निर्णय नं. ८३१९ - निर्णय बदर ।

निर्णय नं. ८३१९ जेठ, २०६७
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री गौरी ढकाल
माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला
संवत् २०६० सालको दे.पु.नं. ...८९०१
फैसला मितिः २०६६।११।९।१
मुद्दाः निर्णय बदर ।
पुनरावेदक वादीः जिल्ला झापा गरामनी गा.वि.स.वडा नं. ९ घर भै हाल का.जि.का.म.न.पा.वडा नं. ३२ बस्ने टीकादेवी विमली
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः श्री गुठी संस्थान केन्द्रीय कार्यालय, डिल्लीबजार, काठमाडौँ समेत
शुरु फैसला गर्नेः
मा.जि.न्या.श्री डम्बरबहादुर शाही
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री गिरीशचन्द्र लाल
मा.न्या.श्री भिमेन्द्रबहादुर कार्की
§ कुनै निकायले कानूनबमोजिमको प्रक्रिया पूरा गरी निर्णय गरिसकेपश्चात् सो निर्णयउपर चित्त नवुझेमा कानूनद्वारा तोकिएको निकायमा उजूर वा पुनरावेदन गर्नुपर्ने हुन्छ । कानूनबमोजिमको प्रक्रिया पूरा गरी निर्णय गरिसकेपश्चात् सो निर्णयउपर कानूनद्वारा तोकिएको निकायमा उजूरी वा पुनरावेदन नपरी वा उजूर परेपनि उक्त निर्णयलाई अन्यथा हुने गरी अर्को निर्णय नभएसम्म पूर्व निर्णय नै आधिकारीक र अन्तिम हुने ।
(प्रकरण नं.२)
§ गुठी संस्थान ऐनमा भएको कानूनी प्रावधानको आधारमा नेपाल सरकारको स्विकृती समेत नलिई राजगुठीअन्तर्गत आफ्नो स्वामित्वमा रहेको गुठीलाई गुठी संस्थान केन्द्रीय कार्यालयले आफ्नो स्वामित्व त्यसै छाड्न नमिल्ने ।
§ गुठीको सम्पत्तिको संरक्षण गर्नुको सट्टा स्वामित्व नै निजी गुठीअन्तर्गत वा अन्य कुनै किसिमबाट छाडी गुठी संस्थान आफ्नो दायित्व वा कर्तव्यबाट विमूख हुन नपाउने ।
(प्रकरण नं.४)
पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ताहरू भूमि खरेल, बालकृष्ण न्यौपाने, चण्डेश्वर श्रेष्ठ र रामकुमार आचार्य
प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता रामप्रसाद गौडेल
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
· गुठी संस्थान कार्य व्यवस्था विनियम, २०४९ को दफा २(घ)
· गुठी संस्थान ऐन, २०३३ को दफा १८, २०, २०(१), २२(१)
फैसला
न्या. गौरी ढकालः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत पाटनको मिति २०५९।१२।२५ को फैसलाउपर पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एंव ठहर यस प्रकार छ :–
झापा जिल्ला अनारमनी गा.वि.स.वडा नं. ५ स्थित कि.नं. १२० को क्षे.फ.१–२–१० समेतका जग्गा गुठी संस्थान केन्द्रीय कार्यालयको मिति २०५४।८।११ को निर्णयले झापा जिल्ला अनारमनी गा.वि.स. स्थित अनारमनी दुर्गास्थान राजगुठीमा दर्ता भै झलकबहादुर खड्काको श्रीमती शान्तिदेवी खड्काको नाममा मोहियानी नामसारी भै निजको मोहियानी दर्ता भएको
रहेछ । निज मोही शान्तिदेवी खड्काबाट मालपोत कार्यालय झापामार्फत् मिति २०५४।१०।२७ मा उक्त कि.नं. १२० क्षे.फ.१–२–१० को जग्गा मैले राजीनामा पास गरी लिएकी थिएँ । यसैगरी गुठी संस्थान केन्द्रीय कार्यालयको उक्त मिति २०५४।८।११ को निर्णयले राजगुठीमा दर्ता भएको उक्त अनारमनी दुर्गा स्थान राजगुठीको ऐ. कि.नं. ८१३ मध्येबाट कित्ता फोड भै कायमी कित्ता नं. ८२२ को क्षे.फ.०–६–० को मिति २०५४।१०।२९ मा र कि.नं. ८२१ मध्येबाट कित्ता फोड भै कायमी कि.नं. ८२५ को क्षे.फ. ०–१३–० मिति २०५४।१०।३० मा सो जग्गाको मोही शान्तिदेवी खड्काबाट मैले राजीनामा पास गरी लिएकी थिएँ । गुठी संस्थान केन्द्रीय कार्यालयको उक्त मिति २०५४।८।११ को निर्णयले राजगुठीमा दर्ता भएको उक्त अनारमनी दुर्गा स्थान राजगुठीको ऐ. कि.नं. ११८ मध्येबाट कित्ता फोड भै कायम कि.नं. ८१५ क्षे.फ.०–७–८ मिति २०५४।१०।२७ मा सो जग्गाको मोही सुर्यबहादुर मगरबाट मैले राजीनामा पास गरी लिएकी थिए । मिति २०५४।१०।२७ मिति २०५४।१०।२९ र मिति २०५४।१०।३० को पारित राजीनामा लिखतहरू बमोजिम मेरो नाममा मोहियानी दर्ता भएको उक्त कि.नं. १२०, ८२२, ८२५ र ८१५ को राजगुठी जग्गा आफ्नो हक जानी भोग चलन गरी आएकि थिएँ ।
दाता सुर्यबहादुर मगर र शान्तिदेवी खड्काले गुठी संस्थान ऐन, २०३३ को दफा ३० बमोजिम हक हस्तान्तरण गर्न पाउने भै मैले मिति २०५४।१०।२७, मिति २०५४।१०।२९ र २०५४।१०।३० मा पारीत गरी लिएको राजीनामा लिखतहरू अनुसार मेरो नाउँमा मोहियानी दर्ता हक भोग चलनमा रहेको अनारमनी गा.वि.स. वडा नं. ५ कि.नं. १२०, ८२२, ८२५ र कि.नं. ८१५ को जग्गाहरूलाई गैरकानूनी र अनधिकृत तवरबाट प्राकृतिक न्यायको सिद्धान्त समेत प्रतिकुल हुने गरी श्री अनारमनी दुर्गा गुठी स्थान राजगुठीमा नलिने र पूर्ववत श्री देवी तथा शिवालय राधाकृष्ण संरक्षण समितिले नै सञ्चालन र व्यवस्था गर्नु भनी जानकारी दिने गरी भएको गुठी संस्थानको उक्त मिति २०५४।११।४ को निर्णय र उक्त च.नं. ४११८ मिति २०५४।११।५ को पत्र तथा सो च.नं. ४११८ मिति २०५४।११।५ को पत्रका आधारमा मेरो दर्ता हक भोग चलनलाई बदर गरी साविकै कित्ता कायम गरी साविक जग्गाधनी दुर्गा गुठी स्थान कायम गर्ने गरिएको गुठी संस्थान (कार्य व्यवस्था) विनियम २०४९ को दफा २(घ) बमोजिमको गुठी कार्यालय, मालपोत कार्यालय झापाको मिति २०५४।११।८ को निर्णय समेत बदर गरिपाऊँ र गुठी संस्थानको मिति २०५४।८।११ को निर्णयअनुसार राजगुठीमा परिणत भै गुठी संस्थान (कार्य व्यवस्था) विनियम, २०४९ को दफा २(घ) अन्तर्गतको गुठी कार्यालय (श्री मालपोत कार्यालय झापाको मिति २०५४।१०।२१ को निर्णयले राजगुठी स्रेस्ता कायम भै मिति २०५४।१०।२२ को निर्णयअनुसार दाता सुर्यबहादुर मगर र शान्तिदेवी खड्काको नाउँमा मोहियानी नामसारी भए पछि मिति २०५४।१०।२७, मिति २०५४।१०।२९ र २०५४।१०।३० को पारित राजीनामा लिखतहरू बमोजिम मेरो नाउँमा भएको कि.नं. १२०, ८२२, ८२५ र ८१५ को दर्ता यथावत कायम रहने गरी हक इन्साफ पाऊँ भन्ने समेत व्यहोराको फिराद पत्र ।
गुठी संस्थान ऐनमा भएको व्यवस्थालाई अनुशरण गरी श्री अनारमनी दुर्गा गुठी स्थान निजी गुठीलाई सो गुठीका सञ्चालक समितिका अध्यक्ष समेतको निवेदन र सर्जमिन मुचुल्काको आधारमा राजगुठीमा लाने निर्णय गरिएको हो । यसैबीचमा सञ्चालक समितिका अध्यक्ष र सचिवले मनोगत रुपले अन्य सदस्यहरूको सहिछाप समेत कीर्ते गरी निवेदन गरेका हुनाले पुनः निजी गुठी अन्तर्गतनै सञ्चालन र व्यवस्था हुन सो गुठीको संरक्षण समितिबाट र हडप गरिएका जग्गाहरू फिर्ता गरी दिने अनुरोध गर्ने भन्ने सम्बन्धमा सम्बन्धित गा.वि.स.समेतबाट निर्णय सहित लेखी आएको हुँदा विवादास्पद अवस्थामा निजी गुठीलाई राजगुठीमा लिई व्यवस्था र सञ्चालन गर्दा उपर्युक्त नहुने ठानी पुनः मिति २०५४।११।४ मा सो गुठीलाई निजी गुठी अन्तर्गगतनै सञ्चालन र व्यवस्था गर्ने गरी निर्णय गरिएको हो । तसर्थ कानूनबमोजिमको कार्य बदर हुने होइन, प्रस्तुत फिराद दावी खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको गुठी संस्थानको प्रतिउत्तर पत्र ।
गुठी संस्थानको निर्णय गुठीसम्बन्धी कामको हकमा सर्वोपरि हुने हुँदा सोही आधारमा राजगुठी कायम भएको निर्णयलाई बदर गरी निजी गुठी कायम गरिएको हो । वादीले मोही हकसम्म खरीद गरेको र उपरोक्त निर्णयले मोही हकमा कुनै असर नपारेको हुँदा प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको मान्न सकिने अवस्था नरहेकोले यस कार्यालयको निर्णय बदर हुनुपर्ने होइन । तसर्थ प्रस्तुत फिराद दावी खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको मालपोत कार्यालय झापाको प्रतिउत्तर जिकीर ।
यसमा यसै लगाउको वादी शान्तिदेवी खड्का र प्रतिवादी गुठी संस्थान समेत भएको दे.मि.नं. १६२६, ४६८५ को निर्णय बदर मुद्दा र वादी सुर्यबहादुर मगर र प्रतिवादी गुठी संस्थान समेत भएको दे.मि.नं. १६२७, ४६८६ को निर्णय बदर मुद्दामा विवादित श्री अनारमनी गुठीलाइ गुठी संस्थान केन्द्रीय कार्यालयले मिति २०५४।११।४ मा निजी गुठीमा परिणत गर्ने गरेको निर्णय र सो अनुसार मालपोत कार्यालयले मिति २०५४।११।८ मा गरेको निर्णय बदर भै गुठी संस्थानले मिति २०५४।८।११ मा सो गुठीलाई राजगुठीमा लाने निर्णयलाई कायमै गरी सो मुद्दाका वादीहरूका नाउँमा विवादित अनारमनी दुर्गा गुठी स्थानका जग्गाहरूको मोही हक दर्ता यथावत कायम हुने ठहरी आज यसै इजलासबाट फैसला भएकोले उक्त मुद्दाहरूबाट वादीका दाता शान्तिदेवी खड्काको र सुर्यबहादुर मगरका नाउँमा सो यस विवादसँग सम्बन्धित राज गुठीअन्तर्गतको अनारमनी दुर्गा गुठी स्थानको जग्गाको मोही हकको दर्ता यथावत कायम हुने भएबाट प्रस्तुत विवादमा पनि विवादित सो गुठी अन्तर्गतको कि.नं. १२०, ८२२,८२५ र ८१५ का जग्गाहरू राजगुठी अन्तर्गत कायम भै उल्लिखित मुद्दाका वादीहरूबाट मोही हक खरीद गरी यी वादी टिका देवी विमलीले राजीनामाको लिखतबाट लिएको देखिदा प्रस्तुत विवादमा पनि उल्लिखित मुद्दाहरूमा विवेचित आधार, कारण, प्रमाणबाट अनारमनी दुर्गा गुठी संस्थानलाई मिति २०५४।११।४ मा निजी गुठीमा परिणत गर्ने गुठी संस्थान केन्द्रीय कार्यालयको निर्णय र सो अनुसार मालपोत कार्यालयको मिति २०५४।११।८ मा गरेको निर्णय बदर भै गुठी संस्थान केन्द्रीय कार्यालयको मिति २०५४।८।११ को निर्णयअनुसार अनारमनी दुर्गा गुठी स्थानलाई राजगुठी अन्तर्गतनै सञ्चालन र व्यवस्था गर्ने गरी वादी दावीका कि.नं. १२०, ८२२, ८२५ र ८१५ का जग्गाहरूमा वादीको दर्ता हक यथावत कायम हुने ठहर्छ । भन्ने समेत व्यहोराको काठमाडौँ जिल्ला अदालतको २०५७।४।२७ को फैसला ।
प्रस्तुत फिराद मोहियानी हक सम्बन्धमा गरिएको हुँदा झापा जिल्लाको जग्गा र जग्गाको मोहियानी हकसम्बन्धी मुद्दा हेर्ने अधिकार काठमाडौँ जिल्ला अदालतलाई छैन । निजी गुठीलाई राजगुठीमा परिणत गर्ने कुनै कानूनी प्रक्रिया पूरा नभएको अवस्थामा काठमाडौँ जिल्ला अदालतबाट भएको उक्त फैसला कानूनी सिद्धान्तविपरीत भएकोले उक्त फैसला बदर गरी पुनरावेदन जिकीरबमोजिम हक इन्साफ पाऊँ भन्ने समेत व्यहोराको गुठी संस्थान केन्द्रीय कार्यालयले पुनरावेदन अदालत पाटनमा गरेको पुनरावेदन पत्र ।
गुठीसम्बन्धी हक कायमको सम्बन्धमा गुठी संस्थानको निर्णय सर्वोपरि हुने हुँदा सो संस्थानको निर्णयको आधारमा राजगुठी कायम भएको व्यहोरालाई बदर गरी पूर्ववत निजी गुठीमा कायम गर्ने निर्णय यस कार्यालयबाट भएको हुँदा सो निर्णयबाट वादीको मोही हकमा कुनै असर नपरेको हुँदा यस कार्यालयको निर्णय बदर हुनुपर्ने अवस्था नहुँदा काठमाडौँ जिल्ला अदालतको फैसला बदर गरिपाऊँ भन्ने समेत व्यहोराको मालपोत कार्यालय झापाले पुनरावेदन अदालत पाटनमा गरेको पुनरावेदन पत्र ।
यसमा यसै लगाउको दे.पु.नं. १९३६, ४०१३, १९७०, ४०४५ को निर्णय बदर मुद्दामा विपक्षी झिकाउने आदेश भएको हुँदा सोही परिप्रेक्ष्यमा यसमा पनि छलफलको निमित्त अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम विपक्षी झिकाई आए पछि वा अवधी नाघेपछि नियमानुसार गरी पेश गर्नु भन्ने समेत व्यहोराको मिति २०५९।१।११ को पुनरावेदन अदालत पाटनको आदेश ।
यसमा गुठी संस्थान ऐन, २०३३ को दफा २०(१) मा कुनै निजी गुठीको दाता समेत सवै वा अधिकांश गुठियारहरूले त्यस्तो निजी गुठीको हक दायित्व संस्थानले नै व्यहोर्ने गरी बन्दोवस्त र सञ्चालन संस्थानबाट नै हुन लिखित अनुरोध गरे संस्थानले त्यस्तो गुठीको हक दायित्व लिई बन्दोबस्त र सञ्चालन गर्न सक्ने छ भन्ने व्यवस्था भएको तर उक्त गुठीको दाताहरू एवं गुठियारहरूबाट त्यस्तो अनुरोध भएको पनि देखिदैन । गुठी संस्थानको मिति २०५४।८।११ को कथित निर्णयलाई आधार मानी अनारमनी दुर्गा गुठी स्थानको जग्गाको हक हस्तान्तरण र दर्तासम्बन्धमा विचार गर्दा दुर्गादेवी गुठी स्थान निजी गुठी नै भएको र सो निजीगुठीको जग्गाको दर्ताको हस्तान्तरण हुन सक्ने व्यवस्था नभएकोले एवं जग्गा दर्तासम्बन्धी हक हस्तान्तरण र सो मोही हक मात्र हस्तान्तरण भएको भन्ने मोहियानी हकसम्बन्धमा प्रस्तुत मुद्दामा विवाद नभई सोको निप्टारा गर्ने प्रश्न समेत नरहेकोले वादीको दर्ता तर्फको दावी पुग्न सक्ने अवस्था
देखिदैन । अतः दुर्गा गुठी स्थान निजीगुठी नै भएको र सो निजी गुठीलाई कानूनसम्मत ढंगले राजगुठीमा परिणत गर्ने निर्णय गुठी संस्थान ऐन, २०३३ ले व्यवस्था गरेअनुसार नभएको र जग्गाको दर्तासम्बन्धमा विवाद नभई मोहियानी हकको हस्तान्तरण भएको मात्र देखिएको र प्रस्तुत मुद्दाबाट मोहियानी हकसम्बन्धमा विवाद नउठाइएकोले सोको निप्टारा गरिरहनु पर्ने समेत नदेखिएकोले शुरु काठमाडौँ जिल्ला अदालतबाट भएको मिति २०५७।४।२७ को फैसला उल्टी हुने ठहरी प्रत्यर्थी वादीको दावी नपुग्ने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५९।१२।२५ को फैसला ।
गुठी संस्थान केन्द्रीय कार्यालयले अनारमनी दुर्गा स्थान गुठी राजगुठी कायम गरी मिति २०५४।८।११ मा निर्णय भई सकेपछि पुन यि प्रत्यर्थी प्रतिवादीहरूले उक्त गुठीलाई संस्थानले राजगुठीमा नलिने र पूर्ववत कायम राख्ने भनी मिति २०५४।११।४ मा अर्को निर्णय भएको छ । मेरो हक भोग स्वामित्वमा समेत प्रतिकुल असर पर्ने गरी यस्तो निर्णय गर्न सक्ने कानूनी अधिकार कुनै कानूनले यि प्रत्यर्थीहरूलाई दिएको छैन । त्यसरी निर्णय गर्नु पर्दा पनि अधिकार दिने ऐनको स्पष्ट उल्लेख गर्नुपर्ने तथा कानूनको परिधि भित्र रही दर्ता वाला व्यक्तीलाई झिकाई सो सम्बन्धमा निज दर्तावाला व्यक्तीलाई प्रतिवाद गर्ने मौका प्रदान गरी निर्णय गर्नुपर्ने हुन्छ । त्यसरी उक्त जग्गाको दर्तावाला व्यक्ती म पुनरावेदकलाई समेत नबुझी प्रतिवाद गर्ने मौका समेत नदिई प्राकृतिक न्यायको सिद्धान्तको ठाडै उल्लंघन गरी गरेको निर्णय बदरभागी भएको तथा पुनरावेदन अदालत पाटनको मिति २०५९।१२।२५ को फैसला समेत गैरकानूनी हुँदा उक्त फैसला बदर गरी वादी दावीबमोजिम गुठी संस्थानको निर्णय बदर गर्ने गरी काठमाडौँ जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहराई हक इन्साफ पाऊँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन
पत्र ।
यसमा गुठी संस्थान केन्द्रीय कार्यालयले मिति २०५४।८।११ मा राजगुठी कायम गरी मोहियानी हक नामसारी गर्ने गरी निर्णय गरे पछि दर्तावाल मोहीहरूबाट अन्य व्यक्तीले राजीनामा रजिष्ट्रेशन समेत गराई हक हस्तान्तरण समेत भए गरेको देखिन्छ । त्यस पछि पुनः केही व्यक्तीको निवेदनमा गुठी संस्थानले दर्तावाला मोहीहरूलाई बुझ्दै नबुझी गुठी संस्थान ऐन, २०३३ को दफा १८(१) समेतको विपरीत विवादित जग्गा निजी गुठीको हो भनी पुनः मिति २०५४।११।४ मा गरेको निर्णय र सोही अनुसार मालपोत कार्यालयको मिति २०५४।११।८ को निर्णय समेत कानूनी त्रुटिपूर्ण भै फरक पर्न सक्ने देखिएकोले अ.बं.२०२ नं. अनुसार प्रत्यर्थी झिकाई पूर्व आदेश अनुसारको मिसिल समेत झिकाई लगाउका मुद्दाहरू साथै राखी नियमानुसार गरी पेश गर्नु भन्ने समेत व्यहोराको मिति २०६५।८।१५ को यस अदालतको आदेश ।
नियमबमोजिम दैनिक पेसी सूचीमा समावेश भई पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरू भुमि खरेल, वालकृष्ण न्यौपाने, चण्डेश्वर श्रेष्ठ र रामकुमार आचार्यले गुठी संस्थान केन्द्रीय कार्यालयको मिति २०५४।८।११ को निर्णय बमोजिम अनारमनी दुर्गास्थान राजगुठीमा दर्ता भई मोही सूर्य बहादुर मगरको नाउंमा मोहियानी दर्ता भएको कि.नं. ८१५ को जग्गा मालपोत कार्यालय झापाबाट मिति २०५४।१०।२७ मा र मोही शान्तिदेवी खड्काको नाउंको कि.नं. १२०, ८२२ र ८२५ को जग्गा क्रमशः मिति २०५४।१०।२७, २०५४।१०।२९ र २०५४।१०।३० मा मोहीहरू सूर्यबहादुर मगर र शान्तिदेवी खड्काबाट मेरो पक्षले गुठी संस्थान ऐन, २०३३ को दफा ३० को कानूनी व्यवस्था बमोजिम राजीनामा पारित गरी लिएकोमा गुठी संस्थान केन्द्रीय कार्यालयबाट मेरो पक्षलाई सुनुवाईको मौका समेत नदिई उनाउ व्यक्तिहरूबाट परेको निवेदनको आधारमा राजगुठीको जग्गालाई निजी गुठी अन्तर्गत सञ्चालन गर्ने गरी भएको मिति २०५४।११।४ को निर्णय र मेरो पक्षको दर्ता हक भोगका कि.नं. १२०, ८१५, ८२२ र ८२५ बदर गरी साविकै कित्ता कायम गरेको मालपोत कार्यालय झापाको मिति २०५४।११।८ को निर्णय कानून न्यायप्रतिकूल रहेको छ । गुठी संस्थानले एकपटक विवादित जग्गा राजगुठी अन्तर्गत सञ्चालन गर्ने निर्णय गरिसकेपश्चात् उक्त राजगुठीलाई नेपाल सरकारको निर्णय वेगर गुठी संस्थान स्वयंले पुनः निजीगुठीमा सञ्चालन गर्ने गरी निर्णय गर्न सक्दैन । तसर्थ कानूनी व्यवस्थाभन्दा वाहिर गई गुठी संस्थान केन्द्रीय कार्यालयबाट राजगुठीलाई निजीगुठीमा सञ्चालन गर्ने गरी मिति २०५४।११।४ मा गरेको निर्णय बदर हुने र कि.नं. १२०, ८१५, ८२२ र ८२५ को जग्गाहरूमा मेरो पक्षको हक यथावत कायम हुने ठहर गरेको काठमाडौँ जिल्ला अदालतको फैसला सदर गर्नु पर्नेमा पुनरावेदन अदालत पाटनबाट शुरु फैसला उल्टी गरी वादी दावी नपुग्ने ठहर गरेको फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदन अदालत पाटनको फैसला उल्टी गरी शुरु काठमाडौँ जिल्ला अदालतको फैसला सदर हुने गरी फैसला गरिपाऊँ भनी र प्रत्यर्थी प्रतिवादी गुठी संस्थान केन्द्रीय कार्यालयको तर्फबाट उपस्थित विद्वान अधिवक्ता रामप्रसाद गौडेलले विवादित जग्गा राजगुठीमा सञ्चालन भएको अवस्थामा गुठीको सम्पत्ति हिनामिना भएको हुनाले पुनः निजी गुठी अन्तर्गत नै सञ्चालन र व्यवस्था हुन सो गुठीको संरक्षण समितिबाट र हडप गरिएका जग्गा फिर्ता गरी दिनु भनी सम्बन्धित गा.वि.स.बाट निर्णय सहित अनुरोध भई आएको हुंदा राजगुठीबाट सञ्चालन गर्न गुठीको सम्पत्ति संरक्षण गर्ने दृष्टिकोणबाट उपयुक्त नहुने हुँदा गुठी संस्थानले पुनः निजी गुठी अन्तर्गत सञ्चालन र व्यवस्था गर्ने निर्णय गरेको हुंदा गुठी संस्थानको मिति २०५४।११।४ को निर्णय उपयुक्त मानी वादी दावी पुग्न नसक्ने ठहर्याएको पुनरावेदन अदालत पाटनको फैसला कानूनसम्मत हुँदा सोही फैसला सदर हुने गरी फैसला गरिपाऊँ भनी गर्नु भएको बहस समेत सुनियो ।
यसमा अनारमनी दुर्गास्थान गुठीका जग्गाहरू गुठी संस्थान केन्द्रीय कार्यालयको मिति २०५४।८।११ को निर्णयानुसार राजगुठीमा परिणत भई कि.नं. ८१५ र कि.नं. १२०, ८२२ र ८२५ का जग्गाहरू मोहीहरू क्रमशः सूर्यबहादुर मगर र शान्तिदेवी खड्काबाट राजीनामा पारित गरी लिएकोमा गुठी संस्थान केन्द्रीय कार्यालयले उक्त गुठीलाई निजी गुठीअन्तर्गत सञ्चालन गर्ने गरी मिति २०५४।११।४ मा निर्णय गरेको र सोहीअनुसार कार्यान्वयन गर्न भनी मालपोत कार्यालय झापाले मिति २०५४।११।८ मा निर्णय गरेकोले मेरो हकमा असर पर्ने गरी भएका उक्त निर्णय बदर गरी मेरो नाउँमा भएको कि.नं. १२०, ८१५, ८२२ र ८२५ जग्गाहरूको दर्ता यथावत कायम रहने गरी इन्साफ गरिपाऊँ भन्ने फिराद दावी र गुठीको जग्गाहरू हिनामिना र हडप भएकोले गुठी संरक्षण समिति र सम्बन्धित गा.वि.स.समेतबाट निजी गुठीअन्तर्गत सञ्चालन गर्न लेखी आएकोले पुनः निजी गुठीअन्तर्गत सञ्चालन र व्यवस्था गर्ने गरी मिति २०५४।११।४ मा निर्णय गरिएको हुँदा फिराद दावी खारेज गरिपाऊँ भन्ने प्रतिउत्तर पत्र भएको प्रस्तुत मुद्दामा शुरु काठमाडौँ जिल्ला अदालतले फिराद दावी पुग्ने ठहर गरी गरेको फैसला उल्टी भई वादी दावी नपुग्ने ठहर्याएको फैसलाउपर वादीको तर्फबाट पुनरावेदन दर्ता हुन आई निर्णयार्थ यस इजालस समक्ष पेश हुन आएको पाइन्छ ।
विद्वान कानून व्यवसायीहरूको बहस सुनी मिसिल अध्ययन गरी निर्णयतर्फ विचार गर्दा झापा जिल्ला अनारमनी गा.वि.स.वडा नं. ५ का विवादित कि.न १२०, ८१५, ८२२ र ८२५ का जगाहरू श्रीदेवी तथा शिवालय राधाकृष्ण संरक्षण समिति अनारमनी झापाको निवेदन मागका आधारमा वुझनु पर्ने कुरा समेत वुझी गुठी संस्थान ऐन, २०३३ को दफा २०(१) बमोजिम अनारमनी दुर्गास्थान निजी गुठीबाट संस्थानले गुठीको हक दायित्व लिई वन्दोवस्त र सञ्चालन गर्ने र राजगुठीमा परिणत गर्ने गरी मिति २०५४।८।११ मा गुठी संस्थान केन्द्रीय कार्यालयबाट निर्णय भई सो निर्णयका आधारमा मालपोत कार्यालय झापाले राजगुठी कायम गरी दर्ता स्रेस्ता अध्यावधिक गर्ने कार्य गरेको पाइन्छ । यस क्रममा विवादित कि.न का जग्गाहरू वादीका दाता सूर्यबहादुर मगर र शान्तिदेवी खड्काको नाउंमा मोहियानी नामसारी भई स्रेस्ता समेत कायम भएको देखिन्छ । कानूनी प्रक्रियाबमोजिम कायम भएका जोताहा मोहीहरूले गुठी संस्थान ऐन, २०३३ को दफा ३० मा व्यवस्थित मोहियानी हक खरीद विक्री गर्न पाउने कानूनी प्रावधान बमोजिम जोताहा मोही सूर्यबहादुर मगर र शान्तिदेवी खड्काबाट वादी टिकादेवी विमलीले उल्लिखित कि.नं. १२०, ८१५, ८२२ र ८२५ का जग्गाको मोहियानी दर्ता हक भोग मालपोत कार्यालय झापाबाट राजीनामा पारित गरी लिएको देखिन्छ । यसरी अनारमनी दुर्गास्थान निजी गुठी राजगुठीमा परिणत भई राजगुठी अन्तर्गत कानूनबमोजिम गुठी सञ्चालन भई रहेको अवस्थामा श्रीदेवी तथा शिवालय राधाकृष्ण संरक्षण समितिका सदस्यहरूबाट अध्यक्ष र सचिवले गुठीलाई राजगुठीअन्तर्गत सञ्चालन गर्न पेश गरेको निवेदन गैरकानूनी भएको जिकीर गर्दै राजगुठी अन्तर्गत सञ्चालन गर्ने गरी भएको गुठी संस्थानको निर्णय बदर गरिपाऊँ भनी निवेदन गरेको र अनारमनी गा.वि.स.बाट समेत उक्त गुठी साविकैबमोजिम सञ्चालन गर्नको लागि गुठी संस्थान केन्द्रीय कार्यालयलाई पत्राचार गरेको पाइन्छ । उल्लिखित समिति र गा.वि.स.को पत्रको आधारमा गुठी संस्थान सञ्चालक समितिको मिति २०५४।११।४ को वैठकबाट राजगुठीमा सञ्चालन गर्ने पूर्व निर्णय बदर गरी पुनः निजी गुठीअन्तर्गत सञ्चालन गर्ने निर्णय भएको पाइन्छ । सोही २०५४।११।४ को निर्णयको आधारमा मालपोत कार्यालय झापाले राजगुठीमा नलिने र वादी टिकादेवी विमलीको नाममा मोहियानी कायम हुन आएको जग्गा पूर्ववत मोहीको नाउंमा कायम राख्ने गरी मिति २०५४।११।८ मा निर्णय गरे पश्चात प्रस्तुत मुद्दाको उठान भएको
पाइन्छ । यसबाट प्रस्तुत मुद्दामा निम्न विवादित प्रश्नहरूको सम्वन्धमा विचार गर्नुपर्ने देखियो ।
१. अनारमनी दुर्गास्थान गुठीलाई राजगुठी अन्तर्गत सञ्चालन गर्ने गरी गुठी संस्थान केन्द्रीय कार्यालयबाट मिति २०५४।८।११ मा भएको निर्णय विधि सम्मत छ, छैन ?
२. गुठी संस्थान केन्द्रीय कार्यालयले मिति २०५४।८।११ मा निर्णय गरिसकेको विषयमा पुनः मिति २०५४।११।४ मा गरेको निर्णय कानूनसम्मत छ, छैन ?
३. गुठी संस्थान केन्द्रीय कार्यालयको मिति २०५४।११।४ को निर्णय प्राकृतिक न्यायको सिद्धान्तअनुकूल छ, छैन ?
४. गुठी संस्थानले राजगुठीको सम्पत्ति आफ्नो स्वामित्वबाट छाड्दा नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्ने हो, होइन ?
५. पुनरावेदन अदालत पाटनको निर्णय मिलेको छ , छैन ?
२. पहिलो प्रश्नतर्फ विचार गर्दा, गुठी संस्थान ऐन, २०३३ को दफा २० मा निजी गुठीको हक दायित्व संस्थानले लिन सक्ने कानूनी व्यवस्था भएको पाइन्छ । ऐ दफा २०(१) मा कुनै निजी गुठीको दाता समेत सवै वा अधिकांश गुठियारहरूले त्यस्तो निजी गुठीको हक दायित्व संस्थानले नै व्यहोर्ने गरी बन्दोवस्त र सञ्चालन संस्थानबाट नै हुन लिखित अनुरोध गरेमा संस्थानले त्यस्तो गुठीको हक दायित्व लिई वन्दोवस्त र सञ्चालन गर्न सक्नेछ भनी उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दामा अनारमनी दुर्गास्थान गुठीलाई गुठी संस्थानले राजगुठीमा लिनुपूर्व निजी गुठीको रुपमा रहेको र उक्त गुठीका सम्वन्धमा मालपोत कार्यालय झापामार्फत २०५४।२।११ मा स्थानीय सर्जमिन हुँदा उक्त गुठी २००५ सालमा स्थापना भई स्थानीय गा.वि.स.ले सञ्चालन गरी आएकोमा २०५२।०५३ देखि श्रीदेवी तथा शिवालय राधाकृष्ण संरक्षण समिति नामक संस्था दर्ता भई सोही संस्थामार्फत् सञ्चालन भई रहेको, उक्त गुठीको दाता, गुठियार र हकवाला अरु कोही भएको थाहा नभएको र राजगुठी मार्फत सञ्चालन भएमा हाम्रो मञ्जूर छ भन्ने समेतको स्थानीय मानिसहरू विनोद बस्नेत, धनबहादुर लामा, किरण वस्नेत, राजकुमार राई, अग्निप्रसाद खरेल र तेजकुमार खड्का समेतले लेखाई दिएको पाइन्छ । यसरी अनारमनी दुर्गास्थान गुठीको सञ्चालन श्री देवी तथा शिवालय राधकृष्ण संरक्षण समितिबाट भएको र गुठीको सञ्चालक समितिले नै आधिकारीक रुपमा निर्णय गरी गुठी संस्थान केन्द्रीय कार्यालयलाई राजगुठीमा व्यवस्था र सञ्चालन गर्न लिखित अनुरोध गरेको र उल्लिखित सर्जमिनबाट समेत राजगुठी मार्फत सञ्चालन गर्न उपयुक्त भएको व्यहोरा लेखाई दिएको अवस्थामा गुठी संस्थान ऐन, २०३३ को दफा २०(१) को कानूनी व्यवस्थाबमोजिम अनारमनी दुर्गास्थान गुठीलाई राजगुठी मार्फत सञ्चालन र व्यवस्था हुने गरी मिति २०५४।८।११ मा गुठी संस्थान केन्द्रीय कार्यालयबाट भएको निर्णय विधिसम्मत भएको पाइयो ।
२. दोस्रो प्रश्न तर्फ विचार गर्दा गुठी संस्थान केन्द्रीय कार्यालयबाट अनारमनी दुर्गा स्थान गुठीलाई राजगुठीमा लिई सञ्चालन र व्यवस्था गर्ने गरी मिति २०५४।८।११ मा निर्णय गरिसकेपछि उक्त निर्णय चित्त नवुझेमा निर्णय बदर गराउनको लागि कानूनद्वारा तोकिएको निकायमा उजूर परेको पाइदैन । कुनै निकायले कानूनबमोजिमको प्रक्रिया पुरा गरी निर्णय गरिसकेपश्चात् सो निर्णयउपर चित्त नवुझेमा कानूनद्वारा तोकिएको निकायमा उजूर वा पुनरावेदन गर्नुपर्ने हुन्छ । कानूनबमोजिमको प्रक्रिया पुरा गरी निर्णय गरिसकेपश्चात् सो निर्णयउपर कानूनद्वारा तोकिएको निकायमा उजूरी वा पुनरावेदन नपरी वा उजूर परेपनि उक्त निर्णयलाई अन्यथा हुने गरी अर्को निर्णय नभएसम्म पूर्व निर्णय नै आधिकारीक र अन्तिम हुने न्यायिक मान्यता रहेको छ । प्रस्तुत मुद्दामा गुठी संस्थान केन्द्रीय कार्यालयले मिति २०५४।८।११ मा गरेको निर्णय उपर तोकिएको निकायमा उजूरी वा पुनरावेदन नपरी निर्णयमा चित्त नवुझ्ने केही व्यक्तिले स्वयं गुठी सस्थानमा नै दिएको निवेदनको आधारमा पुनः मिति २०५४।११।४ मा उल्लिखित गुठीलाई संस्थानले राजगुठीमा नलिने निर्णय गरेको पाईयो । कुनै निकायले कानूनबमोजिम आधिकारीक रुपमा कुनै विवादमा एउटा निर्णय गरी सो निर्णयको कार्यान्वयन भई सकेको अवस्थामा सोही निकायबाट सोही विवादको समान तथ्यमा फरक र विपरीत परिणाम निस्कने गरी पुनः निर्णय गर्न मिल्दैन । यसरी एउटै विवादमा एउटै निकायबाट पटक पटक फरक फरक निर्णय गर्ने हो भने न्यायिक अन्तिमता नभई न्यायिक अनिश्चितताको सिर्जना हुन पुग्दछ । तसर्थ गुठी संस्थान केन्द्रीय कार्यालयबाट अनारमनी दुर्गा स्थान गुठीलाई मिति २०५४।८।११ मा राजगुठीमा लिने गरी विधिसम्मत निर्णय गरिसकेपश्चात् पुनः स्वयं आफैले मिति २०५४।११।४ मा राजगुठीमा नलिई पूर्ववत रुपमा निजी गुठीमा नै छाडने गरी निर्णय गरेको देखिँदा मिति २०५४।११।४ को निर्णय कानून र न्यायप्रतिकूल रहेको पाईयो ।
३. तेस्रो प्रश्न सम्वन्धमा विचार गर्दा, गुठी संस्थान केन्द्रीय कार्यालयले मिति २०५४।८।११ मा अनारमनी दुर्गास्थान गुठीलाई राजगुठी कायम गर्ने निर्णय गरिसकेपश्चात् उक्त निर्णयको कार्यान्वयन भई गुठी संस्थान ऐन, २०३३ को दफा ३० को कानूनी व्यवस्थाबमोजिम वादी रमेश महर्जनले दर्तावाला मोही सूर्यबहादुर मगरबाट कि.नं. ८१५ को जग्गा र मोही शान्तिदेवी खड्काबाट कि.नं. १२०, ८२२ र ८२५ को जग्गाको मोही हक मालपोत कार्यालय झापामार्फत् राजीनामा पास गरी लिएकोमा गुठी संस्थानले आफ्नो अघिल्लो मिति २०५४।८।११ को निर्णयउपर परेको निवेदनका सम्वन्धमा टुंगो लगाउँदा उक्त विवादमा सरोकार रहेको नयां मोही टीकादेवी विमलीलाई समेत वुझ्नु पर्नेमा केही नवुझी सुनुवाइको मौका समेत प्रदान नगरी प्राकृतिक न्यायको सिद्धान्त समेतको प्रतिकूल हुने गरी गुठी संस्थान केन्द्रीय कार्यालयबाट मिति २०५४।११।४ मा निर्णय भएको पाइन्छ । तसर्थ गुठी संस्थान केन्द्रीय कार्यालयले २०५४।११।४ मा राजगुठीमा लिएको जग्गालाई पुनः निजी गुठीअन्तर्गत सञ्चालन गर्ने गरी गरेको निर्णय प्राकृतिक न्यायको सिद्धान्त समेतको प्रतिकूल देखिएबाट बदर हुने देखिन्छ ।
४. चौथो प्रश्न सम्वन्धमा विचार गर्दा, गुठी संस्थान ऐन, २०३३ को दफा १८ मा संस्थानले गर्न नहुने काम उल्लेख भएको पाइन्छ । दफा १८ को उपदफा (१) मा गुठी जग्गामा नेपाल सरकारको स्वीकृती वेगर गुठीको स्वामित्व छाडिदिने कार्य गर्न नहुने भनी व्यवस्था भएको पाइन्छ । अनारमनी दुर्गास्थान गुठीलाई संस्थानकै मिति २०५४।८।११ को निर्णयानुसार राजगुठी अन्तर्गत व्यवस्था र सञ्चालन हुने गरी संस्थानले आफ्नो स्वामित्वमा लिएको पाइन्छ । गुठी संस्थानको स्वामित्वमा आई सकेको उक्त गुठी जग्गालाई संस्थानले मिति २०५४।११।४ मा आफ्नो स्वामित्वबाट छाड्दा गुठी संस्थान एनेको दफा १८(१) मा भएको कानूनी व्यवस्थाबमोजिम नेपाल सरकारबाट पूर्व स्वीकृती लिएको मिसिलबाट देखिदैन । गुठी संस्थान ऐनमा भएको कानूनी प्रावधानको आधारमा नेपाल सरकारको स्विकृती समेत नलिई राजगुठीअन्तर्गत आफ्नो स्वामित्वमा रहेको गुठीलाई गुठी संस्थान केन्द्रीय कार्यालयले आफ्नो स्वामित्व त्यसै छाडन नमिल्ने हुन्छ । विधायिकाले उल्लिखित कानूनी प्रावधान राख्नुको मनसाय राजगुठी अन्तर्गतका सम्पत्तिको संरक्षण र रेखदेख संस्थानले नै व्यवस्थित रुपमा गरोस् भन्ने वुझ्नु पर्ने हुन्छ । अर्को शव्दमा भन्नु पर्दा गुठीको सम्पत्तिको संरक्षण गर्नुको सट्टा स्वामित्व नै निजी गुठीअन्तर्गत वा अन्य कुनै किसिमबाट छाडी गुठी संस्थान आफ्नो दायित्व वा कर्तव्यबाट विमूख हुन नपाउने भन्ने वुझ्नु पर्ने हुन्छ । प्रस्तुत मुद्दामा गुठी संस्थानले एकपटक राजगुठीमा लिएको अनारमनी दुर्गास्थान गुठीलाई आफूले व्यवस्थित रुपमा सञ्चालन गर्नु पर्नेमा नेपाल सरकारको स्विकृती समेत नलिई मनोगत रुपमा आफैले आफ्नो स्वामित्वबाट छाडी दिने गरी मिति २०५४।११।४ मा निर्णय गरेको देखिंदा उक्त निर्णयलाई कानूनसम्मत निर्णय भन्न मिल्ने देखिएन ।
अब पांचौ प्रश्न सम्वन्धमा विचार गर्दा, माथि विवेचना गरिएको आधार प्रमाणहरूबाट अनारमनी दुर्गास्थान गुठीलाई गुठी संस्थान केन्द्रीय कार्यालयले राजगुठीअन्तर्गत सञ्चालन र व्यवस्था गर्ने गरी मिति २०५४।८।११ मा निर्णय गरिसकेपछि पुनः गुठी संस्थानले मिति २०५४।११।४ मा उक्त गुठीलाई निजी गुठीअन्तर्गत सञ्चालन हुने गरी आफ्नो स्वामित्व छाडी गरेको निर्णय कानूनप्रतिकूल देखिंदा उक्त मिति २०५४।११।४ को गुठी संस्थान केन्द्रीय कार्यालयको निर्णय र उक्त निर्णयका आधारमा कि.नं. १२०, ८२२, ८२५ र ८१५ लाई साविकै कित्ता एवं साविकै जग्गाधनी दुर्गास्थान र मोही समेत साविकै कायम गरेको मालपोत कार्यालय झापाको मिति २०५४।११।८ को निर्णय समेत बदर हुने हुँदा शुरु काठमाडौँ जिल्ला अदालतबाट मिति २०५७।४।२७ मा वादी दावी पुग्ने ठहर गरी भएको फैसला सदर हुन्छ । तसर्थ वादी दावी नपुग्ने ठहर गरी पुनरावेदन अदालत पाटनबाट मिति २०५९।१२।२५ मा भएको फैसला मिलेको नदेखिदा उल्टी हुने ठहर्छ । सो ठहर्नाले अरुमा तपसीलबमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदन अदालत पाटनको फैसला उल्टी भइ वादी दावी पुग्ने हुँदा वादीले शुरु अदालतमा फिराद गर्दा राखेको कोर्टफी रु.१००।– र यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.१५।– समेत जम्मा कोर्टफी रु.११५।– प्रतिवादीहरूबाट भराई पाउने हुंदा कानूनबमोजिम उक्त कोर्टफी रु.११५।– प्रतिवादीहरूबाट भराइ पाऊँ भनी वादीको दरखास्त परे कानूनबमोजिम वादीलाई भराई दिनु भनी शुरुमा लेखी पठाई दिनू–––––१
माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदन अदालत पाटनको फैसला उल्टी भई वादी दावी पुग्ने ठहरी फैसला भएको हुँदा अनारमनी दुर्गास्थान गुठी राजगुठी अन्तर्गतनै सञ्चालन र व्यवस्था गर्नु भनी गुठी संस्थान केन्द्रीय कार्यालयलाई जानकारी दिनू–––––––१
झापा जिल्ला अनारमनी गा.वि.स.वडा नं. ५ कि.नं. १२०, ८२२, ८२५ र ८१५ का जग्गाको जग्गाधनीमा अनारमनी दुर्गास्थान राजगुठी र मोहीमा टिका देवी विमलीको नाम कायम गर्नु भनी मालपोत कार्यालय झापालाई जानकारी दिनू––––––––१
प्रस्तुत मुद्दाको दायरीतर्फको लगत कट्टा गरी मिसिल नियमानुसार वुझाई दिनू ––१
उक्त रायमा सहमत छु ।
न्या.राजेन्द्रप्रसाद कोइराला
इति संवत् २०६६ साल फागुन ९ गते रोज १ शुभम्
इजलास अधिकृतः शिवप्रसाद खनाल