक फरक पार्टीबाट निर्वाचित प्रतिनिधि भएका कारणले बेला बेलामा झैझगडा भैरहने गर्थ्यो । मिति २०५६।९।११ गते उपस्थित हुनु भनी मेरो भाईलाई निज अध्यक्षले पत्र लेख्दा भाइ बाबुरामले म आउँदिन भनी खवर पठाएपछि ऋषिराम, रामहरि र सान्नानी भण्डारी समेतले घेरा दिई गोम्बे लामाले भाइको कठालो समाती भाईको पिसाब फेर्ने ठाउँमा लात्तीले हानेपछि मेरो भाईलाई लडाई सबै जनाले कुटपीट गरी भोलिपल्ट घरायसी झगडा देखाई मिलापत्र गराएको हो । निज अध्यक्ष गोम्बे लामा समेतलाई कारवाही गरिपाऊँ भन्ने समेत ब्यहोराको जाहेरवाला कृष्णप्रसाद भण्डारीले मिति २०५६।९।२३ मा इलाका प्रहरी कार्यालय, मेलम्चीमा दिएको जाहेरी दरखास्त ।
मिति २०५६।९।१० गते बेलुका मेरो पति बाबुराम भण्डारी गा.वि.स. सचिवको खोजीमा घर नजिकै रामहरिको घरमा जानु भएको र केही समयपछि छोराले बाबुलाई कुटपीट गरेका छन् भन्ने जानकारी गराएकोले तत्कालै म हेर्न जाँदा रामहरि र निजको श्रीमतीले ढोका थुनी हाम्रो धान लुट्ने तैं होस् भनी कुटे जस्तो आवाज आएको सुनी तत्कालै मैले छरछिमेकमा हल्ला गरी छिमेकी आई ढोका खोली हेर्दा घरभित्र रामहरि, निजकी श्रीमती र गंगानाथलाई देखेकी थिएँ । मेरा पति खाटबाट तल भूइँमा बस्नु भएको थियो । छिमेकीले किन कुटेको भनी सोध्दा रातको समयमा हाम्रो घरमा आई हामीलाई गाली गरेकोले कुटपीट गरेको भनी रामहरिले भनेका थिए । भोलिपल्ट अध्यक्ष समेत आई मिलापत्र गराई दिएको हो भन्ने समेत व्यहोराको मृतकको श्रीमती मैयाँ भण्डारीले मिति २०५६।९।२५ मा गरेको कागज ।
मिति २०५६।९।१२ गते बिहान अन्दाजी ८.०० बजे बाबुराम भण्डारीलाई मेरो घरको बाटोबाट बोकाई काठमाडौँतर्फ लैजान लाग्दा निजले अनुरोध गरेकोले मैले मेलम्ची हुँदै शिक्षण अस्पताल काठमाडौँ लगी बाबुरामलाई भर्ना गरी निजको दाजुलाई खबर गरेको हुँ । मैले निज बाबुरामलाई काठमाडौँ ल्याउँदा बाटोमा कसरी यस्तो भयो भनी सोध्दा रामहरि, निजकी श्रीमती र निजको बाबु ऋषिराम भण्डारीले मलाई घाइते हुने गरी कुटपीट गरेका हुन् भनी निज बाबुरामले मलाई भनेका थिए । तसर्थ त्यसरी घाइते हुने गरी कुटपीट गर्ने उपर कारवाही होस् भन्ने समेत व्यहोराको नारिल लामाले मिति २०५६।९।२५ मा गरेको कागज ।
शरीरमा लागेको घाउ चोटको परिणामबाट मृत्यु भएको (The cause of death is due to shock and syncope as a result of above mentioned injuries and haemmorage) भन्ने समेत व्यहोराको शव परीक्षण प्रतिवेदन ।
सिन्धुपाल्चोक जिल्ला किउल गा.वि.स. वडा नं. ४ स्थित रामहरि भण्डारीको घरभित्र पसी हेर्दा ढोका नजीक दुईवटा खाट रहेको, ढोका नजीकै बाँयातर्फ खाना बनाउने चुलो भएको, सोको वरपर दुईवटा काठका टुक्रा भेटिएको भन्ने समेत व्यहोराको मिति २०५६।९।२९ गतेको घटनास्थल मुचुल्का ।
मिति २०५६।९।१० गते बेलुका काम विशेषले म घरमा जान नसकी रातभरि रामहरिकै घरमा बस्न लाग्दा बेलुका अन्दाजी ७ बजे बाबुरामलाई प्राविधिक सहायकको बिषयमा रामहरिसँग झगडा गरी मैले छुट्याउन लाग्दा मलाई समेत टाउकोमा लागी छुट्याउन नसकी रामहरि र निजको श्रीमतीसँग बाबुरामको झगडा भैरहँदा मैले छिमेकीहरूलाई हल्ला गरी बोलाई ल्याउँदा बाबुराम घाइते भइसकेको रहेछ । सो समयमा ऋषिराम समेत आई हात हाली खुट्टा भाँची दिन लाग्दा अन्य उपस्थित मानिसहरूले छुट्याई दिएका हुन् । रातभर बाबुरामलाई त्यहीँ राखी भोलिपल्ट समाज जम्मा भएपछि मिलापत्र गरेका हुन् भन्ने प्रत्यक्षदर्शी गंगानाथ भण्डारीको मिति २०५६।९।३० गतेको कागज ।
वारदात भएको भोलिपल्ट वारदात स्थलमा मानिस जम्मा भएको देखी हेर्न जाँदा बाबुराम घाइते भएको देखी के कसो भएको भन्दा हिजो बेलुका ऋषिराम भण्डारी, निजको छोरा रामहरि भण्डारी र रामहरिको श्रीमती समेतले कुटपीट गरे भनी बाबुरामले भनेका थिए । औषधी खर्च पाए मिल्ने भनेकोले मिलापत्र भएको हो भन्ने समेत व्यहोराको रेवतीरमण भण्डारीको मिति २०५६।९।३० को कागज ।
वारदात भएको भोलिपल्ट मलाई बोलाउन आई म वारदातस्थलमा पुगी बाबुरामलाई के भयो भनी सोध्दा हिजो राति रामहरिले कुट्यो, मिलापत्र गराई दिनुपर्यो भनी बाबुरामले भनेपछि घाउको मात्रा हेरी मिलापत्र गराइयो भन्ने समेत व्यहोराको गा.वि.स. उपाध्यक्ष सोनाम तामाङ्गको मिति २०५६।९।३० को कागज ।
वारदात भएको मितिमा म आफ्नो घरमा थिएँ । भोलिपल्ट बाबुराम र रामहरिबीच झगडा भयो, छलफलमा जानु प¥यो भन्ने खवर आएपछि मलाई थाहा भएको हो । रामहरिको घरमा जाँदा बाबुरामले हिजो हाम्रो घरमा आई रामहरि समेतलाई अपशब्द प्रयोग गरेपछि रामहरि तथा निजको श्रीमती र बाबुरामवीच झगडा भई कुटपीट भएको भनी रामहरिको बाबु ऋषिरामले भनेका थिए । के भएको रहेछ भनी वुझ्दा ऋषिराम तथा निजका छोरा रामहरिले बाबुरामलाई कुटपीट गरी घाइते बनाएका रहेछन् । बाबुरामलाई सोध्दा मिलापत्र गराई दिनु पर्यो भनेकोले ऋषिराम र रामहरिले दशहजार दिएपछि भोलिपल्ट उपचार गर्न पठाएको हो भन्ने समेत व्यहोराको गा.वि.स. अध्यक्ष गोम्बे लामाले गरेको मिति २०५६।९।३० को कागज ।
मिति २०५६।९।१० गते बाबुराम र रामहरिबीच झगडा भएको कुरा भोलिपल्ट मानिसहरू भेला भएपछि थाहा पाएको हुँ । जाँदा मिलापत्र भैसकेको रहेछ भन्ने समेत व्यहोराको ताराबहादुर कुँवर, आइते तामाङ्ग, पदमबहादुर नगरकोटीले गरेको एकै मिलानको कागज ।
प्रतिवादीहरू ऋषिराम भण्डारी, रामहरि भण्डारी तथा सान्नानी भण्डारीले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीतको कसूर गरेका तथा कुन चाहिँ प्रतिवादीको चोटबाट मृतकको मृत्यु भएको भन्ने खुल्न नआएको हुँदा तीनैजना प्रतिवादीहरूलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको मिति २०५६।१०।१० को अभियोग पत्र ।
मिति २०५६।९।१० गते गंगानाथ भण्डारी र मैले गा. वि. स अध्यक्ष भेटी जागिरको छलफल गरी बेलुका घरमा आई ७ बजे भात खाई चुठ्न निस्कँदा बाबुराम भण्डारीको छोरा आई भित्र बसेको केटालाई सचिवज्यू तपाइँ हाम्रो घरमा आउनुहोस् भनी बोलाए । उसले म सचिव होइन भनी पठाए । पछि बाबुराम भण्डारी मेरो घरमा आई तथानाम बोली गाली वेइज्जती गरी बाबुरामले मलाई मार्छु भनी डण्डीले मलाई हिर्काए पछि म भागी चोटामा गएँ । निजले मेरो खुट्टा समाई ताने मलाई तान्दा ऊ माथि म पर्न गएँ । त्यतिखेर निज उत्तानो परेको थियो । त्यतिखेरसम्म निजको हातमा डण्डी थियो । बाबुरामलाई समाई बाहिर निकाल्दा गंगानाथ भण्डारीले छिमेकी बोलाई ल्याई छुट्याएका हुन् । भ¥याङ्गमा परेको बेला निजको खुट्टा भाँच्चिएकोले हामी कुरी वस्यौँ । घरमा जान दिनु हुँदैन भनी हामी १५–१६ जनाले कुरी भोलिपल्ट पञ्च भलाद्मी राखी मिलापत्र गरेको हो भन्ने समेत व्यहोराको प्र. रामहरि भण्डारीले सिन्धुपाल्चोक जिल्ला अदालतमा गरेको मिति २०५६।१०।१० गतेको बयान ।
बाबुरामलाई मैले हान्ने कुट्ने गरेको छैन । निज जवर्जस्ती मेरो घरभित्र पसी लोग्ने रामहरिलाई कुट्न खोज्दा म बच्चा लिई चोटामा गएको हुँ । लोग्ने पनि दुगुर्दै चोटातर्फ आउँदा तलबाट बाबुरामले तानेछन् । तान्दा लोग्ने रामहरि खसी बाबुरामलाई थिच्न पुगेछन् । बाबुरामको खुट्टा भर्याङ्गमा पसी अल्झेछ भन्ने समेत व्यहोराको प्रतिवादी सान्नानी भण्डारीले सिन्धुपाल्चोक जिल्ला अदालतमा गरेको मिति २०५६।१०।१० गतेको बयान ।
मिति २०५६।९।१० गते म झगडा भएको ठाउँमा नभई किउल गा.वि.स.–५ को मेरो घरमा थिएँ । बेलुका ८ बजे म ४ नं. वडाको आफ्नो घरमा जाँदा लोकबहादुर, सम्शेरबहादुर समेतका मानिस बसिराखेका रहेछन् । बाबुराम पनि थिए । कुनै झगडा भएन । भोलिपल्ट रु.१०,०००।– दिई मिलापत्र गरेको हो । मैले बाबुरामलाई कुटपीट गरेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी ऋषिराम भण्डारीले मिति २०५६।१०।१० मा सिन्धुपाल्चोक जिल्ला अदालतमा गरेको बयान ।
आफूले दिएको जाहेरी व्यहोरा ठीक सत्य हो । भाइ बाबुरामलाई रामहरि भण्डारी, ऋषिराम भण्डारी र सान्नानी भण्डारीले कुटपीट गरेका हुन् र सोही चोटका कारण भाइको मृत्यु भएको हो भन्ने व्यहोराको जाहेरवाला कृष्णप्रसाद भण्डारीको मिति २०५६।१०।२८ को वकपत्र ।
मृतकले मसँग कुरा गरे अनुसार छोरा बुहारीले पिर्का र लौरीले कुटी आधा घण्टा पछि बाबु ऋषिराम आई खुट्टा मर्काउने हान्ने गरेको भनी मृतकले नै भनेका हुन् । सोही कारणले मृतकको मृत्यु भएको हो भन्ने समेत व्यहोराको नारिल लामाको मिति २०५६।१०।२८ को वकपत्र ।
गा.वि.स. अध्यक्षले भनेकोले चोटपटक उपचार गर्न रु.१०,०००।– चाहिन्छ भनी बाबुरामले मागे । अब झगडा नगर्ने भनी भनेपछि रुपैयाँ लिनु दिनु गरी मिलापत्र गरेको भन्ने समेत व्यहोराको कटकबहादुर भण्डारीको वकपत्र ।
मिति २०५६।९।१० गते कामबाट आएपछि गाउँका मानिस र म पनि गएँ । जाँदा बाबुराम ऋषिरामको घरको भर्याङ्गमुनि गुन्द्रीमा सुतिरहेका रहेछन् । रामहरि र निजको श्रीमती सान्नानी, गंगाराम बाहिर रहेछन् । म पुगेपछि बाबुरामले हाम्रो झगडा परेको छ । सदस्यहरू बोलाई देऊ भनेपछि बोलाए । २ जना आएनन् । बीरबहादुर आए । निज आएपछि म घरमा
गएँ । झगडा भै सकेपछि मात्र ऋषिरामको घरमा पुगको हुँ भन्ने समेत व्यहोराको प्रतिवादीहरूको साक्षी होमबहादुर भण्डारीको वकपत्र ।
गा.वि.स. अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष समेत जम्मा भई बाबुरामसँग कुरा गर्दै रहेछन् । अध्यक्षले सचिवलाई बाटोमा किन झगडा गर्न खोजेको भनी भन्दा मलाई केहि कुरामा रिस उठेको थियो भने । रामहरिसँग किन झगडा गरेको भनी सोध्दा सचिवलाई लुकाएको छ कि भनी आक्रमण गर्न खोजेको भनी भने । रामहरिलाई बाबुरामले भर्याङ्गमा तानेकोले रामहरि माथिबाट बाबुराम तलबाट परेको रे भनी सुनेको हुँ । चोट छाडेको मैले देखेको छैन भन्ने समेत व्यहोराको प्रतिवादी ऋषिराम भण्डारीको साक्षी लोकबहादुर भण्डारीले गरेको वकपत्र ।
कुटेको मैले देखिन । २०५६।९।१० गते बेलुका हल्ला भै जाँदा बाबुराम भर्याङ्गमुनि रहेछन् । ऋषिरामलाई मैले देखिन । बाबुराम लडिरहेका रहेछन् । किन आयौँ भन्दा मलाई दशा लागेको रहेछ भने । त्यसपछि मानिस को आए म फर्केर सुतेकोले थाहा भएन । भोलिपल्ट मिलापत्र गरेको हो । मैले पनि सही गरेको हुँ भन्ने समेत व्यहोराको ऋषिराम भण्डारीको साक्षी बेलबहादुर भण्डारीले गरेको बकपत्र ।
मिति २०५६।९।१० गतेका दिन म र रामहरि गा.वि.स. भवनमा गई फर्किई आउँदा रात परेकोले म सो रात रामहरिको घरमा बास बसेको थिएँ । बेलुका अन्दाजी ७.३० बजे मृतक बाबुराम भण्डारी प्राविधिक सहायक निकाल रण्डीको छोरा भनी रामहरिलाई कराउँदै रामहरिको घरमा पस्नुभयो । बाबुराम पसेपछि रामहरि उठेर भर्याङ्गतिर पुग्नु भयो । बाबुरामलाई झगडा गर्न हुँदैन भनेर घर बाहिर निकालेँ । पुनः हुत्तिदै घरभित्र पस्नुभयो । त्यतिनै खेर बत्ती
निभ्यो । घरभित्र डाङ्डुङ् गरेको आवाज आएपछि मैले झगडा पर्यो भनी कराउँदा दलबहादुर, कटकबहादुर आउनु भयो । उहाँहरू घरभित्र जानुभयो । म घरभित्र पसिन । म राति बाहिर नै सुतेको हुँदा के के भयो ? मैले देखिन । भोलिपल्ट ११ गते अध्यक्षलाई बोलाई मिलापत्रको कागज लेखेको हुँ । प्रहरीमा गरेको कागज व्यहोरा प्रहरीले नै लेखेका हुन् भन्ने समेत व्यहोराको गंगानाथ भण्डारीको वकपत्र ।
झगडा भएको हो । घटना घटेको मैले देखेको होइन । अब आइन्दा झगडा गर्ने छैनौ भनी मिलापत्र गरेका हुन् भन्ने ताराबहादुर कुँवरको बकपत्र ।
मैले यो मुद्दाको घटनाको सम्बन्धमा आफूलाई थाहा भएसम्मका कुरा प्रहरीमा कागज गर्दा नै खुलाई व्यहोरा लेखाई सहिछाप गरिदिएको छु । अरु लेखाउनु पर्ने व्यहोरा बाँकी केही छैन भन्ने समेत व्यहोराको रेवतीरमण भण्डारी, सोनाम तामाङ्ग, आइते तामाङ्ग समेतको एकै मिलानको वकपत्र ।
रामहरि भण्डारी आफ्नो घरमा बसिरहेको अबस्थामा गाली गर्दै अचानक बाबुराम भण्डारी निजको घरभित्र प्रवेश गरी रामहरि भण्डारीलाई भावावेश चढ्नु स्वभाविक भै घातक हतियारको प्रयोग नभै पिर्का प्रयोग गरी खुट्टामा हिर्काई कर्तब्य ज्यानको कसूर गरेको हुँदा प्रतिवादी रामहरि भण्डारीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ६(२) नं. बमोजिम २ बर्ष कैद र रु.५००।– जरीवाना हुने ठहर्छ । प्रतिवादी सान्नानी भण्डारी र प्रतिवादी ऋषिराम भण्डारीले अभियोग दावीबाट सफाइ पाउने ठहर्छ भन्ने सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०५७।२।२५।४ को फैसला ।
शुरु सिन्धुपाल्चोक जिल्ला अदालतले प्रतिवादी रामहरि भण्डारीलाई ज्यानसम्बन्धी महलको ६(२) नं. बमोजिम सजाँय गरी अन्य प्रतिवादीहरू ऋषिराम र सान्नानी भण्डारीलाई सफाइ दिने गरी भएको फैसलामा ज्यानसम्बन्धी महलको १३(३), १४, ५ र ६(२) नं. समेतको व्याख्यात्मक त्रुटि रहेको एवं पूर्व नजीरहरू विपरीत फैसला भएको देखिँदा शुरु अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत, पाटनमा परेको मिति २०५७।९।६ को पुनरावेदन पत्र ।
प्रतिवादीको अधिकार प्राप्त अधिकारिसमक्षको साविती बयान, प्रतिवादी र मृतकबीच रिसइवी रहेको, प्रत्यक्षदर्शीको कागज र सो कुरालाई पोष्टमार्टम रिपोर्ट समेतले समर्थन गरेको हुँदा प्रमाण ऐन, २०३१ को दफा १०(१)(क) बमोजिम प्रमाणमा लिनुपर्नेमा सो नलिई प्रतिवादीलाई सफाइ दिने गरी भएको फैसलामा मुद्दाको तथ्य र प्रमाणको मूल्याङ्कनसम्बन्धी त्रुटि रहेको देखिएकोले छलफलका लागि विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने २०५८।१०।१७ को पुनरावेदन अदालत पाटनको आदेश ।
प्रतिवादीहरू ऋषिराम र सान्नानीले सफाइ पाउने गरी भएको सिन्धुपाल्चोक जिल्ला अदालतको फैसला मिलेको देखिँदा सो हदसम्म सदर हुने तथा प्रतिवादी रामहरि भण्डारीले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. बमोजिमको कसूर गरेको देखिँदा सोही नं. बमोजिम १० वर्ष कैद हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६०।८।१ गतेको फैसला ।
प्रतिवादी रामहरि भण्डारीलाई ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम कसूर गरेको ठहर्याई १० बर्ष कैद गरेको तथा अन्य प्रतिवादीहरू ऋषिराम र सान्नानी भण्डारीलाई सफाइ दिने गरी भएको पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण हुँदा सवै प्रतिवादीहरूलाई अभियोग माग दावीबमोजिम सजाँय गरिपाऊँ भन्ने समेत व्यहोराको नेपाल सरकारको तर्फबाट यस अदालतमा पर्न आएको मिति २०६१।३।९।४ को पुनरावेदन पत्र ।
सिन्धुपाल्चोक जिल्ला अदालतबाट मिति २०५७।२।२५ मा मलाई ज्यानसम्बन्धी महलको ६(२) नं. बमोजिम सजाय गरेको सजाय न्यायपूर्ण भएकोमा पुनरावेदन अदालत पाटनबाट मलाई ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम कसूर गरेको ठहर गरी १० बर्ष कैद सजाय हुने गरी भएको फैसला कानूनी एवं प्रतिपादित सिद्धान्तको प्रतिकूल भएकोले बदर गरी शुरु सिन्धुपाल्चोक जिल्ला अदालतको फैसला सदर गरी इन्साफ पाऊँ भन्ने समेत व्यहोराको रामहरि भण्डारीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
मृतक बाबुराम भण्डारीको मृत्यु आफ्नो कालगतिले भएको नभई कुटपीटका कारणले रक्तश्राबबाट भएको भन्ने देखिएको, प्रतिवादी रामहरि भण्डारीले मृतकलाई कुटपीट गरी बाँधछाँद गरी राखेकोले सो कार्यमा प्रतिवादी सान्नानी भण्डारीको पनि सहमति रहेको र प्रतिवादी ऋषिराम भण्डारीले समेत मृतकको खुट्टा मर्काई टाउकोसम्म पुर्याई दिएको भनी मौकामा सावित देखिएको साथै उक्त तथ्यलाई वारदातको चश्मदित व्यक्ति गंगानाथ भण्डारीको बकपत्रबाट पुष्टि भईरहेको तथा वारदातको प्रकृति र मृतकको आङ जीउमा लागेको घाउखतसम्बन्धी लाशजाँच प्रकृति मुचुल्का र पोष्टमार्टम रिपोर्टबाट समेत सोको पुष्टि भइरहेकोले ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम रामहरि भण्डारीलाई सजाय गरी अन्य प्रतिवादीहरूलाई सफाइ दिने गरी पुनरावेदन अदालत पाटनले गरेको इन्साफ फरक पर्न सक्ने देखिँदा छलफलको लागि विपक्षीहरूलाई झिकाई लगाउको फौँ.पु.नं. ३७७२ नं. को मुद्दा साथै राखी नियमानुसार गरी पेश गर्नु भन्ने समेत व्यहोराको मिति २०६३।१२।२५ को यस अदालतको आदेश ।
यसै लगाउको फौ.पु.नं. ३८०४ को मुद्दामा छलफलका निमित्त विपक्षी झिकाउने आदेश भएकोले उक्त मुद्दामा हुने निर्णय प्रस्तुत मुद्दामा अन्तर्प्रभावी हुने हुँदा प्रस्तुत मुद्दाको वारदातबाट मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ६(२), १४ तथा १३(३) नं. बमोजिमको सजायमा यी प्रतिवादीलाई कुन नम्बरको सजाय आकर्षित हुने हो ? सोही विषयमा दुवै पक्षको उपस्थितिमा छलफल गर्नुपर्ने देखिँदा प्रस्तुत मुद्दामा छलफलको लागि महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना दिई लगाउको फौ.पु.नं. ३८०४ को मुद्दा साथै राखी नियमानुसार गरी पेश गर्नु भन्ने मिति २०६३।१२।२५ को यस अदालतको आदेश ।
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट विद्वान उपन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठीले मृतक बाबुराम भण्डारीलाई प्रतिवादी रामहरि भण्डारी समेत भई घरभित्र कुटपीट गरेको र त्यसको भोलिपल्ट रु.१०,०००।– दिई मिलापत्र गराएको छ । मिसिल संलग्न प्रमाणबाट मृतक र प्रतिवादीबीच पूर्व रिसइवी रहेको देखिन्छ । पोष्टमार्टम रिपोर्टमा घाउचोटको कारण आघात (shock) परी रक्तश्राव समेत भएकोले मृत्यु भएको भन्ने देखिन्छ । मृतकको शरीरमा अनगिन्ती घाउचोटहरू छन् । तसर्थ अभियोग दावीबमोजिम सबै प्रतिवादीहरूलाई सजाय हुनु पर्नेमा प्रतिवादी रामहरि भण्डारीलाई मात्र ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम सजाय गरेको पुनरावेदन अदालतको फैसला मिलेको छैन । उल्टी गरी माग दावीबमोजिम सबै प्रतिवादीहरूलाई सजाय गरिपाऊँ भनी बहस गर्नुभयो ।
पुनरावेदक प्रतिवादी रामहरि भण्डारीको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ताहरू श्री सिन्धुनाथ प्याकुरेल र श्री हरिहर दाहाल तथा विद्वान अधिवक्ताहरू श्री कृष्णप्रसाद सापकोटा र श्री सरोजनाथ प्याकुरेलले मृतक बाबुराम भण्डारीले रक्सी सेवन गरी प्रतिवादीलाई तथानाम गाली गलौज गर्दै घरभित्र प्रवेश गरेपछि जहान बच्चा र आफूलाई बचावट गर्न मृतकलाई सामान्य कुटपीट गरी आफ्नै घरमा बाँधेर राखेको र भोलिपल्ट समाजको रोहवरमा मिलापत्र समेत गरेको अवस्था हुँदा मार्ने मनसायले कुटपीट भएको छैन । मार्ने मनसाय भए संवेदनशील हतियारले प्रहार गर्ने अवस्था पनि थियो, तर सामान्य पिर्काले मृतकको खुट्टामा कुटपीट गरिएको छ । वारदातको प्रकृतिबाटै पनि आवेशप्रेरित हत्या भन्न सकिने स्थिति छैन । घटनाका प्रत्यक्षदर्शी गंगाराम भण्डारीले गरेको कागज तथा बकपत्र महत्वपूर्ण प्रमाणको रुपमा रहेको छ । प्रतिवादीहरूले मार्ने मनसाय राखी कुटपीट नगरेको अवस्थामा ज्यानसम्बन्धीको १४ नं. आकर्षित हुँदैन । मिसिल संलग्न प्रमाणबाट ज्यानसम्बन्धी महलको ५ नं. बमोजिम कै कसूर देखिएको हुँदा शुरु जिल्ला अदातलले सोही महलको ६(२) नं. बमोजिम सजाय गरेको इन्साफ मिलेको छ । पुनरावेदन अदालतले आवेशप्रेरित हत्याको वारदात कायम गरेको मिलेको छैन । त्यसकारण पुनरावेदन अदालतको फैसला उल्टी गरी शुरु जिल्ला अदालतको फैसला कायम होस् भनी बहस गर्नुभयो ।
जाहेरवाला कृष्णप्रसाद भण्डारीको तर्फबाट विद्वान अधिवक्ता श्री बच्चुसिंह खड्काले लाश प्रकृति मुचुल्काबाट अनगिन्ती घाउचोट देखिन्छ । प्रतिवादी रामहरि भण्डारीले प्रहरी समक्षको बयानको स.ज. ३ मा मृतक उपर ५/७ मिनेट हानेको कुरा स्वीकार गरेका छन् । यसबाट प्रतिवादीहरूको मार्ने नियत प्रष्ट हुन्छ । तसर्थ सबै प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजाय गर्नु पर्नेमा रामहरि भण्डारीलाई मात्रै १४ नं. बमोजिम सजाय गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा अभियोग दावीबमोजिम सजाय होस् भनी बहस गर्नुभयो ।
मिसिल संलग्न कागजातहरू अध्ययन गरी उपर्युक्त व्यहोराको बहस जिकीर समेतलाई मध्यनजर राखी पुनरावेदन अदालतबाट भएको फैसला मिले नमिलेको के रहेछ ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, मिति २०५६।९।१० गते साँझ मृतक बाबुराम भण्डारी रक्सी सेवन गरी प्रतिवादी रामहरि भण्डारीको घरमा प्रवेश गरी प्रतिवादीहरूलाई अपशब्द प्रयोग गरी गाली गलौज गर्न थालेपछि मृतक र प्रतिवादीहरू बीच झगडा भएको र प्रतिवादीहरूले मृतक उपर कुटपीट गरी सख्त घाइते बनाएकोमा शिक्षण अस्पताल, महाराजगञ्ज काठमाडौँ लगी उपचार गर्दागर्दै मिति २०५६।९।१३ मा मृत्यु भएकोले प्रतिवादीहरू रामहरि भण्डारी, सान्नानी भण्डारी र ऋषिराम भण्डारीलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गरिपाऊँ भनी अभियोग पत्र पेश भएकोमा शुरु सिन्धुपाल्चोक जिल्ला अदालतले प्रस्तुत वारदातलाई ज्यानसम्बन्धी महलको ५ नं. अन्तर्गतको अपराध कायम गरी प्रतिवादीमध्येका रामहरि भण्डारीलाई सोही महलको ६(२) नं. बमोजिम २ वर्ष कैद र रु.५००।– जरीवाना गरी अन्य प्रतिवादीहरूलाई अभियोग दावीबाट सफाइ दिने गरी फैसला गरेको देखिन्छ । सो फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालतमा पुनरावेदन परी सो अदालतबाट फैसला हुँदा प्रतिवादी रामहरि भण्डारीलाई शुरुले ज्यानसम्बन्धी महलको ५ नं. को कसूरमा सोही ६(२) नं. बमोजिम सजाय गरेको हदसम्म केही उल्टी गरी निज प्रतिवादी रामहरि भण्डारीलाई ज्यानसम्बन्धी महलको १४ नं. को कसूरमा सोही नं. बमोजिम कैद वर्ष १० हुने गरी फैसला भएकोमा सो फैसलामा चित्त नुबझाई वादी नेपाल सरकार र प्रतिवादी रामहरि भण्डारीको तर्फबाट छुट्टाछुट्टै पुनरावेदन पत्रहरू दर्ता भएको देखियो ।
३. वादी पक्षबाट प्रस्तुत वारदातलाई ज्यानसम्बन्धी महलको १३(३) नं. अन्तर्गतको कसूर भन्दै सबै प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम सजाय हुनु पर्छ भनी र प्रतिवादीको तर्फबाट ज्यानसम्बन्धी महलको १४ नं. अन्तर्गत कसूर कायम गरेको मिलेन । शुरुले ज्यानसम्बन्धी महलको ५ नं. को कसूर कायम गरेकोलाई नै सदर गरिनुपर्छ भन्ने पुनरावेदनमा जिकीर लिएको हुँदा प्रस्तुत विवादको वारदात भवितव्यअन्तर्गत पर्ने हो वा आवेशप्रेरित हत्या (Provocative Homicide) अन्तर्गत पर्ने हो ? भन्ने मूल प्रश्नको नै निरुपण हुनुपर्ने देखिन आयो ।
४. प्रतिवादी रामहरि भण्डारीले मृतकउपर कुटपीट गरेको तथ्यलाई अधिकार प्राप्त अधिकारी र अदालत समक्षको बयानमा समेत स्वीकार गरेको देखियो मिति २०५६।९।१० मा कुटपीट भएपछि घाइते भएका बाबुराम भण्डारीलाई वारदातस्थल सिन्धुपाल्चोकको किउल गा.वि.स. बाट मिति २०५६।९।१२ मा त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा लगी उपचार गराउँदा गराउँदै सोही अस्पतालमा मिति २०५६।९।१३ मा मृतक बाबुराम भण्डारीको मृत्यु भएको देखियो । निजको Post Mortem Report मा- "The cause of death is due to shock and syncops as a result of above mentioned injuries and haemmorage" भन्दै मृतकको दुवै खुट्टाको घुँडा र तिघ्रा समेतमा ½ ईन्च देखि १½ ईन्चसम्मको विभिन्न घाउचोटहरू भएको, दाहिने घुँडाको जोर्नी फुटी स्थान छोडेको (Dislorate) भन्ने समेत उल्लेख भएको देखियो । यसरी मृतकको शरीरमा लागेको उल्लिखित घाउचोटको पीडाबाट आघात पर्नुका साथै अत्यधिक रक्तश्रावको कारणबाट मृत्यु भएको तथ्य स्थापित भएको अवस्थामा मिति २०५६।३।१० मा मृतक र प्रतिवादी रामहरी भण्डारीबीच भएको कुटपीटको वारदातकै परिणामबाट मृतकको मृत्यु भएकोमा विवाद
रहेन ।
५. पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदनमा प्रतिवादीहरू रामहरि भण्डारी, ऋषिराम भण्डारी र सान्नानी भण्डारी समेतलाई अभियोग दावीबमोजिम सजाय हुनुपर्छ भन्ने जिकीर लिएको पाइयो । सर्वप्रथम प्रस्तुत विवादको मूल प्रश्नतर्फ प्रवेश गरी विचार गरौँ शुरुले प्रतिवादी रामहरि भण्डारीलाई ज्यानसम्बन्धी महलको ५ नं. को कसूरमा सोही महलको ६(२) नं. बमोजिम सजाय गरेको फैसलालाई निजले स्वीकारै गरेको अवस्था समेत हुँदा निज प्रतिवादीले मृतकउपर कुटपीट गरेको र सोही कुटपीटबाट मृतकको मृत्यु भएको तथ्यतर्फ थप विश्लेषण समेत गरिरहनु परेन । प्रस्तुत वारदातमा पुनरावेदन अदालतले ज्यानसम्बन्धी महलको १४ नं. अन्तर्गत आवेशप्ररित हत्याको वारदात कायम गरेको मिले नमिलेको तर्फ हेर्दा सो १४ नं. मा–“ज्यान मार्नको मनसाय रहेनछ, ज्यान लिनुपर्नेसम्मको इवि पनि रहेनछ, लुकी चोरीकन हानेको पनि रहेनछ । उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा, ढुंगा, लात, मुक्का इत्यादि हान्दा सोही चोट पीरले ऐनका म्यादभित्र ज्यान मरेमा दश वर्ष कैद गर्नु पर्छ” भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । सोही महलको ५ नं. मा– “ज्यान लिने इविलाग वा मनसाय नभै कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला भन्ने जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गएकोमा भवितव्य ठहर्छ” भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ ।
६. उल्लिखित कानूनी व्यवस्थाअनुसार ज्यान मार्ने मनसाय नभई वा ज्यान लिने पूर्व रिसइवी समेत केही नभई तत्काल कुनै विषयमा रिस उठी सो रिस थाम्न नसकी साधारण लाठी, ढुंगा वा लातमुक्का इत्यादि हान्दा त्यसको चोटबाट तत्कालै वा ऐनका म्यादभित्र मानिस मर्न गएको वारदात आवेशप्रेरित हत्या ठहर्ने देखिन आउँछ भने ज्यान लिने रिसइवी वा मनसाय नभई कसैले कुनै कार्य गर्दा मानिस मर्ला जस्तो नदेखिए पनि त्यसैबाट केही भई मानिस मर्न गएमा भवितव्य हुने देखिन्छ । यसरी आवेश प्रेरित हत्यामा मूलतः मृतकको ज्यान मार्ने मनसाय वा पूर्व रिसइवी नभएपनि कुनै विषयमा केही गर्दा वा भनाभन वा विवाद हुँदा तत्कालै रिस उठी सो रिसलाई थाम्न सक्ने सामर्थ्य गुमाई आरोपित व्यक्तिले मृतक उपर साधारण लाठी, ढुंगा प्रहार गर्दा वा लातमुक्का वा यस्तै प्रकारको गैर जोखिमी साधनले प्रहार गर्दा त्यसको प्रहारको चोटबाट तत्कालै वा ऐनका म्यादभित्र ज्यान मर्न गएको स्थिति हुनु पर्ने देखिन आउँछ ।
७. अर्कोतिर, भवितव्यको वारदातमा भने ज्यान मार्ने मनसाय वा पूर्व रिसइवी नभई कसैले केही कार्य गर्दा त्यस्तो कार्यबाट मानिसको ज्यान जान सक्ने स्थिति पनि नदेखिएको र तत्काल रिस उठी सो रिसको आवेगमा त्यस्तो कार्य गरेको स्थिति पनि नभएको, सामान्य समझको मानिसले हेर्दा पनि कुनै कार्यबाट मानिस मर्न सक्नेसम्मको अवस्था नहुँदा नहुँदै पनि त्यही कार्यबाट केही भई मानिस मर्न गएको स्थिति हुनुपर्ने हुन्छ । प्रस्तुत विवादमा मृतक बाबुराम भण्डारी र रामहरि भण्डारीबीच वारदात मितिपूर्व पनि झै–झगडा भै प्रतिवादी रामहरिले मृतकको ज्यान लिनु पर्नेसम्मको रिसइवी भएको भन्ने कहिँ कतैबाट पुष्टि हुन सकेको छैन । मिति २०५६।९।१० मा भएको वारदात मृतकको घर वा अन्यत्र भएको नभई प्रतिवादीको घरभित्र घटेको देखिन्छ । सो वारदात हुनुपूर्व गाउँ विकास समितिको प्राविधिक कर्मचारी प्रतिवादीको घरमा छ भने बोलाउन भनी मृतकले अह्राए पछि निजको नाबालक छोरा प्रतिवादीको घरमा गई आफ्नो बाबुले बोलाउनु भनेको कर्मचारी नभेटिए पछि सो कुरा निजले आफ्नो बाबुलाई भनेपछि मृतक बाबुराम स्वयं प्रतिवादीको घरमा गई गा.वि.स.का. प्रतिनिधिलाई लुकाएको भन्दै अपशब्द प्रयोग गरी प्रतिवादी रामहरि र निजको श्रीमती समेतलाई गाली गलौज गरेको र झगडा समेत गर्न लाग्दा प्रतिवादीकै घरमा रहेका अर्का चश्मदिद व्यक्ति गंगानाथ भण्डारीले निजलाई सम्झाई बुझाई बाहिर निकालेको भन्ने देखिन्छ । त्यसरी मृतक कराउँदै प्रतिवादीको घरमा आउँदाका अवस्थामा प्रतिवादी रामहरि भण्डारी बेलुकाको खाना खाँदै गरेको र प्रतिवादीकै घरमा बसेका गंगानाथले मृतकलाई बाहिर पठाई सकेपछि पनि मृतक फर्किई आई प्रतिवादीलाई गालीगलौज गर्दै पुनः घरभित्र प्रवेश गरेपछि मृतक र प्रतिवादीबीच हात हालाहाल भएको देखिन्छ । सो घटनामा प्रतिवादीले काठको पिर्काद्वारा मृतकको घुँडा र खुट्टामा प्रहार गरेको भन्ने कुरालाई प्रतिवादी स्वयंले स्वीकार गरेकै देखिन्छ । यसरी बेलुकाको खाना खाँदै गरेको अवस्थामा मृतक तथानाम गाली गर्दै प्रतिवादीको घरमा प्रवेश गरी झगडा गर्न लाग्दा एकपटक सम्झाई बुझाई बाहिर पठाएपछि पुनः दोस्रो पटक फर्की घरभित्र प्रवेश गरी झगडा गर्न बसेपछि प्रतिवादीले रिसको आवेगमा आई पिर्का उठाई मृतकउपर प्रहार गरेको देखिन्छ । त्यसरी पीर्का प्रहार गर्दा मृतकको टाउको वा अन्य संवेदनशील अंगहरूमा प्रहार गरेको नभई घुँडामा र खुट्टामा प्रहार गरेको भन्ने देखिन्छ । मृतकलाई मार्नु पर्नेसम्मको रिसइवी वा मनसाय राखी प्रतिवादीले मृतकलाई कुटपीट गरेको भए टाउको लगायत अन्य मर्मस्थानमा प्रहार गर्न सक्ने अवस्था देखिन्छ । तर निज प्रतिवादीले मृतकको घुँडामा प्रहार गरेको देखिएबाट मार्ने मनसायले नै सो प्रहार गरेको मान्न सकिँदैन । तसर्थ प्रस्तुत वारदात ज्यानसम्बन्धी महलको १३(३) नं. अन्तर्गत सजाय हुने प्रकृतिको रहेछ भनी मान्न सकिएन ।
८. प्रस्तुत वारदातको प्रकृतिबाट आफ्नो घरमा साँझको समयमा गालीगलौज गर्दै झगडा गर्न आएको मृतकलाई बाहिर पठाएपछि पनि निहुँ खोज्दै दोस्रो पटक पनि प्रतिवादीको घरभित्र पसी झगडा गर्न लागेपछि मृतकउपर प्रतिवादीले कुटपीट गरेको देखिँदा प्रतिवादीले तत्काल उठेको रिसको आवेगमा आई सो कुटपीट गर्न पुगेको देखिन आउँछ । लाश प्रकृति मुचुल्कामा उल्लिखित मृतकको शरीरमा भएका घाउ चोट र घुँडाको पाँग्रो समेत फुटाई त्यसलाई क्षतविक्षत पारेको देखिएबाट प्रतिवादीले रिसको आवेगमा मृतक उपर गम्भिर रुपमा कुटपीट गरेको पुष्टि हुन्छ । त्यसरी गहिरो चोट पुर्याई गरिएको कुटपीटले मानिस मर्न पनि सक्दछ भन्ने सामान्य समझ भएको जुनसुकै मानिसले सहजै अनुमान गर्नसक्ने हुन्छ । तर मृतक उपर कुटपीट गर्दा सो कुटपीटबाट निज मर्न सक्दछ भन्ने स्वभाविक मानवीय सुझबुझ चेतनालाई पनि ख्याल नगरी प्रतिवादीले कुटपीट गरेको देखिन्छ । सो कुरा मृतकलाई ५/७ मिनेटसम्म कुटपीट गरेको भनी प्रतिवादी रामहरि भण्डारीले अधिकार प्राप्त अधिकारिसमक्ष गरेको बयानबाट पनि देखिन्छ । यस्तो स्थितिमा प्रस्तुत वारदातलाई ज्यानसम्बन्धी महलको ५ नं. अन्तर्गत भवितव्यको संज्ञा दिन मिल्ने देखिएन । प्रस्तुत मुद्दाको वारदातको समय र अवस्था, मृतकलाई लागेको चोट र घा खतको प्रकृति तथा प्रतिवादीले लात मुक्का र काठको पिर्काले प्रहार गरेको अवस्था समेतबाट प्रस्तुत वारदात ज्यानसम्बन्धी महलको १४ नं. अन्तर्गतकै कसूर देखिन आउँछ ।
९. प्रतिवादी ऋषिराम भण्डारीको हकमा विचार गर्दा, निज प्रतिवादी अनुसन्धान अधिकारी एवं अदालतको बयान समेतमा मृतक र रामहरिबीच कुटपीट भई सकेपछि आफू वारदातस्थलमा गएको, वारदातमा आफ्नो संलग्नता नभएको भन्दै कसूरमा इन्कार रहेको देखिन्छ । प्रस्तुत वारदात हुँदाका वखत प्रतिवादी रामहरि भण्डारीको घरमा रहेको प्रत्यक्षदर्शी गंगानाथ भण्डारीले मौकामा गरेको कागजमा प्रतिवादी ऋषिराम भण्डारी वारदात भई सकेपछि आएका भनी उल्लेख गरेको पाइन्छ भने वारदात लगतै सो स्थानमा पुग्ने कटकबहादुर भण्डारी र दलबहादुर भण्डारीले मौकामा कागज गर्दा प्रतिवादी ऋषिरामको सो वारदातमा संलग्नता रहेको भन्ने किटान गर्न सकेका छैनन् । प्रतिवादी ऋषिराम र रामहरि भण्डारी बाबुछोरा नाताका भएको र छोरा रामहरिको घरमा कुटपीट भई घाईते भएका मृतक बाबुराम भण्डारीलाई वारदातको भोलिपल्ट रु.१०,०००।– (दशहजार) लिई निज ऋषिरामले मृतकसँग मिलापत्रसम्म गरेको देखिन्छ । आफ्नै छोरासँगको कुटपीटबाट घाईते भएका मृतकलाई उपचार खर्चबापत भनी स्थानीय गा.वि.स. अध्यक्ष लगायत गाऊँ समाजका ३३ जना भद्रभलाद्मी व्यक्तिहरूको रोहवरमा प्रतिवादीले मृतकसँग मिलापत्र गरेको र सो मिलापत्रमा समेत प्रतिवादी रामहरि र बाबुरामका बीचमा नै झगडा भई कुटपीट भएको भन्ने उल्लेख गरिएको देखिन्छ । प्रतिवादी ऋषिराम अनुसन्धान अधिकारी र अदालतको बयान समेतमा कसूरमा इन्कार रहेको पाइन्छ । वादी पक्षबाट पेश भएका कुनै पनि साक्षी प्रमाणबाट मृतकउपरको कुटपीटमा यी प्रतिवादी पनि संलग्न रहेको भन्ने देखिदैन । यसरी यी प्रतिवादीको प्रस्तुत वारदातमा प्रत्यक्ष संलग्नता रहेको भन्ने प्रमाणद्वारा पुष्टि र स्थापित हुन नसकेको साथै सो वारदातमा अर्का प्रतिवादी रामहरि भण्डारीलाई उक्साएको वा वचन दिएको भन्ने पनि नदेखिएको स्थितिमा ठोस आधार प्रमाणबिना यी प्रतिवादी ऋषिराम भण्डारीलाई आरोपित कसूरमा कसूरदार कायम गर्न मिल्ने देखिएन ।
१०. अर्का प्रतिवादी सान्नानी भण्डारीको हकमा विचार गर्दा, निज प्रतिवादी रामहरि भण्डारीको एकाघरको श्रीमती देखिन्छिन् । वारदात मिति समयमा निजको साथमा ६ वर्षको बालक समेत रहेको देखिन्छ । मृतकलाई कुटपीट गर्ने कार्यमा निज समेत संलग्न रहेको भन्ने कुरा घटनाका प्रत्यक्षदर्शी गंगानाथ भण्डारीको मौकाको कागज लगायत कतैबाट पुष्टि भएको देखिँदैन । निज प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानमा मृतकसँग लछार पछारसम्म भएपनि पति रामहरि र मृतक बाबुरामका वीचमा नै हात हालाहाल भएको व्यहोरा खुलाएको र अदालत समक्ष बयान गर्दा वारदातमा आफ्नो संलग्नतालाई इन्कार गरेको पाइन्छ । प्रहरीमा कागज गर्ने रेवतीरमण भण्डारी, सोनाम तामाङ्ग, आईते तामाङ्ग, कटकबहादुर भण्डारी समेतले मौकामा गरेको कागज र अदालतमा गरेको वकपत्र समेतमा यी प्रतिवादी समेतले मृतकलाई घाउचोट पुग्ने गरी कुटपीट गरेको भनी पोल गरेको पाइँदैन । जाहेरवाला कृष्णप्रसाद भण्डारी वारदात मिति समयमा काठमाडौँमै रहेको र आफ्नो भाइ मृतक बाबुराम भण्डारीको उपचारका क्रममा मृत्यु भएपछि गाउँमा आई सोधखोज गरी यी प्रतिवादी समेतलाई पोली जाहेरी दिएको देखिन्छ । निजको जाहेरी अन्य व्यक्तिबाट वारदातको विषयमा सुनेको आधारमा परेको छ । वारदात प्रतिवादीहरू रामहरि र सान्नानी भण्डारीको घरभित्र भएको छ । यसरी यी प्रतिवादी समेत घरभित्रै रहेको अवस्थामा अर्का प्रतिवादी रामहरि भण्डारी र मृतकबीच भएको कुटपीटमा यी प्रतिवादी सान्नानी समेत संलग्न रहेको ठानी जाहेरी दिनु स्वभाविक हुन सक्दछ । तर सो वारदातमा आफ्नो ६ वर्षको बालक काखमा लिएर भान्सामा खाना बनाउँदै गरेको समयमा आफ्नो पति रामहरि र मृतक बाबुरामबीच हात हालाहाल भएको देखी मृतकउपर हातले सामान्य लछार पछार गर्न पुग्नु पनि स्वभाविकै देखिन्छ । तर निज प्रतिवादीले मृतकउपर अन्य प्रकारले चोट छोडेको भन्ने तथ्य स्वतन्त्र प्रमाणबाट पुष्टि नभएको स्थितिमा केवल जाहेरीका आधारमा मात्रै यी प्रतिवादी सान्नानी भण्डारीलाई कसूरदार ठहर गरी सजाय गर्न न्यायोचित देखिँदैन ।
११. तसर्थ शुरुको फैसला केही उल्टी गरी प्रतिवादीहरू ऋषिराम भण्डारी र सान्नानी भण्डारीलाई आरोपित कसूरबाट सफाइ दिई अर्का प्रतिवादी रामहरि भण्डारीलाई ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम कैद वर्ष १० (दश) हुने गरी पुनरावेदन अदालत, पाटनबाट मिति २०६०।८।१ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । सवै प्रतिवादीलाई अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको र शुरुले ज्यानसम्बन्धीको ६(२) नं. बमोजिम सजाय गरेको फैसला कायम गरिपाऊँ भन्ने प्रतिवादी रामहरि भण्डारीको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.रामप्रसाद श्रेष्ठ
इति संवत् २०६६ साल माघ ४ गते रोज २ शुभम् ।
इजलास अधिकृतः–विदुर कोइराला